१. परिचय 

तेह्र थुम जिल्लाको म्याङलुङ् बजार- कलेजामा टाँसिएको छ । बाल्यकालसँग मितेरी लगाएको बस्तु बिर्सने कुरो हुँदैन । किनभने प्रेम आफै हुने रहेछ । प्राकृतिक प्रेमको परिभाषा गर्नेहरूले यसलाई जे भने पनि हुन्छ । तर यसमा अव्यक्त ईश्वर लहलहाएको हुन्छ । म्याङलुङको टुँडिखेल शुक्रबारे हाटको लागि प्रसिद्ध छ । यसमा भटमास, बेसार, अदुवा, नुन, चामल, कोदो, मकै, घिउ तथा कुराउनी बेच्न आउने टाढामा छथर, फाक्चामारा, अझै जलजले, औंशीडाँडा, पौंदीन देखिका हाट गर्ने हटारुहरू शुक्रबारे हाटमा भेला हुने चलन थियो ।

विसं २०२३ देखि २०२८ साल सम्म मैले देखेको म्याङलुङ् बजारमा उत्तरको सुर्के, जिरीखिम्ती पूर्वतिर साबला तथा पश्चिमको सोल्मा र पिप्लेबाट इष्टमित्र सँगको भेटघाट, कतैबाट आएका चिट्ठीको आशा र सामानको किनबेचलाई टुँडिखेलले मौका दिएको छ  । यसमा प्रत्यक्षदर्शी भएर हेर्ने एक किशोरले यी कुरा सम्झनामा लिँदा लाँकुरीका रुख र त्यसैसँग निकटता राख्ने नारायणमान गुरुको घर र उहाँका सन्तान वसन्तमा मन पुग्छ ।

 

२. मैले चिनेको वसन्त 

लोकमान साहूका धेरै भाइ-छोराहरूमा कान्छा भन्दा एक तह माथिका नारायणमान श्रेष्ठ सिंह बाहिनी मिडिल स्कुल स्वीकृत गराउन धन, बल, बुद्धि खर्च गरेर लाग्ने एक विभूति हुनुहुन्थ्यो । नसक्ने काम पनि गरिरहेमा साधनले विजय प्राप्त हुन्छ भने नारायणमान हाम्रा गुरुले खेपेको उकालो पसिना झर्ने किसिमको रहेछ । जसका कारणले कति साधारण आर्थिक अवस्था भएका अभिभावकले आफ्नै ठाउँमा सन्तानको प्रारम्भिक शिक्षा ग्रहण गराउन सक्नु भयो ।

उहाँका विषयमा एक पुत्रले जीवनी लेखेर प्रकाशित गर्नुभएको छ, त्यो काम वसन्तबाट नै सम्पन्न भएको हो । वसन्त हेर्दै गोरो वर्णका, उचाइ धेरै थोरै नभएर सुहाउने खालको, मोटो भन्न नमिल्ने तर दुब्लो ख्याउटे होइन । हृष्टपुष्ट गाला, बजारको अनुकूल हावापानी र सुरम्य वातावरणमा हुर्किएका, हामीभन्दा माथि अध्ययन गर्ने एक होनहार किशोरका रूपमा देखिएका व्यक्ति, व्यवस्थापन विषयमा स्नातकोत्तर तह सम्मको अध्ययनमा सफल युवक हुनुहुन्छ ।

नेपाललाई माया गरे पनि आफ्नै कारणले भर्जिनिया, अमेरिकामा हाल प्रौढ जीवनयापन गर्ने वसन्तलाई गुरुपुत्र भएकोले मैले कक्षा छ मा प्रवेश लिएदेखि नै चिन्दै आएको हुँ । वसन्तको स्वभाव शान्त थियो, कुनै लफडामा अल्झिएको हामीलाई थाहा छैन ।

वसन्तको घर टुँडिखेलकै पश्चिमको सीमामा आबद्ध थियो । धेरै जना दिदी-बहिनी र भाइहरू भएकाले बाहिरबाट हेर्दा सभ्य-भव्य नै देखिन्थे । नारायणमान गुरुजीले पछिल्लो चरणमा जिल्ला प्रशासन भवनको निर्माण गर्ने ठेक्काको कामको शुरुवात गरेर निर्माण कार्यमै पूर्ण जीवन बिताउनुभयो ।

विस‌ं २०२४ देखि २०२८ साल सम्मको बिचमा प्रहरी थानाको सामुन्ने रहेको छात्रावासमा रहेका विद्यार्थीहरू नाइके जस्ता देखिन्थे । स्कुलका ससाना विषयलाई उचालेर उरालेर परिधिमा आउनेहरूलाई उत्प्रेरित गर्थे भन्ने कुरा अग्रजबाट सुनिएको हो । तर नजिक बस्ने वसन्त श्रेष्ठको विषयमा उहाँबाट ती मित्रहरूसँग हातेमालो भएको हामीले देखेनौ । शान्त स्वभावको कदर हुन्छ ।

 

३. सिर्जनशील वसन्त 

वसन्तमा सिर्जनाको क्षमता छ । “नारायणमान श्रेष्ठ- इतिवृत्त” एक प्रमाण हो । बाको ५५ वर्षको उमेरमा अचानक भएको निधन रहस्यमय देखिने पुस्तक प्रमाण र पर्यावरणबाट अनुप्राणित छ । पाटन भैरवस्थान नजिकैबाट बसाइँ सर्दै गएका पुर्खाहरू तेह्रथुम पुगेको इतिहास देखाउने उक्त पुस्तकले वंशको नालीबेली पठन गराएको छ ।

यसै किसिमका लेख तथा पुस्तक लेख्दै जाँदा शोध गर्ने, शोधपत्र लेख्ने र विद्यावारिधि गर्ने क्षमताको विकास हुन्छ । वसन्तको यो क्रम प्रारम्भमा छ । यस कृतिमा लोकमान साहु उचाइमा हुनुहुन्छ ।  यस परिवारमा वंशहरू उल्लेख हुन आएका छन् । जसमा इन्द्र्मान, चन्द्रमान, तुलसीमान, बिष्णुमान, गणेशमान, नारायणमान र कृष्णमान वंश छुट्याइएको छ । यही वंश परम्परा भित्रको ईश्वरमान र विश्वेश्वरमान श्रेष्ठ अति श्रद्धायोग्य पुरुष हुनुहुन्छ । मेरो परिचयमा विश्वबिमोहन श्रेष्ठ, उर्मिला श्रेष्ठ, मंजु श्रेष्ठ, प्रधुम्न श्रेष्ठ, सुरेशमान श्रेष्ठ र हेमन्त श्रेष्ठ हुनुहुन्छ । दोहोरो कुराकानी गर्न मिल्ने मित्रहरू यी सबै हुनुहुन्छ ।

यस कृतिमा लोकमान साहुको सामाजिक, आर्थिक, शैक्षिक र व्यावसायिक क्षेत्रमा म्याङलुङ्प्रति राम्रो योगदान रहेछ भन्ने कुरा लेखिएको उक्त कृतिले नारायणमान श्रेष्ठको शैक्षिक योग्यता र कार्यक्षेत्र तथा बाहिरी जिल्लामा भएको अकस्मात्को मृत्यु सम्मको रेखा तानेको छ ।

यस कृतिमा ४ छोरा र ६ छोरीको परिचय तथा आजको वासस्थानको विषयमा दृष्टि पुगेको छ । हेमन्त र वसन्त दाजुभाइ हुनुहुन्छ । कृतिमा उहाँहरूको वैवाहिक सम्बन्ध र आजको जीवनयापन शैलीको चिनारी मिल्छ । हेमन्त हँसमुख, मिलनसार, सहयोगी, आफ्नो बिरानो चिन्ने अझै नजिक भएर बोल्ने युवक हुनुहुन्छ । हेमन्तसँग नेपाल प्रज्ञा प्रतिष्ठानमा भेट भएको थियो ।

यो नारायणमान श्रेष्ठको जीवनीमा आधारित कृतिमा धेरै चित्रहरू छन् । सबै सन्तानको जन्म मिति र समय टिपेर राख्ने क्षमता तथा कारणले यो परिवार अरू धनी परिवारको तुलनामा सुसंस्कृत परिवार ठहर्दछ । पिताको साहित्यमा रुचि रहेको सुन्दर पक्ष उघारिएको छ । सुलोचना महाकाव्य र कुञ्जिनी खण्डकाव्य पठन गरी सन्तानलाई सुनाउने पिताको अनुराग लक्ष्मीप्रसाद देवकोटा माथि भएको सङ्केत गर्दछ ।

गुन्द्री र चट्टी ओछ्याएर कृष्ण मन्दिरमा पठनपाठन गराउने गुरुजीको वैकुण्ठ यात्रा सुखमय रहोस् । नमन नारायणमान गुरुजी । वसन्तकी आमा सन् २०११ सालमा बोस्टनमा परलोक जानुभयो ।

आमा बहुमूल्य प्रेरणा श्रोत हुनुहुन्छ । आमाको पेट बालकको क्रीडास्थल हो । आमाका अगाडी अरू कुनै बस्तुबाट आमा प्रतिस्थापित हुन सक्नुहुन्न । हामीले आमा हुँदा कति मूल्य बोध गर्छौं र मूल्यको भारी वहन गर्न सक्छौं । बाको र आमाको सांसारिक त्याग नभए हामी यहाँ हुने थिएनौं । त्यसैले बाबाआमा प्रति गर्ने व्यवहार कारणवश हामीले पूर्ण रूपमा पालना गरेनौं होला । त्यसो नहोस्, वसन्तले झैं हामी पनि मातापिताप्रति हार्दिक बनौं । वसन्तले अहिले साधारण तर भव्य कार्यको सुरुवात गर्नु भएको छ । त्यो हो नारायण मान श्रेष्ठ इतिवृत्त ग्रन्थ ।

वसन्तका रचना धेरै होलान् । “गाउँका तिन टुक्रा” कविता, “आफली भाउजू”, “नारायणमान श्रेष्ठ- इतिवृत्त” जस्ता सिर्जना सँग मात्र मेरा आँखा पुगेका छन् ।

वसन्तलाई अहिले कथा र लेख मार्फत साधनारत भएको पाएको छु । हाल सालै युगकवि सिद्धिचरण श्रेष्ठ साँझमा युगकविका बारेमा खोजमूलक अनुसन्धान पूर्ण आलेख तयार भएको पाउँदा वसन्तले केही गरिरहेको अनुभव हुन्छ । हाम्रो तर्फ बाट शुभ कार्य भइरहोस् भन्ने कामना गर्दछु ।

 

४. निचोडमा वसन्त 

सभ्य परिवारमा जन्मन पाउनु ठुलो भाग्य हो । सभ्य र पण्डित पिताको पुत्र हुन पाउँदा अर्को सोख थपिएको हो । आफ्नै घरबाट पाँच पाइलामा पाठशाला पुग्नु अझै अर्को घनात्मक श्रोत हो । त्यस्तो सुविधा सम्पन्न स्थानमा बाल्यकाल यापन गर्ने स्थितिले साथ दिनु अझै थपिने सुविधा हो । त्यस प्रकारका सुविधा पाएर पनि सरल गुण उहाँमा रहेका छन् भने स-साना भाइ-बहिनीहरू बिग्रने डरले सचेत अग्रज भूमिकामा उभिने वसन्तमा एउटा भारी थियो । आगामी भविष्य सुन्दर बनाउने चुनौती थियो । वसन्तले मौका र अवस्थालाई आत्मसात् गरेको पाइन्छ ।