
अस्ति भर्खरै माया-प्रेमको महिना फेब्रुअरी सकिने बित्तिकै मैले नटासालाई भेटेकी थिएँ । हुन त नटासा मेरी पुरानै साथी हो ।
तर यो पटक भने मलाई ऊ बिल्कुलै नयाँ लागी । ऊ चौबिस घण्टामा करिब १२ घण्टा काममा नै व्यस्त हुन्छे । बाँकी रहेको समयमा पनि छोराछोरीको रेखदेख लगायत घरायसी काममा व्यस्त हुन्छे । यसो अलिकति फुर्सद मिल्नासाथ उता ब्वाइफ्रान्डलाई “आइएम लिभिङ फर आवर लभ ।” भनेर टेक्सट टाइप गरेर पठाउँछे र मोबाइल फोन साइलेन्ट बनाएर खल्तीमा राख्छे ।
अनि सँगै काम गर्ने ज्याकसँग पनि लहसिँदै हरेक कुरामा नतमस्तक हुन्छे । बेलाबेलामा प्रेम व्यक्त गर्न “ज्याक आइ लभ विइङ अराउण्ड यू, यु कुड थिंक आइएम योर्स” पनि भन्छे ।
नटासाको यो गतिविधि नियालिराख्दा मलाई उता नेपालमा धेरै वर्ष अगाडि जागिर खान एउटा अफिसमा लिखित र मौखिक जाँच पास गरिसकेपछि मेरो वैकल्पिक नाम निस्किएको बेलाको जस्तो महसुस गर्छु । वैकल्पिक नाम निस्कँदा मेरो मनमा आशा र खुशी धेरै थियो तर सम्भावना भने शून्य । नटासाको प्रेम पनि मलाई ठ्याक्कै त्यस्तै लाग्यो । किनकि नटासा सात वटा बच्चाकी आमा हो । “ मान्छेको मन त हो । कुन बेला परिवर्तन हुनसक्छ ठेगान हुन्न । त्यसैले विकल्पमा मात्रै राखेकी हुँ ।” उसले भनी ।
मैले सुनेकी थिएँ – जीवनमा प्रेम र विश्वास महत्त्वपूर्ण कुरा हुन् । प्रेममा त्याग हुन्छ, सङ्कल्प हुन्छ । आधारभूत कुराहरूको प्राप्तिपछि प्रेम पनि पहिलो प्राथमिकताको वस्तु हो । दुनियाँमा प्रेम गर्न वा प्रेममय जीवन बाँच्न केहीले पनि रोकिन्न । तर नटासाले प्रेम पनि विकल्पमा राखेको देखेपछि म छक्क परेकी थिएँ । तर नटासाले कसैसँग केही पनि फाइदा उठाएकी छैन । वैकल्पिक प्रेमीहरूले पनि नटासालाई एउटी परिपक्व जिम्मेवार कहिल्यै खेलबाड नगर्ने र अभिभावकत्व निभाउन सक्ने असल प्रेमिका जसले बदलामा केही नलिने रूपमा लिन्छन् । र कथंकदाचित् कुनै दिन नटासा आफ्नो भागमा परिहाली भने पनि सहज रूपमा स्विकार्ने बताउँछन् ।
जब मैले नटासालाई पछिल्लो चोटि भेटें अनि प्रेमको परिभाषालाई पनि अलिकति बदलें । भावनामा बगेर प्रेम नहुने रहेछ । जीवन त व्यावहारिक बनेर पो चलाउनुपर्ने रहेछ भन्ने महसुस गरेँ ।
नटासाले अघिल्ला तीनवटा प्रेम सम्बन्ध टुटेपछि निक्कै तनाव महसुस गरेकी थिई । पहिलो प्रेम टुट्दा त नितान्त एक्लै थिई । त्यसपछि उसको ब्लड प्रेसर पनि बढ्दै गएको थियो । अनि नटासा मसँग खुल्छे, “प्रेम यस्तो महसुस गराउने चिज रहेछ जहाँ मानिसहरू हाँसी खुसी रमाउने रहेछन् । प्रेमका लागि ज्यानै फालेर लाग्ने भन्दा पनि प्रेम रमाउने कुरा रहेछ । प्रतिकुल परिस्थितिमा प्रेमले बलियो बनाइराख्न मद्दत गर्छ ।”
“कुनै पनि सम्बन्ध दिगो हुन विश्वास, इमानदारता र प्रतिबद्धता हुनुपर्छ । तर तिम्रो त सम्बन्धहरूको शृङ्खला नै चलिरहेको देख्दा त बहुपति प्रथा जस्तै पो लाग्यो त ।” मैले गोप्य रूपमा उसलाई भने । नटासा केहीबेर चुप लागी र मेरो भनाइलाई स्वीकार गर्दै भनी, “तिमीले नाम दिएजस्तो केही होइन तर सम्बन्धहरूमा अलिकति अराजकता चाहिँ भएकै हो ।”
हुन पनि अमेरिकामा बाह्रै मास चौबिसै घण्टा प्रेम र ब्रेकअपको मौसमको लहर चलिरहेकै हुन्छ । किशोरदेखि वृद्धासम्म यहिं घनचक्करमा हुन्छन् ।
यो मात्र हैन । अमेरिकामा प्रेमी प्रेमिका वा जीवनसाथी नै नभेटेर आजीवन कुमार कुमारी नै बसेकाहरू पनि प्रशस्तै भेटिन्छन् । प्रेमको बारेमा लेखिएका किताबहरू पढेका, फिल्म, सिरियल र पोर्नोग्राफी समेत पनि हेर्न भ्याएका तर प्रेम कसरी र कहाँबाट जन्मन्छ र यसबाट कति खुशी मिल्छ भन्ने कुराको भेउ नपाएकाहरू पनि प्रशस्तै यहाँ छन् ।
कतिपय चाहिँ कसैसँग जाने बुझेरै प्रेममा नफस्नेहरू पनि छन् भने कतिपय घर व्यवहार सम्हाल्न, बालबच्चीको स्याहार सुसार गर्न मन नलागेर वा भावी श्रीमतीले कस्मेटिक्स, ग्रोसरी, यो वा त्यो सामान किनेर ल्याऊ भनेर अह्राउली वा कुनै पनि काम लगाउली र २४ घण्टा श्रीमतीकै दास बनेर अधीनमा बसिरहनुपर्ला र आफ्नो स्वतन्त्रता हनन होला भन्ने डरले पनि कसैसँग सम्बन्ध नगरी बस्नेहरू पनि प्रशस्तै छन् ।
तर नटासा भने एकपछि अर्को गर्दै सम्बन्धै सम्बन्धमा रमाउने गर्छे । आफ्नो जीवनको सम्पूर्णताको अनुभव यी नै सम्बन्धहरूमा रमाएर गरिरहेकी हुन्छे ।
जीवनमा खुशी लिने वस्तुहरू हाम्रो वरपर हुन्छन् । यसरी नै मान्छेलाई के ले खुशी बनाउँछ र के ले दु:खी बनाउँछ भन्ने कुरा पनि बढो महत्वको हुँदो रहेछ । नटासाअनुसार चाहिँ यही कुरा बुझेँ – आफ्नो खुशी खोज्दा अरूले केही भन्छ कि भनेर नडराउने, कसैले केही भन्ने बित्तिकै कमजोर भएर पछाडि नहट्ने, आफूलाई के के ले खुशी दिन्छ त्यसको खोजी गर्ने, र त्यस्तै त्यस्तै विचार बोक्ने साथीहरूको सर्कल बनाउने ।
थपमा उसले भन्छे पनि, “विचार मिल्ने साथीहरू भयो भने मात्रै सबै कुरा सेयर गर्न सजिलो हुन्छ । साथीभाइ वा परिवारलाई दिने समय आफूले आफैंलाई दियो भने आफूलाई बढी नै चिन्न सकिन्छ ।”
तर म महिलाले दोस्रो प्रेम वा दोस्रो विवाह भन्ने बित्तिकै मेरो दिमाग नरन्थन्याई रहने कुरा भएन । शायद दोस्रो वा तेस्रो स्तरको दर्जा दिने समाजमा हुर्केकी हुनाले । तर उसको मनले रोजेको खुशी सायद त्यस्तै हुनसक्छ । मनलाई सङ्कीर्ण पार्यो भने मान्छे यस्तै ससाना कुराहरूमा अलमलिने रहेछ । म पनि ज्यादै सङ्कीर्ण सोचको बन्दी नै हुँ भन्ने मैले नटासा कै सङ्गतबाट थाहा पाएकी हुँ । किनकि नटासा आफ्ना छोराछोरीहरूलाई समेत आफ्नो प्रेममय दिनचर्या लगायत सम्पूर्ण कुराहरू हाँसीहाँसी ढुक्कसँग बताइरहेकी हुन्छे । भिडियो कलमा आफ्नी आमा खुशी देख्दा “तिमी खुशी छौ भने हाम्रो खुशी त्यही हो ।” भन्दा रहेछन् ।
यो दुनियाँमा प्रेमको परिभाषा गरेर साध्य पनि रहेनछ । एउटा परिभाषाभित्र अल्झेर प्रेमका अरू स्वरूपको बारेमा थाहा पनि नहुने । विवाहित होस् वा अविवाहित दुई विपरीत लिङ्गीबिच जब विचार, व्यवहार र व्यक्तित्वले आकर्षण गर्न थाल्छ अनि प्रेम हुने रहेछ । यस्तो प्रेम जुनसुकै अवस्थामा चलिरहेकै हुन्छ, भेट हुँदा होस् वा नहुँदा पनि । प्रेम आत्मिक भयो भने यौन जरुरी हुँदैन र यस्तो अवस्थामा यौन पनि निक्कै मर्यादित हुन्छ भन्छे नटासा ।
मान्छे एक्लै जन्मन्छ र एक्लै मर्नुपर्छ । तर मानव अस्तित्व प्रेमभावसँग जोडिएको हुन्छ । यो अमूर्त भावना बडो शक्तिशाली हुँदो रहेछ । यो प्रेमरूपी मनोविज्ञानमा एक अर्का बिच आत्मीयता, हार्दिकता, आनन्द, सन्तुष्टि र लगाव हुन्छ र यो सकिने बित्तिकै घृणा शुरु हुन्छ । घृणामा कोही बस्न चाहन्न । तर कहिलेकाहीँ मानिसहरूलाई एउटा सम्बन्ध तोडिने बित्तिकै अर्को सम्बन्ध बनाउनुपर्छ भन्ने लाग्दो रहेछ । प्रेमको विकल्प पनि प्रेम नै हो । तर एक पटकमा धेरै जनासँग प्रेममा पर्नु परिभाषाले राम्रो पनि भन्दैन । नटासाको प्रेमका लागि पात्रहरूको विकल्प पनि मलाई पटक्कै उचित जस्तो लागेन ।
तर उसले मलाई निष्कर्षमा भनी, “यो एउटा रसायन हो र हर्मोनको चलखेल मात्रै हो । कसैमा बढी हुन्छ त कसैमा कमी हुन्छ । यसलाई प्रेम सम्झने भुल तेरो हो ।”
यसरी अन्त्यमा नटासाले कुरा टुङ्ग्याई ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

