… ज्यू, ज्यू,

तर आश्चर्य लाग्छ- आख्यान लेख्ने चलनले यथार्थलाई छोडेर अतियथार्थलाई महत्व दिएछ । सपनामा पनि यथार्थको खोजी गर्ने म नमज्जासँग पछारिएँ कि भन्ने लाग्छ । सत्यलाई बिर्सन खोजेर तिलस्मी जगतमा प्रवेश गर्ने विधि किन अँगाल्नु पर्‍यो पंडित हुन ? प्रश्न गर्ने ठाउँ भए उत्तर पनि आउलान् नि ! पढ्नै पर्छ – हंसयोगी ।

… ज्यू, ‘‘हंस योगी’ यस्तै पुस्तक हो । यथार्थको निकट भएर लेख्ता कुनै असर नपर्ने छाँट देखेर होला – अतियथार्थलाई अँगालेको । पुराकथा त होइन लोककथाको कुनै अंश हो कि झैं लाग्छ । प्रत्यक्ष छ, तर समानान्तर । शीतल भएर पनि दाहक हुनु यसको शक्ति हो । अनि आकर्षण दिएर पनि विकर्षणतिर धकेल्नु यसको वक्रचेत हो ।

हो, आख्यान भए पनि स्थूल, मांसल आख्यान यसमा छैन । प्रचलित विधिमा पनि छैन – अतिक्रमण छ, प्रविधिमा पनि छैन । त्यसो त अत्याधुनिक महाकाव्यको अनुगमन पनि गर्दैन । के त्यो साहित्य त हो ?प्रश्न उठ्न सक्छ । हिजो पनि ‘सेतो ख्याक’ भन्ने कृतिमाथि यो प्रश्न उठेको थियो । उत्तरमा गोविन्द भट्टले भनेका थिए- साहित्य हो, उच्चकोटिको छ । टंकण-व्यवस्थाले कि गुरू मन्त्रणाले धेरै भाषिक विद्रूप देखिन्छ । अरु पुस्तक १० पृष्ठ पढ्दा यो ६ पृष्ठ मात्र पढी सकिन्छ । पठन प्रवाहमा गति लिन सकिन्न । व्याघात !

‘हंसयोगी’ मा १२ बुँदेले देशलाई घुँडा टेकाएपछि हाम्रो राजनीतिले शीतल अनुभव गर्‍यो र पछि तातो तावामा डामिनुको परिणाम भोग्यो । ऐतिहासिक भूलको कुपरिणामलाई पृष्ठभूमिमा राखेर सिउँडीको काँडामा सुवासित फूल र स्वादु फल पनि देखाएको हो कथाले । यतिसम्म त सहन मिल्छ ।

तर जनताभन्दा शक्तिशाली अर्को तत्व हुने रहेनछ । हो, महाभूकम्प आओस्, कि जलमग्न होस् – जहाँबाट पनि कमाउँछ – कमाउनेले । विधि र कानूनलाई आफ्नो कब्जामा राखेर राजनीतिक तत्वले दिएको असर-उत्पीडनलाई जनताले सधैँ सहेर बस्तो रहेनछ । पछि विद्रोह उठ्यो, द्वन्द्व भो, हंसयोगी देखियो । तर माथिमाथि पढ्ने कि तलसम्म पुग्ने ?

सडकबाट जनताले टिपेको हंसयोगी असंख्य मन, बुद्धि र सङ्कल्पको प्रतिविम्ब हो- प्रतिनिधि । जनता जान्दछन् ऊ अल्पभाषी छ, ऊ दूरदर्शी छ र ऊ दृढ निश्चयी छ । सुगठित छ । युगचेत छ उसलाई । विधि र निषेधको सम्यक बोध छ उसलाई । विधि, विवेक र संस्कृतिलाई सर्वाधिक महत्व दिएर जनहितमा जाग्रत रहने – बालेनलाई पो प्रतिविम्बित गर्न खोजेको हो कि जस्तो छ यो आख्यानले ।

विदेशी भूमिमा पुगेका कर्मशील बन्धुहरुलाई – ‘नागरिक निरन्तरता’ दिएर मुलुकको विकास गरिएको कथा अत्यन्त रोचक छ । मुलुकबाट टाढा पुगेको नागरिक आफ्नो मातृभूमिलाई दुलही सिंगारेझैं सिंगार्न र सुरक्षित राख्न चाहन्छ । त्यसका लागि गृहपति कस्तो हुनुपर्छ भन्ने दृष्टान्त ‘हंसयोगी’ले दिएको छ । द्रव्य,समय र इच्छा दाताको, र डिजायन, मार्केटिङ निर्देशन र अनुगमन छ ‘हंसयोगी’को । विधिवत् शर्तको पालना भो । समयभित्र काम सकियो । ठेक्का कम्पनी छाङ्गु हाङ उपाध्यायको थियो ।

दुई हजार प्रतिशत पर्यटक बढे । झन् दैलेखको ग्याँसले बल पुर्‍यायो । चिनियाँ जहाज भैरहवा र पोखरामा ओर्लन थालेपछि छिमेक मैत्री विश्वासयोग्य हुँदै गयो । राज्यले बेच्न तयार पारेका युवतीहरुले यहीं काम पाए । ‘गोर्खा सुरक्षा सेना’ नामक छुट्टै निकाय संचालित गरेर सार्क मुलुकले सुरक्षा दिने काम गर्‍यो र यसलाई एशियाको सुरक्षामा सक्रिय गर्ने विचार सम्प्रेषण गर्यो । यस्ता सयौं कुराको संकेत छ- जसको अनुगमनले यो मुलुकको अग्रगमन हुनसक्छ । राजनीतिले स्वीट्जलैन्ड नबनाएर चीनको विकास ल्याएको संकेत छ । तर उठ्यो प्रदर्शनकारी सीमा विरोध | यसका आलोच्य पक्ष पनि छन् ।

यो आख्यान पंडितको भाषामा लेखिएको छ । संस्कृतनिष्ठ छ । कि शब्दकोश चाहिन्छ कि गुरू, विज्ञ । त्यसैले पठन-प्रवाह खण्डित हुन्छ । सडकको मान्छेलाई लेखकले पाठक ठानेन । खास वर्गका लागि मात्र यो पुस्तक रोचक होला कि भन्छु ।

… भन्दैछु नि के पढ्नुभन्दा पहिले गुरुकुलमा अलङ्कारशास्त्र पढ्न जानु ? गद्याखान पनि काव्यभन्दा जटिल  के अलङ्कारको खाँचो हुन्छ र ? किन्तु अलंकारभन्दा जटिल र उच्च शैलीको संवाद गर्दैन र नेपाली मान्छे ? भन्छ – ‘तँ गोरु होस् । तँ पनि गधा, तँ उल्लु ।’ यी संवाद सरल भएर पनि माथिल्लो उचाइका हुन् नि ! यो त शरीरमा यौवन चढेको आफूले थाह नपाएको तर अर्काले थाह पाए जस्तै भो कि !

… भन्दै छु नि, यो यस्तो आख्यान हो, यसमा नायिका अज्जुका छ, नारी छैन । नामले कुनै पनि बेला झडप पार्न सक्छ । अब नामहरु पनि आ-आफ्नै भाषाका राख्ने हो कि ? के त्यान्डुके,लाक्चुङे शर्मा भन्यो भने याक्थुम्बाले खुकुरीमा धार नलगाउला र ! मेरो नाकको पहिचान हरायो भने मलाई मेरै नाक चाहिन्छ नि ! तर प्रश्न छ मेरो नाक उसले कसरी लग्यो ? मेरो आयु र चेतना त्यसरी कसरी लुट्यो ?लुटिएको भए फिर्ता हुने हो कि ?पहिचान खोलाले लगेन,पहिरोले पुरेन भने छिमेकी या फिरङ्गीले लुट्यो कि ? लेखाइ वाचालमय छ ।एकपटक पढिहेर न !

कतै लक्षणा कतै व्यञ्जनामा थुप्रै कुरा भनिएका छन् । त्यसैले यो किताब पानी भएको ठाउँमा जलाए । जोगियोस् भन्ने थिए छ कि ! परम्परा, नीति, आदर्श, पुरानो कुरा, असभ्य समाज बोक्ने पुस्तक त साँच्चै मिल्दैन नि ! हैन र ? नबुझे पनि बुझे जस्तो गरें ‘हंसयोगी’ ।