आज काठमाडौँ बसाईको तेस्रो दिन । धनगढी साहित्य महोत्सव सुरू भएको दोस्रो दिन । र हामी बर्माबाट हिँडेको सातौं दिन । अर्थात् २६ फरबरी २०२०।
अघिल्लो हप्ता नेपालको यात्रा तयारीमा तरखराउँदै गरेका हामी यो हप्ता काठमाडौँभित्र लरखराउँदै थियौं (यसो भन्न नसुहाउला, मैले अनुप्रास मिलाएको मात्र) । मतलब नेपाल हेर्दै, चहार्दै, यहाँको वातावरणमा रमाउँदै थियौँ । बिहानैबाट परेको झमझम पानीको कति पनि प्रवहा नगरी हामी भक्तपुर हेर्न तम्सेका थियौँ । पानी पनि साँच्चै बर्खै लागे झैँ गरेर परेको थियो । त्यही पनि हामी नयाँ ठाउँ, नौलो अवलोकन, र फरक अनुभूति हासिल गर्न हान्निएका थियौँ, भक्तपुरतिर ।
“आज कुन कुन ठाउँ जाने हो सर ?” सीमादीले उत्सुक देखाउनु भयो ।
बाहिरको रिमझिम पानी चिरेर हुइकिँदै थियो बस । बस भित्रैबाट सरले दिनभरीको कार्यक्रम र यात्रा विवरण बताउनु भयो, “सबैभन्दा पैला हामी साँगामा कैलाशनाथ महादेवको दर्शन गर्छौँ अनि भक्तपुर दरबार हेर्छौँ । त्यसपछि समय रहे नाटक घरतिर जाउँला ।”
झन्नै एक घण्ट जति बस दौडिएपछि काठमाडौँबाट पूर्वतिर रहेको शिव मन्दिर पुग्यौँ । कालो कुहिरोले सिङ्गो डाँडो झ्याम्मै अङ्गालेको थियो । त्यसैले परबाट स्पष्टरूप देख्न पाएनौँ । “कुहिरो नलाग्दा अझै आकर्षित देखिन्छ”, ड्राइभर दाइ भन्नु भयो । मलाई कुहिरोसँग रिस उठ्यो । टाढैबाट देखिने साँगाको सुन्दरता हाम्रा आँखासम्म नआइकनै छुट्यो ।
ड्राइभर दाइ विद्यापीठमा ड्राइभिङ गर्नु हुँदो रहेछ । र उहाँ नै हुनुहुन्छ पछिल्ला दुई दिन झैँ आज पनि हामीलाई विशिष्ट ठाउँहरूको दर्शन गराउने । आफ्नो दैनिक अभिभारलाई पनि हेर्नुपर्ने हुनाले त्यसपछि हामी यादवजीसँग वहाँको गाडीमा घुम्ने । आज पनि त्यहीक्रम दोहोरिने थियो।
कुनै भक्तपुरे डाँडाको टापुमा हुनुहुँदो रहेछ महादेव । बस ठाडो उकालो हामीलाई बोकेर जान नसक्ने भयो महादेवसम्म । आधा घण्ट जति घुमाउरे पाराको पैदल पुगिने छोटो बाटोतिरबाट उक्लियौँ हामी । त्यसो त बर्माका धेरै जसो धार्मिक स्थलहरू टापुमै निर्मित छन्। उकालो लाग्दै गर्दा मलाई बर्मा मै छु र त्यहाँकै मन्दिर दर्शन गर्न जाँदैछु जस्तो लाग्यो ।
विश्वले सगरमाथाको देश भन्छ नेपाललाई, बर्मेलीहरूले भगवान गौतम बुद्ध जन्मेको देश भन्छन् । हामी बर्मेली नेपालीहरू भगवान शिवको साक्षात् सुन्दर निवास हो नेपाल, शिवकै देश हो भन्छौँ । भगवान शिव ठ्याक्कै विशालस्वरूप धारण गरेर विश्वलाई आर्शीवाद दिँदै गर्नुभएको जस्तै लाग्यो मलाई, छेउमा पुगेर विराटरूप देख्दा । हामीले भगवान शिवको पूजा गर्यौँ । प्रसाद ग्रहण गर्यौँ र मन्दिर वरिपरि परिक्रमा पनि गर्यौँ । यति विशाल प्रतिमा निर्माण हुनु आफैँमा अद्भुत र अद्वितीय लाग्यो । ज्ञान सरले भन्नुभयो, “यसलाई हाल संसारकै सबैभन्दा अग्लो प्रतिमा मानिन्छ ।”
परिक्रमा गर्दै जाँदा मलाई बर्मामा विश्वकै दोस्रो अग्लो मानिने सकाईं अञ्चल, मौंय्वा नगरमा स्थापना गरिएका भगवान बुद्धको विशाल प्रतिमाको दर्शन गरेजस्तो झझल्को आइरहेको थियो । मधुदीले पनि भगवान बुद्धको बडेमाके मुर्तीलाई सम्झदै भन्नु भयो, “साँच्चै, चार सय चौबीस फिटको उचाइमा निर्मित छ नि !”
वहाँलाई समर्थन गर्दै मैले हो को इसारा गर्दै भनेँ, “बत्तीस तला प्रतिमाभित्र निर्माण गरिएको छ । बाहिरबाट यहाँ झैँ भगवान बुद्ध उभिएर आर्शीवाद दिएजस्तै देखिए पनि पैतालाबाट शरीरभित्र पस्नु भयो भने स्वर्ग, मर्त्य ,पाताल, नरक, अझै के के लोक हो कुन्नि ? मलाई थाहा छैन, ती सबैको कृतिमरूपमै भए पनि पाउनु हुन्छ । जीवनका सुख, दु:ख, पाप, पुण्य भोगाइ, भुतप्रेत पनि त्यही भित्र पाउनु हुन्छ । त्यति मात्र होइन, पशु जीवनका चौराषीलाखसम्म अनेक जीवन भोगेपछि मनुष्य जीवन रे ! मलाई लाग्छ, त्यहाँ यी सबै जीवनको चित्रकला तथा मुर्तिकलाहरू निर्मित छन् ।”
हामी बर्मालाई सम्झदै यता क्यामेरामा यताका भव्यता कैद गर्दै गर्नमा तल्लीन भयौँ । कुहिरोले पूरै क्षतिज ढाके पनि बादल फाँडेर देखिएका घर, डाँडाकाँडा, बाटो र बाटोछेउ दायाँ बायाँ रिमरिम देखिएका खेतबारी पनि उस्तै मनमोहक देखिएका थिए । ती दृश्यलाई पनि आ-आफ्नो मोबाइलमा कैद नगरी कहाँ मन मान्थ्यो र ?
भक्तपुरको साँगा क्षेत्रमा पर्ने चित्तपोल भनिने ठाउँ रहेछ यो । भीमजीले भन्नु भयो, “एक दशक मात्र भयो मन्दिर निर्माण भएको । छेउछाउ रोपिएको बगैँचाले अझै सुन्दरता थपेको छ ।”
“नेपाली फिलिम, म्यूजिक भिडियोहरू पनि यहाँ सुट हुन्छ । मैले कतिपय नेपाली फिलिममा यही दृश्य दिखेकी रहेछु ।” भीमजीले कुरा नसक्दै सीमादीले थप्नु भयो ।
बाटोमा यस्तै यस्ता कुरा गर्दै हामी साँगाबाट भक्तपुर दरबार पुगेका थियौँ । झन्नै दिउँसोको एघार जति बजेको हुनुपर्छ, हामीले दरबार टेक्दा । पानी रोकिएको थियो तर हुस्सु धुमधुमती लागेको थियो, दरबारलाई छाडेर । हामी मूल गेड बन्द हुनाले पश्चिमपट्टिको गेटबाट छिर्यौं । जहाँ सानो ताल पनि रहेछ । प्रचीन मल्ल राजा बसोबास गर्ने यो विश्वसम्पदा सूचीमा दरबारपरिसर निक्कै फराकिलो रहेछ । फनफनी घुमेर अवलोकन गर्दै पनि एक किसिमको भिन्नै र रमाइलो अनिभूति मिल्ने । भीडमा पुरातात्विक ठाउँको अवलोकन गर्न त्यति मजा आउँदैन । भीड कम्ति भएकाले हामी पन्क्षी झैँ यता र उता दगुर्दै दरबारको अवलोकन गर्न थाल्यौँ ।
भुपतिन्द्र मल्लको सालिकछेउमै ठूलो घण्टा हेरेपछि हामी सुनको ढोकाबाट भित्र छिरेर त्यहाँको सुन्दरतालाई एक छिन मनन गर्नतिर लाग्यौँ । भुकम्पले केही क्षति पुर्याए पनि त्यसबेलादेखिका भवन र त्यसको बनोट जस्ताको तस्तै पाउनु हाम्रो लागि खुसीकै कुरा थियो । सानो सानो ढोकाबाट पसेपछि ठूलो भवन र भित्रको परिसरमा कोठैकोठाले कसलाई पो अचम्ममा नपार्ला र ! त्यहीँबाट राजपरिवारको अनुमान लाएँ मैले, “कति धेरै थिए होलान् !” रानीहरू नुहाउने ठाउँ रे ! राजाहरू नुहाउने ढुङ्गेधारा रे ! ती पनि जस्ताको तस्तै ।
राजतन्त्रमै हिँडेका, कसैको उपनिवेश बेहोर्नु नपरेका दुई देश नेपाल र थाइल्यान्ड हो । त्यसैले यी देशमा स्वतन्त्रता दिवश मनाइँदैन । मैले जबबाट यो कुरा जाने तबबाट मस्तिष्कमा गढेर बसेको छ ।अँ, अहिले नेपाल गणतन्त्रमा छ। सरासरी भन्ने हो भने नेपालमा राजतन्त्रको अन्त्य भएको केही दशक मात्र हुँदैछ । राजारानीले प्रयोग गर्ने हरेक चीज जस्ताको तस्तै हुनुपर्ने हो, तर यहाँ ठाउँ र भवनबाहेक प्रयोग गरेका सामानहरू पुरातात्विक भनी देखाएको देखिएन । सम्हालेर राख्न नसकेर पो हो वा अरू नै करण हो खै ?
भक्तपुरको दरबारलाई हेरेपछि मलाई आफ्नो देशको एक सय एक सठ्ठी वर्ष पुरानो मान्डले दरबारको सम्झना आयो । दरबार र भवनको बनोट फरक भए पनि यहाँ झैँ राजारानीहरूका भवनदेखि लिएर बैठक भवन त छँदै छन् । तर सयन कक्ष, भान्सा कोठा, त्यो समयमा प्रयोग गरेका भाँडाकुँडा, लुगा,फाना, बैलगाडा, यहाँसम्म कि राजदरबारको सुरक्षारार्थ राखिएको त्योबेलाको तोपसमेत जस्ताको तस्तै पाइन्छ। तत्कालीन बर्मा (म्यन्मार) राज्यका महाराज मिन्डौंले आफ्नो शासनकालमा राजधानीलाई माण्डले नगरमा सारेपछि करिब दुई दशकसम्म राज गरे । हुन त उनका धेरै छोराहरू थिए तर बुबा मिन्डौंको देहावसानपछि एक्काईस वर्षमै राजपाठ समालेका राजा तीब, आफ्नो शासनकालको सात वर्षमै राज बन्दी भए ।त्यसपछि बर्माले ब्रिटिश साम्राज्यको एउटा उपनिवेश भएर सय वर्षसम्म कालो दिन र कालै रात काट्यो । देशको स्वधीनता छिनियो । यस्तो विषम परिस्थिति झेलेर पनि दरबार जस्ताको तस्तै छ । हाल दरबारभित्र संग्रहालय राखिएको छ । राजतन्त्र र महाराजहरूको अवसानपछि अवशेष दरबारहरू संग्रहालयमा परिणत भएका छन् ।
नेपाल दरबारहरू अद्वितीय छन् । काष्ठकलाको अद्वितीय उपमाभन्दा हुन्छ पचपन्न झ्याले दरबारलाई । संग्रहालय पसेर राजा पृथ्वी नारायण शाहबाट राजा विरेन्द्रसम्म सबैलाई हेर्यौँ । भगवान विष्णुका दशैँ अवतारको अनुपम चित्रकारितादेखि अठारौँ शताब्दीदेखिका स-साना मुर्तिहरू, अद्भुत मुर्तिकलाले पनि हामीलाई केही समय रोकेर राख्यो । त्यसपछि हामीले भगवती मन्दिर ऱ भैरव मन्दिरको दर्शन गर्यौँ ।
नेवारी जाति बढी बसोबास गर्ने थलो रहेछ क्यार, दुई जोडी नेवारीहरूको बिहे हुँदै रहेछ, पञ्चेबाजा सुनियो । त्यहीँ एउटा कफी सपमा बसेर कफी खायौँ । सिङ्गारपटार गरेका नेवारीहरूको ठूलो समूह रमझम गरेको देखियो । ज्ञानसरले परबाट ठम्याउँदै “व्रतबन्ध जस्तै लाग्यो” भनेपछि एकछिन त्यतै घोरियौँ । सबै जातिहरूको आफ्नै संस्कृति, परम्परा हुन्छ । विशेष दशैँ तिहार जस्ता चाडबाडबाहेक खासै अनुभव नभएकी मलाई आफ्ना नेपालीहरूका विविध मौलिक संस्कृति र परम्परामाथि गर्व लागेर आयो ।
भक्तपुरमा दुई-ढाई घण्टा जति समय बिताएपछि हामी यादवजीसँग खाना खान जाने भयौँ । वहाँले भक्तपुरबाटै जुजुधौ किनर ल्याएको छु भनेपछि हामी छक्क परेका थियौँ ।
“के हो सर जुजुधौ भनेको ?”, राजनले सोध्नु भयो ।
“माटाको भाँडोमा जमाएको दही हो । नेवारी भाषाबाट जुजुधौ भन्ने गरिन्छ । निकै मीठो हुन्छ, तपाईँहरूलाई चखाऊ कि भनेर ल्याएको ।” यादवजीले भन्नु भयो ।
एउटा थकाली रेस्टुरेन्टमा पुगेर खाना खायौँ, जुजु धौसँग। नेपालमा थकाली खाना निकै चर्चित रहेछ र मीठो पनि । त्यसमा नेवारी दही, साह्रै स्वादिष्ट ।
हामीले झन्नै ललितपुर, काठमाडौँ र भक्तपुरका विशेष ठाउँहरू हेरिसकेका थियौं । “अब काँ जाने ?” खाना खाइसकेपछि विचार गर्न लाग्यौँ । समय चाहिँ यतिकै खेर नजाओस्, पन्ध्र दिन किनेर पो आएको ! हामी समयको अधिकतम सदुपयोग गर्न चाहन्थ्यौँ।
सबैको सल्लाहानुसार युवराज घिमिरेजीको गोठाले नाटकघर जाने फाइनल भयो । नाटक कहिले नहेरेको म उत्सुक थिएँ, प्रत्यक्ष हेर्न ।
सिमसिम पानी पर्दै थियो, हामी थ्रिएटर पुग्दा । युवराज धिमिरेजीले हाम्रो राम्रो स्वागत गर्नु भयो । वहाँ दुई वर्षअघि बर्मा एक महिना बसेर आउनु फर्कनुभएको रहेछ । हामी अनविज्ञ थियौँ । अप्ठ्यारो महसुस भयो । आफ्नो अल्पज्ञानले गर्दा वहाँसँग भेट्न अवसर गुमायौँ ।
रिहलसल डे रहेछ, हाम्रो नाटक हेर्ने सपना अधुरै रह्यो । त्यही पनि घिमिरेजीले नाटकको नियम, हुबहू कसरी अभिनय गरिन्छ जस्ता कुराहरू नाटक घरभित्र लगेर हामीलाई बुझाउने प्रयास गर्नु भयो । यतिले त कहाँ धीत मर्थ्यो ! र पनि धनगढीबाट फर्किएपछि नाटक हेर्ने सर्तमा हामी बिदा भयौँ ।
समय ढल्किदै थियो । पाठशाला नै फर्किने कि फिल्म हेरेर सरगमको इच्छा पूरा गर्ने ? काठमान्डौं पस्दादेखि नै सरगमले सिनेमा हलमा नेपाली फ्लिम हर्ने इच्छा गरेकी थिइन् ।
“पाँच बज्नै लाग्यो । टिकट मिल्न मुस्किल छ अब त ।” यादवजीले भन्नु भयो ।
बाटोमा देखा परेका सिनेमाहलमा आमा, सेन्टिभाइरस र अर्को एउटा (नाम अहिले सम्झना भएन), ती तीन मुभी बताउने विज्ञान गरेको नोटिस गरेका थियौँ ।
“नेपाली फिलिम भए हुन्छ । हुन त दयाहाङ राई भएकै हेर्ने मन थियो । केही छैन !”, सरगमले अमिलो मन गराएर भनिन् । साखमा उनी दयाहाङ राईलाई भेट्न चाहन्थिन् । दयाहाङ राईको मुभी पनि बढी हर्ने र अभिनय खुब रूचाउने रहिछिन् ।
हामी हतारिदै सिनेमाहल पुग्यौँ । धन्न, सेन्टिभाइरस मुभीको टिकट पनि मिलिहाल्यो । मैले पनि त्यही मुभीमा देखेँ अभिनेता दयाहांङ राईलाई । मुभी नै नहेरेपछि कसरी पो चिन्नु अभिनेता र अभिनेत्री ?
सानोमा हेर्थेँ नेपाली, हिन्दी, बर्मेली मुभीहरू । पछि पढाइ र काममै अल्झिएपछि त्यति मोह पनि रहेन । नेपाल भित्रिएपछि सरगमबाट दयाहाङ राई, फुलन्देकी आमा लगायतको तारिफ सुनेँ । मलाई पनि हेरौँ हेरौँ, भेटौँ भेटौँ लागेकै थियो ।
मुवि राम्रै रहेछ । दयाहाङका साथमा धुर्मुस सु्न्तली पनि रहेछन् । थोरै हाँस्य,थोरै एक्सन, ग्रामीण जीवनमा पाटी र नेता, यी सबै विषयवस्तु ओगटेर मुभीले देशको वास्तविकतालाई पो बताइरहे छ जस्तो लाग्यो मलाई । निकै वर्षपछि नेपालमा नेपाली मुभी हेरेँ भन्दै म पनि आफै फुरूक्क परेँ ।
हामी मुभीतिर मस्त थियौँ भने ज्ञान सर भोलिको टिकट मिलाउँदै हुनुहुन्थ्यो ।
“टिकट पास भयो । भोलि हामी उड्दैछौँ तराईतिर ।”, सरले भनेपछि आखिर दुई महिनादेखि गरेको तयारीले पूर्ण रूप भोलि लिने भयो । हामी हिन्दू विद्यापीठतिर फर्कियौँ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।