समयअनुसार सबै कुरामा अन्तर आउँदैछ भने प्रेम गर्ने कुरामा पनि परिवर्तन किन नआउँनु ? प्रेम ईश्वरीय देन हो। यसले मानिसको जीवनमा संजिवनीको काम गर्छ । यसैले जीवनमा एक पल्ट प्रेम नगर्ने व्यक्ति संसारमा विरलै होलान् । आदर्श प्रेमले विश्वका ठूला ठूला महापुरुषहरूको जीवनमा परिवर्तन ल्याएको कुरा उनीहरूको जीवनी पढ्दा थाहा पाइन्छ ।
प्रेममा भावना विना यसको कुनै मूल्य हुँदैन । अघि अघिका प्रेमका भावनाहरू कागतमा छरिएका हुन्थे । केटाहरू केटीहरूलाई प्राणप्रिया, प्राणेश्वरी, हृदयेश्वरीजस्ता सम्बोधन गरिएका प्रेमपत्रहरू लेख्थे । आजकल यस्तो कहाँ देख्न पाइन्छ र ? यो नेट र कम्प्युटरको युगमा प्रेम गर्ने ढाककचा नै अर्को भएको छ । उनीहरू प्रेमलाई आफ्नै तरिकाले फेसबुक,मेसेञ्जर र ह्वाट्स्एपमा प्रयोग गर्छन् । आधा रातसम्मका च्याटिङमा हदयका सम्पूर्ण भावनाहरू बर्खे भेल जस्तो बगेर जान्छन् । तर मुख्य कुरा के भने ‘प्रेम’ हिजो पनि थियो,आज पनि छ अनि भोलि पनि रहन्छ ।
धेरैले प्रेममा फर्मूला चलाउँछन् । उचित फर्मूला लगाएर प्रेमलाई सफल र सुन्दर बनाउँन सकिन्छ । तर आजको प्रेममा उहिले बाबु बाजेको समयको फर्मूला काम लाग्दैन ।
उहिलेको प्रेममा भावुकता अधिक हुन्थ्यो । यसैले त्यस बेलाका प्रेम कविता र प्रेम गीतहरू पनि भावुकतापूर्ण हुन्थे। सुनको तारा खसाई माग्ने कान्छीको लागि जून पनि झारिदिने कान्छाहरू पाइन्थे । तर अचेलको प्रेम बेग्लै छ । अचेलकाहरू उहिलेका प्रेमका कथाहरू सुनेर खिसी गर्दै हाँस्छन्। पति पत्नि बीचको प्रेममा पनि बिहे गरेको छ महिनापछि मात्र पतिले पत्निको मुख देख्न पाएको यस्तै अचेलकाहरूलाई हाँसो जन्माउने कथा हो । यो त उहिले र अहिलेको कथाको भूमिका मात्र हो । अब एउटा आधुनिक प्रेमको कथा यसरी शुरू हुन्छ…
मानिसहरू भन्छन्, प्रेम गरिँदैन, आफैं हुन्छ । यो कहिले मेलापातको भेटघाटले हुन्छ, कहिले सभा समेलनमा भएको चिनापर्चीले हुन्छ । कहिले बिहेबटुलोतिर अचानक भएको परिचय बढेकोले हुन्छ ।
भर्खरै वैंशले छोएको युवक मधुकर एकदिन बिहेको एउटा प्रीतिभोजमा गएको थियो । बिहे उसको कलेजकी एउटी सहपाठी नीलुको थियो। मधुकर अरु पनि धेरै निम्तारूहरूसित बसेर गफ गरिरहेको थियो।बिहेमा खानाको ओसार पोसार, भिडियोग्राफी र फोटोग्राफी चलिरहेको थियो। नाचको धूम थियो अनि गाना बजानामा सबै व्यस्त थिए । सुटेड बुटेट र टाई लगाएको सुन्दर मधुकर माथि धेरै केटीहरूको आँखा पर्यो।
कोल्ड ड्रिङ्स्, चिया र कफी दिने निहुँमा धेरै केटीहरू उसका वरिपरि घुम्न लागे। केटीहरूको बीचमा साईसाई सुईसुई बढ्न लाग्यो। उसलाई हेर्दै कति वाउ, हाउ स्विट, लभ्ली र कोही फेन्ट्यास्टिक भन्दै के के कमेन्ट गर्दै जान्थे। मधुकरको छेउमा पुगेपछि उनीहरूको अनुहारको रङ नै फेरिन्थ्यो।मोबाइलमा ‘सेल्फी’ लिनेहरूको पनि उत्तिकै भीड थियो । अलिक भीड कम्ती भएपछि बेहुलीले केही इशारा गरेर मधुकरलाई आफ्नो छेउमा बोलाएर बसाई । बेहुला बेहुली झिलिमिली फूल र बत्तीहरूले सजाइएको एउटा सुन्दर मञ्चको सोफामा बसेका थिए । बेहुलीले बोलाएको देखेर मधुकर मञ्चमा पुग्यो । पहिले बेहुलीले मधुकरको परिचय बेहुलासित गराई ।
त्यसपछि उसको छेवैमा बसेकी उसकी साथी ज्योतिलाई देखाउँदै भनी, ‘ज्योति, मिट माई ह्याण्डसम फ्रेन्ड् मधुकर। मैले धेरैपल्ट तिमीलाई भनेको थिएँ नि भेटाउँछु भनेर । लौ आजै साइत जुर्यो। मधुकर इज सो फेन्टास्टिक । हि नोज एभ्री थिङ। उसले न जानेको केही छैन । उसले चित्र कोर्यो भने अहिले बोल्ला जस्तो हुन्छ । अहो ! कविता र गीतको त कुरै नगर।…’
बेहुला बेहुलीसित भेट्ने निम्तारूहरू बीच बीचमा खादा टीका लगाउँदै आउँदै जाँदै गर्दै थिए।
यता नीलू बोल्दै भए पनि बेहुलाले बीचैमा भन्यो, ‘नीलू, यता मामा माइजू आउनु भएछ ।’ बेहुला बेहुली उठे। मामा माइजूले टीकाखादा र दक्षिणासहित आशीर्वाद दिए।
दुवैले मामा माइजूलाई ढोगे । माइजूले भनिन्, ‘खोई नीलू, लोकन्ती छैन?’
नीलूले हाँस्दै भनी, ‘दिदीको सानू छोरी ’खुशी’ले रहर गरेकीले उसैलाई राखेकी थिएँ, हेर्नुहोस् न, ढुक्कैसित बस्दै बस्दिन। उसले खुशीलाई बोलाई, ‘ए.. खुशी यता आइज।’
मामा माइजूले लोकन्ती खुशीलाई पनि टीका लगाएर आशीर्वाद दिए।
यता बेहुली नीलू अरूसित अल्मलिएको बेला मधुकर र ज्योति केही बोल्न नसकी अलिअलि मुस्कुराउँदै एकाअर्कालाई हेरिरहेका थिए। यति बेला मधुकर र ज्योतिको मुख होइन, आँखा र मन बोलिरहेको थियो।
नीलूले अघिको मधुकरको परिचय पूरा गरी, ‘ज्योति, मधुकरले गिटार यति मीठो बजाउँछ, सुन्नेहरू छक्क पर्छन्। नाच्न त कति सिपालु भने भन्नै पर्दैन। सो स्मार्ट । केटीहरू योसित नाच्न तँछाड कि मछाड गर्छन्। अब तिमीहरू जाओ, ऊ त्यो कुनाको बेन्चीमा बसेर दुई जना मात्र…बात गर।’
ज्योतिका चञ्चल, लाजका बोझले थिचिएका आँखाले केही सोधे जस्तो लाग्यो, ‘किन दुइ जना मात्र…?’
नीलूले भनि, अरे! सबै कुरा मैले नै भन्नु पर्छ? इन्ज्वाई गर, डान्स गर अनि एकाअर्कालाई बुझ्ने प्रयास गर। आफ्टर अल बोथ यू आर ब्याचलर।’
केही शंकोचसित मधुकरले ज्योतिको अघि हात पसार्यो। ज्योतिले पनि हात दिई। दुवै संगीतको धूनमा नाच्न लागे।
ज्योति, एउटा अत्याधुनिक परिवारमा हुर्केकी थिई। सेन्ट जोसेफ कलेजमा पढ्थी। उसको बाल्यकाल र किशोर अवस्थाका केही वर्ष बेलायतमा बितेको थियो। उसका बाबु मेजर विक्रमवीर थापा बिट्रिस आर्मीका अवकाशप्राप्त अफिसर थिए । फौजी हुनाले उनी अनुशासन प्रिय थिए । उनले एउटी छोरी ज्योतिलाई ज्यादै लाडप्यारसित हुर्काएका थिए। उनको एउटा छोरा बेलायतमा नोकरी गर्थ्यो । आफ्नो धेरै वर्ष बेलायतमा बितेकोले अंग्रेजहरूको संस्कृतिको प्रभाव उनमा परेको थियो। यसैले उनले छोरीलाई केही स्वतन्त्रता पनि दिएका थिए।
मधुकर सरकारी कलेजमा पढ्थ्यो । बाबु एउटा हाई स्कूलमा मास्टरी गर्थे । आमा थिइनन् । एउटी बैनी थिई । उसैले खाना पकाएर दिन्थी । दुःख सुखसित परिवार हुर्कदैँ थियो।
बिहेमा भएको परिचयपछि मधुकर र ज्योति दुवै आकाशमा उडन लागे। उनीहरूको लागि संसार साँघुरिन लाग्यो। उनीहरूको मुटुको धडकन दिनदिनै गतिशील हुँदै गयो । कहिले पार्कमा कहिले सिनेमा हलमा उनीहरूको भेट हुन लाग्यो । उनीहरूले भोक तिर्खा सबै बिर्से। उनीहरूले आफ्नो वरिपरि हिँडने अरूलाई देख्न छोडे। उनीहरूका परीचितहरू जम्मै अपरिचित जस्ता भए। यो संसारमा आदम र हवा जस्तो यी दुई जना मात्र रहेछन् भने जस्तो देखापर्यो।
ज्योतिले एकदिन मधुकरलाई घरमा लिएर आई । आधुनिक सम्पन्न घर थियो । ज्योतिले कलेजको साथी भनेर आफ्ना ‘मम्मी’ ‘ड्याडी’सित मधुकरको परिचय गराई। अंग्रेजी कायदाको घर थियो । त्यहाँ शंका, ईर्ष्या र आरिसलाई कुनै ठाउँ थिएन। उनीहरू ज्योतिको कोठामा बसेर धेरै बेर बात गरिरहे । मेजर विक्रम वीरको सम्पन्नता देखेर मधुकर निक्कै ’इम्प्रेस’ भयो । रातिको खाना खाएर बिदा हुने बेलामा ‘फेरि यो घरमा कसरी आउने?’ भनेर मधुकरले मनमनै विचार गर्यो। तरूणी केटी भएको घरमा त्यसै घरिघरि नबोलाई जानु पनि त भएन । त्यहाँ जाने एउटा कुनै बहाना पनि त चाहियो । ज्योतिसितको आफ्नो प्रेमलाई अघि बढाउन मधुकरलाई फेरि त्यस घरमा कसरी जाने भन्ने एउटा ‘फर्मूला’ याद आयो।….
उसले जानी जानी सिटिङ रूमको कुनामा चाबीको झुत्ता खसाली राख्यो। भोलिपल्ट बिहान ज्योतिले सिटिङ रूम सफा गर्दा फूलदानीको छेउमा मधुकरको चाबीको झुत्ता भेट्टाई। आज पनि मधुकरसित भेट्न पाउने आशामा ऊ मनमनै खुशी भई।उसले आफ्ना बाबा मेजर विक्रमवीर थापाको अघि आएर भनी, ‘हेर्नु होस् न ड्याड, मधुकरले त हिजो चाबीको झुत्ता सिटिङ रूममै झारिराखेछ । कति जरूरी चाबीहरू होलान् । फोन गरेर लिन बोलाउँ?’
मेजर विक्रमवीर थापाले छोरीको अनुहारमा नियालेर हेरे । नीलू केही असामान्य देखिई । उसको अनुहार रातो भयो। उसले आफ्नो बाबुसित आँखा जुधाउन सकिन।
मेजर विक्रमवीरले भने, ‘खै मलाई दे । म अहिले बजार जाँदा उसको घरमा दिई राख्छु । मैले उसको घर देखेको छु।’
नीलू हस्रक्क परी, केही बोल्न सकिन अनि चाबीको झुत्ता बाबुको हातमा राखिदिई ।
यहाँ मधुकरको फर्मूला काम लागेन किनभने बिहे गर्नअघि मेजर विक्रमवीर थापाले पनि यही फर्मूला लगाएर आफ्नी श्रीमती मेजरनी धनमाया थापाको माइती घरमा धेरै पल्ट ओहोर दोहोर गरेर उनलाई भगाएर लगेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।