
वैशाखको महा खडेरीमा, पचास वर्षकी मालती साइँली रूखको मुनि खुइय्य गरेर बस्न लागिन् । उनको अनुहार रातो भएको छ । निधारबाट पसिनाका थोपा तप्प चुहिएर नाकबाट हुँदै चिउँडाबाट थप्प गरी झरे । तीन दिनदेखि लगातार हिँडेकाले, लगाएको रबरवाला चप्पलको लोती पनि चुँडिएछ । चप्पलमा प्वाल परेकोले कुर्कुच्चा पिल्सेर भित्रको सेतो मासु देखिएको छ । छोरीको घरबाट पोकोमा बोकेको खाने कुरा दुई दिनमा सिद्धिएकोले गर्दा हिजोबाट केही नखाएकाले होला फनन रिंगाटा लागेको महसूस गर्दैछिन् तर घरमा छोरो डिल्ले खसेको दृश्य सम्झिन्दा आँसु थपथप आए अनि ग्वाँ.. ग्वाँ.. गरी रून लागिन् मालती साइँली । उनको अवस्था यति दयनीय छ, जसको कल्पना मात्रले पनि मन थर्थराउँछ ।
आधा घण्टापछि उनका आँसु सुके, पोकाबाट कुच्चिएको हरियो बोतल निकालेर दुई घूँट पानी पिएर जेठो छोरो भवानीले भनेको कुरालाई झल्झल सम्झिन् ।

हर्कबहादुर लामगादे
भवानी भात मुछ्दै आमालाई हेरी भन्छ, ‘आमा धनकुटाकी माइली दिदी पुकुलीकोमा नजाऊ । कान्छो भाइ डिल्लेलाई अलिक सन्चो छैन, पुकुली सुत्केरी हुन त आँटेकी छ, स्याहार्न त जानु पर्ने हो तर उसको घरमा अहिले उसकी नन्द छन् अरे त । अनि ज्वाईँ नारायण पनि त स्याहार्न जान्दछन् होला नि, पहिलो भान्जा हुँदा कति मजले स्याहारेका थिए, तिमी त्यैँ थियौ, सब थाहा छ त, यसपालि नगए हुन्छ होला आमा ।’
सागको तरकारी थपिदिँदै मालतीले भन्छिन्, ‘हेर् जेठा, कान्छो छोरालाई त ज्वरो मात्रै आएकोे हो, चाँडै सन्चो भइहाल्छ । पुकुलीलाई न भेटेको धेरै भयो, हिजो फोनमा कुरा गर्दा रूँदै थी, रातभरि पेट दुख्छ रे, हाथ खुट्टा दुख्छ रे अनि ज्वाईँ नारायण पनि आमा आइदिए हुन्थ्यो भन्दै हुनुहुन्थ्यो अरे । अब नगई कहाँ हुन्छ र? भोलि नै मेरो बसको टिकट गर्दे ।’
सायद जेठाको कुरा सुनेको भए….दाहिने हातले मुख छोपेर रून लागिन् मातली साइँली।
पोल्टामा घुसारेको नोकियाको सानो फुच्चे फोनको घण्टी बज्यो । आँसु पुछ्दै मालती साइँलीले फोन उठाइन् । उताबाट पुकुली छोरी स्वाँक स्वाँक रूदै सोध्छे, आमा काहाँ पुगेउ?
मालती साइँली भन्छिन्, छोरी म झिलखेत पुगेँ, भरे बेलुकासम्म त घर पुग्छु होला। चिन्ता नगर्, अझै तेरी आमा दरी छे, हिँड्न सक्छे मजाले।
पुकुली कुरा काटेर भन्छिन्, आमा तेस्तो नभन न, मलाई त कस्तो पश्चताप लागिरहेको छ, बिना बित्थामा बोलाएँ तिमीलाई। अहिले नै नातिनी जन्मिनु, तिमी आउनु अनि यो पड्के कोरोनाको माहामारीले गर्दा लकडाउन भएर तिमी अड्किनु अनि हाम्रो भाइ यही समय…
पुकुलीको आवाज भासिन्छ ।
छोरी रोएको सुनेर आमा पनि रून लाग्छिन्।
मालतीले भन्छिन्, छोरी अब जे हुनु भयो, दैवको इच्छा होला, तँ नातिनीको ख्याल राख, म घर पुगरे तँलाई फोन गर्छु।
पुकुलीले भन्छिन्, आमा…मलाई त पाप नै लाग्छ होला, एक महिना मलाई र नातिनातिना स्याहारेउ । अनि यस्तो आई पर्दा तिमी एक्लै हिँडेर जाँदैछेउ।
बात काटेर मालती भन्छिन्, छोरी तेस्तो होइन नि त। भर्खरकी सुत्केरी अनि ज्वाईँ नारायणलाई पनि कोरोना हुनाले हस्पिटलमा बस्नु परेको छ । आपत बाजा बजाएर आउँदो रहेनछ । अब कान्छो छोरो हामीलाई छोडेर गयो भन्दा आमाको मन कहाँ मान्दो रहेछ ? म घर पुग्छु, तँ थरीथरीका कुरा नसोची बस्। अघि ज्वाईँ नारायणको पनि फोन आएको थियो।
छोरी पुकुलीले अलि लामो सास फेरेर भन्छिन्, आमा फोनमा त चार्ज छ होला नि?
मालती कानबाट फोन निकालेर हेरिन् अनि भनिन्, छ छोरी छ, यो फुच्चे फोनमा एक पटक फूल चार्ज गरे पछि एक हप्ता पुगिहाल्छ। ल त छोरी म हिँडेको, फोन राखे।
खुई खुई गर्दै मालती साइँली पाइला अघि सार्न थालिन्। आधा घण्टा हिँडेपछि, मालतीलाई फननननन टाउको घुमाए जस्तो भयो, पाइला अघि सर्न सकेनन् । थ्याच्च बस्न मन लाग्यो। हिजोबाट अन्नको केही दाना पेटमा नपसेर होला, पेट पनि बटारिएको महसूस गरेकी छन् । एकछिन बसुँकी जस्तो लाग्यो तर घर पुग्ने उनको चेष्टाले यो अवस्थामा भारी पर्यो। जसोतसो गरेर पाइला अगाडि सार्न थालिन्। मालतीको मनमा अनेक थरीका कुरा खेलिराखेका छन् । जुन तीता र पीडादायक छन्। आँखा पनि तिरमिराए जस्तो लाग्न थाल्यो । परपर अरू यात्री हिँडेको धमिलो हुन लाग्यो। लगभग सय पाइला अगाडि एउटी आईमाई हिँड्दा हिँड्दै पछारिइन्।
धमिलो भएको आँखालाई मिच्दै मालतीले उभिएर हेर्न लागिन्। आइमाई लढेको देख्दा शरीरमा रहेको सबै बल लगाएर त्यो आइमाई भएको ठाउँमा पुगिन्। आइमाईको दयनीय अवस्था हेर्दा कताकता आफूमा बितेका पीडाहरू धमिला भए। विचरी ती आइमाईले फाटेको साडी लगाएकी, खाली खुट्टा हिँडेकोले गर्दा कुर्कुच्चा पट्पटी फुटेका रहेछन्, ब्लाउज एक पाखुराको च्यात्तिएर फराकिलो प्वाल परेको रहेछ, धैरे रोएर होला गालामा लेत्रैलेत्रा भएको रहेछ । आफ्नो पोकोबाट पानी निकालेर थर्थर् काम्दै गरेका हाथले ती आइमाईको अनुहारमा पानी छर्किन्। त्यतिबेरसम्म अरू मान्छे आएर ती आइमाईलाई उठाएर लगे। मालतीले ती आइमाई लगेको हेरिरहिन् । जबसम्म धमिला भएका आँखाबाट ओझल भएन। मनमनै मालतीले सोचिन्, सायद मेरो जस्तो आपत परेर आफ्नो घर गएकी होलिन् । दैवले उनको रक्षा गरून्।
दस मिनटपछि, मालती हिड्छु भनी उठ्न लागिन् तर खुट्टा थररररर काँपे । बोतल खोली एक घूँट पानी निलेर, हाथ टेकी उठ्न लागिन् । फेरि पनि उभिन सफल भइन्। त्यति बेला नै जेठा छोराको फोन आयो, उठाउनलाई हरियो अंकित भएको कल रिसिभ बटन दबाउन कोसिस गरिन् तर औँला कामेर उठाउनै सकिनन्। मातली आफूसँग नै गफ गर्न लागिन्, हैन के भएको यो औँला, कामेर सक्दैन त बटन दबाउन पनि । यी आँखा फेरि किन तिरीमिरी भएको होला। घाम अस्ताउने बेला भयो, घर आजै पुगिन्छ कि भनेको त…
आमाले फोन न उठाएकोले गर्दा, पुुकुलीको फोनमा दाजु भवानीको फोन आयो।
पुकुलीः हेलो दाइ, आमासँग कुरा भयो?
भवानीः खोई फोन त उठाउनु भएको छैन, तीन-चार पटक फोन लगाई सकेँ । काकाको छोरो संदीप र उसको साथी रमेश लिन भनेर बिहानै हिँडेको अझै भेट भएको छैन आमासँग । बाटोमा पुलिसले पूछताछ गरेर एक ठाउँमा त चार घण्टा राख्यो अरे, ठूलो आपत पार्यो यो कोरोना महामारीको लकडाउनले ।
पुकुली रूँदै गरेको आवाजलाई दबाएर लामो सास फेरेर भन्छिन्, दाइ अघि मैले एक घण्टाअघि आमासँग बोलेको थिएँ, झिलखेतीसम्म पुग्नु भएको थियो अनि आमाको बोली त टाठो आएको थियो।
भवानीले बीचैमा कुरा काटेर भने, फोन काटेँ ल, संदीपको फोन आयो । भवानी अर्को कानमा फोन टास्दै धेरै आसलाग्दो आवाजले सोधे, हेल्लो संदीप, भेटिस् त ठूलीआमालाई ?
धैरेबेर सोचेर संदीपले लामो सास फेरेर भने, दाइ ठूलीआमालाई भेट्न त भेटेँ तर..
भवानी आत्तिँदै सोध्छन्, तर के संदीप?
ठुलीआमा पनि डिल्ले जसरी हामीलाई छोडेर जानु भयो ।
चरहाजारे, मणिपुर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

