प्रा. डा. दयाराम श्रेष्ठ नेपाली कथा तथा समालोचना साहित्यमा चुली, अभेद्य र मानक नाम हो । अर्थात् नेपाली कथा साहित्यबाट प्रा. डा. दयाराम श्रेष्ठलाई एक छिन बिर्सने हो भने कथा साहित्य अपुरो र अमानकीय हुन्छ । उहाँको अग्लो प्राज्ञिक कदले नेपाली साहित्यवृत्त त्यसमाथि पनि कथावृत्त सधैँ वशीभूत भई नै रहन्छ । हो, यही अग्लो कदको एउटा अन्तर्वार्ता प्रकाशित भएको छ साहित्यपोस्टमा । साहित्यकार गोविन्द गिरी प्रेरणाका प्रश्नमा समग्र नेपाली साहित्यको अवस्था, आख्यानको अवस्था त्यसमाथि पनि लघुकथाका बारेमा विहङ्गम दृष्टिकोण राखिएको छ । उपयोगी खुराक पस्किएको छ । लघुकथासँग चासो राख्ने सबैले यो अन्तर्वार्ता पढ्न अनुरोध गर्दछु ।

लघुकथाकार भनेको के ? – डा. दयाराम श्रेष्ठ

सोही अन्तर्वार्ताका बुँदाका फुँदामा बसेर म सोचिरहेको छु । मेरो अल्पज्ञानले हर्षका साथ सहमति राख्दै छ । नबुझेकाले जिज्ञासा पनि राख्दै छ । पक्का पनि मेरो यो दुस्साहस हो । प्रा. डा. दयाराम श्रेष्ठको उचाइमा उभिएर खास गरेर लघुकथाका बारेमा आफ्ना कुरा भन्न सक्ने आँट वर्तमानका लघुकथा विज्ञसँग सितिमिति छैन भनिठान्छु म । किनभने ती विज्ञका डा. श्रेष्ठ गुरु र महागुरु हुनुहुन्छ । यो मेरो दुर्भाग्य हो कि मैले  ब्रोड सेन्समा र प्राविधिक रूपमा पनि प्रा. डा. दयाराम श्रेष्ठसँग कहीँ कतै जोडिने, पढ्ने तथा सत्सँग गर्न पाइनँ । यो अचुक अवसर गुमाएको म भालुभुत्ते व्यक्ति हुँ । नबुझ्नु मेरो भालुभुत्तेपनको प्रमाण हो ।

अन्तरवार्ताका क्रममा प्रा. डा. श्रेष्ठले नेपाली कथा साहित्यको प्रवृत्तिगत चित्रण गरेको कुरा अत्यन्त गतिलो छ । यो कार्य प्रा. डा. दयाराम श्रेष्ठले नै गर्ने कुरा हो । यस्तो गहन कुरा अरू कसले गर्ने हो र ! यसका लागि उहाँलाई साधुवाद अर्पण गर्छु ।

प्रा. डा. श्रेष्ठका विचारमा ’लामो कथा भन्नु पनि कथाको अर्को विधा होइन । लामो कथा भनौँ, छोटा कथा भनौँ, लघुकथा भनौँ सप्पै यौटा कथा जुन छ हामीले सामान्य रूपमा मान्ने गरेको कथा सर्ट स्टोरी भनेर, त्यसैको चाहिँ एकेक ओटा रूप मात्रै हुन् ।’ निःसन्देह लामो कथा पनि अङ्ग्रेजीको सर्ट स्टोरी नै हो । उहाँ लघुकथालाई आख्यानको प्रविधा मान्नु हुन्न भन्ने देखिन्छ । र भन्नु हुन्छ, ‘बेग्लै विधा हुनका लागि कथाभित्र जुन ब्लड हुन्छ, त्यो फरक हुनुपर्‍यो । जस्तो कथामा पाइने ब्लड र निबन्धमा पाइने ब्लड, नाटकमा पाइने ब्लड फरक हुन्छ । त्यो ब्लड भनेको कथामा पाइने कथावस्तु, पात्र, दृष्टिविन्दु, सारवस्तु, थिम हो । सो ब्लड खुम्चियो भने लघुकथा बन्छ, त्यल्लाई विस्तार गरियो भने लामो कथा बन्छ । अर्थात् ठिक्कैमा राख्यो भने कथा बन्छ ।’

मलाई यहीनजिक एउटा जिज्ञासा उत्पन्न हुन्छ कि द्वन्द्व, कथावस्तु, पात्र, दृष्टिविन्दु, सारवस्तु र थिम आख्यानको ब्लड होला नि ! कथा आख्यानको प्रविधा भएकाले त्यो ब्लड कथामा भएको होला ! उपन्यासमा पनि तिनै ब्लड त हुन्छन् नि । अनि के उपन्यास पनि कथा नै हो ? ब्लड एउटै हुँदैमा प्रविधा फरक हुन सक्दैन ?

नेपाली लघुकथाको परिभाषा खोज्दा प्रा. डा. दयाराम श्रेष्ठको ’विचार वा भावको प्रभावकारी विस्फोटन हुनसक्ने भित्री अणुसामर्थ्य भएको छोटो कथा नै लघुकथा हो’ भन्ने परिभाषा महत्त्वपूर्ण मानिन्छ । यही लघुकथामा अणुसामर्थ्य हुनुपर्ने सिद्धान्तको कसीमा उहाँको अन्तरवार्ता हेर्दा यी प्रश्नहरू उब्जिएका छन् ।

१. उहाँको सिद्धान्तलाई अनुसरण गर्दा यदि कथा छोटो छ तर अणुसामर्थ्य छैन । तर कथाको ब्लड छ भने लघुकथा हुन्छ कि हुँदैन ?

२. नेपाली लघुकथाका सिद्धान्तका अन्य प्रतिपादक (प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल, डा. लक्ष्मणप्रसाद गौतम, आदि) ले औँल्याएका लघुकथाका विशेषताहरू जस्तै – संक्षिप्तता, आकस्मिक प्रारम्भ र अनपेक्षित र हठात् समापन नभएको तर आकारमा मात्र खुम्चिएको पूर्ण कथा लघुकथा हुन्छ कि हुँदैन ?

३. नेपालका विश्वविद्यालयका प्राज्ञिक विद्वानद्वारा लेखिएका लघुकथाका सिद्धान्त र विधानका पुस्तकहरू (डा. लक्ष्मणप्रसाद गौतम, २०७२; लक्षमण अर्याल, २०७८) र लेख (हरिप्रसाद भण्डारी, २०७९) मा लघुकथा आख्यानको एउटा प्रविधा हो भनेर लेखिएको छ । डा. लक्ष्मणप्रसाद गौतमको लघुकथाको रचना विधान (२०७२) मा प्रा. डा. दयाराम श्रेष्ठको छोटो बधाई शुभकामना सम्मिलित छ । यस परिप्रेक्ष्यमामा लघुकथालाई आख्यानको प्रविधा किन नमान्ने ? के लघुकथाका सिद्धान्त र विधानका पुस्तकहरू अमान्य छन् त ?

४. डा. पुष्करराज भट्टले त्रिभुवन विश्वविद्यालयबाट र डा. हरिप्रसाद भण्डारीले संस्कृत विश्वविद्यालयबाट लघुकथा प्रविधामा विद्यावारिधि गरेका छन् । के उनीहरूका थेसिसमा अमान्य भएका हुन् त ?

‘लघुकथाका लागि भनेर खुलेका सामाजिक मञ्च, सञ्चालक तथा प्रशिक्षकहरू राम्रै हुने हो भने यसले राम्रै परिणाम देला । तर दिन्छ भन्ने मलाई लाग्दैन’ । यो शुभेच्छा डा. श्रेष्ठको हो । निःसन्देह सामाजिक सञ्जालमा गतिला प्रशिक्षक हुने हो भने लघुकथाले गतिलो फड्को मार्छ । तर राम्रा प्रशिक्षक कहाँबाट ल्याउने ? नाम चलेका दामी छन् । ती पहुँचभन्दा बाहिर छन् । ती महँगा पनि छन् । फेरि सामाजिक सञ्जालले सञ्चालन गरेको लघुकथा वाचन र परिचर्चा पाठक लेखकको भेट मात्र हो । प्रशिक्षण वा समालोचना होइन भन्ने मेरो बुझाइ छ । यसलाई यसरी बुझ्न सकिन्न ? के पाठक समालोचक जत्तिकै विज्ञ हुन जरुरी छ ? के पाठकलाई आफ्नो राय राख्ने अधिकार हुन्न ?

प्रा. डा. दयाराम श्रेष्ठ कथाको खुम्चयाइ तथा आकारीकरण मात्र लघुकथाको भेद हो भन्ने भनाइलाई विचार गरौँ । यदि यही कुरा सही हो भने किन अलग सिद्धान्त चाहियो ? कथाको त भरमार सिद्धान्त बनेकै छन् नि त ? कि त नेपाल प्रज्ञा प्रतिष्ठानको सङ्क्षिप्त साहित्यिक शब्दकोश (डा. नेत्र एटम २०७४) मा उल्लेख भएको एक हजार शब्दभन्दा मुनिका कथा लघुकथा हो भनेर भनिदिए हुन्थ्यो । यसो गर्दा प्रा. डा. दयाराम श्रेष्ठको अणुसामथ्र्य हुनुपर्ने लघुकथाको सिद्धान्त के हुन्छ ?

डा. श्रेष्ठ भन्नु हुन्छ, ‘लघुकथा भनेको जोक, ठट्यौली होइन ।’ शतप्रतिशत सहमत छ यो कुरामा । लघुकथाकार सजग हुने अमूल्य सुझाव हो यो । तथापि लघुकथा सिक्नेहरूका लागि कुन कुन संरचनागत आधार र सिद्धान्तले लघुकथा चुट्किला भए त भन्ने सामग्री नहुँदा हचुवामा गरिएको तर्कले हतोत्साहित बनाउने देखिन्छ । यस तर्फ पनि साहित्यकार, सिद्धान्त प्रतिपादकहरूले ध्यान पुर्‍याउन जरुरी छ कि छैन ?

अर्कोतिर ‘कथा लेख्नेलाई कथाकार, निबन्ध लेख्नेलाई निबन्धकार, नाटक लेख्नेलाई नाटककार भनिन्छ । लघुकथाकार भनेको के हो ? सानो कथाकार भनेको ? फुच्चे कथाकार भनेको ?, पुड्के कथाकार भनेको ?, बालकले कथा लेख्यो भने बाल कथाकार भन्ने त ?, प्रौढ व्यक्तिले बालकथा लेख्यो भने बालकथाकार भनिदिने त ?’ यी प्रश्नहरू डा. श्रेष्ठका हुन् । निःसन्देह कथा लेख्नेलाई कथाकार, निबन्ध लेख्नेलाई निबन्धकार, नाटक लेख्नेलाई नाटककार नै भन्ने हो । तर एकाङ्की लेख्नेलाई एकाङ्कीकार, महाकाव्य लेख्नेलाई महाकाव्यकार, छन्दमा कविता लेख्नेलाई छन्द कवि, लघुकथा लेख्नेलाई लघुकथाकार भनिँदा चाहिँ के आपत्ति भयो ? त्यसले गुणवत्तामा कहाँनजिक नकारात्मकता ल्यायो ?

एकातिर उहाँ कै नेपाली लघुकथा र कथाकारहरू (२०७८) पुस्तकमा नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्य (गद्य/आख्यान) विभागको विभागीय मन्तव्यमा माया ठकुरीले लघुकथाकारहरूको जीवन वृत्ति र प्रवृत्ति सम्मिलित पुस्तक भनेर उल्लेख गर्नु भएको छ । किन डा. श्रेष्ठले आफ्नै पुस्तकको शीर्षकमा ‘लघुकथाकार’ भन्ने शब्द प्रयोग गरेको होला ?

त्यस्तै कमलमणि दीक्षितले डा. लक्ष्मणप्रसाद गौतमको लघुकथाको रचना विधान (२०७२) पुस्तकको मन्तव्यमा आफू लघुकथाकार कसरी बनेको भन्ने प्रसङ्ग उल्लेख गर्नु भएको छ । यसरी पुराना र स्थापित कथाकारदेखि अहिलेका लघुकथा सर्जक सबैले लघुकथा लेख्नेलाई लघुकथाकार मानिसकेको आम मान्यता (जनरल कन्भेन्सन) बनिसकेको छ भने अर्को तिर प्रा. डा. श्रेष्ठले लघुकथाकार के हो प्रश्न उठाउँदा समयोचित होला त ?

अनि नि डा. साब भनेझैँ बालकले लेख्दा बालकथाकार हुने होइन, बालकको उमेरलाई लक्षित गरेर लेखिने साहित्य बाल साहित्य हो । बाल साहित्य प्रौढ व्यक्तिले लेखे पनि बालकथाकार हो । बालकले किशोर कथा लेख्यो भने कथाकार भन्ने हो नि ! लेख्ने मान्छेको उमेर हेरेर भनिने कुरा हो र यो ? लेख्ने मान्छेले के लेख्यो भन्ने आधारमा भनिने कुरा होला नि !

अनि नि डा साहेब ! तपाईँ भन्नु हुन्छ, लघुकथाको अहिलेको जुन परिपाटी देखिएको छ नि, त्यो त  ऐँजेरु हो । बनमारा हो । कविता पढेर अहिले म सन्तुष्ट हुन सक्दिनँ । समालोचना त मरिसक्या छ । रम्बास, एक लाइन कविता माइक्रो कथा आदि प्रयोगका बारेमा सकारात्मक देखिनु हुन्न डा साहेब ।

मलाई लागेको कुरा के हो भने समालोचना त्रिविलगायत विश्वविद्यालयका प्राध्यापकहरूले गर्ने गराउने कुरा हो । समालोचनाका सिद्धान्त अर्थात् साइकोएनालिटिक, फेमिनिस्ट, माक्र्सिस्ट, स्ट्रक्चरल क्रिटिसिज्म जस्ता अनेकन सिद्धान्तका परिधिमा बसेर लेखिने हो । सर्जकको काम लेख्ने हो । सिर्जनामा प्रयोग सर्जकले गर्ने हो ।

डा. साहेबका भनाइलाई नै साक्षी राख्दै भन्दै छु कि भाँती नपुगेका ‘त्यस्ता रचनाहरू बाँच्दैनन् । त्यो समयसँगसँगै बिलाएर जान्छ, जान्छ’ । यदि त्यसो हो भने लघुकथालाई ऐँजेरु, बनमारा जस्ता शब्दले अर्थ्याउनु किन जरुरी भयो र ? ती त समयका आरनमा त्यसै पनि निभ्ने नै हुन् भने यो उपल्लो कोटिको शब्दगत् अनुदार विचार किन ?

यही विचारले मेरा दिमागलाई सोच्न बाध्य बनाएको छ । सोचिरहेको छु अघिल्ला पुस्ता र पछिल्ला पुस्तका बिचमा किन यस्तो द्वन्द्व ? किन अग्रज विद्वानले सैद्धान्तिक रूपमा बखेडा खडा गर्छन् ? कम्तीमा एक मत भइदिए पछिल्ला पिँढीलाई सहयोग हुन्थ्यो कि !

यसको कारण के होला भने समाजको हरेक क्षेत्रमा सन् १९२८—१९४५ सम्म जन्मेको साइलेन्ट जेनेरेसन, त्यस पछिका बेबी ब्रुमिङ जेनेरेसन (सन् १९४५—१९६५), जेनेरेसन एक्स (१९६५—१९८०) का जेनेरेसनका व्यक्तिहरूले प्रभाव जमाएका छन् । चाहे राजनीति, चाहे साहित्य, चाहे समाज सबैतिर यही पुस्ता हावी छ । तर समाज परिवर्तन हुँदै मिलेनियम जेनेरेसन (१९८१—१९९६) र त्योभन्दा पनि अघि बढिसकेर जेनेरेसन जेड (१९९७—२०१५) र त्यसपछिको जेनेरेसन अल्फा जन्मिरहेको छ । हरेक जेनेरेसनका सोचाइ स्वाभाविक रूपले फरक हुने भइहाल्यो । सामाजिक सञ्जालयीय भएको छ समाज । त्यसैले पुस्तान्तरणका मान्यता तथा प्रक्रियामा फरक हुनु स्वाभाविक हो । त्यसैले यो सामाजिक सञ्जाल तथा लघुकथा केन्द्रित भएर आएको डा. साहेबको कुरा पनि यही जेनेरेसनको सोचाइको कारणले फरक भएको होला भनिठानेको छु ।

तथापि प्रा‍‍‍.डा. दयाराम श्रेष्ठको यो अन्तर्वार्ताले एउटा इस्यु भने उठाएको छ । एउटा समस्यालाई बाहिर ल्याएको छ । यो स्तुत्य कार्य हो । यसका लागि श्रद्धाले नमन गर्दछु ।

र पुछारमा लघुकथाका बारेमा विद्यावारिधि गर्ने, थेसिस लेख्ने, लघुकथाको सिद्धान्तका पुस्तकहरू लेखेर प्रकाशित गर्ने र लघुकथा आख्यानको अलग्गै प्रविधा हो भनेर हुटहुटी लगाउने सबै विद्वत्वर्गका साथै नेपालको प्रज्ञाप्रतिष्ठान, त्रिविको नेपाली केन्द्रीय विभाग, लघुकथाकै काम गर्ने भनेर खुलेका दर्तावाल संस्थाहरू तथा नेपाल सरकारको सम्बन्धित निकायले मेरो जिज्ञासा शान्त पारिदेओस् । र, सामाजिक सञ्जालको प्लेटफर्मका कारणले लघुकथामा बामे सर्दै गरेका सर्जकका दिमागमा यो अन्तर्वार्ताका कारणले परेको जटिलताको निराकरण गरियोस् । गुमराहमा नराखियोस् ।

र, अब अन्त्यमा, महागुरु डा. श्रेष्ठका प्राज्ञिक छोराछोरी, प्राज्ञिक नातिनातिनाहरू प्राज्ञिक शब्दका जालमा धुरा पस्न पाइपुग्ने छन् । त्यो विवादमा पस्ने हैसियत छैन मेरो । शब्द जाल खोजेको पनि होइन । मैले त झालेमाले नगरी अथवा शब्दका प्राज्ञिक जालका आधारमा होइन, प्रस्ट जबाफ अविलम्ब खोजेको कि लघुकथा भनेको कथाको आकारगत सानो रूप हो या आख्यानको अलग प्रविधा ???

====

सन्दर्भ  सामग्रीः

—  डा. नेत्र एटमः सङ्क्षिप्त साहित्यिक शब्दकोश, नेपाल प्रज्ञा प्रतिष्ठान, २०७४

–  डा. लक्ष्मणप्रसाद गौतमः ‘लघुकथाको रचानाविधान ‘, लघुकथा समाज, काठमाड़ौँ, २०७२

–  लक्ष्मण अर्यालः लघुकथाको विमर्शन “, वाल्मिकी साहित्य सदन, २०७८

–  प्रा. डा. दयाराम श्रेष्ठः ‘नेपाली लघुकथा र कथाकारहरू’, २०७८

–  हरिप्रसाद भण्डारीः लघुकथाको सैद्धान्तिक परिचय ’, आलेख, पूणर्ाङ्क ५०, २०७९ कात्तिक ।