‘जय प्रकाश नारायण अस्पताल इमरजेन्सी ? म, एकजना घाइते केटी लिएर आउँदै छु ! एउटा बेड खाली राख्नु होला ! मेरो नाम चञ्चल सिंह हो !’  

नाम, चञ्चल सिंह । जस्तो नाम आचरण पनि त्यस्तै । चञ्चलताको पराकाष्ठाको अन्तिम रेखा जहाँ विराम लिन्छ त्यहाँबाट सुरु हुन्छ चञ्चलको चञ्चलता । ऊ एक मिनटका लागि पनि स्थिर कहिल्यै बस्तैन, न नै उसको मुखले केही क्षणका लागि विराम लिन्छ । बकबके शब्दको सटीक उदाहरण हो, चञ्चल सिंह । उसका कुराको न खुट्टा हुन्छ न शिर तर कहिलेकाहीँ यस्तो ज्ञानको कुरा गर्दछ मानौँ ऊभन्दा ज्ञानी यो लोकमा अरू कुनै छैन । महाज्ञानी चञ्चल सिंह । तीस बर्से चञ्चल सिंहको आचरण कुनै दस बर्से बालखभन्दा कम छैन ।  

ऊसँग कोही एक घण्टा बिताओस्, थाहा लाग्छ केटामा वानरभन्दा गजबकाे फुर्ती र फइँफाइँ गर्ने तीव्रता छ । अँ, यो बजरङ्गबलीको परमभक्त हो । हरघडी हनुमानजीको नाम लिइरहन्छ – ‘जय बजरङ्बली, जय हनुमान जी की !’  

‘यो केटालाई हनुमानजी को आशीर्वाद छ’ भन्न उसका निकटतम् आफन्तहरू पछाडि सर्दैनन् । यो केटाको केटाकेटीपन कहिले जान्छ भनी उसका परिवारका सदस्य सोच्दासोच्दै अब सोच्नै छाडेका छन् । वाक्क, दिक्क भए । उसकी आमाले चञ्चल सिंह बचपनमा छँदा सय चोटि ज्योतिषाचार्य अनि पण्डितलाई देखाइन्; यो जान्नलाई कि मेरो छोराको चञ्चलता कहिले जान्छ । ज्योतिष र पण्डितले सधैँ भनिरहे; केटो हुन त धेरै चञ्चल हो तर पछि गएर हुनेछ बहादुर । चञ्चल सिंहको अगाडि हिम्मत शब्द टिक्नै सक्दैन । कारण, ‘नाइँ’ उसको शब्दकोशमा नै छैन । उसलाई कसैले भनिदियोस् कि घामलाई टिपेर ले । ऊ सोच्नमा एक पल पनि लगाउँदैन, तुरुन्तै भनिदिन्छ- ‘हुन्छ, म हनुमान जसरी उडेर जान्छु अनि लिएर आउँछु ।’ यस्ता निष्प्रयोजन कुरा गर्दा कोही पनि हाँस्न सक्छन् तर हिम्मतलाई हिम्मत दिनु चञ्चल सिंहको मूल-स्वभाव हो । उसको फुर्के बानी हो । कसैले उसलाई अलिकति फुर्काइदियोस्, हवाईजहाजभन्दा माथि उडान भर्न लाग्छ ।  

रङ कालो, पाँच फुट कद, ससाना भित्र गाडिएका अनि छेउतिर तन्केका आँखा, कसिलो जिउ । यसलाई मजाले चिमोट्नुहोस्, तपाईं थाक्नुहुन्छ तर चञ्चललाई रत्तिरभर पनि फरक पर्दैन । खपेको हो कि नदुखेको, बुझ्न गाह्रो छ । काम कुनै प्राइभेट कम्पनीमा गर्छ तर उसका हत्केला छाम्दा लाग्छ मानौँ यो रोजै हलोकोदालो चलाउने काम गर्छ । बलियो यति छ कि पचासजना मान्छे लड्न आए भने पनि झम्टिन पछि सर्दैन ।  

यसको कलेजको एकजना साथी छ, रमन । हमेसै भन्छ- ‘मलाई छोडेर चञ्चल सिंहले कलेजका सबै केटालाई कुनै न कुनै समय मजाले बजाएको छ भलै तिनीहरूको गल्ती किन नहोस् !’ यसरी भौँकालको माहौल बनाउन हरदम तत्पर रहन्छ, चञ्चल सिंह । कामभन्दा बढी मुखले भौँकाल अनि कामले मुखको कुरालाई वजनदार बनाउन पनि पछाडि सर्दैन । बाहिरबाट भलै ऊ असभ्य र चञ्चल होस् तर हृदय स्वच्छ जलभन्दा धेरै निर्मल । परिचित होस् या अपरिचित मद्दत गर्न पङ्क्तिमा प्रथम उभिएको पाइन्छ । उसलाई बुझ्न जति सरल उति नै कठिन पनि छ ।  

पटनाको गर्ल्सरोडमा उसको अफिस छ । गर्ल्सरोडको दुवैतिर गर्ल्स होस्टेल छन् । अपराह्नपछि गर्ल्स रोडमा सुन्दर केटीहरूको रमाइलो वातावरण बनिरहन्छ । कुनै आफ्ना प्रेमीसँग प्रेमिल कुरा गर्दै गरेका हुन्छन् त कुनै फास्टफूडको आनन्द लिँदै गरेका देखिन्छन् । चञ्चल सिंहको अनुहार कालो भए तापनि कन्याहरू उसको अघिपछि मायाको झोला लिएर हिँड्ने गर्छन् । ऊ उदारहृदयको प्राणी; प्रेमको झोला लिएर हिँड्ने कन्यालाई निराश पटक्कै पार्दैन, जति हुन सक्छ प्रेम बाट्नमा लागिपरिरहन्छ । जब पनि अफिसबाट फुर्सत पाउँछ उसका पाइला गर्ल्स रोडतिर रोडमा छरिएका कन्यालाई निहाल्न सरिहाल्छन् । यी कन्याका बिस्कुन उसलाई औधी मन पर्छ ।  

कोभिड महामारीको दुई वर्षपछाडि, एक दिन चञ्चल सिंहलाई आफ्नो कम्पनीको रिजिनल म्यानेजरलाई लिन हवाईअड्डा जानु थियो । निस्किनुभन्दा अगाडि चञ्चल सिंह रेस्टरुम गयो; खल्तीको काइँयो निकालेर तीन इन्चे केश सपार्याे, सर्ट-पतलुन कसो अनि जुँगा-दाह्रीलाई पानी लगाएर रिफ्रेस गर्‍यो । आएर आफ्नो टेबलमा उभिएको बोतलबाट एक घुँट पानी घुटुक्क पार्‍यो अनि निस्कियो गाडी भएकोतिर । गाडी गर्ल्सरोडमा थियो । एउटा दृश्यले चञ्चल सिंहका पाइलालाई रोकिदियो । गाडी भएको ठाउँबाट लगभग तीन सय पाइलाको दुरीमा स्थित पायल गर्ल्स होस्टेलको चौथो मञ्जिलको रेलिङमा एउटी केटी आफ्नो खुट्टा बाहिर गरेर बसेकी रहिछे । चञ्चल सिंहले हेरो, केटीले आफ्ना दुवै हातले आँखा पुछिरहिछे । उसले बुझ्यो, केटी रुँदै छे । केटी घरी अगाडि हाम्फाल्न खाेज्छे घरी पछाडि हुन्छे । अब चञ्चल सिंहलाई यथार्थ कुरा बुझ्न समय लागेन । तलैबाट हकारो- ‘के गरिकी तिमीले ? प्लिज त्यसो नगर ।’  

केटीलाई यति भनेर उसले आफ्नो चालकलाई घाँटी दुख्ने गरी करायो- ‘ये मोहन ! माथि जा अनि केटीलाई समात्, केटीले सुसाइड गर्दैछे !’  

मोहन अन्कनिँदै माथि जान पाइला सार्‍यो । यति बेरसम्म छेउछाउका पसलेहरू भेला भइसकेका थिए । कुनै भिडियो बनाउन थाले भने कोही कानाफँसी गर्न लागे- ‘ला ! केटीले त सुसाइड गर्न लागी, बिचरी !’  

चञ्चल सिंह फेरि गर्जियो- ‘न हाम्फाल प्लीज !’ केटीले केही प्रतिक्रिया दिइन । उसले नीलो रङको टिसर्ट लगाएकी थी । केटी त्यही बिस-पच्चीस वर्षकी होली । गोरो रङ र हेर्दा खातेपीते घरकी जस्ती देखिन्थी । मोहन माथि जानलाई सिँढीमा पाइला राख्दै मात्र थियो कि चौथो मञ्जिलबाट केटीले हाम्फाली । केटीले बिल्डिङबाट टाढिँदै चर्को आवाजी निकाली र भुइँमा आएर बज्रिई । बज्रिएको आवाज यति जोडसँग ध्वनित भयो जसरी माथिबाट आटाले भरिएको बोरा भ्यात्त खसेको हो । चञ्चल सिंहले केटी खसी सक्दा नसक्दै समातिहाल्यो । उसले टाउकोलाई भुइँमा पर्न दिएन । केटी खसिसक्दा शक्तिहीन भई । चञ्चल सिंहले उसलाई आफ्नो काखमा पल्टायो ।  

चञचल सिंहले भन्यो- ‘यता हेर, आँखा खोलिराख है, तिमीलाई केही हुँदैन !’  

केटी दुखाइले छटपटिन लागी । आँखाबाट अविरल आँसुका धारा बग्न थाले । अङ्गप्रत्यङ्ग सिसा चर्के समान चर्केर दुख्न लाग्यो । चञ्चल सिंहले उसलाई ढाडस दिँदै उसको हात समात्यो । भन्यो- ‘तिमीलाई म केही हुन दिन्न ।’  

अस्पताल लिएर जान उसले केटीलाई उठाउने कोसिस गर्‍यो तर सफल भएन । चञ्चल सिंह रिसले तमासा हेर्दै गरेको भीडमाथि गर्जियो- ‘के हेरेका ट्वाल्ल परेर ! आओ मलाई उठाउन सहयोग गर !’ यति भन्दा पनि भीडले अमुख हेरिरह्यो । चञ्चल सिंहको रिसको पारा झन् चढ्यो । करायो- ‘ये मोहन ! जल्दी गाडी लिएर आइज, अस्पताल जाऔँ !’  

मोहन गाडीतिर दौडियो । ‘जय बजरङ्गबली’ भन्दै चञ्चल सिंहले भएभरको बल आह्वान गर्‍यो अनि दुवै हातले जुरुक्क उठायो । मोहनले गाडीको दैलो खोल्यो । चञ्चल सिंहले केटीलाई भित्र सिटमा राख्यो अनि आफू पनि सिटमा बसेर केटीलाई आफ्नो काखमा राख्यो ।  

बिचबिचमा केटी बर्बराउँछे- ‘मलाई किन बचाएको ? प्लिज मलाई होस्पिटल नलैजानु । मलाई मर्ने मन छ ।’  

चञ्चल सिंहले केटीका दुवै हात सुमसुम्याउँदै भन्यो- ‘तिमी पागल हौ कि के हो जो यसरी सुसाइड गर्ने प्रयास गर्‍यौ । फेरि मर्ने कुरा नगर्नु !’  

केटीले केही भनिन । दुखाइले छटपटिरही । केटीको दुखाइ देखेर चञ्चल सिंहको मन पग्लिएर आयो । मन कट्कटी खायो । उसले दुईतीन चोटि सुसाइड गर्ने कारण सोध्यो तर केटीले केही भन्ने चेष्टा गरिन । यतिमै चञ्चल सिंहको फोन बज्यो । चञ्चल सिंहको एउटा राम्रो बानी छ जति नै ऊ व्यस्त होस् तर फोनको घण्टी बजिसक्दा उठाइहाल्छ ।  

चञ्चल सिंहले कल उठायो ।  

‘को बोल्नु भयो ?’  

‘पटना टाउनको डीएसपी हुँ ।’  

‘भन्नुहोस् !’  

‘थानामा खबर आएको थियो, एउटी केटीले सुसाइड गरी अरे ।’  

‘हजुर, मैले आफैँ देखेको हुँ । जे पनि सोध्नु छ, पछि सोध्नु होला । अहिले म केटीलाई लिएर अस्पताल जाँदै छु । झट्टै जय प्रकाश नारायण अस्पतालमा भन्दिनुहोस् कि म एकजना घाइते केटीलाई लिएर जाँदै छु नभए इलाज गर्नु अघि धेरै कानुनी फोरमेलिटी गर्न लगाउँछन् ।’ 

चञ्चल सिंहले पुलिस अधिकारीलाई यसरी भन्याे जसरी कसैले पनि आफ्नो सहपाठीलाई सहजतासँग भन्ने गर्छन् ।  

‘ठीक छ ।’ भन्दै पुलिस अधिकारीले फोन राख्यो ।  

केटीलाई जय प्रकाश नारायण अस्पतालमा लिएर गयो । डाक्टरले केटीलाई बेडमा सुताएर चिकित्साको प्रक्रिया आरम्भ गर्न थाल्यो ।  

चञ्चल सिंहको फोन बज्यो ।  

‘हलो ! को हो ?’  

‘म केटीको बाबा हुँ ।’  

‘कस्तो अभिभावक हुनुहुन्छ तपाईं ? छोरीको ख्याल राख्नु पर्दैन ?’  

‘नानी, त्यस्तो होइन ।….मेरी छोरी त ठीक छिन् ?’  

‘अँ, अहिलेसम्म त ठीक छिन् ! चाँडै आउनुहोस् जय प्रकाश नारायण अस्पतालमा !’  

चञ्चल सिंहले डाक्टरलाई संक्षेपमा सबै घटना भनिदियो । डक्टरले न्यूरो स्पेसलिटीलाई देखाउने सल्लाह दियो । चञ्चल सिंहले तुरुन्तै आफ्नो सल्लाह पस्की हाल्यो- ‘डाक्टर साहब, केटी पछारिँदा उसको धेर चोट खुट्टातिर लागेको छ । पहिले हड्डीको डाक्टरलाई बोलाउनुहोस्, न्यूरोलाई पछि देखाए हुन्छ ।’  

चञ्चल सिंहले केही नसोची डाक्टरलाई यसरी सल्लाह दियो मानौँ ऊ पनि अनुभवी डाक्टर हो । उसको बकबके बानीको प्रस्फुटन हो, उसले यो पनि सोचेन कि जसलाई सल्लाह दिँदै छ उनीहरू यस क्षेत्रका विशेषज्ञ हुन् ।  

डाक्टर एकअर्कामा सल्लाह गर्न लागे । कहिलेकाहीँ साधारण व्यक्तिले दिएको सल्लाह पनि असाधारण हुन्छ । डाक्टरले पहिले हड्डीको डाक्टरलाई जँचाउने निर्णय लिए ।  

पिताको सौजन्यले चञ्चल सिंहको पटना इंदिरा गान्धी मेडिकल कलेजमा एकजना वरिष्ठ हड्डीको डक्टरसँग राम्रो चिनजान थियो । समय बर्बाद नगरी चञ्चल सिंहले हड्डीको डाक्टरलाई कल गरेर सबै वृत्तान्त भन्यो । हड्डीको डाक्टरले जय प्रकाश नारायण अस्पतालबाट रेफर गराएकर आइजीएमएसमा ल्याउने सुझाउ दियो ।  

केटीका पिता अस्पताल पुगे । आइसक्दा छोरीलाई हेरे अनि आत्मीय भावले चञ्चल सिंहलाई दुई हात जोडेर भने-  ‘नानी ! धेरै धेरै धन्यवाद ! दैवले तिमलाई सधैँ आफ्नो आशीर्वाद प्रदान गरुन् ।’ 

‘धन्यवादको कुरा नगर्नुहोस् हजुर ! बजरङ्बलीले तपाईँकी छोरीलाई चाँडै निको पारिदिउन् ।’  

‘काका, यो त भन्नुहोस्, तपाईँकी छोरीले सुसाइड किन गरिन् ?’  

‘के भन्नु र नानी ! उसले यो चोटि यूपीएससी (संघ लोकसेवा आयोग) को परीक्षा क्लियर नगरेको तेस्रो चोटि थियो । एक महिनादेखि निराश थिई, दुःखी थिई । उसलाई के को पो दुःख थियो र ? सबै त पुगिसरी थियो । केहीको कमी राखेको थिएन । उसलाई पढाइ गर्न बाहेक अरू केही काम लगाएको थिएन ।’  

‘ओहो ! साँच्चै नै, आजभोलिका विद्यार्थीहरू परीक्षाको धेरै टेन्सन लिन्छन् ।’  

कुराको बिचमा चञ्चल सिंहको फोन फेरि बज्यो ।  

‘हलो सर ! नमस्ते !  

‘नमस्ते ! कहाँ पुगिस् चञ्चल ?’  

‘सर, पन्ध्र मिनटमा पुगिहाल्छु । आउँदा बाटोमा एउटा घटना घट्यो नभए अघि नै हनुमानको जसरी उडेर पुगिसक्ने थिएँ ! ’  

‘बहाना बनाउन कोही तँबाट सिकुन् । ल, ठीक छ त, चाँडै आइज । मेरो फ्लाइट ल्याण्ड भइसक्यो ।’  

चञ्चल सिंह केटीको छेउमा गयो अनि मायाले भन्यो-  ‘हेर, हिम्मत नहार्नू ! तिमीलाई केही पनि हुँदैन । अब तिमीलाई ठुलो अस्पतालमा लिएर जाने हो । त्यहाँ ठुला र अनुभवी डाक्टर छन् । तिमीलाई चाँडै निको पारिदिन्छन् ।’ केटीका आँखाबाट आँसुका धार बाक्ला भएर झरे ।  

‘रुनु हुँदैन, सबै ठीक हुन्छ । तिम्रो स्थिति पहिलाको जस्तै हुन्छ । ल, ठीक छ, अब जानु पर्‍यो । मेरो अफिसको काम छ । नगई हुँदैन । म फेरि बेलुकीपख आउँछु । हार खाने होइन । तिमीलाई जसरी पनि बचाउँछु चाहे मलाई किन यमराजसँग लडाइँ गर्नु नपरोस् !’ भन्दै चञ्चल सिंहले आफ्ना पाइला अघि के सारेको थियो केटीले चञ्चल सिंहको हात समाती । उसका आँसुका धारा ओठबाट हुँदै उँधो अविरल बग्दै गए । केटीले कष्टतापूर्वक भनी-  

‘प्लीज ! तपाईँ नजानू, अब मलाई जिउनु छ । तपाईं यहाँ रहनुभयो भने म बाँच्नेछु ।’  

चञ्चल सिंहले विश्वाससँग भन्यो- ‘तिमीलाई केही हुँदैन । म चाँडै आउँछु । हार भने पटक्कै नमान्नू ।’  

चञ्चल सिंह हवाईअड्डाका लागि निक्लियो । हवाईअड्डा पुगेर आफ्नो बोसलाई उत्साहपूर्वक स्वागत गर्‍यो । बोसलाई अफिस लिएर गयो । बाटाभरि बोसलाई गर्ल्सरोडमा घटेको घटना सुनाउन एक्छिन् पनि मुखलाई विराम दिएन ।  

दुई घण्टापछि केटीको पिताको कल आयो- ‘नानी, अहिले हामी आईजीएमएस अस्पतालमा छौँ । अहिले छोरी आउट अफ डेन्जर छिन् । फेरि पनि तपाईंलाई धेरै धेरै धन्यवाद ।’  

‘वाह ! जय बजरङ्गबली । खुसी लाग्यो । तपाईं चिन्ता भने एक सिन्को पनि नगर्नुहोस् । म आउँदैछु आईजीएमएस । तपाईंलाई थाह छ ! मेरो सिधै विधायकसँग कुरा हुन्छ । म वहाँको खास मान्छे हुँ । भन्नुहुन्छ भने, अस्पतालका सबै डाक्टर तपाईँकी छोरीको इलाजका लागि खटाइदिन्छु । तपाईँ जान्नुहुन्न म कति पावरफुल मान्छे हुँं ! मलाई एक सेकेण्ड मात्र लाग्छ फोन घुमाउन ।’  

‘हैन, हैन नानी ! तपाईंको म जीवनभरि  आभारी रहनेछु ।’