विभिन्न साहित्यिक विधाहरूमा निरन्तर कलम चलाउँदै आउनु भएको महानन्द ढकाल नेपाली साहित्यिक क्षेत्रका परिचित हस्ताक्षर हुनुहुन्छ । उहाँको ‘खण्डित आत्मा’ गजलस‌ंग्रह २०५८, ‘उसैउस्तै नदीका उस्तै उस्तै छालहरू’ सयुक्त गजलस‌ंग्रह २०५९, ‘अब्यक्त प्रयाशा’ गजलस‌ंग्रह २०६३, ‘घाम उदाए’ हाइकुसंग्रह २०६८, ‘सिमाना’ मुक्तकसंग्रह २०७७, ‘बुह्रान’ उपन्यास २०७९ प्रकाशित छन् । 
प्रस्तुत छ, कवि तथा उपन्यासकार महानन्द ढकालसँग भाषा, साहित्य, वाङ्गमयलगायत विविध विषयमा साहित्यपोस्टका लागि अनेसासका वरिष्ठ उपाध्यक्ष  तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंशः

तपाईं  सामाजिक व्यक्तित्व कि साहित्यिक व्यक्तित्व ?

– मानिस सामाजिक प्राणी हो । उसको पहिलो अन्तरक्रिया समाजसँग हुन्छ । मानिसले जे जे कर्म गर्छ समाजमा नै गर्छ । समाजले नै मानिसलाई मानवीय गुणहरू प्रवाह गर्छ । असल मान्छे बन्ने प्रेरणा समाजले नै दिन्छ । सामाजिक प्राणी नभई अरू हुन सक्ने कुरै हुँदैन ।

मैले त मेरो रुचि अनुसार साहित्यिक कर्म गर्ने हो । मेरो साहित्यिक कर्मले साहित्यिक व्यक्तित्व बनाउन सक्यो वा सकेन भन्ने कुरा मेरो शेषपछि मेरो कर्म माथि गरिएको समालोचनाले प्रमाणित गर्ने भएकोले त्यतिबेला मात्रै म साहित्यिक व्यक्तित्व भए नभएको निर्क्यौल गर्ला । यतिबेला त म सामाजिक व्यक्ति नै हुँ । मैले जे कर्म गरेको छु समाजका लागि नै गरेको छु । केही लेख्छु भने पनि समाजलाई केन्द्रबिन्दुमा राखेर नै लेख्ने गर्छु । त्यसैले पनि म सामाजिक व्यक्तित्व नै हुँ ।

तपाईंले विविध विधामा कलम चलाउँदै आउनु भएको छ, अहिले के लेख्दै हुनु हुन्छ ?

– नियात्रा सङ्ग्रह प्रकाशनको तयारीमा छु ।

साहित्य, जीवन, दर्शन, आत्मा र प्रकृतिलाई तपाईं कसरी हेर्नुभएको छ ? जीवन के हो ?

– साहित्य समाज परिवर्तन गराउने माध्यम हो । विचारहरूको कलात्मक अभिव्यक्ति हो । जीवनसँगै यात्रा गर्ने सारथी हो । जसले हाम्रो मानव जीवन मृत्यु पर्यन्त पनि स्मरणीय बनाउँछ । जीवित आत्माहरूको संर्घष नै जीवन हो । धेरै रहर र सपना सहित जन्मिएको मानव शरीर खरानीमा नमिल्ने बेलासम्मको संर्घषशील यात्रा नै जीवन हो । ब्रह्माण्डमा रहेका मानिस मानिस बिचको सकारात्मक विश्वास नै जीवन हो । हामीले बाँचेको समय नै जीवन हो । हामीले कस्तो जीवन बाँचिरहेका छौं ? व्यक्ति, परिवार, समाज र राष्ट्रले अपेक्षा गरे अनुरूपको व्यक्तित्वको निर्माण गर्न सके मात्र हाम्रो मानव जीवन सार्थक हुन्छ ।

दर्शन जीवनरूपी रथमा यात्राको क्रममा आउने महान् अभिव्यक्ति हो ।  दर्शन विचार हो, दृष्टिकोण हो । जीवन र जगतलाई हेर्न, बुझ्न, विश्लेषण गर्न र धारणा बनाउन दर्शनले सहयोग गर्छ । फरक तरिकाले सोंच्दै जीवन र आत्मालाई सही मार्ग निर्देशन गर्ने सशक्त माध्यम नै दर्शन हो । आत्मा जीवनको एउटा महत्त्वपूर्ण अङ्ग हो । आत्मा छ र त जीवन छ । हरेक मानिसभित्र आत्मा हुन्छ । त्यही आत्माले नै मानव जीवन सञ्चालन र निर्देशन गरिरहेको हुन्छ । प्रकृतिको एउटा अंश जीवन हो जहाँ हामी कर्म गरिरहेका छौं ।

तपाईंलाई अति व्यस्त जाँगरिलो व्यक्ति भन्थे नि हो ?

– मलाई नजिकबाट चिन्नेहरूले यस्तै भन्ने गर्नु हुन्छ । मेरो घर परिवार, जागिर, साहित्यिक र सामाजिक गतिविधि, कृति प्रकाशन, पत्रिका सम्पादन, रेडियो र टेलिभिजनसँगको सम्बन्ध लगायत बेलाबखतमा हुने भ्रमणहरूलाई नियालिरहनु भएकाहरूले त्यस्तो भन्नु भएको होला । जे जति सकिन्छ सक्ने बेलासम्म नै गर्ने हो भनेर नै गरेका कमहरू हुन् यिनीहरू । तर मलाई लाग्छ मसँग समय धेरै छ । मैले अझै जाँगर चलाउन सक्नु पर्छ । समयलाई सही ठाउँमा सही तरिकाले सदुपयोग गर्न सक्नुपर्छ तर सकिरहेको छैन । गफभन्दा दिमाग र हात बढी चलाउन पाए हुन्थ्यो भन्ने लाग्छ तर सकिरहेको छैन । अनुभव र अनुभूतिहरूलाई लेख्न सकिरहेको छैन । यो समयको अभाव हुँदै होइन बरु समय व्यवस्थापनको अभाव हो भनेर मैले बुझ्ने गरेको छु ।

साहित्य लेखन अध्ययन,  चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नु हुन्छ ?

– हो नै । अध्ययन नगरी न संसार बुझ्न सकिन्छ न सृजना गर्न । चिन्तन मनन नगरी बोलिएका, लेखिएका र गरिएका कुराहरूको आयु धेरै वर्ष पनि हुँदैन । पहिला अध्ययन अनि मनन त्यसपछि चिन्तन गरेर साहित्य लेखन गर्न सकेमा त्यस्तो लेखनले युग बोल्न सक्ने भएकोले स्रष्टालाई उचाइमा पुर्याउन सक्छ । त्यसैले साहित्य लेखन, अध्ययन, चिन्तन र मनन कुराहरूको सन्तुलन जरुरी छ भन्ने लाग्छ ।

तपाईंका सृजना बेजोड छन् हो ? राम्रो साहित्य सृजना लेख्न के गर्नु पर्छ ?

– खै कसरी भनौं ? बेजोड कसरी मान्ने ? कुनलाई मान्ने ? साथीहरूले राम्रो छ भनेकै आधारमा बेजोड भन्न सकिँदैन । फेरि कसैले गजललाई, कसैले मुक्तकलाई, कसैले हाइकु वा कसैले आख्यानलाई राम्रो मानिराख्नु भएको पाएको छु । वास्तवमा बेजोड कुन विधा हो ? कुन लेखाइ हो भन्न गाह्रो पो छ त । फेरि कतिपय साथीहरूले आफ्नो धर्म निभाएका पनि त हुन सक्छन् । आफ्नो अगाडि कसैले राम्रो छ भनेको कुरालाई मैले त्यति गम्भीर तरिकाले लिन्न पनि । कसैले आफ्नो पछाडि कुनै प्रसङ्गमा सन्दर्भ उठाएर भन्यो वा लेख्यो भने बल्ल उपयोगी रहेछ भन्ने लाग्छ । दुई चार ठाउँमा बाहेक धेरै ठाउँमा यसरी प्रयोग भएको मलाई जानकारी छैन त्यसैले मैले मेरा रचना बेजोड छन् भनेर ठोकुवा गर्न सक्दिन ।

राम्रो लेख्न त अध्ययन, मनन, चिन्तन र लेखनको सन्तुलन हुनुपर्छ । लेखन पुनर्लेखन गर्न सक्नुपर्छ । प्रशंसा भन्दा प्रतिक्रियामा बढी विश्वास गर्नुपर्छ । कोरा कल्पनाभन्दा सामाजिक विषयवस्तुसँग खेल्न सक्नुपर्छ । अग्रज र अनुजका सिर्जनाहरुलाई सम्मानपूर्वक पढ्न सक्नुपर्छ ।

तपाईंले लेखन प्रेरणा को बाट पाउनु भयो ? तपाईंको मन पर्ने साहित्यकार र साहित्य कुन कुन हुन् ?

– कुनै काम गर्नु पछाडि एउटा व्यक्तिको मात्रै प्रेरणा हुन्छ भन्ने कुरामा म विश्वास गर्दिन । कतिपय कुराहरूको प्रत्यक्ष प्रभाव पर्छ भने कतिपय कुराहरूमा अप्रत्यक्ष । मेरो साहित्य लेखनमा पनि कुनै एक व्यक्ति वा एउटा विषयले मात्रै प्रेरणा दियो भन्ने लाग्दैन । धेरै वा थोरै प्रेरणाको कुरा मात्रै हो । मैले भन्ने गरेको छु ‘रेडियो नेपालले मलाई ऊर्जा दियो । साहित्यकार नारायण प्रसाद गैरेले मलाई उत्साहित गरे भने विश्वप्रेम अधिकारीको ‘मेरी छोरी’ नामको कविता सङ्ग्रहले मलाई कृति प्रकाशनको हुटहुटी बढायो ।’ यो हिसाबले हेर्ने हो भने विश्वप्रेम अधिकारी, नारायण प्रसाद शर्मा गैरे र रेडियो नेपालको प्रेरणा अलि बढी छ । त्यो भन्दा बढी त मेरै बुबाको प्रेरणा हो जस्तो लाग्छ यद्यपि म बुबासँग एघार वर्षभन्दा बढी बस्न पाइन । बुबाले पटकपटक ‘मरेर बाँच्नुपर्छ केटा हो’ भन्ने गरेको शब्दहरू र प्रसङ्ग अनुसार र बेलाबेलामा वाचन गर्ने श्लोकहरूले अहिलेसम्म लखेटिरहेका छन् । मलाई सुस्ताउन दिएका छैनन् ।

खाली समय कसरी बिताउनु हुन्छ ?

– जागिरे जीवन सधैँ व्यस्त नै हुन्छ । परिवार, समाज र साहित्यलाई दिने समय नै जागिरे जीवनबाट बचेको खाली समय हो । सरकारी विधाको सदुपयोग गर्न निकै सजिलो छ । विभिन्न साहित्यिक र सामाजिक संस्थामा संलग्न छु, पत्रिकामा संलग्न भएर साहित्य विशेष हेर्ने गर्छु । विभिन्न साहित्यिक र सामाजिक गतिविधिहरू विधामै तय गरिन्छ । व्यस्तताको समयमा टिपोट गरिएका साहित्यिक रचनाको अन्तिम रूप दिने समय पनि यही समय हो । त्यसैले खाली समय भन्ने नै हुँदैन ।

 तपाईंलाई गीत, कविता, मुक्तक, कथा, नियात्रा र उपन्यास कुन मन पर्छ ? धेरै विधामा हात हाल्दा लेखनमा स्तरीयता आउँदैन भन्छन् नि ?

– मलाई यी सबै विधा मन पर्छन् । मन परेका कुराहरूमा नै समय लगाइन्छ । मेरा गीतहरू पनि रेकड भएका छन् । कविताका कृतिहरू प्रकाशित नभए पनि लेखनको सुरुवात कविताबाटै भएको हो र अहिले पनि फाट्टफुट्ट कविता लेखिरहेको छु । गजलका त कृति पनि प्रकाशित छन् नै । मलाई परिचय दिएकै गजलले हो । मुक्तकको कृति प्रकाशित छ भने कथाको कृति आइसकेको छैन । उपन्यासले राम्रै चर्चा पाएको छ । नियात्राको कृति आउने अन्तिम तयारीमा छ अब तुरुन्तै आउने भनेको नियात्रा सङ्ग्रह नै हो । यो हिसाबले हेर्ने हो भने यी सबै विधा मलाई मन पर्छन् । सबैमा रुचि छ ।

लेखनमा स्तरीयताको कुरा छ जुन आवश्यक पनि छ । मैले स्तरीय लेख्दिन त कसले भन्ला र ? तर कहिलेकाहीँ त्यस्तो भइदिन्छ । लेख्न कै लागि मात्र लेख्दा यस्तो हुन्छ । लेखनमा जबरजस्ती गर्नु हुँदैन । लेख्न कै लागि लेख्नु हुँदैन । कतिपय साहित्यकारहरूले लेखनको ठेक्का नै लिए जसरी लेख्नु हुन्छ यो बकवास लाग्छ मलाई । मेरो साहित्य लेखनको विधा यो हो भनेर परिचय दिइरहेका हुन्छन् मलाई यो जरुरी लाग्दैन । मनले जे लेख भन्छ त्यही लेख्ने हो । बरु बुझेर लेख्ने हो । अध्ययन गरेर लेख्ने हो मनन र चिन्तन गरेर लेख्ने हो । मनले जे लेख भन्छ त्यही लेख्ने हो । मनले लेखेको कुरा नराम्रो हुने त कुरै हुँदैन । समय परिस्थिति र परिवेशले जे माग्छ जुन विधामा पडाउँछ त्यतै जाने हो ।  एउटा विधा मात्रै रोज्दैमा राम्रो वा स्तरीय लेख्न सकिन्छ भन्ने कहाँ छ र ? तर बुझ्नु पर्ने कुरा के छ भने जुन सुकै विधामा कलम चलाए पनि अध्ययनलाई नकार्न सकिँदैन । विना अध्ययन सृजना स्तरीय बन्न सक्दैन ।

नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नु भएको छ ?

– साहित्यिक पत्रकारिताले भाषा, साहित्यलाई मलजल गर्ने काम गर्दछ । लेखकहरूलाई उत्प्रेरित गर्दछ । मनभित्रको सृजनात्मक उकुसमुकुसलाई पत्रकारिताको माध्यमबाट समाज समक्ष प्रस्तुत गर्न सहयोग गर्दछ । जुन प्रयास आफैमा महत्वपूर्ण रहन्छ । हामीले के जानेका छौं ले अर्थ राख्दैन हामीले जानेको कुरा अरूलाई बुझाएर कति सकारात्मक परिवर्तनको दिशामा लाग्न प्रेरित गरेका छौं भन्नु ले ठूलो अर्थ राख्दछ । यो माध्यम बन्न सक्नु नै साहित्यिक पत्रकारिताको उपलब्धि हो । पत्रकारिताको इतिहास हेर्ने हो भने नेपालमा साहित्यिक पत्रकारिता नै जेठो छ । साहित्यिक पत्रकारिताले अन्य पत्रपत्रिकाहरूलाई कुनै न कुनै रूपमा नेतृत्व दिइरहेको छ जस्तो लाग्छ । यो हिसाबले पनि साहित्यिक पत्रकारिता स्थान महत्त्वपूर्ण  छ ।

साहित्यकारले लेखेर बाँच्न के गर्नु पर्छ ?

– साहित्य लेखेर बाँच्न सजिलो छैन । नेपाली साहित्यको बजार सानो छ । दुई तीन हजारप्रति पुस्तकहरूले नेपालका मुख्य बजारहरू ढाकिन्छन् । सबैले सबै पुस्तक पढ्ने कुरा पनि हुँदैन । विषय रोजेर पढ्नेहरू कम छन् व्यक्ति हेरेर पढ्नेहरूको संख्या पनि धेरै छ नेपाली साहित्यमा । कतिपय पाठकहरू पुस्तकका समीक्षा मात्रै पढेर पुस्तक पढ्न रहर पूरा गर्नु हुन्छ । सानो बजारले लेखेर बाँच्ने आधार तय गर्न सक्दैन । नेपाली साहित्य विश्वव्यापीकरण नहुँदासम्म सीमित साहित्यकारहरू बाहेक अन्य साहित्यकारहरू लेखेर बाँच्ने अवस्था छैन । स्तरीय साहित्यको प्रकाशन, खस्कँदो पठन संस्कृतिमा सुधार, अनुवादमा जोड र सरकारको साहित्यप्रतिको दृष्टिकोणमा परिवर्तन हुन सक्यो भने लेखेर बाँच्ने समय आउन पनि सक्छ ।

साहित्यको मापदण्ड के हो ?

– साहित्यमा केलाई मापदण्ड मान्ने ? कुन विधालाई मापदण्डको आधार मान्ने ? स्रष्टालाई मापदण्ड मान्ने कि सिर्जनालाई ? अनुभवलाई मापदण्ड मान्ने कि अनुभूतिलाई ? वास्तविकतालाई मापदण्ड मान्ने कि कल्पनाशीलतालाई ? त्यसैले साहित्यको कुनै मापदण्ड हुँदैन । मान्छेका रुचि अनेक छन् । एउटालाई मन परेको साहित्य अर्कोलाई मन नपर्न सक्छ । एउटाले स्तरीय मानेको विषयवस्तु अर्कोलाई फितलो लाग्न सक्छ । त्यसैले यो नै साहित्यको मापदण्ड हो भन्न कठिन छ ।

साहित्यकारको नाताले तपाईं नेपालको राजनीतिक जगतलाई कसरी नियालिरहनु भएको छ ?

– राजनीतिबाट कोही अछुतो छैन र हुन पनि सक्दैन । साहित्यले राजनीतिलाई निर्देशित गर्ने कि राजनीतिले साहित्यलाई भन्ने कुरा महत्त्वपूर्ण हो । साहित्यले राजनीतिलाई निर्देशित गर्नु पर्ने हो तर नेपालको सन्दर्भमा राजनीतिले साहित्यलाई डोर्याइरहेको देखिन्छ । कतिपय साहित्यिक संघ संस्थाहरू पार्टीका भ्रातृ संगठन जस्ता लाग्छन् । फरक विचार राख्नेहरुले सदस्यता पाउने त कुरै भएन कार्यक्रममा पनि सहभागी हुन पाउँदैनन् । योग्यता, क्षमता, स्तरीयता र योगदानलाई भन्दा वादलाई प्राथमिकतामा राखेर मूल्याङ्कन गर्ने गरेको पाइन्छ । जसको सरकार आयो उसैको विचार बोक्नेहरू नै सरकारी निकायबाट सम्मानित र पुरस्कृत हुने गर्दछन् । साहित्यले राजनीतिलाई नडोर्याउँदासम्म यो रोग निको हुने देखिँदैन यो दुखद पक्ष हो ।

पुरस्कार सम्मान र समालोचनाको अवस्था कस्तो छ नेपालमा ?

– पछिल्लो समय नेपाली साहित्य गाउँगाउँसम्म पुगेको छ । सानातिना बजारहरूमा पनि साहित्यिक संस्थाहरू स्थापना भएका छन् । संस्था अनुसार पुरस्कार र सम्मानहरू स्थापना हुने क्रम पनि जारी छ । एउटै संस्थामा दर्जन बढी पुरस्कार र सम्मान देख्न सकिन्छ । यहाँ पुरस्कार र सम्मानहरूको कमी छैन । एक दुई कृतिहरू प्रकाशित गर्ने साहित्यकारहरू कतै न कतैबाट सम्मानित नभएको बिरलै भेटिएलान् । ठूला र सरकारी पुरस्कारको कुरा अलग हो । यी पुरस्कारहरू त  विचार र पहुँचले पनि प्रभावित हुने गरेका भेट्टिन्छन् । इमान्दार साहित्यकारहरू यस्ता पुरस्कारबाट सधैं वञ्चित हुने गरेको देखिन्छ । उनीहरूको ध्यान यतातिर गएको पनि देखिँदैन । यो राम्रै कुरा हो । पुरस्कार र सम्मानका लागि लेख्ने कुरा पनि होइन ।

नेपाली समालोचना केही विवादित छ । सिर्जनाभन्दा स्रष्टा हेरेर समालोचना गर्ने प्रवृत्ति धेरै छ । कसैलाई सगरमाथा चढाउन र कसैलाई रछानमा मिल्काउन उद्धत समालोचकहरूको कमी छैन हामी कहाँ । समालोचकले स्रष्टालाई गौण र सृजनालाई महत्त्व दिनु पर्ने हो तर स्रष्टा नै हाबी भएर आएको देखिन्छ । यति हुँदाहुँदै पनि केही समालोचकहरूले समालोचनाको मर्म बुझेर धर्म निभाएको पनि देखिन्छ । तर यसको मात्रा कम छ ।

सिर्जनाहरूको विधागत स्तरीयता मापनमा समालोचनाको महत्त्वपूर्ण योगदान रहन्छ । कतिपय सिर्जनाहरू समालोचकको आँखामा नपर्नाले चर्चाबाट वञ्चित छन् । कुनामा थन्किएका छन् । सृजनालाई जीवन्त बनाउन सहयोग गर्ने विधा समालोचना विधा भएकोले हरेक सृजनाको समालोचना हुन जरुरी छ । समालोचना बिना सृजना स्तरीय हुन पनि सक्दैन । त्यसैले सृजना र समालोचना सँगसँगै हिँड्नु जरुरी छ । तर हामी कहाँ सृजनालाई समालोचनाले भेट्टाउन सकेको छैन । समालोचना धेरै पछाडि छ ।

डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?

– मातृभूमिबाट टाढा भएका, द्वैध संस्कृति अपनाएका, आय र प्रतिष्ठा आर्जनमा क्रियाशील भएको समुदाय डायस्पोरिक समुदाय हो । यो समुदायले आर्जन गरेको ज्ञान महत्त्वपूर्ण हुने गर्छ । डायस्पोरिक साहित्यले साहित्यमा नयाँ विचार भित्राउन सक्छ । यो साहित्य कोरा कल्पनाभन्दा तथ्यमा आधारित वस्तुपरक हुन्छ । नयाँ युग बुझ्न डायस्पोरिक साहित्यिक अध्ययन गर्न जरुरी छ ।

गुरुप्रसाद मैनाली पछिका कथा लेखनलाई कसरी हेर्नु भएको छ ?

– कथाकारितामा गुरुप्रसाद मैनाली ब्रान्ड हो । अहिलेको कथाकारितामा पनि गुरुप्रसाद मैनालीको कथाको प्रभाव भेटिन्छ । कथा लेख्नेहरूको सुरुवातमा यही शैलीबाट कथा लेखनको सुरु गर्ने गरेका उदाहरणहरू तमाम छन् । तथापि पछिल्लो समय कथामा धरातल खोजिन थालिएको छ । कोरा कल्पनाभन्दा वास्तविकतालाई उधिन्न थालिएको छ । वर्णनात्मकभन्दा संवादात्मकतालाई राम्रो मान्न थालिएको छ । वैचारिकता र बौद्धिकतामा जोड दिन थालिएको छ ।

अन्तर्राष्ट्रिय साहित्य समाजलाई यहाँले कसरी हेर्नु भएको छ ?

– अन्तर्राष्ट्रिय साहित्य समाजले नेपाली साहित्यलाई संसारभरि पुर्याउन सहयोग गरेको छ । नेपाली भाषा र संस्कृतिलाई मजबुत बनाउन अन्तर्राष्ट्रिय साहित्य समाजले राम्रो भूमिका निर्वाह गर्दै आएको छ । सोच्ने र लेख्ने विषयमा फरकपन ल्याउन सहयोग गरेको छ । एउटा कुनामा थन्किएका साहित्यकार र साहित्यिक सिर्जनाहरू देश विदेश पुग्न पाएका छन् । अन्तर्राष्ट्रिय साहित्य समाजका माध्यमबाट साहित्यकारहरू बीच सहयोग आदानप्रदान भएको भएको छ ।

अन्त्यमा पाठकलाई के भन्न चाहनु हुन्छ ?

– धेरै कुराहरू भनी पनि सकें । हामीले सकेको गर्ने हो । लेखनमा जबरजस्ती गर्नु हुँदैन । अध्ययन र अभ्यासलाई निरन्तरता दिन सकियो भने साहित्य मन स्थापित हुन सकिन्छ भन्ने लाग्छ । लेखन र प्रकाशनमा हतपत गर्नु हुँदैन । हतपतमा लतपत हुनसक्छ । त्यसैले लेखन र प्रकाशनमा गम्भीर हुन आग्रह छ ।