मग्न निद्राको अवस्थामा सधैँको निम्ति आफ्नाहरूलाई छाडेर जानु कत्तिको पिडा हुन्छ, त्यो पीडितहरूलाई मात्र थाहा हुन्छ । आफै कल्पना गर्दा पनि आङ सिरिङ्ग भएर आउँछ । मान्छेले जन्म लिएपछि एकदिन मर्नै पर्छ । मृत्यु अकाट्य सत्य हो तर मृत्युलाई स्वीकार गर्न अलि गाह्रै हुन्छ । म त मृत्युलाई एउटा घाउ नै हो भन्छु । मरेपछि आफ्नाहरू कत्ति सन्तप्त हुन्छन्, पिडामय हुन्छन् । सत्य यही हो मृत्युले ठूला-साना, दोषी-निर्दोषी, आफ्ना-अर्का  केही हेर्दैनन् । यो सदा बैगुनी हुन्छ ।

४ अक्टोबर २०२३ को बिहान म निद्राबाट ब्युँझेर टेबलमा राखेको फोन तान्छु । अझसम्म स्मरणमा छ, त्यसदिन दर्कने पानी परिरहेको थियो । (सद्गुण भनौँ या दुर्गुण उठ्न साथ फेसबुकमा समाचार हेर्ने मेरो बानी छ) त्यस दिन पनि फेसबुक हेरेँ । निद्राबाट ब्युँझनसाथ बिपना मेरो निम्ति सपना बन्यो । फेसबुक खोलेर हेर्न साथ टिस्टामा (टिस्टा बजार) भएको त्रसित घटनाको समाचार लछ्याप्रै रहेछ ।

म समाचार हेर्न साथ अत्तालिएँ, भयभीत बनेँ । वास्तवमा बाँध भत्कँदा ठूलो बाढ आएको रहेछ । बुझ्दै जाँदा उत्तर सिक्किमको चुङथाङ जल विद्युत् परियोजनाको बाँध फुटेर यस्तो घटना भएको रहेछ । टिस्टाको किनारमा रहेका स-साना गाउँहरू सबै डुबाएको दृश्य सामाजिक सञ्जालमा देख्न पाइयो । खबरहरू हेरेँ, टिस्टा बजार मात्र प्रभावित क्षेत्र होइन रहेछ । पश्चिम बङ्गाल अनि सिक्किमको सीमा क्षेत्र रम्फू, मल्ली पनि उत्तिकै प्रभावित भएको रहेछ ।

सिक्किमको सिङ्ताम अनि उत्तर सिक्किमको जोङ्गु, मङ्गन, डिक्चु आदि ठाउँहरूमा पनि व्यापक क्षति पुर्‍याएको रहेछ । रम्फू मेरो घरदेखि केही कि.मि तल्लतिर मात्र हो । अत्तालिँदै सिक्किममा रहेका मेरा शुभचिन्तक, साथी-भाइहरूलाई फोन गरेर तिनीहरूको स्थिति अनि अवस्थाबारे सोधेँ ।

तिनीहरूको स्वरमा पनि कता कता त्रास अनि भय मिसिएको थियो । टिस्टाले धेरै मानिसहरू बगाएर लगे, सयौँलाई बेघर बनाइदिए । एउटै ओछ्यानमा सुतेका दम्पतीमध्ये कसैका श्रीमान् रहेनन् त कसैका श्रीमती, एवम् कतिले परिवार गुमाए । कयौं बालबालिकाहरू टुहुरा भए, माल समान, साना ठूला वाहनहरू, पाठशाला, खेलमैदान सबै डुबाए । कति दुःखदायी क्षण ।

टिस्टाले आफ्नो क्रोध पक्कै देखाएकै हो । मेरो अध्ययनअनुसार रम्फूमा २२३ घर, ताराखोलामा १०, मामखोलामा ३, भालुखोला र मल्लीमा ४५, टिस्टामा बजार र टिस्टा ब्रिज गरेर ३९, गेलखेलामा ९, र्‍याङमा ४, बाङ्गे नजोक २२, गरेर जम्मा ३५५ घरहरू टिस्टा नदीले त्यस रात बगाएर लग्यो । सिक्किम राज्यले जारी गरेको आधिकारिक रिपोर्ट अनुसार राज्यका कुल ८७३०० जनालाई बाढीले प्रभाव पारेको छ अनि जम्मा १७८१ घरहरू नष्ट भएको पनि उल्लेख पाइन्छ । कुल ७० जना निखोज बनेका थिए अनि ३६ जनाको मृत्यु पनि भएको पाइन्छ ।

बेघर बनेका असङ्ख्य पीडितहरूलाई राहत शिविरमा राखे । क्षेत्रका विभिन्न सङ्घ-संस्था, राजनीतिक दलहरू सबै सहयोगको निम्ति अघि आए अनि सक्दो सहयोग गरे‌ । दसैँको मुखैमा उक्त घटना भएको हुँदा सम्पूर्ण पहाडले नै बेराइलो महसुस गर्‍यो मानौँ एक किसिमको सन्नाटा छाएको थियो । व्यस्त राष्ट्रिय राजमार्ग पनि प्रभावित बनेर शान्त थियो ।

आफ्नो अध्ययनले गर्दा टिस्टा बजार भएर म सिलगढी जाने-आउने गर्दछु । अहिले पनि टिस्टा बजारलाई हेर्छु मन बेरमाइलो भएर आउँछ । आफ्नाहरू गुमाएकाहरूको घाउ अझ ठिक भएको छैन । टिस्टा नदी देख्दा अझ पनि‌ आँसु बगाउँदै होलान् । एउटा घटनाले म धेरै मर्माहत बनेको थिएँ । पश्चिम बङ्गाल अन्तर्गत रम्फू प्रभावित क्षेत्रमा एकजना आमा जसले १०-१५ दिनभित्र सन्तान जन्माउन आँटेकी थिइन् । उनलाई पनि बाढीले बगाएर लगेछ ।

अहिले पनि रम्फू जाँदा यही घटनाहरू सम्झन्छु अनि ती प्रभावित क्षेत्रहरू अवलोकन गर्छु धेरै दु:ख लागेर आउँछ । न्यास्रो लाग्छ । टिस्टाको इतिहास वृहत् छ‌ । यस घटनाभन्दा अघि पनि टिस्टाले असङ्ख्यलाई बगाएको इतिहास छ । क्रोधित टिस्टाले आफ्नो क्रोध फेरि देखाउँदैन,‌ यो कुरा सजिलैसँग भन्न सकिँदैन । यो घटना म्यानमेड हो भन्नेबारे  बाँध विशेषज्ञ तथा परिवेशविद् हिमांशु ठक्करको भनाइ छ । यसमा धेरैले आफ्नो मत प्रकट गरेका छन् ।

समय बित्दै जान्छ अनि ती पिडा, घाउहरू पनि निको हुँदै जाला तर बर्खायाम, झरीको समयमा सतर्कता अपनाउनु पर्ने हुन्छ । बेघर भएकाहरूलाई सरकारले पुनर्वास गर्ने व्यवस्था अझसम्म गरेका छैनन् । पीडितहरू कसै आफन्तहरूको घरमा जीवन बिताइरहेका छन् । कसै अरूको घरमा भारामा बस्दै आइरहेका छन् भने कसै अझसम्म पनि राहत शिविरमा नै बस्दै आइरहेका छन् ।

यहाँका क्षेत्रीय सरकार (जी.टी.ए),राज्य सरकार पश्चिम बङ्गाल अनि केन्द्रीय सरकारले पीडितहरूको पक्षमा काम गर्ने छन् भन्ने कुरामा पहाडवासी नै आश्वस्त छन् । अनि सरकार भनेको नै पीडितहरूको “सरोकार” राख्ने हो । बर्खायाममा टिस्टाको जलस्तर निक्कै माथि नै आउँछ । त्यसै त हरेक वर्ष नै राष्ट्रिय राजमार्ग चुँडिन्छ, वाहनहरूको दुर्घटना भइरहन्छ । त्यस समय सिलगढी जाँदा आउँदा छात्तीमा हात राखेर, ईश्वरलाई सम्झँदै यात्रा गर्नु पर्ने हुन्छ ।

यस्ता घटनाहरू भविष्यमा नदोहोरियोस् । निर्दोषहरूले आफ्नो बहुमूल्य ज्यान गुमाउनु नपरोस् । अब फेरि टिस्टाले आफ्नो क्रोध नदेखाउन् । बिर्सनै नसक्ने मनमा गाडिने घटना भयो । त्यस आपदामा आफ्नो ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गर्दछु । ती टुहुरा बालबालिका, विधवा आमा-बाबा अनि आफ्ना गुमाएकाहरू प्रत्येकलाई संवेदना प्रकट गर्दछु । अद्यावधि न्याय नपाएकाहरूले न्याय पाउन् । विधाताले सबैको भलो गरून्, रक्षा गरून् ।

जे होस् टिस्टालाई संवेदना प्रकट गर्दछु ।

कालेबुङ, भारत