नेपाली साहित्यमा कमल रेग्मी एक प्रखर गीतकारका रूपमा चर्चित छन् । हालसम्म उनका पाँचवटा गीतसंग्रह – ‘काँडाफूल’ (२००७), ‘हिउँको आगो’ (२०१२), ‘घामपानी’ (२०१८), ‘कन्फ्लुन्स’ (उनका गीतको श्रद्धामणि प्रधानद्वारा अङ्ग्रेजी अनुवाद, २०१८) र ‘बालुवामा’ (२०२३) प्रकाशित भइसकेका छन् । उनी गीतमा समर्पित सर्जक व्यक्तित्व बनेका छन् । उनले आफ्नो गीत सिर्जनाबाहेक अरूका गीतको समीक्षा र सङ्कलन जस्तो कार्य पनि गर्दछन् ।
२०२३ मा उनको भारतीय नेपाली गीत सञ्चयन नामक गीत सङ्कलन प्रकाशित भएर बाहिर आयो । यद्यपि कमल रेग्मीसित मेरो भेटघाटमा यस पंक्तिका लेखकलाई ‘मैले साहित्य अकादमीबाट भारतीय नेपाली गीत सञ्चयनको अनुबन्ध पाएको छु, त्यसबारे सहयोग गरिदिनु होला । बढीमा बीस पृष्ठको भूमिका र किताबचाहिँ जम्मा तीन सय पेजभन्दा बेसी हुनुहुँदैन अरे’ भनेका थिए ।
आफूले पनि केही चिने-जानेका र सूचना पाएअनुसार सूचना र पुस्तकादि दिएको थिएँ । पछि भेट्दा मैले साहित्य अकादमीलाई पठाइसकेँ, अब छापिएर आउँछ पनि भन्दै थिए । साहित्य अकादमी जस्तो गरिमामय शीर्ष साहित्यिक संस्थानबाट प्रकाशित भएर आउनु चानचुने कुरा होइन । कुरा यतिकैमा सकिएको थियो र धेरै वर्ष चालचुल थिएन, आफूले पनि त्यो प्रसङ्ग बिर्सिसकेको थिएँ ।
एक्कासि २०२३ मा मात्र भारतीय नेपाली गीतकार सङ्घको पहिलो प्रकाशनको रूपमा ‘भारतीय नेपाली गीत सञ्चयन (भाग – १)’ भन्ने पुस्तक देख्दा छक्क पनि लाग्यो हर्ष पनि लाग्यो । साहित्य अकादमीले किन छापेन, के भयो, के पुगेन, त्यो त थाह भएन । उनले मेहनत गरेकै थिए । पृष्ठ बेसी कम्ती भएर वा कुनै सानातिना कुरामा काम अह्राएर पछि खुट्टा झिकिदिनु भनेको एउटा सर्जक-लेखकका निम्ति निराशाजनक कुरा हो ।
तत्कालीन साहित्य साहित्य अकादमीबाट को नेपाली भाषा परामर्श समितिले कमल रेग्मीको यति गहकिलो र महत्त्वपूर्ण ग्रन्थ किन प्रकाशित गरिदिएन, कुरा बुझ्न सकिएन । जे भए पनि ढिलै भए पनि, जहाँबाट भए पनि भारतका प्रमुख गीतकारका गीतहरू समावेश गरी यसरी प्रकाशित हुनु बडो हर्षको कुरा हो । गीतभन्दा गायक कलाकार र सङ्गीतकारको मात्र बढी चर्चा र नाम हुन्छ तर गीतकार भने ओझेल पर्ने चलन छ । गीतकारले पनि आफ्नो भावनालाई कोमल भाव र शब्दमा अभिव्यक्त गरी सिर्जना गर्नु पनि लरतरो कुरा होइन ।
यसमा स्रोताहरू गीतकारबारे अनभिज्ञ हुन्छन् । कमल रेग्मीले गीतकारहरूलाई न्याय दिनका निम्ति यो कदम उठाएको हुनुपर्छ । आफैं एक कुशल गीतकार भएर अन्य गीतकारलाई चिनाउन अघि आएको हुनुपर्छ । अझ उल्लेखनीय कुरा के भने यस ग्रन्थलाई भाग-१ भनिएको छ । यसको अर्थ दोस्रो भाग पनि आउने छ । पहिलो भागमा छुटेका गीतकारहरूलाई दोस्रो भागमा अवश्य समावेश गरिनेछन् भन्ने कुराको सङ्केत पाइन्छ । हुन पनि सबै गीतकारलाई एकै ग्रन्थमा समावेश गर्नु हो भने ग्रन्थ अवश्य नै विशालकाय बन्ने सम्भावना हुन्छ ।
यस पुस्तकको भूमिकामा कमल रेग्मीले ‘कैरन-भारतीय नेपाली गीत प्रकाशन’ मा गीतको सैद्धान्तिक परिचय दिएर भारतीय नेपाली गीत लेखनको विकास परम्परालाई मुख्य गरी दुई भागमा विभाजन गरेका छन्- स्वातन्त्र्यपूर्व र स्वातन्त्र्योत्तर । स्वातन्त्र्योत्तरलाई पनि पहिलो चरण दोस्रो चरण र तेस्रो चरण यसमा हाजिरमान राईको ‘मिठा मिठा नेपाली गीत’ प्रकाशनलाई मूल आधार वर्ष सन् १९०० देखि १९४६ सम्म अघिल्लो र सन् १९४७ देखि अहिलेसम्म गरी जम्मामा एक सय बाइस वर्ष जतिको अध्ययन गरिएको छ । पुस्तकीय परिचयका क्रममा अजित बस्नेतले गीतका संवेदनशील पक्षबारे सम्यक् टिप्पणी गरेका छन् । गीतकार पूरण गिरीले भने संस्थागत गतिविधिमाथि केही प्रकाश पारेका छन् ।
यस पुस्तकमा अकारादि क्रममा एक सय उनासी जनाका दुईदेखि चार पङ्क्तिको परिचय र एकेक वटा गीतका नमुना प्रस्तुत गरिएका छन् । यसमा मुख्य गरी दार्जिलिङ र सिक्किम तथा असम पूर्वाञ्चल र पश्चिमाञ्चल भारतका गीतकारलाई समेटिएको छ । असमका केही गीतकार अझै हुनुपर्छ । आकाशवाणी गुवाहाटीबाट पनि नेपाली गीत उत्पादन र प्रसारण हुँदा त्यहाँका केही गीतकार अझै हुनुपर्छ । यद्यपि यसमा जतिसक्दो भेटेजति, सुनेजति, थाहा पाएजतिको गीतहरू समावेश गरिएको छन् । यद्यपि कति जना छुटे त्यो अझै अथाह नै छ । यसै कारण भाग १ भनिएकाले अब भाग-२ पनि प्रकाशित गर्ने बाटो राखिएको सङ्केत पाइन्छ । यसमा हामी पाठकको पनि उनलाई कोही अन्य गीतकार छुटेकाहरूको नाम पुस्तकको नाम, गीत आदिबारे सूचना पठाइदिने दायित्व रहन्छ ।
यसमा मूल रूपमा गीतसंग्रह पुस्तक प्रकाशित गर्नेहरूलाई आधार लिएको पाइन्छ । यद्यपि गीतसंग्रह प्रकाशित नभए पनि केही गीति अल्बमका गीतकार, कोही रेडियो गीतकार आदिलाई पनि थाहा पाए जति हाल्ने प्रयास गरिएको छ । यसमा दुई चरणका एक सय बीसवटा जति गीतसंग्रह र स्वातन्त्रतापूर्व कालका तीसजना र स्वातन्त्र्योत्तरकालका अढाई सय भन्दा बढी गीतकारहरूको सूची दिइएको छ । यसमा रेग्मीको मेहनत र अनुसन्धान प्रवृत्तिले निकै काम गरेको पाइन्छ ।
गीतकारका गीतसंग्रह, कुनाकाप्चाका गीतकारको सूची तयार पार्नु, तिनका गीत खोज्नु, गीतकारका प्रवृत्ति आदि केलाउने प्रयास गरिएको छ । उनका अनुसार प्रथम चरणका भारतीय नेपाली गीतहरूमा भाषिक सौन्दर्य, व्याकरणिक पक्ष, भाव र विषय पक्षका चेतना थोरै पाइए तापनि यी गीतहरू सन्देशमूलक हुन्थे । सामाजिक जागृतिका कुरा, जातिगत उन्नतिका सन्देश, तत्कालीन समाजका सरोकारका विभिन्न पक्षहरू हुन्छन् । देशभक्त, नैतिकता, अध्यात्म, आदर्श ईश्वरभक्ति यी गीतका मूल स्वर हुन्थे । उक्त चरणका गीतको विषयवस्तु फाँटिलो र व्यापकता देखिन्छ । फलस्वरूप नेपाली साहित्यका अन्य विधा झैं नेपाली गीत पनि उन्नतशील बन्दै गयो ।
स्वातन्त्र्योत्तर नेपाली गीतहरूका अध्ययन गर्दा जातीयता आध्यात्मिकता, राष्ट्रिय चेत, सामाजिक जागरणको सन्देश, देशभक्ति, नैतिकता, नैराश्य, प्रेमपीडा, अनुराग, मानवता, आञ्चलिकता विश्वप्रेम, प्रकृति प्रेम, सांस्कृतिक चेतना, जातीय गौरव गान, राजनैतिक-सामाजिक विच्युति र विसङ्गतिप्रति तीखो व्यङ्ग्य, सौन्दर्यचेत, जीवनका विविध दृष्टिकोण, पर्यावरण चेतना, मानवमूल्य, जीवन र जगत्का यावत् भोगाइहरू यथार्थता, विद्रोह, सांस्कृतिक मूल्य र मान्यताका कुराहरू, जीवन भोगाइका विभिन्न तह आदि जस्ता कुराहरू स्पष्ट रूपमा पाइन्छन् । गीत लेखनका यस क्रममा नेपाली गीतले नयाँ र विविधता भाव, शैली, धारा, उपधारासँग प्रस्तुतिको नौलोपन, प्रतीक बिम्बहरूका समायोजन, भाषिक सरलता, सरसता, सुललितता, शब्दहरूका मितव्ययिता आदि पालन गर्दै आजको मोडसम्म आइपुगेको छ ।
यो सञ्चयन तयारी गर्दा सम्पादक कमल रेग्मीले निकै खिप्ती गरेका प्रतीत हुन्छ । एक दुई गीत लेख्नेलाई गीतकारको उपाधि दिइहाल्न सकिन्न । गीतमा हुनुपर्ने गुण र लक्षण भएका गुणात्मकताका साथै मात्रात्मक रूपमा गीत लेख्ने चयन गर्नु कठिन काम हो । कतिको गीतसंग्रह भएर पनि खुबै कमजोर गीतजस्ता आकृतिका रचना पनि प्रकाशित भएका हुन्छन् । तीमध्येबाट चयन गर्नु सजिलो छैन । यसमा पुराना र नयाँ, पूर्वाञ्चल र पश्चिमाञ्चल भारतका, गीतसंग्रह भएका र नभएका, गीत रेकर्ड गराइएका र नगराइएका, नाम चलेका र नचलेका, प्रवीण-नवीन सबै किसिमका गीतकारका गीतहरूको सञ्चयन गरिएका छन् । यति विशाल देश भारतका सर्वत्र नेपालीहरू बसोबास गर्छन् । कति जना त नेपाल र भारत दुवैतिरका पनि गनिन्छन् । जस्तै अम्बर गुरुङ, गोपाल योञ्जनहरू पनि समावेश छन् । यताका उता उताका यता आदि गरी मान्छे बसाइँ सरिबस्छन् । जहाँ जहाँ बस्ता पनि गीत लेख्नेहरू हुन्छन् नै । तिनलाई समेट्नु प्रायः असम्भव हुन्छ ।
यसको भूमिकामा सम्पादकले भारतमा नेपाली गीतसंग्रहका निम्ति निकै गीतकारका गीतको खोजी गरेका छन् । यसका साथै प्रत्येक गीतकारको दुई-चार पङ्क्तिको परिचय दिएका छन् । तीमध्ये पनि यदि प्रकाशित छ भने तिनका गीतसंग्रहको नामोल्लेख पनि पाइन्छ । यसमा गरिएको अध्ययन र सङ्कलन हेर्दा भारतमा पनि प्रशस्त मात्रामा नेपाली गीत लेखिएका, गाइएका र संग्रह प्रकाशित भएका छन् । यताबाट पनि प्रशस्त मात्रामा नै नेपाली गीतबारे समीक्षा गरिएको छ । जस योञ्जन प्यासी, जे के बराइली, नवीन पौड्याल आदिले पुस्तकाकार रूपमा नै गीतबारे सम्यक् समीक्षा प्रकाशित गरेका छन् ।
सम्पादक कमल रेग्मीले मौखिक रूपमा दिएको सूचनाअनुसार उनी भारतीय नेपाली गीत सञ्चयनको दोस्रो भागका निम्ति पनि तयारी गरिरहेका छन् र यसमा पनि एक सय सत्तरी जना जति थप गीतकारका सूची पाएका छन् । पहिलोमा छुटेका गीतकारलाई दोस्रो भागमा अवश्य नै समावेश गर्नेछन् । यदि उनको दोस्रो भागको सूचीमा अझै कोही गीतकार छुटे उनी मात्रै होइनन् तर हामी पनि उत्तिकै दोषको भागीदार बन्नेछौं किनकि उनले त आफूले सूचना पाए जति कसैलाई छाडेका छैनन् तर हामी सचेत पाठकले उनलाई सल्लाह थप नाम सुझाव दिएका हुँदैनौं । यद्यपि गीतकारका नाम पाए जति जम्मैलाई समावेश गर्दा सोहोरसार जो पाए त्यहीले गीतकारको दर्जा पाउने सम्भावना हुन्छ र यो विशेषणको दुरुपयोग हुन्छ ।
नेपाली गीतको उन्नति गर्न कमल रेग्मी अग्रसर छन् । उनी गीत लेखनका साथै गीत अध्ययन समीक्षण र मूल्याङ्कन गर्न निकै अघि छन् । उनको कुशल सम्पादनमा प्रकाशित भारतीय नेपाली गीत सञ्चयनले भारतमा नेपाली गीतको अवस्था र दिशालाई सङ्केत गरिएको छ । भारतीय नेपाली गीतको सन्दर्भमा यो पुस्तक प्रकाशन हुनु एउटा ठोस काम भएको छ ।
अझ भाग-१,भाग-२, भाग-३ जस्ता अझै भागहरू हुँदै भारतीय नेपाली गीतहरू र गीतकारहरू उत्तरोत्तर जोडिँदै, थपिँदै, समावेश हुँदै, प्रज्वलित हुँदै जाउन् भन्ने मेरो कामना गर्दछु । भारतीय नेपाली गीत अध्ययनमा यो पुस्तक अति उपयोगी र संग्रहयोग्य छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।