पूर्वी नेपाल, भोजपुरमा जन्मनु भएको गणेश खड्का पत्रकार तथा सशक्त लेखक हुनुहुन्छ । हालसम्म उहाँको थिएटर र आँखाहरू (नाटकसंग्रह-२०७०), हिउँले आगो पगालेर (कवितासंग्रह-२०७१), किलिमन्जारो (साहित्य सँगालो / सम्पादन-२०७९), संयुक्त साहित्य सँगालो (विम्ब, मितेरी) प्रकाशनमा आइसकेका छन् । ‘श्रम साप्ताहिक उत्कृष्ट वर्ष साहित्यकार २०६१’ तथा विभिन्न पुरस्कारबाट सम्मानित हुनुहुन्छ । विभिन्न संघसंस्थामा आबद्ध हुनुभएको उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अनेसास, अफ्रिका महादेशीय च्याप्टरका अध्यक्ष हुनुहुन्छ ।
प्रस्तुत छ, कवि, नाटककार गणेश खड्कासँग उहाँकाे लेखनयात्रा र डायस्पाेरिक साहित्यबारे केन्द्रित भई साहित्यपोस्टका लागि साहित्यकार एवं अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंश:
आजकल तपाईं अध्ययन र लेखनमा कत्तिको व्यस्त हुनुहुन्छ ?
– अध्ययन, अनुसन्धान, साधना र सिर्जनालाई आफ्नो दैनिकी नै बनाइसकेको छु मैले । यसर्थ व्यस्त नै छु भन्नु पर्यो ।
प्रवासमा हुनुहुन्छ । नेपाली साहित्य साधनामा पनि उत्तिकै क्रियाशील र व्यस्त हुनुहुन्छ । यस्तो अवस्थामा समय चाहिं कसरी मिलाउनु हुन्छ?
– निश्चय नै प्रवासी जीवन आफूले सोचेको र अरूले बाहिरबाट देखेको जस्तो सहज छैन । काम गर्न आएपछि काम त गर्नै पर्यो । काम पनि नेपालको जस्तो नाम मात्रको कामले हुँदैन । साँच्चै काम नै गर्नुपर्छ, अनि मात्र माम र दाम पाइन्छ । तर काम गर्ने पनि निश्चित समय हुन्छ । अफिसियल आवर्स भन्दा बाँकी समयलाई सिर्जनात्मक बनाउने हो । त्यही कामबाट बाँचेको समयमा नै लेखपढ गर्ने हो ।
तपाईं कहिलेदेखि साहित्य क्षेत्रमा लाग्नु भयो र पहिलो रचना कहिले प्रकाशित भएको थियो ?
– नेपाली साहित्यप्रति मनभित्र सुषुप्त रूपमा अभिरुचि त पहिल्यैदेखि छँदै थियो । तर सार्वजनिक रूपमा चाहिं २०४९ सालदेखि लागेको हुँ र त्यही साल नै पहिलो रचना प्रकाशित भएको थियो ।
नेपाली साहित्यमा तपाईंको प्रमुख लेखन क्षेत्र ?
– नाटक, कविता, गीत, गजल, कथा, नियात्रा र समसामयिक लेख रचनाहरू त लेखिरहेकै छु । धेरै पहिला उपन्यास पनि लेख्न शुरु गरेको थिएँ । तर त्यसलाई बिचैमा छोडिदिएँ । अब पुरा गर्ने र अरू नयाँ उपन्यास पनि लेख्ने सोचमा छु । यसको अलावा म सम्पादन कार्य पनि गर्ने गर्छु ।
तपाईंका अन्य प्रकाशोन्मुख कृतिका बारेमा पनि बताइदिनुहुन्छ कि ?
– अब लगातार प्रकाशन गर्ने हो भने केही पुस्तकहरू लगभग तयारी अवस्थामा छन् । तर म पुस्तक प्रकाशन गर्ने कुरामा हतार गर्दिन । सम्भवतः एउटा नियात्रासंग्रह चाहिं अगाडी आउँछ होला ।
तपाईंले साहित्य, जीवन र दर्शनलाई कसरी हेर्नुहुन्छ ?
– मेरो विचारमा साहित्य, जीवन र दर्शन एक आपसमा अन्योन्याश्रित सम्बन्ध राख्छन् । जीवन पनि एक साहित्य हो र साहित्य पनि जीवनको वरिपरि घुमिरहेकै हुन्छ । अनि दर्शनबिनाको जीवन धारबिनाको हतियार जस्तो हुन्छ । तसर्थ साहित्य, जीवन र दर्शन एउटा रुखको हाँगा, पात र जरा जस्ता हुन्छन् । एक नभई अर्को अधुरो रहने ।
तपाईंलाई मन पर्ने नेपाली साहित्यकार ?
– थुप्रै हुनुहुन्छ । तर नयाँ भन्दा पुराना बढी मन पर्छ ।
धेरै पटक दोहोर्याएर पढेको नेपाली पुस्तक ?
– बिपी कोइरालाको सुम्निमा ।
पछिल्लो समय तपाईं गीत, गजल र कविता लेखनमा बढी सक्रिय देखिनुहुन्छ ! यीमध्ये कुन लेख्दा बढी आनन्द आउँछ ?
– यी तीनवटै रुचिका विधा हुन् । र यी तीनवटै काव्यका रूप हुन् । आफ्नो समय, अवस्था, परिस्थिति र मनस्थिति अनुसार जे सिर्जना गर्दा पनि मलाई आनन्द नै आउँछ । मान्छेले आफ्नो रुचि र चाहनाको काम गर्दा अवश्य आनन्द प्राप्त गर्छ ।
गीत कति वटा रेकर्ड गराउनु भएको छ ?
– लगभग दुई दर्जन पुगे होलान् ।
आजभोली नाटक लेख्न चाहिं छोड्नु भएको हो ?
– होइन, लेखिरहेकै छु । तर प्रकाशन, प्रसारण र मञ्चन चाहिं गरेको छैन । मैले पचासको दशकभरि रङ्गकर्म गरें । रेडियो नाटक, स्टेज नाटक र सडक नाटक समेत गरेर पैंतालिस वटा भन्दा बढीमा लेखन, निर्देशन र अभिनय गरेको छु । अवार्डहरू पनि जितेको छु । नाटकप्रतिको भोककै कारण केही समय रेडियो नेपालमा जागिरेको रूपमा अल्झिन पनि पुगियो । नेपालमा नाटक गरेर, साहित्य लेखेर पेट पाल्न सकिने अवस्था नदेखेपछि वैदेशिक रोजगार रोज्न बाध्य भइयो । उता हुँदा टिम थियो । नाटक दृश्य साहित्य भएकोले मञ्चन आवश्यक हुन्छ । टिमवर्क गर्नुपर्ने हुन्छ । तर यता विदेशमा लेख्ने भन्दा अर्को काम गर्न गाह्रो हुन्छ । तुलनात्मक रूपमा नाटक कम लेखिने र कम पढिने विधा पनि भएकोले म पनि नाटक लेखनमा केही सुस्ताएको चाहिं हो ।
तपाईंका कविता बेजोड लाग्छन् । राम्रा कविता लेख्न के गर्नुपर्छ ?
– मलाई त्यस्तो लाग्दैन । म नेपाली भाषा-साहित्यको विद्यार्थी हुँ । सिकाइको यात्रा अनन्त छ । म पनि सिक्दै छु । अहिलेसम्म आफूलाई कवि हुँ भनेर दाबी पनि गरेको छैन । तपाईंहरुले भनिदिनुहुन्छ, अनि हो कि जस्तो पनि लाग्छ । तर एउटा कुरामा जिकिर गर्छु- कविबाटो चाहिं हिँडिरहेको छु ।
रह्यो, राम्रा कविता लेख्ने कुरा : अध्ययन, अनुसन्धान, साधना र काव्यिक चेत सहित अभ्यास गरे कविता बनिहाल्छ । हरेक कविका आ-आफ्नै धार र शैली हुन्छन् । कविता यस्तो हुनुपर्छ उस्तो हुनुपर्छ भनेर बेढङ्गी तर्क गर्नु जायज मान्दिन म । एउटा कविले उसकै पाराको विचार, विम्ब, प्रतीक, शैली, शब्द र वाक्यलाई राम्रो गठन गरे राम्रो कविता बन्छ ।
साहित्य क्षेत्रमा लाग्नको लागि तपाईंको प्रेरणाको श्रोत के/को हो ?
– म पूर्वी नेपालको मध्य पहाडी जिल्ला भोजपुरमा जन्मे-हुर्केको हुँ । यद्यपि, अहिले बसोबास पूर्वी नेपालकै तराइ-सुनसरीको इटहरीमा छ । पहाड भोजपुर प्राकृतिक सौन्दर्यको खानी हो । धेरै त मलाई त्यही प्रकृतिले प्रेरणा दियो होला । मेरा हजुरबा आफैं कवि, कलाकार हुनुहुन्थ्यो । तर उहाँको प्रतिभा गाउँ-घरमा मात्रै सीमित थियो । म भने उहाँको कला, प्रतिभाबाट प्रभावित थिएँ । सायद उहाँ पनि मेरो प्रेरणाको अजस्र श्रोत हुनुहुन्छ ।
खाली समय कसरी बिताउनु हुन्छ ?
– मेरो खाली समय भन्ने नै हुँदैन । दिनको आठ-दश घण्टा त जागिर गर्छु । पाँच-छ घण्टा सुत्छु । बाँकी रहेको समय अध्ययन, अनुसन्धान, साधना, सिर्जना र साहित्यिक गतिविधिमै बित्छन् ।
नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नुभएको छ ?
– यो उत्साहजनक रूपमा अघि बढिरहेको छ । पहिला त्यति सन्तोषजनक नभए पनि अहिले नेपालको साहित्यिक पत्रकारिता व्यावसायिक हुँदै गएको देख्दा खुशी लाग्छ ।
कस्तो साहित्यिक पुस्तक पढ्न मन पराउनुहुन्छ ? साहित्यकारले लेखेर बाँच्न सक्ने अवस्था छ कि छैन ?
– जीवन-दर्शन बोकेको, जीवन र जगतलाई नजिकबाट नियालेको साहित्यिक पुस्तक पढ्न मन पर्छ । नेपालको हकमा चाहिं साहित्यकारले लेखेरै बाँच्न सक्ने अवस्था अझै दिगो रूपमा आइसकेको छैन जस्तो लाग्छ ।
डायास्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?
– यस विषयमा मैले आफ्नो स्पष्ट धारणा पटकपटक राख्दै आएको छु । नेपाली साहित्यको समग्र स्वरूपबाट डायास्पोरिक साहित्य झिकिदिए पुरै नेपाली साहित्य अधुरो र अपुरो हुने अवस्था छ । डायस्पोरामा रहेका नेपालीहरुले शारीरिक श्रम गरेर आर्थिक रेमिट्यान्स पठाई देश पालेको कुरा त घाम जत्तिकै छर्लङ्ग छँदै छ । अब त यहाँ बौद्धिक श्रम गरेर सिर्जनात्मक रेमिट्यान्स पठाई देशको भाषा, साहित्य र कला पनि धानिरहेका छन् । यो वस्तुनिष्ट सत्य पनि जगजाहेर नै छ ।
तपाईं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अफ्रिका महादेशीय च्याप्टर अध्यक्ष पनि हुनुहुन्छ । अफ्रिका महादेशमा अनेसासको अवस्था कस्तो छ?
– यो प्रश्न गम्भीर अनि महत्त्वपूर्ण छ । यसको बारेमा पनि मैले थुप्रै पटक धेरै ठाउँमा बोल्दै आएको छु । अनेसासको तीन दशक भन्दा लामो इतिहासमा संसारका प्रायः सबै देश, महादेश र अझ कतिपय देशका त प्रदेशमा समेत च्याप्टर गठन भएर सक्रिय रहे । तर अँध्यारो महादेश भनेर चिनिएको अफ्रिका महादेशका कुनै पनि देशमा अनेसासको बिउ रोप्न सकिरहेको अवस्था थिएन । पहिलो कारण त यहाँ नेपाली नै कम छन् । त्यसमाथि झन् सर्जक त भेट्नै गाह्रो । प्रयास भने निरन्तर हुँदै थियो । तर सम्भव भइरहेको थिएन ।
नाइजेरियामा रहेका अग्रज साहित्यकार हिक्मत थापा र म यसको बारेमा चिन्तित थियौं । तत्कालीन केन्द्रीय नेतृत्वहरूले पनि हामीलाई केही गर्न झकझकाई रहन्थे । सम्भावना न्यून थियो । अफ्रिका महादेशको कुनै एउटा देशको च्याप्टर बन्ने कुनै गुन्जायस नै थिएन । हिक्मत थापा र मैले एउटा जुक्ति निकाल्यौं । अब कुनै देश होइन बरु पुरै महादेश समेटेर च्याप्टर गठन गर्ने ।
फलस्वरूप अफ्रिका महादेशभरि सिलासाङ्लो खोजेर सन् २०२० को सेप्टेम्बरमा अनेसासकै इतिहासमा महादेशीय च्याप्टर निर्माण भयो- अनेसास अफ्रिका महादेशीय च्याप्टर । नाइजेरियाबाट हिक्मत थापा र सेसेल्सबाट म गणेश खड्का गरी जम्मा दुई जना मात्र देखिएको अफ्रिका महादेशमा अहिले हामीले लगभग दुई दर्जन आजीवन सदस्य बनाएका छौं । थुप्रै साहित्यिक गतिविधि भएका छन् ।
पहिलो कार्यकालमा अफ्रिका महादेशीय नेपाली सर्जकहरूका साहित्यिक सिर्जनाहरू समेटेर “किलिमन्जारो” नामक साहित्यिक सँगालो नै प्रकाशन गर्यौं । दोस्रो कार्यकाल २०२३-२०२५ पनि मेरै नेतृत्वमा उत्साहपूर्वक अघि बढिरहेको छ । साहित्यिक प्रकाशन “किलिमन्जारो” लाई फेरि पनि निरन्तरता दिने योजना छ । यसरी हेर्दा अफ्रिका महादेशमा अनेसासको अवस्था उज्यालो छ ।
अनेसासलाई एक मजबुत साहित्यिक संस्था बनाउन के गर्नु पर्ला ?
– तेरो-मेरो नभनी हाम्रो भन्ने । सबैलाई समान व्यवहार अनि अवसर दिएर राम्रो बनाउने । हरेक च्याप्टरहरू अनेसासका मेरुदण्ड हुन् भन्ने सत्यलाई आत्मसात् गर्ने । अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन अनि सही प्रतिभाको पहिचानमा जोड दिने । मुख्य कुरा साहित्यिक संस्था जस्तो पवित्र स्थलमा राजनीति जस्तो फोहोरी खेल नखेल्ने । सबैको पहुँचलाई सम्मानजनक ढङ्गले प्रवेश गराउने । यत्ति भए अनेसास मजबुत भइहाल्छ ।
पाश्चात्य र पूर्वीय साहित्यमा तपाईंलाई कुन साहित्य मन पर्छ र किन ?
– साहित्य भनेपछि पूर्वीय होस् या पाश्चात्य गुणकारी नै हुन्छ । मलाई दुवै साहित्य मन पर्छ । स्वाद आ-आफ्नो हुन्छ । जसरी यौटै खाद्य पदार्थलाई पनि विभिन्न तरिकाले पकाउँदा फरक-फरक स्वाद हुन्छ । पाककलामा भर पर्छ । जसले स्वादिष्ट भोजन पकाएर पस्किन सक्छ उसैको परिपाठ मिठो हुन्छ । विभिन्न ठाउँ, भेग, स्थान र हात अनुसार सामग्रीको स्वाद फरक-फरक भए पनि ती सबैको आ-आफ्नै विशेषता हुन्छन् । तर साहित्यमा जीवन-दर्शनको समुचित उपयोग गरिने हुनाले पूर्वीय साहित्य नै बढी रुचिकर र प्रीतिकर लाग्छ मलाई ।
नेपालमा पुरस्कार, सम्मान र समालोचनाको अवस्था कस्तो देख्नुहुन्छ ?
– पक्षपाती, स्वघोषित र सौन्दर्यहीन ।
अन्त्यमा मैले सोध्न बिर्सेका र तपाईंलाई भन्न मन लागेका केही कुरा छन् भने ?
– भन्ने कुरा त धेरै हुन सक्छन् । तर सोधिएका कुराको उत्तर दिंदा यत्ति नै हो । अवसर आउँदा बेलाबेलामा बोल्दै गरौंला ।
बाँकी तपाईंलाई र साहित्यपोस्टलाई हार्दिक धन्यवाद यो अवसरका लागि ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।