कैयौं कालजयी गीत–सङ्गीतका सर्जक तथा सङ्गीत यशस्वी स्वर्गीय अम्बर गुरुङलाई विश्वभरिका नेपालीहरूले सम्झिरहने एउटै कारण हो– उनको साङ्गीतिक योगदान र समर्पण ।

अम्बर गुरुङ

अम्बर गुरुङ

अम्बर गुरुङ नेपाली सङ्गीतका सगरमाथा हुन् । निश्चित भूखण्डमा सङ्गीत साधनामा समर्पित रहेका यी नै सङ्गीत महर्षिको इहलीला समाप्त भएको पनि आठ वर्ष टेकेछ । उनी इतिहास बने तर उनका सिर्जनाहरू हीरा मोतीको रूपमा हामीमाझ टलक्क टल्किएर उज्यालो छर्दै बसेका छन् । उनी सङ्गीतको त्यो वटवृक्ष हुन्, जसको छायाको शीतलता आज नेपाली सङ्गीत क्षेत्रले अनुभूत गर्न सकेको छ ।

उनी नदीको त्यो मुहान हुन्, जहाँबाट निस्केका थुप्रै शाखा नदीहरू उनकै परम्परालाई निरन्तरता दिँदै सङ्गीत अनुरागीहरूको प्यास बुझाउन सक्षम र सक्रिय छन् । मलाई लाग्छ अम्बर र उनका सिर्जनाबारे अब प्रशस्त शोध हुँदै जानु पर्छ । जीवनको उत्तरार्धमा उनी नेपालकै भए तर पनि उनी दार्जिलिङका उपज थिए र यहाँबाट पनि उनीबारे धेरै लेखिनु पर्ने हो, उनको सिर्जनाबारे मूल्याङ्कन हुनु पर्ने हो, शोध हुनु पर्ने हो ।

म जुन चियाकमानमा हुर्केँ, बढें त्यही मिलिङ चिया कमान नै अम्बर गुरुङको आमाको माइत रहेछ र ठूलो हुञ्जेलसम्म अम्बर गुरुङ पनि त्यही चियाबारीको कान्ला-कान्लामा दगुर्थे रे भनेको त्यहाँका स्थानीय बुढा पाकाहरूबाट सुन्दा मलाई अझ मनमा गर्व लागेर आयो । म हुर्केको मिलिङ चियाकमान कति भाग्यशाली रहेछ, अम्बर गुरुङ पनि यहीँकै धूलो माटोमा हुर्केका रहेछन् भन्ने विचारले पनि उनीबारे धेरै जान्ने रहरहरू मनमा पलाएर आयो ।

सन् २००५ मा “दार्जिलिङ सिक्किम मैत्री संघ”-को निमन्त्रणमा साङ्गीतिक कार्यक्रमको लागि दार्जिलिङ र सिक्किम आउनु भएको अम्बर दाइलाई सोही चियाकमानका भाईहरूले भेटेछन् र सो चियाकमानमा पनि आईदिने अनुरोध गरेछन् । आफूले शैशव बिताएको सो चियाकमानमा पुग्ने र त्यहाँका मानिसहरूसित भेटघाट गर्ने आफ्नो पनि उत्कट इच्छा रहेको उहाँले बताउनु भएछ । उहाँको व्यस्ततादेखि उब्रेको समयमा भाइहरूले उहाँलाई सो चियाकमानमा लिएर गएछन् ।

सो अवसरमा चियाकमानका स्थानीय युवाहरूले उहाँको सम्मानमा एक सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरेछन् । यति मात्र होइन, भाइहरूले हातैले लेखेर ‘स्मारक पत्र’ शीर्षकमा उहाँलाई अभिनन्दन पत्र पनि टक्राएछन् । त्यो अभिनन्दन पत्रलाई अम्बर दाइले आफ्नो पुस्तक ‘कहाँ गए ती दिनहरू’-को चौथो संस्करणको आवरण पृष्ठको पछिल्लो भाग (back side) मा जस्ताको तस्तै छपाउनु भएको छ ।

विसं. २०६७ मा छापिएको यो पुस्तकमा उहाँले आफ्नो एक लेख “सम्झना मिलिङ कमानको” पनि समावेश गर्नु भएको छ । आफूले शैशव बिताएको भूमि हेर्ने उहाँको धोको यसरी पूरा भएछ साथै सो चियाकमानका मानिसहरूले पनि नेपाली जगतका यति महान् सङ्गीतकारको शैशव त आफ्नै चियाकमानमा बितेको रहेछ भन्ने प्रत्यक्ष प्रमाण पनि पाएछन् । जीवनको दोसाँधमा भएपनि त्यहाँ पुगिछाड्नु भएछ । यही हो माटोप्रतिको इमान्दारीता र माया । भाग्यवश मेरो पनि शैशव र जीवनको आधा भाग यसै चियाकमानमा बितेको हो । आफूले शैशव बिताएको ठाउँलाई हामीले अम्बर दाइले जस्तै माया गर्नु पर्छ ।

अब मूल विषय-वस्तुतर्फ लागौं । आज सुगम सङ्गीत अन्तर्गत पर्ने यति विघ्न नयाँ-नयाँ गीतहरूले नेपाली सङ्गीत जगत् डम्म ढाकिसकेको अवस्थामा पनि किन हामीलाई भने अझै पनि थोरै पुराना गीतहरूले मात्र सन्तुष्टि दिन्छन्, किन अम्बर गुरुङकै गीतहरूको बढी चर्चा हुन्छ ? यस्ता यावत प्रश्नहरूका उत्तर खोज्दा हामी एउटै निष्कर्षमा पुग्छौं त्यो हो उनको गीतमा गायन र सङ्गीत पक्षको साथै शब्द रचना पक्ष पनि उतिकै सबल हुनु । उनकै भनाइको यहाँ कुरा गरौं । “एउटा राम्रो गीत समाजलाई दिनु हो भने त्यहाँ एउटा राम्रो गायक वा गायिका चाहियो, एउटा राम्रो सङ्गीतकार चाहियो अनि एक उत्कृष्ट शब्द रचना गर्न सक्ने रचनाकार चाहियो । यी तीनैको सुदक्ष प्रतिभाको मिश्रणले एक असल गीतको जन्म हुन सक्छ ।”

यसो त अम्बर गुरुङ सङ्गीतकार र शब्दकार हुनभन्दा अघि एक गायक मात्र थिए । भोकलबाटै उनी माथि उठेका हुन् भन्ने कुरा उनी स्वयंले स्वीकार गर्दै “हरेक वाद्यवाधक जति नै ठूला तथा विख्यात भए तापनि सुरुमा ऊ गायक नै भएको हुन्छ” भन्दै भारतका महान् सङ्गीतज्ञ उस्ताद अलाउद्धीन खाँको भनाइलाई उद्धृत गरेका छन् ।

सुरुमा यसरी केही वर्ष गायनमा बिताएपछि अम्बर सङ्गीत साधना र कम्पोजिङतर्फ ढल्कँदै गएका हुन् । सङ्गीतकारको रूपमा उनको योगदानको प्रसङ्गभन्दा पनि पहिले म यहाँ एक शब्दकारको रूपमा अम्बर गुरुङको सानो चर्चा राख्न चाहन्छु । किन शब्दकारको रूपमा पनि अम्बर गुरुङ उत्कृष्ट छन् भन्ने प्रश्नलाई हेरौं ।

अम्बर गुरुङलाई हामी त्यस्तो गायक र सङ्गीतकारको रूपमा देख्छौं, जसले सुरुदेखि नै उसै बेला चर्चित बनिसकेका धुरन्धर साहित्यकार, चिन्तक, कवि र समालोचकहरूका सान्निध्य रहेर सङ्गीत साधनालाई अघि बढाउने अवसर पाए । पहिले त अगमसिंह गिरीकै सान्निध्यको फलस्वरूप उनले गिरीकै गीत “नौलाख तारा” गाए । त्यो गीतले उनलाई यति चर्चित बनायो कि त्यसपछि देखि अझ उनी झ्वाम्मै साहित्यकारहरूकै सङ्गी बन्न पुगे । हुन त उनले एक ठाउँ लेखेका छन् “गायन र वादनको यही रहर र लहरले मलाई सङ्गीतकार बनायो र अझ भन्नु हो भने त्यसको धेरै पछाडि मात्र मेरो गीत लेखन आरम्भ भयो । हुन त त्यस बेला पनि म गीत लेख्दो रहेछु अथवा खाली ठाउँ भर्दो रहेछु अथवा सङ्गीतको धुनलाई अक्षरको आवरण पहिराउँदो रहेछु” ।

अम्बर गुरुङ असल साहित्यकार, कवि र चिन्तकहरूका सान्निध्यमा अघि बढ्दै गएपछि आफू पनि साहित्यको अध्ययनमा लागे । आफूलाई समय निकालेर अध्ययन गरिरहने बानी परेको कुरा उनी स्वयंले धेरै अन्तरर्वाताहरूमा बताएका छन् । उनी स्वयंले लेखेका छन्— “मेरो फर्मेन्टेसनको त्यो कालमा एक्कासि म साहित्यकारहरूको हुलमा मिसिन पुगें । हुन पनि मेरा घनिष्ठ मित्रहरू सङ्गीतकारभन्दा साहित्यकारहरू नै बढी थिए । उनीहरूसँगको सङ्गति र उठबसले गर्दा साहित्यप्रति मेरो ठूलो अनुराग र गहिरो अभिरुचि बढेर गयो । त्यहीँबाट मेरो पठनपाठनको क्रम बढेर गयो र आजभोलिको ढाक्रे जीवनमा म खूब पढ्छु” ।

अम्बरको यसै कथनबाट हामी प्रस्ट बुझ्न सक्छौं कि साहित्यकारहरूसँगको सङ्गत र साहित्यको अध्ययन र मननले गर्दा नै अम्बर खारिएका हुन् साथै उनका गीतहरू यति उत्कृष्ट बन्न सकेका हुन् ।

यति मात्र नभएर नेपाली साहित्यकार, समालोचक तथा चिन्तक इन्द्र बहादुर राईले आफूलाई सस्तो गीतको पछि नलाग्ने परामर्श दिएको पनि उनी स्वयंले अन्तरवार्ताहरूमा बताएका छन् । यसैबाट बुझिन्छ, ‘इबरा’ सित पनि उनको निकट सम्बन्ध थियो साथै उसै बेला साहित्यमा ‘तेस्रो आयाम’को उद्घोषणाले अति चर्चित बनिसकेका श्री राईले उनको गीतहरू खुबै चाख दिएर सुन्थे । जे जति साहित्यकार, कवि, विचारक र चिन्तकहरूसित उनको उठबस थियो, सबैको प्रभावले र साहित्यको स्वअध्ययनले अम्बरलाई एक उत्कृष्ट गीतकार बनायो भन्नमा कुनै भूल नहोला ।

अम्बर गुरुङका बहु-आयामिक प्रतिभाले गर्दा नै उनका गीतहरू सबैलाई कर्णप्रिय लाग्ने बनेका हुन् । उनको प्रतिभा सम्बन्धमा उनकै समकालीन तथा नेपाली साहित्यमा आयामेली साहित्यका एक प्रणेता बैरागी काइँला भन्छन्- “अम्बर, एकै व्यक्तिमा संगीत क्षेत्रका धेरै पक्षको ज्ञान रहेको विरल उदाहरण हुन्” ।

अर्कोतिर उनलाई यति महान् सङ्गीतकारको टाकुरामा पुऱ्यायो उनकै लगनशीलता र एकाग्रताले । दार्जिलिङमा छँदा नै आफ्नो सिर्जनाको सुरुआती कालमा मानिसहरू सिनेमा हेरेर घर फर्किरहेका हुन्थे, कोही मेलापातबाट ग्वारग्वार फर्किरहेका हुन्थे तर अम्बर गुरुङ बजाइरहेका हुन्थे, सङ्गीतमा लीन भएर । सङ्गीत प्रतिको उनको यस्तो तपस्या र समर्पण अनि एकाग्रता देखेर आयामेली साहित्यका अर्का प्रणेता इन्द्रबहादुर राई भन्थे रे, “अम्बरको जस्तो एकाग्रता हुनुपर्छ ।”

जीवनमा कैयौं विघ्न वाधा परे, कैयौं छाल उछाल आए, कैयौं पटक नकारात्मक परिस्थिति आयो, कैयौं पटक निरासाले व्यग्र पनि तुल्यायो होला तर पनि अम्बर हिमाल जस्तै डटिरहे । सङ्गीतको मार्गबाट कुनै पनि परिस्थितिले उनलाई अलग गर्न सकेन । बरु परिस्थितिको प्रत्येक घात प्रतिघातलाई उनले सङ्गीतमा समाहित गरी नयाँ-नयाँ प्रयोग र सिर्जनाले नेपाली गीत सङ्गीतलाई स्तरीय पार्नमा आफ्नो दृढ मनोयोग लगाइरहे ।

उनको सङ्गीत र गीत रचना धरातलको समग्रतालाई हेर्नु हो भने हामीले भर्खर गाउन लागेको, भर्खर सङ्गीत भर्न लागेको र भर्खर गीत लेख्न लागेको अम्बरदेखि लिएर परिपक्वतासम्मको अम्बरलाई विभिन्न कालखण्डमा राखेर मन्थन गर्न पर्छ । यो एक शोधकै विषय हो र यसबारे शोध हुन अझ बाँकी छ ।

गीत लेखनकै प्रसङ्ग निकालौं । प्रारम्भिक कालको गीत रचना “ए कान्छा मलाई सुनको तारा खसाइ देऊ न” (स्वर रुद्रमणि गुरुङ र अरुणा लामा) को अलिकति प्रसङ्ग निकाल्न कर लाग्छ । यसमा प्रेम र यौवनको उत्सर्ग पोखिएको छ । यो गीत त्यस बेला रेकर्ड भएर बज्न थालेपछि जति लोकप्रिय भयो कि त्यो लोकप्रियता अरू गीतसँग तुलना गर्न नै सकिँदैन । अम्बर आफै यो गीत यसरी ह्वात्तै लोकप्रित र चर्चित बनेकोमा चकित बनेका थिए । उनले लेखेका छन् “यो मेरो शब्द र सङ्गीतमा रूद्रमणि गुरुङ र अरुणा लामाले दिएका स्वरको यो सिर्जना यसरी कालजयी बनिदियो कि म अहिले आफै आश्चार्यमा छु ।”

हुन त धेरै पहिले दार्जिलिङ गो.दु.नी.स.द्वारा प्रकाशित गरिएको ‘सङ्गीत माधुरी’ नामको स्मारिकामा कुनै लेखकको (यहाँ मैंले जानेर पनि नाम उल्लेख गरिनँ) एउटा लेख पनि सामेल थिएछ । ‘चिनेर पनि नचिनिएका गीतकार पासङ वाग्बलः एक सस्मरण’ शीर्षक रहेको उक्त लेखमा यो गीतलाई पासाङ वाग्बलको गीत भनी लेखिएको रहेछ । कुन भूलचुकले यसो भनियो त्यो हामीलाई थाहा छैन तर अम्बर स्वयंले यसबारे स्पष्टिकरण दिँदै यो गीतको शब्द रचना आफ्नै रहेको बताएका छन् । आफ्नो ‘कहाँ गए ती दिनहरू’ पुस्तकभित्र उनको एउटा लेख नै समावेश छ ‘सुनको तारा खसाउने गीत !’ शीर्षकमा ।

त्यसमा अम्बरले लेखेका छन्- “मनमा उत्रेको लोकधुनलाई सस्वर उतार्न मैले यो गीत लेखेको थिएँ । सन् १९६२ तिर लेखेको यो गीत सन् ६८ तिर एउटा सङ्ग्रहमा छापिएन मात्रै, रेकर्डमा पनि आयो । तर रेकर्डक्रममा तालमेल नमिलेर गीतमा भएका ‘तीन पद’-मा एक पद भने काट्नु पऱ्यो । मेरै शब्द/सङ्गीतमा रुद्रमणि गुरुङ र अरुणा लामाले दिएको स्वरको यो सिर्जना यसरी कालजयी बनिदियो कि म अहिले आफै आश्चर्यमा छु” ।

पछिबाट ‘म अम्बर हूं तिमी धरती’ (स्वर अम्बर स्वयं) र ‘सम्हालेर राख सँगालेर राख फेरि फुल्ने हो कि होइन जीवनको फूल’ (स्वर शान्ती ठटाल) बोल भएको गीतको रचनालाई हेर्दा उनी गीतकारको रूपमा अझ निखारिँदै गएका थिए भन्ने कुरा छर्लक्क हुन्छ ।

गीतकारको रूपमा अम्बर गुरुङले सबै प्रकारका भावनालाई छोएका छन् । माया पिरती, जीवनको घाम छाया, जातित्व र जातीय अस्मितालाई, जातीय निर्धोपना, बेमेल आर्थिक परिस्थिति र वर्गीय भिन्नता र आशा-निराशा सबै सबैलाई छोएका छन् । कतै सामाजिक रुढीवादलाई छोएका छन् भने कतै जीवनको मूल्यलाई छोएका छन् भने कतै विषम परिस्थितिमा मनभरि पलाएका निराशालाई पोखेका छन् ।

यसरी विषयान्तरमा उभ्याएर हेर्न सकिने उनका गीतहरू हुन्- ‘सम्हालेर राख संगालेर राख’, ‘आँधी बतासैमा तिम्रो शुभकामना काम लागेन मलाई काम लागेन’, ‘म अम्बर हुँ तिमी धरती’, ‘म दूर भएर के भो’, ‘रातभरि दियो जलाइरहें’, ‘कमलो मुटुभन्दा ढुङ्गाको मुटु जाती’, ‘म फुल्न जानिनँ झुल्न जानिन’, ‘सबैले भन्थे लयालु फूल भई आँखामा फुल्छु’, ‘बैशाख लाग्यो पहाडमा कुक्कुले भन्छ सुनन’, ‘उ पनि त कोही पराय त होइन’, ‘मेरो आँखालाई राख्ने फूलबारी छैन’ इत्यादि ।

साठीको दशकमा ‘नौलाख तारा उदायो’ गीत कलकत्ताको ग्रामाफोन कम्पनीबाट रेकर्ड भएर निस्किएको थियो र यो गीतले भारत र नेपाल दुवैतिर हलचल मच्यायो । यो एउटै गीतले अम्बर र गिरी दुवै प्रख्यात भए, तर यही गीत भारतमा पछिबाट विवादित ठानियो र यसलाई बजाउनमाथि प्रतिबन्ध लगाइयो । पहाडमा पश्चिम बङ्गाल सरकारको संस्कृति विभाग ‘सङ एण्ड ड्रामा युनिट’-को जागिरे जीवनले जकडेको बन्धन एक कलाकारको स्वाभिमानले पटक्कै स्विकार्न सकेन ।

त्यसपछि नेपाल प्रवेश नहुञ्जेलसम्म परिवार साथमा लिएर भौंतारिएको जिन्दगीमा बटुलिएका तिता मीठा, घात प्रतिघात, खोक्रो शुभकामना सबै-सबै मुटुमा ठोक्किएपछि ती सबै एक असल गीतकारको भावोद्गार भएर गीतहरूमा पोखिए । एक कलाकारको जिन्दगीलाई घात प्रतिघात र अनेकौं थपेडाहरूले नै वाणी दिएको हुन्छ । भौंतारिएको र अव्यवस्थित बनेको जिन्दगीलाई आँधी- तुफानसित तुलना गर्दै आफ्नो यतिञ्जेलको सङ्गीत तपस्यामा परिस्थितिले विघ्नवाधा सिर्जना गरेको तर पनि आफ्नो यो तपस्यालाई निरन्तर राख्नुपर्ने भावोद्गार गीतहरूमा यसरी पोखिए । ‘रातभरि दियो जलाइरहें. निराशाको हुरी चली नै रह्यो, तर मेरो दियो जली नै हऱ्यो’ ।

विषम परिस्थितिमा अम्बरलाई कतिपय साथीभाइबाट सहयोग प्राप्त भए तापनि कतिबाट काम नलाग्ने शुभकामना मात्र पनि प्राप्त भयो होला । यसैले पनि हुनपर्छ, गीतमा उनी यसरी  पोखिए- ‘आँधी बतासैमा तिम्रो शुभकामना , काम लागेन मलाई काम लागेन’ । सङ्गीत कर्ममा लाग्दा लाग्दै दार्जिलिङदेखि उठेर नेपाल प्रवेशिएपछि, यहाँदेखि दूर हुन परेपछि एक गीतकारको हृदय उद्वेलित नहोला भन्ने त कुरै आउँदैन । उनले दार्जिलिङ त छोडे तर पक्कै सजिलै त छोडेनन् । उनी कतिसम्म विचलित थिए, त्यस विचलनलाई अनुभूत गर्न हामी उनलाई गीतहरूमा छाम्न सक्छौं ।

म दूर भएर के भो,

अभिशाप छाएर के भो,

यति रोएँ जिन्दगीमा,

फेरि रोएर के भो ।

दार्जिलिङमा नै छँदा नेपाली गीत सङ्गीतको क्षेत्रमा धेरै धेरै काम गर्ने उत्कण्ठा हुँदा हुँदै पनि त्यहाँ त्यसबेलाको अनुर्वरक परिस्थितिले उनलाई कता-कता च्वास्स घोचेको भावना उसै बेला एउटा गीतमा पोखेर उनले त्यो गीत अगमसिंह गिरीलाई देखाएका थिए । गीत थियो

म फुल्न जानिन म झुल्न जानिन,

हाँसो आयो कता कता हाँस्न पाइनँ ।

यो गीत अम्बरले त्यसै बेला गिरीलाई गाएर पनि सुनाए । गीत सुनेपछि गिरीले अम्बरलाई स्नेह पूर्वक अङ्गालो हालेर भनेछन्- “अम्बर, तिमीलाई देख्दा मलाई गर्व लाग्छ । साँच्चै, हामी फुल्न नजान्ने हौं । नेपाली कवि, कलाकारको हालत यस्तै छ । हामीले पनि फुल्न जानेका भए हामी कहाँ-कहाँ के भइसकेका हुन्थ्यौ” ।

अम्बर गुरुङ भनेपछि नेपाली सङ्गीत जगतको घना वटवृक्ष हुन् । दार्जिलिङमा नेपाली सङ्गीतको स्थिति शैशव कालमा छँदै नै उनले आफ्नो पौरखले नेपाली जनमानसलाई नेपाली गीत सङ्गीतको आस्वादन मात्र गराएनन् तर आर्ट एकाडेमी जस्तो संस्था स्थापना गरी कैयौं नवोदित कलाकारहरूलाई समेत संगीत सम्बन्धी ज्ञान दिएर स्वयंले पनि एक संस्थाकै रूपमा कार्य गरे उनले ।

उनैले सिकाएका ती नवोदित कलाकारहरू आज अव्वल दर्जाका गायक गायिका, सङ्गीतकार र कलाकारहरू बनेका छन् अनि उनीहरूले पनि नेपाली गीत क्षेत्रलाई समृद्ध पार्नमा यथोचित योगदान पुऱ्याइरहेका छन् । आज  नेपाली सङ्गीतको राजमार्गलाई अझ फराकिलो बनाउनमा लागिपरेका गायक गायिका र सङ्गीतकारहरू, जस्तै शान्ति ठटाल, कर्म योञ्जन, कुमार सुब्बा, दुर्गा बद्री खरेल, बसन्त क्षेत्री, मणिकमल क्षेत्री, दावा गाल्मो, शंकर गुरुङ, पेमा लामा आदि स्रष्टाहरू उनैका चेला र पथ अनुसरणकर्ताहरू हुन् ।

शरण प्रधान, र गोपाल योञ्जन, अरुणा लामा र जितेन्द्र बरदेवा जस्ता सङ्गीत नक्षत्रहरू उनकै शिष्यहरू थिए । नेपाल प्रवेशपछि पनि उनले धेरैलाई सङ्गीत सिकाए । उनका धेरै चेलाहरू आज नेपाली सङ्गीतको क्षेत्रलाई सुशोभित पार्नमा लागि परेका छन् । यस दृष्टिकोणले हेर्दा हामी के कुरा ठोकेर भन्न सक्छौं भने अम्बर गुरुङ स्वयं सङ्गीतको एक विश्वविद्यालय थिए ।

सन् १९५७ मा दार्जिलिङमा हाल गो.दु.नि.स. भवनकै छेवैमा पर्ने भानुभक्त बुनियादी पाठशालामा कार्यरत शिक्षक अनि त्यस बेला एक सशक्त कविको रूपमा स्थापित बनिसकेका अगमसिंह गिरीले एक भेटमा आफ्नो खल्तीबाट एउटा कागजको टुक्रा निकालेर त्यसमा लेखिएको एक गीत अम्बर गुरुङलाई लय भर्न दिएछन् । त्यही गीत थियो ‘नौलाख तारा उदाए धरती आकाश हाँसेछ’ । कुरा फेरि यसै गीतको आयो । यो गीत १९६१ मा पुगेर ग्रामोफोन रेकर्डमा निस्कियो । प्रत्येक दृष्टिकोणले हेर्दा एक माइलखुट्टी नै रहेको यो गीत कसरी रेकर्ड भयो, यसको पनि एक छुट्टै सत्यता लुकेर बसेको छ । दार्जिलिङबाट रेकर्ड भएको यो पहिलो मौलिक नेपाली गीत थियो ।

जुन बेला ‘नौलाख तारा’ गीतले जन्म लियो, त्यस बेला गीत सङ्गीतको लागि आजको जस्तो सुविधा पटक्कै थिएन । गीत रेकर्ड एउटा माइकको भरमा गर्नु पर्थ्यो भनी अम्बर स्वयंले भनेका छन् । गीतमा सम्बद्ध कलाकारहरूका संख्या जति नै भए पनि एउटै माइक पाइने र एउटा माइकको भरमा संगीत संयोजनामा झेल्नुपर्ने अपठ्याले गर्दा मेन्डोलिन बजाउने कलाकार कुनै मेचमा चढेर बजाउनु पर्ने कठिनाइसम्म रहेको उनले बताएका छन् । यो ‘नौलाख तारा’ गीत मूलमा चार पद रहेको तर तीन मिनटमा गाइसक्नु पर्ने हुनाले दुई पद मात्र रेकर्ड गर्न पाइएको पनि उनी बताउँछन् । ‘नौ लाखे तारा’ जस्तो चौतर्फी हलचल मच्याउने गीतको श्रेय अम्बर गुरुङ र अगमसिंह गिरीलाई मात्र जाँदैन । उनीहरू त रचनाधर्मी र सिर्जनाकर्मीहरू मात्र हुन् ।

यस गीतको पछि सच्चिन्द्रमणि गुरुङको ठूलो हात छ । त्यसबेलासम्म अम्बर गरुङ र उनका चेलाहरू दार्जिलिङमा मञ्चमा गरिने कार्यक्रम आदिमा मात्र गाउँथे । सङ्गीतलाई सिस्टमले सिक्नु र बजाउनु पर्छ भन्ने पनि कसैलाई चेत थिएन । बस् त्यस बेला आयोजित हुने विभिन्न कार्यक्रम आदिमा गायो, केही तालीको गडगडाहट पायो भैहाल्यो । यतिमा नै कलाकारहरू सीमित थिए । गीत रेकर्ड नै गर्ने ध्याउन्न, अनुभव र आँट भने कसैमा थिएन ।

अन्तरवार्तामा अम्बर स्वंयले भनेका छन्- “दार्जिलिङ, कालेबुङ, खरसाङतिर हुने सङ्गीत प्रतियोगितामा मैले तीन चोटिसम्म प्रथम पुरस्कार जितेको थिएँ । त्यसपछि मलाई प्रतियोगितामा गाउन दिएनन्, म अतिथि कलाकारका रूपमा मात्रै सहभागी हुन्थेँ । सङ्गीतप्रतिको मेरो रुचि अत्यन्तै व्यक्तिगत थियो । मन परे गायो, नपरे गाएन । एकपटक मैले कालेबुङमा ‘नौ लाख तारा’ गाएँ । गाइसकेपछि स्टेजपछाडि एकजना दाइ आएर सोध्नुभयो- ‘यो गीत कसले रचेको ?’ उत्तर थियो – ‘मैले ।’ फेरि प्रश्न आयो ‘शब्द कसले रचेको ?’ मैले उत्तर दिएँ -‘अगमसिंह गिरी दाजुले ।’ तिनले भने, ‘यो गीत एकदम राम्रो रहेछ, भाइ । यो दार्जिलिङ र कालेबुङवासीले मात्रै सुनेर हुँदैन, सारा नेपालीभाषीलाई सुनाउनुपर्छ । म यो गीत रेकर्ड गरिदिन्छु, हुन्छ ?”

स्टेजमा गाउँदै गरेको गीत सुन्नसाथ यो गीत म रेकर्ड गराइदिन्छु भन्ने महान् व्यक्ति उनै सच्चिन्द्रमणि गुरुङ थिए, जसले अनेकौं प्रयत्न लगाएर ‘नौलाख तारा’ रेकर्ड गराइदिए । तर नेपाली गीत रेकर्ड गराउन पनि त्यस बेला सहज थिएन । रेकर्डिङ कम्पनीले नेपाली गीत रेकर्ड गर्न टेरपुच्छर नलाएको रहेछ, नेपाली गीतको बजार हुँदैन भन्दै अनेकौं बहाना बनाएको रहेछ । उनै परोपकारी सच्चिन्द्रमणि गुरुङको निरन्तरको प्रयत्नपछि बल्ल रेकर्डिङ कम्पनीले सो गीत रेकर्ड गर्न सहमति जनाएछ तर केही शर्तको आधारमा ।

ती शर्तहरू थिएछन्, पाँच सयवटा रेकर्ड आफैले बिक्री गर्ने जिम्मा लिनुपर्ने, पाँच सय रुपियाँ धरौटी राख्नुपर्ने र वाद्यवादकको खर्च आफैँले बेहोर्नु पर्ने । यति गरेमा हिन्दूस्तान कम्पनीले ‘नौ लाख तारा उदाए’ -लाई स्टुडियो उपलब्ध गराउने भएछ । यही शर्तमा गीत रेकर्ड भएछ । गीत रेकर्ड भएर निस्केपछि विश्‍वास नै नगरेको पाँचसय रिकर्ड रु. ४.५० गरेर एक हप्तामै बिक्री भएको देख्दा कम्पनी स्वयं तीन छक्क परेको र अरू रिकर्ड निकाल्नमा चासो देखाएको कुरा अम्बर स्वयंले अन्तरवार्तामा बताएका छन् ।

यो घटनालाई हेर्दा ‘नौलाख तारा उदाए’ भन्ने गीत रेकर्ड हुनु, चर्चित हुनु, अम्बर र गिरीको नाम शिखरमा पुग्नु र अरू नेपाली गीतहरूका रेकर्डको लागि मार्ग प्रशस्त हुनु र नेपाली कलाकारहरूका लागि एउटा निर्दिष्ट बाटो निर्माण हुनुमा सच्चिन्द्रमणि गुरुङको अति नै ठूलो योगदान छ । भनिन्छ त्यस बेला समस्त नेपालीको भावनालाई प्रतिनिधित्व गर्ने भावपक्ष बोकेको यो गीत रेकर्ड भएर निस्कँदा अम्बर र गिरीभन्दा धेरै  सच्चिन्द्रमणि गुरुङ खुशी भएका थिए । यो कुरा अहिलेसम्म लगभग अँध्यारोमा छ । यति ठूलो गुणलाई नेपाली जगतले भुल्यो भने एउटा ठूलो बैगुनीपनको धब्बा हाम्रो छातीमा पर्नेछ । हामीले सच्चिन्द्रमणि गुरुङको व्यक्तित्व र योगदानबारे पनि मूल्याङ्कन गर्नु पर्ने हो ।
‘नौ लाख तारा’ गीत नेपाली समाजमाझ प्रसार भएपछि यो गीत अति लोकप्रिय हुँदा अम्बर गुरुङ स्वयं कहिलेकाहीं आश्चर्य प्रकट गर्थे भनी उनकै शिष्य पिटर कार्थकले एक ठाउँ लेखेका छन् । त्यसपछि जहाँ गए पनि अम्बर गुरुङको सामु मानिसहरूबाट यही गीतको फर्माइस हुन्थ्यो ।

नेपाली गीत सङ्गीतको इतिहासमा नै अहिलेसम्म अम्बरको ‘नौ लाख तारा’ र उनकै रचना र सङ्गीतमा शान्ति ठटालको स्वर रहेको ‘सम्हालेर राख संगालेर राख’ गीत त्यस्ता गीतहरू हुन्, जसको मिठास आजसम्मैको  पिँढीले स्वाद मानेर अनुभूत गर्छन् । शान्ति ठटालले पनि जहाँ गए पनि अहिलेसम्म ‘सम्हालेर राख’ गाउनै पर्छ, मानिसहरूका फर्माइसमा । ‘नौ लाख तारा’ गीत निस्केपछि अम्बर गुरुङलाई हेर्न मात्र पनि कार्यक्रमतिर गाउँ गाउँबाट बुढा पाकाहरूसम्म आउँथे भनिन्छ । नेपाली मौलिक ‘समला’ तालमा आधारित ‘ए माइनर’ बाट थालिएको त्यस गीतले जनमानसमा पारेको प्रभाव, यसको माधुर्यता र लोकप्रियताबारे लेख्नै परे यही नै एक छुट्टै अध्याय हो ।
अम्बर गुरुङ उत्कृष्ट गायकको साथ साथै प्रयोगधर्मी गीतकार र सङ्गीतकार थिए । उनको एउटा गीत-

जहिले तिमी आऊ बिरानीले सोध्छ    

बिरानीमा फुल्ने फूल तिमीलाई खोज्न ।

यो गीत पाश्चात्य शैलीमा कम्पोज गरिएको र यसमा भिन्न-भिन्न कर्डको प्रयोग गरिएको अझ भनौं कर्ड-प्रोग्रेसनको सुन्दर नमुना रहेको बताइएको छ । साठीको मध्यभागमा नै आयोजित सङ्गीत प्रतियोगितामा यो गीत प्रस्तुत गर्दा रञ्जित गजमेरले गीतमा तबला बजाएको अनि गीत समाप्त हुने बित्तिकै प्रतियोगीताका लागि संलग्न निर्णायकगण, अतिथि र कवि अगमसिंह गिरी स्वयं पनि जुरुक्क उठेर यो गीत फेरि गाउने अनुरोध गरेको संस्मरण शान्ति ठटालले एक ठाउँ व्यक्त गरेकी छन् । अम्बर गुरुङका सबै गीतहरू उनी स्वयंले गाएको तर एउटा गीतमा आफूले धून भर्न पाएको प्रसङ्ग निकाल्दै उनको सो गीतको उल्लेख गर्दै सन् १९६५ मा सो गीत प्रस्तुत गर्ने अवसर आफूले पाएको शान्ति ठटाल बताउँछन् । गीत थियो—

म अचानक नै अढ़े
फूल पनि तर्सिदियो

पछि हेरें भूल थियो

भूल पनि झर्किदियो

(स्वर शान्ति ठटाल)

अम्बर गुरुङकै समकालीन साथै नेपाली चलचित्रमा सङ्गीत दिने पहिलो महिला सङ्गीतकार शान्ति ठटाललाई अम्बर गुरुङकै रचना र सङ्गीतले चुलीमा पुऱ्याएको हो । ‘सम्हालेर राख सँगालेर राख’ बोलको गीत अम्बर गुरुङले टिङलिङ कमानमा पुग्दा रचेका रहेछन् । अम्बर गुरुङको शब्द र सङ्गीत र शान्ति ठटालको स्वर माधुर्यले गर्दा यो गीत आज पर्यन्त उतिकै मिठो लाग्छ । यति मात्र होइन, यति सुन्दर गीतसित तुलना हुनसक्ने गीत आजसम्म जन्मेको पनि छैन ।

नेपाल प्रवेश गरेपछि अम्बरले ‘क्वायर’ गर्ने सपना जपना राखेका थिए अनि पछि त्यो  पूरा पनि गरे । यस बाहेक मिनी सिम्फोनी, क्यान्टेटा पनि गरे । यी सबैमा उनको खुबी एक संगीतकारको रूपमा भन्दा बढी एक संगीत परिकल्पनाकारका रूपमा धेरै मुखरित रहेको देखिन्छ  ।

चलचित्रका निम्ति अम्बरले थोरै गीतमा संगीत दिए, ‘मेरो देश’, ‘सपना कतिपय’, ‘जीवन रेखा’ र ‘मनको बाँध’ । यी सबै फिल्म फरक–फरक विधा र फरक धारका थिए । तर, ‘जीवन रेखा’-को पार्श्व संगीत र ‘मनको बाँध’-को पृष्ठ संगीतलाई उनको महत्त्वपूर्ण सिर्जना मान्नुपर्छ, जो निकै चर्चित रह्यो ।

अर्को कुरा, व्यक्तिपरक अर्थात् आत्मकथात्मक निबन्ध र कविता जस्तै गीत पनि आत्मकथात्मक हुन सक्छ भन्ने नयाँ प्रयोग अम्बरले नै ती सुरुआती कालमा नै गरेर देखाएका हुन् । आफैलाई केन्द्रीय भावबिन्दु बनाएर गीतमा आफ्नो भावनालाई अभिव्यक्त गर्न सकिन्छ भन्ने एक सफल प्रयोग अम्बरबाटै धेरै पहिले नै भइसकेको हो । ‘म अम्बर हुँ तिमी धरती’ बोलको गीतबाट ।

अम्बर, धरती र क्षितिजलाई बिम्बको रूपमा प्रयोग गरिएको यो एक उत्कृष्ट आत्मकथात्मक गीत हो । यस्तो प्रयोग आजसम्म अरू कसैले गर्न सकेका छैनन् । यो गीतमा शरण प्रधानले मेन्डोलिनमा जुन प्रकारले साथ दिएका छन्, त्यो अंशलाई मात्र सुन्दा पनि शरण प्रधान तीस वर्षभन्दा बढी बाँच्न पाएका भए, नेपाली गीत सङ्गीत क्षेत्रले कस्ता राम्रा-राम्रा सिर्जनाहरू पाइसकेको हुने थियो होला जस्तो लाग्छ, जो अम्बरकै शिष्य थिए ।

“सङ्गीतमा सर्ट्कट बाटो छैन” । यो अम्बर गुरुङकै भनाइ हो । हो, गाउनु र बजाउनु नै सङ्गीत होइन । सङ्गीत त महासागर हो, जहाँ गोताखोर नै भएर गहिराइसम्म पुग्नेले मात्र केही हात पार्न सक्छ । नेपाली गीत-सङ्गीतको यात्रामा आजसम्मको मोडमा हामी यो क्षेत्रमा थुप्रै-थुप्रै गायक-गायिकाहरू जन्मिसकेको देख्छौं ।

विविध प्रकारका गीतहरू लिएर नयाँ-नयाँ गायक गायिकाहरू आ-आफ्नो प्रतिभालाई निखार्नतिर लागिपरेका देख्छौं । फलानो गीतको श्रोताहरू यू-ट्यूबमा यति संख्या नाघ्यो र उति संख्या नाघ्यो भनेको पनि सुन्छौं । तर पनि किन हो कता-कता हामीलाई अपूर्णता नै अनुभूत भइरहन्छ । यति थुप्रै कलाकारहरू पाइसकेको अवस्थामा पनि किन हामीलाई अम्बर गुरुङकै अनुपस्थिति भइरहन्छ । विसं१९९४ को फाल्गुन १४ गते दार्जिलिङको लालढिकीमा जन्म ग्रहण गरेका अम्बरको ७८ वर्षको उमेरमा विसं२०७३ को ज्येष्ठ २५ तारिख काठमाडौँमा निधन भयो ।

नेपाली गीत सङ्गीत जगतका महर्षी स्वर्गीय अम्बर गुरुङ दार्जिलिङमा छँदा लोक मनोरञ्जन शाखाको जागिरदेखि बाहिरिनु परेपछि साथै गीत र सङ्गीतकै कारण प्रतिबन्धित बन्नु परेपछि आफ्नो परिवारलाई लिएर जीवन धान्न उनले के कस्ता कठिनाइ र थपेडाहरू झेल्न पऱ्यो होला, हामी कल्पना पनि गर्न नसकौंला । तर कस्ता-कस्ता विकट स्थितिमा पनि उनी हिमाल जस्तै अडिग बसे, धैर्य कहिल्यै गुमाएनन् । सङ्गीतलाई नै आफ्नो कर्म, धर्म र सर्वस्व ठानेर एक महान् ऋषि जस्तो सङ्गीत साधनामा निरन्तर लागे ।

अम्बरको सिर्जनाको कालखण्डमा एक संयोग के पनि परेको देखिन्छ भने उनको साङ्गीतिक करियरको उदय भइरहेकै बेला दार्जिलिङको साहित्यिक धरातलमा इन्द्रबहादुर राई, वैरागी काइँला र ईश्वर वल्लभबाट नेपाली साहित्यमा ‘तेस्रो आयाम’ नामको नौलो आन्दोलन थालियो ।

यिनै तीन  त्रिमूर्ति र प्रखर जातिय चेत लिएर देखा परिरहेका अगमसिंह गिरीसितको सान्निध्यबाट उनको बौद्धिक व्यक्तित्व अझ दह्रिलो बन्यो । यस्तै  प्रखर साहित्यकारहरूसितको उठबसले उनीभित्रको गीतकार चैतन्य अझ सबल बन्यो । उता काठमाडौंमा पनि शंकर लामिछाने, भूपि शेरचन, उत्तम कुँवर, बालमुकुन्ददेव पाण्डे प्रभृति साहित्यकारहरूसित काँधमा काँध मिलाउँदै उनी आफ्नो सिर्जनामा लागे ।

यसरी सङ्गीतको क्षेत्रमा उल्लेख्य योगदान पुऱ्याउने सर्जकहरूका उचित मूल्याङ्कन र सम्मान समयमा नै गर्न नसक्ने परम्पराले खिनौटे बनेको नेपाली समाजबाट अम्बर गुरुङले आफ्नो सिर्जना र तपस्याको कदर कतिसम्म भएको अनुभूत गरे, उनले पछिबाट प्राप्त गरेका पुरस्कारहरूले पनि कतिसम्म उनीप्रति न्यायको परिपूर्ति गर्न सक्यो, त्यो त अकबरी सुनलाई हेरेरै चिन्न सक्नेहरूलाई मात्र अनुभूत होला ।

जे होस्, जीवनको उत्तरार्धमा भने नेपाली गीत सङ्गीतको क्षेत्रमा अरूले प्राप्त गर्न नसकेका सम्मानहरू उनलाई प्राप्त भएको देखिन्छ । नेपाली सङ्गीत नाट्य प्रतिष्ठानको उनी कुलपति बने । गोपाल प्रसाद रिमालद्वारा रचित “रातो चन्द्र र सूर्य, जङ्गी निशान हाम्रो” गीतको धून तयार पार्नु र त्यसमा स्वर र सङ्गीत दिनु अनि त्यही गीत नेपाली सेनाको सैनिक गीत बन्नु, यो अर्को महान् उपलब्धि हो ।

सोही गीतको कम्पोजले गर्दा उनलाई नेपाली सेनाको मानार्थ महासेनानीको पदवीले विभूषित गरियो । उनलाई जङ्गी पोशाक पहिरिने अवसर पनि प्राप्त भयो । अझ ठूलो उपलब्धि के हो भने, उनैद्वारा धून तयार पारि सङ्गीतबद्ध गरिएको गीत “सैयौं थुङ्गा फूलको हामी एउटै माला नेपाली” स्वतन्त्र र सार्वभौम गणराज्य नेपालको राष्ट्र गान बन्यो ।

आज दिनमा जतिपटक यो राष्ट्रगान बज्छ, उति पटक नेपालीको मन मस्तिष्कमा अम्बर गुरुङ तरङ्गित हुन्छ । सङ्गीतले नै आफूलाई यति अमर बनाएर जाने काम सायदै विरलैले गरेका छन् । भूगोलको एक कुनामा कुनै दिन प्रतिबन्धितसम्म बन्नु परेको व्यक्ति सङ्गीतकै तपस्याले भूगोलको अर्को कुनामा राष्ट्रगानको सर्जक बन्ने अवसर पाउनु र त्यही धून र सङ्गीतमा बजिरहनु पाउनु, यो भन्दा ठूलो अजम्मरी जीवन कुन हुन सक्छ र ।