नेपाली साहित्यमा पहिलो गद्यकवि गोपाल प्रसाद रिमाल हुन् कि गोपाल प्रसाद रिमाल भन्ने विवाद भएता पनि परम्परागत रुपमा लेखिंदै आएको छन्द कविता लेखनको निरन्तरता भइनै रहेको थियो । त्यो छन्द कविता लेखनको मूल धारका एक विशिष्ट प्रतिभा हुन् माधवप्रसाद घिमिरे । उनका फूटकर कविता लेखन र तिनको सङ्ग्रह प्रकाशन भएता पनि विसं २०१५ मा “गौरी” शोक काव्य प्रकाशन भएपछि उनको लेखनको शक्तिले उच्चता प्राप्त गर्यो, शिल्पले शिखरारोहोण गर्यो, मानवीय सम्वेदनाले हरेक पाठकलाई निथ्रुक्क भिजायो र जनजनको मनमनमा अमिट भएर रहन सफल भयो । जनजिब्रोमा “मुनामदन” पछि “गौरी”ले स्थान लियो । आज पर्यन्त पनि “गौरी” शोक काव्य मुना मदनपछि सर्वाधिक बिक्री हुने र मन पराइएको कृतिको रुपमा कीर्तिमान कायम राखिराख्न सफल छ ।

गोविन्द गिरी प्रेरणा
गौरी उनकी प्रथम विवाहिता पत्नी थिइन् । उनको विसं २००४ सालमा दु:खद् देहान्त भएपछिको स्थितिमा पति हृदयको त्यो वेदना थियो “गौरी” शोक काव्य, उच्छवास थियो, पीडाको प्रकटीकरण थियो जसले हरेकको मन छुन सफल भयो । त्यो अभिव्यक्तिले सामूहिकताको प्रतिनिधित्व गर्न सक्यो । त्यति मात्र नभएर तिनका शब्द चयन, शैलीको निखार र त्यसले वेदनाको जुन गहिराई छोयो त्यो साँच्चै अदभूत थियो, छ र रहिरहेको छ । गौरीको प्रकाशनपछि उनको परिचय नै माधव घिमिरे भन्दा “गौरी” का श्रष्टाको रुपमा भयो । गौरीलाई कण्ठस्थ सुनाउन सक्ने व्यक्तिहरु उल्लेख्य सङ्ख्यामा आज पनि नेपालका कुना काप्चा र नेपाली समुदाय भएका नेपालबाहिर पनि प्रशस्त पाइन्छन् ।
“गौरी” को प्रकाशनपूर्व उनका मौलिक दुई कृति “नव मञ्जरी” कविता सङ्ग्रह (विसं १९९४) तथा “नयाँ नेपाल ” काव्य (विसं २०१३) र एक अनुवाद नाटक ” नागानन्द” (विसं २००२) प्रकाशित भएका थिए ।
“गौरी” पछि उनले अरु पनि कीर्तिमानी काव्यहरुको रचना गरे । ती थिए: राजेश्वरी (विसं २०१७ ), राजेश्वरी र पापिनी आमा (विसं २०२७), राष्ट्र निर्माता (विसं २०३० ) विषकन्या (विसं २०५०) तथा ईन्द्रकुमारी(विसं २०५७) । पछि उनको सिध्दहस्त कलम काव्यवाट गीति नाटकतर्फ आकर्षित भयो र त्यसले अर्को कीर्तिमानी शिखरमा पुर्यायो । त्यसरी उनलाई अर्को शिखरमा पुर्याउने कृति थियो -गीति नाटक “मालती मङ्गले” (विसं २०४२) । यो गीतिनाटक नेपालमा सर्वाधिक प्रदर्शन र मञ्चन भएको गीति नाटकको कीर्तिमान राख्न सफल भयो र देशका विभिन्न स्थानमा मात्र नभई विदेशमा अमेरिकासम्म पुग्यो । उनलाई यो कृतिले मान सम्मान, आर्थिक उपार्जन, ख्याति, लोकप्रियता लगायत सबैसबैले परिपूर्ण पारिदिन सक्षम भयो । २०४५ सालमा राजा वीरेन्द्रको क्षेत्रीय भ्रमणको सिलसिलामा हेटौंडा मुकाममा पनि “मालती मङ्गले” प्रदर्शन गरिएको थियो र राजाको सवारी शिविरमा हुने कवि गोष्ठीका लागि माधव घिमिरे पनि त्यहाँ पुगेका थिए । सो अवसरमा उनको गीति नाटकले हेटौंडाका साराको मन जितेको थियो र उनी बसेको सीमा लजमा बेयराले ढोका ढक्ढकाउँदा “ढोका खोल मालती ढोका खोल…” भन्दा उनको आँखामा उदाएको चरम सन्तुष्टिको साक्षी म आफैं हुन पाएको दुर्लभ क्षण पनि मेरो मानसपटलमा ताजै छ ।
उनको गीति नाटक लेखनको आरम्भ विसं २०३७ सालमा भएको थियो “शकुन्तला” बाट । यो नाटक त्यसै साल प्रदर्शन भएको थियो र त्यसै साल प्रकाशनमा आएको थियो । तर यो नाटक अपेक्षाकृत मञ्चनमा सफल हुन सकेन । यो नाटकको लगानीमा जति खर्च भएको थियो सो पनि नउठेको भनेर महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजू समेत उठेको थियो । तर “मालती मङ्गले”ले सबैथोकको क्षतिपूर्ती गरिदिएको थियो २०४२ सालमा । त्यसपछि पनि उनले अश्वत्थामा ( विसं २०५३), हिमालवारि-हिमालपारि(विसं २०५४) लगायतका गीति नाटकहरुको रचना गरे ।
माधव घिमिरे महाकवि देवकोटाले स्थापना गरेको काव्य प्रतिष्ठानको सदस्यको रुपमा रहेका थिए भने अफ्रो एशियाली लेखक सम्मेलन ताशकन्दमा महाकविकै साथ भाग लिन पुगेका थिए । त्यस्तै कैयन् एशियाली साहित्य सम्मेलनहरुमा उनले नेपालको तर्फबाट भाग लिएका थिए ।
उनले प्रज्ञा प्रतिष्ठानमा रहँदा प्रकाशन विभाग सम्हाल्दा तथा कविता पत्रिका सम्पादन गर्दा लेखेका कविताका विषयका सम्पादकीय टिप्पणीहरु तथा प्रकाशकीयहरुलाई पनि पुस्तकको रुपमा प्रकाशित गरेका थिए । उनको “आफ्नो वाँसुरी:आफ्नै गीत” तथा “चारु चर्चा” यस्तै कृतिहरु हुन् । विसं २०५८ सालमा प्रकाशित चारु चर्चाले त्यसै सालको साझा पुरस्कार समेत प्राप्त गरेको थियो । त्यसो त विसं २०५४ सालमा उनले “हिमालवारि हिमालपारि” कृतिका लागि पनि उनले साझा पुरस्कार प्राप्त गरेका थिए । उनी दुईपल्ट साझा पुरस्कार प्राप्त गर्ने थोरै साहित्यकारमध्ये एक थिए ।
विश्वमा नोबेल पुरस्कार सदाबहार आकर्षण हो एकाध अपवादका घटनाबाहेक । यसका लागि नोबेल पुरस्कार कमिटीले नियमितजसो विश्वभरिका विभिन्न एकेडेमी, संघसंस्थाहरु वा व्यक्तिबाट सम्भावित साहित्यकारहरुको नामावली संकलन पनि गर्ने गर्छ । नेपालमा पनि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा नाम सिफारिसका लागि पत्र आएपछि माधव घिमिरेको नाम पठाइएको थियो । अनि नोबेल पुरस्कार कमिटीका मानिसहरुले कस्ता कवि हुन् थाहा पाउन अङ्ग्रेजीमा रचना चाहिन्छ भनेर सो सिफारिसका साथमा पठाउन उनको गीति नाटक “अश्वत्थामा” को अङ्ग्रेजी अनुवादसहित सो सिफारिस पठाइएको थियो ।
उनको एक मात्र गीतको पुस्तक “किन्नर किन्नरी” हो । यसमा उनका प्राय: सबैजसो गीति रचनाहरु सङ्कलित छन् ।
माधव घिमिरेको कलममा यस्तो जादू थियो, उनी शब्दलाई हिरा बनाइदिन सक्थे, त्यसमा प्राण भरिदिन सक्थे, सुवास मगमगाउने बनाइदिन सक्थे । उनका केही कालजयी गीति रचना त्यस्कै दृष्टान्त हुन् । उनले नेपाली चलचित्र “मनको बाँध” का लागि लेखेको तथा तारादेवीको स्वर तथा नातीकाजी शिवशंकरको संयुक्त संगीतमा सजिएको गीत “फूलको थुङ्गा बहेर गयो गङ्गाको पानीमा, कहिले भेट होला है राजै यो जिन्दगानीमा ” कालजयी रचना हुन पुग्यो । त्यस गीतको धून स्वदेशी तथा विदेशी वाद्यवादकहरुले विश्वव्यापि बनाएका छन् । तीमध्ये जर्मन वाछसुरी वादक स्टेफेनी वोस्चले बजाएको बाँसुरीको धून ६ लाखभन्दा बढीले विश्वब्यापि रुपमा श्रवण गरिसकेका छन् । त्यस्तै उनको “गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली”, ” आज र राती के देखें सपना मै मरी गएको….”,”लाग्दछ मलाई रमाईलो मेरै पाखा पखेरो…”, “नेपाली हामी रहऔंला कहाँ नेपालै नरहे…” यस्ता तीतहरु हुन् जसले कैयन् युगहरु मजाले छिचोल्छन् भन्ने मलाई लाग्छ ।
सम्भवतः आफ्नो जीवन कालमा नेपाल र नेपाली जगतमा सर्वाधिक मान सम्मान पाउने उनी कीर्तिमानी कवि थिए । उनले पाएको सम्मान पदकहरु सम्हाल्न हम्मे हम्मे परेको र कोठामा सजाउन पनि मुस्किल परेका समाचारहरु बारबार प्रकाशित भइरहन्थे । उनले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका पुरस्कारकारहरुका अतिरिक्त सीताराम साहित्य पुरस्कार, भूपालमानसिं कार्की प्रज्ञा पुरस्कार, वसुन्धराश्री पुरस्कार, २ पटक साझा पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, खेमलाल हरिकला साहित्य सम्मान लगायतका पुरस्कार र सम्मानहरु प्राप्त गरेका थिए ।
उनलाई नेपाल सरकारको निर्णयमा “राष्ट्रकवि” को उपाधि प्रदान गरिएको थियो भने त्यसको लागि प्रस्ताव गरेर निर्णयसम्म गराउन पहल गर्ने साहित्यकार नरेन्द्रराज प्रसाईं थिए । त्यस्तै नेपाली सेनाले पनि उनलाई मानार्थ उपरथीको पदविबाट विभूषित गरेको थियो ।
उनी विभिन्न साहित्यिक समारोहहरुमा सहर्ष भाग लिन रुचाउँथे । मैले २०३८ सालमा शनिबार साहित्य समूह विराटनगरले आयोजना गरेको “विराट साहित्य सम्मेलन”, पोखरामा पोखररेली पुवा सांस्कृतिक परिवारले आयोजना गरेको साहित्यिक गोष्ठीमा साथै भाग लिने अवसर पाएको थिएँ । त्यसैगरी म चालिसको दशकमा नेपाल राष्ट्र बैङ्कको प्रकाशन मिर्मिरेको सम्पादकमा श्रीमती चन्द्रा ठकुरी रहेको बेला मेरो सो पत्रिकासँग निकटता थियो र मेरै सुझावमा मि्र्मिरेको तर्फबाट यौटा भव्य कवि गोष्ठी आयोजना गरिएको थियो र सो गोष्ठीमा उनले सहभागिता जनाएका थिए । त्यस्तै जापानको बौध्द संस्था सोका गाक्काई इन्टरनेसनलको नेपाली शाखा सोका गाक्काई नेपालको तर्फबाट गरिएको विशेष कवि गोष्ठीमा उनलाई प्रमुख अतिथि बनाइएको थियो र उनलाई घरसम्म गएर लिएर आउने जिम्मा मैले पाएको थिएँ । सो अवसरमा उनलाई उनको निवासदेखि कलङ्कीसम्म लिएर आउने क्रममा गाडीमै मैले यौटा छोटो टेप अन्तरवार्ता लिएको थिएँ, जुन विविध कारणवश अझै अप्रकाशित नै छ, त्यो पनि मेरा मानसपटलमा सल्बलाइरहेका छन् ।
माधव घिमिरेको विसं २०६० सालमा राष्ट्रव्यापि अभिनन्दन भएको थियो । सो अभिनन्दनका लागि ७८७ सदस्यीय मूल समारोह समिति बनेको थियो जसका अध्यक्ष तत्कालीन व्यवस्था अनुसार पदेन कुलपति प्रधानमन्त्री सूर्यबहादुर थापा थिए, ३८ सदस्यीय सल्लाहकार सभा वनेको थियो भने १९ सदस्यीय कार्य समिति बनेको थियो । मूल समारोह समितिका सदस्य सचिव वरिष्ठ सहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा थिए । सो अभिनन्दन समारोहमा करिव ८०० पृष्ठको अभिनन्दन ग्रन्थ समेत प्रकाशित भएको थियो १०५ जना श्रष्टाले उनका बारेमा विविध लेख रचनाहरु सो ग्रन्थमा लेखेका थिए ।
माधव घिमिरेले आफ्ना जीवनका धेरै सुन्दर वर्षहरु एकेडेमीमा बिताए । सदस्यदेखि उपकुलपति र कुलपतिसम्म उनी एकेडेमीको उच्चासनमा उकालो लागिरहे । तर कुलपतिको पदमा आसिन भएको छोटो अवधिमै २०४६ सालको जनआन्दोलनले पञ्चायति व्यवस्था फ्याँकिदियो र राजा संवैधानिक भए । यो राजनैतिक परिवर्तनपछि बौध्दिक दबाबले एकेडेमीका प्राज्ञ परिषदमा सबै पदाधिकारीहरुले राजिनामा गरे, नयराज पन्तले बाहेक । त्यसपछि उनी पदविहीन भए । कतिले त्यसपछि उनलाई राजावादी, पञ्चायतवादीको बिल्ला लगाएर लामै समय निषेध गर्न पनि खोजे । झन् माओवादी आन्दोलनताका त उनी तारो नै बनेका थिए । तर यौटा सर्जक र श्रष्टा परिवर्तनले परिवर्तन भैहाल्दैन, आफ्नो निष्ठामा रहिरहन्छ । उनको सिर्जनाको निष्ठा निरन्तर थियो । उनको काव्यकलाको उचाई यथावत् थियो । जब नेपालको जनसंविधान घोषणा भयो, त्यो घोषणा सभामा माओवादीका कमाण्डर प्रचण्डले आफ्नो भाषणको शुरुवात माधव घिमिरेको गीति रचनाको हरफ “नेपाली हामी रहौंला कहाँ नेपालै नरहे…” बाट शुरु गरेका थिए । यसले उनलाई आलोचना र गाली र निषेधको बाटो रोज्ने सबैलाई जवाफ दिएको थियो र उनको कविताको, कविता कर्मको र काव्यकलाको जित भएको थियो । सच्चा कवि र कविताले संसारमा यसरी नै विजय प्राप्त गरिरहन्छ ।
यौटा मनुष्यको लामो आयु भनेको १०० वर्ष हो, जुन सबैलाई प्राप्त हुँदैन । त्यसैले हाम्रो समाजमा बूढापाकाहरुले १०० वर्ष बाँचेस् भनेर आशीर्वाद दिने चलन छ । संस्कृतमा “जिवेम् शरद शतक:” भन्ने पनि छ । माधव घिमिरेले निकै राम्रोसँग सय वर्षको उमेर बाँचे । उमेरगत सानातिना कुरा बाहेक र दुइ वर्षजति अघि जटिल स्वास्थ्य समस्याबाहेक उनी स्वस्थ र तन्दुरुस्त देखिन्थे । विगत ५ महिना देखि कोरोना महामारीले विश्वआकरान्त बनेको बेलामा नेपाल पनि अछूतो रहेन । उनी केही महिनादेखि अक्सिजनमा रहेका थिए र भाद्र २ गते उनले नश्वर शरीर त्यागे । उनले उनको जीवनको महत्वपूर्ण अन्तिम काव्य रचना “ऋतुम्भरा” महाकाव्य पूरा भएको खवर प्राप्त भए पनि उनी त्यसलाई निरन्तर जलप लगाउँदै छन् भन्ने खवर आए पनि उनको जीवन कालमा त्यो प्रकाशित भएन, यो उनकै इच्छा थियो कि संयोग यो प्रशन रहेको छ ।
उनको देहान्तपश्चात मात्र बजाईयोस् भनेर उनैले ईच्छा गरेको बिसं २०१६ मा रचित तथा किन्नर किन्नरीमा संकलित गीत कर्णदासको स्वरमा सार्वजनिक गरिएको थियो ।
जीवनभर जनजनबाट तथा सरकारबाट मान सम्मान पाएका माधव घिमिरेलाई कोरोनाका कारणले जनजनले उनको अन्त्येष्टिमा भाग लिन पाएनन्, तर सरकारको तर्फबाट उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउनुकासाथै नेपाली सेना र शसस्त्र प्रहरीको टुकडीले सम्मान सलामी दिएको थियो । यसअघि उनको अन्तिम यात्रामा सेनाले शोकधून बजाउँदै आर्यघाट पुरयाएको थियो ।
उनी नेपाली छन्द कवितामा अन्तिम शिखरपुरुष थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

माधव घिमिरे समग्र वाङ्मयिक चेतनाका राष्ट्रसेवक हुनुहुन्थ्यो : रमेश शुभेच्छु
