“नेपालमा कोसँग भेट्ने मन छ, भन है ? समय मिलेसम्म हामी भेटाउँछौँ,” ज्ञान सरले सबैसँग प्रश्न गर्नुभयाे ।

हामी चढेको गाडी स्वयम्भूनाथको यात्रामा थियाे । ज्ञान सरकाे प्रश्नले हामी सबै खुसी नहुने कुरा थिएन । मन त हामीलाई सिङ्गो नेपाल नियाल्न थियो । हिमाल , पहाड, तराई, गाउँ, सहर, नदी खोला सबका प्यासी थियौँ । राजधानीदेखि पर, जङ्गलको कुनाकाप्चामा रहनुभएका सबैलाई आफू पनि नेपाली भएको सगौरव बताउन चाहन्थ्यौँ । हामी नेपालको र नेपालीसँग हाम्रो पुर्ख्यौली सम्बन्ध रहेको चिनाउन चाहन्थ्यौँ ।

तर हामीसँग समय कहाँ ? समय भए पनि सम्भावना ज्यादै न्यून थियो । लगभग असम्भवभन्दा पनि हुन्छ । मन न हो, तर पनि कहाँ मान्छ र ?

नेपालका वरिष्ठ साहित्यहस्तीहरूसँग भेट्न र प्रसिद्ध केही ठाउँहरू हेर्न चाहिँ पाउँछौँ, जुन कुरा म्यान्मा हुँदै भनिसक्नुभएको थियो सरले । हुन पनि नेपाल पसेको डेढ दिनमै झन्डै काठमाडौँका सबैजसो प्रसिद्ध ठाउँको दर्शन गराइसक्नुभएको थियो सरले। यस कारणले पनि हामी उत्साहित थियौँ ।

ज्ञान सरले हामी सबैलाई एक एक गरी सोध्नु भयो, आ-आफ्ना अभिलाषाहरू।

“अच्यूत घिमिरेसँग भेट्ने मन छ,” हौसिदै भनेँ मैले । याे नाम भनिरहँदा मेराे कानमा उपन्यासवाचन गर्ने एउटा स्वर गुन्जिरहेकाे थियाे ।

मैले जसरी नै सरगम, मधूदीलगायत सबैले आआफ्नो इच्छा बताउनु भयो । चाहना सबैको फरक भए पनि फाइदा हामी सातै जनालाई हुने थियो । एकले चाहेको कुरा हामी सबैलाई प्राप्त हुने थियो । सबैले अनुभव सँगाल्न पाउने थियौँ ।

“रीता, किन त अच्यूत घिमिरेसँग नै भेट्ने ?”, यादवजीले फूर्तीका साथ राखेको मेरा इच्छामा कारण पत्ता लाउनु आफ्नो पनि खुल्दुली मेटेको हुनुपर्छ । मित्रहरू झैँ साहित्यकार अथवा अभिनेता/अभिनेत्रीसँग नभई रेडियोकर्मीसँग भेट्न उत्सुक हुनुमा वहाँ अचम्मित हुनुहुन्थ्यो, सायद ।

“वहाँलाई भेटेर सर्वप्रथम त धन्यवाद भन्नु छ,” मैले घिमिरेजीसँग भेट्न मन हुनुको मुख्य कारण पस्केँ, “ज्ञान सर, हजुरलाई थाहै छ ! हामीकहाँ पुस्तकको कतिका धेरै अभाव छ । मैले उपन्यास, कथाका कति धेरै पुस्तकहरू वहाँकै आवाजमा सुनेकी छु । यदि वहाँको आवाज नभइदिएको भए म र मजस्ता धेरै नेपाली साहित्यका पुस्तकहरूबाट टाढा रहनु पर्ने थियो ।”

“वहाँ त साँच्चै नै स्वरको बादशाह नै हुनुहुन्छ नि,” ज्ञान सरले प्रशंसा थप्नु भयो ।

यादवजी मोटर हाँक्दै हाम्रो गफ खुब चाख मानी मानी सुन्दै हुनुहुन्थ्यो । म पुन: आफ्नो मनसाय बताउँदै गएँ, “गजल र कविता मलाई बढी मन पर्ने साहित्यका विधा हुन् । म्यान्मामा गजल र कविता सङ्ग्रह पाउन सबैभन्दा कठिन पर्छ। त्यसैले एकल कविता वाचन र बुलबुल मैले सुन्नलाई सितिमिति छुटाउँदिनँ । मन परेका खण्डहरू डाउन्लोड गरेर राख्छु । पछि काम गर्दै दोकानमा सुन्ने गर्छु ।”

स्वयम्भूनाथको दर्शन गरेर फर्केपछि यादवजीले सीधै अनामनगरतिर मोड्नु भयो गाडी । मेरो कुराले ज्ञान सर र गौतमजीलाई बढी नै छोएछ क्यार ! वहाँहरूले भेट्न समय पनि मिलाइसक्नु भइसकेको थियो ।

“रीता, कस्तो लागिरा’छ ? तिम्रो इच्छा चाँडै पूरा हुँदै छ,” प्रश्न सरगमको थियो । मेरो उत्साहपूर्ण अनुहार पढे पनि मेरो वचन नै सुन्न चाहन्थिन् उनी, सायद ।

“भगवानले तँ चिता म पूरा गर्छु भन्नु हुन्थ्यो रे, त्यै पारा भैगो नि !” म अचम्मित र खुसी एकैपटक भएँ ।

“कति हत्तै गरेर सुन्नु भाको हो दिदीले ?”, रातमा सधैँ जसो र दिनमा फुर्सद हुनासाथ अडियोमा लीन भएको देखेर बहिनी जहिले भन्ने गर्छे ।

“कुनैबेला म नेपाल गएछु भने अच्यूत घिमिरेसँग अवश्य भेटेर आउँछु ।”

“तपाईँ चिन्ता नलिनू, म पहिला नेपाल गएछु भने तपाईँको लागि भए नि भेटेर आउँछु,” बहिनीसँग गरेका यी कुरा मलाई झलझली याद आइरह्यो ।

बैनीलाई भर्खरै फोन गरेर आफू बुलबुल पब्लिकेशन जाँदै गरेको भन्न मन जागेर आयो, तर गरिनँ । सोचेँ, बहिनी यतिबेला दोकानमा व्यस्त होली ।

बेलुकी चार बजेको समय भए पनि बादल गजधुम्म लागेर साँझ पर्न लागेजस्तो देखिन्थ्यो, हामी अच्यूतजीको अफिस पुग्दा । सामान्य परिचयसँगै सुरू भएको हाम्रो यति छोटो भेटघाटले मनलाई कति धेरै आनन्द दियो ।

उहाँकाे स्वरजस्तै व्यवहार मायालु थियाे । उहाँले आफ्नाे स्वर कसरी सुन्याैँ भन्ने कुरा जानकारी लिने प्रयास गर्नुभयाे ।

युट्युबभरि उहाँका स्वरका अडियाेहरू छन् । चर्चित उपन्यासका साथै केही सामान्य उपन्यासहरूका पनि तर सामान्य उपन्यासहरू पनि उहाँका श्वरले राम्राे हाे कि भन्ने पर्ने । केही समयअघि उहाँकाे श्वर भएकाे एप नै बजारमा आएकाे रहेछ ।

त्याे नेपाली अडियाे बुककाे एप कसरी पाएँ ? त्यो त मलाई सम्झनामा छैन । तर त्याे एप भएपछि मैले अन्य ठाउँमा उहाँलाई खाेजिरहनु परेन । त्यहीँबाट पढ्न हाेइन, सुनेर पनि साहित्यकाे स्वाद लिन सकिँदाेरहेछ भन्ने महसुस गरेँ । त्यहीँदेखि नेपाल गएपछि उहाँलाइ सुन्छु भन्ने महसुस गरेँ । हामीजस्ता नेपालबाट टाढा रहेका र नेपाली पुस्तक प्राप्त गर्न नसक्नेलाई उहाँले ठूलाे गुण लगाइदिनु भएकाे छ । म मात्रै हैन, मेरा मित्रहरू र अन्य म्यान्मा हुने जो बुलबुल सुन्नु हुन्छ, वहाँहरूलाई पनि यस्तै लाग्छ । वहाँ पनि उति नै खुसी भएको पाएँ मैले ।

थोरै थोरै गरेर अङ्कुराएको मेरो पुरानो इच्छा अकल्पनीयरूपमा पूरा भएकोमा बढी नै प्रफुल्ल थिएँ म । फाेटाेहरू खिच्याैँ । सबैले पालैपालाे गरी भेटघाट कुराकानी गर्याैँ । हामीले आ-आफ्ना लेख वाचनको छोटो कार्यक्रम पनि गर्यौँ । ममात्र हाेइन, धेरै साथीहरू उहाँबाट छुट्टिन चाहनुहुन्न थियाे । तर बाध्यताले यस्ताे परिदियाे । हामीले चाँडै उहाँबाट छुट्टिनु पर्याे ।

पूर्वबाट उत्तर-दक्षिण हुँदै, घरि पहाड घरि उपत्यकाभित्रका चोक गर्दै हामीले विश्वप्रसिद्ध मन्दिर र गुम्बामात्र नभई पूरा काठमाडौँलाई पनि आँखाभरि हेरेको थियौँ । पानी पर्ला पर्ला जस्तो भाको थियो आकाश, हामी शङ्कर घिमिरेजीको घर पुग्दा । वहाँ नेपाल म्यान्मा फ्रेन्डसीप काउन्सलका अध्यक्ष हुनुहुन्छ भनी ज्ञान सर र यादवजीले पूर्वजानकारी गराइसक्नुभएको थियो । त्यहाँ हामीले तुलसी ज्ञावालीजी,राजनजी र सुशीलजीहरूलाई पनि भेट्यौँ । म्यान्माली साहित्यिक टोलीलाई नेपालमा स्वागत गर्न पाउँदा आफू औधी प्रसन्न भएको शङ्करजी बताउनु भयो । हामी त साहित्यिक टोली पो भएछौँ, सुन्दै आनन्द आयो । हामीले फाट्टफुट्ट लेख रचनाहरूको वाचन साटासाटसमेत गर्यौँ ।

नेपालका लागि नास्तामा लोकप्रिय रहेछ म:म । हामीले नि खायौँ, शङ्करजी कहाँ । साँझ झमक्कै भइसकेको थियो, र पानी पनि भक्कानिएर पर्ने सुरमा रहेको हुनाले त्यहाँबाट बिदा लिएर ललितपुरतिर लाग्यौँ ।

नेपालमा म:म: झैँ म्यान्माको लोकप्रिय खान्की हो लफेतौ । म्यान्मा हुँदै ज्ञान सरले हामीलाई लफे र पेच ल्याउन नबिर्सन भन्नुभएको थियो । बाटामा बस र रेलको हत्तुहैरानले न हामीलाई साथ छोड्यो न हामीले सरले पाठशालाको निम्ति मगाएका कोसेली । त्यसलाई सबैको कर्त्तव्य झैँ गरेर पालैपालो सम्झी सम्झी ल्याएका थियौँ।

“आज लफेतौ खुवाउनु पर्छ पाठशालामा, तिमेरू चार जनाले मीठो गरी बनाउनु है !” ज्ञानसरले पाठशाला फर्कंदा बाटामा भनेपछि हामीले यादवजीलाई सब्जी बजार लाग्ने कुनै ठाउँमा रोक्न भन्यौँ । म र सीमा झट्ट गएर एउटा बन्दा, बीस रूपियाँको खुर्सानी, तीनवटा कागती र एक किलो काँचो काँचो देखिने गोलभेडा किन्यौँ ।

“कस्तो रह्यो अनुभव ?” ज्ञान सरले सोधेपछि बारीमा थरिथरिका तरकारी भाजी रोप्ने र यसको मोलभाउ राम्ररी जानेकी सीमाले भन्नु भयो, “बन्दा र खुर्सानी चाहिँ दामी रहेछ ।”

“हामीले त उनीहरूले तोकेको मोललाई बर्माबाट हिसाब गर्दै किनेका, निकै रमाइलो भयो,” मैले थपेँ ।

“मोल घटाउन भनी बर्मेली भाषामै त भनेनौ होला नि है !” हाम्रो बोलीव्यवहारसँग परिचित ज्ञानसरले व्यंग्य गर्दै सोध्नु भयो ।

सबै मजाले हाँस्यौँ । सीमाले हाँसो रोकिनसक्दै भन्नुभयो, “खै सर ! भन्न त भन्यौँ । उनीहरूको छिटो बोली र हाम्रो बर्मेली नेपाली बोली, दुवैलाई बुझ्न गाह्रो । जेहोस्, रमाइलो भयो । मीठो अनुभव !”

खाना खान अलि ढिला भए पनि हामीहरू मीठो लफेतौ बनाएर पाठशालाका सर, मिस र विद्यार्थीलाई ख्वायौँ । नेपालमा बर्मेली खान्की बनेकोमा सर र मिसहरू खुसी देखिनुहुन्थ्यो । साथमा स-साना विद्यार्थीहरू नयाँ खान्की देखेर अचम्मित थिए ।

“मिस यसलाई के भन्छ ? यो कसरी बन्छ ?” जस्ता भाइबहिनीहरूका लफेतौप्रतिको उत्साहित प्रश्नलाई हामीले पालैसँग उत्तर दिँदै र थपीथपी खुवाउँदै पनि गयौँ।

“लफे भनेको काँचो चिया पत्ता हो । चिया पत्ताको अचारलाई यो पेच भन्ने भुटेका किसिम किसिमका दालसँग फेरि गोलबेडा, बन्दा , खुर्सानी मिसाई कागती निचोरेपछि बन्ने बर्माको लोकप्रिय अचार हो,” मधूदीले यसरी बुझाउने प्रयास गर्नु भयो ।

हामी अति नै मीठो मान्छौँ लफेतौलाई बर्मामा । पाठशालामा पनि सबैलाई मन परेको थियो । सबैले खुब खुसीसाथ खानु भयो।

“लौ त रीता नानू, सरगम नानू, मधू नानू र सीमा नानूलाई धेरै धन्यवाद ! हामीलाई यति मीठो बनाएर खुवाउनु भयो,” विष्णु सरबाट प्रशंसा पाएपछि त हामी पनि त्यसै फुरूङ्ग ।

“भोलि चाहिँ धनगढीतिर ?” विष्णु सरको यो प्रश्नको उत्तर खासमा हामीसँग थिएन ।

“हैन, भोलि पनि प्लेनको टिकट मिलेन रे ! त्यसो हुनाले भोलि यिनीहरूलाई भक्तपुर देखाउने योजना बनायौँ हामीले । कि कसो यादव भाइ ?” ज्ञानसरको यस उत्तरमा हामी भक्तपुर जाने खुसी थियौँ । अलिअलि दुःख धनगढी जान नपाएका त छँदै थियो ।