लामो समयदेखि युएईमा  सक्रिय रहँदै आएको साहित्यिक संस्था “सगरमाथा साहित्य प्रतिष्ठान”को पाँचौं महाधिवेशन भर्खरै सम्पन्न भएको छ । गत फागुन ६ गते आइतबार जूममार्फत सम्पन्न अधिवेशनले कवि समर चेम्जोङ आभासलाई प्रतिष्ठानको अध्यक्षमा चयन गरेको छ । यसअघि उहाँ लामो समयदेखि प्रतिष्ठानको संरक्षकको भूमिकामा हुनुहुन्थ्यो । प्रतिष्ठान स्थापना कालदेखि नै उहाँ विभिन्न पदमा रहेर संस्थाको हितमा लागिरहनु भएको छ । महाधिवेशनले निवर्तमान अध्यक्ष अजित क्षेत्री उत्सवलाई प्रतिष्ठानको संरक्षकमा चयन गरेको छ ।

समर चेम्जोङ आभास

समर चेम्जोङ आभास

मोरङको लेटाङ नगरपालिका स्थायी घर भई रोजगारीको सिलसिलामा पछिल्लो १७ वर्षदेखि अध्यक्ष चेम्जोङ युएईमा हुनुहुन्छ । सन् २००७ मा युएई आएदेखि नै उहाँ यहाँको नेपाली साहित्यमा सक्रिय हुनुहुन्छ । सन् २०१३ मा सगरमाथा साहित्य प्रतिष्ठानको जन्म भएपछि उहाँ प्रतिष्ठानको सह-कोषाध्यक्ष बन्नुभएको थियो ।

पहिले प्रतिष्ठानलाई “सगरमाथा साहित्य मञ्च, युएई” का नामले स्थापना गरिएको थियो ।  प्रतिष्ठानको दोस्रो कार्यकालमा उहाँ वरिष्ठ उपाध्यक्ष बन्नुभयो । तेस्रो र चौथो कार्यकालमा संरक्षकको भूमिकामा रहनुभएका कवि आभासलाई प्रतिष्ठानले पाँचौं कार्यकाल (सन् २०२४- २०२६) सम्मका लागि अध्यक्षमा चयन गरेको हो । प्रतिष्ठानमा यसअघि क्रमशः कवि विवेक दुलाल क्षेत्री (संस्थापक), कवि किरण मेयोङ्बा याक्थुङ्बा, कवि कृष्ण विश्वकर्मा र कवि/चित्रकार जीवित खड्का मगर अध्यक्ष बनिसक्नु भएको छ ।

अध्यक्ष चेम्जोङ प्रतिष्ठानका अलवा साहित्य संगम नुवाकोटको आजीवन सदस्य र सिर्जना वाचन डबली युएईको सदस्य हुनुहुन्छ । २०७८ सालमा उहाँको पहिलो एकल कविता सङ्ग्रह “नीलो परदेश”  प्रकाशित छ । त्यसअघि गजल र कविताका केही संयुक्त कृति प्रकाशित भइसकेका छन् । कवितासँगै गीत लेखनमा पनि सक्रिय कवि चेम्जोङका दुई ओटा गीत रेकर्ड समेत भएका छन् । त्यसै गरी एउटा उपन्यासको पाण्डुलिपि तयारी अवस्थामा रहेको र कुनै दिन त्यसलाई पनि प्रकाशनमा ल्याउने योजना रहेको उहाँ बताउनु हुन्छ । उहाँ प्रतिष्ठानको अध्यक्ष बने लगत्तै मैले उहाँलाई भेटेर साहित्यपोस्टका लागि केही कुराकानी गरेको थिएँ ।

अब प्रस्तुत छ कवि गीतकार तथा सगरमाथा साहित्य प्रतिष्ठानका नवनियुक्त अध्यक्ष समर चेम्जोङ आभाससँग गरिएको कुराकानीको सम्पादित अंश…

 

सगरमाथा साहित्य प्रतिष्ठानको अध्यक्ष हुनु भएको छ । कत्तिको भारी महसुस भइरहेको छ ? अथवा कस्तो महसुस गरिरहनु भएको छ ?

– भारी भन्दा पनि संस्थागत कामलाई कसरी व्यवस्थित गर्ने आदि खुल्दुली बढेको छ । मैले भारी मानेको छैन । किनभने अहिलेसम्म प्रतिष्ठानमा रहेर काम गर्दा जहिले पनि “म आफै सदस्य हुँ, अध्यक्ष पनि हुँ” भन्ने सोचेर काम गरेँ । त्यसो भएकोले यो भारीलाई बोक्न सकिन्छ कि सकिँदैन भन्ने चिन्ता रत्तीभर पनि छैन । म अध्यक्ष हुँ, यस हिसाबले जवाफदेहिता पहिले भन्दा अलिक बढी हुनेछ मेरो । यति मात्र हो । काम त हामी सबैले मिलेर गर्ने हो । परिणाम दिने गरेर गर्ने हो ।

कुनै पनि संस्थाको नेतृत्व सम्हाल्नु आफैँमा एउटा चुनौती हो । यो चुनौतीलाई अवसरमा कसरी बदल्ने योजना बनाउनु भएको छ ?

– चुनौती छ । तर चुनौती संस्थाको जिम्मेवारी सम्हाल्दा मात्र हुने होइन । मान्छेको हरेक कदममा चुनौती हुन्छन् । चुनौतीलाई अवसरमा बदल्न पहल लिन सक्नुपर्छ । पक्कै पनि योजना छ नै । तर ती योजना साथीहरूसँग आवश्यक छलफलपछि मात्र सार्वजनिक गर्नुपरे गरिनेछ ।

लामो समयदेखि तपाईं प्रतिष्ठानको संरक्षक भएर बस्नु भएको थियो । कवि अजित उत्सवले प्रतिष्ठानको अध्यक्ष पदबाट राजीनामा दिँदै गर्दा उहाँपछि संस्थाको नेतृत्व सम्हाल्न सक्ने अर्को व्यक्ति तयार गर्न किन सकिएन ? संरक्षकलाई नै अगाडि ल्याउनु पर्ने अवस्था किन आयो सगरमाथामा ?

– पहिलो कुरा, पूर्व अध्यक्ष अजित क्षेत्री उत्सवज्यूले राजीनामा दिनुभएको होइन । यहाँ प्रस्ट पार्न चाहन्छु। संस्थामा उहाँको नियमित कार्यअवधी सकिँदै गर्दा उहाँले अधिवेशन डाकेर सौहार्दपूर्ण वातावरणमा नेतृत्व हस्तान्तरण गर्नुभएको हो । यस्तो नगण्य मात्र हुने गर्छ प्रायः। त्यो पदको लागि हानथाप, अथवा कार्यसमितिको अध्यक्षमा आफैँले पुनः दाबेदारी पेस गर्नु एक खालको प्रचलन छ हामीकहाँ । त्यो खराब प्रचलन हामीले सुरुदेखि नै तोड्दै आएका छौंं । जस्तो कि अहिलेसम्म प्रतिष्ठानका अध्यक्षहरूले पुनः अध्यक्षको दाबी गर्नुको सट्टा अर्को व्यक्तिमा नेतृत्व हस्तान्तरण हुँदै आएको छ । यो हाम्रो संस्थाले बसाएको एउटा नयाँ परम्परा हो । जुन सबैले सिक्नुपर्छ भन्ने लाग्छ।

अर्को कुरा, उहाँको कार्यकाल सकिँदै गर्दा म लगायत प्रायः सबै साथीहरूले तपाईँको कार्यअवधी बिचबाट सुरु भयो । त्यसैले एक कार्यकाल तपाईँ नै नेतृत्व गर्नुस् भनेर कवि अजित क्षेत्रीलाई अनुरोध गरेका थियौँ । तर उहाँले मान्नु भएन । संस्थाको नेतृत्वमा नयाँ अनुहार आएको राम्रो हुन्छ भन्नुभयो । उहाँ लगायत प्रायः सबै साथीहरूले मेरो नाम अगाडि सार्नु भयो । र,साथीहरूको भावनाको कदर गर्नकै लागि मैले सहमति जनाएको हुँ ।

अर्को तपाईँको प्रश्नको उत्तर, संरक्षक आफैँमा संस्थाको एक सदस्य हो । त्यसो भएको हुनाले संस्थाको अध्यक्ष हुन पाउने अधिकार संरक्षकको हुन्छ । तपाईँको प्रश्न संरक्षक संस्थाको अध्यक्ष हुन पाउँदैन भन्ने आशयको छ । त्यो गलत हो । संस्थाको सदस्य जो कोही अध्यक्ष बन्न सक्छ । बन्नु पनि पर्छ । कतिपयलाई लागेको हुनसक्छ संस्थामा नेतृत्व गर्न सक्ने सक्षमता भएका मान्छेको खडेरी लागेको छ । त्यसैले राजाले मन्त्रीपरिषद् भङ्ग गरेर सत्ता हात लिएको जस्तो गरेर संरक्षकले नेतृत्व लियो । त्यस्तो रौं भर पनि होइन । बरु सत्य के हो भने हाम्रो संस्थामा एक से एक साथीहरू हुनुहुन्छ ।

जसले संस्थाको जीवन अझ गतिशील बनाएर लैजान सक्नुहुन्छ । उहाँहरूको कार्यक्षमता भोलि यही कार्यकालमा देख्नु नै हुनेछ सगरमाथा साहित्य प्रतिष्ठानको शुभचिन्तक, आलोचक सबैले ।

संस्था स्थापना कालदेखि नै प्रतिष्ठानको विभिन्न पदमा बसेर तपाईंले काम गरिसक्नु भएको छ । संस्थालाई नजिकबाट नियाल्नु भएको छ । प्रतिष्ठानभित्र के कस्ता कमी-कमजोरीहरू रहेका छन् ? तिनलाई कसरी सुधार गरेर लाने योजना बनाउनु भएको छ ?

– कमी-कमजोरी बिनाको कुनै मान्छे वा वस्तु हुँदैन संसारमा, पहिले यो कुरामा हामी प्रस्ट हुन जरुरी छ । त्यसैले संस्थामा कमी-कमजोरी थिएनन् वा छैन भन्नु झुटो कुरा गर्नु हो । काम गर्दा भएका कमी-कमजोरीबाट पाठ सिक्दै र सच्चिँदै, सच्याउँदै संस्थाको हितमा काम गर्दा राम्रो हुन्छ । हामीले अहिलेसम्म गर्दै आएको पनि त्यही नै हो । संस्थामा सौहार्द, मैत्रीपूर्ण र स्वच्छ मनोभावले आलोचना आत्मालोचनाको पद्धति छ । त्यसैमा टेकेर संस्थाको समग्र कामको समीक्षा र आत्मसमीक्षा गर्दै कमी-कमजोरीहरूको पुरताल गर्दै अघि बढ्ने हो । जीवन र जगतलाई गतिशील र विकासशील बनाइराख्ने यो एक तरिका हो ।

हालसम्म युएईमा आधिकारिक नेपाली साहित्यिक संस्था “सगरमाथामा साहित्य प्रतिष्ठान” मात्रै हो । तर पनि युएईको नेपाली साहित्यिक गतिविधिमा प्रतिष्ठानको भौतिक सक्रियता उति साह्रो देख्न पाइँदैन । यसलाई आगामी दिनमा के कसरी सुधार गर्ने योजना बनाउनु भएको छ ?

– यो निकै नै गहन र महत्वको प्रश्न हो भन्ने लाग्छ । म के ठान्छु भने मिडियामा छाइरहँदा मात्र संस्थाले काम गरिरहेको छ भनेर बुझ्नु गलत हुन्छ । हामी सुरुवाती चरणदेखि नै अलिक शान्त गुपचुप काम गर्दै आएका छौं । यही कुरालाई मध्यनजर गर्दै मैले एक समय “सगरमाथा साहित्य प्रतिष्ठान भुसको आगो हो” शीर्षकको छोटो लेख नै लेखेको थिएँ ।

एक कार्यकाल हामीले गजल प्रतियोगिता गर्यौं । विश्वव्यापी कविता प्रतियोगिता गर्यौं । त्यतिबेला पनि हामीले त्यति हल्ला गरेनौँ ।  प्रतियोगितामा उत्कृष्ट ठहरिएका कविता र संस्थाकै साथीहरूको कविता मिसाएर “कविताहरूको सगरमाथा” संयुक्त कविता सङ्ग्रह प्रकाशन गर्यौं । त्यो भन्दा अघिको गजल प्रतियोगिताको पनि हामीले संयुक्त गजल सङ्ग्रह प्रकाशन गर्यौं । यसरी भौतिक उपस्थितिको कार्यक्रम नगरे पनि हामी निरन्तर साहित्य सेवामा लागिरहेका छौं । अजित उत्सवको कार्यकालमा हामीले युवा कवि प्रज्वल अधिकारीलाई नेपालबाट बोलाएर भव्य कविता महोत्सव गर्‍यौँ । यसबाट के प्रस्ट हुन्छ भने, गर्दा गर्न नसकिने होइन । गर्न सकिन्छ । तर हामीले भौतिक कार्यक्रम गर्ने कुरामा त्यति जोड दिएका छैनौं । अब आउने दिनहरूमा भौतिक उपस्थितिसहितको नभए पनि कम से कम भर्चुअल कार्यक्रम गर्ने सोच छ । यसले हाम्रो सिर्जना क्षमातालाई तिखार्ने काम गर्नेछ। सर्जकहरू बीचको सम्बन्ध र आपसी सद्भावलाई अझ बलियो बनाउने काम गर्नेछ । भावनात्मक एकतालाई अझ मजबुत बनाउने काम गर्छ भन्ने लाग्छ ।

प्रतिष्ठानको मुख्य उद्देश्य मध्येको एक, १० लाख रुपैयाँको अक्षयकोष निर्माण गरेर पुरस्कार वितरण गर्ने रहेको छ । जसलाई वि.सं. २०८० सालबाटै लागु गर्ने भनेर  दुई वर्ष पहिल्यै निर्णय भएको थियो । अहिलेसम्म पनि त्यो पूरा हुन सकिरहेको छैन । किन होला ? अब यसलाई कहिलेसम्म लागु गरिसक्ने योजना छ ?

– हो, निर्णय भएको छ । त्यो निर्णय कार्यान्वयन पनि हुने नै छ । मात्र सस्तो चर्चा वा लोकप्रियता बटुल्नको लागि त्यो निर्णय गरिएको थिएन । तर त्यो निर्णय तोकिएकै समयमा कार्यान्वयनमा ल्याउन चाहिँ चुकेका छौं हामी । यो सत्य हो । यसो हुनुको मुख्य कारण हाम्रो अक्षयकोष अभियान चल्दै गर्दा संस्थाका तत्कालीन अध्यक्ष जीवित खड्का मगरले कारणवश पदबाट राजीनामा दिनु भयो । त्यसपछि अजित उत्सव आउनुभयो । उहाँको कार्यकालमा पनि पहल भयो ।

तर हामी सफल हुन सकेनौँ । यसो हुनुको मुख्य कारण उहाँ आफैँ अलिक बढी व्यस्त हुनुभयो भने अरू साथीहरू पनि विविध कारणले सक्रिय हुन सक्नु भएन । तर कामै भएन भन्ने चाहिँ होइन । काम भइरहेको थियो । भइरहेको छ । हामीले अघिल्लो कार्यसमितिको अधुरो कामहरूलाई पूर्णता दिने भनेका छौं । त्यसो भएको हुनाले अक्षयकोषको कामले निरन्तरता पाउनेछ र पूरा हुनेछ भनेर विश्वास दिलाउन चाहन्छु । दोस्रो कुरा, यही बेला म अक्षयकोष दाता संस्थाका साथीहरू र संस्था बाहिरका दाता तपाईँहरूको योगदानको उच्च कदर र सम्मान गर्दै हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु ।

जहाँसम्म २०८० सालबाटै लागु गर्ने भनेर  दुई वर्ष पहिल्यै निर्णय भएको थियो । अहिलेसम्म पनि त्यो पूरा हुन सकिरहेको छैन । किन होला ? भन्ने तपाईँको प्रश्न छ । म तपाईँको प्रश्नसँग सहमत छु । तर म तपाईँलाई स्मरण गराउन चाहन्छु कि नेपालको पहिलो गैरसरकारी साहित्यिक संस्था नेपाल साहित्य परिषद् २००३ तिर गठन भएको केही समयपछि पुरस्कारको घोषणा गरेको थियो । पुरस्कार रकमको जोहो पनि भएको थियो । तर विविध कारणले त्यो पुरस्कार समयमा दिइएन । तर त्यो रकम रहिरह्यो । भन्न खोजेको कुरा के हो भने ढिलो चाँडो हुन सक्छ । तर उद्देश्यबाट विचलित हुनुहुँदैन । हामी हाम्रो संस्थाको योजना र उद्देश्य पूरा गर्ने कुरामा दृढ छौं । अटल छौं । अक्षयकोषको काम पूरा गरिनेछ ।

युएईमा नेपाली साहित्यमा कलम चलाउने थुप्रै सर्जकहरू हुनुहुन्छ, जो प्रतिष्ठानमा आबद्ध हुनुहुन्न । उहाँहरूलाई कसरी सम्बोधन गर्ने योजना बनाउनु भएको छ ?

– युएईमा जति पनि सर्जकहरू हुनुहुन्छ उहाँहरू सबैले आ-आफ्नो ठाउँबाट नेपाली भाषा साहित्यको सेवा गरिरहनु भएको छ । यो आफैँमा उच्च सम्मानको कुरा हो । युएईमा रहेर साहित्यिक क्रियाकलाप गर्दै आउनुभएका सम्पूर्ण सर्जकहरूलाई सगरमाथा साहित्य प्रतिष्ठानमा आबद्ध हुन म आह्वान गर्दछु । तपाईँ हाम्रो साहित्यिक कर्मलाई संस्थागत रूपमा दस्ताबेजीकरण गर्न अनुरोध गर्दछु । जहाँसम्म मैले र हाम्रो सगरमाथा साहित्य प्रतिष्ठानले सम्बोधन गर्ने कुरा छ त्यो पनि हामीले सोचे जस्तो सहज वातावरण बन्दै गयो भने उचित सम्बोधन गर्ने नै छौँ । तपाईँ र अन्य सर्जकहरूले थाहा पाउनु नै हुनेछ ।

यस प्रतिष्ठानको संस्थापकहरू मध्ये एक तपाईं पनि हो । के उद्देश्य लिएर स्थापना गर्नु भएको थियो ? र आफ्नो उद्देश्य पूरा गर्ने सवालमा प्रतिष्ठान कत्तिको सफल भए जस्तो लाग्छ ?

– हो, म संस्थापक मध्येको एक हुँ । अहिले साथीहरूको सद्भावपूर्ण आग्रहले अध्यक्षमा छु । म अध्यक्ष हुन्छु भनेर कहिल्यै सोचेको थिइनँ । तपाईँको यो प्रश्नले मलाई त्यो बेलामा पुर्‍याएको छ । त्यो दृश्य आँखामा घुमिरहेको छ । ती जोसिला साथीहरूको सृजना वाचन मेरो कानमा गुञ्जिरहेको टड्कारो अनुभूति भइरहेको छ । जुन बेला हामी केही मान्छेहरू रातभरि ड्युटी गरेर आउँथ्यौँ र “आइक्याड” (कम्पनीको क्याम्प) को बसपार्क छेउको चौरमा जम्मा भएर आ-आफ्नो रचना सुन्ने सुनाउने गर्थ्यौं । निकै समय यसरी नै गयो । मलाई के लाग्यो भने यो सृजना सुन्ने सुनाउने कामलाई व्यवस्थित गर्नुपर्छ । हाम्रो साहित्यिक क्रियाकलापहरू दस्ताबेजीकरण हुनुपर्छ । त्यसको लागि एउटा संस्थाको स्थापना गर्न जरुरी छ भन्ने लाग्यो ।

एक दिन मैले प्रस्ताव राखें । सबै साथीहरूले सहमति जनाउनु भयो। त्यति नै बेला थुप्रै नामहरूमाथि छलफल गर्यौं। हामीले लामो छलफलपछि “सगरमाथा साहित्य मञ्च, युएई” को बीजारोपण गर्यौं यो मरुभूमिमा । यो नाम संस्थापक महासचिव सुवास संगमले प्रस्ताव गर्नुभएको थियो । जहाँसम्म के उद्देश्यका साथ स्थापना गरिएको थियो भन्ने प्रश्नको सटिक उत्तर चाहिँ हाम्रो संस्थाको यो नाराले दिन्छ जस्तो लाग्छ, ‘नेपाली साहित्यको संरक्षण प्रवर्द्धन, र विकासको लागि हाम्रो अभियान !’

आफ्नो उद्देश्यमा कतिको सफल छ भन्ने सवालमा मलाई के लाग्छ भने केही कमी-कमजोरीका बाबजुद हामी सफल भएका छौं । किनभने त्यो बेला हामी आठ दशजनाले रोपेको फूल अहिले विश्वभरि मगमगाइरहेको छ । सर्जक दर्शकहरूको मनमनमा फुलिरहेको छ । अझ हामी अक्षयकोषको अभियानमा छौं । अबको केही वर्षमा हामी अक्षयकोषको अभियान टुङ्गोमा पुर्याउनेछौं । यो अभियानले नेपाली भाषा साहित्य र सगरमाथा साहित्य प्रतिष्ठानको विकासमा कोसे ढुङ्गाको काम गर्नेछ भन्ने विश्वास छ ।

प्रसङ्ग बदल्न चाहेँ, लामो समयदेखि युएईको नेपाली साहित्यलाई नजिकबाट नियाल्दै आउनु भएको छ । इतिहासदेखि वर्तमानसम्म के कसरी अघि बढ्दै आएको छ ? यो कत्तिको सन्तोषजनक ढङ्गले अघि बढिरहेको देख्नुहुन्छ ?

– संस्थागत वा वैयक्तिक रूपमा युएई नेपाली भाषा साहित्यको लागि उर्वर भूमि हो भन्ने लाग्छ । भन्नुको मतलब नेपाली भाषा साहित्यको लागि केही न केही गरिरहेका छौं; संस्थागत र व्यक्तिगत दुवै हिसाबले । भौतिक कार्यक्रमहरू पहिले जस्तो भएका छैनन् । त्यो अर्कै कुरा हो ।  यसो हुनुको मुख्य कारण समय अभाव नै हो । तर युएईमा साहित्यिक क्रियाकलाप रोकिएको छैन  र रोकिँदैन पनि ।

युएईमा “आकृति” नामक हाते लेखन साहित्यिक पत्रिकाद्वारा लेक याेञ्जन, प्रकाश थाम्सुहाङ, तारा बलाल, इन्द्र लिम्बूहरूले संस्थागत अभ्यासको श्रीगणेश गर्नुभएको थियो । त्यसै गरी सन् २००३ या २००४ तिर हुनुपर्छ गजलकार दलवीर सिंह बराइली लगायतका सर्जकहरूले संस्थागत रूपमा “नेपाली साहित्य परिषद् युएई” गठन गर्नुभएको थियो । अहिलेसम्म मैले बुझेअनुसार त्यो नै युएईको पहिलो नेपाली साहित्यिक संस्था हो भन्ने छ । त्यसरी युएईमा सुरु भएको नेपाली भाषा साहित्यले अहिले विश्वव्यापी रूप लिएको छ । यो चानचुने विषय होइन ।

भौतिक भेटघाट र बोलचाल नभए पनि म ती सम्पूर्ण अग्रज सर्जकहरूप्रति नतमस्तक छु, जो जसले यो मरुभूमिमा नेपाली साहित्यको बीजारोपण गर्नुभयो । जसलाई तपाईँ हामीले मलजल र बारबेरा गर्दै हुर्काउँदै बढाउँदै ल्याएका छौं । फुलेर मगमग बास्ना छर्ने बनाएका छौं । यसरी हेर्दा युएईमा नेपाली साहित्यको विकास सन्तोष जनक मात्रै हैन, गर्व गर्न लायक पनि छ । अहिले हामीले जुन स्थानमा पुर्‍याएका छौं नेपाली भाषा साहित्यलाई त्यो कायम राख्दै अझ अर्को उचाइमा पुर्‍याउनु छ । त्यसको लागि हामीले निरन्तर सहकार्य गर्दै आवश्यक पहल कदम लिनु जरुरी छ।

जाँदाजाँदै अन्त्यमा केही ?

– मजस्तो सामान्य मान्छेलाई साहित्यपोस्ट जस्तो स्थापित साहित्यिक पत्रिकाले सम्झिनु भयो । ‘सगरमाथा साहित्य प्रतिष्ठान’को धारणा राख्ने अवसर दिनुभयो । युएईको सिङ्गो साहित्यिक क्रियाकलाप र अवस्था बारे अनुभूति र विचार राख्ने मौका दिनुभयो । तसर्थ तपाईँ डी जी शर्मा र साहित्यपोस्टप्रति हृदयदेखि हार्दिक आभार प्रकट गर्दछु ।