केही व्यक्तिहरू जीवनमा अति सक्रिय हुने गर्दछन् । उमेर, परिवेश, अवस्था र सिमानाको परिधिहरू केहीले पनि नछेकी–नरोकी कोही आफ्नो रुचीका कामहरू निरन्तर गरिरहन्छन् । उनीहरूका लागि काम नै पूजा हो । र सक्रिय जीवन नै प्रसाद हो ।

कामलाई पूजा मानी निरन्तर नेपाली साहित्यमा लागिरहने नाम हो – विश्वराज अधिकारी । उमेरले डाँडा चढेका अधिकारीलाई हाम्रो परिवेश र सिमानाको चस्माबाट हेर्ने हो भने उनी नेपाली परिवेशमा “रिटाएर लाइफ” धारण गरी चुपचाप कुना पस्ने बेलाका हुन् भनी सहजै अनुमान लगाउन सकिन्छ । तर विश्वराज अधिकारीलाई पश्चिमा आँखाबाट हेरिँदा उनी आफ्ना नलेखिएका अनेक कथा, व्यथा र अनुभूतिहरूलाई कहिले स्मृतिमा त कहिले अक्षरहरूमा सजाउन सक्रिय छन् ।

विश्वराज अधिकारी

अमेरिकाको व्यस्त साँझलाई उनी नेपाली भाषीहरूको शिल्प र समीक्षालाई सँगसँगै साटेर आफू मात्र हैन नेपाली भाषा र साहित्य प्रेमीहरूको साझा चौतारी बनाइरहेका छन् । साहित्यमा उनी खहरे हैन निरन्तर बगिरहने शरदीय नदी झैं शान्त र सुन्दर छन् । कसैलाई बगाउन र कसैलाई पखाल्न विश्वराज अधिकारीले जानेका छैनन् । सबै उमेर, जाति, लिङ्ग, वर्ग, समुदाय र क्षेत्रका व्यक्तिहरूसँग समभाव र समदूरी राखी अविरल बग्नु नै विश्वराजको स्वभाव हो ।

पछिल्लो समय मेरो हातमा स्रष्टा विश्वराज अधिकारीको अघिल्लो सिर्जना र कृति  परेको छ । “अभिनय” नाम दिइएको यस लघुकथाकृतिमा आजको दीपक दृष्टि राख्ने अनुमति चाहन्छु ।

“अभिनय” लघुकथासंग्रह आकार र रुपरंगले सामान्य संग्रह हो । प्रज्ञापन प्रकाशन, नेपालले प्रकाशित गरेको यस संग्रहको आवरण सामान्य सजावटमा छ । जम्मा ६४ पृष्ठको सामान्य फैलावटमा फैलिएको यस संग्रहभित्र ४९ वटा कथा समेटिएका छन् । तराजुको मापनबाट हेर्दा कथाकार विश्वराज अधिकारीको यस संग्रहको तौल सामान्य छ । सायद ग्राममा नै मापन हुन सक्छ । तर जब कुनै लघुकथाको पारखीले “अभिनय” पढ्छ भने ऊ यस संग्रहको तौल मापन गर्नै सक्दैन । समग्रमा “अभिनय” लघुकथासंग्रहको मापन गर्ने असफल प्रयास यहाँ गरिएको छ ।

अभिनय

अभिनय

यसको आवरणमा नै लघुकथाकारको अर्धअर्मूत मुहार आकृतिलाई कलिलो नीलो पृष्ठभूमिमा सजाएर प्रकाशकले वास्तवमा विश्वराज अधिकारीको नसोचिएको रूपलाई अनावरण गरेको छ । यस कृतिको आवरणमा छोडिएको सेतो मुखौडाको केही अंशले विश्वराज र विश्वका मानिसहरूको अनुहार र अनुहारभित्र लुकेको रहस्यलाई सफेद रङबाट अभिव्यक्त गरिएको छ ।

चौसठ्ठी पृष्ठमा फैलिएको यस संग्रहमा कथालाई छोडिएको भाग जम्मा जम्मी ५१ ल पृष्ठको छ । अनि यही ५१ पृष्ठमा ४९ वटा कथाहरू सजिएका छन् र ती कथाहरू यादगार पनि बनेका छन् । यस गणितीय हिसाबबाटै पनि सहजै अनुमान लगाउन सकिन्छ कि यस कृतिमा कथाकार विश्वराज अधिकारीले आफ्ना कथाहरूलाई सूत्रात्मक बनाएका छन् । आकारमा साना, शब्दमा थोरै र बुनोटमा छोटो रहेका यी कथाहरूले गागरमा सागर र विन्दुमा सिन्धु बोकेका छन् ।

हालको स्माट साइजमा रहेको यस “अभिनय’ लघुकथासंग्रहको पहिलो पृष्ठमा नै तीनबटा कथाहरूले पूर्णता पाएका छन् । यस संग्रहको पहिलो कथा “आमा, बा र ऊ’बाट श्री गणेश गरिएको छ । यो कथा मात्र ३४ वटा शब्दहरूमा सजिएको छ । यो कथाले साँचोमा हाम्रै जीवनको एक नियमित दुर्घटनाको  एक सुन्दर चित्रण उतारेको छ । हाल हामी शब्द सिमानाको बहसमा लफडा गरेर लघुकथाको हुर्मत लिइरहेका छौ । कोही ४५० शब्दहरूभित्र लेखिएको कथालाई लघुकथा मान्ने पक्ष्यमा छन् । कोही २५० माथिका कथाहरूलाई लघुकथा भनाउन कुरुक्षेत्रमा उत्रिएका छन् । के थोरै शब्दले जीवनको यथार्थ बोध गराउने कथाहरू अब लघुकथा नहुने हुन् ? हामी बेकारमा शब्द जालमा अल्झेर लघुकथा लेखिरहेका छौं तर लघुकथाकार अधिकारीको “अभिनय”ले भने आँखा लगाउन सकिरहेका वा भ्याइरहेका छैनौ । स्रष्टा विश्वराजले आफ्ना लघुकथाहरूबाट प्रष्ट द्रष्टा भाव राखेका छन् । संग्रहको पहिलो पेजमा नै रहेको “आगो र रुख’ लघुकथाबाट कथाकार अधिकारीले स्वैरकल्पनाको अनुपम नमुना प्रस्तुत गरी जीवन जगतलाई परिभाषित गरेका छन् । यस कथामा कथाकार विश्वराज अधिकारी आफै दार्शनिक पनि बनेका छन् ।

यस संग्रहमा संग्रहित छोटो तर चोटिलो लघुकथाको रूपमा हामी “एक प्रश्न’लाई लिन सक्छौ । “सिंहदरबारमा पसेर एक व्यक्तिले सोध्यो– “सिंहदरबार जाने बाटो कुन हो ?” प्रश्नले हाम्रो नियति, अन्योलता, भविष्य र देशको राजनीतिले बोकेको अस्प्रष्ट दिशानिर्देशको बारेमा चोटिलो व्यङ्ग्य गरेको छ । यो कथा पढेर पाठक नराम्रोसँग रन्थनिन्छ तर उ आफै पनि यस प्रश्नको सही उत्तर दिन असमर्थ देखिन्छ । लघुकथाकार विश्वराज अधिकारीले “एक प्रश्न’को नाममा यक्ष प्रश्न तेर्साएका छन् ।

यस संग्रहमा स्वैरकल्पनाका लघुकथाहरूले मनग्य स्थान पाएका छन् । वास्तवमा स्वैरकल्पनालाई लघुकथामा सजाउन सकियो भने नै कथा र कथाकार दुवै अजर र अमर बन्न सक्छन् । कथाकार विश्वराज अधिकारी “अभिनय’ लघुकथासंग्रहबाट स्वैरकल्पनाका लघुकथा रचयिता बनेका छन् । यस संग्रहभित्र उनीको केही स्वैरकल्पनाका कथाहरू छोटा र मीठा छन्, जो पाठकलाई यादगार बनेर रहिरहने छन् । बाढी र किनार, मान्छे र बाघ, जङ्गलको नियम अनि आगो र रुख आदि कथाकार विश्वराज अधिकारीको स्वैरकल्पना युक्त लघुकथाहरूको नमुना हो । यी कथाहरूमा कथाकारले प्रकृति र जनावरलाई पात्रमा उतारेर हामी मानवहरूलाई सचेत गराउने प्रयास गरेका छन् । यी कथाहरूबाट हामी कति चेत्छौ त्यो त पछिको कुरो भयो । तर यी कथाहरूले पाठकलाई आनन्दानुभूति चाही जरुर दिने छ ।

कथाको नाममा कथाकार विश्वराज अधिकारीले “अभिनय’ लघुकथासंग्रहमा एक “अकथा” पनि लेखेका छन् । खासमा विश्वराज अधिकारी अलिखित कथाहरू लेख्नको लागि माहिर छन् । उनीको अभिष्ट जीवनको अनुद्घाटित पक्षको सृजनात्मक परिचर्चा पनि हो । लेखिएका कथाहरू र नभनिएका व्यथाहरूका वाचन र प्रस्तुतिमा विश्वराज अधिकारी यौनका मीठा अव्यक्त बाछिटा र अनुभूतिहरूलाई व्यक्त गरिरहेका छन् र आफ्ना सर्कलका साहित्यकारहरूलाई यसतर्फ अग्रसर पनि गराइरहेका छन् । जहाँसम्म अकथाको कुरो छ । यो प्रेममा पागल एक युवकको मर्मस्पर्शी कथा हो । कथाको बुनोट आकस्मिक छ, मध्येभाग कौतूहलमय र अन्त्यमा पाठकले नसोचेको झड्का छ । तर यति हुँदाहुँदै पनि यो कथा हिन्दी चलचित्रको एक पुरानो कथा झैँ प्रतीक हुन्छ ।

“अभिनय’ लघुकथासंग्रहमा कथाकार विश्वराज अधिकारीले सेतु कथाको अवधारणाको विकास गरी साहित्यमा नयाँ प्रयोग गरेका छन् । वास्तवमै सेतु कथाले हाम्रा अनगिन्ती स्वभावहरूमाथि श्याम व्यङ्ग्य गरेका छन् । यस्ता कथाहरूले कहीं न कतै हाम्रो समाजमा भएको स्खलनलाई कहिँ न कतै रोकथाम गर्ने छ । हो सेतु कथाले हिन्दू धर्मभित्रका अनेक मिथकहरूलाई उत्खनन गरेको छ र त्यसबाट प्राप्त खजानाहरूलाई आधुनिक युगको जलप लगाएर कतै प्रश्न त कतै उत्तर दिएका छन् । सेतु कथा नेपाली लघुकथाको बारेमा एउटा मीठो प्रयोग हुन सक्छ । म कथाकार विश्वराज अधिकारीलाई आफूले जन्माएको यो सेतु कथालाई अभियानको रूपमा नेपाली लघुकथामा एउटा प्रयोग निरन्तर गरिरहन आग्रह पनि गर्दछु ।

कथाकार विश्वराज अधिकारीले प्रस्तुत गरेको “अभिनय’ लघुकथासंग्रहमा यौन, राजनीति, जीवनको मूल्य, मान्यता र विसङ्गतिको साथै प्रकृति र धर्मलाई समीपबाट स्पर्श गरी अस्तित्वबोधसूचक विश्ववादको विश्लेषणमय आयामलाई आञ्चलिक सौन्दर्यभित्र पनि सजाएका छन् । सामाजिक सरोकारका विषयहरूलाई मलजल गरी कथाकार विश्वराज अधिकारीले आफ्ना कथाहरूमा गम्भीरताका साथ सजाएका छन् । “अभिनय’ लघुकथासंग्रहभित्र सामान्य देखिएका कथाहरूले बोकेको भाव र दिन खोजेको सन्देश प्रवाह लक्ष्य भेदतर्फ तीव्र  देखिन्छ ।

पेशाले कथाकार विश्वराज अधिकारी अमेरिकाको ओक्लाहोमा सिटी कम्युनिटी कलेजका एक प्राध्यापक हुन् । उनी बजार व्यवस्थापन विषयमा आफ्ना विद्यार्थीहरूलाई दीक्षित बनाउने काम गरिरहेका छन् । अब उनको लेक्चर मात्र नभएर साँचोमा साहित्यिक बजार व्यवस्थापनमा पनि चासो दिई नेपाली उत्कृष्ट कृतिहरूको बजारीकरणमा सहयोगको हातेमालो गर्नु पर्ने देखिन्छ । सुरुवात “अभिनय’ लघुकथासंग्रहबाटै गरे अझ उत्तम देखिन्छ ।