ललितपुर, गोदावरीमा जन्मनु भएको ऋषभदेव घिमिरेले ‘मेरो गाउँ’ कविताबाट साहित्यिक यात्रा सुरु गर्नु भएको हो । हालसम्म उहाँका ‘गोदावरी’ ऐतिहासिक पुस्तक र ‘कविताको कथा’ कवितासंग्रह प्रकाशन भइसकेका छन् भने ‘निशेधाज्ञाका प्रतिबिम्बहरू’ र ‘मन मनमा म्यान्मा’ संयुक्त कवितासङ्ग्रह प्रकाशित छन् । विभिन्न संघसंस्थासँग आबद्ध उहाँ कथाकार पनि हुनुहुन्छ । अहिले उहाँ निबन्धसंग्रहको तरायीमा हुनुहुन्छ ।
प्रस्तुत छ, कवि ऋषभदेव घिमिरेसँग उहाँकाे लेखनयात्रा र डायस्पाेरिक साहित्यबारे केन्द्रित भई साहित्यपोस्टका लागि साहित्यकार एवं अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंश:
आजकल तपाईं व्यस्त हुनुहुन्छ । यस्तो घडीमा अध्ययन, लेखन र पुस्तक प्रकाशनलाई कसरी समय मिलाउनु भएको छ ?
– व्यस्तता पनि लेखनलाई जारी राख्न सकिन्छ भन्ने लाग्छ मलाई । साहित्यका विविध विधा मध्ये कविता एकै चरणमा पढ्न र लेख्न सकिन्छ । धेरै व्यस्ततामा म कविता पढ्छु र लेख्ने जमर्को गर्छु । अनुकूल समयमा शृङ्गार पटार गर्छु । एकदुई पटक पढ्छु । केही शब्द थप्छु, घटाउँछु । काँटछाँट गरे पछि झाडी सुन्दर देखिएजस्तै कविता र अरू सिर्जना पनि सुन्दर बन्दछ भन्ने लाग्छ मलाई । धेरैले सिर्जना व्यस्तता भित्र पनि सिर्जित गरे भन्ने अभिव्यक्ति पढेको र सुनेको छु मैले ।
भावना सदैव तरङ्गित भइरहने भएकाले विषय, कथांश, पात्र, प्रवृत्ति माथिको चिन्तन चली नै रहन्छ । संक्षिप्त टिपोट गर्छु । समयानुकूलतामा थप अध्ययन गर्ने गर्छु । सम्पादन लेखनका लागि महत्त्वपूर्ण पाटो भएकाले व्यस्त समयको थोरै अंशमा पनि हेर्ने र थपघट गर्ने बानी छ मेरो । मैले लेखन र प्रकाशनलाई अतिरिक्त समय भन्दा पनि नियमित समयबाट नै समय व्यवस्थापन गरेर प्रकाशनको चाँजोपाँजो मिलाउने गरेको छु ।
साहित्य, दर्शन, आत्मा र प्रकृतिलाई तपाईं कसरी हेर्नुभएको छ ? जीवन के हो ?
– साहित्य र जीवन परिपूरक छन् भन्दा अतिशयोक्ति नहोला । जीवन यापनका अनेक आयाममा अलिखित र अनुभवजन्य भोगाइले केही न केही ज्ञान दिन्छन् नै । साहित्यमा पनि जीवन-जगत्, प्रकृति दर्शन सबै हुन्छन् ।
साहित्यले आत्मालाई शान्ति दिन्छ, प्रमोदित गर्छ । लाग्छ जीवनका लागि साहित्य र साहित्यका लागि जीवन एकै सिक्काका दुई पहलु हुन् । जीवनलाई निरन्तरतासँग जोडेर हेर्ने गरेको छु मैले । सक्रियता र रचनात्मक ढङ्गले जीवनलाई जीवनीय बनाउँछ । जीवन नियमित आकस्मिकताको एउटा अध्याय हो ।
तपाईंलाई जाँगरिलो कवि भन्थे नि हो ?
– कतिपय प्रश्नको उत्तर दिंदा स्वयंलाई असामञ्जस्य जस्तो लाग्छ । म पनि त्यस्तैमा परेँ । देख्नेको दृष्टि र यथार्थ कहिलेकाहीँ फरक हुन्छन् । म देखिने जस्तो जाँगरिलो चाहिँ छैन कि ?
साहित्य लेखन, अध्ययन र चिन्तन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नु हुन्छ ?
– मानिसलाई उचाइमा पुर्याउन विनयशीलता, सरलता, सामूहिकता आदिले पनि निर्धारण गर्दछ । साहित्यले धेरै कुरा सिकाउँछ । लेखनले ऊर्जाशील बनाउँछ । अध्ययन, चिन्तन, मननजस्ता सिर्जनशील विषयले मानिसलाई परिष्कृत गर्दछ ।
तपाईंका कविता बेजोड छन् हो ? कविता राम्रो लेख्न के गर्नु पर्छ ?
– म कविताको विद्यार्थी मात्र हुँ । पाठकले मन पराउनु, कविताले कम्पन ल्याउनु, सन्देश प्रवाह गर्नु कविताका सैद्धान्तिक पक्ष हुन् । मेरा कविता कुन कोटीको छ भन्ने जाँच गर्ने न्यायाधीश प्रबुद्ध पाठक नै हुन् । बेजोड, सामान्य या कमजोर भनेर म कविताको मापन गर्न सक्दिन ।
तपाईंले लेखन प्रेरणा को बाट पाउनु भयो ?
– मेरो लेखनको पहिलो प्रेरणा घर नै हो । बुबा पण्डित जगन्नाथ घिमिरे संस्कृत साहित्यका ज्ञाता नै हुनुहुन्थ्यो । मैले संस्कृत अध्ययन गर्न पाइन । केही संस्कार र प्रभाव भयो नै । दाइ बासुदेब कविता लेखेर प्रतियोगिता तथा पत्रपत्रिकामा प्रकाशन गर्ने गरेका कारण ममा पनि सानैदेखि लेखन र अध्ययनको रुचि भयो । फलस्वरूप लेखनलाई एउटा अङ्ग बनाउँदै छु ।
तपाईंलाई गीत, कविता, कथा, नियात्रा र उपन्यास कुन मन पर्छ ? यो राम्रो लेख्न के गर्नु पर्छ ? किन ?
– प्रथमतः मलाई कविता नै मन पर्छ । सबै विधा मन पर्छन् । अध्ययन गर्छु । मूलतः गीत गेयात्मक नै लोकप्रिय हुने भएकाले गीत पढ्न भन्दा सुन्न मन पराउँछु । राम्रो लेख्न अध्ययन, अनुसन्धान जरुरी छ । सिर्जनशीलता र कल्पनाशीलता पनि राम्रो लेखनका लागि जरुरी तत्व हो । लेखनका नयाँ आयाम, लेखकीय नवीन आविष्कार, विश्व साहित्यलाई अध्यावधिक गर्नु । नेपाली साहित्यको अतिरिक्त अनुवादित र अनुशीलन मातृभाषी साहित्यको अध्ययनले राम्रो लेखन गर्न सकिन्छ जस्तो लाग्छ ।
नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नु भएको छ ?
– नेपालमा साहित्यिक पत्रिकाको प्रकाशन र संस्करण कम छ । जति छन् कटिन मोडमा छन् । जटिलता पनि धेरै छन् । साहित्यिक पत्रकारिताको फाँट फराकिलो छैन । अवसर भएर पनि चुनौती धेरै छ । साहित्यिक पत्रिका र पत्रकारिता फस्टाउनु पर्छ । राज्यका सबै संयन्त्रले यसतर्फ विशेष ध्यान दिनु जरुरी छ । निजीक्षेत्रबाट संचालित साहित्यिक पत्रिकालाई बाँच्न र बचाउन सामूहिक प्रयत्न जरुरी छ ।
साहित्यको मापदण्ड के हो ?
– साहित्य मापन गरिने इकाई होइन कि ? स:हित- साहित्य । साहित्य समाजको आदर्श हो । साहित्य सर्वजनीन कुरा हो ।
तपाईंले नेपालको राजनीतिक जगतलाई कसरी नियालिरहनु भएको छ ?
– वर्तमान राजनीति राष्ट्र, राष्ट्रियता र नागरिक अखण्डता भन्दा पर छ । दलगत स्वार्थ केन्द्रित छ राजनीति । धुमिल छ । जनचाहना अनुरूप संचालित छैनन् राज्यका संयन्त्रहरू । राजनीतिलाई सही दिशाबोध गराउने भनेको साहित्यले हो । नेपालका राजनीतिज्ञहरू अध्ययनशील छैनन् । अझ साहित्यको अध्ययन त अझ कमले गर्छन् । साहित्यले देश, काल, समाज र विद्यमान समयलाई सम्बोधन गर्दछ । राजनीतिलाई सही हिसाबले संचालन गर्न साहित्य अध्ययन जरुरी छ ।
अहिलेको साहित्यमा विचार, युगचेतना, विश्वपरिवेश कसरी अभिव्यक्त भएको पाउनु हुन्छ ?
– प्रशस्त छन् । विचार छन् । दृष्टिकोण छ । युगको बोली छ । नवीन चिन्तनधारा छन् । प्रकाशनको सर्वसुलभता, प्रवृत्ति विरुद्धको खबरदारी, प्रविधिको व्यापकताका कारण विश्व परिवेशमा नै साहित्यभित्र युग चेतना प्रचुर हुँदै गएको छ ।
पुरस्कार सम्मान र समालोचनाको अवस्था कस्तो छ नेपालमा ?
– थुप्रै पुरस्कार र सम्मानहरू निजी क्षेत्रमा स्थापित भएका छन् । यो खुसीको कुरा हो । कताकति पुरस्कार र सम्मान आदानप्रदान गर्ने परिपाटी छ । यसले स्रष्टाको सम्मानप्रति उपेक्षा समेत भएको महसुस हुन्छ मलाई ।
समालोचना समृद्ध छ । समालोचनाले सर्जकलाई सकारात्मक बनाउन र लेखनलाई स्तरोन्नति गराउन ठुलो मद्दत पुर्याएको छ ।
डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?– नेपाली कला, साहित्य र संस्कृतिले विश्वव्यापी रूप लिंदै छ । नेपाली भाषीले डायस्पोरामा रहेर सिर्जना गरेका कृति बहुभाषिक र अनुवादित हुँदै गएका छन् । कला, साहित्य र संस्कृतिको विश्वव्यापी अन्तरघुलन हुनु भनेको नेपाली डायस्पोरा बलियो हुनु हो भन्ने लाग्छ ।
भैरव अर्याल पछि नेपालको हास्यव्यङ्ग्य लेखनलाई कसरी हेर्नु भएको छ ?
– नेपाली साहित्य तर्फको हास्यव्यङ्ग्य विधामा कलम चलाउने सर्जकको कमी नै छ । भैरव अर्यालको हास्यव्यङ्ग्य लेखन र व्यङ्ग्योक्ति अहिले विरलै छ ।
अन्तर्राष्ट्रिय साहित्य समाजलाई कसरी हेर्नु भएको छ ?
– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज विश्वभर छरिएका साहित्य सर्जक र विश्वव्यापी आम नेपालीलाई साहित्यिक, सांस्कृतिक तथा नेपाली भाषाको उन्नयन र प्रवर्द्धनका लागि क्रियाशील संस्था हो । बाह्य मुलुकमा रहेर समसामयिक लेखन तथा डायस्पोरिक साहित्यमा कलम चलाउनेहरूका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज प्रतिनिधि मूलक संस्था हो । यसले नेपाली भाषा, कला, साहित्य र संस्कृतिलाई वैश्विकरण गर्न महत्त्वपूर्ण भूमिका र योगदान पुर्याएको छ भन्ने लाग्छ ।
तपाईंलाई आशु कवि भन्न मिल्छ ? तपाईं जुन सुकै बेला पनि जुन सुकै ठाउँमा तुरुन्त कविता रच्न सक्नु हुन्छ भनिन्छ नि के यो कुरा साँचो हो ? यसका लागि सिकारु कविलाई के भन्न चाहनु हुन्छ ?
– आशु कवि त शम्भु प्रसाद ढुङ्गेल मात्र हुन् । कविता लेखन तर्फ रुचि छ मेरो । यदाकदा विषय केन्द्रित कविता लेख्छु । सूक्तिमय कविताका श्लोक भने तत्काल आउँछ कहिलेकाहीँ । एउटा सन्दर्भ उल्लेख गर्न मन लाग्यो प्रसिद्ध चलचित्र “क्याराभान” का नायक थिन्ले घोडा चढ्दा चढ्दै साल्दाङ्को भीरबाट खसेको समाचार आयो । उक्त समाचार पढेर म भावुक भएँ । तत्काल कविता लेखें । थिन्ले माथि लेखिएको कविता अखबारमा प्रकाशित पनि भयो । पछि आफ्नो सङ्ग्रहमा पनि राखे । समाचारका विषय पनि कविता हुन्छन् । नवोदित कविले विषयवस्तुको गाम्भीर्यतालाई हेरेर रचनात्मक प्रस्तुति दिने र अध्ययनलाई प्राथमिकतामा राख्ने हो भने सिर्जना पक्ष बलियो बन्छ भन्ने लाग्छ ।
अन्त्यमा पाठकलाई के भन्न चाहनु हुन्छ ?
– हामीले पाठकलाई भन्ने भन्दा पनि पाठकका सकारात्मक सुझाव, प्रतिक्रिया र आलोचनालाई सहर्ष स्विकार्नु पर्दछ । पाठकले अध्ययन गरेका कृतिलाई पाठकीय ढङ्गले विश्लेषण गर्ने परिपाटी बस्न र बसाल्न सकियो भने लेखक र पाठकबिचको सम्बन्ध अझ प्रगाढ हुन्छ । पाठक एक कुसल समालोचक पनि हो । पाठकका सुझावले लेखनमा सुधार र नवीनता दिने भएको हुँदा व्यापक रूपमा पाठक प्रतिक्रिया आउन् भन्न चाहन्छु ।
धन्यवाद ।-
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।