हाम्रो घर बिरगञ्जमा थियो । हाम्रो मामाघर चाहिँ जोकिहारीमा थियो । जोकिहारी छिमेकी राष्ट्र भारतको बिहार राज्यमा पर्दछ । म बाल्यकालमा प्रायशः जोकिहारीमा नै बस्थेँ । जोकिहारी जानलाई रक्सौल कटेर जानु पर्दथ्यो । त्यहाँ मैले तीन कक्षासम्म पढेँ । मामाघरमा नानानानी र मामामामीको प्यारले मलाई स्वर्गको अनुभूति गराउँथ्यो । मामाघरकै छेउमा स्कुल थियो । छोटोमामा र मामी दुवैले त्यही स्कुलमा पढाउँथे । सर र सिस्टरको भान्जो भएकाले अरू सरहरूले पनि मलाई भान्जा भन्थे । मेरो नाम पंकज भए पनि स्कुलका केटाकेटीहरूले पंकु भनेर चिन्दथे ।
मेरा कक्षामा पढ्ने सोह्र जना विद्यार्थी मध्ये धर्मेन्दर सबैभन्दा ठूलो थियो । हामी आठ नौ वर्षका थियौँ होला तर धर्मेन्दर बाह्र तेह्र वर्षको थियो । स्कुल छुट्टी भएपछि हामी स्कुलको ग्राउन्डमा आँखा देखुन्जेल सम्म खेलेर बिताउँथ्यौँ । साँझमा मलाई खोज्न मामाहरू आउनु हुन्थ्यो । हाम्रा खेलहरूमा कबड्डी, खो खो, क्रिकेट, फुटबल आदि थिए । धर्मेन्दरले सबैलाई मिलाएर खेलाउने गर्दथ्यो । मलाई जहिले पनि उसको टिममा राख्दथ्यो । हाम्रो टिमले सधैंजसो गेम जित्ने गर्दथ्यो । ती जीतहरू धर्मेन्दर कै कारणले हुन्थे ।
हामी चार कक्षामा जाने बेलादेखि धर्मेन्दर स्कुल आउन छोड्यो । कक्षाका साथीहरूले भन्दा, उसका बाबुलाई गोमन सर्पले डस्यो अरे । अब पढ्न पाउँदैन रे भन्थे । म पनि तीन कक्षा पास गरेपछि बिरगञ्जमै आएर पढ्न थालेँ । म होली, दसरा र दिवाली जस्ता पर्वहरूमा मात्र जोकिहारीमा जाने गर्थें । म कक्षा आठमा पढ्दै गर्दा मामा घर गएको थिएँ । धर्मेन्दरसँग मेरो भेट भयो । धर्मेन्दरले नै मलाई ए पंकु भनेर बोलायो । मैले त झण्डै नचिनेको । धर्मेन्दर त ठूलो मानिस भएछ । ऊ एउटा फार्मेसीमा काम गर्न थालेको रहेछ । पढ्न पाइएन के गर्नु । काम गर्दै भाइ बहिनी पढाउँदै छु भन्थ्यो ।
मैले बिरगञ्जबाट बाह्र कक्षा पास गरेँ । इन्जिनियरिङ पढ्नका लागि काठमाडौँ जाने निर्णय भयो । काठमाडौँ जानुभन्दा पहिला एक पटक मामाघरमा गएर नानानानी र मामामामीसँग आशीर्वाद लिने बिचार गरेँ । जोकिहारी जान भनेर रक्सौल पुगेको थिएँ । धर्मेन्दरसँग भेट भयो । धर्मेन्दर र मैले होटेलमा गएर चियानास्ता खायौँ ।
खाइसके पछि उसले यताउता चारैतिर आँखा घुमायो । त्यसपछि उसको मुख मेरा कान नजिकै ल्यायो । ऊ डराएको जस्तो पनि देखिन्थ्यो । हेर न पंकु । उमेर पुगेपछि प्यार हुँदो रहेछ । कुनै गीतलाई गुनगुनाई रहन मन लाग्छ । कसैलाई सम्झिएर टोलाइरहन मन लाग्छ । मेरो पनि प्यार भएको छ । प्यारले आफ्नो जात पनि हेर्दो रहेनछ । पढाइलेखाइ पनि हेर्दो रहेनछ । धन दौलत पनि हेर्दो रहेनछ । रूप र रंग पनि हेर्दो रहेनछ । मेरो पनि त्यस्तै भयो । प्राचार्य झाजीको बेटी तनुजासँग प्यार भै गयो । अब तनुजा म बिना बाँच्न सक्दिन भन्छ । मलाई पनि त्यस्तै भएको छ । अझसम्म त झाजीले थाहा पाएको छैन । थाहा पायो भने मेरो तनुजालाई जलाएर मारिदिन्छ । मजस्तो सानो जातको नपढेको केटासँग लाग्यो भनेर ।
बडा फसाद परिहालेको छ । मैले सुनेँ मात्र । केही उपाय सुझाउन सकिन । अब नेपालतिर गएर कतै बस्ने कुरा सोच्दै छु धर्मेन्दरले भन्यो । मेरो अपरिपक्व उमेर भएर होला केही सल्लाह पनि दिन सकिन । मैले उसको हातलाई दह्रो समाएर शुभकामना मात्र दिएँ । म मामा घरतर्फ लागेँ । धर्मेन्दरको समस्या मेरा मनमा दिनभरि खेलिरह्यो । तनुजालाई भगाएर कहाँ लान्छ होला ! के काम गरेर यो जोडी पालिन्छन् होला । यस्तै यस्ता कुरा मनमा आइरहे । म मामाघरबाट नानानानी र मामामामीको आशीर्वाद लिएर फर्किएँ ।
मेरो पहिलो पटक काठमाडौंको यात्रा हुँदै थियो । नयाँ ठाउँ, नयाँ परिवेश चिनेजानेका मानिसहरू कोही थिएनन् । धन्न पुल्चोक क्याम्पसको होस्टलेमा बस्ने ठाउँ मिल्यो । क्याम्पस पढ्न थालेपछि एसिस्मेन्ट, प्रोजेक्ट, र परीक्षा भन्दै समय गएको पत्तै भएन । क्याम्पस बिदा हुँदा कहिलेकहीँ बिरगञ्ज पुग्ने गर्थें । मावली जोकिहारी नगएको पनि धेरै भएको थियो । म इन्जिनियरिङको तेस्रो वर्षमा पढ्दै गर्दा मलाई विवाहका लागि प्रस्ताव आयो । म पढाई नसकी विवाह गर्दिन भन्दै टार्दै थिएँ । आमाको स्वास्थ्य राम्रो थिएन । छोराको विवाह गरेर मात्र मर्छु भनेर आमाले भन्न थाल्नु भयो । मलाई पनि निक्कै मानसिक दबाब भयो । मेरो केही लागेन । विवाह नगरी धरै पाइएन । तर विवाह गर्दा दहेज लिने परम्पराको चैँ विरोध गरेँ । बिना दहेज नै विवाह गरेँ ।
विवाह गरे पछि श्रीमतीलाई पनि काठमाडौँमा लिएर आएँ । होस्टेल छोडेर बंगलामुखी मन्दिरको छेउमा डेरा लिएर बस्न सुरु गरेँ । नयाँ मान्छेलाई पशुपतिनाथ र काठमाडौँका सबै मन्दिरहरूको दर्शन गराएँ । म बिहानबेलुका कन्सल्टेन्सीमा काम गर्थें । श्रीमतीलाई पनि नजिकैको बोर्डिङ स्कुलमा काम मिल्यो । श्रीमती बिहान बेलुका खाना बनाउने र दिउँसो बोर्डिङ स्कुलमा पढाउने गर्थिन् । म पनि पढाई र कामले गर्दा अति नै व्यस्त हुन्थेँ ।
काठमाडौँका वरिपरि र फूल्चौकीडाँडामा सेताम्मै हिँउ परेको थियो । त्यो डाँडामा परेको सेतो हिँउले फेरेको चिसो सास आएर होला शहर पनि चिसै भएको थियो । हामी तराईमा जन्मिएर हुर्केकाहरूलाई त झन् मुटु सम्म नै चिसो हुन्थ्यो । एक दिन राती देखि श्रीमतीलाई असैय्य हुने गरी पेट दुख्न थाल्यो । तातो पानी उमालेर खान दिएँ । हटवाटर ब्यागले पेट सेकिदिएँ । तर कम भएन । बल्ल बल्ल बिहान भए पछि अस्पताल लिएर गएँ । अस्पतालमा पिसाब र रगतको जाँच भयो । आइरनको मात्रा कम भएको रहेछ । कन्स्टिपेसन भएको देखिन्छ । बच्चा जन्मिने हुँदा यो स्वाभाविक हो । ‘ल बधाई छ’ डाक्टरले भने । भिटामिन, मिनरल्स् , प्रोटिन, आदि खानु भनेर डाक्टरले लेखिदिए । पेट खाली नराख्नु त्यसले पेटमा एसिडको मात्रा बढ्छ र पेट दुख्छ भनेर सल्लाह दिए । श्रीमती स्कुलमा बिदा लिएर घरमै बसेकी थिइन् ।
मैले काम गर्ने कन्सल्टेन्सी कुपण्डोलमा थियो । श्रीमतीलाई खाना खुवाएर म कन्सल्टेन्सीमा गएँ । गाह्रो भयो भने मलाई फोन गर्नु भनेर श्रीमतीलाई भनेको थिएँ । दिउँसो तीन बजे तिर श्रीमतीको फोन आयो । मलाई त गाह्रो भयो । घर आउनु न प्लिज भन्दै श्रीमतीको पिडा मिश्रित रुन्चे आवाजले मलाई दुखी बनायो । केही सोच्न नसकी अफिसबाट बाहिर निस्किएँ र मोटरसाइकल स्टार्ट गर्दै थिएँ । मेरा आँखा नजिकैको ब्लु डायमन्ड क्लिनिकको साइनबोर्डमा परे ।
हतारहतार घर गएर श्रीमतीलाई लिएर ब्लु डायमन्ड क्लिनिकमा गयौँ । काउन्टरमा गएर मैले श्रीमतीको नाम लेखाएँ र टिकट काटेर बस्यौँ । श्रीमती छटपटाइरहेकी थिइन् । डाक्टर डी आर शाहू भित्र लेखिएको नेमप्लेटमा मेरा आँखा पटक पटक पर्दथे । कति बेला डाक्टरलाई देखाउनु भन्दै मलाई पनि श्रीमतीको पिडा देख्दा छटपटी भएको थियो । बल्ल एकजना बिरामी बाहिर निस्किए । हामीलाई भित्र जानु भनेर काउन्टरमा बस्ने महिलाले भनिन् । म श्रीमतीलाई लिएर भित्र पसेँ ।
डाक्टर डी आर शाहू केके लेख्न व्यस्त थिए । हामीलाई कुर्सीतिर इसारा गर्दै डाक्टर उठे । मलाई डाक्टर चिने चिने जस्तो लाग्यो । उनी मेरी श्रीमतीको चेक गर्न लाग्दै थिए । अनायासै मेरो मुखबाट धर्मेन्दर भन्ने शब्द निस्कियो । डाक्टर डी आर शाहूले मलाई हेरे । उनका स्टेथेस्कोप बोकेका हातहरू थरथर काँप्न थाले ।
अस्तु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।