‘अन्त्यहीन परिधि’ लघुकथाकार इन्दिरा चापागाईंद्वारा लिखित तथा २०८० सालमा प्रकाशित लघुकथासङ्ग्रह हो । लघुकथाकारलाई मैले सामाजिक सञ्जालमा ठ्याक्कै कहिले भेटेँ, थाहा छैन । तर म नेपाल गएका बखत लघुकथाको कार्यक्रममा भेला भएर अग्घोरै आफन्तिएको भने मलाई सम्झना छ ।

त्यसपछि लघुकथाका पाटीमा हाम्रो बाक्लो भेट भइरह्यो । ती पाटीमा हुने क्रिया तथा अन्तरक्रियामा भेटिएर गफिएको पनि सम्झना छ । म यो संयोगलाई आनान्दातिरेक  मान्छु । व्यतिरेक हुन्छु । आनन्दमा व्यतिरेक हुनु भनेको हर्षानुभूति हो । त्यसैले लघुकथाकार इन्दिरा चापागाईँसँगको सम्बन्धलाई मैले उच्च आकलन गरेको छु । वर्तमानमा हामी यार हौं । यारीदोस्ती छ हाम्रो ।

एक दिन इन्दिराको लघुकथा कृति प्रकाशन हुने सुसमाचार पाएँ । पुलकित भएँ ।

२०२९ सालमा सभापोखरी सङ्खुवासभामा जन्मेर, हाल सूर्यविनायक भक्तपुरमा थातथलो बनाएकी लघुकथाकार इन्दिरा चापागाईं साहित्य साधनामा तल्लीन स्रष्टा हुन् ।

निर बहादुर याक्खाको कलामा ‘अन्त्यहीन परिधि’ को आवरण बनेको छ । चक्रावृत्त छाललाई जिन्दगीको अन्त्यहीन परिधि मान्दै त्यो प्राप्त गर्न मान्छे लागिरहेको देखिने बिम्बमा आवरण छ । हाम्रो लघुकथा केन्द्र नेपालले प्रकाशन गरेको कृति हो यो । हाम्रो लघुकथा केन्द्रका तर्फबाट डा. शेखरकुमार श्रेष्ठको प्रकाशकीय रहेको छ ।

अन्त्यहीन परिधि

अन्त्यहीन परिधि

‘अन्त्यहीन परिधि’ शताशय शुभकामना ! शीर्षकमा खेमराज पोखरेलको छोटो भूमिका रहेको छ । ‘मेरो कुरा’ शीर्षकमा लघुकथाकार इन्दिराको आत्माभिव्यक्ति छ । मातापितामा समर्पण गरिएको छ । त्यसपछि ५२ ओटा लघुकथाको सूची छ । कथाइतर सामग्री यत्ति हो ।

यो पाठकीय आलेख लेखिरहँदा म अनेकन् सीमाबाट गुज्रेको छु । आफैँले शुभकामना लेखेको कृतिका बारेमा आफैँ समीक्षा गर्न तम्तयार भएको छु । यो मित्रताको द्योतक हो भन्ने कुरामा कुनै सन्देह छैन । तथापि भूमिका लेखन र समीक्षा दुई अलग अलग दायित्व हुन् । धर्म हुन् । भूमिका लेखन भनेको कृतिको उन्नयनको लागि लेखिने हो । शताशय आशीर्वाद हो । कृतिको गर्भाशयभित्र पसेर अब्बल दुर्बल पक्ष केलाउनु हो समीक्षा । यद्यपि अब्बलता तथा दुर्बलता भन्ने कुरा पनि निरपेक्ष हुन्न । द्रष्टाको चेतीय कुरा हो सिर्जनाको स्तरीयता पनि । द्रष्टा भन्नु पनि कुनै सीमाले बाँधेको व्यक्ति हो र उसका निजी कुराको पटाक्षेप आलेखमा हुने हो । मैले यसो भन्नुको आशय के हो भने लघुकथाकार इन्दिरा चापागाईंसँग मेरो यारीदोस्ती भए पनि यसले कृतिको अब्बलता दुर्बलता केलाउन भने कुनै समस्या उत्पन्न गराउँदैन । मेरो प्रयत्न यही दिशामा रहन्छ ।

लघुकथालाई मापन गर्ने आधारहरू भनेको त्यसको कथ्यविधानको ओज हो । कथावस्तुको ओज नै सुन्दर लघुकथाको पहिलो मापक हो ।

सर्जकले कथावस्तु आफैँ वरिपरिबाट टिप्ने हो । अर्थात् आफूले देखेको, भोगेको, पढेको, सुनेको, गमेको, अनुभूत गरेको, कल्पना गरेका जस्ता कुराले कुनै पनि स्रष्टामा ज्ञान तथा चेतको एउटा घेरा बनाइदिन्छ । त्यही घेराभित्र रहेर स्रष्टाले सिर्जना गर्ने गर्छ । त्यो घेरा तोड्न उसले जान्दैन । सक्दैन । मान्दैन । वा डराउँछ । अर्थात् समाज, राष्ट्र, देश, विदेश, परिवार, ब्रह्माण्ड, परिवार, व्यक्तिलाई हेर्ने दृष्टिकोण त्यही घेराले तय गर्छ । र, मान्छेले त्यो आफ्नो सीमित घेरालाई सार्वभौम सत्य ठानिदिन्छन् । र अरूको घेरालाई अनुपयुक्त वा अब्डेरो मान्छन् । यो मानवीय स्वभाव हो ।

समाजमा एउटै समयमा परम्परावादी, यथास्थितिवादी, प्रगतिवादी, क्रान्तिकारी धारहरू हुन्छन् । स्रष्टाले जतिसुकै ‘म कुनै धारमा लेख्दिनँ’ भने पनि लेखनीले भने एउटा आधार खोजेकै हुन्छ । त्यसैले स्रष्टाका लेखनी पनि यिनै धारका आधारमा सिर्जना हुने हुन् । ती वादमा पनि आदर्शवाद, विद्रोहवाद हुन्छ ।

उदाहरणका लागि भन्नु पर्दा परम्परावादका आधारमा पति परमेश्वर हो । पतिले भनेको थपथप मान्नु परम्परावादी जीवन हो । वाद हो । यो मान्यतामा विवाह भन्ने सङ्गठन कठोर हुन्छ । विवाह भन्ने संगठनलाई बर्खिलाप गर्नेलाई मृत्युदण्ड दिइएका उदाहरण समाज विकासका सन्दर्भमा हेर्न सकिन्छ । जार काट्ने चलन त नेपाली समाजले पछिसम्मै बेहोरेको हो । आफ्नै श्रीमान्लाई कन्या खोज्दै हिँड्नु पर्ने अवस्थाबाट पनि महिलाहरू गुज्रेका छन् ।

यथास्थितिवादमा आइपुग्दा पति परमेश्वर त होइन, तर परिवार तथा सन्तान चलाउनका लागि पतिले भनेका कुरा थपथप मान्नु पर्छ । विवाह भन्ने सङ्गठन अति आवश्यक हो र यसलाई कुनै पनि हालतमा जोगाउनु पर्छ । यसका लागि त्याग गर्नु पर्छ भन्ने हो ।

प्रगतिवादमा पति साथी हो, आफ्नो अस्तित्वसहित मिल्न सके मिल्ने हो नत्र डिभोर्स गर्ने हो । विवाह भन्ने सङ्गठन महत्त्वपूर्ण त हो, तर समानतासहित धेरै सुधारिनु पर्छ । सुधारिन सक्नु पर्छ । नत्र कुरेर बस्दैन समयले । विद्रोहको ज्वाला मुखरित गर्छन् यो धारमा ।

क्रान्तिकारी धारमा पति पत्नी भनेको महिला र पुरुष हुन् । तिनका बिचमा केही सामाजिक, प्राकृतिक, पारिवारिक स्वार्थहरू हुन्छन् । तिनको पूर्तिका लागि मिल्ने हो । स्वार्थमा टकराब आयो भने बाटो अलग अलग गरिहाल्ने हो । विवाह भन्ने कुरा ऐच्छिक हो । विवाह व्यक्तिको व्यक्तिगत अधिकार हो । विवाह भन्ने संस्थाको रङ पातलो हुँदै जाने हो ।

यसो भएकाले कुन धरातलमा वा वादमा लघुकथाको कथानक जोरजाम गर्ने हो भन्ने बारेमा लघुकथाकार सबैभन्दा पहिले प्रस्ट हुन जरुरी छ । कथानकको वैचारिक ओज जति गहन भयो लघुकथा त्यति गहन हुने हो ।

लघुकथामा कथानक ओजपूर्ण हुने बित्तिकै राम्रो लघुकथा बन्छ भन्ने कुरा होइन । अकबरी सुनलाई पनि एउटा निश्चित तथा सुन्दर आकारमा ढालेपछि मात्र त्यो सुन्दर गहना बन्छ । सुनको ढिक्का थुपार्नु गहना होइन ।

यसो भएकाले सिर्जनामा बुनौट अति महत्त्वपूर्ण कुरा हो । साहित्य शास्त्रमा बुनौटलाई रूपविधान वा रूप विज्ञान भनिन्छ । त्यो सिर्जना कस्तो खालको हो ? भन्ने कुरा उसको रूप हेरेर भन्ने हो । मान्छे, हात्ती, चरा, किरा आदिका जातिप्रजाति छुट्याउने आधार उसको रूप हो । साहित्यका अनेकन् विधामा एकबाट अर्को विधा छुट्याउने आधार पनि सिर्जनाको रूप हो । उपन्यास, कथा, लघुकथा आदि छुट्याउने आधार भनेको पनि रूप हो । अर्थात् बुनौट हो ।

लघुकथा अलग्गै र छोटो आख्यान भएकाले यसको रूपविधान पनि अलग्गै छ । त्यही रूपविधानका कसीमा राखेर कुनै छोटो आख्यानात्मक सिर्जना लघुकथा भयो कि भएन भनेर हेर्ने हो । प्रस्तुतिको प्रभावजन्यता हेर्ने हो । छोटो हुँदैमा लघुकथा बन्ने होइन ।

रूपविधानका आधारमा हेर्दा लघुत्व, संक्षिप्तता, तीव्रता, एकोन्मुखता, प्रतिध्वन्यात्मकता, प्रभावजन्यता, आकस्मिकता, कौतुहलता, आदि महत्त्वपूर्ण आधार हो । यसो भएकाले लघुकथाको शीर्षकमा नै लघुत्व, कौतुहलता, विषयसँग आबद्धता हुनु जरुरी नभए पनि सुन्दर भने हुन्छ ।

मेरो नाम खेमराज पोखरेल पनि वर्तमानमा लामो हुन थालेको छ । मेरो नाम खेमराज प्रसाद शर्मा उपाध्याय पोखरेल पनि हुन सक्थ्यो । तर वर्तमानमा त खेमराज नाम पनि छोटो पारेर सबैले ‘खेम’ मात्र भन्ने गरिन्छ । त्यसैले लघुकथाको शीर्षकीकरण भनेको ‘खेम’ मात्र हो । खेमराज प्रसाद शर्मा उपाध्याय पोखरेल होइन ।

लघुकथाको उठानमा आकस्मिकता, कथावस्तुको आयाममा संक्षिप्तता, पात्रमा सीमितता, विकासमा वक्ररेखीय तीव्रता, उत्कर्षमा चुस्तता, समापनमा प्रतिध्वन्यात्मकता आदि नै आधार हुन् । लघुकथालाई चरम उत्कर्षमा पुर्याएर हठात् समापनमा पुर्याउनु पर्छ भनिन्छ । कथ्य विस्तार वा समापन विस्तार लघुकथाका बाधा हुन् ।

‘अन्त्यहीन परिधि’का लघुकथालाई यिनै कसीका आधारमा हेर्दा अनेकन् विशेषताहरू देखिन्छन् । लघुकथाका शीर्षक मिलेका छन् । शीर्षकीकरणका सवालमा सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ कृतिभित्रका सबै लघुकथाहरूको प्रतिनिधित्व हुने गरी कृति शीर्षक राख्नु हो ।

उठानमा आकस्मिकता तथा उत्कर्षमा चुस्तता छन् । सन्देश प्रधान छन् । सन्देशका साथमा व्यङ्ग्य प्रवाह गर्छन् । समापनमा विवृत तथा संवृत समापनको प्रयोग भएको छ । प्राय सबै लघुकथामा एकोन्मुखता छ । लघुकथाका आधारभूमि वा भावभूमि नेपाली समाज नै रहेको छ । प्रस्तुतिमा विवरणानात्मक तथा सम्वादात्मक शैलीलाई अङ्गीकार गरिएको छ । कृतिभित्रका केही लघुकथाले प्रगतिशील धार पनि समातेका छन् ।

‘उपचार’ (पृ १२३) लघुकथाले थोरै भए पनि प्रगतिशील थिम बोकेको छ । कथानकले कम्तीमा सरोगेट मदरको अवधारणालाई त मानेको छ । यद्यपि सरोगेट मदरको भूमिका देखाउनु लघुकथाको उद्देश्य होइन, आमाको माया देखाउन खोजेको हो । यो थिम भने आदर्शवादमा छ ।

यसै गरी ‘परोपकार’ (पृ ८३) लघुकथाले ढुङ्गाको पनि प्राण प्रतिष्ठा हुन्छ र ? भन्ने विद्रोहात्मक स्वर उठाइएको छ । ‘इज्जतको ठेक्का’ (पृ ८४) लघुकथामा परस्त्रीगामी तथा रक्सी खाएर सधैँ पिट्ने लोग्नेलाई समाजको डर नमानी महिला पात्रले डिभोर्स गरेको अवस्था देखाइएको छ । यो कथ्यलाई प्रगतिकामी धार भन्न सकिन्छ ।

यसबाहेक कथावस्तुका हिसाबमा विविध सामाजिक विषयवस्तुलाई लघुकथाले सामल बनाएको छ । कोरोना कहर (क्वारेन्टाइन २९), राजनीति, नेपालको हिमालको स्रोत, जिगोलोको बेथा (बाध्यता २६), टेस्टट्युब बेबीको अवधारणालाई पनि कथानक बनाइएको छ । यसैगरी सांस्कृतिक प्रवर्धनको कुरा पनि उठाइएको छ । कथावस्तुलाई मार्मिक बनाउन प्रयत्न गरिएको छ ।

लघुकथामा साङ्केतिकताको प्रयोग गरेको देखिन्छ । यो ज्यादै महत्त्वपूर्ण विशेषता हो । घिउ तथा आगोको सङ्केतमा जीवनबोध, सङ्घर्षको सङ्केतमा दर्शनढुङ्गा घोटेर आगो बालेको तथा छिमेकीले घरको सिमाना स्वतन्त्रता र सार्वभौमिक सत्ता सबै खल्तीमा हालिसक्दा पनि उसैले दिएको घाँस खाएर बसिरहने भेडा अर्थात् नेपालका नेता आदिलाई सङ्केत गरी कथावस्तुको निर्माण गरिएको छ ।

राष्टभक्तिको कथानक (‘चिन्ता’ पृ ८७) छ । सालिक भत्काउने र माला लाउने मात्र काम छोडेर देशको लागि काम गर्ने सन्देश पृथ्वीनारायण शाहको सङ्केतमा अभिव्यक्त भएको छ । साहित्य तथा साहित्यकारका अनेकन् पाटाहरू उजागर पारिएको छ । सकारात्मक भाव तथा महिला हिंसाका बारेमा लघुकथामा यथेष्ट वर्णन गरिएको ।

यी विशेषताका आधारमा हेर्दा कर्मचारीतन्त्रभित्रको इमान्दारको अवस्था देखाउने लघुकथा (सजाय ५१), सिंहदरबारभित्र न्याय मरेको कथानक (हबिगत ५८), मधेसको कार्यपीठिकामा सासूससुराले बुहारीलाई पढाउने चेत देखाइएको सकारात्मक जीवन तथा चेत बोकेको कथानक (अनपेक्षित १०२), हिमाली जीवनको दुःखी पाटो (अर्को पाटो १०९),  सिमाना मिचेर सीमास्तम्भ सार्दा, सिमानाका मान्छेलाई दुःख दिँदा पनि नबोल्ने सिंहदरबारका प्रति व्यङ्ग्य ‘सिमाना र सिंहदरबार ११३), नेपालको तुइन राजनीतिप्रति व्यङ्ग्य  (शृङ्खला ११९),  विज्ञानको आविष्कारले मान्छेको दिमागमा पारेको अस्तित्वको प्रभावबारे लेखिएको (चुनौती १२१) आदि ज्यादै स्तरीय लघुकथा हुन् ।

कृतिभित्र गवेषण गरिरहँदा झिनामसिना सुधार गरिएको भए हुन्थ्यो भन्ने त लागिहाल्छ । किनभने कमीकमजोरी भन्नु पनि अनुपातीय हुन्छ । कुनै पनि व्यक्ति, कृति वा स्वरूप अविवेचीय हुन्न । सिर्जनाको पनि कुनै जेनिथ हुन्न । यो संसार अपूर्णताले बनेको छ । पूर्णता स्रष्टाको कदम हो । यद्यपि पाउने फेरि पनि अपूर्णता नै हो । यही अपूर्णता र पूर्णताका बिचमा चलिरहने घम्साघम्सी जीवन हो । त्यसैले जीवन अन्त्यहीन परिधि हो ।

लघुकथाहरू पढिरहँदा कतिपय लघुकथा भारतीय लघु सिनेमाबाट प्रभावित छन् (प्राप्ति २३) कि जस्तो लाग्छ । यद्यपि प्रभाव नै त हो सिर्जनाको मुहान हो । केही लघुकथा छोडेर धेरै लघुकथामा कथ्यविस्तार भएको जस्तो लाग्छ । यो कुरा यसरी पनि पुष्टि हुन्छ कि १२८ पृष्टको पुस्तकमा १८ पेज भूमिका खण्ड छोडेर बाँकी ११० पेजमा ५२ ओटा लघुकथा छन् । अर्थात् सरदर एउटा लघुकथाले दुई पेजभन्दा बढी खाएका छन् । झन्डै तीस प्रतिशत लघुकथाहरूले तीन पेजका दरले खाएका छन् । यसले नै लघुकथामा कथ्यविस्तार भएको प्रमाण दिन्छ ।

भनिन्छ कि लघुकथामा प्रयुक्त कथानकको प्रभावजन्यता सशक्त हुनु पर्छ । तर प्रस्तुत कृतिमा सामान्य कथावस्तुलाई पनि लघुकथा बनाएको प्रतीत हुन्छ । मोबाइल बनाउन दिएको हुनाले छटपटी आएको, आफ्नै भाइले दिदीसँग अरूलाई दिनेभन्दा बढी लिएर गहना बेचेको, मान्छेले धर्म छोडेको भनेजस्ता विषय पनि लघुकथा भएका छन् ।

आख्यानमा लेखक नबोलेर पात्र तथा घटना बोल्ने हो । निबन्धमा लेखक बोल्ने हो । नाटकमा नाटकीकरणका माध्यमबाट बोलिने हो । कृतिभित्र समेटिएका धेरै लघुकथाहरूमा पात्र र घटना नबोलेर लेखक बोलेको प्रतीत हुन्छ । लघुकथाहरूले इस्युज उठाउने तर विद्रोहको आवाज प्रवाहित गर्न डराएको हो कि भन्ने आभास हुन्छ । छोरीलाई गुण्डाले खेद्ने तर कथानकले विद्रोह नगर्ने बरु योनिलाई दोष दिने जस्ता लघुकथा छन् ।

वास्तवमा लघुकथाको कथानकका बारेमा सोच्दा चिन्तनमननको आवश्यकता पर्छ । उठाइएका विषयका विविध पाटामाथि चिन्तन गरेर सत्य कुरा पत्ता लगाउने जमर्को गर्नु पर्छ । यो कुराको भने कमी हो कि जस्तो लाग्छ । उदाहरणका रूपमा पश्चिमा संस्कृतिको प्रभाव र सामाजिक सञ्जालको दुरुपयोग ले गर्दा वर्तमानमा श्रीमान् श्रीमती बिचको सम्बन्ध बिग्रेको भनिएको छ । यो कुरा साँचो हो र ?, योभन्दा पहिले राम्रो थियो र ? महिलाको अवस्था पनि राम्रो थियो त ?? राम्रो किन देखिएको हो भने परिवारमा श्रीमतीको कुनै भूमिका नै थिएन । अब श्रीमतीले आफ्नो अधिकार खोज्न थालेकाले हो नि बेमेल त ।

पाठकबिनाको सिर्जनाको के काम भन्ने सन्देश प्रवाह गरिएको छ । वर्तमान साहित्यवृत्तमा यो निकै चखिलो विषय पनि हो । तर सोचेर ल्याउँदा सिर्जना पाठकका लागि गर्ने हो कि होइन ? साहित्य सर्जकले पाठकका कुरा लेखे कि आफ्ना मनका वा आत्माका उद्वेग लेख्ने ?

अधिकांश लघुकथाहरू आदर्शवादमा छन् । कतै धर्मको आदर्श, कतै परम्पराको आदर्श, कतै लैङ्गिक आदर्श, कतै लोग्नेस्वास्नीका आदर्श, कतै जीवनको निस्सारताको आदर्श, देशमै मरेको राम्रो भन्ने आदर्श र धेरै परम्परावादी आदर्शमा लेखिएका देखिन्छन् । आदर्शमा लघुकथा लेखिनु यथास्थितिवादी समाजका लागि निकै आकर्षक क्षण हो । मान्छे आदर्श कल्पेर नै बस्छ । तर यथार्थ कुरा चाहिँ के हो भने आदर्शवादले जीवन भने चल्दैन । समाजमा परिवर्तन पनि आउँदैन ।

यथास्थितिवादी आदर्शका उदाहरणका रूपमा लघुकथा प्रवृत्ति (पृ १९) लाई लिएको छु ।

यो लघुकथामा राम्री स्वास्नी भएको लोग्ने पनि विवाहेत्तर सम्बन्धमा छ । स्वास्नी राम्री, विदुषी पनि छ । र स्वास्नीले लोग्नेलाई भनेकी पनि छिन्, ‘ममा के कमी छ र ? किन तिमी आइमाई फेरी फेरी हिँड्छौ ? अग्नि साक्षी राखेर जोडेको हाम्रो मायाको पवित्र नातामा किन धोकाको दुर्गन्ध ? छी ।’

लोग्ने चाहिँ भन्छ : ‘लोग्नेमान्छे हुँ,  अलिअलि त्यस्तो भैहाल्छ नि । भोक लाग्दा खान खोज्नु त्यति ठूलो अपराध होइन ।’

स्वास्नी चाहिँ भन्छे, ‘म पनि पढेलेखेकी  र राम्री छु । चाहने हो भने तिमीभन्दा गुणी, धनी र सुन्दर लोग्ने पाउँदी हुँ । तर वैदिक सनातन धर्म र भगवान् समान मेरा बाआमाले त्यस्तो सिकाएर हुर्काएका छैनन् बुझ्यौ ?’

समापनतिर पुग्दा स्वास्नी कसैको बाइकबाट झरेर गेटभित्र पसी ।

लोग्नेले भन्यो, ‘त्यो को हो ?’

स्वास्नीले हतार हतार भनी, ‘मान्छे चिन्न पनि छाड्नु भयो ? ऊ पाटीभरे मामाको छोरा के त । मामा बितेर भेटी छाड्न गएकी थिएँ ।’

यो लघुकथा यथास्थितिवादी आदर्शवादमा लेखिएको छ । परम्परागत आदर्शमा भए त श्रीमतीले श्रीमान्लाई प्रश्न गर्नै हुन्नथ्यो । श्रीमतीलाई आफ्नो लोग्ने परस्त्रीगामी भएको भन्दा ठूलो डर छ कि लोग्नेले गलत सोच्ने हो कि !

यो लघुकथाको वैचारिक आधारभूमि वैदिक सनातन धर्म र भगवान् समान आमाबुबाको अवधारणाले बनाएको यथास्थिति हो । लोग्नेले विवाहेत्तर सम्बन्ध राख्दा पनि श्रीमतीको विद्रोह छैन । बरु याचना छ । याचना गर्नु आदर्शवादी चिन्तन हो । परम्परालाई कायम राखेर नयाँ युग आउँदैन । यथास्थिति धार पनि परम्परावादकै कान्छो भाइ मात्र हो ।

अब सुकुलको बिटमा पुगेको छु । समय यति बलशाली छ कि मैले सो बिट छोड्नु छ । किनकि जीवन अन्त्यहीन परिधिमा रुमलिएको छ । लघुकथाकार इन्दिराले जस्तै म पनि बोध गर्न थालेको छु कि जीवन एउटा अन्त्यहीन यात्रा हो । यात्रालाई सुन्दर, सुखमय तथा समयानुकूल बनाउन केही कोसे ढुङ्गा गाड्नु, मिलाउनु, सोझ्याउनु वा त्यसको रूपलाई सिँगार्नु वाञ्छनीय नै हुन्छ ।

यसो भएकाले कृतिभित्र रहेका वैचारिक धारलाई अझै उजिल्याउन पाएको भए पनि हुने र त्यसमा कथ्यमा आएको विस्तारलाई छिमल्दै कोसे ढुङ्गा गाड्नु पो पर्ने हो कि भन्ने लागेको छ ।

इन्दिरा ! आफ्ना लेखौटका चिन्तनलाई ‘थियोरी अफ डाउट’ का भाँडामा तताउँदा विचार खारिने हो । लेखकले उठाएका विचार वा मुद्दालाई प्रश्न उठाएर सन्देह प्रकट गर्ने र, आफैँ निचोड निकाल्ने पद्धति थियोरी अफ डाउट हो ।

अब एकदम तुर्ने मुडमा छु । पाठक महोदय जो यो प्रक्रियाका मूल मियो हुनुहुन्छ, उहाँहरूलाई भन्छु कि लघुकथाकार इन्दिरा चापागाई‌ंमा एउटा विशेष र महत्त्वपूर्ण विशेषता छ । सरकारी जागिर धानेर, घरव्यवहार मिलाएर र पछिल्लो कालखण्डमा साहित्य साधनामा लागेको स्रष्टा हो इन्दिरा । लेख्न थालेको एकाध वर्षमै उनको लघुकथा लेखन उचालिएको छ । उपल्लो कोटीमा पुगेको छ । त्यो भनेको लघुकथाकारको प्रतिभा मात्र होइन, प्रतिभा अभ्यास हो । स्तरीय लघुकथा कसरी लेख्ने भनेर निरन्तर लागी पर्ने भोक तथा अभ्यास नै यो कृति प्रकाशनको कारण हो । स्तरीय लघुकथा बन्नुको कारण हो ।

अब अन्त्यमा, ज्यादै सुन्दर भाव प्रक्षेपण गरेर लघुकथा लेखेकोमा लघुकथाकार इन्दिरा चापागाईंलाई बधाई । अन्त्यहीन परिधिको सफलताको शुभकामना । लघुकथाकार इन्दिराकोे अर्को घच्चीको लघुकथासङ्ग्रह यथाशीघ्र प्रकाशन होस् भन्ने शुभकामना प्रकट गर्दै बिदा हुन्छु ।

जय लघुकथा

सान मार्कोस, अमेरिका