पात्र नम्बर एक – काठमाडौंमा दुई वटा घर, विराटनगर र इटहरीमा एउटा एउटा घर भएका  अनि तीन जना काम गर्ने सहयोगी समेत भएका एक वृद्ध दम्पतीले मलाई बारम्बार भन्ने गर्छन्, ‘छोराछोरी विदेशमा छन् । हामीलाई हेर्ने मान्छे कोही पनि भएन । बुढेसकालमा कोही पनि सहारा नै भएन । मर्ने बेलामा कसले पानी दिन्छ ?’ घरमा खाना पकाउने,  भान्सा सफा गर्ने, भाँडा माझ्ने, बगैंचामा फूल रोपिदिने देखि लिएर गाडी चलाएर बाहिर भनेको ठाउँ ठाउँमा डुलाउन, घुमाउन र परिहाल्यो भने अस्पतालमा लान–ल्याउन समेत छुट्टाछुट्टै व्यवस्था छ । रपनि उनीहरू सधैं एक्लो नै ठानिराख्छन् । बाहिरी मानिसले झट्ट हेर्दा के देख्छन् तर मेरो आँखाले हेर्दा उनीहरूलाई कुनै पनि सहारा जरुरी नै छैन र सम्पन्नताको पनि चरम सीमामा उहाँहरू हुनुहुन्छ ।

काठमाडौंका यी वृद्ध दम्पतीले यस्तो गुनासो सुनाइरहँदा  पात्र नम्बर दुई – मेरो नजिकै  एउटा ३३ तल्ले  बिल्डिङको अपार्टमेन्टको एउटा कोठामा एक्लै बस्छिन् । उनको नाम जेनिफर हो र ९० वर्षकी भइन् । मैले भेट्दा उनी डेटिङमा जान हतारोमा थिइन् । टाइट जिन्स, टिसर्ट, कालो चस्मा अनि मगमग बास्ना आउने पर्फ्यूम लगाएर आफ्नो वाकर घिसार्दै  हिंडेपनि कुनै जवान महिला भन्दा कम देखिन्नन् । जेनिफर डेटिङमा के लुगा लगाउने, कुन रङ्गको नङपालिस लगाउने, पर्फ्यूम कस्तो छर्कने, कुन हेयर सैलुनमा कपाल रङ्ग्याउने भनेर केही दिनदेखि नै तयारीमा जुटेकी हुन्छिन् ।

त्यति मात्रै नभएर आफ्नो ब्वाइफ्रेन्डलाई भूगोल र इतिहासमा बढी चाख भएकाले उनी लाइब्रेरी गएर विभिन्न रिसर्च तथा अनुसन्धान गरेर कुराकानी गर्नका लागि तयारी पनि गर्छिन् । उनको पुरानो ब्वाइफ्रेन्ड लण्डन बसाइँ सरेर गएपछि केही महिनाअघि मात्रै चर्च जाने आउने क्रममा नयाँ फेला पारेकी हुन् र महिनामा एक पटक डेटिङमा निस्कन्छिन् । “नयाँ ब्वाइफ्रेन्ड भएपछि नयाँ कुरा सिक्ने अवसर पनि पाइँदो रहेछ र त्यसै त्यसै शरीरमा ऊर्जा पनि आउने रहेछ ।” उनी भन्छिन् ।

जाडो मौसममा भने उनी खासै कसैलाई भेटघाट गर्न रुचाउँदिनन् । फोनमै कुराकानी गर्ने, पढ्ने–लेख्ने र टेलिभिजन हेर्ने गर्छिन् । तर समर महिनामा भने डेटिङ  बाक्लै हुने गरेको बताउँछिन् । यसरी डेट गर्दा बढी खर्च लाग्ने भएकाले अनावश्यक खर्च कटाएर आपसी समझदारीमा बराबर खर्च गर्ने गरेकी छन् ।

जेनिरले दराजमा रहेका लुगा फाटो लगायतका घरमा रहेका सम्पूर्ण सरसामानहरू व्यवस्थित ढङ्गले  पट्याएर राखेको सात वर्ष भयो ।  उनी हरेक दिन खाना खाइसकेपछि भाँडाकुँडा, किचन र बाथरुम लगायत सम्पूर्ण कुरा राम्रोसँग सफा गरेर मात्रै सुत्छिन् । कारण उनलाई रातमै कथम् कदाचित केही भएर मरिहाले पनि भोलिपल्ट उनको अपार्टमेन्टमा नयाँ बस्न आउने मान्छेलाई त्यहाँ फोहोर नलागोस् र उनले प्रयोग गरेका सरसामान फाल्नलाई कसैलाई झन्झट नहोस् भन्ने उनी चाहन्छिन् ।  अनि बैंकमा रहेको आफ्नो पैसा पनि  कसलाई दिने कुन स‌‌ंस्थालाई दिने भनेर सम्पूर्ण कानुनी प्रक्रिया पनि मिलाइसकेकी छन् । त्यति मात्रै नभएर उनले आफ्नो मृत्युपछि आफूलाई गाड्ने चिहानको लागि पनि आठ हजार डलर बुझाइसकेको बताउँछिन् ।

“म आजसम्म निरोगी छु र आफ्नो काम आफै गर्न सक्छु । तरपनि  उमेर पाको हुँदै गएका कारण भोलि के होला भनेर तैयारी मात्रै गरेकी हुँ । त्यसको मतलब म आजै मरिहाल्छु भनेर खुट्टा तानेर बसेको चाहिं होइन । म जीवनका हरेक पल आजै मनोरञ्जन गरेर बाँच्न चाहन्छु । भोलिको कुरा के थाहा ?”  उनी भन्छिन् ।

यी दुईजना पात्रले मलाई  बेला बेलामा झस्काई रहन्छन् । आधुनिक विज्ञान, चिकित्साशास्त्र र औषधिले संसारभर मानव जीवनलाई अलिकति लम्ब्याइदिएको छ । जब जब मृत्युको प्रसङ्ग आउँछ अनि मलाई आफ्नो कर्मभूमि अमेरिकाका नरसिंगहोम, एसिस्टेड लिभिङ फैसिलिटी र सेल्टरहरूमा दैनिक मर्ने मानिसहरूको झलझली याद पनि आउँछ । न्यूयोर्कमा मैले धेरै  गुमनाम मृत्युहरू देखेँ जहाँ न कोही हात समाउने नै छ, न त भनेको बेलामा पानी पिलाइदिने नै ।  कोही पनि अगाडि रहँदैन  । अस्पताल आफ्नो सेटिङमा राम्रोसँग चलिरहेको छ र सेटिङअनुसार नर्स र डाक्टरहरू पनि छन् । तर बिरामीको चापले थकित र लखतरान हुन्छन् ।

अमेरिकामा सय वर्ष अगाडिसम्म कोही मानिस जन्मनु, बुढ्यौली हुनु र मृत्यु हुनु एउटा धार्मिक इभेन्ट जस्तो हुन्थ्यो र नजिकका नातेदारहरू, छोराछोरी सबैजना वरिपरि बसेर हेरचाह गर्ने गर्थे । आफन्तको मृत्युलाई नजिकबाट हेर्थे, नियाल्थे, अनुभव गर्थे र सबै मिलेर दाह संस्कार पनि गर्थे । फर्केर आएर पनि मृतकको सम्झना गर्थे, गुणगान गाउने गर्थे । तर बिस्तरै मान्छेको बुढ्यौलीसँगै हुने मृत्यु पनि घर परिवारबाट विभिन्न स्वास्थ्य स‌ंस्थाहरूमा हस्तान्तरण हुन थाल्यो । अनि हरेक व्यक्तिको मृत्यु पनि नितान्त व्यक्तिगत विषय  बन्न थाल्यो । त्यसपछि जीवन जिउनु, बुढो हुनु र मृत्यु हुनु पनि नितान्त निजी विषय बन्न पुग्यो । सन् १९४९ मा नै ४९.५ प्रतिशत मृत्युहरू स्वास्थ्य संस्थाहरूमा हुने गर्थे भने सन् १९८० मा पुग्दा ७४ प्रतिशत मान्छेहरू घरबाहिर स्वास्थ्य संस्थाहरूमा नै मर्न थाले ।

विभिन्न सर्वेक्षणअनुसार पछिल्लो समय अमेरिकनहरू पनि घरमा नै मर्ने चाहाना राख्छन् । किनभने घरमा बढी शान्त र आफन्तहरूको मात्रै आवत जावत भैरहेको हुन्छ । तर घरमै बस्छु र मर्छु भने पनि यस सम्बन्धी काम गर्ने विभिन्न एजेन्सीहरूले नर्सिङ र केयर गिभर दिएको हुन्छ र सबै कुरा संस्थागत नै गरिएको हुन्छ । मृत्यु नितान्त व्यक्तिगत विषय हो र स‌ंस्थागत पनि हो । तर समाज र परिवारको त्यति चासो र सरोकारको विषय भने होइन ।

बुढेसकाल प्राकृतिक हो र यो सबैलाई आउँछ, सबैले एकदिन मर्नुपर्छ । तर नेपालको सामाजिक संरचनामा एक्लै बाँच्ने र मर्ने भन्ने सिकाइएको नै छैन । सामान्यतः मान्छेहरू भन्ने गर्छन् कि बुढेसकालमा छोराछोरीको सहारा चाहिन्छ । मरेपछि किरिया कसले गर्छ ? यस्तै यस्तै कुराहरू । नाता सम्बन्धहरूले निरन्तरता पाएकै कारण  परिवार वरिपरि होस् भन्ने चाहाना राख्नु स्वाभाविकै हो ।  तर   बुढेसकालमा के गर्ने भन्ने सामान्य योजना नहुँदा अनुभव र ज्ञानको अपार भण्डार हुँदाहुँदै पनि बुढेसकाल अशान्ति र कष्टले भरिएको देखिन्छ । त्यहीं समाजका बूढाबूढीहरूको दुःख कष्ट देखेर होला ५० कटिसकेका मानिसको मुखबाट म त ७०/७२ भन्दा बढी नबाँचूँ भन्ने सुनिन्छ ।

जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा स्वास्थ्य मानिन्छ भने दोस्रो महत्त्वपूर्ण कुरा धन । स्वास्थ्यले नै उसको चाहना, इच्छा तथा क्षमताको निर्धारण गर्छ । तर मानिसहरू बुढेसकाल कसरी र कस्तो बिताउने भन्ने योजना नै नगरेका कारण चिन्तित रहेको पाइन्छ ।

परम्परागत ढङ्गले हेर्ने हो भने अमेरिकामा ६५ वर्ष पछिको उमेरका मानिसहरूलाई बुढेसकाल मानिन्छ । तर अहिले अमेरिकामा लोग्ने मानिसहरू ७०/७१ वर्ष र आइमाईहरू ७३ वर्षमा बुढेसकाल लागेको अनुभव गर्छन् । ब्रिटेनमा एक दशक अगाडिसम्म पनि ५९ वर्ष पछिको उमेरलाई बुढेसकाल लागेको मान्ने चलन थियो । तर अहिले ७० वर्ष पछि मात्रै आफूलाई बुढेसकाल लागेको विश्वास गर्न थाल्छन् । सामान्यतया ढाड, कम्मर, घुँडा दुख्ने, कान कम सुन्दै जानु, आँखा कम देख्नु, सुगर, उच्च रक्तचाप, डिमेन्सिया, अल्जाइमर्स, डिप्रेशन जस्ता रोगहरू बुढेसकालका लक्षणहरू हुन् ।

अमेरिकामा आफूलाई बढी महत्त्व दिइन्छ । आफ्ना खुशीको पहिचान आफै गर्ने र त्यसैमा केन्द्रित भएर रमाउने । धेरै जसो मानिस जीवनभर समय नपुगेर गर्न नपाएका कुराहरू रिटायर भएपछि गर्दा रहेछन् । कोही अध्यात्ममा लाग्ने दैनिक चर्च जाने वा कोही विश्वभ्रमण गर्ने, कोही किताब लेख्ने वा पढ्न मन लागेको विषयमा कलेज भर्ना हुने गर्दा रहेछन् ।

धेरै जसो बुढेसकालमा पनि सक्रिय यौनजीवन बिताउने गर्दा रहेछन् ।  यौन  जीवनले पनि उनीहरूलाई खुशी र तन्दुरुस्त राख्नमा ठूलो मद्दत पुर्याउँदो रहेछ । नाति–नातिनाहरूको अगाडी र्‍याल चुहाएर असक्त र असक्षम व्यक्ति हुनु भन्दा पनि एउटा फुर्तिलो व्यक्तिको रूपमा आफूलाई चुस्त दुरुस्त रूपमा उभ्याउन लागिपर्दा रहेछन् ।

भन्न खोजेको कुरो के हो भने, हुने खानेहरूले आफ्ना छोरा छोरीलाई सानै उमेरदेखि राम्रो शिक्षा दिने नाममा पश्चिमीपूर्ण व्यक्तिवादी समाज र संस्कारमा पढ्न पठाउने अनि बुढेसकालमा सहारा भएन भन्नु  पनि बेकारको कुरा रहेछ । बिस्तारै उपभोक्तावादी र व्यक्तिवादी कल्चरमा घुलमिल हुँदै गइसकेपछि मान्छे चुर्लुम्मै डुब्छ ।

यदि बुढेसकालमा साँच्चिकै सहारा चाहिने हो भने,  र आफ्ना नाता सम्बन्धहरूलाई निरन्तरता दिएर आत्मीय सम्बन्ध बनाइराख्ने हो भने सरकारले आफ्नै नेपाली सामाजिक सांस्कृतिक संरचनालाई दिगो बनाएर स्वदेशमै हरेक छोराछोरीलाई शिक्षा र रोजगारीको बन्दोबस्त गर्नु पर्छ  कि त  सरकारले नै बुढेसकालमा बलियो सहारा दिन सक्नुपर्छ ।