निर्भीकजंग रायमाझीद्वारा लिखित कवितासंग्रह “त्यसरी त कहिल्यै सोचिएन”  वर्तमान साहित्य बजारमा निकै चर्चाको उत्कर्षमा छ ।

यस संग्रहभित्र जम्मा ५० वटा कविता पाँच खण्डमा विभाजित गरिएका छन् । चर्चित चित्रकार चिराग बाङ्देलद्वारा सिर्जित अमूर्त आवरण जो कोहीलाई पनि हठात् देख्ने बित्तिकै आफैमा सम्मोहकको प्रतिविम्ब लाग्न सक्दछ । यो कवितासंग्रहलाई कलम प्रकाशनले बजारमा ल्याएको छ र यसभित्र तुलसी दिवस, विप्लव प्रतीक, श्रवण मुकारुङ, ज्योति जङ्गल र रमेश क्षितिजका सटीक प्रतिक्रिया र टिप्पणीहरू छन् ।

त्यसरी त कहिल्यै सोचिएन

त्यसरी त कहिल्यै सोचिएन

निर्भीकको यो पहिलो कवितासंग्रह हो । उनी मूलतः नेपालको विभिन्न साहित्यिक गोष्ठी, वैचारिक आन्दोलन र थुप्रै अनलाइन पत्र-पत्रिकामा सक्रिय भएर कलम चलाउँदै आएका एक प्रतिभाशाली कवि तथा पत्रकार हुन् । हालै उनी संयुक्त अधिराज्य बेलायतमा अध्ययनको सिलसिलामा आएका छन् । उहाँसँगको परिचय सम्झिनु पर्दा कवि नरेश काङमाङ राई ज्यूलाई श्रेय जान्छ । उहाँसँगको परिचयपश्चात् उहाँको कवितास‌ंग्रह ‘त्यसरी त कहिल्यै सोचिएन’ सँग पनि परिचित हुने मौका मिल्यो ।

पुस्तकभित्र उनले प्रयोग गरेका भाषाशैली, शिल्प र शब्द जति सरल र सुरम्य छन् उतिकै कविताका विषयवस्तु गम्भीर र गहन पनि छन् । विम्ब निर्माणमा उनी बडो सचेतनका साथ शब्दहरूलाई खेलाउँछन् र खिपेर लेख्छन् जो अरू कविहरूको भन्दा पृथक् र मौलिक छन् ।

“त्यसरी त कहिल्यै सोचिएन” शीर्षक कवितामा कवि आफूलाई सामान्य कुराले पार्ने असामान्य प्रभाव बारे बडो सरल र संवेदनशील भएर आफ्ना भाव व्यक्त गरेका छन् । हामी धेरै पटक अरूलाई प्रश्न गर्छौं, अरूको निन्दा र आलोचना गर्छौं तर आफूले आफ्नो मूल्याङ्कन कमै मात्र गर्छौं । मलाई लाग्छ निर्भीकको यो कविता आत्मालोचनात्मक चेतको उपज आएको निष्ठापूर्वक अभिव्यक्ति हो ।

संग्रहभित्र निर्भीकले आफ्ना उदासीनता, नैराश्य र  कोमल भावनाका बहावलाई प्रकृतिको अनुपम सौन्दर्य मार्फत फुकाएका छन् । यो साँचो हो कि कवि र प्रकृति एक अर्काका परिपूरक हुन् । प्रसिद्ध साहित्यकार स्व. जगदीश घिमिरे भन्नुहुन्थ्यो, “मनका बह सबलाई कह” । हो निर्भीकले पनि आफ्ना मनका बहलाई प्राकृतिक विम्ब मार्फत पोखेका छन् । आफ्नो जीवनको अस्तित्व, जीवनको क्षणभङ्गुर चित्र, मनभित्रको छटपटी, वियोगका स्मृतिहरू आदीलाई आफै प्रकृतिको अभिन्न अङ्ग भएर बाँचेका छन् साथै प्रकृतिमा आफ्नै प्राण भरेर त्यसको अस्तित्व जोगाउन मानवजातिसँग आग्रह पनि गरेका छन् ।

निर्भीकले आफ्नो पत्रकारिताको दौरानमा विभिन्न स्थानका जीर्ण र अव्यवस्थित अवस्थामा रहेको प्राचीन पुरातात्त्विक सम्पदाको प्रवर्धन र संरक्षण गर्ने सत्कर्ममा आफूलाई समर्पित  मात्र गरेनन् । ती प्राचीन कलाको असली सिर्जनाकारको पक्षमा उनी कविता मार्फत उभिएका पनि छन् । हामी जहिले पनि मन्दिरलाई स्थान दिन्छौं तर मन्दिरको पूजाहारी या त्यो मन्दिर बनाउने कलाकारलाई अथवा मूर्ति बनाउने मूर्तिकारलाई त्यति महत्त्व दिदैनौं । वास्तवमा भन्ने हो भने स्रष्टा बिना सिर्जना नै हुँदैन यसकारण हामीले सिर्जनालाई जति महत्त्व दिन्छौं स्रष्टालाई पनि उति नै सम्मान र महत्त्व दिनुपर्दछ । यो कविताको एक टुक्रा हरफमा तिनै असली स्रष्टाहरूको स्पन्दन भएर उनी बोलेका छन् –

“तर गहिरो नजरले हेर्छु जब यी बुट्टाहरू
प्रत्येकपल्ट भेट्छु, की महान् कलाकारका मसिना हस्तरेखा
र सुन्छु, एकोहोरो कोही रोइरहेको ध्वनि
निस्पट्ट अँध्यारोमा देवलमुनी” ( देवलमुनी शीर्षकबाट )

यो अलि हास्यास्पद प्रश्न हुनसक्छ । के कविहरूले राजनीति गर्छन् ? अथवा के कविहरू राजनीतिबाट अछुतो रहन्छन् ? मलाई लाग्छ अछुतो रहँदैनन् । देशको राजनैतिक सदगर्मी यती बढेको छ हामी प्रतिदिन कुनै न कुनै राजनैतिक काण्डहरूले भरिएका समाचार पढिरहन्छौं ।

“शीतल निवासको गर्मी” यस संग्रह भित्रको चर्चित कविता हो । महेन्द्र राजाले १७ सालमा गरेको कु पश्चात् वैरागी काइँलाले लेखेको कविता “मातेको मान्छेको भाषण मध्यरात पछिको सडकसित” होस् या  भूपीको “गलत लाग्छ मलाई मेरो देशको इतिहास”  होस्, कृष्णभुषण बलको “काठमाण्डू एक्लैले काठमाण्डू धान्न सक्दैन होस्” या भूपाल राईको “क्षत्री क्ष” होस्  ६२-६३ ताकाको जनआन्दोलनबाट उदाएका सडकका कवि श्रवण मुकारुङको “बिसे नगर्चीको बयान” आदिले त सडकबाट नै श्रीपेच ढालेको गरिमामय इतिहास बोकेको छ अहिलेलाई यति भन्छु निर्भीकको “सितल निवासको गर्मी” समकालीन राजनैतिक व्यथित र विग्रहमाथि चोटिलो व्यङ्ग्य मात्र नभएर यथार्थको सजीव चित्रण हो । यसो भनिरहन कुनै कविले राजनीति गर्नु पर्दैन । भविष्यमा यसले कुनै न कुनै  मानकलाई स्थापित अवश्य गर्नेछ ।

निर्भीकलाई अचेतनतासँग बाँच्न कदापि मन्जुर छैन चाहे त्यो विश्व दृष्टिकोणमा स्थापित कुनै मूलभूत मान्यता किन नहोस् । “मोनालिसा हुन” शीर्षकको विम्बछाया कविताकी लिसा गेरादिर्नीको मनोभावलाई निर्भीकले सादृश्य उतारेका छन् ।

“कठै म भमरा” मा कवि भमरा भएरै बाँचेका छन् र प्रेमको परिभाषित दृष्टिकोण भन्दा अपरिभाषित विम्बमा आफूलाई उतारेका छन् ।

दार्शनिक छटा र आध्यात्मिक सौन्दर्यले भरिएका कविताहरूमा निर्भीकले सत्यको प्रक्षेपण गर्न भरमग्दुर प्रयत्न गरेका छन् । ‘भान्सा कोठामा बुद्ध, रङ्गको विरुद्धमा, एलियटसँग सेल्फी, मर्छु कि जस्तो लागेको दिन’ यी कविताहरूमा गहिरो जीवन दर्शन, विचारको तीक्ष्णता र स्थापित जीवनको दृष्टिकोणलाई फरक कोणमा मोडिदिएका छन् ।

यस संग्रहभित्र मैले साँझ शब्द-चित्र विम्ब र प्रतीकको रूपमा निकै नै पाएँ । किन ? निर्भीकलाई साँझसँग अचाक्ली मोह रहेछ यो म उनलाई भेटेरै सोध्नेछु ।

कुनै पनि स्रष्टाले यदि केही सिर्जना गर्छ भने त्यो उसले बाँच्ने अन्तिम क्षण सम्झेर नै सिर्जना गर्नुपर्छ । भोली बाँच्छु र म अझ राम्रो केही सिर्जना गर्छु भनेर अवश्य गर्दैन । मैले निर्भीकको अन्तिम कविता पढेपछि बोध गरेको यो रहस्यलाई यतै बिसाएर आफ्नो विचारलाई पूर्णविराम लगाउँदै यति भन्न चाहन्छु कि निर्भीकको यो काव्य-यात्रामा म ऊ सँगै यात्रा गरेको छु । उसका कोमल भावलाई स्पर्श गरेको छु । उसको बौद्धिकता र क्षमतालाई झुकेर सम्मानको फूल चढाएको छु ।

यसरी अब आउने दिनमा एउटा कविसँग अर्को कविको सहयात्राले अवश्य जीवनमा सार्थकता पाउनेछ भन्नेमा म ढुक्क छु ।

प्रिय  निर्भीक !

यो काव्य यात्रामा हामी यसरी भेट हुन्छ भनेर कहिल्यै सोचिएन ।

चियर्स ।

लण्डन , साउथ ह्यारो
‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍