दुई  महिना भयो लन्डन आएको । बढो तामझामका साथ आइएको थियो ।  हीथ्रो विमानस्थलमा  ओर्लिंदा साँझ परिसकेको थियो; ओर्लिनु अघि  घिच्रो तन्काएर झ्यालको सिसामा अनुहार टाँसेर तल हेर्दा नौलाख तारा झैं लण्डनका घर, शहर, बाटाघाटाहरूमा बलेका असंख्य झिलिमिली बत्तीहरू देख्दा मन फुरुङ्ग भए थ्यो । अग्ला अग्ला अट्तालिकाहरू देखिएनन् ; शायद अँध्यारो भएकोले हो कि ।

विजयले मलाइ टर्मिनल ३ बाहिर भेट्यो, उसकै भरमा म लण्डन आएको हो । ऊ  मेरो नेपालको चिनेको मान्छे, दाइको साथी । दाइको नाममा उसले सहयोग गरेको हो ।

उसको कारमा घर पुग्दा रातीको एघार बजेको थियो । कस्तो न बडेमानको घर होला भनेको त दुई तल्ले इँटाको छाप्राले छाएको सानो चौध फिट  चौडाइ भएको तर लम्बाई निकै लामो भएको अनि अर्काको घरसित टाँसिएको सय वर्ष पुरानो भिक्टोरियन घर भाडामा लिएर बसेका रहेछन् मेरा खातिरदार भाइ विजय कुमार । चार कोठा, एक बैठक, एक  किचन भएको घर, भुइँ तल्लामा दुई, माथिल्लो तल्लामा दुई कोठा रहेछन् । मूल ढोकाबाट छिर्नु पनि अटस पटस गर्दै सङ्कीर्ण करिडोर भएर भित्र जानु पर्ने ।

घर पुगेर विजयले आफ्नी स्वास्नीसित परिचय गरायो । नाम ललिता, बच्चा छैनन् रे । दुवैजनाको उमेर शायद ३०-३५ वर्ष हुनु पर्छ । नमस्तेको आदान प्रदान भयो ।  पुग्ने बित्तिकै तातो पस्की ललिताले ।  दुई भाइले टन्न खायौं ।

लामो विमानयात्रा र त्यसपछि दुई घन्टे कारयात्रा पछिको थकाइले हाइ हाइ आउनु थालेछ ।

“अब सुतौं दाइ, भोली म सबेरै काममा जान्छु, श्रीमतीले यता उता देखाउने बुझाउने गर्नेछिन् । बेलुकी चार बजे भेट हुनेछ हाम्रो ।”

मलाई यौटा कोठामा लगे ।  मूल द्वारबाट पस्ने साथ पहिलो बायाँ कोठा; जसलाई गोराहरूले त बैठक बनाउँदा रहेछन्, तर हाम्रो साथी नेपाली परेको, शयन कक्ष नै बनाएछ । सबै थोक थियो, ओढ्ने ओछ्याउने।  ललिताले जगमा पानी र एउटा गिलास ल्याइदिइन् । अनि गुड नाइट दाइ भन्दै उनीहरू उकालो लागे । मैले पनि ढोका बन्द गरें ।  केही सामान र लुगा फाटा सुटकेसमा गुम्सेला भनेर बाहिर निकालें । यता उता छरें अनि त्यसपछि सुतें ।

मेरो कोठाको पल्लोतिर अर्को कोठा रैछ, त्यो पनि भाडामा लाएका रहेछन् । एकजना विद्यार्थी भाइ बस्दो रैछ, राती काम गर्नु जाँदो रैछ ।  माथिल्लो तलाको पछाडिपट्टि पनि एउटा ठूलो, अर्को सानो गरेर दुई कोठामा पनि भाडामा मान्छे राखेका रहेछन् ।  वाह रे, तीन  कोठाको भाडा कति आउँदो हो ।  त्यसैले होला मलाइ विजयले चिन्ता लिनु पर्दैन दाइ, खानु बस्नु मेरोमा  बन्दोबस्त छ भनेको थियो । मलाइ हाइ सन्चो भएको थियो ।

म विद्यार्थी भएर यु.के. छिरेको, कलेज सेप्टेम्बरमा लाग्छ, तर जुलाईमै भिसा लागेकोले हिँडिहालेको लन्डन ।  म आइटीमा मास्टर कोर्स गर्न आएको ।

‍‍‍‍००००

भोली पल्ट:

विजय काममा सबेरै हिंड्यो, भाडावालहरू माथिका, तलका किचनमा आएछन्, चिनजान गर्यौं, कमल र उसकी गर्ल-फ्रेण्ड रीता रे । अर्को जोडी  लोग्ने स्वास्नी, मनोज र सीता । विद्यार्थी भाइ दयाराम दाहाल रे । कलेज जाँदो रहेछ हप्तामा तीन  दिन । अरू सबै काममा नै जाँदा रहेछन्, ललिता-घरबेटी पनि ब्यूटी पार्लरमा पार्ट-टाइम काम गर्दी रहिछ ।

खुशी लाग्यो, नेपाली नेपाली, नेपाल नै पुगे जस्तो भो ।

त्यो दिन ललिताको छुट्टी रहेछ; मलाइ एक कप चिया बनाई दिई । अरु ठेलमठेल गरेर सो चारमुखे चुलोमा आफ्नो आफ्नो खाजा पकाउन लागे । ललिताले मलाई माथि उनीहरूको बेडरुम देखाउन लगी ।  ठूलो कोठा, बाटोतिर मोहोडा भएको ; दुई झ्याल, भित्र घाम पस्ने, मास्टर बेड, तीन  जना सुते पनि ठूलो देखिने ; डेस्कटप कम्प्युटर, ठुलो स्क्रिन भएको  टेलीभिजन । भित्ताको एउटा कुनामा सानो मन्दिर, हिन्दू देवी देउताका फोटाहरू, आँटे जति सबै । तामाका लोटा थालहरू, अरू के के । झन् उसको शृङ्गारको साधन राख्ने दराज त पसलको शो केस जत्रै ।

चिया पिउँदै ललिताले मलाइ घरको नियम, कानुन र बाहिरको पनि नियम कानुन बारे लेक्चर दिई ।

उसले  दिएको उर्दी यस्तो थियो –  बिहान उठेर हल्ला नगर्ने; चुपचाप अरूलाई डिस्टर्ब नहुने गरी नित्यकाम, चिया नास्ता पकाउने, पकाउँदा किचनको ढोका बन्द गर्ने ताकि धुवाँ वा गन्ध मास्तिर नजावोस् रे । किचनको एक कुनामा दुई जना बसेर खाने टेबुल कुर्सी छ, न आँटे  आफ्नो आफ्नो कोठामा लगेर खाने रे । घर अगाडी राखेको हरियो ठूलो ढ्वाङमा किचनको मैला र नीलो ढ्वाङमा कागज, प्लास्टिक, लुगा, टुटेको फुटेको सामान, पुस्तक, आदि फाल्ने रे । हप्तामा एक पल्ट पुरै घरभित्र बाहिर सफा गर्ने पालो प्रत्येक कोठामा बस्नेको रे । घरभित्र र आफ्नो कोठामा, भर्याङमा कार्पेटमा धुलो चुस्ने मिसिन हूबर लाएर धुलो सफा गर्ने, किचनको भुइँमा मप गर्ने अर्थात् लामो डण्डी भएको घर पुछ्नेले ब्लिच हालेर बेस्सरी दली दली सफा गर्ने, सुकाउने, आदि रे । लुगा हप्तामा एकपल्ट किचनको चुला छेउको वाशिङ मेसिनमा हालेर धुने – यो मिटरमा राख्नु,  यति पाउडर हाल्नु, यति मिनेटमा राखेर धुनु, सकिएपछि, घर पछाडिको डोरीमा लगेर सुकाउनु, आदि आदि रे …।

खाना आफ्नो आफ्नो पकाउनु पर्ने रैछ । अहो, लौ मार्यो ।

“धन्दा नमान्नुस् दाइ, पकाउने भाँडा, थाल बटुका, गिलास, डाडु, पनिउँ, पानी उमाल्ने कित्ली सबै छन् किचनमा, त्यो सबैले पालै पालो चलाउने हो । “ ललिताले किचनमा लगेर भनी, अनि उसले मलाइ छुट्याई दिई दुई चार खोपिल्टा भएको सानो दराज । त्यो नै मेरो किचनको स्टोर रे ।

त्यसपछि भनी, “दाइ आज दयारामसित गएर खाने कुराहरू किनेर ल्याउनु होला – तेल, चामल, सब्जी, मर-मसला, नून, जे जे आवश्यक ठान्नु हुन्छ । भरेदेखि आफै पकाउनु पर्छ दाइ, यहाँ यस्तै छ रीति ।”

“अनि दाइ,  पलङको तन्ना, सिरानी, सिरक पनि सके आजै नभए हप्ता दिनभित्र आफ्नै ल्याउनु होला, यो अहिले तपाईँलाई चलाउनु दिएको मात्र हो ।  खाली दराज छ, ह्याङ्गर ल्याएर लुगा झुन्ड्याउनु होला ।”

सबै कुरा सुनियो, सिकियो, जानियो । दयारामको पनि छुट्टी रहेछ, उसले मलाइ सपिङ गर्नु लग्यो ।

म बसेको सानो ठाउँको नाम रहेछ प्लमस्टेड, सेन्ट्रल लण्डन देखि करिब चार माइल पूर्वतिर । घना बस्ती, बासिन्दाहरू धेरै जस्तो बाहिरका । गोराहरू कम, एसियनहरू धेरै । नेपाली, बङ्गाली, पन्जाबी, गुजराती, तामिल, नाइजिरियन, पाकिस्तानी, आदिका आफ्ना आफ्ना स्वादका पसलहरू । चामल, दाल, गुन्द्रुक, किनेमा, डल्ले खोर्सानी, चिउरा, बँदेलको मासु, टिम्मुर, ज्वानो, जे पनि पाइने । समोसा, जुलापी, लड्डु, पूरी, बर्फी, इन्डियन मिठाई जति पनि । रमाइलो लाग्यो ठाउँ, जे किन्नु मन लागे पनि पाइने, खानु मन लागे पनि पाइने, लुगा सस्तो, आलु सस्तो, तेल सस्तो, खानेकुराहरू सस्तो, तर सब्जी धेरै महँगो । पैसा कमाउन कति गाह्रो।

“हप्ताभरिको लागि किन्नुस् दाइ ।” भन्यो दयारामले, “आज खानेकुरा किनौं, पर्सी तिर, पलङ च्यादर सिरानी र सिरक किन्नु जाउँला ।”

पाँच किलो चामल, नुन, तेल, मरमसला, गोलभेँडा, आलु र केही सब्जीहरू किने, चियापती र दूध, चिनी किनें ।

मलाइ किचनमा छुट्याई दिएको सानो स्टोर भरियो पनि । सो बेलुका विजय र ललिता आएर खुशी हुँदै भने, “अब दाइले सबै कुरा जान्दै आउनु भो, बेलुकादेखि पकाएर खानु होला ।“

सुनेर घुटुक्क थुक निलें ।

साँझ परेछ, खाना  पकाउनु किचनमा पसेको अरू दुई जनाले पकाउन सुरु गरिहालेछन् । ललिताले भनी, “दाइ, पकाई हाल्नुस् पकाउनु छ भने, पालो पर्खेर हुँदैन यहाँ, उता पट्टिको चुलो खाली छ त्यसमा भात बसाउनु होला । राइसकुकर ल्याउनु पर्ने थियो ; भात पकाउनु चुलामा आइ रहनु पर्दैन नि  । “

सुनेर झनक्क रिस पनि उठ्यो ।

एक हप्तासम्म वर परका ठाउँहरू, बजार, पसल आदि घुमें ।  अर्को शनिवार दयारामको छुट्टी थियो, लण्डन शहर घुमाउनु लग्यो।  दिनभरि घुम्यौं, खायौं, फोटो खिच्यौं र घर फर्क्यौं ।

दुई हप्ता बितेपछि सो महिना मर्यो, र अर्को महिना सुरु भयो ।  बेलुकी विजयले भन्यो, “दाइ, भोली घरको साहु घरभाडा उठाउनु आउँछ, दाइले पनि अब नयाँ महिनाको चार सय पाउण्ड कोठाभाडा ठिक्क पार्नुस् है, ललितालाई दिनु होला ।”

म झसङ्ग भएँ; मनभित्र झड्याम्म केही खसेको जस्तो लाग्यो ।

“ए, मैले पनि त्यत्रो दिनु पर्छ र भाइ ? खानु बस्नु सब मेरोमा भन्नु भाको होइन ?”

“हा.हा.हा.  दाइले पनि कस्तो कुरा गर्नु भाको होला, फ्री त भनेकै छैन नि मैले ।”  यहाँ जो जो बस्छन् सबैले भाडा दिनु पर्छ र दिन्छन् पनि । घर मैले लिएको हुनाले मैले एकमुष्ट मासिक घरभाडा बुझाउनु पर्छ महिनाको एक  तारिक नै । त्यसैले सबैजनाले ललितालाई दिने र उसले घरको साहूलाई बुझाउँछे ।”

एकछिन चकमन्न छायो त्यहाँ ।

बल गरेर सोधें, “एउटा कोठाको चार सय  पाउण्ड  महिनाको ? नेपाली सत्तरी हजार !  बाफ रे बाफ।  अलिक कन्सेसन गर्नुस् न भाइ, झन् चिनेको भनेर सीधै तपाईंकोमा आएको त । उता कलेजको खर्च पनि उत्तिकै रैछ त ।”

ऊ पनि झ्वाँक्कियो – ““कोठा भाडा दाइलाई कन्सेसन गरेर मासिक तीन सय भनेको, अर्को एकसय चाहिं दुई हप्ता त बसिसक्नु भो नि, त्यसको अलिकति थपी दिनुस्, जम्मा चार सय पाउण्ड भयो ।”

“ए, अनि अर्को कुरा दाइ, टोइलेट पेपर, घर र किचन सफा गर्ने केमिकल, झाडु, मप सबै हामी नै ल्याउँछौं, प्रति व्यक्ति महिनाको ६ पाउण्ड उठाउँछौं । अनि पानीको पर्दैन, त्यो कोठाभाडामै छ तर बिजुली र  ग्यासको चाहिँ जति मिटरमा उठ्छ सबैलाई भागबण्डा हुन्छ त्यही अनुसार हुन्छ, जम्मा औसतमा २० पाउण्ड जति पर्न आउँछ दाइलाई । इन्टरनेटको चाहिँ पाँच  पाउण्ड दिनुस् महिनाको । पछि टी भी ल्याउनु भो भने टी भी लाइसेन्सको १०  पाउण्ड मासिक दिनु पर्छ ।”

बाफ रे बाफ, हरे शिव, कति कति तिर्नु पर्दो रैछ लण्डनमा डेरावालले । मनमनै हिसाब गरें, प्रति व्यक्ति चार सयदेखि पाँच सय पाउण्ड सम्म तिर्नु पर्ने रैछ ।

“दाइले हप्ताको २० घण्टा काम पाइहाल्नु हुन्छ,  काम गर्नु थाल्नु भएपछि घरभाडा र अरू खर्च बाहेक राम्रै  कमाइ हुन्छ ।” उसले सान्त्वना दियो ।

भोलिपल्ट घरबाट ल्याएको चारसय पाउण्ड ललितालाई एकाबिहानै दिएँ, अरूले के कति दिए मलाइ थाहा भएन, सोधिन पनि । बरु त्यो दयारामले भन्यो, “दाइ, सबैतिर यस्तै हो । जहाँ गए पनि उति नै हुन्छ डेरा भाडा र अरू खर्च । कोठा पाउनु झन् कस्तो गाह्रो छ । काम चाहिँ  बरु खोजेर गरिहाल्नुस्, हाम्रो घरबेटी दिदीले चिनेको मान्छे छ होला काममा लाइदिन्छिन् भन्नु भो भने । पासपोर्टमा हप्ताको बीस घण्टा काम गर्ने अनुमति लेखिए पनि नेपाली र इन्डियन अनि पाकिस्तानीको रेस्टुरेन्ट र बिजनेसमा जति घण्टा गरे पनि थाहा पाउँदैन, कमाइ राम्रै हुन्छ ।”

हो त, म पढे लेखेको मान्छे, मास्टर कोर्सको विद्यार्थी, सुकिलो काम खोजेको अफिसमा, दुई हप्ता भैसक्यो आएको । अफिसमा पाउला जस्तो छैन है ।  यहाँ बेलायतमा नेपालीले अनेक किसिमको काम गर्दा रहेछन् । सेक्युरिटी, क्लिनर, लेबर, फार्म अपरेटिभ, भान्से, कुक, वेटर, ड्राइभर, पसलको हेल्पर, आदि आदि ।  त्यसबाहेक कोही कोही सुकुला मुकिला पनि रहेछन् जस्तै एकाउण्टेण्ट, होटेल म्यानेजर, वकिल, टिम लिडर, क्यासियर, आदि ।

बेकार बस्नु भन्दा अर्को सुकिलो काम न पाउञ्जेल जस्तो पनि गर्छु भन्ने सोचेर ललितालाई मुख फोरी हेरें कामको लागि । उसले भनी, “दाइ एकजना सोहन गुरुङ भन्ने नजिकै बस्नु हुन्छ, भोलि कुरा गरिदिन्छु ।  खाली छ भने उसले लिन्छ ।”

“काम चाहिँ के नि बैनी” सोधें मैले ।

“दाइलाई सजिलो काम शायद खामभित्र चिट्ठी पसाएर सिलबन्दी गर्ने मात्र हो । मैले पनि गरेकी छु त्यो काम । घण्टाको पाँच पाउण्ड दिन्छ दाइ, हप्तामा ३० देखि ४० घण्टा काम हुनु सक्छ ।”

अरू उपाय थिएन कमाउने । केही दिन पछि सोहनले बोलायो, कतिपय फारम भरेर सही छाप गर्नु लायो, अनि काम सुरु भयो ।

समय बित्दै गयो, एक, दुई, तीन गर्दै सात हप्ता काटेछ । हप्ताको दुई सय पाउण्ड कमाउनु थालेछु, अब डेरा भाडा तिर्नु र खाना खर्च राम्रैसित चल्नु थाल्यो । अलि अलि बचत पनि गर्नु थालें । सपनाहरू पनि राम्रो राम्रो देख्नु थालें ।

साँझ, बिहान, र छुट्टीको दिन भ्याकेन्सीहरू खोज्दै अप्प्लिकेशन हाल्दै पनि गरिराखें , तर कतैबाट पनि अफिसको कामको लागि अन्तर्वार्ताको बोलाहट भएन । जिन्दगी येन तेन प्रकारेण चलिरहेको थियो । मन खुशी थिएन, ओंठमा मुस्कान आउन पनि छोडी सकेथ्यो । एक मनले नेपाल नै फर्केर जाऊँ कि जस्तो लाग्यो, तर लाखौँ रुपियाँ कलेजलाई तिरिसकेको मान्छे म, पढाइ सुरु हुनु अघि नै कसरी फर्किने त्यत्रो पैसा माया मारेर ।

मसित ल्यापटप थिएन, पुस्तकालयमा गएर त्यहाँको कम्प्युटर एक घण्टा चलाएर काम खोज्नथालें ।   घरबेटी ललिताले मेरो समस्या बुझेर माथि कोठामा आएर चलाउनु भए हुन्छ भनी । उसको छुट्टी वा काम नभएको दिनमा दुई चार घण्टा चलाउनु थालें । मलाई सजिलो भयो भ्याकेन्सीहरू हेर्नु, अनलाइन निवेदन दिनु, आदि ।

एकदिन यस्तै काम गरिरहेको बेला ललिता नजिक आएर बसी र भनी, “दाइ, यो कम्प्युटरमा भाइरस पूरा छ, मेटाइदिनुस् न ।”

वास्तवमा अश्लील भिडियो र वेबसाइट हेर्ने बानी रैछ उनीहरूको त्यो कम्प्युटरमा । मैले उसलाई खुलस्त भनें, ‘यस्तो साइट खोल्नु भयो भने भाइरस आउँछ । ब्लक गरिदिऊँ कि ?’

उसले हुन्छ भनी, मैले ती फोहोरी साइटहरुलाइ ब्लक गरिदिएँ । तर त्यो चाहिँ मैले गल्ती गरेछु ।

दुई–चार दिनपछि विजयले अश्लील वेबसाइट खोल्दा खुलेनछ । कसरि यस्तो भयो भनेर स्वास्नीलाई हकारेछ ।  ललिताले भनिछ, “तल बस्ने नयाँ दाइले सफा गरिदिएको ।’

विजयको तेस्रो नेत्र खुलेछ ।  उसको मनमा चिसो पसिहालेछ।

अनि एक दिन बज्रपात नै भयो ।

मातेको बेलामा विजयले गज्रियो, “दाइ तपाईं अर्को कोठा खोजेर सर्नुस्, यहाँ नहुने भो । “

म झसङ्ग भएँ, सोधें, “के भयो, किन त्यस्तो भन्नु भो भाइ ? मैले के गरें ?“

उसले हल्लिंदै भन्यो, “माइन्ड नगर्नु होला, तपाईंले मेरो श्रीमतीलाइ मन पराउनु थाल्नु भो कि क्या हो ? जति बेला पनि किचनमा पनि सँगै, बाहिर बारीमा पनि सँगै, तपाईंको मैला लुगापनि उसले मिसिनमा धोइदिन्छे । तपाईं माथि हाम्रो बेड रुममा किन पस्नु भयो, के काम पर्यो ?“

म अवाक् बनें, रीस पनि उठ्यो, “भाइ, कस्तो कुरा गर्नु भाको, होशमा त हो ?“ उहाँले कम्प्युटरमा खराबी आयो, हेर्दिनुस् भनेर पो गएको त । “

ऊ झन् रिसायो, “तपाईँहरू दुई जना म काममा गएको बेला कम्प्युटरमा के के हेर्नु हुन्छ, के के गर्नु हुन्छ ?”

ललिता आइपुगी र मेरो बचाव गर्ने कोशिश गर्न थाली  । “मैले बोलाएर माथि लगेको दाइलाई । कम्प्युटरमा भाइरस आएर हटाउन बोलाएको । बुझ्नु भो ?”

हामी बिचको संवाद खराब हुँदै गयो, विजय नशामा थियो, ललिता क्रोधमा र म आश्चर्यमा ।

“अरू कुरा म जान्दिन, झगडा गरेर समाज नहसाऊँ, सकेमा भोलि  नै कोठा छोडेर जानुस्“, उसले बर्बराउँदै स्वास्नीलाई मास्तिर बेड रुममा लग्यो । त्यहाँ उनीहरूको महाभारत भयो एकछिन, मेरै कुराले गर्दा ।

म बढो असमञ्जसमा परें, कहाँ जाऊँ, कता जाऊँ, अर्को डेरा कहाँ पाइएला, कति पर्ला फेरि । यत्ति भएपछि मलाई पनि त्यो घरमा बस्नु मन लागेन ।

भोलिपल्ट स्थिति सामान्य भयो, ललिताले बिर्सिनुस् दाइ हिजोको कुरा, मातेको बेला के के भन्यो, माइण्ड नगर्नु होला । तर मेरो मन टुटिसकेको थियो । यो घरमा मलाई एक छिन पनि बस्न मन लागेन, भोलिपल्ट काममा पनि जानु सकिन । मन खटपट भै रह्यो, विजय मसित बोल्नु छाड्यो, र बिहान काममा जाँदा पनि शङ्कालु नजरले ललिता र मलाई हेरेर जानु थाल्यो ।

अनि म सडकमा भौंतारिनु थालें, आज फेरि ललिताले भनी, “दाइ, छिट्टो काम खोजेर कोठा सरिहाल्नुस्, बुडाले कराएर मलाई मार्नु आँटिसक्यो ।”

मैले अठोट गरें, र सुटकेशभित्र राखेको बाँकी नगद रकम गनेँ, नौ सय पाउण्ड बाँकी रैछ, एक महिनालाई धान्छ त्यतिले । अब म जसरी पनि अर्को घरमा सर्छु, शायद मलाई यो घर नफापेको पनि हुनु सक्छ । कामै पाइएन, महिना दिन बढी भैसक्यो ।

****

आज म बिहानै घरबाट निस्केको छु, कलेजतिर होइन, काम खोज्नु होइन, तर कोठा खोज्नु ।  पुरानो पातलो ज्याकेटको दुई खल्तीभित्र हात घुसारेर सिरेटो छल्ने असफल प्रयास गर्दै हाइस्ट्रिट पुगेको छु । बाटो पारी पसलहरूको भित्तामा सानो सानो कागजका टुक्रामा अंग्रेजी, हिन्दी र नेपालीमा “कोठा भाडामा”, “रुम टू लेट” लेखिएका कैयन विज्ञापनहरू टाँसिएका देखिए । यौटा विज्ञापनमा नजर अडियो – “कोठा खाली छ – शान्त र पारिवारिक वातावरण भएको नेपाली घरमा सिंगल, डबल कोठाहरू खाली छन् ।  सम्पर्क मोबाइल –  …….  “।

एक ठाउँ फोन लगाएँ – एउटी महिलाको जवाफ आयो, “तपाईं सिंगल कि डबल, सिंगलको चार सय, डबल रुमको पाँच सय पाउण्ड मासिक; बिजुली, पानी, ग्यास, इन्टरनेट, सरसफाइ र टिभी लाइसेन्सको अलग्गै ।  आफ्नो भागमा जति आउँछ त्यो छुट्टै दिनु पर्छ है दाइ । आउने शनिवारदेखि  कोठा सर्न सक्नुहुन्छ तर एक  महिनाको एडभान्स दिएर मात्र कुरा पक्का हुन्छ ।”

फेरि अर्को फोन लगाएँ, गुज्राँतीको रैछ घर, उसको अलिक सस्तो रैछ तर दारु, मासु माछा अण्डा घरभित्र पकाउन नपाइने रे, साथीहरू पनि धेरै ल्याउनु नपाइने रे, अनि कोठा मात्र खाली छ रे, खाट, फर्निचर, दराज केही छैन रे आफै ल्याउनु रे । भयो अब ?

बाटो पारीको भित्तामा फेरि पुगें  – नजर डुलाएँ “कोठा खाली छ” लेखिएका टुक्रा कागजहरूमा ।  मोबाइल नम्बरहरू टिप्दै गएँ, भरे फोन गर्छु भनेर ।

अकस्मात् एउटा अलिक ठूलो कागजमा हाइलाइट गरेर लेखिएको सूचना पढें । “कोठा खाली छ” ।  अनि त्यो टाँस्ने मान्छेको नाम पढेर झन्डै बेहोस भएँ; लेख्ने रहेछ विजय कुमार, मेरै घरबेटी । मोबाइल नम्बर उसको र ललिताको दिएको रहेछ । आजै बिहान टाँसेर ऊ  काममा गएको  रैछ । म तुरुन्तै फर्किएँ त्यहाँबाट ।

अब म त्यो घरबाट निस्किने पक्का भएछ ।  जति दिन बस्छु उति दिन महाभारत हुनुसक्छ त्यहाँ हाम्रो ।

सडक पार गरेर वारी आएँ, विवश नयनले फर्केर फेरि पारी त्यो दोकानको भित्तामा हेरें, मेरो घरबेटीको ठूलो कागजको विज्ञापनले मेरो छातीमा भाला रोपेर हाँसिरहेको थियो – “कोठा खाली छ” ।