काठमाडौं  जिल्ला तारकेश्वर नगरपालिका  वडा नम्बर ३ स्थायी घर भई स्नातकोत्तर सम्मको अध्ययन गरिसक्नु  भएका साहित्यकार ध्रुबप्रसाद गजुरेल नेपालको ऐतिहासिक धरोहर धरहरा पुनर्निर्माण अभियानका अभियन्ता समेत हुनुहुन्छ । धरहरा अभियन्ता ध्रुबप्रसाद गजुरेल साहित्यका विभिन्न विधामा कलम चलाउनुहुन्छ । पछिल्लो समय उहाँ गजलकारका रूपमा स्थापित हुनुभएको छ । साथै समीक्षक पनि हुनुहुन्छ । उहाँले धरहरा अभियानमा समर्पित तीन विधाका पुस्तकहरू कवितासंग्रह, मुक्तकसंग्रह र गजलसंग्रह प्रकाशन गरिसक्नु भएको छ ।

प्रस्तुत छ, गजलकार ध्रुबप्रसाद गजुरेलसँग धरहरा अभियानदेखि साहित्य र विभिन्न विषयमा केन्द्रित रही साहित्यपोस्टका लागि साहित्यकार एवं अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंश:

तपाईंको व्यस्तता आजभोलि पनि धरहरा अभियान तिर नै छ  है ? अहिले के के हुँदै छ ? 

— म अहिले पनि धरहरा अभियानमा नै व्यस्त छु । धरहरा निर्माण भैसकेर पनि धरहरा वरिपरिका संरचनाहरू  अझै सम्पन्न हुन सकेको छैन । निर्माण सम्पन्न गर्न हाम्रो दबाब जारी नै रहेको छ । बाँकी रहेका काममा लागिरहेका छौं ।

ध्रुबप्रसाद गजुरेल

ध्रुबप्रसाद गजुरेल

धरहरा बनाउनु पर्छ भनेर सर्वसाधारणको तर्फबाट माग गर्ने नेपालको पहिलो व्यक्ति तपाईं हुनुहुन्छ भन्ने कुरा पुरातत्त्व विभागका तत्कालीन महानिर्देशक भेष नारायण दाहालले बताउनु भएको छ ।  तपाईं भाग्यमानी  हुनुहुन्छ तत्कालीन प्रधानमन्त्री के. पी. शर्मा ओलीले धरहराको शिलान्यास (धरहरामा जग राखेको दिन)  गर्दा ३ करोड नेपालीको तर्फबाट बोल्ने र कविता सुनाउने सौभाग्य पाउनु भएको थियो । तपाईंलाई  बधाई दिन चाहन्छु ।   धरहराको फेदबाट सुरु भएको साहित्यिक अभियान धरहराको चुचुरो र  सेरोफेरोमा रहेर आजसम्म निरन्तर चलिरहेको छ । धरहरा बनाउनु पर्छ भन्ने कुरा र धरहरालाई साहित्यसँग जोड्नु पर्छ भन्ने सोच चाहिँ   तपाईंको  मनमा कसरी आयो ? 

— धरहरा १०० वर्ष पुरानो नेपालको ऐतिहासिक सम्पदा भएको हुनाले, भूकम्पले धरहरा ढलेको केही दिनभित्र मैले त्यस बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन नभएको हुँदा पुरातत्त्व विभागका तत्कालीन  महानिर्देशक भेषनारायण दाहाललाई  भेटेर धरहरा जस्ताको तस्तो बन्नु पर्छ भनेर माग गरेको हुँ । अब धरहरा बनाउन करोडौं खर्च गर्न हुँदैन  सो स्थानमा अन्य संरचना बनाउन पर्ने कुराहरू पनि आएका थिए । धरहरा बनाउन हुन्छ र हुँदैन भन्ने बहस चिर्नको लागि मैले साहित्यलाई  धरहरा अभियानसँग जोड्न पुगेको हुँ । कलमले संसारमा ठूला ठूला काम गरेका छन् साहित्य मार्फत धरहरा बनाउन सकिन्छ भन्ने लागेर नै मैले साहित्यलाई रोजेको हुँ ।

धरहराको चुचुरोबाट  पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीले घोषणा गर्नु भएको म बनाउँछु मेरो धरहरालाई विभिन्न भाषामा घोषणा गरेर निकै चर्चामा आउनु भयो यस बारेमा केही बताइदिनु होस् न ?

— धरहरा बनाउनु पर्छ भनेर म लगायतका साथीहरू कराइरहँदा तत्कालीन  प्रधानमन्त्री  के. पी. शर्मा ओलीले मै बनाउँदछु मेरो धरहरा भनेर घोषणा गरिदिए पछि मलाई जनस्तर सम्म जान सजिलो भएको थियो । मैले लेखेको पहिलो पुस्तक इतिहासमा विसं. २०७२ जुन पुस्तक धरहरा पुनर्निर्माण लागि समर्पण गरिएको थियो  उक्त पुस्तकमा म बनाउँदछु मेरो धरहरा शीर्षकको कविता राखेर के. पी. शर्मा ओलीलाई त्यस बेला नै सुनाएको थिएँ  । तत्कालीन प्रधानमन्त्रीले घोषणा गर्नुभएको ‘म बनाउँदछु मेरो धरहरा’ भन्ने वाक्यलाई नेपालभित्र बोलिने विभिन्न  भाषाहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट  उल्था गराएर धरहराको चुचुरोबाट घोषणा गरेको हुँ ।

धरहराको चुचुरोबाट नयाँ विधा सन्देश  पनि घोषणा गर्नुभयो । यसबारेमा केही जानकारी दिन हुन अनुरोध गर्दछु ?

— धरहरा निर्माण सम्पन्न भएको खबर अर्थात् समाचार विश्वभरि पुगोस् भनेर नयाँ विधा सन्देशको घोषणा गरिएको हो । धरहरामा गजुर राख्नु अगाडि धरहराको चुचुरोबाट नै यो विधा घोषणा गरिएको थियो । जम्मा ३ लाइनमा लेखिने र प्रत्येक लाइन ७,७ अक्षरको जम्मा २१ अक्षरको हुनेछ सन्देश । बुझ्न चाहनेहरूले धरहरा पेज, सन्देशशाला वा मसँग सम्पर्क गर्न सक्नुहुनेछ ।

बि.सं. २०७२ सालबाट निरन्तर धरहरा सम्बतको क्यालेन्डर पनि निकाल्दै आउनु भएको छ । यसले तपाईंलाई पनि चर्चामा ल्याएको छ,  धरहरा संवत्  के हो र किन घोषणा गर्नु भएको हो ?

नेपालको इतिहासमा विसं २०७२ विभिन्न कारणले  अविस्मरणीय  रहन गएको छ । छोटकरीमा भन्दा विनाशकारी भूकम्प, दाता सम्मेलन, संविधान  बनाउन दबाब,  संविधानसभाबाट संविधान पारित हुनु, घोषणा हुनु, मधेश आन्दोलन, भारतीय नाकाबन्दी, महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश,  महिला शभामुख जस्ता कयौं कुराहरूले विसं २०७२ साल सम्झन योग्य हुन पुगेको र यो पुस्ताले विनाशकारी भूकम्पलाई कहिल्यै बिर्सन नसक्ने भएको कारणले विसं २०७२ लाई एउटा नयाँ सम्बतको रूपमा विकास गरेर ऐतिहासिक  बनाउन पर्छ भनेर मैले त्यस बेलाका राष्ट्रिय  पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत  प्रा. डा. गोबिन्दराज पोखरेललाई नयाँ केलेण्डरमा (पात्रो) नाम, महिना, बारहरूको नाम के कस्ता हुन सक्छन् भनेर खाका सहित पेश गरेको थियाँ ।

उक्त कार्यको लागि उहाँले धन्यवाद सहित लिखित शुभकामना समेत दिनुभएको थियो । नयाँ सम्बतको नाम धरहरा संवत् बाहेक अरू  पनि राख्न मिल्ने थियो तर  विनाशकारी भूकम्पले धरहरा पूर्ण रूपमा नष्ट भएर शून्यमा पुगेको हुनाले, कुनै पनि काम शून्यबाट सुरु गर्दा उचित हुने हुनाले र म धरहरा अभियानमा निरन्तर  लागिरहेको कारणले उक्त नयाँ सम्बत धरहरा संवत् हुन सक्छ भनेर पेश गरेको थियाँ ।  त्यस पछि  उक्त क्यालेन्डर (पात्रो) प्रत्येक  वर्ष निरन्तर प्रकाशन हुँदै आएको छ । ००९ सालको पहिलो  महिनाको पात्रो यसै साथ संलग्न छ ।

यहाँले धरहरा अभियानलाई सफल बनाउनु भयो ! घरको काम  र साहित्य लेखनले गर्दा व्यस्त पनि हुनुहुन्छ । अहिले के लेख्दै हुनुहुन्छ ?

— धरहरा ढलेबाट नै धरहरा अभियानमा निरन्तर लागिरहेको छु । घरायसी  काममा पनि ध्यान दिनै पर्यो ।  साहित्यतर्फ भने  विशेषगरी गजलमा बढी समय दिएको छु भने आफैले धरहराको चुचुरोबाट घोषणा गरेको नयाँ विधा सन्देश, कविता, मुक्तक, हाइकु लगायतका विधामा पनि लेख्दै आएको छु ।

आफ्नो पहिलो धरहरा अभियानमा समर्पण गर्ने सोच कसरी आयो र उक्त कृतिले कति रकम धरहरा निर्माण कोषमा जम्मा गरायो ?

— मेरो पहिलो कृति धरहरा अभियानकै सिलसिलामा २०७३ सालमा प्रकाशन भएको हो । ‘इतिहासमा विसं. २०७२’ कवितासंग्रह  जसलाई धरहरा पुन निर्माण अभियानको लागि समर्पण  गरिएको थियो  । पुस्तक बिक्रीबाट धरहरा निर्माण कोषमा झण्डै ३ लाख जम्मा भएका भौचरहरू मसँग रहेका छन् भने पुस्तक नलिएर पनि हाम्रो अभियानमा देश विदेशबाट लाखौं लाख रकमहरू जम्मा भएका छन् । धरहरा अभियानको घोषणा अगाडि झण्डै  १४ करोड जम्मा भएकोमा हामीले अभियान चलाएपछि धरहरा निर्माण कोषमा झण्डै  २७ करोड  जम्मा गराउन हामी सफल भएका थियौं ।

तपाईंको दोस्रो पुस्तक ‘ऋतु’ मुक्तकसंग्रह पनि चर्चामा नै आयो, यस बारेमा केही जानकारी दिनुहुन्छ कि ?

— नेपालभित्र महिलाका विभिन्न प्रथाहरू जस्तै दाइजो प्रथा, बोक्सी प्रथा, बहुपति प्रथा, बाल विवाह, बहुविवाह, जारी  प्रथा लगायतका ३० भन्दा बढी प्रथाहरूलाई झण्डै  ५०० गोटा मुक्तकबाट सवाल जवाफ गर्दै मुक्तकमा उपन्यास बनाउन खोजिएको नेपालको पहिलो पुस्तक हो  ऋतु मुक्तकसंग्रह ।

धरहरा  अभियानको दस्ताबेज  बन्न सफल धरहरा विशेष गजलहरू बारेमा  बताइदिनुहोस् न ?

— धरहरा अभियानकै सिलसिलामा प्रकाशन भएको तेस्रो पुस्तक धरहरा विशेष बहर  गजल सङ्ग्रह हो । प्राय सबै गजलका सेरहरूमा धरहरा जोडिन पुगेको छ । यस पुस्तकलाई धरहराको बिसौँ तलाबाट सार्वजनिक  गरिएको थियो । संग्रहभित्र विभिन्न स्वादका गजलहरू र सिङ्गो धरहरा बोकेको  छ ।

धरहरा अभियानको सिलसिलामा तपाईंका पुस्तकहरू,  भिडियोहरू, डकुमेन्ट्रीहरू  तत्कालीन राष्ट्रिय  पुनर्निर्माण प्राधिकरणका  अध्यक्षले सरकारको सम्पत्तिको रूपमा ग्रहण गर्दा कस्तो अनुभव गर्नु भएको थियो ? त्यो खुसी  हामीलाई  पनि बाँडिदिनुस् न ?

— धरहरा बनाउन हामीहरूले कयौं कार्यक्रमहरू संचालन गरेका थियौं सो मध्ये धरहरा बनाउन देउसी भैलो कार्यक्रमको अन्तिमतिर राष्ट्रिय  पुनर्निर्माण प्राधिकरणका तत्कालीन कार्यकारी अधिकृत सुशील ज्ञवालीकोमा देउसी भैलो खेल्दै केही प्रश्न  गर्न कलाकारहरूको समूह सहित  म जाँदा उहाँले भन्नू भएको कुरा हो  यो । यो घोषणाले धरहरा अभियानका सबै कुराहरू नेपाल सरकारको सम्पत्ति भएर रहन पाएको छ । यस घोषणाले म, तपाईं र यो दुनियाँ खुसी भएको छौ । म उहाँलाई  धन्यवाद दिन चाहन्छु । त्यो दिन म ज्यादै खुसी भएको थियाँ । तत्काल यी कुराहरू फेसबुक र धरहरा पेजबाट सेर गरेको थियाँ मैले ।

गजल भनेको के हो एक वाक्यमा भन्नुपर्दा ?

— विभिन्न प्रकारका फूलहरू उनेर मतला, रदिफ, उला, सानी, सेर र मक्ता सहित बनाएको एउटा सुन्दर माला नै गजल हो ।

तपाईं बेला बेलामा चर्चामा आइरहनु हुन्छ । धरहरा अभियान र गजलको साधनामा लागिरहनु भएको छ । घनु भन्ने एउटा नयाँ बहर नै घोषणा गर्नु भएको छ । “घनु” बहरको गजल नेपालको राष्ट्रिय  दैनिक गोरखापत्र लगायत अन्य पत्र पत्रिका र अनलाइनहरूले समेत महत्त्वपूर्ण स्थान दिएर प्रकाशन गरेका थिए । यस बहरमा सयौं गजल पनि लेखिए ।  घनु बहरको बारेमा र यसको अर्कान के हो ?
— हो, हामीले धेरै गजलहरू लेख्यौ  र लेख्दै पनि गएका छौं । पछिल्लो समय  विभिन्न पाठशालाहरूबाट गजल अभ्यास हुँदै आएका पनि छन् । गजल गायन विधा हो गाउनलाई लय चाहिन्छ । लय हुनको लागि बहरबद्ध हुनुपर्छ ।  बहर भनेको सूत्र हो । बहर बिना गजल हुन सक्दैन ।  नेपालमा विभिन्न  बहर प्रयोग गरेर गजल लेखिँदै आएका छन् । विदेशी बहरका नाउँमा गजल लेख्ने परम्परा छ । नेपालमा  गजलमा पहिलो विद्यावारिधि गर्नु भएका डा. घनश्याम न्यौपाने  परिश्रमीको नाउँमा उहाँले गजलमा गर्नुभएको योगदानको कदर गर्दै मैले घनु बहरको नयाँ अर्कानको घोषणा गरेको हुँ ।

घोषणा पश्चात् नै निकै चर्चामा आयो घनु बहर । धेरै व्यक्तिहरूले आ-आफ्ना धारणाहरू राखेका थिए । सयौं  भन्दा बढी गजलहरू यस बहरमा लेखिए । छोटो समयमा लोकप्रिय बनेको छ घनु बहर । नयाँ घनु बहरलाई छोटकरीमा घनु बहर र लामो लेख्न मन लागेमा घनु मुसम्मन सालिम बहर भनेर पनि लेख्न सकिन्छ । यसको वजन: २२२१  २२  १२२  १२२  रहेको छ भने यसको   अर्कान: मफ्ऊलातु, फैलुन्, फऊलुन्, फऊलुन् रहेको छ । यस बहरमा धेरै जनाले गजल पनि लेखिसक्नु भएको छ ।

धरहराको खातामा देश विदेशबाट रकम जम्मा गरेर धरहरालाई विभिन्न  कार्यक्रम चलाएर विश्वभर चिनाउन सफल हुनु भएको छ । अक्षयकोष स्थापना, कुनै व्यक्ति बचाउ अभियान वा मठ, मन्दिर  निर्माण कार्यमा सहयोग गर्न अनुरोध गर्नु हुन्छ मानिसहरूले आँखा चिम्लेर सहयोग गरेको देखिन्छ । यस्तो जुन काममा पनि सफल हुँदा पुरस्कार सम्मान आदि कुराको लोभ चाहिँ किन जागेन  तपाईंमा ?

— लोभले काम गर्न हुँदैन । धरहरा अभियान सुरु गर्दा धरहरामा गजुर नराखेसम्म म कुनै सार्वजनिक कार्यक्रममा गएर कुनै माला नलाउने, दोसल्ला नओढ्ने  र सम्मान पनि ग्रहण गर्ने छैन भनेर घोषणा नै गरिदिएको कारणले  मलाई एक सुरले धरहरा अभियान चलाउन सहज र साथ सहयोग प्राप्त भएको थियो ।  अहिले पनि  मलाई  कसैले पुरस्कार वा सम्मान लिन नबोलाइदिए हुने थियो भन्ने लाग्छ । कुनै कुनै बेलामा संकटमा परिदो रहेछ । जानै पर्ने र बाध्यता पनि । मेरो बारेमा जति चर्चा छ ठिकै छ । कम्तीमा  मैले बोलेको कुरामा  टाढा टाढाबाट ध्रुब दाजुले सहयोग जुटाउन खोज्नु भएको रहेछ त्यो पवित्र कार्यमा हामी छुट्न हुँदैन भन्नुहुन्छ  फोन गरेर । अहिलेसम्म मैले कमाएको सम्पत्ति यही हो । मलाई  मेरो मृत्युपछि मात्र मैले गरेको कामको बारेमा अरूले थाहा पाउन् जस्तो लाग्दछ । त्यसकारण  गर्न पर्ने धेरै छ । म निरन्तर साधनामा लागिरहेको छु ।

तपाईंको अर्को अभियान के हुने छ  ?

— धरहरासँग जोडिएर विभिन्न अक्षयकोष  निर्माण, पुस्तकालयमा  पुस्तक, विभिन्न प्रकारका सहयोग लगायतका अभियानहरू चलिरहेकै छन् । धेरै कुरा काम धरहरा अभियानसँग जोडिन पुगेको कारणले धरहरा जस्तै नयाँ अभियानको भने घोषणा गरिएको छैन । केही अभियानका कुरा भएका हुन् तर घोषणा हुन बाँकी  नै छन् ।

तपाईं गद्य र पद्य कुनमा पोखिन रुचाउनु हुन्छ ? किन ?

— म  गद्य र पद्य  दुबैमा लेख्न रुचाउँदछु । तर गद्यमा लेख्न सजिलो र भनेको कुरा राखिहाल्न पाइने जस्तो लाग्छ ।

डायस्पोरामा बसेर लेखिने साहित्य विधा कस्तो हुनु पर्छ ?

— डायस्पोरामा बसेर लेखिने लेखहरू देश भित्रका सकारात्मक पाटोलाई विश्वसम्म पुर्याउने खालको हुनु पर्छ । देशको नकारात्मक  पक्षमा लेख्न हुँदैन तर  व्यङ्ग्यतम तरिकाले चाहिँ लेख्दा हुन्छ जस्तो लाग्छ मलाई ।  आफ्नो समाज, मौलिकता, यथार्थताको बारेमा लेख्नु पर्छ साहित्यकारहरूले किन कुनै समुदाय एक ठाउँबाट लोप हुँदै छ । कसरी यसलाई बचाउन सकिन्छ भन्ने बारेमा अनुसन्धानात्मक लेखहरू लेख्नु पर्दछ ।  विदेशमा बसेर लेख्ने हो भने विश्वमा नेपाल चिनाउने काम नै विदेशमा रहनु भएका साहित्यकारहरूको हो ।

‘कसैको चाकरी नगर्ने र टर्रो बोल्ने मानिस हो ध्रुब गजुरेल’ भन्ने आरोप लाग्ने गरेको छ  तपाईं  माथि । यस बारेमा के भन्नुहुन्छ ?

— एउटा अभियान चलाउँदा चिल्ला कुराले सफल हुन सक्दैन । चाकरीले पनि अभियान सफल हुँदैन । समर्थन र विरोध जुन काम गर्दा पनि हुन्छ । विरोध धेरै जसो आफू समानकाले गर्दा रहेछन्  । यो मेरो अनुभव हो । धरहरा अभियान धेरै व्यक्तिहरूको विरोध नभएको साझा अभियान हो ।  जसले जे भनुन् म निरन्तर साधनामा लागिरहने भएको हुनाले विरोध र समर्थन  त आइरहन्छन् यसबाट मलाई  केही फरक पर्दैन ।

विभिन्न कार्यक्रम  चलाएर अन्य संस्थाको लागि अक्षयकोष स्थापना गरिरहनु भएको छ । ‘हाम्रो कार्यक्रमְ’मा तपाईंको गजल सङ्ग्रहको समीक्षा गर्दा नै लाखौँ पैसा उठाएर नुवाकोट साहित्य संगमलाई प्रदान गर्नु भयो । यसो गर्दा के फाइदा हुन्छ तपाईंलाई ? वा केही रकम पाउनुहुन्छ ? प्रस्ट पारिदिनुहोला ।

— यस बेलासम्म कुनै कार्यक्रम  चलाएर कोष जम्मा गरेबापत केही लिने गरेको छैन मैले । निस्वार्थ गर्ने हुँ ।  कुनै खादा लाउन र दोसल्ला ओढ्नलाई   कार्यक्रम चलाउँदिन । हजुरहरूको कार्यबाट मेरो गजल सङ्ग्रहको समीक्षा हुँदा यस समीक्षाको अवसरमा प्राप्त भएका सबै रकम साहित्य संगम नुवाकोटको अक्षयकोषमा जम्मा हुनेछ भनेर  घोषणा गरेको थियाँ । लाखौं रकम जम्मा हुन पुगेको थियो  । बोलेको कुराबाट म नफर्कने भएको हुँदा साहित्य संगम नुवाकोटकी अध्यक्षको सम्मान गर्ने प्रस्ताव स्वीकार गर्न सकिन मैले । उहाँको  संस्थाबाट प्रकाशन भएको पुस्तकमा यसको उत्तर ध्रुब गजुरेलले दिनु पर्छ भन्नु भएको रहेछ । आज त्यस प्रश्नको उत्तर दिने समय मिलेको छ । हजुरहरूकै कार्यक्रममा बोलेको कुरा हो  यही अन्तरवार्ता मार्फत उहाँसँग क्षमा याचना गर्न चाहन्छु ।

भर्खर ध्रुब गजुरेल गजल साँझ (धरहरा विशेष) सम्पन्न भएको छ । तपाईंलाई  शुभकामना छ । तपाईंलाई  Man of the action भनेर किन भन्छन् मानिसहरूले ?

— सबैको माया ममताले उहाँहरूकै प्रस्तावले गजल साँझ सम्पन्न भयो सबैलाई धन्यवाद दिन चाहन्छु ।  Man of the Action  मेरो बानी र काम हेरेर आदरणीय  गुरु डा. घनश्याम न्यौपाने परिश्रमीले नयाँ वर्षको उपलक्ष्यमा मलाई दिनु भएको उपनाम हो  । यसलाई शान्त रूपले बुझिदिनुहुन अनुरोध गर्दछु । यस उपनाम प्रति धेरैको चासो बढेको छ । सबैलाई धन्यवाद दिन चाहन्छु ।

के तपाईंको कवितामा पनि व्यङ्ग्य मिसिएको हुन्छ ?

— व्यङ्ग्य मसला हो । मसला राखे पो  खानेकुरा स्वादिलो हुन सक्छ म पनि बेला बेलामा मसला राख्ने गर्दछु ।

तपाईंको  बाल्यकाल बारे अलिकता चर्चा गरिदिनु हुन्छ कि ? भन्न मिलेमा के कति जनाको परिवार छ ?

— मेरो घर तारकेश्वर न पा वडा नं. ३  काठमाडौंमा पर्छ ।  मेरा ४ दाजुभाइमा म माइलो छोरा हुँ । एउटी दिदी र एक जना बहिनी पनि छिन मेरी । मेरो एक छोरा र दुई छोरी पनि छन् । मेरी आमा, श्रीमती र छोरा,छोरीको साथमा बस्दै आएको छु म  । मैले बाल्यकाल देखि नै साहित्यमा कलम चलाउँदै आएको हुँ । मैले SLC भने तरूणमाबि  बालाजुबाट गरेको हुँ । स्कुल पढ्दा सरहरूले सोधिरहने हुनाले पुस्तक नै कण्ठ पार्ने बानी थियो मेरो ।   क्याम्पस पढ्दा पनि  विभिन्न कार्यक्रममा सरिक भएर केही  पुरस्कार जित्ने गरेको थियाँ मैले ।

तपाईं कहिलेदेखि साहित्यमा लाग्नु भयो ? यदि मिल्छ भने यहाँ  हाम्रो पाठक सामु संक्षिप्त प्रकाश पारिदिनु हुन्छ कि ? 

— माथि नै भनिसके त बालक काल अर्थात् स्कुले जीवन देखी साहित्यमा  लागिरहेको र मेरा रचनाहरू विभिन्न पत्रपत्रिकाहरू निस्कने गरेका थिए । तर पुस्तकको रूपमा चाहिँ बि.स. २०७२ सालको विनाशकारी भूकम्प पछि मात्र हो । त्यसपछि  धरहरा अभियानलाई साहित्यसँग जोडेर अहिले सम्म निरन्तर लागिरहेको छु ।

तपाईंले धरहरा अभियानमा लागेर के पाउनु भयो ? र के गुमाउनु भयो ?

— नेपाल सरकारलाई कुनै प्रकारको आर्थिक दायित्व नपर्ने गरी म धरहरा अभियन्तामा नियुक्ति भएको हुँ  । निरन्तर अझै लागिरहेको छु हजुरहरूको माया र ममता कमाएको छु  । गुमाउने कुरा त आफै हिसाब गर्नु झण्डै १० वर्ष यस काममा भोलेन्टियर गरिरहेको छु । दैनिक आफ्नो काम सकेर धरहरा पुग्ने मेरो चलन छ र धरहरा अहिलेसम्म पुगिरहेको छु  । त्यस्तै विवादहरू सहजीकरण गर्नु परेमा वा अन्य काम परेमा आफ्नो काम बिताएर पनि म धरहरा पुग्ने गरेको छु । धरहरामा मैले गरेको सेवाको पैसामा मूल्याङ्कन नगर्नुहुन अनुरोध गर्दछु ।

नेपाली साहित्यलाई पनि धरहरा अभियान जस्तै कुनै अभियान चलाएर एउटा उचाइमा पुर्याउन सकिन्छ ?

—एउटा एउटा विधालाई तिखारेर विश्व सामु लैजान सकिन्छ तर गुट र स्वार्थले होइन । विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रमहरू सञ्चालन गरेर साहित्यलाई उचाइमा पुर्याउन सकिन्छ । विभिन्न विधामा कलम चलाउने  साहित्यकारहरूले सोच्नु पर्ने कुरा हो यो हामी नोबेल पुरस्कार किन पाउँदैनम् ?

बिना पारिश्रमिक १० वर्षसम्म धरहरा अभियानमा  लाग्दा तपाईंको घर परिवारबाट तपाईंलाई सहयोग कतिको प्राप्त भएको छ ? विशेष गरी आमा, भाउजू बच्चाहरूको धारणा बुझ्न चाहेका हौँ  हामीले ? यस्तो सेवामा लाग्नुको पछाडि कुनै कारण छ कि ?

— परिवारको साथ सधैँ  पाएको छु ।  ८५ वर्षकी  मेरी आमाले नयाँ धरहराको चुचुरोबाट धिरज राईको  साथमा एउटा कार्यक्रममा  बुद्ध  नेपालमा जन्मेका हुन भनेर  उद्घोष गर्नु भएको थियो ।  आमाको आशीर्वाद  छ मसँग । त्यस्तै मैले कुनै दिन खाना कम खायाँ भने ‘आज धरहरा पुग्नु भएन कि के हो  खाना त रुचेन नि’ भनेर सोध्ने गरेकी छन् मेरी श्रीमतीले । मलाई  सन्चो नहुँदा पनि ‘धरहरा पुगेर आउनु हजुर अनि ठिक हुन्छ’ भनेर हँसाउँछिन् उनी । छोराछोरी, दाजुभाइ, इष्टमित्र लगायत सारा नेपाली दाजुभाइको साथ  पाएको छु मैले ।

नेपाली साहित्य र अन्य साहित्यमा भिन्नता के छ ?

— सबै भाषाका साहित्यहरू साहित्य नै हुन् । साहित्यले समाजमा चेतना बढाउने काम गर्दै आएको छ । सबै भाषाका साहित्यहरूलाई हामीले सम्मान गर्न जान्नु पर्छ । म नेपाली भाषा बोल्ने भएको हुँदा नेपाली भाषाको साहित्य वाचन गर्दा वा पढ्दा मिठास आउँछ भने सोही भाषा जान्नेलाई  उक्त भाषामा लेखेको रचनाले मन छुन पुग्दछ । नेपाली भाषा बाहेक अन्य भाषाका साहित्यलाई नेपालीमा र  नेपाली भाषाका साहित्यहरूलाई अंग्रेजी लगायतका भाषामा अनुवाद गर्ने उचित समय भएको छ अहिले ।

नेपाली साहित्यमा देखा पर्ने स्वदेशी धार्मिक, सांस्कृतिक र सामाजिक विषयलाई अंग्रेजीमा उल्था गरेर सार्वजनिक गर्दा के के फाइदा हुन्छ ? त्यसका लागि कुन कुन संस्थाले के के गर्नु पर्ला ? र तपाईंको अभियान यतातिर पनि लगाउन सकिन्छ कि ?

— नेपाली साहित्यका  स्वदेशी, धार्मिक, सांस्कृतिक र सामाजिक विषयलाई अंग्रेजीमा उल्था गरेर सार्वजनिक गर्न सके त नेपाललाई विश्वभर चिनाउन सकिन्छ । यो एउटा अवसर पनि हो  । विश्वको दुर्लभ भूमि नेपाल हो जहाँ हिमाल, पहाड र तराई रहेको छ  भने सगरमाथा लगायतका उच्च हिमालहरू, पशुपति, स्वयम्भू,  लुम्बिनी, जनकपुर जस्ता अन्य धार्मिक स्थलहरूका साथमा सयौं भाषा, भाषी र संस्कृतिहरू रहेका  छन् । प्रचार प्रसार गर्ने काम तपाई हामी लेखकहरूको नै हो  । यसको लागी साहित्यकारहरूको अभिभावक संस्था नेपाल प्रज्ञाप्रतिष्ठानले अगुवाइ गर्दा राम्रो हुनेछ जस्तो लाग्दछ मलाई ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई यहाँले कसरी हेर्नु भएको छ ?

— विदेशमा दिनभर काममा व्यस्त रहेर बाकी समय साथीहरूले साहित्यमा खर्चनु भएको छ । अनेसास विश्वभरि पुग्न सफल भएको छ उहाँहरूले साहित्यमा  निकै सम्मानजनक काम गर्नुभएको छ । प्रशंसा  मात्र गरेर पनि पुग्दैन ।  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यमा धेरै योगदान पुराएको देखेको छु मैले । उहाँहरूले गरेको कामको मूल्याङ्कन गर्दे  देशले सम्मान गर्नु पर्ने हो ।

तपाईं  धरहरा अभियन्तासँग लिएको यो विशेष अन्तर्वार्तामा धरहरा कति लागतमा  कस्तो बन्दै छ ? सर्वसाधारणका लागि कहिलेबाट खुल्छ ? भन्ने कुरा त छुटाउन भएन नि छोटकरीमा धरहरा के,  कस्तो बन्दैछ बताई दिनु हुन्छ कि  ?

— यो सबैको सरोकारको विषय पनि हो ।  अहिले बनेको धरहराको जम्मा लागत झण्डै  ३ अरब ४८ करोड हो भने नयाँ धरहरा २२ तले रहेको छ । रमन कन्ट्रकसन कम्पनीले यसको निर्माण कार्य गर्दै आएको छ । धरहरा माथि जान र आउन दुई गोटा लिफ्ट र भर्याङ (सिँढी) समेत रहेको छ । यसको उचाइ २४५ फिट अग्लो छ ।   धरहराको शिरमा सुनको लेपन गरेको पहेंलो गजुर रहेको छ । धरहराको ओगटेको पुरा क्षेत्रफल जग्गा झण्डै ४२ रोपनी रहेको छ।

धरहराको तल अन्डरग्राउन्डमा झण्डै  १००० गोटा बाइक र २०० गोटा कार अट्ने पार्किङ रहेको छ  भने माथि दुबो सहितको चौर रहेको छ । चौरमा कलकल पानी झर्ने २२ धाराको समेत व्यवस्था छ ।  चौरमा म्युजिकल फाउण्डेसन, पानीको फोहोरा देख्न सकिन्छ । ९.५ रेक्टर स्केलको भूकम्प पनि थेग्न सक्छ यस धरहराले । क्यान्टिन र शौचालयको व्यवस्था पनि रहेको छ । पहिलाको टक्सार विभाग रहेको ठाउँमा मिन्ट म्युजियम  बनेको छ । म्युजियम तर्फको काम केही  गर्न बाँकी देखिन्छ । काम छिटो गर्न हाम्रो  दबाब निरन्तर छ ।  सबै कुरा भन्न त धेरै समय लाग्छ निर्माण कार्य सम्पन्न भैसकेपछि प्रक्रिया मिलाएर काठमाडौं महानगरपालिकालाई हस्तान्तरण  हुनेछ ।  त्यसपछि नै सर्वसाधारणको लागि धरहरा खुला हुनेछ ।

पुरानो ढिस्को धरहरालाई अब के गरिनेछ ?

— पुरानो ढिस्को धरहरालाई रासायनिक  प्रविधिबाट उपचार गरेर जस्ताको तस्तै देखिने गरेर राखिनेछ । त्यसलाई  थप क्षति हुन नदिन बुलेट प्रुफ सिसाले छेक्नु पर्छ भन्ने मेरो माग यथावत् रहेको छ ।

ऐतिहासिक सुन्धारा अहिलेसम्म किन बनेन ? किन बेला बेलामा स्थानीयहरूले विवाद गरेका छन् ?

— मलाई पनि धेरैले सोध्ने गरेका छन् । छोटोमा भन्न पर्दा धरहरा निर्माणको टेण्डरमा सुन्धारा परेको रहेनछ । सुन्धाराको आफ्नै विशेषता छ । सुन्धारा स्थानीय  समुदायको ऐतिहासिक  र भावनात्मक सम्बन्धसँग जोडिएको छ  । त्यसकारण सुन्धारा जस्ताको तस्तै बन्नु पर्छ । जसरी पानी आएको थियो त्यसैगरी  पानी आउन र जान पर्छ भन्ने माग स्थानीयहरूको हो  । अब यो कुरामा सहमति कायम भैसकेको हुनाले  अब सुन्धारा बन्ने निश्चित भएको छ ।

मैले सोध्न बिर्सेको र हजुरलाई पाठक समक्ष भन्न मन लागेका कुराहरू छन् ?

—  मलाई धरहरा अभियानमा साथ दिने स्वदेश वा विदेशमा रहनु भएका सबैलाई हार्दिक धन्यवाद दिन्छु । हजुरहरूको यो लोकप्रिय अनलाइन मार्फत धरहरा अभियान लगायत मेरा कुराहरू विश्वभर पुर्याउन सहयोग गरिदिनु भएकोमा पुरा टिमलाई नै धेरै धेरै धन्यवाद दिन चाहन्छु । प्रगतिको  कामना पनि गर्दछु । जय साहित्य । जय धरहरा ।।