जहाँ होस्, जुनसुकै देशका नागरिक हुन् । ती मानिसका आ-आफ्नै तरिकाको रहन /सहन /बानी व्यवहार भए पनि कहीं न कहीं आत्मा स्वाभिमान र अहंकार लुकेकै हुन्छ । कोही साधारण अनि सहज बिचारका हुन्छन् । कोही अभिमान र आडम्बरले भरिएका हुन्छन् । कोही धनाढ्य हुन्छन् । कोही साधारण जीवन व्यतीत गरिरहेका हुन्छन् । भनौं देश धनी /गरिब / ठुलो /सानो जस्तो होस् तर मान्छेको आ-आफ्नै स्वभाव र व्यवहार हुन्छन् । आखिर हुन् नै मान्छे जहाँ भए पनि, रहे पनि ।

हजुर मैले कुरा गर्न लागेको विषय हो जडौरी लुगाको । आजभन्दा चालिस/पैंतालिस वर्षअघि जति बेला म नाबालिग नै थिएँ । त्यो समयमा इन्डिया (दार्जिलिङ /कालिम्पोङ) तिर त्यस्तै जडौरी लुगा किन्न पाइन्थ्यो । डिजाइनहरू विदेशी डिजाइनका हुन्थे । ती लुगालाई “गधेका माल” भनेको पनि सुनियो उतातिर । ती लुगाहरू बजारतिर सडक पेटीतिर बेच्न राखिएका हुन्थे । “सस्तेका माल रस्तेमे” भन्दै इन्डियनहरूले बेच्ने चलन पनि थियो ।

पछि पछिबाट ती “सस्तेका माल रस्तेमे” नेपालका बजारतिर पनि भित्रिए । हेर्दा राम्रा लाग्ने, कोट–ज्याकेट, विदेशी स्टाइलका फ्रक–टिसर्ट भनौं विभिन्न डिजाइनका ड्रेसहरू पाइन्थे । एक समय यस्तो थियो, त्यस्ता लुगाहरू शहरिया  मान्छेले हत्तपत्त किनेर लगाउँदैन थे वा गधेका माल किनेर लाउन धकाउँथे । ती कपडाहरू किनेर लाउँदा आफूलाई हीन भावनाले ग्रसित भएको महसुस गर्थे । हुन पनि हो त्यो बेलाको समाज नै यस्तो थियो, एकार्कालाई खिसी टिउरी गर्ने, अरूले लाएको–खाएको कुरामा खोजी–निन्दा गर्ने । शहर, बजार, गाउँ, समाज सानो र खुम्चिएको थियो । एउटा घरकोले के खायो ? कसो गर्यो ? सब थाहा हुन्थ्यो । तर त्यस्ता लुगाहरू गाउँतिरका गरिबले लाउन थाले । शहर बजारमा बसेर मजदुर गर्नेहरू अनि साधारण परिवारकाले लाउन थाले ।

अहिले सम्झिँदा त्यस्ता लुगाहरू पुराना धनी देशका धनी परिवारले प्रयोग गरेका रहेछन् । कुनै संघ, संस्थाहरूलाई डोनेसन दिएर पछि तिनीहरूलाई बिक्री वितरणमा ल्याएका रहेछन् । यस्तो प्रचलन विश्वको जुनसुकै मुलुकमा पनि हुन सक्छ । धनीमानीहर बिलासी र सौखिन हुन्छन् । एउटा डिजाइनको लुगा किनेर एकपल्ट लाएपछि फेरि अर्को पटक लगाउँदैनन् । विभिन्न डिजाइनका लुगा फेरी फेरी लगाइरहने सोख भएकाहरूले बर्सभरि कति लुगाहरू फेर्छन् साध्य हुँदैन । त्यस्ता लुगाहरू डोनेसनमा जाने रहेछन् । कति लुगाहरू त महँगा र नयाँ पनि हुन्छन् । यसरी धनाढ्य परिवारहरूले रिजेक्ट गरेका लुगाहरू नै सेकेन्ड ह्याण्ड भएर बिक्री हुँदो रहेछ ।

अन्य मुलुकको कुरा म भन्न सक्दिनँ तर अमेरिकामा भने “गुडविल” भन्ने स्टोर जहाँ तहीं छन् (अरू नामकरण भएका यस्ता स्टोरहरू अरू पनि होलान्) । त्यहाँ यस्तै किसिमका लुगादेखि लिएर विभिन्न गर, गहना, ब्यागहरू अर्थात् चाहिने जति सबै बस्तु किन्न पाइन्छ । ज्यादै सस्तो मूल्यमा । कुनै कुनै त यति नयाँ र राम्रा हुन्छन् कि नयाँ या पुरानो पत्तो नै पाइन्न । कुनै सामानहरू त ब्राण्डेड पनि पाइन्छन् जसलाई अन्य स्टोरमा किन्न नै सकिन्न । तर कुनै कुनै भने डोनेसन आएकैहर अलिक पुरानो, मैलो जस्तो धोएर आइरन लाएर पनि राखेका हुन्छन् ।

त्यस्ता स्टोरहरूमा जानु भयो भने अमेरिकन नागरिकदेखि विश्वभरिका नागरिकहरू नै ग्राहकको रूपमा देखिन्छन् । हामी पनि धेरै पटक गयौं, लुगाभन्दा पनि ऐतिहासिक ब्यागहरू, गहनाहरू हेर्न । तर मैले हाम्रै नेपाली भने कहिल्यै त्यहाँ किन्न आएको देखिनँ । साँच्चै भन्ने हो भने मध्यम वर्गका अमेरिकनहरूले पनि त्यहाँ लुगाहरू किन्दै गरेको देखें । मैले पनि एउटा ऐतिहासिक शल (बर्को र ब्याग) किनेकी छु जसलाई अंग्रेजीमा भिन्तेज भन्दा रहेछन् । पुराना धनीमानी, नाम चलेका महिलाहरू, फिल्मी हस्तीहरूले प्रयोग गरेको ऐतिहासिक चिजहरू भनेर पनि किन्दा रहेछन् ।

अँ ! मैले खास यो पुराना लुगाको प्रसङ्ग किन निकालें भने हाम्रो समाज, चलन र व्यवहारमा अझै पनि कसैले यसो एक–दुई पटक लगाएको लुगा वा कुनै चिज आफ्नालाई दिए भने जडौरी दियो अर्थात् हेप्यो भन्ने मानसिकता छ । त्यसरी दिएको सामान नलिने, नाक खुम्च्याउने परम्परा छ । जो अलिक नजिकको र प्रिय छ भने त्यस्तालाई दिँदा मतलब गर्दैन । सहस्र स्विकारेर थाप्छ र लाउँछ । कि निम्न आर्थिक अवस्थाको छ भने खुशीसाथ लिन्छ ।

तर अलिकति हुनेखाने छ भने त उनीहरूको सोच नै बेग्लै हुन्छ दिनेप्रति ।

आफ्नै मान्छेले विदेशबाट ल्याइदिएको कपडा/सामानहरू जडौरी दिए भनेर कुरा काटेको आफ्नै कानले सुनेकी छु । कोही कसैलाई आफ्नै सम्झेर मैले दिएको लुगालाई आफै लाउनु ल भनेर फिर्ता दिएको पनि भोगेकी छु । जबकि यहाँ हामीसँगै बस्ने छिमेकी (जो स्पेनिस हुन्) ले राम्रा राम्रा ब्राण्डेड ज्याकेट, ड्रेसहरू आफू स्लिम हुँदा किनेकी रहिछ । नयाँ नै भए पनि आफूलाई सानो भएकोले मलाई लाउँछौ ? भनेर सोधी । मैले नाइँ भन्न पनि सकिनँ र हुन्छ भनें । उसले दुई–चारवटा नै ज्याकेट र ड्रेसहरू दिई । धोएर सफा गरेर आइरन लगाको रहेछ । नयाँ जस्तै देखिने अनि ब्राण्ड पनि महँगा महँगाका रहेछन् । मैले अनकनाउँदै भए पनि लिएँ ।

जिन्दगीमा कहिले अर्काले दिएको लुगा नलगाएको । मनमा कस्तो कस्तो पनि लाग्यो । फेरि सम्झिएँ यस्ता महँगा ब्राण्डको लुगा किन्न त सोच्नै पर्छ होस् लाउँछु । “जैसा देश वैशा भेष फिर क्या डरना” भन्ने सोचें र लाएँ । यहाँ त चलन पनि यस्तै रहेछ । कसैलाई कसैको मतलब पनि छैन र को गरिब, को धनी चिनिन्न पनि । मात्र होमलेस कहलिएकाहरू बाहेक ।

हाम्रो देश गरिबीको सूचिमा छ तर हामी अझै पनि आफ्नो मानसिकताभित्र धनाढ्यपनको अहंकार नै कोचेर बाँचेका छौं । हो स्वाभिमानी बन्नु पर्छ तर आफ्नो अवस्था, परिस्थितिलाई पनि आत्मसात् गर्नुपर्छ । स्वाभिमानको मुखुण्डो भिरेर मात्र हुन्न । हामी/हाम्रो देश कुन अवस्थाले ओरालो जाँदैछ भन्ने कुरालाई पनि बुझ्नु पर्दछ ।

अभिमानको नक्कली मुखुण्डो भिरेर मात्र हुन्न । कसैले उपहार स्वरूप दिएको उपहारलाई सस्तो भन्ने । जरौडी भनेर तिरस्कार गर्ने प्रचलन हाम्रो देशमा प्रशस्त मैले देखेकी छु र आफैले पनि भोगेकै कुरा हो ।

यहाँ भने एउटा सानो कुरा मात्र यहाँकालाई दियो भने कति खुशी हुन्छन् । धनी देश भए पनि यहाँ हत्तपत्त कसैलाई केही दिने चलन छैन । त्यति हो यहाँका चाडहरू थ्यांक्स गिभङ् र क्रिसमसमा उपहारह साटासाट गरे झैं लिनेदिने चलन छ ।

त्यसैले धनी देश, गरिब देश भन्दा पनि त्यहाँका मानिसको मानसिकता र चेतनाअनुसार व्यवहार हुने रहेछ । यसै सिलसिलामा म एउटा घटना सम्झन्छु । हामी भर्खरै कोलोराडोबाट भर्जिनिया मुभ भएका थियौं । शुरुमा हामी आर्लिङ्ग्टन भन्ने ठाउँमा बस्यौं । त्यहाँ एकदिन हाम्रो अपार्टमेन्ट अगाडि एउटा सफा महँगो गाडी आएर टक्क रोकियो । त्यहाँबाट एउटी सफा, सुन्दर महिला निस्किएर हाम्रैतिर आई । मैले छोरीलाई कोही आएको संकेत गरें । छोरीले ढोकाबाट स्वागत गरी र हात मिलाई । एकार्काको नाम भने ।

छोरी एकैछिन भित्र पसी र एउटा झोलाभरि कपडा हालेर त्यो महिलाको हातमा थमाइदिई । म अचम्मित बनें । उसले उक्त कपडाको झोला थापी र गाडीमा चढेर उही बाटो फर्की ।

मैले अचम्मित मान्दै सोधें, “को हो त्यो महिला ? कैले चिनेको ?”

उसले भनी, “कहाँ चिन्नु ? हामी त भर्खर यहाँ मुभ हुँदै छौं ।”

अनि फेरि मैले उत्सुकता देखाएँ, “अनि सिधै हाम्रैमा आई । तैंले कपडाहरू पनि दिइस् । त्यही भएर कैले चिनेको रैछ भनेर सोधेकी नि ?”

छोरीले हाँस्दै भनी, “यहाँ चिनिराख्नु पर्छ र ? मैले फेसबुकको मार्केट प्लेसमा नानीहरूले लाउने लुगा छन् यति बर्षको सम्मलाई हुने छन् फ्रीमा लैजानु भनेर यहाँको एड्रेस र फोन नम्बर दिएकी थिएँ । निक्कै जनाले रेस्पोन्स गरेका थिए । यी पहिला आई अब यसैले लगी नि ! त्यही लिन आएकी हो ।”

मैले उत्सुकता देखाएँ, “अनि हेर्दा त धनी जस्ती थिई त ?”

छोरीले भनी, “यहाँ धनी, गरिब भन्ने हुँदैन । नानीहरूको लुगा, अन्य सामानहरू छन् भनेर  सामाजिक सञ्जालमा विज्ञापन जस्तै गरेर राख्नुपर्छ । हारालुछ हुन्छ लैजानेहरूको । फ्री भनेपछि यहाँ धुलो पनि लिन आउँछन् ।”

यसो भन्दै मज्जाले हाँसी छोरी ।

हुन पनि हो, यहाँ यस्तै चलन छ । उहिले उहिले हाम्रो गाउँ, घरतिर बच्चाहरूको लुगा अरूलाई दियो भने आफ्नो बच्चाको सातो जान्छ, मोच सर्छ, बिरामी हुन्छ भन्ने चलन थियो । कसैले पनि आफ्नो बच्चाका लुगा अरूलाई दिँदैनथे र लिँदैन थिए पनि । सायद अझै पनि गाउँघरमा त्यो प्रचलन होला । तर यहाँ न त्यस्तो भ्रामक कुराहरू नै चल्छ । न लाज, न अप्ठ्यारो, न आत्मग्लानि केही हुँदैन । दिनेले पनि दिइरहन्छन् डोनेसनमा या यसरी सामाजिक सञ्जाल मार्फत । लिनेहरूले पनि खुशीसाथ कुनै हिचकिचाहट बिना लिन्छन् । त्यसैले त्यो धनी देखिने सफा र महँगो कारमा आएकी महिलाले नानीको कपडा खुशीसाथ लगेकीले मैले त झन् छिमेकी, मिलनसार र सहयोगी मित्रले दिएका ती ज्याकेटहरू खुशीले लिएँ जो लिन लायक र ब्राण्डेड कम्पनीहरूका थिए ।

अझै पनि हामी हाम्रा सानेहरू (नानीहरूका ) खेलौना, लुगा आदिको त्यसरी विज्ञापन राख्छौं । कोही कोही आएर खुशीसाथ लैजान्छन् । यो त यहाँको चलन जस्तै रहेछ । बरु आफ्ना सन्तानलाई दिनुपर्छ वा दिन कर लाग्छ भन्ने जरुरी छैन तर अपरिचितहरूलाई यसरी दिन्छन् अर्थात् नेपालीमा पनि साथी /साथीहरूले आफ्ना नानी, बाबुहरूको सानो भएका लुगा साथीका नानी/बाबुलाई दिने चलन छ । चाहे नयाँ होस् वा पुरानो । न कसैले  हेपेको नै सम्झिन्छन्, न कसैलाई कसैको पुरानो लुगा लिएँ भनेर हीनताबोध नै हुन्छ ।

संस्कार, परम्परा, नियम भनेको समाजमा जसरी चलायो त्यसरी बस्ने हो । त्यही संस्कार र नियमलाई बुझ्ने र हेर्ने दृष्टिकोण अलिक फराकिलो हुनुपर्छ । बस् यति बुझ्नुपर्यो के लायक छ ? के लायक छैन ? कतिसम्म कुन कुरालाई प्राथमिकता दिने हो ? ती कुराहरूलाई आत्मसात् गर्ने क्षमता आफूभित्र हुनुपर्यो । त्यसैले मैले पनि त्यो छिमेकी मित्रले दिएको कोसेलीलाई जडौरी नठानी स्वीकार गरें । भुल त गरिनँ नि ?

वाशिङ्ग्टन डिसी अमेरिका