साहित्यकार डा कुसुमाकर शर्मा गौतमको स्थायी बसोबास नेपालको रुकुम जिल्ला हो । हाल गौतम क्यानडाको अल्बर्टा प्रान्तको एडमन्टन सहरमा बस्नु हुन्छ । गौतम, लघुकथा लेखन यात्राको छोटो समयमा नै चर्चित लघुकथाकार हुन पुग्नु भएको छ ।
प्रस्तुत छ, लघुकथा लेखन र प्रस्तुतिलाई नै आधार मानेर साहित्यपोस्टकf लागि विश्वराज अधिकारीले कुसुमाकर शर्मा गौतमसँग गरेको कुराकानी ।
तपाईं आफूलाई चिनाउँदा कसरी चिनाउनु हुन्छ ?
म नेपाली साहित्याकाशमा भर्खर पाइला टेक्न थालेको सामान्य लेखक हुँ । म जन्मिएको थलो रुकुमकोट, रुकुम (हाल सिस्ने ६, पूर्वी रुकुम) हो । सानैदेखि साहित्यमा रुचि थियो । विज्ञान विषय समातेपछि साहित्यको पाटो ओझेलमा पर्यो । पढाइले इन्जिनियर बनेँ । शिक्षाको हिसाबले पानीको गुणस्तरमा विद्यावारिधि गरेको छु । क्यानडामा बसाइ छ । हाल अल्बर्टा प्रान्तको वातावरण मन्त्रालयमा पानी प्रशोधन विशेषज्ञ भएर काम गर्दै छु । कोभिडको महामारीले म भित्रको लुकेको साहित्यिक अभिलाषा जुरमुराएर उठेको छ । ‘हिउँको राप’ लघुकथासंग्रह भर्खर साझा प्रकाशन मार्फत बजारमा आएको छ ।
क्यानडा कसरी आइ पुग्नु भयो ?
नेपालमा घटेको एउटा ऐतिहासिक घटनाले मलाई क्यानडा आउन प्रेरित गरेको हो । म त्यति बेला थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा पानी प्रशोधन सम्बन्धी अनुसन्धान फत्ते गरेर नेपाल फर्कने तरखरमा थिएँ । माओवादी हिंसात्मक गतिविधि उत्कर्षमा थियो । तत्कालीन सरकारले माओवादीका गतिविधि नियन्त्रण गर्न सङ्कटकालको घोषणा गर्यो । यस्तो परिस्थितिमा नेपाल फर्कनु भन्दा विद्यावारिधि गर्न विदेशमै रहनु उचित ठानेँ । खोज्दै जाँदा क्यानडाको अल्बर्टा विश्वविद्यालयले मलाई छात्रवृत्ति सहित पढ्न बोलायो । यसरी म क्यानडा आइपुगेँ ।
तपाईं जस्तो प्राविधिक विशेषज्ञलाई नेपालमा नै काम पाउन सजिलो थियो । तैपनि किन क्यानडा आउनु भयो ?
हामी जस्ता प्राविधिकले नेपालमा नै काम पाउन सजिलो थियो र अझै छ । स्नातक गरेपछि एउटा कन्सल्टेन्सीमा काम गरेँ । त्यसपछि खानेपानी विभागमा एक दशक काम गरेँ । खानेपानी विभागमा काम गर्दा गर्दै विश्व स्वास्थ्य सङ्गठनको फेलोशिप पाएर एआइटी पढ्न गएँ । पढाई सिद्ध्याएर नेपाल फर्किनु अघि केही समय त्यहीँ काम गर्दा मैले अर्कै अनुभव गरेँ । त्यहाँ काम गर्दा मैले काम गर्ने वातावरण कस्तो हुनुपर्छ, काम लगाउने अर्थात् हाकिम र काम गर्ने मान्छे अर्थात् कारिन्दाको बीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने बारेमा थाहा पाएँ । कुनै दबाब बिना कारिन्दालाई काम गर्न दियो भने त्यसको नतिजा सोचे भन्दा पनि राम्रो हुन्छ भन्ने कुराको अनुभव गरेँ ।
र यी अनुभवहरू नेपालको चलनसँग दाँज्ने मौका पाएँ । कामको महत्त्व र कामबाट हुने आत्मसन्तुष्टि पनि भोगेँ । नेपालमा अनावश्यक दबाबमा, भ्रष्ट र त्रस्त वातावरणमा काम गर्नुपर्ने, काममा दिनुपर्ने समय काममा भन्दा पनि चाकडी, चुक्ली, चाप्लुसी, तिकडममा मात्र खर्च गर्नुपर्ने भएकाले त्यस्तो वातावरणमा आफू टिक्न नसक्ने अनुभव गरेँ । नेपाल भन्दा बाहिर काम गर्दा कम्तीमा स्वतन्त्र भएर काम गर्न सकिन्छ र गरेको कामको सही मूल्याङ्कन हुन्छ भन्ने ज्ञान भएपछि नेपालबाट बाहिर काम गरिरहेको छु ।
साझा प्रकाशनले हालै प्रकाशित गरेको तपाईंको लघुकथासंग्रह ‘हिउँको राप’ले चर्चा पाएको छ । कुन शैलीका लघुकथाहरू त्यस सङ्ग्रहमा समाविष्ट छन् ?
हिउँको राप भित्र विभिन्न विषयका ५९ वटा लघुकथा छन् । एकातिर सामाजिक विकृति र विसंगतिप्रति प्रहार गरिएका लघुकथाहरू छन् भने अर्को तिर विचारोत्तेजक र समाज परिवर्तनका लघुकथाहरू पनि समावेश छन् । मनोविज्ञान र मानवीय मूल्य र मान्यताप्रति सजग गराउने लघुकथाहरू पनि यसमा समावेश छन् ।
तपाईंका लघुकथाहरूका रचना गर्भ वा आधारभूमिहरू के के हुन् ?
आफूले देखेको, सुनेको र भोगेको समाज; मनमा उठेका तरङ्गहरू; स्मृतिमा गढेका घटनाहरू नै मेरा लघुकथाहरूका आधारभूमिहरू हुन् । नेपाली समाजमा देखिएका सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, शैक्षिक विचलन, विकृति र विसङ्गतिलाई खरो रूपमा लिएको छु । नेपाली सोच र प्रवृत्ति अनि मानवीय मूल्य र मान्यताको ह्रासलाई पनि आधार मानेको छु । आफ्ना अगाडि दैनिक घट्ने घटना पनि लघुकथा सिर्जनाका कारकहरू हुन् । नेपाल भित्रको मात्र नभएर नेपाल बाहिरको परिवेश पनि मेरा लघुकथाका आधारभूमिहरू हुन् ।
तपाईं कसका लागि लेख्नु हुन्छ ? आफ्नो सन्तुष्टिका लागि वा समाजका लागि ?
मेरो निजी विचारमा साहित्य आत्मसन्तुष्टिका लागि लेखिन्छ । यसो भनिरहँदा जे कुरा लेखे पनि त्यसले हाम्रो जीवन, परिवेश, समाजलाई कुनै न कुनै रूपमा छोएको हुन्छ । साहित्य लेख्नु भनेको आफ्नो मनमा उब्जेको विचार अथवा भावनाको प्रकटीकरण गर्नु हो । आफूले सुनेका, देखेका, भोगेका र स्मृतिमा रहेका घटनाहरूले पनि विचार वा भावना उत्प्रेरित गर्न सक्छन् । ती विचार वा भावनाको प्रकटीकरणका माध्यमले आफूमा सन्तुष्टि आउने हो ।
पाठकहरूले बताएअनुसार तपाईंका रचनाहरूले अनुभवी साहित्यकारको अनुभव गराउँछन् रे । तपाईंलाई चाहिँ कस्तो लाग्छ ?
यो प्रश्नले मलाई केही बेर घोत्लिन बाध्य गरायो । त्यस्तो सोच्नेहरूप्रति हार्दिक आभार । साहित्यको अनुभव धेरै भएको भन्ने सोचाइ हो भने हिउँको राप मेरो पहिलो साहित्यिक कृति हो । विचार र चिन्तन मननमा अनुभवी भन्ने हो भने त्यो कुरामा केही सत्यता छ । त्यो जीवनको भोगाइबाट आएको होला । मेरो जीवनका धेरै वर्षहरू विषय सम्बन्धी अनुसन्धान र शोध कार्यमा बितेका छन् । धेरै भन्दा धेरै अध्ययन गर्नु, चिन्तन मनन गर्नमा मेरो समय बित्यो । यसका साथै धेरै देश घुम्नु, त्यहाँका मान्छेसँग भेट्नु र उनीहरूको बारेमा जान्नु आदि कुराले ज्ञानको आयतन पक्कै बढेको हो । त्यसैको प्रभाव मेरो कृतिमा देखिएको हुन सक्छ ।
शब्द चयन, सन्देश, आकार, विषय आदि जस्ता पक्षहरूलाई विचार गर्दा लघुकथा लेख्न, कथा लेख्न भन्दा कठिन छ । त्यस्तो हो ?
लघुकथा निर्माणमा यसका प्राविधिक विशेषताहरूको निकै ख्याल राख्नु पर्छ । लघुकथा भित्र शब्दमा लघुत्व, कथ्यमा सूत्रता, कथानकमा संक्षिप्तता, बहावमा तीव्रता, वाक्य गठनमा सघनता, कथानकको उत्कर्षमा उत्कृष्टता र समापनमा कुशाग्रता खोजिन्छ । छोटो आयाम हुनुको साथै उद्देश्य एकोन्मुखी हुन जरुरी छ । लघुकथालाई कसिलो र खिरिलो बनाउनका लागि उपयुक्त र गहकिला शब्दहरूको खाँचो पर्दछ । यस कारणले पनि कथा लेख्न भन्दा लघुकथा लेख्न कठिन छ ।
लघुकथा र व्यङ्ग्यमा के अन्तर छ ?
पहिलो कुरा त लघुकथा आख्यान विधा अन्तर्गत पर्दछ, भने व्यङ्ग्य र हास्यव्यङ्ग्य गैर-आख्यान विधा अन्तर्गत पर्दछन् । तर लघुकथामा व्यङ्ग्यको अहम् भूमिका रहन्छ । प्रायः लघुकथाहरूले भोगेका, देखेका, सुनेका विकृति र विसङ्गति प्रति कटाक्ष गरेका हुन्छन् । त्यस्तो कटाक्षको प्रक्षेपण गर्ने माध्यम नै व्यङ्ग्य हो । व्यङ्ग्यले लघुकथाको प्रभावकारिता बढाउँछ । यसका साथै व्यङ्ग्यको उचित व्यवस्थापन हुन पनि जरुरी छ । अन्यथा लघुकथा चुट्किला बन्न जाने चुनौती टड्कारो रूपमा रहन्छ ।
कथाहरू प्रशस्त लेखिएका छन् । यति हुँदा हुँदै पनि लघुकथा लेखिनु पर्ने आवश्यकता किन अनुभव गरियो ?
हो कथाहरू प्रशस्त लेखिएका छन् । युगान्तकारी कथाहरू लेखिएका छन् । कुनै सानो तर शक्तिशाली भावना या तरङ्ग मनमा उत्पन्न भयो र त्यसलाई जुन गतिमा उत्पन्न भयो त्यस्तै गतिमा अभिव्यक्त गर्नु पर्यो भने कथा कम प्रभावकारी हुनसक्छ । यस्तो अवस्थामा लघुकथा लेखनको आवश्यकता पर्छ । त्यस्तै सानो घटनालाई सटीक तरिकाले व्यक्त गर्न लघुकथा आवश्यक छ ।
लघुकथा र कथाका पाठकहरू समान हुन वा फरक फरक हुन् ?
रुचि अनुसार लघुकथा र कथाका पाठकहरू फरक हुन सक्छन् । कथामा परिवेशको विस्तृत रूपमा वर्णन गरिएको हुन्छ । घटनाहरू पनि कथाले मागे जति राख्न सकिन्छ । यसका साथै कथामा सरसता ल्याउन कथानकलाई जति पनि घुमाउन सकिन्छ । यी पक्षको राम्रो व्यवस्थापनले पाठक कथा पढ्न लालायित हुन्छन् र पूर्ण सन्तुष्टि प्राप्त गर्छन् । केही समयदेखि पाठकहरू छोटो समयमा पढेर सकिने खालका खुराक खोज्न थालेका छन् । कम समयमा पनि पढिने र पढेपछि मस्तिष्क एकछिन रन्थनिने भएकाले आजकाल धेरै पाठकहरू लघुकथाप्रति आकर्षित भएका छन् । सामाजिक सञ्जालको विकासले पनि बढी पाठक लघुकथातिर आकर्षित भएका हुन जस्तो लाग्छ ।
लघुकथामा कुन पक्ष बलियो गरी आउनु पर्छ ? घटनाको प्रभाव वा साहित्यकारको विचार ?
यहाँले शायद सोध्न खोज्नु भएको पक्षहरू भाव वा विचार हुनुपर्छ । लघुकथा शैली प्रधान भएकाले घटनाहरू न्यून हुन्छन् । प्रत्येक लेखकको निजी शैली हुन्छ । विषयवस्तुको छनोटले पनि लघुकथामा भाव वा विचार कुन पक्ष बलियो भएर आउँछ भन्ने कुरा हेर्न सकिन्छ । मेरा लघुकथाहरूमा भाव पक्ष भन्दा विचार पक्ष बलियो भएको कुरा समीक्षकहरूबाट थाहा पाएको छु । भाव पक्ष बलियो भएका लघुकथाहरूले पाठकको मन जित्न सजिलै सक्छन् । विचार पक्ष बलियो भएका लघुकथाहरूमा सन्देश पाइन्छ । जुनसुकै पक्ष बलियो भए पनि पाठकको मन जित्नलाई लेखकको शैली महत्त्वपूर्ण छ ।
लघुकथा-लेखनका अनेक नियमहरू निर्माण गरिएको पाइन्छ । लघुकथा २ सय ५० शब्द भित्र रहेर लेखिनु पर्छ। लघुकथामा बीज वाक्य हुनु पर्छ । लघुकथा जुन भावमा प्रारम्भ गरिएको छ त्यसको विपरीत भावमा समाप्त हुनु पर्छ । आदि आदि । के साहित्यलाई यसरी नियमभित्र बाँध्नु उपयुक्त हो ?
हो, यहाँले भनेको जस्तै लघुकथा लेखनमा नियमहरू राखिएको छ । पहिलो कुरा त लघुकथा आख्यान विधाको एउटा उपविधा हो । यो भन्ने वित्तिकै आख्यानकारहरूले सोधिहाल्नु हुन्छ कि के कति कारणले लघुकथा उपविधा हो ? लघुकथालाई छोटा कथाबाट छुट्याउन केही आधार त हुनुपर्यो ।
उदाहरणका लागि लघुकथामा शब्द सङ्ख्या सीमित हुनु पर्यो, आकस्मिक उठान र झट्का सहित अप्रत्याशित अन्त्य हुनु पर्यो । शीर्षक देखि नै रहस्यलाई लुकाएर अन्त्यमा मात्रै खोल्नु पर्यो । साहित्यकारलाई नियमले बाँध्ने भन्दा पनि लघुकथाको प्रभावकारिताका लागि यसका विशेषताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने एउटा मार्गदर्शन प्रदान गरेको हो जस्तो लाग्छ । जसबाट कालजयी र स्तरीय लघुकथा सिर्जना होउन् । साहित्यका अन्य विधामा पनि त आ-आफ्ना नियम छन् नि ! जस्तै छन्द कविता, गजल, मुक्तक लेखनका नियम छन् । त्यस्तै आख्यान र गैर आख्यान लेखनका आ-आफ्नै नियम छन् । आफूले अँगालेको विधामा स्थापित हुन त्यसका नियमको पालना गर्नु पर्छ भन्ने लाग्छ ।
लघुकथा, कथा र उपन्यास बीच के अन्तर छ ?
सबै भन्दा पहिले एउटा कुरा स्पष्ट के पार्न चाहन्छु भने लघुकथा भनेको कथाको सानो रूप होइन । यसलाई अझ खुलाउन उदाहरण राखौं । पीपलको रूख, चुत्रोको बुटो अनि बोन्साई यी तीन वटै वनस्पति हुन् । आकार मात्रै फरक नभएर यी पूर्ण वनस्पति हुन् र आ-आफ्नो विशेषताले भरिपूर्ण छन् । त्यस्तै लघुकथा, कथा र उपन्यास आख्यान विधाका उपविधाहरू हुन् । यी उपविधाहरू आफैमा पूर्ण छन् । उपन्यासले पुरै जीवन समेट्न सक्छ, भने कथाले जीवनमा घटेको घटना समेटेको हुन्छ । लघुकथाले जीवनका क्षणिक र सूक्ष्म घटना समेटेको हुन्छ । कथानकको आयाम, परिवेशको विस्तृति, घटना र पात्रहरूको परिमाण र विषयको सूक्ष्मतालाई आधार लिने हो भने लघुकथा, कथा र उपन्यासका बीच धेरै अन्तर पाइन्छ । आख्यान निर्माणमा चाहिने मुख्य उपकरणहरू सबैमा उस्तै हो ।
तर कथा घटना प्रधान हुन्छ, भने लघुकथा शैली प्रधान । यस अघि छलफल गरिएका लघुकथा लेखनका नियम कथाका भन्दा पक्कै फरक छन् । शब्द सङ्ख्या एउटा मार्गनिर्देशन मात्र हो । लघुकथालाई चट्याङ्गसँग पनि तुलना गरिन्छ । किनभने लघुकथा पढिसकेपछि पाठकको मस्तिष्क केही बेर रन्थनिनु पर्छ । त्यहाँ खलबली मच्चिनु पर्छ । लघुकथा पढिसकेपछि यदि मस्तिष्कमा झनझनाहट पैदा भएन भने या त त्यो लघुकथा नै हैन, या लघुकथा बनाउने ढङ्ग पुगेको छैन । कथामा यस्तो रसास्वादन नहुन सक्छ ।
लघुकथाले निकै लोकप्रियता पाएको छ आजभोलि । यदि यो भनाइ सही हो भने के कथा-लेखन छायामा पर्न थालेको हो ?
लघुकथाले लोकप्रियता पाएको कुरालाई म स्विकार्छु । तर कथा लेखन छायामा परेको भन्ने कुरालाई म मान्न तयार छैन । कथा साहित्य स्थापित भैसकेको छ र यसका आफ्नै पाठक छन् । बलेको आगोमा आफ्नो ढाड सेकाउन हाम्रो समाज जहिले पनि अग्रपङ्क्तिमा हुन्छ । साहित्यमा पनि त्यो लागू हुन्छ । अहिले सबैलाई एउटा लघुकथा लेखौं न त भन्ने हुटहुटी चलेको छ । त्यसले पनि लघुकथाले लोकप्रियता पाएको हो । तर कथा लेखन आफ्नै चालमा अगाडि बढिरहेको छ । वर्षै पिच्छे राम्रा राम्रा कथासङ्ग्रहहरू प्रकाशित भएका छन् । नयाँ कथाकारहरू पनि जन्मँदै छन् ।
लघुकथाको उत्पत्ति किन भएको होला जस्तो लाग्छ ?
यस प्रश्नको उत्तर म अलि फरक ढङ्गले दिने प्रयास गर्छु है त ! आदिकवि भानुभक्त जेल परे । उनले एउटा कविता मार्फत आफ्नो पिर मर्का, जेल भित्रको अवस्था, तत्कालीन न्याय प्रशासनको ढिला-सुस्ती र आफ्नो रिहाइको माग गरे । त्यस्तै पूर्ण प्रसाद ब्राह्मणले राणा कालमा आफूले देखेका र भोगेका घटनाहरूलाई सटीक र प्रभावकारी तरिकाले अभिव्यक्त गर्न लघुकथा लेखे । लघुकथाको प्रयोग पुराण र संस्कृत साहित्यमा पनि प्रयोग भएको पाइन्छ । नेपाली साहित्यमा पनि कुथुङ्ग्रीका रूपमा प्रयोग भएको कुरा हामीले भेटाएका छौं । यसैले थोरै शब्दहरूमा धेरै कुरा भन्नलाई लघुकथाको उत्पत्ति भएको हो ।
लघुकथाले पाठकलाई सही दिशामा लाग्न मार्ग निर्देशन गर्छ वा गलत दिशामा हिँडेको भन्दै केवल आलोचना गर्ने कार्य मात्र गर्छ ?
आहा ! कस्तो राम्रो प्रश्न । यहाँनेर म एउटा भनाइलाई स्मरण गर्न चाहेँ । साहित्य समाजको ऐना हो । लघुकथामा पनि समाजको प्रतिबिम्ब देख्न पाइन्छ । साहित्यले समाज परिवर्तनको उद्घोष पनि गर्छ । यस अर्थमा लघुकथाको उद्देश्य समाजलाई अग्रगामी पथमा लैजाने हुनुपर्छ । लघुकथाको अर्को उद्देश्य भनेको समाजमा हुने गरेका विकृति र विसङ्गतिको उजागर गर्नु हो । यदि समाज (पाठक) गलत दिशामा गइरहेको छ भने, उसलाई आफू कुन दिशामा गइरहेको छु भन्ने ज्ञान नहुन पनि सक्छ । त्यस्तो बेलामा तिमी गलत बाटोमा जाँदै छौ है भन्ने जानकारी दिन पनि जरुरी हुन्छ | केवल आलोचना मात्रा नभएर लघुकथाले पाठकलाई तिमी गलत बाटोमा जाँदै छौ है भनेर खबरदारी गर्छ र सही दिशामा पनि डोर्याउँछ ।
साहित्यकारको कृति पढ्दा एक पाठकले उक्त साहित्यकारको व्यवहार (चरित्र) पनि सँगसँगै स्मरण गरिरहेको हुन्छ। त्यस्तो हो ?
यो एउटा गम्भीर र त्यत्तिकै महत्त्वपूर्ण प्रश्न हो । पाठकले जब कुनै साहित्यकारको कृति पढ्न थाल्छ, उसको मनमा धेरै प्रश्नहरू जन्मन थाल्छन् । धेरै प्रश्नहरू मध्ये साहित्यकार कत्तिको इमानदार छ त भन्ने प्रश्न पाठकको मनमा उठिरहन्छ । यस प्रश्नको उत्तर पाएपछि पाठकले साहित्यकारको चरित्र आफ्नो मनमा सजाएर राख्छ । चलाकी गर्यो भने त्यस्ता साहित्यकारलाई पाठकले मनबाट हटाइदिन्छन् । कुनै साहित्यकारलाई पढेर जीवन साथी बनाएका उदाहरणहरू हामी सामु छन् ।
अर्को उदाहरण, मादक पदार्थ विरुद्ध लेख्ने साहित्यकारले मादक पदार्थ खाएको देख्दा पाठक विक्षिप्त भएको पनि पाइएको छ । हालसालै प्रख्यात अंग्रेजी साहित्य ह्यारी पोर्टरका लेखक जेके रावलिंगले खलनायक पात्रलाई मार्न खोज्दा पाठकहरू निक्कै रिसाएको दृष्टान्त हामी सामु छ । त्यसैले साहित्यकारहरूले पाठकमा बसेको आफ्नो छवि धमिलो हुन नदिन इमानदार हुन जरुरी छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।