एक बिहान उठें र आकासतिर हेरें, त्यसले त मलाई जिस्क्यायो पो ! भर्खर उठेको हुँदा निद्राको धङधङी थियो तापनि त्यसो किन भनेर वरिपरि र सुदूर टाढा सबै क्षितिजसम्मै हेरेँ– आकाशले भर्खर मुख धोएको रहेछ । जता हेरे पनि नीलिमा मात्र, कहीँ कतै बादलको टुक्राटाक्री केही देखिंदैन । अनि पो आकाशले सेखी झारेको रहेछ, मानौं ऊ भन्दै थियो, “मसित यी यो मनोरम नीलिमा छ, घाम छ, भरेका लागि जून छ, ताराहरू छन् । तिमी पृथ्वीवासीसित खै के छ ?”

निमेषभरलाई त म अलमलमा परेँ, र विस्फारित नयनले एकटक माथि, अझ माथि नीलगगनतिरै हेरिबसें । एक अर्को पलमा अनायास आफैँ मेरो मुखबाट शब्दहरू निस्कन थाले, “यहाँ मसित आमा छन्, पिता छन्, दाजुभाइ छन्, दिदीबहिनी छन्, गुरुहरू छन्, मामा छन्, माइज्यू छन्, भाउजू छन्, साथी अनि दौंतरी छन् । संसारलाई गुलजार बनाइराख्ने प्रेमी–प्रेमिका र आबालवृद्धवनिता छन् । यी सबै कुरा तिमीसित छन् ?”

अब अलमलमा पर्ने पालो परेछ आकाशको । ऊ एकछिन घोत्लियो, के के न सोचेजस्तो गर्यो, अनि त उसको अनुहार बिग्रन थाल्यो । नजाने कताबाट बादलका काला–सेता टुक्राटाक्री उडेर आए र आकाशको स्निग्धता र नीलो सौन्दर्यलाई कतै लुकाइदिए । क्रमशः आकाश अँध्यारियो ।

म पनि शनैः शनैः धर्तीमा फर्किएँ । अनि आफ्नै बुझाइमा घोत्लिन थालेँ ।

मनुस्मृतिमा भनिएको छ – पिता एक सय आचार्यहरूभन्दा र आमा एक हजार पिताहरूभन्दा श्रेष्ठ हुन्छन् । मानिस मात्र होइन, सम्पूर्ण चराचर जगतकै लागि आमा (माता) र पितामा ईश्वरको प्रतिबिम्ब रहेको हुन्छ । (म भन्न सक्दिन, जनावर र चराचुरुङ्गीको संसारमा धर्म, ईश्वर र नाता–सम्बन्धहरूको के स्थान छ तर के चाहिं थाहा छ भने मान्छेलाई मानवको स्वरूप दिएर सामाजिकता प्रदान गर्नमा भने यी कुराहरू नै मानक बनेका हुन्छन्) ।

अनि माइज्यू नि ? आमा अथवा माताको ‘मा’ र ईश्वरको ‘इ’ गरी संसारका दुई सबैभन्दा ठुला शब्दबाट पहिला दुई अक्षर झिकेर त्यसमा आदरार्थी प्रत्यय ‘ज्यू’ थपेर बनेको शब्द हो – माइज्यू । जसमा आमामा जत्तिकै ममता, संयम, धैर्य र सहनशीलता हुन्छ अनि आमामा जस्तै स्नेह औ वात्सल्य हुन्छ तथा ईश्वरमा जस्तै दया, माया र अनुकम्पा हुन्छ – उनै हुन् माइज्यू । त्यसैकारण, मलाई लाग्छ, माइज्यू हुनु र माइज्यूको कर्तव्य निर्वाह गर्न सक्नु आफैँमा ठूलो कार्य हो ।

यसो भनेर गमिरहँदा किन किन मलाई एकजना माइज्यूको प्रसङ्ग निकै याद आइरहेको छ ।

उनी थिइन् देउराली माइज्यू । उनको खास नाम के थियो, मलाई कहिल्यै थाहा भएन (र सायद जान्न पनि खोजिएन) । मलाई राम्ररी थाहा छ – मलाई मात्र होइन, कसैलाई पनि उनको वास्तविक नाम थाहा थिएन । सम्भवतः केवल माइती परिवार, केही अति मिल्ने घनिष्ठ सँगिनी र आफ्नै श्रीमान्लाई मात्र थाहा थियो होला उनको न्वारनको नाम । उनका छ जना छोराछोरीलाई पनि सायद उनको नाम थाहा थिएन, किनभने स्कुलमा नाम लेखाउँदा अथवा लोकसेवा या कुनै आयोगको फारम भर्दा केवल पिताको नाम मात्र सोधिएको हुन्थ्यो, त्यस्ता फारमहरूमा आमाको नाम सोधिने वा लेख्नुपर्ने चलन थिएन । तसर्थ, कुनै कामका लागि आमाको नागरिकता पनि चाहिएन, र परिवारमा अरू कसैले त्यो हेर्नुपर्ने आवश्यकता नै पनि देखेन ।

उनी जन्मेको गाउँको नाम देउराली थियो । ताते–ताते र पछि छुनुमुनु गर्ने बालापन त्यहीं बित्यो, साथी–दमालीसित यता र उता डुलिहिँड्ने कैशौर्य पनि त्यहीँ बित्यो, सपनाको संसार बनाई टोलाउन मन पराउने युवती भएपछि उनको विवाह भयो र उनी आफ्ना दुलहाको घर हाम्रो गाउँबस्तीमा आइपुगिन् ।

यहाँको नयाँ संसारमा आइसकेपछि उनी केही समय ‘नयाँ दुलही’ बनेरै रहिन्, अनि समयक्रममा क्रमशः उनी देउराली आमा भइन्, देउराली काकी भइन्, देउराल्नी बुहारी भइन्, देउराली भाउजू भइन् र भइन् देउराली माइज्यू । तिनताका हाम्रो गाउँबस्तीमा मानिसहरूलाई नामले होइन, उनीहरूको थरले अथवा घरबारीको नामले र महिलालाई (खास नातागोताबाहेक) उनीहरूको माइती–ठाउँको नामले बोलाउने वा चिनिने चलन थियो । (अझै पनि अनेक गाउँठाउँमा यस्तै प्रचलन छ, जबकि नगर र सहरहरूमा भने सोझै नामले नै बोलाउने र चिनिने चलन छ । अझ, तराई भेगतिर – त्यसमा पनि भारतसित सिमाना जोडिएका कतिपय क्षेत्रतिर महिलाहरूले आफ्नो लोग्नेको नाम नै लिन नहुने प्रचलनसमेत छ ।) यसरी पति र पत्नीलाई फलानाकी आमा अथवा फलानाका बाबु भनेर बोलाउने गरिन्छ । खासमा यसरी त आफ्नो नाम हराउँछ, ‘स्व’ खोसिन्छ र कसैसित जोडिएको पहिचान मात्र बाँकी रहन्छ ।

म उनै देउराली माइज्यूबारे सोच्दै थिएँ । तिनताका गाउँ छोडेर म राजधानी सहर पसेको धेरै भइसकेको थियो । अस्ति जस्तो मात्र लाग्छ, एक हूल गाउँले तरुण बडो व्यस्त अन्दाजमा राजधानी सहरमा यता र उता गरिरहेका भेटिएका थिए । उनीहरूको साथमा कसैका श्रीमती थिए, कसैका आमा–बा आएका थिए । एकजनालाई सोधेको पनि थिएँ, ‘केको मेलोमेसो हो बाबु यस्तो ?’ हाँस्दै उसले जवाफ दिएको थियो, ‘उही त हो नि दाइ, कामदारको अनुमतिसहितको भिसा पाएको छु, दुबई जान लागेको । अरू साथीहरू पनि छन् । कोही अबुधाबी, कोही बहराइन, कोही कतार त कोही शारजाह जाने तर्खरमा छौँ ।’

अर्को एकजना परिचित गाउँले भाइ भेटिएको थियो केशरमहल अगाडिको ठमेल मोडमा । भन्दै थियो, ‘मेसिनले पढ्न मिल्ने पासपोर्ट एमआरपी बनाउन आएको । दक्षिण अफ्रिकामा एउटा इन्डियन रेस्टुरेन्टमा काम पाएको छु । बडा खुसी छु दाइ किनभने यसपटक त जाहानलाई पनि लैजान पाउने भएको छु । बच्चाहरू यहीँ बसेर पढ्छन्, हामी उता काम गर्छौं ।’

उसले यति भनिरहँदा मैले उसको अनुहारमा प्रसन्नताका अथाह रेखाहरू दौडेको प्रस्ट महसुस गरिरहेको थिएँ । मैले उसलाई थप पढ्ने प्रयास गरेको थिएँ, ऊ त खुसी देखिन्थ्यो तर उसको अनुहारमा गाउँको बिरानो बन्दै गएको तस्बिर प्रस्ट देखा परिरहेको थियो । पछिल्लोपटक गाउँ जाँदा मैले प्रत्यक्ष अनुभव गरेकै थिएँ – कति कति घर त लगभग बन्द जस्तै थिए ! गाउँमा तन्नेरी काँधहरूको कस्तोविधि अभाव थियो ! बुढ्यौलीको मैदानमा सकीनसकी जीवनको कवाज खेल्न लागिपरेकाहरू, असहाय महिलाहरू र चिचिलाहरू मात्र छन् त्यहाँ ! पृथ्वी उचाल्ने आँट भएकाहरू अनि हाँसीहाँसी शारीरिक श्रम गर्न रमाउने तारुण्य पनि थिएन त्यहाँ ! खेतका गह्रा र कान्ला अनि बारीहरूले सुसारको करुणामय माग गरिहेका छन् तर त्यहाँसम्म पुग्ने अनि ती मागको सुनुवाइ गर्ने बलिया पाखुराहरूको डरलाग्दो अभाव छ । सगर उचाल्ने ती पाखुरा धेरैजसो राजधानीको विमानस्थलमा भेटिन्छन्, चिनेका पनि बग्रेल्ती र नचिनेकाहरू त माला लगाएका झन् कति कति !

यही सेरोफेरोमा राजधानीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलतिर आँखा दौडाउनुपर्छ, त्यहाँ देख्न पाइन्छ – अथाह युवा जिन्दगीहरू निरन्तर उडिरहेछन् । तराई भेगका सिमाना जिल्लाहरू सम्झनुपर्छ जहाँ जिन्दगीहरू गुडिरहेछन् । फेरि पहाडी क्षेत्रतिर नजर घुमाउनुपर्छ जहाँ उकालो चढ्नेहरूभन्दा सर्वत्र ओह्रालो झरिरहेकाहरू देखिइरहेछन् । बलिष्ठ पाखुराहरू देशतिर आउनेभन्दा देशबाहिर जाने लर्को लामो र ठुलो छ । कोही सिमानापारि हराउँछन् । कोही आफ्नो युवा शक्ति, जोश र जाँगर उतै बेचेर वा थन्क्याएर फर्किन्छन् । अन्ततः यसरी नै उड्नु, गुड्नु, हराउनु, फर्किनु र नफर्किनु त्यस्ता कुरा हुन्छन् जसले जीवनलाई बेलगाम बनाइदिन्छन् ।

नेपालजस्ता विकासशील देश यस्तैमा अल्झिएका छन् । खासमा, विश्वव्यापीकरणले अल्झाइएका छन् । यो त त्यस्तो जन्तरमन्तर हो जसबाट ‘विकसितहरू’ले ‘विकासोन्मुख’ र ‘विकासशील’ देशहरूलाई भरिसक्के निस्कनै दिँदैनन् । उनीहरू आशा दिन्छन्, उमंग दिँदैनन् । सपना दिन्छन्, विश्वास दिँदैनन् । अनि जीवनमा एउटा मोड आउँछ जहाँ बाँकी रहन्छन् त केवल निभेका विश्वास, विश्वस्त सपना र अधुरा जिन्दगीहरू मात्र !

‘हेर्नुस् बाबु, अचेल त गाउँ के भयो भयो ! तन्नेरीहरू र बल भएका महिलाहरूसमेत यता बस्नै छाडे । सबैजना सजिलो गरी पैसा कमाउने मेसो भन्दै बिदेसिन थाले । केटाकेटी, अशक्त आइमाई र बुढा–खाँडा मात्र यता बस्नुपर्ने भएको छ,’ देउराली माइज्यूलाई भेट्दा बेलाबेला उनी गुनासो गर्थिन्, ‘घाट जान पर्यो भने पनि पल्ला गाउँहरूतिर मलामी खोज्न जानुपर्ने, र अझ त्यो पनि नभए सदरमुकाम फोन गरेर शव वाहनलाई बोलाउनुपर्ने अवस्था भइसकेको छ ।’

हरे ! म कहिलेकाहीं मात्र गाउँ पुग्ने मनुवा उनको यो पीडामा मलम लगाउन खासै केही गर्न सक्ने अवस्थामा थिइनँ । तापनि, मसित कुरा बिसाएपछि कमोबेस सान्त्वनाका शब्दहरू पाउने उनको आशापूर्ण मनस्थिति हुन्थ्यो । मेरा केही शब्दहरूले देउराली माइज्यूका सुस्केरामा सायद केही मलम लगाइदिए जस्तो हुन्थ्यो होला ।

त्यसो त देउराली माइज्यूको गाउँमा विकास नपुगेको कहाँ हो र ? बिजुली पुगेको छ । पानीका धारा छन् । बाटो खुलेको छ र गाडी घरैअगाडिबाट भएर गुड्छन् । विद्यालय पनि उच्च भइसकेको छ । त्योभन्दा बढी त सञ्चार क्रान्तिले छपक्कै ढाकेको छ । घरघरमा र प्रायः परिवारका हरेक सदस्यसित मोबाइल भनिने ‘हाते फोन’ छ । बारी खन्दा अथवा खेतमा काम गर्दा, अथवा डोको बोकेर खरबारी जाँदा–आउँदा उही हाते फोनमा कुराकानी गरिरहेको दृश्य पुरानो भइसकेको छ ।

‘तैंले घाँस काटिसकिस् ? मेरो डोको त भरिसक्यो, अनि तेरो के भयो त ? ए, ए, ल, ल । छिटो भरेर फेरि मलाई भन् है त । ल बाई !’ गाउँठाउँमा यस्तो वार्तालाप सुनिने प्रसङ्ग अचेल सामान्य भइसकेका छन् ।

बाटो, बिजुली, शिक्षा, खानेपानी, सवारी साधन, स्वास्थ्य–चौकीजस्ता आधुनिक विकासका प्राथमिक आधार गाउँ पुगेका छन् । फरक–फरक किसिमका पसलहरू खुलेका छन् । इतिहासको अँध्यारो समयभन्दा यो नितान्त पृथक् अवस्था हो । मानिसहरू गाउँ छाडेर सहर भासिएका छन्, अझ धेरै त परदेसिएका छन् । उल्लेख्य संख्यामा युवा पुस्ता मुग्लानिएको छ । त्यसको प्रत्यक्ष प्रभाव परेको छ त्यहाँ । देशले रेमिट्यान्स पाएको छ, मुग्लानिएकाहरूका परिवारले रिङ्गिट, दिनार, रियाल, दिराम, वान, पाउण्ड र डलरको सट्टा हात्ती छाप स्वदेशी मुद्रा पाइरहेका छन् ।

मुद्राले धेरै व्यक्तिगत जीवनहरूमा बदलाव ल्याएको छ तर गाउँको मुहार भने सायद नियास्रिएको छ । खेतबारीमा श्रम गर्ने जाँगर क्रमशः क्षय भइरहेको छ, पशुपालन हराउँदै जान थालेको छ, खेतखलिहानमा न हिजो जसरी छाती तानेर मकैका बोट ठिङ्ग उभिएका देखिन्छन्, न धान र गहुँका बालाहरूले विगतमा जसरी बयेली खेलेको हेर्न पाइन्छ । हिजो शुद्ध प्राङ्गारिक गोबरमल हुन्थ्यो, अचेल छिटो र धेरै फलाउने लोभमा जथाभाबी युरिया आदि विकासे मल औ विषादीको बग्रेल्ती प्रयोग छ । यसरी विकासले गाउँको यौवन लुटेको छ, जीवन मानौं दुर्घटित भएको छ, स्थानीय जनजिन्दगानीको नयनसुख खोसेको छ र प्रकृतिको मनोरम छटाप्रति घात गरेको छ ।

देउराली माइज्यू यी सबै ‘विकास’ र ‘परिवर्तन’ की मूक साक्षी हुन् । उनले बस्तीको नयाँ फेसन पनि देखेकी छन् – स्थानीय तन्नेरीहरू पसिना चुहाउन विदेश गएका छन्, उनीहरूका जहान आफ्ना छोराछोरी लिएर सहर–बजारमा डेरा गरी बस्न थालेका छन्, केटाकेटीलाई उतै बोर्डिङमा पढाउने भनेर । जीवनले विचित्र कोल्टो फेरेको छ – छोराहरूको बसाइँ विदेशमा र यता बुहारीहरूको बसाइँ चाहिँ नातिनातिना लिएर सहर–बजारमा ! अनि बुढ्यौली उमेरमा फेरि एक्लिएका आमाबुबा मात्र त्यो बुढो पुरानो घरमा !

यसो हुनुको कारण पनि सायद प्रस्ट छ – हातमा सजिलै र धेरै मात्रामा पैसा पर्न थालेपछि मानिसलाई धेरै अह्रन–खटन मन पर्न छोड्छ । असीमित चाहनाका पखेटा फिँजारिन थाल्छन् । र, त्यसरी सहजै प्राप्त भएको सुखले विलास निम्त्याउँछ । विलासले दैहिक भोकप्यास बढाउँछ । सायद यसैको परिणाम हो, पछिल्लो समयमा नेपाली समाजमा पारिवारिक विखण्डनका नयाँ नयाँ अध्यायहरू निरन्तर लेखिन थालिएका छन् ।

यो अवस्था गम्दा मलाई कवि विक्रम सुब्बाले रचेको कविताका केही पंक्तिहरूको सम्झना भएर आउँछ :

‘…था’थिएन, लडाइँ त जीवनभर खेल्नुपर्ने खेल रै’छ

तर, किमार्थ टेक्न दिइन कतै घुँडा जिन्दगीको

हो, कदापि गाइन पीठ फर्काई भाग्ने गीत पनि जिन्दगीको…’

कविताको सम्झना किन आयो भने देउराली माइज्यूहरू पनि पीठ फर्काएर भाग्दैनन्, भागेनन् । दुनियाँ जति परिवर्तनको साक्षी बने पनि उनीहरू आफ्नै चुल्हो–चौका, पिँढी र आँगनमा रमाइरहेका हुन्छन् । (रमाउनु उनीहरूको बाध्यता हो) । त्यसै पनि, दुःखै–दुःखका बीचमा बाँच्नुपर्ने भएपछि जीवन सामान्य बन्दै जान्छ । दुःख आफैँमा एक किसिमको बानी बन्दै जान्छ । सुखको लालसा त सधैं रहिरहन्छ तर त्यसको प्राप्तिप्रति भने जीवन निस्पृह बनेर बस्न पुग्छ ।

मलाई लाग्छ – कहिले कतैकही बिरानीमा हराउँदै म कुनै देउरालीमा पुगें भने, अथवा अनचिनारु नेटा र चौतारी वा भन्ज्याङमा अलमलिन पुगें भने म उनै देउराली माइज्यूलाई सम्झन पुगेको हुन्छु । उनी स्वयम्मा एक थिइन्, तर उनी लाखौं–करोडौं नेपाली महिलाकै एक स्थायी प्रतिनिधि पात्र नै त हुन् । धेरैजसो परिवार, हरेक टोल–गाउँ, बस्ती, समाज सबैतिर यस्ता देउराली माइज्यूहरू भेटिन्छन् ।

सधैँ–सधैँ कामले थिचिएकाहरू, अक्सर यौवनका गीत गुनगुनाउन नपाएकाहरू, असमयमै जीवन बुढ्याएकाहरू र पूरा गर्न नपाइएका सपना आँखाभरि बोकेर जीवन–गोरेटोमा लुसुलुसु हिंडिरहेका महिलाहरू नै त हुन् देउराली माइज्यूहरू । मानिसको जिन्दगी एकनासको सरल रेखाबाट मात्र अगाडि बढेको हुँदैन । समय बित्दै जाँदा र उमेर डाँडामाथिको जूनमा रूपान्तरित हुँदै जाँदासम्म जीवनले अनेक सर्पाकार बाटा र घुम्तीहरू तय गर्नुपर्ने हुन्छ । यस किसिमको जीवनमा एक कुँडे दुःखको अनुपातमा एक थुर्मी खुसी नै पनि जिन्दगी बाँच्न उत्प्रेरित गर्ने आधार (क्याटालिस्ट) बन्न पुगेको हुन्छ ।

यी तमाम देउराली माइज्यूहरूलाई लाग्दो हो – एकबारको मानवचोला पाइसकेपछि बाँच्नु त पर्यो नै । भावीले जुराइदिएको जे जस्तो कर्म छ, त्यो पनि पूरा गर्न पर्यो नै । त्यसो हो भने जिन्दगीसित गुनासो गरेर के लाभ ? पुर्पुरो ठोक्दै बसिरहेर के फाइदा ? विधातालाई धारे हात लगाउँदै बसेर के मिल्छ ? जिन्दगी भनेको बाँच्नका लागि हो । जीवन यदि विष हो भने पनि त्यसलाई सेवन गर्ने आँट गर्नै पर्छ ।

फेरि पनि टाउको उठाएर माथि नीलगगनतिर हेर्छु । आकास उही छ, उस्तै छ – विशाल, अनन्त, अथाह, रहस्यमय । सूर्यदेव हाँसिरहेछन् । बादल फुरुङ्ग परेका छन् र इत्रिंदै घामसित लुकामारी खेल्न खोजेझैं गरिरहेछन् । उज्यालो छ । सिरसिर चलिरहने बतास छ । रुखहरूको हरियाली र चराहरूको चिरबिर सबै थोक छ । छैन त यहाँ पृथ्वीमा केवल देउराली माइज्यूहरूको अनुहारको चमक । यहाँ फगत एक फिक्का–फिक्का, सुख्खा–सुख्खा र उदास–उदास हाँसो छ । क्लान्त मुस्कान छ र सनातनी संस्कारले गाडेका अदृश्य नीलडामहरू छन् । म त्यहाँ आशा खोज्छु र भविष्य खोज्ने प्रयास गर्छु । सायद म त्यहाँ एउटा भाव पढिरहेको हुन्छु – सास रहे आस हुन्छ भन्छन् । तर, आसले साथ पनि छोड्न सक्छ, निराशाले लामो समयसम्म अँठ्याइरहन्छ । र, धेरै मानिसहरू यस्तै कुनै न कुनै आसको त्यान्द्रो समातेर जीवन बाँचिरहेका हुन्छन् ।

देउराली माइज्यूहरू यस्तै आसको जिन्दगी बाँच्छन् भलै उनीहरूका विश्वास निभ्दै गएका हुन्छन्, हजार सपनाहरू विध्वस्त भएका हुन्छन् र जिन्दगीहरू अधूरै रहेका हुन्छन् । अनि एक दिन उनीहरू यिनै र यस्तै अतृप्त चाहनाहरूले भरिएको निरासाबीच अन्तिम सास फेर्छन् ।

० ० ० ०

(जयदेव गौतमको नयाँ निबन्धसंग्रह ‘ती निला आँखा’ बाट । पहिलो निबन्धसंग्रह ‘लक्ष्मणरेखाका दासहरू’ छापिएको लामो समयपछि निस्केको लेखक गौतमको यो दोस्रो निबन्धसंग्रह साझा प्रकाशनले यसै साता प्रकाशन गरेको हो । व्यक्ति, जीवन, समाज र प्रकृतिका विविध आयाम समेटेर रोचक शैलीमा रचिएका एक्काइस ओटा निबन्ध यस नयाँ पुस्तकमा संग्रहित छन् ।)