कार्यालयको गेटबाट छिरेपछि कहिले कहीँ भेट हुन्थ्यो । मलाई देख्ने बित्तिकै खिसिक्क मुस्कुराउँथिन् उनी । आआफ्नो बाटो लाग्थ्यौँ । ठुलो संस्था, हजारौँ कर्मचारीहरू, सबैसँग चिनजान र परिचय हुने कुरै भएन जस्तै उनीसँग । एक दिन अफिस छुटेपछि गाडी पार्किङतर्फ सबै लम्कँदै थियौँ । हामी दुवैको गाडी एउटै लटमा रहेछन् । त्यतै जाने क्रममा सँगै भयौँ । पूर्ववत् मुस्कुराइनन् मात्र, आज परिचयको लागि हात अघि बढाइन् ।
“हेलो ! म जेसिका । विगत चार वर्षदेखि यही संस्थामा छु । दश माइल पर बस्छु । तिमीलाई केही पहिले नै देखिरहेकी त थिएँ । अहिले परिचय गर्ने समय मिल्यो खुसी लाग्यो ।”
“म निल, एक वर्ष भयो यो अफिसमा आएको । नजिकै बस्छु । तिमीसँग भेट हुन पाएकोमा हर्षित छु ।” भन्दै मिलाइरहेको दुई हात छुट्यायौँ । दुई मिनेट जति गफियौँ । सम्पर्क नं आदानप्रदान भयो । हाम्रा गाडीहरू नजिक नजिक रहेछन् । बिएमडब्लुभित्र उनी पसिन् । म टेस्लाभित्र । आआफ्नो निवासतर्फ सरासर हुइँकियौँ ।
परिचयको डोरीले आत्मीयताको गाँठो कसिलो बनाउन पाएकोमा खुसी हुँदै घर पुगिन् जेसिका ।
जन्मदिने बाआमा र जन्मेको धर्ती छोडेर मुटुमा गाँठो पार्दै जीवन खोज्न अमेरिका आएको पाँच वर्ष भएछ । मास्टर लेबलको अध्ययन पुरा गरेँ । आफ्नो विगत सम्झन्छु म ।
अमेरिकामा सबै कुराहरू राम्रै भएको छ । तर परिवार बनाउने अनुकूल भएको छैन अझै । परदेशमा एक्लो जीवन कठिन हुने नै भयो । शारीरिक र मानसिक रूपमा यसले असर गरेको महसुस भइरहेको छ मलाई ।
प्रत्येक वर्ष स्वदेश जान्छु । बाआमाको दर्शन गर्छु र अन्य परिवारको न्यास्रो मेटेर फर्कन्छु । मेरो विवाहको सम्बन्धमा म भन्दा बढी बाआमा चिन्तित हुनुहुन्छ । उमेर पुगेको छोरो । जरो बाँधिदिन पाए आफ्नो कर्तव्य पूर्ण हुने थियो भन्ने सोचमा हुनुहुन्छ उहाँहरू ।
स्वदेशबाट फर्किएको लगत्तै अफिस गएको त काम गर्ने शाखा परिवर्तन भएको रहेछ । संयोगले जेसिका र म एउटै शाखामा परेछौँ । लामो समयपछि भेट भएको र सँगै रही काम गर्ने अवसर मिलेकोमा हामी दुवै खुसी भयौँ ।
निल ! आऊ म तिमीलाई केही साथीहरूसँग परिचय गराउँछु भन्दै जेसिकाले नजिकैका कोठाहरूमा लगिन् । क्रमशः दुईतीन जना सहकर्मीहरूसँग चिनजान गराइन् । कामको प्रकृति अझै मिल्ने हुनाले म र जेसिका नजिकैको कोठाहरूमा बसेका छौँ ।
आफ्नै कोठामा बसेर काम गरिरहेकी जेसिकाले झ्यालबाट यसो बाहिरतिर हेरिन् । लमकलमक गर्दै क्याफ्टेरियातर्फ लाग्दै गरेको मलाई देखिन् र आफैसँग बात मारिन्- “आहा ! अग्लो शरीर । सुदर्शन मुहार ।अत्यन्तै सुहाउँदो गेटअप । रिसेप्सनमा सिँगारिएको ग्रुम अर्थात् दुलाहा जस्तो सुन्दर व्यक्तित्व । शिष्ट र शालीन यो पुरुषसँग आफ्नो तृष्णाको ज्वाला शान्त गर्न पाए ! देख्दैमा सामर्थी र पाइनदार जस्तो व्यक्तिलाई यो जवानी सुम्पिन पाए !”
उनको सोचाइ अझै तन्किन्छ – यो योग्य पुरुषसँगको परिचयबाट खुसी मात्र छैन आफ्नो व्यक्तित्व नै अग्लिएको महसुस भैरहेको छ मलाई । निल मेरो सहकर्मी हो भन्न पाउँदा शिर ठाडो भएको अनुभव गर्छु म ।
आज जेसिका विशेष प्रफुल्ल देखिन्छन् । आफ्नो कोठामा काम गरिरहेकी उनी जुरुक्क उठिन् र मेरो कोठामा आइन् ।
मैले शिष्टतापूर्वक स्वागत गरेँ, बस्नको लागि सोफा देखाएँ ।आफू पनि त्यसैमा आएर बसेँ । गर्न त अफिसकै बारेमा छलफल गर्यौं तर उनको आँखाको भाका केही फरक जस्तो अनुभव भैरहेछ मलाई । त्यो भाकामा सम्मोहन, स्नेह र मायाको छाल उर्लिरहे जस्तो लाग्यो । हुन त फरक संस्कार र संस्कृतिकी तरुनीसँगको यो स्थितिलाई मैले बुझ्न नसकेको पनि हुन सक्छ ।
उठेर आफ्नो कोठा फर्किने क्रममा ‘खाजा खान एक्लै एक्लै हैन, मिलेसम्म सँगै जाने है निल’ । जेसिकाले मलाई प्रस्ताव राखिन् ।
अवश्य जेसिका । ल हिँड, आजैबाट सँगै जाऊँ भन्दै सोफाबाट उठेँ म पनि र दुवै लाग्यौँ क्याफ्टेरियातर्फ ।
केही खानेकुराहरू लिएर आयो वेटरले । खाना खाँदै गर्दा जेसिकाले मलाई भनिन्- “तिम्रो जन्मस्थल, देश र परिवारको बारेमा कृपया मलाई छोटो जानकारी गराउन सक्छौ निल ? अर्को कुनै दिन मेरो बारेमा केही भनौँला नि ।”
मेरो देश सानो छ तर प्राकृतिक रूपमा मनोहर छ । मैले जेसिकालाई प्रतिप्रश्न गरेँ, “तिमीले संसारकै अग्लो चुचुरो तथा सर्वोच्च हिमाल ‘माउन्ट एभरेस्ट’ को नाम सुनेकी छ्यौ ?”
“वाउ ! किन नसुन्नु ! सुनेकी छु नि । आठ हजार आठ सय पचास मिटर अग्लो हिमाल हैन त्यो ?”
“हो, जहाँ त्यो उच्च हिमाल हाँसिरहेको छ, त्यो नै मेरो देश नेपाल हो जेसिका ।”
ब्रेक टायम सकिएपछि दुवै जना आआफ्नो कोठामा फर्कियौँ । म काममा व्यस्त भएँ ।
क्याफ्टेरियाबाट अफिस फर्किएपछि जेसिकाले हतारमा नेपालको बारेमा गुगल सर्च गरिन् । पुरातन संस्कार र संस्कृति अनि गरिब र अविकसित देश भन्ने थाहा पाइन् ।
उन्नति र प्रगतिको भन्दा पनि उनको चासो थियो नेपाली परम्परा, वैवाहिक मान्यता, संस्कार, संस्कृति र चिन्तनको । विवाहपूर्वका सहवास, बच्चा र लिभिङ् टुगेदर आदिलाई विशेष खोतल्ने प्रयास गर्दै गइन् ।
अफिसबाट घर फर्केपछि खानु, सुत्नु र बस्नु बाहेक के नै काम हुन्छ र मेरो ? “खाली दिमाग सैतानका घर” भनेझैँ यस पटक स्वदेशबाट फर्किएपछि किन हो किन मेरो मन भ्रान्त, अशान्त भै सिमलको भुवा झैँ उडेको छ । मानिसै मानिसको यो भिडमा पनि एक्लो अनुभव हुनाले मनस्थिति गिजोलिएको छ । खुसी हुन खोज्छु तर सकिरहेको छैन म ।
मलाई अव एउटा साथीको आवश्यकताको महसुस भै रहेको छ । उमेरले शरीर पक्रँदै पनि आयो । जवानीको भोकले क्रमशः व्याकुल बनाउन थाल्यो । अन्य परिवेशले पनि विवाहको लागि घचघच्याई रहेको हो कि ? समाज र वातावरण पनि त्यस्तै खुला छ । केटाकेटी हात समाएर, हग अनि किसमा रमाएका दृश्यले आफूलाई पनि उद्वेलित बनाउँछ ।
यो विवाह भन्ने कुरा पनि एउटा संयोग नै हो । न सोचे जस्तो हुने, न आँटेको पुग्ने । राम्रो काम पाएको छु । घर लगायत अन्य सरसुविधाहरूको कमी छैन । रूप र शीलस्वभाव पनि राम्रै छ भन्छन् । सबै परिवेश मिल्दामिल्दै र उपयुक्त हुँदाहुँदै पनि जुर्दो रहेनछ विवाह ।
जेसिका लामो समयदेखि ब्वाइफ्रेण्डसँग लिभिङ् टुगेदरको सम्बन्धमा थिइन् । जीवन रमाइलो र उमङ्गसँग नै चलिरहेको थियो । समयले स्थितिमा परिवर्तन गरेर हो वा सोच नमिलेर हो सँगै बस्न चाहेनन् ।
दुवै असल र योग्य केटाकेटी थिए । समस्या धेरै सानो थियो होला । सायद भलो नचाहनेहरूले समस्याको जरामा युरियामल हालिदिए । त्यसपछि यी दुईले आआफ्नो मुटु अचानो बनाएर खुकुरी चलाए । मन फाट्यो । सम्बन्ध धुजाधुजा भयो । सात वर्षसम्मको अनुभवले जीवनको लामो यात्रा थेग्न नसक्ने देखे । भिन्न भए ।
त्यसै बेलादेखि जेसिका योग्य पुरुषको खोजीमा छन् । समयसँग उनी स्पष्ट छन्- बितेको कुरामा शोक नगरौँ । मुख्य वर्तमानलाई सदुपयोग गरेको खण्डमा भविष्य स्वत: अनुकूल बन्ने नै छ भन्नेमा आशावादी छन् जेसिका । त्यसैले त मलाई योग्य देखेर नजिक हुन खोजिरहेकी छन् ।
मैले स्पष्ट बुझेको छु- मेरो काँधको बिसौनीमा टेक्न पाए आफ्नो पर्खालपारिको भविष्य उज्ज्वल हुने देखेकी छन् । जिन्दगीको भरपर्दो बैसाखी हुन सक्ने ठानेकी छन् । मसँग धेरै नै आकर्षित छन् जेसिका । त्यति मात्र हैन, मप्रतिको विश्वास आफैप्रतिको जस्तो दरो र बलियो छ उनमा ।
बैँसको मुना पलाउन थालेदेखि नै केटासाथीसँग रमाएर बसेकी जेसिकालाई जीवनको यो दुई वर्षको एकल यात्रा नमिठो र पिडादायी भएको छ । यौन कुण्ठाको रापमा कहिल्यै सेकिन नपरेकी यी युवतिले पुरुषको महत्त्वलाई थप बुझ्दै आएकी छन् ।
आज जेसिकाले बल्ल अवगत गरिन् कि ‘सबन्ध तोड्न जति सजिलो हुन्छ जोड्न त्यो भन्दा बढी कठिन हुने रहेछ’ भन्ने यथार्थ । उनले यदि यो कुरा भुक्तभोगीसँगको अनुभवबाट सिकेकी भए सायद सम्बन्ध टुट्दैन थियो कि ? जेसिकाको निवास राज्य खोसिएको राजाको दरबारजस्तो सुनसान र चकमन्न हुने थिएन कि ?
जेसिकाको पारिवारिक पृष्ठभूमि खोतलेको छु । उनी राम्रो घरपरिवारकी शिक्षित र योग्य केटी हुन् । कामप्रतिको लगाव राम्रो छ र मनग्य आम्दानी गर्छिन् पनि । निश्छल र निष्कपट छन् । मैले जानेसम्म अमेरिकी समाजको अब्बल फूलबारीमा उम्रिएकी उन्नत बिरुवा हुन् उनी ।
जेसिकालाई निद्रा खासै लागेन । बिहान सबेरै उठिन् । नित्य कर्म सकेपछि स्नानको लागि तयार भइन् । सेतो मकैको नाङ्गो घोगा समान आफ्नो सल्काइलो वस्त्रविहीन शरीरलाई बाथरुमको ठूलो ऐनामा देखिन् । हल्का लजाउँदै मन्द मुस्कुराइन् । गहिरिएर सम्पूर्ण भूगोलको निरीक्षण गरिन् । हिमाल, मैदान, खोच, गल्ली, गल्छेडा उपर दृष्टि पुर्याइन् । प्यासी बनिन् । ती अङ्गहरूले उत्तेजनापूर्वक उनीलाई नै चिहाउँदै सरापिरहेका अनुभूति भयो । ‘तिम्रो ब्रेकअपको गलत निर्णयले विगत दुई वर्षदेखि यौन आनन्दको अस्मेल भेलमा पौडन नपाएको’ भनी गुनासो गरेको भान भयो । पछुताइन् । मनमा हल्का बेचैनीले राज गर्न पुग्यो ।
यसै क्रममा जेसिकाको नयनहरू एक्कासि आफ्नै छातीमा केन्द्रित भए । तत् क्षण उनको मनमा निलको बिम्ब उदायो त्यहाँ । ती हात आफ्नो नभै निलको हो भन्ने भ्रम हुन गयो । झन् उत्तेजित र उत्साहित बनिन् अनि बालकले बेलुन समाएझैँ दुई थुम्कालाई बारम्बार समाइन् । बेजोडको कुतकुतीले गर्दा चरम सुखभोगको अनुभूति हुन पुग्यो । त्यसपछि घाममा परेको बरफ झैँ पग्लँदै थिइन्, झल्याँस्स भइन् । भ्रमबाट यथार्थमा आइन् । उकुसमुकुस हुँदै लाजले भुतुक्कै भइन् । यौन कुण्ठाले गर्दा मानसिक र शारीरिक रूपमा अपाङ्ग जस्तै पो हुन्छु कि भनी डराइन् पनि । विगत केही समयदेखि जेसिकालाई एक्लोपनले घरिघरी कोपरिरहन्छ यसरी । यदाकदा आफ्नै जीवन सौता सरी लाग्न पुग्छ ।
धेरै र थोरैको कुरा मात्र हो, विन्टर सिजनमा अमेरिकाको प्राय: सबै राज्यहरूमा हिउँ पर्छ । दुई महिना हिउँमा खलखली नुहाउँछ यो सहर पनि । एकातिर हिउँको कारणले मौसम धुम्म परेको छ अर्कोतिर एक्लोपनले मेरो मन पनि धुम्मिएको छ । ढुसी परेको नरमाइलो वातावरणले जीवन निरस हुँदै गएको अनुभव हुन्छ मलाई । मनमा अनेक तर्क वितर्क चलिरहेको बेलामा बिहान सबेरै जेसिकाको फोन आयो । मैले उठाएँ र हेलो भनेँ ।
“निल ! म जेसिका बोलेको । के गरिरहेछौ तिमी ?”
“ओहो ! खुसी लाग्यो । धन्यवाद जेसी । म घरमा नै छु । के गर्नु र ? बसिरहेको ।”
“आजको लन्च एकै ठाउँमा खाऊँ न ! तिमी म कहाँ आउँछौ कि म आऊँ त्यता ?”
मैले यसो सोचेँ र भनेँ- “तिमी यतै आऊ जेसिका । बरु अलि चाँडै, एघार बजेतिर आऊ । दुवै मिलेर तयार गर्ने खाना । हुँदैन ?”
“अवश्य । भैहाल्छ नि । ओके, बाइ ।”
फोन संवाद सकियो । तर मेरो मथिङ्गलमा कुरा खेल्न थाल्यो । जेसीले हामी लिभिङ् टुगेदरमा बसौँ भन्ने प्रस्ताव राख्न सक्नेछिन् । यसको छनक केही समय पहिले क्याफ्टेरियामा उनको अभिव्यक्तिबाट बुझ्न सकिन्थ्यो । अब मैले के भन्ने र कस्तो निर्णय दिने ? गहिरिएर सोच्नु पर्ने भएको छ ।
बाआमा त सामान्यतया आधुनिक सोचका नै हुनाले कुरा बुझ्नु हुन्छ होला । फरक धर्म, संस्कार र संस्कृतिले सम्बन्धलाई पार्न सक्ने असरको पनि बिचार गर्नु पर्छ । यो कुरा प्रस्टसँग जेसीसँग छलफल गर्छु ।
हिजो जेसीको केटा साथी थियो । त्यो म अनौठो मान्दिन । यसको मतलब उनी चरित्रहीन र कुलटा नारी होइनन् । साथै विवाहपूर्वको संसर्गलाई पनि हामीले पचाउन सक्नु पर्छ । हो, उनी कुमारी वा अक्षता होइनन् । यो जेसिकाको कमजोरी होइन । यो त अमेरिकी खुला समाजको रित हो । कानुनी स्वतन्त्रता हो ।
यसै क्रममा मैले आफ्नो इतिहासको ऐना हेर्न पुगेँ । टाढाको भूगोल नाघेर मेरो वर्तमानले विगतसँग भेट गर्न पुग्छ । म पनि त कहाँको कुमार केटा हुँ र ? केही वर्ष पहिले नै बैँसको झरी थेग्न नसकेर विवाहित नारीसँग छाता ओढेको सम्झनाको खड्करोमा भकभकी उम्लिरहेको छु ऐले । म पो चरित्रहीन हुँ । बदमास र अपराधी हुँ । त्यो गलत क्रिया गोप्य राख्नु र चरित्रवानको नाटक गर्नु हाम्रो समाजको रीत नै थियो ।
म आफैलाई चित्त बुझाउने तर्कनामा हुन्छु- हाम्रो हिजोको संस्कार बालविवाह गर्ने थियो । उमेरको हिसाबले विवाह पूर्वको सहवासको कल्पना नै हुँदैनथ्यो । लिभिङ् टुगेदरमा बस्नु पर्ने अवस्था नै आउँदैनथ्यो र त्यही मान्यता, चलन स्थापित भयो । अहिलेको आधुनिक युगमा वयस्क भएपछि मात्र विवाह गर्ने छुट पाइन्छ । जब मानिस परिपक्व उमेरमा पुग्छ तब प्राकृतिक रूपमा नै यौनको चाहना र आवश्यकता हुन्छ ।
सत्य कुरा – ‘के प्रत्येक व्यक्ति यौनको जिउँदो प्रतिमा होइन र ?’ साथीको रूपमा सँगै बस्नुलाई पनि अन्यथा सोच्दैन मेरो मन । यो पद्धति हितकर देखिन्छ । लिभिङ् टुगेदरपछिका विवाहहरू कम जोखिमपूर्ण हुन्छन् भन्ने प्रमाणित पनि त भएका छन् ।
सोचाइ अझै तन्कन्छ मेरो- प्रकृति स्वयं परिवर्तनशील छ । त्यस्तै परिवर्तनको भोक हरेक मानिसमा हुन्छ । संस्कार, संस्कृति र परम्परालाई जडको रूपमा लिन हुँदैन । समय सापेक्ष यीलाई पनि चलायमान र गतिशील बनाउनु पर्छ । मेरो तुलनामा जेसिका उन्मुक्त वातावरणमा अपरिमित स्वतन्त्रता पाएर हुर्किएकी नारी हुन् । जसको संस्कार र कानुनमा विवाहपूर्व नै समागम र लिभिङ टुगेदर मात्र हैन बच्चा जन्माउन समेत छुट दिएको छ । यो खुला तर अनुशासित समाजको गलत अर्थ यो नलगाइयोस् कि- अमेरिकी समाज ‘रत्यौलीको छाडा आँगन’ त होइन ? भनेर ।
आखिर अमेरिकालाई नै कर्मभूमि बनाउने भएपछि यहीँको माटो, हावापानी र संस्कृतिमा हुर्केकी केटीसँगसँगै बस्नु मेरै हितमा हुनेछ । यदि यो बसाइँमा कुनै बिघ्नबाधा नभएमा र यसको अनुभवबाट जीवन यात्राको रथ गुड्ने सुनिश्चितता भएमा विवाह गर्नु त छ नै । यो स्थिति त मेरो लागि अवसर होइन र ?
मनले मलाई भनिरहेछ- ‘निल ! तैँले आफ्नो जवानीलाई उग्लेर जान नदे । सुख अनि खुसी चाहन्छस् भने कुनै हालतमा पनि जेसिका सँगसँगै बस् ।’
मनमा यस्तै कुराहरू खेलिरहेका थिए जेसिका आइपुगिन् ।
“हाई निल !” भनिन् र काम वासनाको मदिराले लट्ठिँदै हग गर्न आइन् ।
मैले पनि उद्वेलित हुँदै हगमा साथ दिएँ । उनको उठेको छातीले मलाई हल्का घोचेको आभास भयो ।
उनी प्रफुल्ल र खुला देखिन्थिन् । विशेष सिँगारपटारले गर्दा घाममा परेको ऐनाको टुक्रा झैँ टलक्क टल्केकी जेसिका । कताकता विश्व सुन्दरीको साँचोमा नै ढालिएकी जस्ती पो लाग्यो मलाई । मन सकारात्मक भएपछि दृष्टि पनि सुन्दर लाग्दो रैछ कि क्या हो ? उनको परिपूर्ण रूप र सौन्दर्यको शौर्यले मलाई लट्ठ्यायो । जेसीको आँखाको शब्दहीन भाषामा समर्पण र आमन्त्रण स्पष्ट झल्कन्थ्यो ।
अत्यन्तै सुहाउँदो वस्त्रमा सजिएकी जेसिकाको वक्षस्थल आज केही खुला देखिन्छ । पेन्ट र ब्लाउज बिचको रमणीय खुला भागमा रहेको बाटुलो नाइटोले मलाई नै हेरिरहे जस्तो लाग्यो । उक्त नाइटोले समेत यौन उत्तेजना र उन्मादको बिगुल फुकिरहेको भान भयो मलाई ।
“ल, आज तिम्रो देशको खाना खाने । मलाई पकाउन सिकाऊ है निल !” भन्दै भान्सातिर लागिन् । म पछि लागेँ । नेपाली परिकारहरू तयार गर्ने मेसोमा जुट्यौँ दुवै ।
अरू दिन भन्दा म जेसिकासँग विशेष लहसिँदै र तृषित हुँदै गएको अनुभव उनले पनि अवश्य गरेकी जस्तो लागिरहेछ । त्यसैले होला सायद मलाई मात लाग्ने गरी मसँग नै टाँसिएर बस्न आइन् । हामी दुवैले तरकारी केलाउन थाल्यौँ ।
जेसिकाले भूमिका बाँध्दै भन्न थालिन्, “निल ! हाम्रो परिचय भएको त लामो भएको छैन अपितु हामी नजिकको साथी भएका छौँ । भाषाबाट स्पष्ट र प्रत्यक्ष व्यक्त नगरे पनि हाम्रा व्यवहार, क्रियाकलाप अनि शारीरिक हाउभाउबाट यथार्थ स्थितिको बोध दुवैलाई भएकै छ । म स्पष्टवादी नारी हुँ । मोही माग्ने ढुङ्ग्रो लुकाउने किन ? ल, सुन निल ! यदि हामी दुईको मन मिलेको हो भने एक्ला एक्लै किन ? अब सँगै बसे हुन्न ?”
जेसिकाले आफ्नो प्रस्तावमा पाइन हाल्दै स्पष्ट रूपमा कुरा ओच्छ्याइन् । जेसिकाले आज कुरा झिक्नेछिन् भनेर मैले अनुमान गरिसकेको थिएँ । ठिकै गरिन् ।
मैले आफ्नो राम्रा र नराम्रा विगत, वर्तमान र सम्भावित भविष्यको बारेमा खुलस्त पारेँ । दुःख र सुखका पाटो देखाएँ । मैले थपेँ, “हेर जेसी ! हाम्रो साझा लक्ष भनेको विवाह हुनु पर्छ । हुन त त्यसको निर्णय अहिले नै गर्न र वचनबद्ध हुन त सकिँदैन अपितु विवाहको सम्भावना बढी देखिन्छ भने तिम्रो प्रस्तावलाई म स्वीकार गर्छु । अन्यथा केही वर्ष मोजमस्ती गर्ने मात्र उद्देश्य हो भने म राजी हुन सक्दिन ।”
जेसिकाले भन्न थालिन्, “मैले तिमी हुर्किएको समाज र परिस्थितिहरूलाई पनि नियालिरहेकी छु निल । संस्कार र संस्कृतिको अलिकति परख भएको छ । विवाह र नेपाली नारीको बारेमा पनि केही अध्ययन गरेँ । लोग्नेको लाससँग कसरी सकिन्छ नारीको जिन्दगी भन्ने पनि थोरै जानकारी पाएँ । निल ! मप्रतिको तिम्रो सदाशयता बुझेको छु । ‘आफूले बोकेको कुरीतिको भारीको बोझ मेरो थाप्लोमा नबज्रियोस्’ भन्ने तिमी चाहन्छौँ । धन्यवाद छ तिमीलाई ।
हेर निल ! धेरै र थोरैको कुरा मात्र हो, यो दुनियाँमा राम्रो र नराम्रो परिवेश सबै ठाउँमा अवश्य हुन्छन् । असल र खराबीको ठुलो वा सानो पर्वत सबैले बोकेरै हिँडेका हुन्छौँ । बिब्ल्याँटा र सप्ल्याँटापूर्ण अवस्था कहाँ हुँदैनन् र ? मेरो अर्थात् अमेरिकी संस्कार र संस्कृति अनि समाजमा पनि राम्रा नराम्रा दुवै कुराहरू छन् । तिमी र मेरो आपसी विश्वास र माया सबैभन्दा मुख्य र महत्त्वपूर्ण वस्तुहरू हुन् । अन्य सहायक कुरा र विषयवस्तुहरू राम्रा छन् भने दुवैतिरको ग्रहण गरौँला र नराम्रालाई छोडौँला वा छोड्दै जाउँला नि निल !”
“बडो मीठो कुरा गर्यौ जेसिका…।”
“पख, पख निल ! मलाई सक्न देऊ मेरो कुरा ।”
“हाम्रो उमेर क्रमशः उँभो लाग्दो छ । तिमीले भनेझैँ अबको साझा लक्ष्य भनेको विवाह नै हो । लिभिङ टुगेदरको मूल अवधारणा मोजमस्तीको लागि हैन निल । यो त विवाह पूर्वको अवस्था हो, जहाँ सुखद दाम्पत्य जीवनको सम्भाव्यताको अध्ययन र परीक्षण गरिन्छ । मोजमस्ती त सिङ्गल बसेर पनि त प्रशस्त हुन सक्छ नि, यदि निर्लज्ज भै चरित्रलाई कमजोर बनाउने हो भने । ल, अब भन निल, कस्तो लाग्यो मेरो धारणा ?”
“कसरी पलायो हँ जेसिका तिमीमा ज्ञानरूपी बिरुवाको यो अर्ग्यानिक मुना ? कति व्यवहारिक कुरा फुरेको ? अत्यन्तै सारगर्भित भावना राख्यौ । तिमी निष्कपट र निश्छल नारी हौ र त महान् छौ । झरीपछि उघ्रिएको आकाश समान सफा तिम्रो मनलाई सम्मान गर्छु म । तिमीप्रति मेरो विश्वास र भरोसा दुई गुणा बढ्न पुग्यो । सामाजिक घटना र अवस्थालाई यसरी बुझेकी छौ भनेर मैले कल्पना पनि गरेको थिइन जेसी । मेरो जीवनमा घाम बनेर आयौ । म तिम्रो प्रेमिल आश्रयको रोशनीमा रम्न चाहन्छु । तिमीलाई म मेरो सपनाको चाबी सुम्पन्छु । तिमीले राखेको लिभिङ् टुगेदरको प्रस्तावप्रति मेरो सहर्ष स्वीकृति छ जेसिका । मान, त्यसमा औँठा छाप लगाएँ मैले ।”
त्यति भनेर भ्याएको मात्र के थिएँ जेसिका उठिन् । भावुक बनिन् । मलाई चुम्बन गरिन् र लामो समयसम्म अँगालोमा बेरिन् । अनि भन्न थालिन्, “निल ! तिमी मेरो हिरो हौ । मेरो असल प्रेमी भयौ । यो संसार नै हारेर भए पनि म तिम्रो माया जित्न चाहन्थेँ । आज विजयी बनायौ मलाई । मनको संसार उज्यालो भयो निल । मेरो खुसी मनको सिंहासनमा छमछम नाचिरहेछ । तिमी धन्य छौ ।”
जेसिकाले खुसी हुँदै मलाई अनेक विशेषणको पिङ खेलाइन् । प्रशंसाको फुर्के डालीमा पनि चढाइन् । औधी आह्लादित भएँ म पनि । जेसीका जस्ती बहु गुण सम्पन्न युवतीलाई आफ्नो प्रेमीकाको रूपमा पाउन सफल भएकोमा मेरो आत्माले हर्ष बढाइ गरिरहेको छ ।
मैले कामना गरेँ- जेसिका ! तिम्रो माया, ममता र प्रेमको झोलुङ्गोमा जीवनभरि सुत्न र खेल्न पाऊँ । हेर त जेसी ! मेरो आँखामा सन्तोष र आनन्दको हिमाल ठडिएको छ । तिमीसँगको भेट मेरो नयाँ जीवन प्राप्तिको अवसर बन्यो जेसी । तिमीप्रति कृतज्ञ छु ।
हिउँको चरम चिसोमा पनि हाम्रा शरीर क्रमशः तात्न थाले । समागमको अभिप्रायले मुस्कानको तीर हानिन् जेसिकाले । उनको यौवनको प्रेमिल फूलबारीमा उन्मत्त भमरा बनी रस चुस्न मन लाग्यो मलाई पनि । मुख र हात छाडा भए । वातावरण मात्तिंदै गयो । यौन कुतकुतीले मदमत्त बनायो । वासनाको बेजोड भूकम्पले हल्लाउन थाल्यो दुवैलाई । प्यारी जेसिकालाई स्नेहपूर्वक फूलको थुङ्गा समान जुरुक्क उठाएँ र अर्को कोठाको बेडमा पुर्याएँ । फ्लोरिडाको आँधीभन्दा उग्र भयो परिवेश ।
म्याडिसन अमेरिका ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।