आधुनिक साहित्य संसारमा सैद्धान्तिक भौतिकी (थ्योरिटिकल फिजिक्स)को ‘ग्रान्ड थ्योरी’ वा ‘द थ्योरी अफ एभ्रिथिङ’को सैद्धान्तिक परियोजना परिचालन देखिन्छ । कतिपय सैद्धान्तिक भौतिकीका थ्योरीहरूले कुनै न कुनै प्रकारले साहित्य सिर्जना, अध्ययन र चिन्तनलाई प्रभाव पारे तापनि साहित्यका थ्योरीहरू सैद्धान्तिक भौतिकीका थ्योरीहरूभन्दा भिन्न प्रकारका हुन्छन् कारण साहित्य लेखन भौतिकीका विषयभन्दा धेरै भिन्न र फराकिलो हुन्छ । यसमा कल्पना, धर्म, मिथक, दर्शन, कला, सङ्गीत, मनोविज्ञान, संस्कार, शास्त्र, विज्ञान र प्रविधिदेखि लिएर मानव जीवन, जगत् र ब्रह्माण्डसित सम्बन्धित विषयहरूको समावेश पाइन्छ । यसमा कोष्ठक (ब्रेकेटिङ) कम देखिन्छ । त्यसैले साहित्यलाई मानव जीवन अनि संसारसित सम्बन्धित पक्षहरूको सम्भावना भनिएको पनि हो ।

एकार्थमा आयाम हाम्रो मस्तिष्कको उपज मात्र हो अथवा आविष्कार (इन्भेन्सन) जस्तो हो । यसै सन्दर्भमा देखा परेको कुनै एउटा साहित्यिक आयाम हाम्रा जीवन-जगत् अनि साहित्यलाई हेर्ने एउटा विधि मात्र हो । आयाम भनेको नै दिमागबाट अथवा बुद्धि लगाएर हेर्ने विधि हो । वास्तवमा आयाम कुनै वस्तु वा निर्दिष्ट इन्द्रियजन्य विषय होइन । यसलाई हामी ज्ञानको सङ्कायबाट बुझ्ने गर्दछौँ । यसलाई हामी प्रकृतिबाट प्राप्त नगरेर हाम्रो विवेकद्वारा (फेकल्टी अफ अन्डरस्ट्यान्डिङ) वस्तु, घटना अनि विषयसित प्रयोग गरेर जान्दछौँ ।

आयाम र वास्तविकताका कुरा गर्दा बुद्धि प्रधानताको कुरा आइहाल्छ । पूर्वीय दर्शनको अद्वैत दर्शनमा यथार्थको अन्वेषण ‘यो होइन’ (नेति-नेति) बाट सुरु हुन्छ, अनि यो होइनबाट यो पनि हुन सक्छ वा त्यो पनि हुन सक्छ वा त्यो नहुन पनि सक्छ । तत्त्व स्रोतसम्म पुग्नलाई हामीले हाम्रो बुद्धि र योगको प्रयोग गर्नुपर्ने हुन्छ । यसरी हाम्रा बुझाइ, लेखाइ र अध्ययनको क्षेत्र बढेर फैलिँदै जान्छ  – हामी बाहिरबाट अनन्तसम्म अनि हामीभित्रको सूक्ष्म स्तरसम्म । त्यो किन भने साहित्य र थ्योरी हाम्रा जगत् अनि वास्तविकतासित जोडिएको हुन्छ । त्यसरी नै भाव अनि अभावसित पनि ।

पूर्वाग्रहित भएर कुनै पनि आयामलाई सुरुबाटै पूर्ण रूपले नकारात्मक दृष्टिकोणबाट हेर्नु त्यति सही ठहर्दैन । त्यसको अर्थ यो होइन कि नकारात्मक (विपरीत वा विरोधी) पक्ष हुँदै हुँदैन । आकाश-धर्ती, रात-दिन अनि जन्म-मृत्युजस्ता कुराहरू प्राकृतिक कुराहरू नै हुन् । सैद्धान्तिक भौतिकीका थ्योरीहरूमा विरोधी गुरुत्वाकर्षण, विरोधी पदार्थ, विरोधी बल, कालो पदार्थ, कमजोर बल, ब्ल्याक होल, एन्ट्रोपी अनि विरोधी समाधानजस्ता कुराहरूको व्याख्या पाइन्छ । के हामी विरोधी पदार्थबिना पदार्थको अस्तित्व सोच्न सक्छौँ ?

हामीले आफू बाँचिरहेका ठाउँ र समयभित्र मात्र हाम्रो स्थान नखोजेर अझै विश्व र ब्रह्माण्डभित्र खोज्यौँ भने हामीलाई कुनै एउटा खोज्ने बौद्धिक साँचाको (साथै ढाँचाको) जरुरत पर्न जान्छ । यस्ता बौद्धिक साँचाहरू हामीले जीवन, जगत् र ब्रह्माण्डलाई हेर्ने बौद्धिक तरिकाहरू मात्र हुन् । तिनीहरूले हामीलाई परम ज्ञान र सत्य दिन सक्दैनन् । यदि हामीले आफ्नो मस्तिष्कसित अरू अन्य मस्तिष्कहरूसित जोड्न र बन्द गर्ने क्षमता हामीमा नै निर्माण गर्न सक्यौँ भने हामी केही हदसम्म सक्षम बन्नेछौँ । तर त्यो सामान्यतया (इन जेनेरल) स्तरमा हुन सकिरहेको छैन ।

ब्ल्याक होलको सैद्धान्तिक पुष्टि, बह्माण्डको रहस्य अनि मानव ज्ञानको सीमितताका मान्यताहरूले गर्दा हामीलाई हाम्रा जगत् र ब्रह्माण्डका वस्तु अनि घटनाहरूको ज्ञान सम्पूर्णतामा सम्भव हुँदैन । यसकारण हामी कहिलेकाहीँ भ्रामक अवस्थामा पुग्दछौँ । त्यस भ्रामकतालाई विभिन्न विषयहरूका स्वरूपबाट (कोणबाट) हेर्न सकिन्छ । उदाहरणका निम्ति यी केही विषयहरूलाई लिन सकिन्छ: धर्म, दर्शन, विज्ञान, अध्यात्म, प्रविधि, मिथक, इतिहास, मनोविज्ञान, साहित्य, कला, सङ्गीत, समाज, राजनीति, अर्थनीति, भौतिकी, गणित, जीव अनि वनस्पतिविज्ञान आदि ।

भ्रमलाई वास्तविकको विपरीतार्थ शब्द मान्न सकिन्छ । ज्ञानेन्द्रियहरूको क्षमतादेखि माथि उठ्दै गएको प्रत्यक्षबोध (परसेप्सन) ले भ्रम सृजना गर्दछ । वस्तुको प्रयोगद्वारा पनि वस्तुको प्रत्यक्षलाई (बोध अनि सहजबोधलाई) भ्रममा ढाल्न सकिन्छ । सामान्य इन्द्रिय ज्ञानमा भ्रम सिर्जना हुन सक्छ कारण जुन भ्रममा देखिन्छ त्यो वास्तविकतामा (स्पेस र समयमा) हुँदैन । कहिलेकाहीँ वस्तुको सहायताबिना मस्तिष्कले भ्रम सृजना गर्दछ । तर त्यसको मतलब यो होइन कि स्पेस र समयबिना भ्रम सम्भव हुन्छ ।

सामान्य इन्द्रिय ज्ञानलाई वैज्ञानिक ज्ञान मान्न सकिँदैन । वैज्ञानिक ज्ञान वैज्ञानिक स्वरूप, विधि अनि प्रणालीमा आधारित हुन्छ, त्यही सामान्य ज्ञानलाई व्यवस्थित बनाउने विषयचाहिँ विज्ञान हो । यसैले अल्बर्ट आइन्स्टाइनले भन्नुभएका छन् कि विज्ञान दिन प्रतिदिन गतिविधिहरूको एक परिष्करण हो ।

सम्पूर्णको कुरा त छाडिदिऊ कि सम्पूर्णतामा लेख्न खोज्दा पनि हामी भ्रममा पर्न पुगिरहेका हुन्छौँ । त्यसो भने के भ्रम बुझ्नलाई सम्पूर्णतालाई अँगाल्नु नै पर्छ ? यहाँ प्रत्येक वस्तु, घटना अनि विषय एकअर्कासित सम्बन्धित हुन्छ ।

सम्पूर्णतालाई अँगाल्दा त्यसलाई बुझ्न सक्छौँ कि सक्दैनौँ त्यो भिन्नै कुरा हो तर बुझ्नलाई अनन्तता खुला छ । हाम्रा जीवन, जगत् र ब्रह्माण्डको महान् प्रक्रियाले अर्थ प्रदान गर्दछ । यस प्रक्रियाभित्र हामी अमर छैनौँ तर हामी निरन्तरतालाई हाम्रो प्रजननको माध्यमबाट जारी राख्दछौँ । हामी र हाम्रो जगत् रच्ने रचनाकारको मस्तिष्क पढ्न खोज्दा झन् आयाम फैलिँदै जान्छ अनि सिद्धान्तहरू चुम्किएर । त्यसपछि हामी प्रश्नैप्रश्नहरूको उल्झन (इन्टेन्गलमेन्ट) मा फस्दै जान्छौँ ।

सम्पूर्णको अर्थ सम्पूर्णको प्रयोगमा नै निर्भर रहन्छ । सम्पूर्णको प्रयोग केही सीमित परिधिसम्म अनुभवजन्य हुन्छ, तर त्यहाँबाट उक्लिँदै गएमा अत्यानुभविक (ट्रान्सेन्डेन्टल) अनि तत्त्वमीमांसात्मक (मेटाफिजिकल) बन्दै जान्छ—एउटा बिन्दुबाट सुरु गरिएका केही सिधा रेखाहरूजस्तै । यस अर्थमा ‘सम्पूर्ण’ अनन्तमा निहित छ । त्यो महान् सम्पूर्णभित्र हामी अनेकौँ  विपरीत अवस्था र अति अवस्थाहरू (कन्ट्रापोजिसन एन्ड सुपरपोजिसन) पाउन सक्नेछौँ ।

के जीवनलाई सम्पूर्ण लेख्न सकिन्छ ? के सम्पूर्ण लेख्दा जीवन बुझिन्छ ? सम्पूर्ण लेख्न सकिन्छ भने कसरी लेख्ने ? सम्पूर्ण लेख्ने हो भने पनि एकतालमा नै झ्वाम्म लेख्न सकिँदैन किनकि लेख्दा र बुझ्दा हामीले ‘पूर्वापरको सिद्धान्त’लाई मान्नुपर्ने हुन्छ । त्यो हाम्रो मौलिक क्षमता पनि हो । दार्जिलिङका सम्पूर्ण गाउँठाउँहरूलाई म एकैपल्टमा झ्वाम्म अनुभव गर्न, बुझ्न र लेख्न सक्दिनँ ।

एउटा-एउटा गर्दै अघि बढ्नुपर्ने हुन्छ । एक-एक पक्ष गर्दै बुझ्नुपर्ने हुन्छ । जसरी टाउकाबाट छाती, कम्मर र खुट्टा हुँदै हेर्नुपर्ने हुन्छ । यसरी मुखबाट नाक, आँखा, कान, निधार र टाउको हुँदै जानुपर्छ । त्यो त बाहिरी प्रत्यक्ष मात्र हो, तर अझै भित्र कोट्याउँदै गयौँ भने हामी अर्कै स्थिति वा अवस्थामा पुग्नेछौँ । त्यो हो ‘जैविक सम्पूर्ण’ को कुरा तर ‘जीवन’ चाहिँ एउटा अवधारणा (प्रत्यय) पनि भएको कारणले गर्दा यसका उदाहरणहरू हुन्छन् । जीवन र जगत्‌लाई सङ्कुचन, निस्सारण र सङ्केन्द्रण गरेर लेख्दा सम्पूर्ण लेखिँदैन ।

एकार्थमा जीवनको सम्पूर्ण लेखाइ भन्नाले जीवनसित सम्बन्धित सारा कुराहरूको लेखाइ पनि बुझिन्छ । तर सम्पूर्ण लेखाइचाहिँ सम्भव हुँदैन कारण सम्पूर्ण लेखाइ एउटा प्रक्रिया मात्र हो । हामी सूक्ष्म स्तरमा एक प्रकारको सक्रिय ऊर्जा भएको कारणले गर्दा सम्पूर्ण जीवन लेख्नलाई जीवन नै रोक्न सक्दैनौँ । सम्पूर्ण चेतनाले अनन्त चेतनालाई कति अटाउन सक्छ अथवा सम्पूर्ण चेतना नै अनन्त हो कि होइन भन्ने प्रश्नहरूका सही उत्तरहरू हामीसित हुँदैनन् । सही सधैँ वास्तविकतासित जोडिएको हुन्छ र वास्तविकता सत्यसित तर अन्त्यमा यी तिनै मानव अवधारणाहरू नै हुन् । सर्वमानित अवधारणाहरू वास्तवमा मानव मस्तिष्कहरूका एकरूपताका उदाहरणहरू हुन् । त्यो एकरूपता नरहे साहित्य लेखनको कुनै उपयोगिता नै रहँदैन ।

हामी सधैँ एउटा बिन्दु वा वस्तुबाट सुरु गरेर बढिरहेका हुन्छौँ । हामी यात्रामा नित्य अघि बढिरहे तापनि हाम्रा बुझाइ र बढाइका सिमाना छन् । जहाँबाट हामी अघि बढ्न सक्दैनौँ । यहीँ सीमितताले गर्दा हामी हाम्रा ब्रह्माण्डलाई पूर्ण रूपमा बुझ्न सकिरहेका हुँदैनौँ । वास्तवमा हाम्रा जीवन, जगत् र वास्तविकतालाई हत् रूपमा हेर्न र बुझ्न चाहँदा हामीलाई सिद्धान्त र आयामहरू चाहिन्छ । यी सिद्धान्त र आयामहरू हाम्रा प्रत्येक विषयको सामान्य मौलिक अवधारणा अनि सिद्धान्तहरूमा आधारित हुन्छन् ।

प्रत्येक झ्वाम्म एउटा सम्पूर्ण हो, सम्पूर्णता त्यहीँ एक मात्र सम्पूर्णको विशेषता हो, जुन सम्पूर्णहरूको सम्पूर्ण हो । त्यसैकारण एउटा सम्पूर्णलाई झ्वाम्म लेख्न सकिए तापनि सम्पूर्णतालाई लेख्न सकिँदैन । यो असम्भव हुन्छ ।  यसलाई सम्भव बनाउनलाई बनाउने व्यक्ति कुनै अति शक्तिमा (ऊर्जामा) रूपान्तरित हुनुपर्छ, जुन असम्भव छ भन्दा हुन्छ । यो किन यस्तो हुन्छ भने हामी मानिसका शरीर र मस्तिष्कसित अनन्तको विशेषता वा गुण हुँदैन । यद्यपि हाम्रो आत्मासित चाहिँ त्यो गुण हुन्छ भन्न सकिन्छ । झ्वाम्म लेख्नलाई आत्मालाई पनि शरीर र मस्तिष्क चाहिन्छ, र त्यसरी यो फेरि अपवादमा खस्दछ । त्यसमाथि चेतना र भाषाको आफ्नै सीमा हुन्छ ।

दार्जिलिङ