‘नेपालमा सबैभन्दा ठूलो गोलाकार भएको स्तूप हो यो ।’

पशुपति र गुहेश्वरीपछि हामी बौद्धस्थित एउटा स्तुपमा थियौँ । यो बेला टुप्लुक्क हाम्रो अघि उपस्थित भएर गाइड गर्न थाल्नु भएको थियो, यादव गाैतम । तिनै यादवजी, जसले हामीलाई काठमाडौँमा पहिलो पटक स्वागत गरेर हिन्दु विद्यापिठ पुर्याउनु भएको थियो । गुहेश्वरीबाट निस्कदै गर्दा अचानक देखापर्नु भएका यादवजीले हामीलाई बाँकी दिन काठमाडौँ घुमाउने योजना बनाउनु भएको रहेछ । आजको दिन आफ्नो व्यवसाय छाडेर हाम्रैलागि यहाँ आउनु भएको कुरा ज्ञान सरबाट थाहा भएपछि बर्मेली शब्दबाटै हामीले धेरै पटक धन्यवाद दियौँ । १६ वर्षदेखि नेपालमा पर्यटन व्यवसाय सञ्चालन गर्नुभएका यादवले यो क्षेत्रमा निकै राम्रो प्रगति गर्दै रहनु भएको कुरा बताउँदा हामीलाई पनि निकै खुसी लागिरहेको थियो ।

बर्मा बौद्धदर्शनको अनुशरण गर्ने देश हो । यहाँ ९० प्रतिशत बौद्ध छन् । बाँकी दश प्रतिशत ईसाई, इस्लाम र हिन्दू धर्मावलम्बीहरू छन् । गोर्खालीहरु धेरै जसो हिन्दु नै छन् तर केही वर्ष यता बौद्ध धर्ममा रुपान्तरण हुने गोर्खालीहरुको संख्या पनि ठूलो छ । अन्य धर्मालम्बीहरुको संख्या नगन्य भएका कारण पनि यहाँ सानो टोल अर्थात चोकबाट गाउँ, नगर, सहरहरूमा भगवान बुद्धका हजारौँ मूर्तिहरु स्थापना गरिएका छन् । शताब्दीपूर्व स्थापित विश्व प्रसिद्ध बौद्ध स्तूपहरू छन्, जसको दर्शन र अनुसन्धान गर्ने पर्यटकहरू देखा पर्छन् । औंसी, पूर्णिमा र विशेष गरेर चर्तुमास र चौमासाभित्र दर्शनार्थीको भिड हुन्छ । मान्डलेमा महामणि बौद्ध स्तूपको दर्शन गरेपछि नेपालको यात्रामा हिँडेका आज काठमाडौँ आएरै भगवान बुद्धको दर्शन गर्दैछौँ ।

‘हामी कति भाग्यमानी है ? मधू दिदी बच्चाझैँ खुसी हुनु भयो । उमेरले मभन्दा केही ठूलो हुनुहुन्छ तर उहाँ स–साना बच्चाझैँ खुसी हुन सक्नुहुन्छ । यो ठूलो गुण हो भन्ने सुनेकी छु । हामीले उहाँसँगै खुसी व्यक्त गर्यौँ तर उहाँ जस्तो खुसीलाई फैलाउन सकेनौँ ।
हामी हिन्दू धर्म मान्ने भए पनि बौद्ध धर्ममा ठूलो आस्था राख्छौँ । नेपालको विशाल स्तुप देख्दा नेपालीहरु पनि हामीभन्दा फरक छैनन् भन्ने महसुस भयो । हाम्रा लागि पशुपतिनाथको महत्त्व जति छ, त्यो भन्दा बढी महत्त्व छ, बर्मेलीलाई लुम्बिनीको । भगवान् बुद्ध जन्म स्थान भएका कारण हरेक बर्मेली नेपालको लुम्बनी पुग्ने इच्छा राख्छन् ।

‘हामी कहिले लुम्बिनी पुग्छौँ ?’ मैले यादवजीलाई एकै पटक अर्को प्रश्न पनि सोधेँ, ‘हामी कहिले लुम्बिनी पुग्छौँ?’

यादवजीले लुम्बनीको दुरी बताइदिनु भयो तर कहिले पुग्छौँ बताउन सक्नु भएन । खासमा हाम्रो यात्राको पूरा योजना ज्ञान सरसँग मात्र छ । ज्ञान सरले भन्नुभयो, ‘धनगढीमा साहित्य सम्मेलन सकेपछि फर्कंदा लुम्बिनी पसौँला किनभने त्यो बाटोमा पर्छ ।’

हामीलाई लुम्बिनीको याद त्यही स्तुपले दिलाएको थियो । हामीले ॐ मणिपद्मे हुमलाई मनमन जप्दै प्रार्थना चक्र घुमाउँदै तीन चोटी परिक्रमा गर्यौँ । खासमा यो हामीले त्यहाँ अरु दर्शनार्थीले गरेको विधि पच्छ्याइरहेका थियौँ । यो चक्कालाई माने भनिन्छ भन्ने कुरा पनि थाहा भयो ।

बर्मामा स्तुपलाई यसरी परिक्रमा गरिँदैन । बर्माका बौद्ध स्तूपमा प्रार्थना गर्न घुमाउने चक्का अर्थात् माने हुन्न । त्यसको ठाउँमा ठूलठूला घण्टा राखिएका हुन्छन् अथवा भगवान् बुद्धको मूर्तिकै छेउमा भगवानमा नतमस्तक भएपश्चात दुईहात जति लामो काठले घण्टा बजाउने गरिन्छ जुन घण्टाकै छेउमा राखिएको हुन्छ । यसरी बजाउनाले घण्टाबाट आएको ध्वनिको प्रभावले आफूले गरेको पुण्यको फल सबैलाई मिल्छ र अन्जानमा भएका पापहरू पनि मेटिन्छन् भन्ने मान्यता छ । यहाँ माने घुमाउँदा यस्तै केही विश्वास लाग्यो मलाई ।

हामीले बौद्ध स्तुपाको परिक्रमा गर्दा यो विश्व सम्पदाको सुचीमा पर्ने रहेछ भन्ने पनि थाहा पायौँ । प्रथम विश्व युद्धछेक चीनको अतिक्रमणबाट बच्न देश छाडेर भागेका तिब्बतीहरू यहाँ आएर आश्रय लिएका हुनाले यो पूरै क्षेत्रमा तिब्बती बौद्ध धर्मावलम्बीहरूको बस्ती रहेछ ।

‘यहाँ आउँदा कताकति बर्माको कुनै गुम्बा जस्तै लाग्छ, मलाई त ।’ एक जना जोशिला युवाले बर्मिज शैलीमा नेपालीमा भन्नुभयो, ‘तर यहाँको बुद्ध धर्मको संस्कार र उताको संस्कारमा केही फरक रहेछ ।’

त्यो बेलासम्म मैले यी व्यक्तिलाई धेरै याद गरेको रहिनछु । बर्मिज लवजमा बोलेपछि मैले बढी ध्यान दिएँ । यसभन्दा अघि हाम्रो समूहले उहाँको समान्य परिचय गराएको थियो तर घुम्ने धुनमा अलि याद गरेकी रहेनछु । उहाँ बर्माबाट केही वर्षअघि नेपाल आएर संगीतको कक्षा लिइरहनु भएको रहेछ । नाम रहेछ, रवीन्द्र दाहाल । बुझ्दै जाँदा पो थाहा भयो, बर्माको सबैभन्दा नेपाली बढी भएको मिचिनामा उहाँको स्थायी बसोबास रहेछ । संगीतमा निकै रुचि भएकाले उहाँ केही वर्षका लागि यसैको अध्ययनको सिलसिलमा यता बस्नु भएको रहेछ । बर्मामै रहँदा भीमजी र सीमादीसँग राम्रो सम्बन्ध रहेछ ।

नेपाली गीत संगीतमा रुचि भएपछि ठूलो आशा बोकेर काठमाडौँ आउनु भएका यी युवाको प्रगति पनि राम्रै रहेको पाएँ । हामी बर्माबाट आएको थाहा पाएपछि उहाँ हामीलाई भेट्न आउनु भएको पनि थाहा भयो । एकै छिनमा हामी घुलमिल भैहाल्यौँ ।
‘बर्मामा हुदाँ कोही नेपालबाट आएका आफन्तलाई भेट्दा जुन किसिमको खुसी हुन्थ्यो तो भन्दा बढी खुसी नेपालमा आफ्नो बर्मेलीसँगको भेटमा हुँदो रहेछ,’ ती युवासँग झ्याम्मिदै सीमादीले भन्नुभयो, ‘मलाइ त गाउँकै भाइ भएकाले बढी खुसी लाग्यो ।’
उहाँबाटै थाहा भयो, काठमाडौंमा बर्मेलीको संख्या निकै छ । कोही नेपाली भाषा सिक्न, कोही संगीत सिक्न, कोही अंग्रेजी भाषा राम्रो बनाउन, कोही व्यापार गर्न बसेका छन् । हरेक आइतबार बर्मेलीहरुको भेटघाट हुन्छ र दुःखसुख साटासाट हुन्छ ।

बौद्धनाथको यात्रापछि हाम्रो यात्रा बुढानीलकण्ठतिर थियो । खाजा खाएर हामी गाडी चढ्यौँ र भविष्यका गायक रवीन्द्र दाहालको गीत सुन्दै उकालो लाग्यौँ ।

‘यति धेरै तीर्थ स्थल छन् है नेपालमा ! पशुपति, गुहेश्वरी, बौद्धपछि एकैछिन्मा बुढानीलकण्ठ पुगेपछि सरगमले भनिन्, ‘यति नजिकै नजिकै घुम्ने ठाउँ देख्दा रमाइलो लाग्यो । हामीले दुःख गर्दै आएको फल भेटे जस्तै लाग्यो ।’

‘यस्ता सुन्दर अनुभूति भए लाख दुःख सहन म पनि तयार छु,’ मैले जवाफ दिएँ ।

हाम्रोअघि पानीमा गजधम्म नारायण सुतिरहनु भएको थियो । जलकुण्डमा विराजमान देख्दा कथाहरुमा आउने समुद्रका बीचमा बसेका विष्णुको कथा याद आयो ।

‘यो मन्दिरमा राजपरिवारका सदस्यहरु आउन मिल्दैन, राजपरिवारका सदस्य कसैले पनि यो हेर्न पाएका छैनन्,’ ज्ञान सरले मन्दिरको विशेषताका बारेमा भन्नुभयो, ‘यही कारण राजाहरुका लागि यस्तै सानो मन्दिर बालाजुतिर बनाएको छ भन्ने सुनेको छु ।’

नेपालमा गणतन्त्र आए पनि हामी बर्मेलीहरुलाई राजा हटाएको उति चित्त बुझेको छैन । आज पनि बर्मामा दसैंमा टीका लगाउँदा राजाको साइत भन्ने चलन छ । श्राद्ध गर्दा राजालाई पनि तर्पण दिइन्छ । यस्तोमा हामीले यो कुरा गरेको सुन्दा छेउछाउका मान्छेले चासो दिए तर हामी आफ्नो कुरा गर्दै रह्यौँ । अलि वर आएपछि कसैले भनेको सुनेँ, ‘वीरेन्द्र राजाका छोरा दीपेन्द्रले यहाँ आएर नारायणको दर्शन गरे अरे । त्यही पापका कारण राजपरिवार समाप्त हुने गरी हत्याकाण्ड भयो अरे ।’ यो कुरा सत्य हो कि भनेर मैले यो लेख्नुअघि गुगल गरेँ, जान्ने बुझ्नेलाई सोधेँ, कसैले यकिनका साथ युवराज दीपेन्द्र मन्दिर गएको कुराको प्रमाण भएको कुरा गरेनन् तर त्यसमा सत्यको अंश भएको कुरा भने सबैले भने ।

मन्दिरबाहिर निस्किएपछि हाम्रो अर्को गन्तब्य थियो, शिवपुरी डाँडामा रहेको इस्कन मन्दिर । बर्मामा पनि इस्कन धर्मावलम्बीहरू छन्। इस्कन हिन्दुहरुको एउटा हाँगा हो, जसले कृष्णलाई नै सर्वोच्च मान्छन् । मन्दिरको भव्यता अनुपम थियो । यसबाट पनि यहाँ इस्कनको प्रभाव निकै रहेछ भन्न सकिन्छ । मन्दिर दर्शन गरेर प्रसाद ग्रहण गर्दा गर्दै हिँड्न हतार भैहालियो । बर्माबाट आएका कारण भक्तजनहरु एक दिन वा केही घन्टा यो मन्दिरमा बसे हुन्थ्यो भन्ने प्रार्थना गरिरहनु भएको थियो तर हामीले काठमाडौँ घुमेर सक्नुपर्ने, भोलि बिहान धनगढी उड्ने कार्यक्रम भएकाले पनि हामी कतै रोकिने भाग्य छैन भन्दै हामी मन्दिरबाट बिदा भयौँ ।

गाडी काठमाण्डौंको दक्षिणपश्चिम हुँदै अगाडि बढ्यो । बाटोमा होहल्ला गर्दै भिडका साथ गाडी हिँडिरहेका थिए । यसैबीच मोबाइलमा हामीले एउटा समाचार पढ्यौँ । चीनमा कोरोनाले मानिस मरिरहेका छन् । हामी बर्माको बोर्डर काट्दा केही कडाइ गरिएको थियो तर नेपालमा त्यस विषयमा खासै चर्चा थिएन । हामीले पनि नेपाल आएर चीनमा कोरोनाले ज्यान जान थालेको समाचार पढ्यौँ । बर्माको निकट छिमेकी देश भएका कारण चीनाको बारेमा हाम्रो चासो रहन्छ । हुन त नेपाल र चीन पनि छिमेकी हुन् तर यहाँ त्यस्तो चर्चा सुनेको पाइनँ ।

मूल बाटोमा एउटा ठूलो बुद्धको मूर्ति देखिएपछि ज्ञान सरले भन्नुभयो, ‘अब हामी स्वयम्भूनाथ उत्रन्छौँ ।’ उहाँले त्यो बेला नै हामीलाई बताउनु भयो, काठमाडौँ सबै देखिने स्वयम्भुको मन्दिरको विशेषता ।

View of the Swayambhunath Stupa, a UNESCO world heritage site of Nepal in Kathmamndu, April 18, 2016. Swayambhunath Stupa or a monkey temple was badly damage by the April 2015 earthquake. (Photo by Sunil Pradhan/NurPhoto via Getty Images)

हामी काठमाडौँको बीचमा रहेको अग्लो डाँडामा भएको स्वयम्भु मन्दिर चढ्न थाल्यौँ । साँच्चै नै उकालो रहेछ । हामीलाई धेरै समय छैन भनेर ज्ञान सरले भनिरहनु भएका कारण हतारमा उकालो चढ्दा हामी मज्जाले नै थाक्यौँ तर माथि चढेर काठमाडौँ हेर्दा त्यो थकाइ एकै क्षणमा मेटिएको महसुस भयो । सम्पूर्ण काठमाडौँ झ्वाम्मै एकैसाथ आँखामा अटायो ।

म बसेको सहर माण्डलेमा पनि यस्तै अग्लो ठाउँमा बौद्ध मन्दिर छ । जहाँबाट माण्डलेमा भएको पुरानो राजदरबार देखि ठूलठूला गगनचुम्बी घर, खेत र ऐरावती नदीसमेत देखिन्छ । माण्डले पर्वतलाई गोर्खाली सैनिकले बचाएको इतिहास छ । आक्रमणमा आफ्नो ज्यान गुमाएका साहसी गोरखाली सैनिकको स्मृतिमा यो सम्पूर्ण डाँडा नै हाम्रो पुर्खामा समर्पण गरिएको छ । त्यहाँको शिलालेखमा गोर्खा सैनिकको चिनारी खुकुरी अङ्कित गरी सम्मान गरिएको देख्दा जो कोही गोर्खाली–नेपालीलाई पनि गौरव लाग्छ । आफ्नो घरबाट केही नजिकै भएकाले पनि म त्यो मन्दिरमा गइरहन्छु । जब-जब त्यहाँ खुकुरी सहितको गोर्खा सैनिकको समाधि देख्छु, मलाई बर्मामा हाम्रो शीर ठाडो बनाएर हिँड्ने वातावरण बनाइदिने ती गोर्खाहरु प्रति नतमस्तक हुन्छु । म मात्र किन बर्माका इतिहासप्रति थोरै पनि चासो राख्ने जोकोही पनि यो मन्दिर दर्शन गर्न जान्छन्, यो समाधिको डाँडोको कथाबारे जानकार हुन्छन् ।

यता काठमाडौँमा स्वयम्भू मन्दिर झण्डै त्यस्तै रहेछ । बर्मामा दान धेरै पाइने भएकाले त्यहाँको मन्दिर भव्य छ तर नेपालको मन्दिर केही सानो लाग्यो । अझ भूकम्पले भत्काएका केही दृश्य पनि देखेपछि यति लामो समयमा यति सानो मन्दिर पनि किन बनाउन नसकिएको होला भन्ने चासो लाग्यो । बर्मामा यस्ता मन्दिर त तुरुन्तै दान उठाएर बनाइहाल्छन् ।

मैले काठमाडौँ एउटा ठूलो पोेखरीबाट बनेको भन्ने सुनेको थिएँ । स्वयम्भूबाट हेरेपछि मलाई होे कि जस्तो लाग्यो । यो ठूलो पोखरीलाई पानीको निकास दिएपछि यहाँको पानी बगेर गएपछि यो सहर बनेको किम्बदन्ती छ । साँच्चै नै हो भने यो पूरा काठमाडौँ कति ठूलो पोखरी थियो होला, अनुमान गर्दा पनि रमाइलो लाग्यो ।

हामीलाई लामो समय स्वयम्भूको टुप्पोमा बसेर काठमाडौँलाई नियाल्ने समय थिएन । मन्दिरको इतिहास, यहाँका शेर्पाहरुले मनाउने बुद्ध जयन्तीको विधिविधान सुन्दै हामी तल ओर्लियौँ । गाडी चढेर काठमाडौँ परिक्रममा गर्दा घाम पश्चिममा अस्ताउन थाल्यो । भोलि बिहानै धनगढीको यात्रा गर्नु छ । बल्ल त सुरु हुँदैछ, हाम्रो साहित्यिक यात्रा !

धन्यवाद, सुदूर पश्चिमाञ्चल साहित्य समाजका अन्जान पदाधिकारी, तपाईंहरुका कारण हामीले बिहानैदेखि काठमाडौँ घुमेर तीन पुस्तादेखिको रहर मेट्न पायौँ ।