काठमाडौँको कागत्यानी मन्दिर नजिकै दाइ महेन्द्रसँगै एकजना महिला भेटिइन् ।

दाइले सोधे, ‘चिन्नु भो ?’

‘राजेन्द्र जी’ – उनले भनिन् ।

शायद मेरो बारेमा दाइले बताइसकेका थिए । तर मैले चिनिन र अक्मकिंदै बोलें, ‘अनि, उहाँ ?’

‘सीता जी । सीता घिमिरे । उहाँ पनि नेपाल राष्ट्र बैंकको ४२ जनाको लट ।” दाइले सहजीकरण गरे । पैँतीस वर्षपछि भेटेको मान्छेलाई अपर्झट भेट्दा कसरी चिन्नु ?

सीताजी त्यतिखेर राम्री हुनुहुन्थ्यो । अहिले पनि राम्री हुनुहुँदो रहेछ । मैले त्यही कुरो भनेँ । हाँस्नु भो । ‘खाइराइड’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहको विमोचनको लागि नेपाल आएको बताएँ । छोराछोरी, घरपरिवार र जीवनसँग सम्बन्धित कुराकानी भए । बयालिस जना साथीहरू को कहाँ छन् भन्ने कुराकानीपछि मेसेन्जर ग्रुप बनाउने सहमतिसहित छुट्यौं ।

हामी बयालिस जना नेपाल राष्ट्र बैंकको प्रधान सहायक पदमा २०४४ साल चैत्र ७ गते प्रवेश गर्यौं । त्यतिखेर केटी मान्छेसँग बोल्न नै लाज लाग्थ्यो । बोल्न रहर त थियो नै, रहर मार्दै बसिन्थ्यो । त्यो रहर केटा मान्छेलाई मात्र हो कि ? तर होइन रहेछ । सीताजीको पनि त्यही भोगाइ र अनुभव सुनेपछि महसुस गरेँ ।

अहिलेका युवा पुस्ता कति मजाले खुलेर बोल्न सक्छन् । केटा र केटीको पर्खालले उनीहरूलाई रोक्दैन । आखिर उमेरसँगै आउने जवानी र त्यो जवानीले ल्याउने रहर मार्नु भनेको जीवनको सुन्दर क्षणलाई मार्नु रहेछ । समयसँगै ती रहरहरू बदलिंदै जाने रहेछन् । हामी अब २०४४ सालमा फिर्न सक्छौँ त ? सक्दैनौँ ।

हामी नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका थियौं, त्यो बेला अधिकांश बिस–बाइस वर्षका थियौं । २०४५ सालमा सुन्दरीजलमा गएको वनभोजको तस्बिरले त्यही बताउँछ । पैँतीस वर्ष आफैमा कम्ती समय होइन, तर समयको गाडी यति चाँडो दौडँदो रहेछ कि को कतिखेर कहाँ पुग्यो थाहै नहुने रहेछ । दौडने क्रममा मान्छेले समयलाई छोड्छ कि समयले मान्छेलाई ? वा समय मान्छेसँग हुँदैन कि मान्छे समयसँग हुँदैन ? प्रश्न छ ।

२०४५  सुन्दरीजलमा खिचिएको तस्बिर

“साथी भाइ जर्नेल कर्नेल , ए सुन माया गोर्खाली पल्टनमा” गीतको बोल जस्तै राष्ट्र बैंकको पल्टनबाट देशको प्रथम महिला (फस्ट लेडी) देखि सचिव, डेपुटी गभर्नर, बैंक अध्यक्ष र कार्यकारी निर्देशक भएछन् । निर्देशकको पदमा नपुग्ने कोही भएनछन् । यो सुन्दा ज्यादै खुसी लाग्यो । साथीहरूले देशका त्यत्रा ठुला पदहरू भरेर तरक्की गरेको सुन्दा र देख्दा खुसी नलाग्ने कुरै भएन ।

त्यो बेला अग्लो हुने धुनले ग्रसित हामी सबैलाई आकाश छुनु थियो । तर अग्लो डाँडामा पुग्दैमा आकाश छुइने भए, त्यो आकाश आकाश नभएर धर्तीको निकास हुने थियो । तर धर्तीको निकास नै कहाँ छ र ? आकाशको एउटा निश्चित उचाइ पुगेपछि चरा पनि उड्न सक्दैनन् । आखिर त्यो आकाशलाई नदेखिने जन्जिरले घेरेको छ । त्यो जन्जिरभित्र पस्न यन्त्रको सहयोगबिना कोही सक्दैन । सक्ने भए चराहरू आकाशमै हराउने थिए होलान् । कावा खेल्दै माथिमाथि पुगेर किन धर्तीको सहारा लिन फिर्थे होलान् त !

आखिर धर्ती गोलो छ, जति घुमेपनि घुमेको घुमै । जहाँ पुग्छु भनेर हिँडेपनि कहीँ नपुगिने । जहाँबाट यात्रा शुरु गरेको हो, आखिर पुगिने त्यहीँ । म नेपाल राष्ट्र बैंकमा जम्मा दुई वर्ष बसेँ । तर त्यहाँको यादले जहिल्यै सताइरह्यो ।

आकाश छुन सकिंदैन । त्यो बुझ्न जीवनमा धेरै हण्डर खानु पर्ने रहेछ । धेरै पाक्नु पर्ने रहेछ । थाक्नु पर्ने रहेछ । वि.सं. २०४६ सालमा जब नेपाल राष्ट्र बैंक छाडे, त्यो छोडाइ खान मन हुँदाहुँदै खान्न भनेर आमालाई घुर्क्याए जस्तो भयो । “राष्ट्र बैंक जस्तो राम्रो संस्था नछोड । अधिकृत भइहाल्छौ नि ।” तत्कालीन मेरा हाकिम रत्न प्रसाद बज्राचार्यले भनेको म अहिले पनि सम्झन्छु । राष्ट्र बैंकको अधिकृतको लिखित पास नगरेको भए म शायद छाड्दिनँ थिएँ होला ।

मान्छेका महत्त्वाकाङ्क्षा दुःख सिँढी रहेछन् । ती सिँढीहरू चढेर कहिल्यै नसकिने रहेछ । सिँढी जति चढ्दै गयो चढ्न उति नै धेरै बाँकी हुँदा रहेछन् ।

राष्ट्र बैंकमा दुई वर्षसम्म मेरो राजीनामा स्वीकृत भएको थिएन । राजीनामा दिएर हिँडेको एक दुई महिनामा फिरौं फिरौं नलागेको पनि होइन । तर राजीनामा दिएर हिँडेको संस्थामा फेरि कुन मुख लिएर फिर्ने !  साथी भाइको गिल्लाको पात्र भइएला भनेर फिरिन । फेरि हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने बानीले मलाई आजीवन सताइरह्यो । शायद जीवनको अन्तिम दिनसम्म त्यो बानीले सताइरहला ।

आखिर जहाँ गएपनि, जे पाएपनि सन्तुष्ट नहुने प्राणी रहेछ मान्छे । ती बयालिस जना साथीहरूले जीवनमा जे जे पाए । जो जे जे मान र पदमा पुगे ।  तिनीहरूसँग अब त्यो छैन होला । बाँकी ती पुराना दिनका सम्झनाहरू मात्र हुन् ।

खाइराइडको विमोचनपछि मेरी सालीको उन्नाइस वर्षको छोराले सोध्यो, “कति वर्ष हुनु भयो ठूलो बुबा ?”

“छपन्न !”

“फिप्टी सिक्स, आम्मामा !” उसले अत्तालिंदै जवाफ दियो ।

जतिखेर म पनि उस्कै उमेरको थिएँ । चालीस वर्षको मान्छे कति धेरै बुढो लाग्थ्यो । म सोच्थें, “मभन्दा डबल उमेरको मान्छे । बुढो मान्छे ।” ऊभन्दा म तेब्बर उमेरको मान्छे । अनि अत्तालिंदै जवाफ नदियोस् पनि किन ?

हिजो जस्तो लाग्छ – हामीलाई घरमा नातिखाल भनिन्थ्यो । हजुरआमाको मृत्युपछि छोरा खाल भन्न थालियो । अब त बाबु खाल मात्र नभएर हजुरबा खाल भइसक्यो । समय मिलिक्कै यसरी बित्ला भन्ने कल्पनै थिएन । जसरी आज मेरी सालीको छोरालाई छैन । आज पछाडि फर्केर हेर्दा आफैलाई अचम्म लाग्छ ।

पैँतीस वर्ष अघिको सुन्दरी जलको पिक्निकको त्यो फोटो साथमा नभएको भए नोस्टालजिया हुने थिएन । सुन्दरी जलको त्यो ठूलो पोखरीमा एकजना मित्र झण्डै डुबेर परमधाम पुगेका थिए । धन्न मित्र चिन्तामणी सिवाकोटीले बचाए । मान्छेले सम्झन सक्ने त घटना र कथा मात्र रहेछन् । जीवनमा कति मान्छे भेटिए । तिनलाई सम्झेर कहाँ सक्नु ? सम्झनाका तरेलीबाट कति मेटिए र कति अझै मेटिंदैछन् ।

मान्छेले जन्मेर हुर्केको ठाउँ कहिल्यै बिर्सिन नसक्ने रहेछ । मेरा बाआमा सुत्ने खाटको छेउमा एउटा सानो कुनो थियो, त्यो कुनो म कहिल्यै बिर्सन सक्दिनँ । किनकि म त्यही कुनोमा सुतेर हुर्कें । मलाई त्यो कुनाको यादले सताइरहन्छ । त्यहाँ सुत्ने रहरले सताइरहन्छ ।

जीवनका काल खण्डमा संसारका ठूला र महँगा कयौं होटेलमा सुतेँ । ती होटेलका ओछ्यानहरू सम्झिँदैन । बरु निद्राको महत्त्व बढ्न थालेपछि सुन कै ओछ्यानको पनि अर्थ नहुने रहेछ । त्यही कुनाको यादले सताएपछि म त्यहाँ चालीस वर्षपछि पुगेँ ।

मान्छे नबसेको घर कस्तो हुँदो हो ? घरको आँगन झाडीले ढाकेको थियो भने करेसाबारी र वरिपरिको अवस्थाको झन् बयान गरेर के साध्ये ! पुगेको भोलिपल्ट घरको आँगन र वरिपरिको जङ्गल जस्तो लाग्ने झाडी फाँड्न पाँच जना मान्छेलाई पुरै दिन लाग्यो । त्यसपछि बल्ल भौतिक रूपमा घर, घर हो की जस्तो भयो ।

धुलै धुलोले भरिएर मान्छे बस्न पनि असम्भव जस्तो देखिएको घरलाई घण्टौं लगाएर दाजु रविन्द्र, भुपेन्द्र र छिमेकी भाइ थीर बहादुरले सफा गरेपछि पुगेकै दिन त्यो कुनोमा सुत्ने रहर पूरा भयो । त्यो कुनोमा जुन निद्रा आयो, जुन आनन्द आयो । त्यो कहिल्यै पनि कहीँ पनि आएको थिएन । मान्छेले सबै कुरा किन्न सक्छ, तर निद्रा र खुसी कहिल्यै किन्न सक्दैन ।
केटाकेटीमा पिखुवा खोलाको जुन दहमा पौडी खेल्थेँ, घडेरीको ढुङ्गोमा बाघ चाल खेल्थेँ, त्यो दह, त्यो ढुङ्गो हेर्ने रहर पूरा भयो । तर दुर्भाग्य, भूकम्पले त्यो बाघ चाल खेल्ने ढुङ्गो भत्काएछ । छेउको रोडिंगाको रुखलाई लडाएछ । घडेरी बुच्चो देखिएछ ।

वन पाखा र खोला नाला घुमे । जे होस्, जुन नोस्टाल्जियाले मलाई सताएको थियो । त्यो सताइबाट मुक्ति मिल्यो । भोलीको दिन कसलाई के थाहा ? फेरि पुग्छु भनेर पनि पुग्न नसकिएला ! आफ्नो जन्म घर छेउको ढुङ्गे धाराको पानी नपिएसम्म वरिष्ठ न्युरोलोजिस्ट डा. उपेन्द्र देवकोटाको प्राण गएन । त्यही पानी पिउनको लागि उनी हेलिकप्टरबाट गोरखा पुगे, त्यसपछि मात्र उनले प्राण त्यागे ।

हामी मान्छे कति स्वार्थी छौं । हुन त यो संसार टिकेकै स्वार्थले होला । बच्चा र युवा हुँदा हामीले हाम्रा बाबुआमाका पिडा र दुःख बुझेनौं । बरु घर छोड्न हतार भयो । गाउँ र जन्म ठाउँ छोड्न हतार भयो । त्यही भएर मलाई लक्ष्मण गाम्नांगेको  “बा” कविताका यी हरफ जहिले याद आउँछ –

बा भन्नुहुन्छ ठूलो भएपछि बाबुआमाको हेरचाह गर्नुपर्छ

उसो भए मेरा बा कहिले ठूलो हुनुहुन्छ ?

नब्बे वर्ष कटेका बाआमालाई हेरचाह गर्न

बा कहिले गाउँ जानुहुन्छ ?

शायद यो नियति धेरै मान्छेको जीवनमा घटेको होला । नघटेकै भए पनि प्रिय जन र प्रिय स्थानबाट टाढा भएपछि त्यही कुराले मान्छेलाई धेरै सताउने रहेछ । फेरि जे छैन, मान्छेलाई त्यही चाहिने रहेछ । नभएको चिज नै बढी महत्वको हुने रहेछ ।

देशबाहिर नेपालीका लागि नेपाल सिमानाको मात्र नभएर भावनाको देश हो । मार्छु भनेर पनि त्यो भावना मर्ने रहेनछ । भावनात्मक सम्बन्धमा जहिले पनि स्नेह र प्रेम जोडिएको हुने रहेछ । आखिर दशैंको मालश्री धुन बज्दा मन तरिङ्गत नहुने नेपाली कमै होलान् । त्यो धुनसँगै उनीहरूलाई आफ्ना प्रिय जनको यादले सताउँछ । उमेरले उकालो चढ्दै गएपछि झनै सताउँछ ।

भावनाको संवेदनाले गर्दा नेपाली मूलका भुटानी आफ्नो जन्मभूमिबाट लखेटिन बाध्य भए । लखिटिंदा पनि उनीहरूको नेपाल र नेपाली भाषा प्रतिको स्नेह र प्रेम मरेको छैन । बर्माका नेपालीहरू नेपाली स्कुल चलाएर बसेका छन् । अमेरिका क्यानडाका धेरै शहरमा नेपाली भाषाका कक्षा सञ्चालित छन् । बाबु आमाहरू नेपाली कक्षामा छोराछोरी भर्नाको पालो कुरेर बस्छन् ।

तन जति बुढो भए पनि मन बुढो नहुने रहेछ । म आफूलाई ऐनामा हेर्छु, तन बुढो हुँदै गएपनि मनले जहिल्यै उस्तै ठान्छ । कस्तो विचित्र छ मान्छे । समयले धेरै पर छोडिसक्दा पनि आफू छोडिएको ठान्दैन र विश्वास पनि मान्दैन ।

‘खाइराइड’को समीक्षात्मक कार्यक्रममा राष्ट्र बैंकका बयालिसको लटलाई बोलाउने रहर हुँदाहुँदै पनि सम्भव भएन । कोही साथीहरूको सम्पर्क थिएन मसँग । छोटो समयमा साहित्यकार मित्र चन्द्र घिमिरे, चिन्तामणि सिवाकोटी र राम प्रसाद पन्तलाई जुटाउन बासुदेव अधिकारीको ठूलो गुन रह्यो । रहर त सबै मित्रहरूलाई बोलाउने थियो । चन्द्र घिमिरेलाई टिप्पणीकारको रूपमा पाउँदा मेरो खुट्टा भुइँमा भएनन् । उनी पूर्व सचिव भन्दा पनि साहित्यकार कै रूपमा बढी परिचित छन् । यसरी साथीहरू छुट्दा नमज्जा जस्तो लागेपछि सम्पर्कको माध्यम बनाउने रहर जागेर आयो ।

क्यानडा फिरेपछि नेपाल राष्ट्र बैंक ४२ भनेर मेसेन्जर ग्रुप खडा गरे । केही क्षणमै वलराम पराजुली, वसन्त वहादुर शाक्य, वासुदेव अधिकारी, वेद खतिवडा, विनोद तण्डुकार, चन्द्र घिमिरे, जगदिश्वर अधिकारी, केदार आचार्य, किरण विस्ट, किशोर ढकाल, किशोरी थापा, चिन्तामणि सिवाकोटी, कृष्णमुरारी घिमिरे, कृष्ण सिलवाल, कुमार पोखरेल, रामकृष्ण गुरागाई, रमन नेपाल, रमेश राज सिग्देल, राम प्रसाद पन्त, सीता घिमिरे, दामोदर सापकोटा, उद्दव लाल रंजितकार जोडिए । राधिका शाक्य शर्मा, एजिन्द्र लुइटेल, रमेश पोखरेल, प्रदिप अधिकारी, विष्णु प्रसाद गौतम, दिपा भट्टराई, एकराज कंडेल, जय वहादुर भण्डारी, रजनी श्रेष्ठ, रामजीलाल श्रेष्ठ,  श्यामसुन्दर श्रेष्ठ, इन्दिरा शेरचन, केशव शर्मा, देवेन्द्र खतिवडा, विजु कुमार श्रेष्ठ, रमेश जंग निरौला, रमेश प्रसाद दहाल, भवनाथ घिमिरे र राजेश पालिखे जोडिने क्रममा छन् र छिट्टै सबै जोडिएलान् ।

कृष्णमुरारी घिमिरेको सहयोगमा साथीहरूलाई ग्रुपमा जोड्दै गर्दा कताकता डर र सङ्कोच पनि लागेको थियो । यतिका वर्ष हराएको मान्छेलाई राष्ट्र बैंकमा आजीवन जीवन बिताएका मान्छेको किन जरुरत पर्यो ? प्रश्न उठ्नु स्वाभाविक हो । तर साथीहरूको रमाइलो च्याटिङ र उत्साहजनक सहभागिता देखेपछि लाग्यो, “जीवन त सबैको उही रहेछ । यादले सबैलाई सताएकै रहेछ ।” फरक यति हो – कोही एउटै बाटो निरन्तर हिंडिरहे । कोही बाटो फेर्दै हिंडे । हिंड्ने क्रममा कोही अलि माथि पुगेर अग्ला देखिए होलान् । कोही देखिएनन् । तर अन्तिम गन्तव्य त सबैको उही रहेछ । त्यो गन्तव्यमा पुगेपछि सबै बराबर ।

मान्छे जब बराबर हुन्छ, तब को ठूलो र सानो भन्ने भावना हुँदैन । जहाँ प्रतिस्पर्धा हुँदैन, त्यहां एक अर्कामा ईर्ष्या हुँदैन । जहाँ प्रतिस्पर्धा र ईर्ष्या हुँदैन, त्यहां स्नेह र प्रेम हुन्छ । अङ्ग्रेजीमा दुई शब्द छन् – “कम्पिटिशन र कम्प्यारिजन ।” मान्छे बीच फाटो र वैरभाव ल्याउने जड भनेकै कम्पिटिशन र कम्प्याजिन हुन् । अवकाश भएपछि के को लागि प्रतिस्पर्धा ? के को लागि बहिर भाव ?

सबै अवकाश भइकसेकेका । छोराछोरी सबैका हुर्किसके । कतिका साथमा छन् । कतिका छैनन् । फेरि साथमा भए पनि छोराछोरीको संसार छुट्टै । बाबु आमाको संसार छुट्टै । पाको उमेर हुँदै गएपछि मान्छेका मनमा बह बढ्दै जान्छन् र त्यो बह भरिंदै पनि जान्छन् । भरिएपछि त्यसले निकास खोज्छ । त्यो निकासको माध्यम भनेको मन र विचार मिल्नेहरू बीचको सम्पर्क हो । कुराकानी हो । बूढाबूढीलाई पनि बोल्न मन लाग्छ । हाँस्न मन लाग्छ ।

‘खाइराइड’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहको समीक्षा गर्दै वरिष्ठ हास्यव्यङ्ग्यकार चट्याङ मास्टर (कृष्ण मुरारी गौतम)ले भनेका थिए । “मेरी आमाको चाउरिएको गाला पनि एकपटक हेरिदिनुहोस् । तपाईंका बाको कुप्रिएको ढाड पनि एकपटक हेरिदिनुहोस् । हामी बुढा बुढीलाई पनि हाँस्न मन लाग्छ । हामीलाई जिस्क्याउनुहोस् । हामीलाई जिस्क्याएको मन पर्छ । हामीलाई पनि मायाप्रीति मन पर्छ ।” नेपाली हास्यव्यङ्ग्यमा व्यक्ति मात्र नभएर संस्था बनेका चट्याङ मास्टर जस्ता सर्जकले भनेको कुरा अकाट्य नहुने कुरै भएन ।