तीसको दशकमा साहित्यमा लाग्नेहरूले विजय मल्लको लेखन नपढेको भनेको विरलै हु्थ्यो । उनको लेखन कथा, कविता, उपन्यास, नाटक सबैजसो कोर्स बुकमा थिए र ती सबै जसो विद्यार्थीहरूले पढ्थे नै, साहित्यमा रुचि हुने पाठक, साहित्यमा कलम चलाउन बामे सर्दै गरेका नवलेखकहरू पनि साहित्यका पुस्तकहरू खोजीखोजी पढ्ने गर्थे, त्यति हुँदा पनि पुस्तकको बिक्री भने उस्तो हुँदैनथ्यो, पाठ्यक्रममा भएका पुस्तकका लेखकबाहेकको ।
मैले आफ्नो लेखनको सुरुवात कालमा नै विजय मल्लका कविता, कथा, नाटक अनि उपन्यास खारिसकेको थिएँ । उनका पुराना पुस्तकहरू काठमाडौँमा उपलब्ध जो थिएनन् । तिनलाई काठमाडौँ बाहिर जाँदा मोफसलका पुस्तक पसलमा नबिकेर बसेका थानहरूको म किनेर सदुपयोग गर्थेँ । मलाई कोही किन बर्बाद होस् पढिरहँदा थाहै नपाई आँसु आएको कुरा मेरो जीवनको अमूल्य पाठकीय अनुभूति थियो । त्यतिबेला मलाई के पत्तो यस्ता प्रतिभासँग भविष्यमा सँगै हिँडडुल गरिन्छ, खानपान गरिन्छ, अँगालो मारिन्छ आदि इत्यादि भनेर ।
मैले सम्झेँसम्म उनीसँग पहिलो इन्काउण्टर एकेडेमीमा भयो, हामी एक हूल साहित्यकारहरू आक्रोशित भएर उनलाई भेट्न जाँदा ।
२०३६ सालको आन्दोलन सकिएको थियो । सुधारिएको पञ्चायती व्यवस्थाको पक्षमा २४ लाख र बहुदलको पक्षमा २० लाख मत परेको नतिजा आइसकेको थियो । तर २०३६ सालले गैरपञ्चायत पक्षकाहरूलाई पनि खुल्ला रूपले स्वतन्त्र अभिव्यक्ति दिने बाटो भने खोलिदिएको थियो । हामीले सडक कविता क्रान्तिमा भाग लिएर आफ्नो प्रजातान्त्रिक छवि पनि देखाइसकेका थियौँ । त्यतिबेला नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष नयाँवर्षको दिन राजाले दिएको शीर्षकमा कविता लेखेर असारमा प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव मनाउने र वैशाकको सुरुको हप्ता नाटक महोत्सव गर्ने दुई आकर्षक गतिविधि थियो नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको । यो दुई कार्यक्रमको तादात्म्य के थियो भने नाटक महोत्सवमा प्रथम भएको नाटक कविता महोत्सवको पुरस्कार वितरण समारोहमा राजालाई देखाउने परम्परा थियो । अशेष मल्ल “तुवाँलोले ढाकेको बस्ती” नाटक देखाउन काठमाडौँ आएर काठमाडौँमै संघर्ष गरिरहेका जागरुक तरुण नाटककार थिए । उनले लेखेको “सडकदेखि सडकसम्म” प्रयोगात्मक नाटक साहित्यिक पत्रकारसंघको तर्फबाट देखाउन प्रज्ञामा बुझाइएको थियो ।
खासमा त्यो वर्ष अशेषको दुई वटा नाटक महोत्सवका लागि बुझाइएको थियो- साहित्यिक पत्रकार संघको तर्फबाट “सडकदेखि सडकसम्म ” अनि उनको अर्को नाटक “रातका बन्द आँखाहरू” चाहिँ आफ्नैतर्फबाट । अशेष नयाँखालको प्रयोगात्मक नाटक “सडकदेखि सडकसम्म” प्रति विशेष आशावादी थिए । तर रातका बन्द आँखाहरू छनौटमा परेको थियो, सडकदेखि सडकसम्म अस्वीकृत भएको थियो । अनि अच्युतरमण अधिकारी, नगेन्द्रराज शर्मा, अशेष मल्ल, मलगायत विजयमल्लसँग त्यो नाटक किन अस्वीकृत गरिएको भन्ने सोध्न हुल बाँधेरै डेलिगेसन गएका थियौँ । हामी हूल भएर आएको देखेपछि विजय मल्ल सकपकाएका थिए र भनेका थिए- “यो नाटक मलाई राम्रो लागेको हो । तर यस्तो प्रयोगात्मक नाटक देखाउन सकिएला र भनी स्वीकृत नगरेको हो । तर यदि राम्रोसँग देखाउने हो भने म सहयोग पनि गर्छु, नाटक स्वीकृत भइहाल्छ ।”

गोविन्द गिरी प्रेरणा
विजय मल्लले त्यति भनेपछि नाटक स्वीकृत भएको थियो र त्यो नाटक अशेष मल्ललाई नयाँ युगका उदयीमान नाटककार बनाउन सफल पनि भयो । यसरी पहिलोपल्ट विजय मल्लसँग रमाइलो भेट भएको थियो र प्रज्ञा प्रतिष्ठानको मीठो चिया पिएर हामी हाँस्दै फर्केका थियौँ ।
पछि पछि त म विजय मल्ललाई भेट्न एकेडेमी जान थालेँ । उनी फुक्काफाल थिए । मजाले गफ गर्थे । साहित्यका कुरा गर्थे । “मेरो किताब पढ्छन् ?”, उनी प्राय सोध्ने गर्थे । कुरा गर्दै गएपछि अन्त्यमा उनी भन्थे- “गर्ने के ?”, यो उनको मौलिक थेगो थियो । उनको कार्यकक्षमा लेखक कविहरूभन्दा बढी कलाकार झुम्मिन्थे । चिया आइरह्थ्यो । उनी चुरोट तानिरहन्थे । गफ गरिरहन्थे । उनी एकेडेमीमा एकेडेमीको सदस्य सचिवभन्दा “विजय” दाइ बढी थिए ।
एकेडेमीको सबैभन्दा बढी आकर्षण त्यतिबेला चीन थियो । प्राय: हरेक वर्षजस्तो प्राज्ञहरू चिनियाँ सरकारको तर्फबाट लेखक संघको निम्तोमा चिनाजान गर्थे । अनि चिनाजानका क्रममा हङकङको बाटो मिलाउने गरिन्थ्यो र फर्कदा केही दिन हङकङ बस्ने गर्दथे । उनकै अग्रसरतामा एकपल्ट हङकङमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले सांस्कृतिक कार्यक्रम पनि देखाएको थियो । यसलाई लिएर एकेडेमीले हङकङमा नाच देखाउँदै हिँड्ने हो ? भन्दै प्रचुर आलोचना पनि भएको थियो ।
विजय मल्लले नेपालमा हालसम्म पनि निरन्तर रहेको कुमारी प्रथा र त्यसको किम्वदन्ती एबम् अन्धविश्वासलाई फ्यूजन गरेर उपन्यास लेखे, कुमारी । त्यो उपन्यासको आधारमा नेपाली कथानक चलचित्र शाही नेपाल चलचित्र संस्थानबाट निर्माण भयो । यस्तो कुनै कृतिमा आधारित चलचित्र बनाउँदा जोखिम के हुन्छ भने कृतिले दिन खोजेको सन्देश र कथानकलाई निर्देशकबाट पूर्ण न्याय हुन सक्दैन । विश्वमै यसको समस्या सदा यथावत् छ । विजय मल्लको त्यो उपन्यास चलचित्र बन्दा प्रकाशित भइसकेको थिएन । अनि उनले गोरखापत्रमा सम्पादकलाई चिट्ठी लेखेर आफ्नो कृतिमाथि न्याय नभएको भनी असन्तुष्टि प्रकट गरेका थिए र छिट्टै उपन्यासको रूपमा प्रकाशित गर्ने प्रतिवद्धता जनाएका थिए । हुन पनि पछि त्यो उपन्यास नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको रजत वर्षको उपलक्ष्यमा प्रकाशित २५ नेपाली पुस्तकको सेटमा प्रकाशित भयो । अनि जापानी भाषामा अनुवाद पनि भयो ।
मैले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आफ्नो कथा सङग्रह प्रकाशनका लागि दर्ता गरेँ र यसको जनाउ मैले विजय मल्ललाई दिएँ । उनले भनेपछि पुस्तक छापिने निश्चित थियो । अनि एकदिन प्रकाशन विभागसँग सम्पर्क गर्दा मैले बुझाएको २० थान कथाहरूको सङग्रहबाट ५।७ वटा कथा हटाएर छाप्न स्वीकृत भएको रहेछ । म छक्क परेँ । ती सबै मेरा विभिन्न पत्रपत्रिकामा पहिल्यै प्रकाशित भइसकेका र कतिपय चर्चित कथाहरू थिए । पाण्डुलिपिबाट हटाउने भनिएका कथाहरू मलाई मन परेका तर साइजमा अलि लामा थिए । मैले विजय मल्ललाई विनम्रतापूर्वक भनेँ, ” दाइ, कथा सङ्ग्रहबाट राम्रा कथाहरू छानीछानी हटाएर निस्कने सङ्ग्रह कस्तो होला ?”
उनले भने, “ए होर ! ल ठीक छ त्यसो भए सबै छापौँ न त, भई हाल्छ नि ! आपत्तीजनक त केही छैन नि !”
मैले ती सबै पूर्वप्रकाशित कथाहरू हुन् भनेपछि उनले पूरै २० वटा कथाको सङ्ग्रह नै प्रकाशनका लागि आदेश दिए । “अन्तराल” शीर्षकमा त्यो पुस्तक छापियो २०४६ सालमा र त्यस वर्षको नारायणी वाङ्गमय पुरस्कार पनि प्राप्त गर्यो ।
पछि बुझ्दा थाहा लाग्यो, विजय मल्लले “यो कथा सङ्ग्रह यसो मिलाएर छाप्नु पर्छ, केही कथा घटाएर छाप्नु पर्यो, हेर” भनेर प्रकाशन विभागका कर्मचारीलाई आदेश दिएका रहेछन् । विचरा कर्मचारीले कथा सङ्ग्रह सानो बनाउने काइदा निकालेछन्, लामा लामा कथा हटाइदिएर । तर पछि यथावत् नै प्रकाशित भयो । विजय मल्ल खासमा निकै सरल थिए, जसले उनीसँग सङ्गत गरे, तिनले थाहा पाउने यथार्थ हो ।
विजय मल्लका नाटकहरू झण्डै नियमित जसो एकेडेमीको प्रेक्षा गृहमा प्रदर्शन भइरहन्थे । एकपल्ट उनले नेवारी नाटक लेखे – “किसीन्ह्याई म्ह मदनमान” । यो नाटक एकेडेमीको प्रेक्षा गृहमा राम्रै चल्यो । विजय मल्लको सक्रिय एकेडेमीका वर्षहरूमा उनका नाटक निरन्तर अविछिन्न प्रदर्शन भइरहे । पछि माधव घिमिरेका गीतीनाटक आउन थालेपछि अलिअलि क्रमभङ्ग भयो । माधव घिमिरेको शकुन्तला गीतीनाटकले अपेक्षाकृत सफलता प्राप्त गर्न सकेन । तर मालती मङ्गलेले भने कीर्तिमान नै कायम राख्यो र विजय मल्लको नाट्य मञ्चनको एकाधिकार तोडियो ।
उनले धेरैपल्ट सुनाएका थिए यौटा कालो रात वा त्यस्तै प्रकारको शीर्षकको लेख्न लागेको उपन्यासको कथा ।
२०४६ सालको जनआन्दोलनपूर्व माधव घिमिरेको कुलपतित्वमा विजय मल्ल उपकुलपति भएका थिए । त्यसपछि उनी कुलपतिमा जानेवाला थिए । तर २०४६ सालको सफल जनआन्दोलनपछि नयराज पन्तबाहेक सबैले राजीनामा दिनुपर्ने परिस्थिति बन्यो र विजय मल्ल ढाक्रे भए । अब उनी फुर्सदमा थिए । साँझपख सधैँ पीपलबोटछेउ आउँथे । तारागाउँ विकास समितिको शोरुममा कथाकार भागिरथी काम गर्थिन् । उनी त्यहाँ पुग्दथे । भागिरथी चिया कफी मगाएर आतिथ्यता प्रदान गर्थिन् । यदाकदा म पनि त्यसमा सामेल हुन्थेँ । चिया कफी पिएपछि उनी मेरो यौटा हात समातेर पीपलबोट आइपुग्थे र भन्थे, “पैसा छ, ल चुरोट किन त !”
अनि म ५५५ चुरोटको खिल्ली किनिदिन्थेँ र उनी त्यहीँ भएको चुरोट सल्काउने आगोबाट चुरोट सल्काउँथे अनि पुन: मेरो हात समात्थे र चुरोट तान्दै न्यूरोड गेटसम्म पुग्थ्यौँ । यस्तोबेलामा उनी लेख्न लागेको कथा, उपन्यासको कथानक सुनाउँथे । उनले धेरैपल्ट सुनाएका थिए यौटा कालो रात वा त्यस्तै प्रकारको शीर्षकको लेख्न लागेको उपन्यासको कथा । उनले सुरु पनि गरे त्यो उपन्यास, अनि त्यो आंशिक छापियो पनि तर कहिल्यै पूरा भएन । तर उनी त्यो उपन्यासको कथा कथानकमै डुबेर यसरी जीवन्त प्रकारले वर्णन गर्थे कि गज्जबै लाग्दथ्यो ।
भागिरथीकै घरमा कुनै भोजमा एकपल्ट हामी दुई दम्पत्तीसँगै थियौँ । उनी सुरापानमा पनि मजाले रमाउँथे तर सुगरको बिरामी भएकोले भाउजूले बढी पिउनबाट रोक्नु हुन्थ्यो । तर उनलाई त्यो मन पर्दैनथ्यो, चित्त बुझ्दैनथ्यो । मेरी श्रीमतीको बानी पनि त्यस्तै थियो । भोज खाएर घरबाहिर निस्केपछि विजयले भने- “हेर न गोविन्द, अलिकति थप्न मन थियो, पाइएन भन्या ।”
उनी दु:खी थिए र भाउजूको भने रिसको पारा चडेको थियो । त्यती नै बेला उनले मेरी श्रीमतीको हात समात्दै भने-“हेर न बुहारी, त्यति अलिकति पनि थप्न दिइन, गर्ने के ?”
मेरी श्रीमती हाँसिरहिन् र हामी त्यसपछि छुट्टिएका थियौँ । मेरी श्रीमतीको टिप्पणी थियो- “साहित्यकारहरू अलि बढी पिउनैपर्ने जात हुन् कि क्या हो ?”
मैले जवाफमा पुलुक्क हेरेँ मात्र, त्यसमा उनले के देखिन्, खासमा विजय मल्लको जस्तै असन्तुष्टि थियो भन्ने लाग्छ मलाई।
मैले त्यो खुल्ला छलफल टेप गरेको थिएँ, त्यो पनि प्रकाशित भइसकेको छ । तर सग्लो अन्तरवार्ता भने लिन किन अनुकूल मिलेन ?
लामै सङ्गत हुँदा पनि विजय मल्लसँग यौटा अन्तर्वार्ता लिने मौका किन जुरेन होला, म छक्क पर्दछु । तर मिर्मिरे पत्रिकाको लागि मिर्मिरेकी तत्कालीन सम्पादिका चन्द्रा ठकुरी र म गएर कथा विषयक छोटो सम्वाद भने गरेका थियौँ र मिर्मिरेमा प्रकाशित भएको थियो । त्यसबाहेक कान्तिपुरको “साप्ताहिक” का लागि उनको लेखन यात्राको विषयमा मैले उनीसँग टेपवार्ता गरेको थिएँ र त्यसको सानो अंश साप्ताहिकमा प्रकाशित भएको थियो । त्यस्तै एकदिन उनी न्यूरोडको हामी चिया पिएर गफ गर्ने अड्डामा आइपुगेका थिए र श्यामल, नकुल सिलवाल, पुरुषोत्तम सुवेदी र मैले यौटा रोचक छलफल गरेका थियौँ, समलिङ्गी साहित्यको विषयमा । मैले त्यो खुल्ला छलफल टेप गरेको थिएँ, त्यो पनि प्रकाशित भइसकेको छ । तर सग्लो अन्तरवार्ता भने लिन किन अनुकूल मिलेन ? म आफैँ निरुत्तर छु आफैँसँग ।
जीवनको उत्तरार्धमा उनलाई सुगरले अलि बढी नै सताएको थियो र उनको आँखालाई पनि धक्का दिएको थियो । उनी लेखपढ गर्न उति सक्षम भएका थिएनन् तर अविनाश श्रेष्ठले एकेडेमीबाट तत्कालीन एकेडेमीमा काम गर्न गएका कर्मचारीलाई खटाएर उनको लघुउपन्यास शारदा लेखाएका थिए । जुन पछि एकेडेमीकै समकालीन साहित्यमा प्रकाशित भयो र अविनाश श्रेष्ठकै सम्पादनमा निस्केको “मान्छेको नाच” कथा सङ्ग्रहमा समाविष्ट छ । विजय मल्लको जीवनको उत्तरार्धको मनोदशा र अवस्थाको बारेमा अविनाशले त्यस पुस्तकका विषद् रूपमा खुलस्त गरेका छन् ।
विजय मल्लले जीवनभर आफ्नो उर्जा साहित्यमै लगाए । कविता, कथा, नाटक, उपन्यास सबै विधामा उनको पकड दरो र शिखरको रह्यो । उनी ती विधाका लागि अपरिहार्य ऐतिहासिक कोसेढुङ्गा भए । उनको पञ्चतत्व पञ्चतत्वमै विलीन भयो, तर उनका सिर्जना साहित्यको विशाल फाँटमा मग्मगाइरहेछन्, मग्मगाइरहनेछन् युगयुगसम्म ।
बृन्दावन, भारत



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

