(छ) नियात्रा लेखनः

भारतमा कथा, नियात्रा जस्ता कतिपय विधाहरूले लेखनको शताब्दी पार गरिसकेका छन् । भारतमा यात्रा विवरण अनरेरी सुबेदार मेजर शेरसिंह राना मगरको ‘मेरो लण्डन राजतीलक यात्रा’(१९०८) बाट सुरू भएको मानिन्छ। त्यसबेला यात्रा विवरण र नियात्राबीच कुनै पार्थक्य थिएन। अचेल भारतमा पनि संस्मरणात्मक यात्रा विवरणलाई नियात्रा भन्ने गरिएको छ। यसैले भारतमा नियात्रा लेखनको सय वर्ष पुगेको उपलक्षमा गत १९ जुलाई सन् २०१९ मा साहित्य अकादमीले दार्जीलिङमा एउटा संगोष्ठी आयोजन गरेको थियो। जसमा नियात्रा लेखनमाथि ८ जना लेखकहरूले आफ्नो आफ्नो कार्यपत्र वाचन गरेका थिए। यी जम्मै कार्यपत्रहरू पुस्तकाकारमा प्रकाशोन्मुख छ।

(ज) पत्रपत्रिकाको इतिहासः

भारतेली समाचार पत्रको इतिहास ११९ वर्ष पुगि सकेको छ । यसमा गोर्खे खबरकागतपछि देखा परेका दैनिक हिमालचुली, हिमाली आभा, सुनचरी, आजभोलि, अब, गोर्खा भारती, सगरमाथा, हिमकस्तुरी, हिमालय दर्पण, स्वर्णभूमि, सुनाखरी, समय, प्रजाशक्ति इत्यादि को योगदान रहेको छ । यसअघि बनारसबाट पनि साहित्यिक पत्रिकाहरूको ओइरो लागेका कुरा ध्यानमा राख्नु जरूरी छ । यता कलकत्ताको ‘गोर्खा साथी (१९१२) र पारसमणि प्रधानको सम्पादनमा खरसाङबाट प्रकाशित’ चन्द्रिका (१९१८) , शिलाङको ‘गोर्खा सेवक’ (१९३५), देहरादुनको ‘जाग्रत गोर्खा(१९५६)’इत्यादि प्रारम्भिक कालका साहित्यिक पत्रपत्रिकाहरू हुन्। अझ यसरी नेपाली भाषामा खोजी, दियालो, मालिङ्गो ,भारती, गोर्खा, कञ्चनजङ्गालगायत अनेकौँ पतपत्रिकाहरू प्रकाशित भइसकेका छन् । भारतमा साहित्यिक पत्रपत्रिकाहरूको विकासबारे कतिपय लेखहरू ‘दियालो’ पत्रिकाको (वाङ्मय विशेषांकमा) पनि पाइन्छन्। (१८)

(ञ) साहित्यिक संस्था र संगठनः

कुनै पनि भाषा, साहित्य र संस्कृतिको विकासमा संस्था, संगठनहरूको महत्वपूर्ण भूमिका हुन्छ। भारतेली नेपाली भाषा र साहित्यको विकासमा पनि धेरै संस्था र संगठनको योगदान सह्रानीय छ । यस्ता संस्थाहरूमा गोर्खा जन पुस्तकालय खरसाङ (१९१३), नेपाली साहित्य समेलन दार्जीलिङ (१९२४), गोर्खा दुस्ख निवारक समेलन दार्जीलिङ (१९२२), अपतन साहित्य परिषद् सिक्किम (१९४७), नेपाली साहित्य अध्ययन समिति कालेबुङ ( १९६२), डुवर्स नेपाली साहित्य विकास समिति (१९७४), नेपाली साहित्य परिषद् असम(१९७४), नेपाली साहित्य प्रचार समिति सिलगढी(१९७४) इत्यादि कार्यरत छन्। असमको नेपाली साहित्य परिषद् मई सन् २०१३ मा नेपाली साहित्य सभामा विलय भएको हो। यी संस्थाहरूको विवरण कतिपय पुस्तकहरूमा पाइन्छन् ।(१९)

योबाहेक दार्जीलिङमा (सन् २०००) मा स्थापित नारी संगठन ‘बसुधा’ पनि नारीवादी साहित्यको विकासको निम्ति सधैँ सचेष्ट छ । यस्तै सिलगढीको देवकोटा संघ, नेपाली साहित्य संस्थान, सिक्किम साहित्य परिषद् लगायत धेरै साहित्यिक संघ-संस्थाहरू दार्जीलिङको पहाड र मदेश अनि डुवर्समा सक्रिय छन् ।

(ट) सरकारी संस्था-संगठन:

यीबाहेक सरकारी र अर्धसरकारी संस्थाहरू साहित्य अकादमी, भारतीय भाषा संस्थान,नेसनल बुक ट्रष्ट, नेपाली भाषा साहित्यको विकासको निम्ति कार्यरत छन्। साहित्य अकादमीले साहित्यका विभिन्न विधाहरूमा आयोजित संगोष्ठी, अनुवाद कार्यशाला, कवि सन्धि, कथासन्धि इत्यादि कार्यक्रमलगायत अग्रज साहित्यकारहरूलाई लिएर ‘लेखकसित भेट’कार्यक्रममा सम्मान गर्ने गरेको छ। युवा लेखकहरूलाई भारतका विभिन्न स्थानहरूको साहित्यिक गतिविधि अध्ययन गर्न यसले भ्रमण अनुदान पनि दिन्छ। वर्षको सर्वश्रेष्ठ मौलिक कृतिलाई एक लाखको पुरस्कार दिन्छ। योबाहेक पनि सन् १९९४ देखि पचास पचास हजार राशीको अनुवाद पुरस्कार, सन् २०१० देखि बालसाहित्य पुरस्कार र २०११ देखि युवा साहित्य पुरस्कार प्रत्येक वर्ष दिँदै आएको छ। साहित्य अकादमीले सूर्यविक्रम ज्ञवालीद्वारा सम्पादित भानुभक्तको रामायणको नयाँ संस्करण सुन्दर साजसज्जा र राम्रो कागजमा छापेको छ ।

योबाहेक अकादमीका नेपालीमा धेरै अन्य प्रकाशनहरू पनि छन् । दिवंगत नेपाली साहित्यकारहरू लगभग चालीस जनाको विनिबन्ध (जीवनी) लेखाएर प्रकाशित गरेको छ । यस्ता कतिपय कृतिहरू अंग्रेजीलगायत अन्य क्षेत्रीय भाषाहरू र कति क्षेत्रीय भाषाका अनुवाद कृतिहरू नेपालीमा प्रकाशित गरेको छ।

भारतीय भाषा संस्थानको केन्द्रीय कार्यलय मैसुरमा छ । यसले नेपाली भाषामा लेखिएका साहित्यिक ग्रन्थ र कोशहरू प्रकाशित गर्न आर्थिक सहयोग गर्छ। यस्तै प्रकारका छापिएका कृतिहरू सय दुई सय प्रति किनेर पुस्तकालयहरूलाई निःशुल्क वितरण गर्छ। असमको गौहाटीमा अन्य भाषाभाषीहरूलाई वृत्ति दिएर नेपाली सिकाउने र नेपालीहरूलाई मणिपुरी, बोडो जस्ता भाषा सिकाउने यसको एउटा स्कुल पनि छ । बम्बईको नेसनल बुक ट्रष्टले अन्य भाषाका कतिपय बालसाहित्यका नेपाली अनुवाद प्रकाशित गरेको छ । धेरै साहित्यिक कृति नेपालीबाट अन्य भाषामा अनुवादको क्रममा डा. गोकुल सिन्हाले भानुभक्तको रामायण अंग्रेजीमा सुन्दर अनुवाद गर्नुभएको छ । योबाहेक भारतबाट क्षेत्रीय भाषाका धेरै कृतिहरू पनि नेपालीमा अनुवाद भएको छ । विन्द्या सुब्बाको द्रौपदी (उडिया), रेमिका थापाको ‘सरोकार’ (मैथिली), शिशुपाल शर्माको ‘प्रतिशोध’ (बंगला), डा. सञ्जीव उपाध्यायको ‘बाबु छोरा’(असमी), हरि लुइटेलको गोदान (हिन्दी ), मणिका मुखियाको ’यो प्राचिनवीणा’(मलायलम), आई.के.सिंहको ‘मैला आँचल’(हिन्दी) इत्यादि यस्ता केही अनुवादहरू हुन्।

योबाहेक गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले आफ्नो क्षेत्रभित्रका साहित्यकारहरू र विभिन्न विधाका कलाकारहरूलाई प्रेरणा र प्रोत्साहन दिन जातीयकवि अगमसिंह गिरी, मित्रसेन थापा जस्ता विभूतिहरूको नाममा एक लाख, अथवा पचास हजार राशीका पुरस्कार प्रतिवर्ष प्रदान गर्दै आएको छ।

(ठ) साहित्यको इतिहास र कोश निर्माणः

साहित्यको इतिहास लेखन र कोश निर्माणको क्षेत्रमा हालैमा धेरै कामहरू भएको छ। यसको नमूना के.एन.शर्माको ‘अभिव्यक्ति कोश’(२०१८) र विजयकुमार राईको ‘उर्दू नेपाली शब्दकोश’(२०१८) हुन् । योबाहेक डा.गोकुल सिन्हाको ‘भाषिक र साहित्यिक शब्दावलीको प्राविधिक कोश’(२००४) र २५ जना लेखकहरूको ‘नेपाली सांस्कृतिक
शब्दकोश’(२०११) भारतीय भाषा सांस्कृतिक संस्थानको अनुदानमा प्रकाशित भएको हो।

(ड) राजनैतिक कारणले छुटेका साहित्यकारहरू:

कतिपय राजनैतिक कारणले भारतलाई कर्मभूमि बनाउने साहित्य महारथीहरू इतिहासको पृष्ठहरूमा देखा पर्दैनन् । जहिले पनि उनीहरू भारतेली नेपाली साहित्यको इतिहासमा ओझेलमा पर्छन्। यस्ता लेखकहरूमा सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा, लैनसिंह बाङ्देल, देवकुमारी थापा, नगेन्द्र शर्मा इत्यादि प्रमुख हुन्। उनीहरूले भारतमा बसेर नेपाली भाषा र साहित्यको क्षेत्रमा गरेको ऐतिहासिक कामको उल्लेख बिना भारतेली नेपाली साहित्यको इतिहास पूर्ण हुँदैन। पारिजातको जन्म १९३७ मा दार्जीलिङको लिङ्गे चियाकमानमा भएको हो। उनको बाल्यकाल दार्जीलिङमा बित्यो । उनको पहिलो सालिग भारतको सिलगढीमा निर्माण भएको छ। उनका छस् खण्डमा ‘पारिजातका संकलित रचनाहरू’ सिक्किमको निर्माण प्रकाशनले प्रकाशित गरेको छ । सबै भन्दा मुख्य कुरा त के हो भने भनिन्छ, उनले आजीवन भारतीय नागरिकता त्याग गरिनन् । अब पारिजात भारतकी नारी स्रष्टा होइनन् भन्ने कुनै आधार छैन ।

यी जम्मै साहित्यकारहरूको उल्लेखबिना भारतेली साहित्यको इतिहास पूरा हुन सक्दैन । भारतभित्रकै पनि शिलाङका मणिसिंह गुरूङ, पं. पद्मप्रसाद ढुङ्गाना, असमका नित्यानन्द तिमसिना, पुष्पलाल उपाध्याय, सिक्किमका रश्मिप्रसाद आले, देहरादुनका ठाकुर चन्दनसिंह, काशीका काशीबहादुर श्रेष्ठ, भाग्सू धर्मशालाका मगन पथिक इत्यादि साहित्यमा ऐतिहासिक नाँउहरू हुन् । साहित्यको इतिहासमा अंग्रेजीमा लेखिएको डा. कुमार प्रधानको ‘ए हिस्ट्री अफ नेपाली लिटरेचर’ (१९८४) र डा.जीवन नामदुङको ‘हिस्ट्री अफ मोडर्न इण्डियन नेपाली लिटरेचर’(२०१९) भारतेली नेपाली इतिहास लेखनमा एउटा दह्रिलो आधार बन्न सक्छन् । यी दुवै कृति साहित्य अकादमीले प्रकाशित गरेका हुन्।

(ढ) अभिनन्दन ग्रन्थ र स्मृति ग्रन्थ:

भारतेली नेपाली साहित्यको इतिहास लेखनमा अभिन्दन ग्रन्थ, स्मृति ग्रन्थहरू पनि ठूलो आधार बन्न सक्छ । यस्ता अभिनन्दन ग्रन्थहरूद्वारा पारसमणि प्रधान, हायमनदास राई, इन्द्रबहादुर राई, डा .लक्खीदेवी सुन्दास इत्यादिलाई उनीहरूकै जीवनकालमा सम्मान गरिएको हो। निधन भएका साहित्यकारहरूमा शिवकुमार राई स्मृतिग्रन्थ, महाकवि तुलसीराम कश्यप, स्मृति ग्रन्थ, कालजयी कर्महरूमा बद्रीनारायण प्रधान, डा. कुमार प्रधान स्कुमार कीर्ति, गोपीनारायण प्रधान , हरिप्रसाद ’गोर्खा’, राई स्मृति ग्रन्थ, बिष्णुलाल उपाध्याय श्रद्धार्घ, गुमानसिंह चामलिङ स्मृति ग्रन्थ इत्यादि हुन्।

इन्द्रबहादुर राईको स्मृतिग्रन्थको क्रम अझ शेष भएको छैन। उनको निधनपछि उनीबारेमा प्रकाशित स्मृतिग्रन्थ र अन्य कृतिहरू । यी हुन् इन्द्रायण, शिखर पुरूष डा. इन्द्रबहादुर राई, वार्ताहरूमा इन्द्रबहादुर राई, पछिल्ला चुनिएका लेखहरू, इन्द्राख्यान इत्यादि । सिक्किमबाट प्रकाशित पारिजातको रचना संकलन (छस्खण्ड), अगमसिंह गिरी रचनावली (चार खण्ड), इन्द्र सम्पूर्ण (पाँच खण्ड ) र खरसाङबाट प्रकाशित शिवकुमार राई रचनावली ( तीन खण्ड) भारतेली नेपाली साहित्यका उल्लेखनीय कृतिहरू हुन् । योबाहेक व्यक्ति र कृतिमा रामकृष्ण शर्मा, कृष्णचन्द्र सिंह मोक्तान, महानन्द पौड्याल, नवसापकोटा, कितापसिंह राई, एडोन रोंगोंग, मित्रदेव शर्मामाथि पनि केही कृतिहरू प्रकाशित भएका छन्।

नेपाली साहित्यका दिवंगत साहित्यकारहरू बारे साहित्य अकादमीको अलग अलगै प्रकाशित मोनोग्राफबाट पनि धेरै कुराको जानकारी लिन सकिन्छ । यी सबै इतिहास लेखनमा विशिष्ट भारतीय नेपाली साहित्यकारहरूको व्यक्तित्व र कृतित्वबारे सन्दर्भ बन्न सक्छन्।

(ण) भाषा र व्याकरण:

अब भारतीय नेपाली साहित्यको इतिहास लेखनको प्रसंगमा एउटा अर्को महत्वपूर्ण कुरा भाषा र व्याकरणको एकरूपताको पनि छ। भाषा र व्याकरणको विषय नेपाल र भारत दुवैतर्फ मान्य भए उचित हुनेछ। नेपाली व्याकरणमा ड र ढ मा थोप्ला लाउककने कि नलगाउँने धेरै दिनदेखिको एउटा विवाद छ। यस विषयलाई स्व. इन्द्रबहादुर राईले आफ्नो एउटा लेखमा यसरी स्प्रष्ट पार्नु भएको छ, ‘भारतीय नेपालीहरूमा ड.ढ. राखौं (वादीहरू छन्, ड.ढ.हटाऔं) वादी पनि भएका छन्। यसलाई विवादको रूपमा बढाई समाधान पाइने छैन । दुई डाँडामा चढेर दुई दलले आफ्नो आफ्नो बन्द विचार चिच्चाई नरही तल भञ्ज्याङ्गमा भेटौं र त्यहाँसगै बसी कुराकानी गरौं। खुला विचारको संवादमा दुई मत बीचको वैरोध्य (कन्ट्रडिकशन) धेरै घट्छ।’

यस लेखमा उहाँले ड र ढ मा थोप्ला दिने कि नदिने बारेमा आफ्नो मन्तव्य पनि दिनु भएको छ ।(२०) मैसुरकोभारतीय भाषा संस्थानले प्रकाशित गरेको एउटा नेपाली व्याकरण यस्तै विवादमा परेर राम्ररी प्रचार हुन पाएन।

(त) नेपाली साहित्यमा सिक्किमको देनः

अघिअघि दार्जीलिङलाई नेपालबाहिर नेपाली भाषा र साहित्यको केन्द्र मानिन्थ्यो। अहिले सिक्किममा पनि अपतन साहित्य त बिजारोपण गरेको साहित्य वाटिका निक्कै मौलाएर गएको छ। सिक्किमको राजधानी गान्तोकमात्र होइन,खबाहिर विशेष गेजिङ, नाम्ची, जोरथाङमा पुस्तक लेखन र प्रकाशन, पत्रपत्रिकाहरू प्रकाशन, संगोष्ठी र कविता वाचन जस्ता कार्यक्रमहरू निरन्तर चलिरहेकै छ। यस्ता कार्यक्रमहरूमा पश्चिम सिक्किम साहित्य प्रकाशन गेजिङ, इत्यादिको प्रमुख भूमिका छ । महाकवि तुलसीराम कश्यप, पद्मश्री सानु लामा, पद्मश्री केदार गुरूङ इत्यादि सिक्किमकै उत्पादन हुन्। महानन्द पौड्याल, राजेन्द्र भण्डारी, सुवास दिपक इत्यादिले सिक्किमलाई कर्मभूमि बनाएका हुन्। कतिपय साहित्यकारले अपतनकालका सन्तवीर लिम्बूलाई सिक्किमका प्रथम कविको दर्जा दिएका छन् ।(१८)

सिक्किमको निर्माण प्रकाशनले कतिपय विशिष्ट साहित्यकारहरूको सम्पूर्ण कृतिहरू समग्र साहित्य साथै रचनावली प्रकाशनको परम्परा सुरू गरेको छ। योबाहेक यसले अरू पनि धेरै साहित्यिक कृतिहरू प्रकाशमा ल्याएको छ। यसरी सिक्किम नेपाली साहित्यका दीर्घकालीन सेवकहरूलाई मानसम्मान अनि विशिष्ट कृतिहरूलाई पुरस्कार दिनपछि परेको छैन । भानु जयन्ती साहित्यिक कार्यक्रम यहाँ चाडको रूपमा मनाइने गरेको छ। सिक्किमका संस्था संगठन विषयमा एउटा खोजमूलक पुस्तक प्रकाशित छ ।(२२) सिक्किम नेपाली भाषा र साहित्यका अरू पनि विभिन्न कार्यक्रमहरूमा सधैँ सक्रिय छ। भारतीय (४)

उपसंहारः

भारतमा नेपाली भाषा र साहित्यको उत्तरीय भाग मणिपुर हुँदै म्यान्मारको सीमालाई छुन पुग्छ । भारतको मणिपुरका विभिन्न ठाउँहरूबाट पत्रपत्रिकाहरू र कृतिहरू प्रकाशन सँगै अन्य साहित्यिक कार्यक्रमहरूमा गतिशील छ । त्यहाँबाट पनि धेरै दिनदेखि मासिक पत्रिका ’नेती’निस्कदैछ। अहिले युवाहरूले सिरोई सिर्जना निकाल्दैछन्। त्यहाँ नेपाली साहित्य परिषद पनि भाषा साहित्यमा सक्रिय छ। यी सबैले साहित्यको इतिहासमा स्थान पाउनु पर्छ।

भारतेली साहित्यको इतिहास लेखनकाआधारहरू यति नै यो सम्पूर्ण होइनन्।यो एउटा गहन बिषय हुनाले यसमा धेरै कुरा छुट्न गएका होलान्। आशा छ, इतिहासकार र शोधार्थीहरूले छुटेका विषयहरूलाई खोजी निकाल्ने छन्।

नेपालबाट पाँच खण्डमा प्रकाशित हुने जगदम्बा नेपाली साहित्यको वृहत् इतिहासको दुई खण्ड निस्किसकेको छ। यसपाला तेस्रो खण्ड नेपालबाहिरको नेपाली साहित्य हुनेछ भन्ने थाह लागेको छ । यसमा पनि दार्जीलिङलाई केन्द्रित गरेर लेखिने भएकोले हामी ज्यादै हर्षित छौं ।

आज भारतका विभिन्न महाविद्यालय र विश्वविद्यालयहरूमा नेपाली भाषा र साहित्यमाथि पढाइ भइरहेको छ। कतिपय विश्वविद्यालयहरूमा नेपाली भाषा र साहित्यमा शोध कार्य पनि चलिरहेको छ। यस्तोमा हामीलाई नेपाली साहित्यको वृहत् इतिहासको अत्यन्त खाँचो छ। यसमा जगदम्बा प्रकाशन नै अघि आएकोले यो कृति अझ प्रमाणिक र उपयोगी होला भन्ने कुरामा हामी आशान्वित छौं। जगदम्बा प्रकाशन, मदन पुरस्कार पुस्तकालयसँगै संलग्न हुनाले यसलाई कुनै सामग्रीको अभाव हुँदैन होला भन्ने लागेको छ। यसका विद्वान सम्पादक माधवप्रसाद पोखरेल साथै कार्यकारी सम्पादकद्वय दयाराम सम्भव र चुडामणि बन्धु साहित्यमा विभिन्न विषयका ज्ञाता हुनुहुन्छ। यसैले यो ग्रन्थ भारतेली नेपाली साहित्यको इतिहासमा एउटा मानक ग्रन्थ हुनेछ भन्ने आशा राखेका छौं ।

समाप्त

……………………………

१. नरबहादुर दाहाल (ले.) ’भारतेली नेपाली साहित्यको बिश्लेषणात्मक इतिहास’स् विमर्ष र परामर्श( हिमालय दर्पण बर्ष १६ अंक २२१,फरवरी २१र२०१०

२.जी.बी.बल( (ले.)तीता मीठा अनुभव र संस्मरणहरूस्खरसाङको( ज्योति प्रकाशन,भानु टोल,खरसाङ।सन् २०१०.

३.हीरा छेत्री( (ले.)भारतेली नेपाली पत्र पत्रिकाको शताब्दी(१८८७(१९८६) ( (दोस्रो संस्करण) चरित्र प्रकाशन, कालेबुङ सन् २०११

४. डा. कुमार प्रधान((ले. )ज्ञानदिलदास र हाम्रो समाज,हाम्रो समाज((सं.)राजनारायण प्रधान बर्ष १ अंक ३ डा.कुमार प्रधान, ( परिवर्तित शीर्षक) बिद्रोही सन्त कवि ज्ञानदिल’ ( सुनचरी, बर्ष १ अंक ८, २२ जुलाई१९९३ मा पुनस् प्रकाशित।

५. इन्द्र सुन्दास((ले.)साहित्य पथमा( (अञ्जना देवी) ,श्याम प्रकाशन दार्जीलिङ सन् १९७६.

६ .डा.कवीर बस्नेत((ले.)अञ्जना देवी अनि मीराबाईको भक्तिकाव्यको तुलनात्मक अध्ययन( अनुसन्धान, (सं ).डा. कविता लामा, बर्ष १ अंक १ सिक्किम विश्वबिद्यालय, गान्तोक(सिक्किम)

७. कालुसिंह रनपहेंली ( (ले.)’युग्मक’हिमाली प्रकाशन, देन्ताम(पश्चिम सिक्किम) सन् १९९८.

८. पासाङ नर्बु लामा((ले.)समयको पक्षधर,(यूग्मक संग्रह)( प्रकाशक(लाक्पा छिरिङ यल्मो, आरिथाङ, गान्तोक(सिक्किम)(सन् २०१३

९. हस्तक्षेप( (सं.) राजा पुनियानी र अन्य पाँच जना, वर्ष १ अंक १ ,सन् २००९ कालेबुङ (दार्जीलिङ)

१०. समावेशी प्रस्तावक(( सं.)वासुदेव पुलामी र अन्य सात जना कालीपद महाविद्यालय बागडोगरा(दार्जीलिङ)

११.सिर्जनावृत्त( ’स्याही’ (सिर्जनावृत्तको मुखपत्र) (प्र.सं.) सूरज रसूरि,निर्देशक(लक्ष्मण दाहाल, समन्वयक सम्पादक ( राजा पुनियानी, सम्बोधन पब्लिकेशन,सालुगढा (सिलिगढी)

१२. जय क्याकटस((ले.) विचलन (विचलन वोधन) वर्ष ४ अंक ८, जुन २०१०.

१३. ऐजन्

१४. किनारा विमर्श( (सं.)मनप्रसाद सुब्बा र रेमिका थापा( लेख तथा रचना संकलन) गामा प्रकाशन दार्जीलिङ।

१५.सुकुम शर्मा((ले.) नेपाली भाषा साहित्यमा आन्दोलन, पृ.१२०, (’संक्रमण’ वर्ष १ ,अंक १ को सन्दर्भबाट , फरवरी सन् १९९३ )

१६. ऐजन्

१७.ऐजन्

१८. ’दियालो’(वाङमय विशेषांक) (प्र.स.) रामलाल अधिकारी(प्र. नेपाली साहित्य समेलन, दार्जीलिङ

१९.हाम्रा संस्था एक परिचय( (धेरै लेखकहरू) (प्र.) नेपाली साहित्य प्रचार समिति, सिलगढी,

२०.इन्द्रबहादुर राई(ले.) पछिल्ला चुनिएका लेखहरू( नेपाली लेखनमा ड.ढ.) पृ.२०९ प्र.मायादेवी राई परिवार,लोचनगर, दार्जीलिङ

२१. महानन्द पौड्याल(( सं.) ’सिक्किमका प्रथम कवि सन्तवीर लिम्बू’( आकासदीप प्रकाशन,नोभगाउकक,पाकिम,पूर्व सिक्किम।सन् २००१

२२.उदय क्षेत्री (ले.)( नेपाली साहित्यको विकासमा सिक्किमका संघ संस्थाहरूको योगदान( प्र. सिक्किम साहित्य परिषद्, जीवन थिङ मार्ग,विकाश क्षेत्र, गान्तोक ( पूर्व सिक्किम) जुलाई १९९९.