हरेक वर्ष १८ डिसेम्बरका दिन विश्वभर अन्तर्राष्ट्रिय अरबी भाषा दिवस मनाइन्छ । युनेस्कोको कार्यकारी परिषद्को १९औं अधिवेशनमा मोरक्को अधिराज्य र साउदी अरबले प्रस्ताव पेस गरेपछि यो दिवस मनाउने निर्णय गरिएको हो ।

डिसेम्बर १९७३ मा १८ औं अधिवेशनको समयमा जारी गरिएको महासभाको प्रस्ताव नं. ३१९० ले अरबी भाषालाई संगठनद्वारा मान्यता प्राप्त आधिकारिक भाषाहरूको साथै महासभा र यसका सहायक संस्थाहरूको आधिकारिक भाषा बनाउन सिफारिस गरेको थियो । संयुक्त राष्ट्रसंघका ५ आधिकारिक भाषाहरुमा रसियन, चिनियाँ, स्पेनिस, अङ्ग्रेजी, फ्रेन्च र अरेबिक छन् ।

अक्टोबर २०१२ मा युनेस्कोले पहिलो पटक अरबी भाषाको अन्तर्राष्ट्रिय दिवस मनाएको थियो ।

अक्टोबर २३, २०१३ मा, युनेस्कोको इन्टरनेसनल प्लान फर द डेभपलमेन्ट अफ अरब कल्चर (अरब संस्कृतिको विकासको लागि अन्तर्राष्ट्रिय योजना)को सल्लाहकार निकायले आफ्नो वार्षिक कार्ययोजनामा अरबी भाषाको अन्तर्राष्ट्रिय दिवसलाई आधारभूत तत्वको रूपमा स्वीकार गर्ने निर्णय गर्यो ।

अरबी भाषाको अन्तर्राष्ट्रिय दिवस अपनाउने प्रयासहरू १९५० को दशकमा सुरु भएको थियो । १९६० देखि युनेस्कोले अरबी भाषा बोल्ने देशहरूमा आयोजित क्षेत्रीय सम्मेलनहरूमा अरबी भाषा प्रयोग गर्ने र आवश्यक कागजातहरू र प्रकाशनहरू अरबीमा अनुवाद गर्ने निर्णय गरेको छ ।

१९६६ मा, युनेस्कोमा अरबी भाषाको प्रयोगलाई प्रवद्र्धन गर्न एक प्रस्ताव पारित गरियो ।

निर्विवाद सौन्दर्य र शक्तिको भाषा अरबीले कविता र कलामा यसको योगदानको लागि मान्यता पाएको छ । यस संस्करणको विषयवस्तु “अरबी – कविता र कलाको भाषा” हुनेछ ।

अरबी भाषा मानवताको सांस्कृतिक विविधताको एउटा स्तम्भ हो । संसारमा बढी बोलिने मध्येमा पर्ने यो भाषा दैनिक ४० करोडभन्दा बढी मानिसले बोल्छन् । सन् २०१२ देखि हरेक वर्ष १८ डिसेम्बरमा विश्व अरबी भाषा दिवस मनाइँदै आएको छ । सन् १९७३ मा यही दिन संयुक्त राष्ट्र संघको महासभाले अरबी भाषालाई संगठनको छैटौं आधिकारिक भाषाको रूपमा स्वीकार गरेको थियो ।

रूपहरूको विविधताअनुसार शास्त्रीय होस् वा बोलीचाली, मौखिक अभिव्यक्तिदेखि लिएर काव्य लेखनसम्म अरबी भाषाले वास्तुकला, कविता, दर्शन र गीत जस्ता विविध क्षेत्रमा एक आकर्षक सौन्दर्यलाई जन्म दिएको छ । यसले पहिचान र आस्थाको अविश्वसनीय विविधतामा पहुँच दिन्छ र यसको इतिहासले अन्य भाषाहरूसँग यसको सम्बन्धको वैभव प्रकट गर्दछ । अरबीले ज्ञानका साथै ग्रिक तथा रोमन विज्ञान र दर्शनलाई नवयुगको युरोपमा प्रचारप्रसार गर्नमा उत्प्रेरक भूमिका खेलेको छ । यसले भारतीय तटदेखि अफ्रिकाको सिङ (हर्न अफ अफ्रिका) सम्म रेशम मार्गहरूमा संस्कृतिहरूको संवादलाई सक्षम बनाएको छ ।

विश्व अरबी भाषा दिवसमा युनेस्कोले सबैलाई भाषा मात्र नभई एउटा संस्कृति नै मनाउन प्रोत्साहित गरिरहेको छ र अझ व्यापक अर्थमा उसले हामीलाई विविधतापूर्ण दृष्टिकोणहरू कति आवश्यक छ भन्ने कुरामा जोड दिँदै छ – जो हाम्रा लागि अमूल्य सम्पत्ति र दिगो शान्तिको लागि आधारभूत सर्त हुन् ।

अरबी भाषा सिक्नुलाई इनामदायी प्रयासको रूपमा लिइन्छ किनभने संसारका अनुमानित ४० करोड मानिसहरूले बोल्ने यो भाषा शीर्ष ५ सबैभन्दा बढी बोलिने भाषामध्येको एक हो । साथै यो २५ भन्दा बढी मुलुकको आधिकारिक भाषा पनि हो र संसारभर प्रभावशाली भाषाको रुपमा रहिआएको छ ।

जब इस्लाममा अरबी भाषा सिक्ने र मुस्लिमको जीवनमा यसको महत्वको कुरा आउँछ, यो इस्लामिक आस्थाको केन्द्रबिन्दुमा छ । पवित्र कुरआन, पैगम्बर मोहम्मद (वहाँ माथि शान्ति होस्) को  दैनिकी, चालचलन गतिविधि, आदेश (सुन्नह) र इस्लामिक सम्पदा यसैमा लेखिएकोले यसलाई इस्लामको प्रामाणिक भाषाको रूपमा मानिन्छ ।

माथि उल्लिखित लाइनहरूले संसारभरका प्रत्येक मुस्लिमको लागि अरबी भाषा सिक्नु र यसलाई उचित सम्मान दिनु किन उच्च प्राथमिकताको काम बन्नुपर्छ भन्ने कुरा प्रस्ट पार्छन् । यहाँ अरबी भाषा सिक्नुपर्ने अन्य ५ कारण पनि उल्लेख गरिएको छः

अरबी भाषा के हो ? 

अरबी अरबी प्रायःद्विपमा उत्पत्ति भएको सेमिटिक भाषा हो । छैटौं शताब्दीमा यसको उदयसँगै मुस्लिम जगत विस्तार भयो र अरबी भाषा एसिया र अफ्रिकासम्म फैलियो । अरबी भाषाको वितरण सातौं शताब्दीभरि नै इस्लाम विजित क्षेत्रहरुमा भयो, जसले अरबी भाषाको पहुँचलाई मध्यपूर्वी मुलुकबाट उत्तरी अमेरिकासम्म पुर्यायो । अरबी भाषा नयाँ शब्द र प्राविधिक निर्भर शब्दहरु समावेश गर्नुअघि केही समयका लागि निकै समृद्ध भएको थियो ।

अरबीलाई संसारका पुरानामध्येको एक भाषा मानिन्छ । यसमा विद्यमान ज्ञानको सम्पत्ति उजागर गर्ने प्रयास पुरातत्वविद्हरुले अहिले पनि जारी राखेका छन् । अरबी भाषाको महत्वको जरा छैटौं शताब्दीसम्म पुग्छ । मध्यपूर्वसँग कथावाचनको एउटा समृद्ध इतिहास छ जसले अरबी रातहरू, अली बाबा, र अलादिन जस्ता केही उल्लेखनीय कथाहरू उत्पादन गरेको छ । अरबीहरुले अंकगणित, जहाजी विद्या, बेली नृत्य, वास्तुकला र ज्योतिष विज्ञानमा पनि महत्वपूर्ण योगदान गरेका छन् ।

आजको अरबी भाषा

आजका दिनमा अरबी भाषा २५ भन्दा अधिक देशको सरकारी भाषाको रुपमा छ र संसारका २८० मिलियन मानिसले यो भाषा बोल्छन् । संयुक्त राष्ट्रसंघको ६ आधिकारिक भाषामध्ये एक अरबी हो ।

सरकारी भाषा अरबी भएका मुलुकहरु :-

बहराइन

कोमोरोस

चाड

जिबोटी

इजिप्ट (मिश्र)

इरिट्रिया

इराक

इजरायल

जोर्डन

कुवेत

लेबनान

लिबिया

मौरिशस

मोरक्को

ओमान

प्यालेस्टेनियन नेशनल अथोरिटी

कतार

वेस्टर्न सहारा

साउदी अरेबिया

सुडान

सिरिया

ट्युनिसिया

युनाइटेड अरब इमिरेट्स

यमन

 

अरबी भाषा बोल्ने मुलुकमा जाँदा ध्यानमा राख्नुपर्ने महत्वपूर्ण कुराः 

हरेक क्षेत्रको अरबी उपभाषा फरक छ जुन अर्को क्षेत्रमा सहजै नबुझिन सक्छ ।

किनभने अरबी भाषाका दुई रुप छन्– एउटा शास्त्रीय अरबी (फुस्–हा) । पवित्र ग्रन्थ कुरआन यसैमा लेखिएको छ ।

अर्को आधुनिक मानक अरबी (मोडर्न स्ट्यान्डर्ड अरेबिक)

अरबी उपभाषाहरु जसमा फुसहा मिसिएको हुन्छ त्यो  सामान्यतया सबै देश तथा मुलुकमा बुझिन्छ ।

अरबी निकै वर्णनात्मक भाषा छ । केही भाषामा कुनै चिजका लागि एउटै मात्रै शब्द हुन्छ भने अरबीमा धेरै छन् ।

अरबीमा ‘प्रेम’का लागि थुप्रै शब्द छन् भने ‘ऊँट’का लागि सयौं शब्दहरु रहेका छन् ।

अब अरबी भाषा किन महत्वपूर्ण छ भन्नेमा म यहाँ संक्षिप्तमा चर्चा गर्न चाहन्छु ।

 

मुस्लिम समुदाय र अरबी भाषा  

इस्लामिक आस्थामा अरबी भाषाले महत्वपूर्ण भूमिका खेल्दछ त्यो किन भने अरबी भाषा नै पवित्र कुरआनको भाषा हो । आफ्ना अधिकांश आस्थाहरु अरबीबाट अविभाज्य नभएका कारण मुस्लिमहरूले अरबी भाषाको महत्वलाई ज्यादै उच्च सम्मानमा राख्छन् ।

मुस्लिमहरुले अरबीलाई दैवी उपहार ठान्छन् र आफ्नो रितिस्थितिको पवित्र अंग मान्छन् । मुस्लिमहरुले अरबीलाई विश्वका सबै भाषाहरुको जननी, जन्नत (एडेन)को बगैंचामा आदमलाई पढाइएको पहिलो भाषा मान्छन् ।

 

अरबीको व्यापकता

अरबी भाषाको विश्वव्यापी महत्वलाई मध्यपूर्वमा बढ्दो उपस्थितिले प्रकाश पारिएको छ । अरबी भाषा विश्वभरका २८० मिलियनभन्दा बढी मानिसले बोल्छन् र मध्यपूर्वको सबैजसो मुलुकको मुख्य भाषा हो ।

विदेशी बजारहरूमा प्रवेश गर्न खोजिरहेको अन्तर्राष्ट्रिय व्यापार सञ्चालनको सन्दर्भमा अरबी महत्वपूर्ण बनिरहेको छ ।

 

अरबी भाषा सिक्दा तल दिइएका यीं उद्योगहरुमा रोजगारीको सम्भावना बढ्छः 

तेल

ऊर्जा

पर्यटन

वित्त

अनुवाद

सरकारी

ज्यादै मूल्यवान निशाना र व्यक्तिहरुबाट जानकारी हासिल गर्ने प्रयत्न गर्दा अन्तर्राष्ट्रिय स्तरका खुफिया जमघटहरुमा अरबी भाषा निकै महत्वपूर्ण छ । यो स्तरको उच्च मागका कारण उनीहरु यो खास क्षमता भएका व्यक्तिहरुलाई ठूलो रकम तिर्न तयार छन् । केही व्यवसायीहरुले स्थानीय अरबीसँग सम्पर्क गर्न र अङ्ग्रेजी भाषा मात्र प्रयोग गरेर व्याख्या र छलफल गर्दा छुट्न सक्ने कुरा नछुटुन् भनेर विदेश यात्राका क्रममा अरबी बोल्ने व्यक्तिको खोजी गर्दछन् ।

 

किन अरबी भाषा सिक्ने ? 

अरबी भाषा सिक्नुपर्ने १० कारण म यहाँ जिकिर गर्न चाहन्छु ।

अरबी सिक्नुपर्ने आवश्यकताका विषयमा तपाईंका आफ्नै कारण हुन सक्छन् तर तपाईंलाई त्यस्ता कारण थाहा छैनन् भने यो लेखले तपाईंलाई ती कारण जान्न अवश्य मदत गर्नेछ । अर्थात अरबी किन सिक्ने भन्ने प्रश्नको जवाफ यसमा पाउनु हुनेछ ।

अरबी संसारभर धेरै बोलिने पाँचौं ठूलो भाषाको रुपमा रहेको छ।

अरबी २८० मिलियनभन्दा बढी मानिसले बोल्छन् । अरबी बोल्ने धेरै मानिस मध्यपूर्वमा भेटिन्छन् र २५ भन्दा बढी मुलुकको सरकारी भाषा यही नै हो, जहाँ अरबी बोल्नेहरु अल्पमतमा छन् । कतिपय विश्वस्तरीय संस्थाको आधिकारिक भाषा पनि अरबी नै हो । अरबी भाषाको समृद्ध इतिहास छ र यो संसारका पुराना मध्येको एक भाषा हो ।

 

पश्चिमी जगतमा अरबी बोल्नेको उच्च माग 

संसारमा बढी बोलिने भाषामा परे पनि पश्चिमी जगतमा अरबी अनुवादकहरु थोरै मात्र छन् । हाम्रा दैनिक समाचारमा अरबी जगतको महत्व दिनदिनै बढिरहेको छ ।

सरकारी विभाग र एजेन्सीका साथै विश्वव्यापी क्षेत्रमा प्रवेश गर्न खोज्ने निगमहरुले अरबी अनुवादक र दोभाषेहरुको माग उच्च बनाएका छन् । म आफै पनि लामो समयदेखि कतारमा रहँदै आएको छु मैले आफ्नो बचेको समय यही कामको निम्ति खर्चिने गरेको छु । कतारको विभिन्न सरकारी निकायका महत्त्वपूर्ण दस्तावेजहरु मैले अनुवाद गर्ने अवसर प्राप्त गरेको छु । नेपाली समाजको सुरक्षित आप्रवासन  र यसलाई उपलब्धिमुलक बनाउन आधारभूत अरबी भाषा सिक्न सक्ने अरबी भाषाका पुस्तक जस्तै अरबी गुरु, आधुनिक अरबी भाषा प्रशिक्षक र अरबी भाषा जस्ता पुस्तक प्रकाशित गरेको छु भने कतारको श्रम ऐन तथा श्रम कानुन र विभिन्न  निर्देशिकाहरु अरबीबाट नेपाली भाषामा अनुवाद गरेको छु । यसैगरी विभिन्न नेपाली भाषाका र अङ्ग्रेजी भाषाका  सचेतनामूलक जानकारीलाई अरबी भाषामा अनुवाद गरेको छु । जसबाट मैले आर्थिक लाभ पनि लिएको छु भन्दा फरक नपर्ला । यद्यपि कतिपय सामाजिक कार्य भने निशुल्क रुपमा पनि समुदायको हितमा गर्दै आएको छु ।

अरबी सम्पूर्ण मानवजातिको मार्गदर्शनको निम्ति अवतरित गरिएको आकाशिय ग्रन्थ पवित्र पुस्तक कुरआनको भाषा हो । अरबी इस्लामिक आस्थाको भाषा हो । कुरआन अरबी भाषामा लेखिएको छ र आफ्नो आस्थाको रुपमा मुस्लिमहरुले मक्कातिर फर्केर दिनमा पाँचपटक अरबी भाषामै प्रार्थना गर्नुपर्छ । शुक्रबारको साप्ताहिक भेलाको खुत्बा (प्रवचन)अरबी भाषामै दिनु पर्दछ । ईद बक्र ईदका प्रवचन समेत अरबी मै दिनुपर्दछ । चाहे त्यो चीनमा होस् अथवा अफ्रिकी मुलुकमा होस् । चाहे कतारमा होस् वा रशियामा होस् ।

 

इस्लाममा अरबी भाषा सिक्नुको फाइदा पनि वर्णन गरिएको छ । जुन निम्न रहेको छ:-

१. कुरआन र अरबी भाषाबीचको सम्बन्ध 

अरब बाहिरका मुस्लिमहरूले सामना गर्न सक्ने सबैभन्दा ठूलो चुनौती भनेको कुरआन पढ्न सिक्नु, तज्वीद सही रूपमा पढ्नु र अल्लाहको ईश्वरीय आदेश तथा मार्गदर्शनलाई राम्ररी बुझ्नु हो किनकि सबै पवित्र ग्रन्थहरु अरबीमा लेखिएका छन् । कुरआनलाई यसको मौलिक भाषामा पढ्न र कण्ठ गर्न हाम्रो हृदय यसको नजिक पुग्छ र अल्लाहसँग थप अर्थपूर्ण बन्धन निर्माण गर्न मद्दत गर्दछ । त्यसकारण कुरआन बुझ्नका लागि अरबी भाषा सिक्नुको महत्व ठूलो छ ।

२. मुस्लिम समुदाय र यसको  कला धर्म तथा परम्परा र संस्कृतिलाई अझ राम्ररी बुझ्न ।

भाषालाई अन्य राष्ट्रहरूको परम्परा र संस्कृतिहरूको कुञ्जीको रूपमा लिइन्छ किनभने मानिसहरूले आफ्ना भावना व्यक्त गर्ने उपकरणको रुपमा भाषा नै प्रयोग गर्छन् । आधारभूत अरबी वार्तालापले पनि तपाईंको लागि धेरै ढोकाहरू खोल्न सक्छ किनकि अरबी भाषाले तपाईंलाई विभिन्न मुस्लिम समुदायमा बस्ने विभिन्न अरबी मानिससँग कुराकानी गर्ने अवसर प्रदान गर्दछ । यसका अतिरिक्त महान साथी उमर इब्न अल–खत्ताबले एकपटक इस्लामिक उम्मह (समूह) लाई सल्लाह दिएर भन्नुभएको थियोः ‘अरबी सिक्नुहोस् किनभने यो तपाईंको धर्मको हिस्सा हो ।’

३. पैगम्बर मोहम्मदका सुन्नह (तवरतरीका) बुझ्न 

अरबी भाषाले सधैं उच्च मान्यता पाएको छ किनकि सम्पूर्ण इस्लामिक सम्पदा यसमै लेखिएको छ । तसर्थ अरबी सिक्नु थुप्रै स्तरमा उच्च इनामदायी छ । यसले हामीलाई पैगम्बर मोहम्मद र उहाँका सुन्नहका शब्दहरुलाई दोभाषेको सहयोगबिनै निकट निरीक्षणका साथ बुझ्न मदत गर्छ । र यसले तपाईंलाई इस्लामिक आस्था र शिष्टाचारहरुमा अन्तर्दृष्टि प्राप्त गर्ने मौका पनि प्रदान गर्दछ । सौभाग्य नै मान्नुपर्छ यति महत्वपूर्ण भाषा अरबी सिकाउने थुप्रै पुस्तकहरु उपलब्ध छन् ।

४‍. अरबी सिकाइबारेको हदिस  

वास्तवमा पैगम्बरले हरेक मुस्लिमलाई अरबी सिक्न सल्लाह दिनुभएको छ । उमर इब्न अल–खत्ताबले बताउनुभएको एक हदिसअनुसार, उहाँले भन्नुभएको छः

“अरबी सिक्नुहोस् किनभने यसले दिमागलाई बलियो बनाउँछ र शौर्यता बढाउँछ” (अल–बैहाकी, शुअब एल–इमान (आस्थाका शाखाहरू)

५. अरबी साहित्य अनौठो रुपमा अचम्मको छ 

अरबी साहित्य अद्वितीय रूपमा शानदार छ र यसले अन्य सबै भाषाको साहित्यमा उल्लेखनीय स्थान हासिल गरेको तथ्य चर्चाबाहिर छ । अरबी सबैभन्दा बढी जानकारीमूलक छ र थोरै शब्दले पनि धेरै अर्थ व्यक्त गर्न सक्छ । तसर्थ यसले सिधै तपाईंको आत्मासँग बोल्छ । अरबी कविताहरु निकै अचम्मका छन् र ती अहिले पनि जीवन्त छन् भन्ने कुरा उल्लेख गरिरहन आवश्यक छैन ।

६. सलाहमा (खुशुअ) सावधानी र एकाग्रता हासिल गर्न 

यस लोक र परलोकको जीवनको सफलताको साँचो प्रार्थना हो । सौभाग्यवस केही चरणहरू छन् जसबाट तपाईंले खुशुअ बढाउन सक्नुहुन्छ र सलाह गर्दा तपाईंको हृदयको उपस्थिति प्राप्त गर्न सक्नुहुन्छ । सबैभन्दा फलदायी सल्लाहमध्ये एक अरबी भाषाको आद्योपान्त शिक्षण हो किनभने तपाईंले सलाहको समयमा वाचन गरिएका सुराहरू र श्लोक (आयात) हरू बुझ्नुभयो भने एकाग्रता सजिलै प्राप्त गर्न सकिन्छ । यसबाहेक तपाईंको प्रार्थनामा नितान्त फरक अनुभूति हुनेछ र एकाग्रताको कमी हुनेछैन ।

नेपालमा पनि केही यस्ता शैक्षिक केन्द्र छन् जसले अरबी सिकाइको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । यसले सबै मुस्लिमलाई अरबी भाषा प्रत्यक्ष र अनलाइनको माध्यमबाट राम्रोसँग सिक्न र यसको गहिराइमा जान मद्दत गर्ने लक्ष्य राखेको छ । यिनीहरुले आवश्यकता अनुसार समय समयमा उत्तम अनलाइन अरबी कक्षाको अद्वितीय भेराइटी प्रदान गरेको पाइन्छ । जुन सबै उमेर र तहलाई समेट्ने गरी डिजाइन गरिएको छ । जस्तै चितवनको भरतपुर शरणपुर स्थित अल इमान युनिभर्सिटी, सुनसरीको दारुल ओलुम नुरुल इस्लाम आदि ।

कतार र अन्य खाडी तथा अरबी मुलुकमा रहेका हामी नेपालीले अरबी किन अध्ययन गर्ने ? यस प्रश्नको मैले यसरी उत्तर दिने गरेको छु । जस्तै:-

थप र आकर्षक रोजगारीका अवसरको लागि ।

अरबी भाषा र संस्कृतिको ज्ञानले तपाईंका भविष्यमा थप अवसरहरु ल्याउन सक्छ । राजनीति शास्त्र, फौजदारी न्याय, व्यापार, शिक्षा, पत्रकारिता, कानुन, भाषाविज्ञान, सामाजिक कार्य, धार्मिक अध्ययन, अफ्रिकन अध्ययन, तुलनात्मक साहित्य र अरु थुप्रै विषय अध्ययन गर्नेका लागि यो विशेष गरी लाभदायी छ ।

अरबी अध्ययन गरेका व्यक्तिले पत्रकारिता, व्यवसाय, शिक्षा, बैंक वित्त, अनुवाद तथा दोभाषे, परामर्श, परराष्ट्र सुरक्षा, रक्षा सेवा तथा गुप्तचरीलगायत अन्य थुप्रै क्षेत्रमा रोजगारी पाउन सक्छन् । यदि कसैले एफबीआईमा काम गर्ने निर्णय गर्छ भने अरबी भाषाले थप लाभ दिनेछ किनभने त्यहाँका एक प्रतिशत मात्रैले अरबी जानेका छन् ।

 

अन्तर्राष्ट्रिय संस्थामा जागिर पाउने सम्भावना 

संयुक्त राष्ट्र संघ, विश्व बैंक, युएसएड र थुप्रै अन्तर्राष्ट्रिय संस्था र गैरसरकारी संस्थालाई अरबी भाषा र अरबी संस्कृति जानेको मान्छे चाहिएको हुन्छ ।

व्यावसायिक अवसर 

व्यापारको कुरा गर्दा अरबी बोल्ने देशहरु तीव्र गतिमा प्रगति गरिरहेका बजार हुन् र यसकै कारण अरब जगतलाई विश्वव्यापी अर्थतन्त्रमा एकीकृत गराउने प्रयासहरुले थुप्रै व्यापारिक अवसरको ढोका खोलिरहेका छन् । तीव्र गतिमा बढिरहेको जनसङ्ख्याका कारण अरब जगतले वस्तु र सेवाका लागि विशाल निर्यात बजार प्रदान गर्छ ।

छात्रवृत्ति र अनुदान  

अमेरिकारले अरबीलाई रणनीतिक महत्वको भाषा मान्दै आएको हुनाले अरबी सिक्नेलाई वित्तीय अनुदान तपाईंले सोचेभन्दा निकै ठूलो हुनेछ । अरबी र अन्य भाषा सिक्नु महत्वपूर्ण हुने ठानिएकोले नेसनल स्ट्राटेजिक ल्याङ्वेज इनिसिएटिभले थुप्रै छात्रवृत्ति र सिक्ने अवसरहरुको प्रवद्र्धन गरेको छ । यी अवसरहरुले तपाईंको खर्च समेट्छन् र तपाईंको प्रारम्भिकदेखि उन्नत तहसम्मको कोर्सका साथै वैदेशिक अध्ययन कार्यक्रम, सघन अध्ययन अवसर, शिक्षक आदानप्रदान र पेसागत विकासका लागि सहयोग प्राप्त हुन सक्छ । तीमध्ये केही छात्रवृत्ति र अनुदान यसप्रकार छन्ः

कतार युनिभर्सिटी

क्रिटिकल ल्याङ्वेज स्कलरसिप

अरेबिक ओभरसिज फ्ल्याकसिप प्रोग्राम्स

बोरेन अवार्डस्

बेन्जामिन ए गिलम्यान इन्टरनेसनल स्कलरसिप

इन्टर कल्चरल अन्डरस्ट्यान्डिङ

अरबी भाषाको जानकारीले तपाईंलाई आर्थिक रुपमा मात्रै मदत गर्दैन बरु यसले तपाईंलाई अन्तर सांस्कृतिक ज्ञान हासिल गर्न पनि मदत गर्छ । पश्चिमी जगतका थुप्रै मानिसले बेली नृत्य, १००१ रातहरु पढेका होलान् र हम्मुस र फलाफिल जस्ता मध्यपूर्वका परिकार खाएका हुन सक्छन् तर यतिले मात्र तपाईंले अरबी जीवनशैलीका बारेमा बुझ्नुपर्ने सबै कुरा नभन्न सक्छ । अरब जगतको अन्वेषण गर्दा तपाईंले सम्मान, मर्यादा र आतिथ्य सहितको फरक संस्कृति र यसका मानिसहरूका लागि महत्वपूर्ण मानकहरू बुझ्न सिक्नुहुन्छ । यसले तपाईंलाई अरब–अमेरिकनबारे अझै राम्रोसँग बुझ्न मदत गर्न सक्छ । अमेरिकामा ३५ लाख जति अरब–अमेरिकन छन् ।

सांस्कृतिक सचेतना 

अरबी १.५ अर्ब अनुयायी रहेको इस्लामको प्रमुख भाषा हो । यो सबै मुस्लिमले पढ्ने धर्म ग्रन्थ हो । मुस्लिमका लागि प्रार्थना र अन्य इबादतका लागि पनि अरबी आवश्यक पर्छ ।

अन्य संस्कृतिहरूको सांस्कृतिक, राजनीतिक र धार्मिक मूल्याहरुमा अन्तर्दृष्टि प्राप्त गर्न

पछिल्ला राजनीतिक घटनाहरुका कारण अरबी संस्कृतिलाई मिडिया, हलिउड र अन्य स्रोतहरूले एक–आयामी नकारात्मक संस्कृतिको रूपमा प्रस्तुत गरेका छन्, जसले अविश्वास र गलत सूचना, सहयोग, वार्तालाप र सम्झौता गर्न असक्षमता र सम्भवतः सैन्य टकरावको अवस्थातर्फ लैजान सक्छ ।

अरबी भाषाको ज्ञानले तपाईंलाई ती संस्कृतिका मानिसको सांस्कृतिक, राजनीतिक र धार्मिक मूल्यको अन्तर्दृष्टि हासिल गर्न मदत गर्न सक्छ । तपाईंले प्राप्त गर्नुभएको ज्ञानले तपाईं राष्ट्रहरूबीचको सांस्कृतिक र भाषिक खाडललाई कम गर्न पनि सक्षम हुनुहुनेछ, साथै अन्तर–सांस्कृतिक द्वन्द्व समाधान गर्न र अन्तर्राष्ट्रिय स्तरमा व्यवसायहरूलाई मदत गर्न सक्नुहुन्छ । अरबी भाषाको आधारभूत ज्ञानले तपाईं अरबी संस्कृतिको अझ सही र सकारात्मक धारणालाई अझै राम्रोसँग प्रवद्र्धन गर्न सक्नुहुन्छ ।

विश्व सभ्यतामा अरबहरु र अरबी भाषाको प्रभाव अन्वेषण गर्न

अरबी भाषाको सौन्दर्य के हो भने यो अरब जगतमा मात्रै सीमित छैन । हामीले हाम्रो दैनिक जीवनमै यो भाषाको प्रभाव देख्न सक्छौं । उदाहरणको लागि बिजगणित हो, जुन व्यक्तिको जीवनमा एकपटक अवश्य जोडिन्छ । यसको आविष्कार मध्यकालमा अरबी गणितज्ञहरुले नै गरेका थिए । यसबाहेक कफी, कपास, कागती र जस्मिनको उत्पत्ति अरब जगतमै भएको थियो । तपाईंले यसको प्रभाव हाम्रो शब्दकोशमा पनि देख्न सक्नुहुन्छ । हेना, माक्रामे, लुटे, म्याट्रेस, गेर्बिल, सोर्बेट, सफारी र मुस्लिम जस्ता शब्दहरु अरबीबाटै आएका हुन् । यसबाहेक पर्सियन, टर्किस, कुर्दिश, स्पेनिस, स्वाहिली, उर्दु, टिग्रिन्या र अन्य भाषा पनि अरबीबाट प्रभावित छन् ।

० ० ० ०

तपाईंले जान्नुपर्ने अरबी संस्कृतिका मूल्य 

विभिन्न देशमा रहेको अरब एकेडेमीले तपाईंलाई अरबी सिक्न मदत गर्ने पाठहरु दिन्छ । हाल त्यस्तो सेवा सबैले अनलाइनबाट लिन सक्छन् । अरब मुलुकको भ्रमण गर्दै हुनुहुन्छ भने यो भाषा सिक्दै गर्दा तपाईंले अरबी संस्कृतिमा जान्नुपर्ने निर्दिष्ट मूल्य रहेको थाहा पाउनुहुन्छ ।

अतिथि सत्कारः 

अरबी संस्कृति अतिथि सत्कारको लागि प्रख्यात छ । अरबीहरु सँगै रहन मन पराउँछन् र आफ्नो घरमा पाहुनालाई स्वागत गर्छन् । यस्ता भ्रमणका बेला तपाईंले जान्नुपर्ने अरबी अतिथि सत्कार र शिष्टाचारसम्बन्धी निश्चित कुराहरु छन् :

– आफ्नो बोलीको स्वरलाई उपयुक्त तहमा राख्नुहोस् । ठूलो स्वरले हाँस्नु र बोल्नु असभ्य मानिन सक्छ ।

– अगाडि खुट्टा पसारेर नबस्नुस् ।

– पर्खालहरुमा अडेस नलाग्नुस् ।

– कुर्सीमा बस्दा काँध झुकाएर नबस्नुस् ।

– कुरा गर्दा दोहोरो अर्थ लगाउन सकिन्छ भन्ने कुरा पनि ख्याल गर्नुहोस् ।

– जुत्ता आफूले प्रवेश गर्ने घरको ढोकामा छाड्नुहोस् ।

धर्म 

इस्लाम धर्मले अरबी संस्कृतिमा केन्द्रीय भूमिका खेल्छ र उनीहरुको जीवनमा यसले निकै प्रभावशाली भूमिका खेल्छ । ईश्वरप्रति भक्तिको अरबी मूल्यहरू, इस्लामिक सिद्धान्तहरूको पालना र धार्मिक अनुष्ठानहरूको सम्मान अधिकांश अरबी संस्कृतिमा महत्वपूर्ण पक्षहरू हुन् ।

तपाईंले अरबी संस्कृतिको कक्षामार्फत इस्लाम र विशिष्ट वाक्यांशको अर्थबारे थप जान्न सक्नुहुन्छ ।

सम्मान 

तपाईंले जान्नुपर्ने अर्को अरबी मूल्य हरेक समुदायभित्रको सम्मानको महत्व हो । बृद्धबृद्धा, प्राधिकार व्यक्तित्व र पाहुनाको सम्मान अरबी संस्कृतिमा उच्च मूल्यका विषय हुन् । सामाजिक अन्तरक्रियाका बेला उनीहरुले व्यक्तिगत इमानदारी, मर्यादा र प्रतिष्ठा कायम राख्छन् ।

परिवार

अरबी संस्कृतिले परिवार र बालबालिकालाई महत्व दिन्छ । अरबहरु तिनका परिवार र आवश्यकताप्रति बफादार हुन्छन् र उनीहरुले धेरै मामिलामा ती कुरालाई साथीहरुमा छनोट गर्छन् । पारिवारमा महिला र पुरुषको काँँधमा निर्दिष्ट भूमिकाहरु छन् । तपाईंले परिवारका सदस्य र तिनीहरुका विस्तारित परिवारमा सशक्त बन्धनको अपेक्षा गर्न सक्नुहुन्छ ।

परम्परा  

अरबी संस्कृतिले परम्परासँग बलियो सम्बन्ध राख्छ । यहाँ केही दैनिक परम्पराहरू–अनुष्ठानहरू छन् जुन तपाईंले संस्कृतिभित्र अपेक्षा गर्न सक्नुहुन्छः

साथीको गुन उस्तै प्रकारले तिरिन्छ ।

“हो” को अर्थ “हुन सक्छ” पनि लाग्छ ।

खाँदा अथवा पिउँदा दाहिने हात प्रयोग  गर्नुहोस्, देब्रे होइन ।

बोल्दा औंलाले इशारा नगर्नुहोस् किनकि यसलाई चुनौती दिएको मानिन्छ ।

उपयुक्त पोसाक लगाउनुहोस् । महिलाले छोटो बाहुला भएको अथवा बाहुला नभएको कपडा नलगाउनुहोस् । पुरुषले पनि कट्टु तथा घुँडा देखिने वस्त्र नलगाउनुहोस् ।

अरुसँग कुराकानी गर्दा पनि खास हाउभाउबारे सतर्क रहनुपर्छ । उदाहरणको लागि अङ्कमाल निकट साथीहरुबीच मात्र हुन्छ, महिलासँग लामो समय आँखा जुधाउनुलाई अत्यन्तै अशोभनीय र असभ्य मानिन्छ । भेट हुँदा र छुट्टिँदा हात मिलाउनु सामान्य हो ।

० ० ० ०

अरबी भाषा कति पुरानो छ ?  

भाषाहरुको क्रमिक विकास हुन लामो समय लाग्ने हुँदा कुनै पनि भाषाको उत्पत्ति कहिले भयो भनेर ठ्याक्कै मिति भन्न त सम्भव छैन । सबैभन्दा प्राचीन स्वरुपमा अरबी भाषा प्रोटो–अरबीबाट विकास भएको हो, जुन भाषा अरेबियन प्रायःद्वीपका फिरन्ता समूहले साझा सम्बत अघिको दोस्रो शताब्दीतिर बोल्ने गर्थे । वास्तवमा “अरब” शब्द “फिरन्ता” अर्थ दिने शब्दबाट आएको हो । लामो समयसम्म अरबीभाषा लेख्नेभन्दा बोल्ने गरिएकोले गर्दा यसको प्रारम्भिक इतिहास निर्धारण गर्न कठिन छ । एउटा महत्वपूर्ण प्रमाणले अरबी भाषाको उद्विकासलाई नबातीन लिपिसँग जोड्छ, जुन साझा सम्बतको पाँचौं शताब्दीतिर लिखित अरबीमा विकसित भयो ।

अरबी भाषाको इतिहास

अरबी भाषा लगभग २५०० वर्षको भएको छ । इतिहासकारहरु अरबी भाषा अरेबियन प्रायःद्विपबाट आएको विश्वास गर्छन् । पुरानो अरबी बोलीको थालनी थियो । साफाइटिक बोली पुरानो अरबीको सबैभन्दा प्राम्भिक बोली थियो, जसको प्रयोग सायरो–अरबियन मरुभूमिका फिरन्ता आदीवासीले प्रयोग गर्थे ।

अरबी भाषाको इतिहास प्रोटो–अरबीसम्म पुगे पनि अरबी लिखित भाषा विकसित भएपछि मात्रै यसको विकास सुरु भएको मानिन्छ । यो इस्लामको उत्पत्तिसँग नजिकैबाट जोडिएको छ किनभने कुरआन अरबी भाषामा लेखिएको सबैभन्दा पहिलो र ज्यादै महत्वपूर्ण ग्रन्थ हो । अहिले शास्त्रीय अरबी भनेर चिनिने कुरआनमा प्रयोग भएको अरबी भाषा आज बोलिने अरबी भाषाभन्दा केही भिन्न छ ।

यसो हुनुको कारण हिज्जे र बिराम चिह्नहरुको मानक निर्धारण हुनुअघि लेखिएकोले हो । सामान्यतया, शास्त्रीय अरबी मुस्लिमहरूमाझ व्यापक रूपमा बुझिन्छ, किनकि कुरान बाल्यकालदेखि नै अधिकांश मुस्लिम मानिसहरूको जीवनको अंगको रुपमा रहेको हुन्छ । अरबीभाषाले पहिलोपटक विकसित भएदेखि नै विभिन्न भाषिका-बोलीहरूमा महत्वपूर्ण विविधता ल्याएको छ । यो संसारको धेरै भागमा व्यापारको लागि महत्वपूर्ण भाषा पनि भएको छ, प्रायः अङ्ग्रेजी जस्तै व्यापार भाषा वा सार्वजनिक भाषाको रूपमा प्रयोग गरिन्छ ।

निश्चय पनि अन्य थुप्रै भाषा जस्तै अरबी पनि सैन्य अभियानको सफलतासँगै ऐतिहासिक रुपमा फैलियो । पहिलोपटक अरेबियन प्रायःद्विपको उत्तरपश्चिमी भागमा उत्पत्ति भएको अरबी भाषा सेमिटिक भाषा परिवारको एक सदस्य हो । सेमिटिक भाषा परिवारमा हिब्रु र अरामाइक पनि समावेश छ । अरबीका धेरै प्रारम्भिक अभिव्यक्तिहरुको जरो इशापूर्व ८औं शताब्दीसम्म पुगे पनि यो भाषा लामो समय लगाएर परिष्कृत भएको छ । अरबी भाषाका विषयमा अब्दुल असद अल दुवली (३९७ एएच)को एउटा भनाइः “उनी अरबी भाषाको (विज्ञान) स्थापना गर्ने, यसका विधिहरु बनाउने र नियम स्थपित गर्ने पहिलो व्यक्ति थिए ।”

अरबी भाषाहरुको वर्गीकरण

अरबी विविध उपभाषा भएको भाषा हो । यीमध्ये केही उपभाषाहरु एकआपसमा बुझिँदैन जबकी अन्य निकै समान छन् । एउटा समयावधिका लागि एक्लिएका अरबी भाषा बोलिने क्षेत्रहरुमा अद्वितीय उपभाषा विकास हुने सम्भावना हुन्छ, जबकि बढी सम्पर्क भइरहने क्षेत्रहरुबीचको उपभाषाहरु एकआपसमा बुझिने र समान किसिमका हुन्छन् । आज संसारभर बोलिने अरबी भाषाका प्रमुख उपभाषाहरु यसप्रकार छन् ः

अरबी एउटा सेमिटिक भाषा हो र यो प्रोटो–अरेबिक कालबाट विकसित भएको हो । सुरुमा यो भाषा फिरन्ता समूहले बोल्थे । इस्लामको विस्तारले यसलाई संसारका थुप्रै भागमा लोकप्रिय बनायो ।

अरबी भाषाको इतिहास र विविधता

समयको परीक्षा पास गरेको अरबी भाषा संसारको सबैभन्दा पुरानो र सबैभन्दा अद्वितीय भाषाहरू मध्ये एकको रुपमा छ ।

मानव जातिको अध्ययन गर्ने विज्ञान अनुसार करिब ६०० मिलियन मानिसले यो भाषा बोल्छन् । अधिकांश स्थानीय अङ्ग्रेजी भाषा बोल्नेहरुले यसलाई विदेशी बर्णमाला र अपरिचित लवजको भाषा ठान्छन् । तर बिएसयूमा अरबी सिक्नेहरुले यसलाई एक सुन्दर, प्रवाहित भाषाको रूपमा चिन्छन् जसले विगतको झल्को दिन्छ ।

“यो सिक्नको लागि एक अद्भूत भाषा हो । बोल्दा र लेख्दा यो सुन्दर छ र म मेरा पाठक र शुभचिन्तकलाई वचन दिन्छु कि तपाईंले बुझ्न थालेपछि चरम उपलब्धिको अनुभूति गर्नुहुनेछ,” इतिहास र मानवशास्त्रका एकजना विद्यार्थी अश्ले हिस्लोपले भने, “अरब जगतसँग एउटा जीवन्त इतिहास छ र अहिले विश्व जगतको एउटा खेलाडी बनिरहेको छ । अरबी भाषा सिकाइले तपाईंलाई यो रोमाञ्चक संस्कृति अझ राम्रोसँग बुझ्न मदत गर्नेछ ।”

अधिकांश अरब क्षेत्रको आफ्नै उपभाषा छ । हरेक उपभाष अर्कोसँग व्यापक रुपमा केहि फरक छन् । यद्यपि एक क्षेत्रमा बोलिने भाषा अर्को क्षेत्रका अरबले सजिलै बुझ्दछन। । तर बोइसे स्टेटलगायत अधिकांश उच्च शिक्षा अध्ययन गर्ने विद्यालयहरुले मानकीकृत अरबी भाषामा पढाउँछन्, जुन अरबी भाषाको आधिकारिक रुप हो । अरेबिक क्लबका अध्यक्ष टोनी लाराका अनुसार अरबी मधयपूर्वमा मात्रै बोलिँदैन ।

“मलाई लाग्छ अरबी अद्वितीय छ । यो संसारको एक निश्चित भागमा मात्र सीमित छैन । धर्मसँग जोडिएकाले यसले अन्तर्राष्ट्रिय सिमानाहरू पार गर्दछ,” लाराले भने ।

हिस्लोप अरबी भाषाको विविधताको मजा लिन्छन् ।

“व्यक्तिगत रुपमा म अरबी भाषा, संस्कृति, इतिहास र कला मन पराउँछु । मेरा लागि अरबी सिक्नु व्यवहारिक छ,’ हिस्लोपले भने, “म मध्यपूर्व र उत्तरी अफ्रिकामा काम गर्न चाहन्छु त्यसकारण अरबी जान्नु आवश्यक छ । दैनिक विद्यार्थीको लागि अरबी सिक्नु रमाइलो र ती कष्टप्रद भाषाको आवश्यकता उत्कृष्ट तरिका हुन सक्छ ।”

हिस्लोपलाई लिखित अरबी भाषा सुन्दर लाग्छ । लिपिमा सुन्दरताका बाबजुद अरबी भाषा अङ्ग्रेजी बोल्नेका लागि सिक्न निकै गाह्रो भाषाको रुपमा छ । अमेरिकी स्टेट डिपार्टमेन्टले सिक्न कठिनाइका हिसाबले अरबी भाषालाई तेस्रो वर्गमा राखेको छ । यो भनेको सबैभन्दा कठिन हो ।

अरबी भाषाका रोचक तथ्य 

१. अरबी सेमिटिक भाषा हो

अरबी अरेबियन प्रायःद्वीपमा उत्पत्ति भएको भाषा हो । मुस्लिम जगत विस्तार हुँदै जाँदा अरबी भाषा उत्तरी अफ्रिका र पश्चिम एसियासम्म फैलियो ।

२. विश्वभरी स्थानीय अरबी भाषा बोल्ने मान्छेको जनसंख्या २८० मिलियन छ ।

अरबी भाषा अल्जेरिया, इजिप्ट, इजरायल (हिब्रुसहित), लेबनान, मोरक्को, साउदी अरेबिया, ट्युनिसिया, युएई लगायत २६ भन्दा अधिकदेशको सरकारी भाषा हो । यो संसारमा पाँचौं धेरैले बोल्ने भाषा हो ।

३. थुप्रै भाषामा अरबीको प्रभाव

अधिकांश युरोपेली, एसियाली र अफ्रिकी भाषालगायत ठूलो संख्याका भाषामा अरबीको प्रभाव देख्न सकिन्छ । अङ्ग्रेजीमा पनि अरबी भाषाका थुप्रै शब्दहरु छन्, जस्तैः अल्कोहल, अल्गोरिदम, एभरेज, क्यान्डी, क्याराभान, कटन, जिराफ, गितार, जार, लेमन, लिलाक, म्यागेजिन, सुगर, तालिस्मान आदि ।

४. ‘प्रेम’ अर्थ दिने १४ शब्द

प्रेम अर्थ दिने प्रत्येक शब्दले यसका खास चरणहरुको व्याख्या गर्छ । उदाहरणको लागि “हावा” शब्दले कसैप्रतिको प्रारम्भिक आकर्षणको अर्थ दिन्छ भने “हुयुम”ले पछ्याउने कारणको हानि अर्थ दिन्छ भने “इश्क”ले अन्ध इच्छा अर्थ दिन्छ ।

५. अरबी र हिब्रुबीच विशिष्ट गुणहरुमा समानता छ

अरबी र हिब्रु दुवै सेमिटिक भाषा हुन् । यो समानताले एकअर्को भाषा बोल्नेलाई अर्को भाषा सिक्न सजिलो बनाउँछ ।

६. अरबीमा क्यापिटल लेटर (ठूला अक्षर) छैनन्

अरबी बर्णमालाले जोड दिनका लागि क्यापिटल लेटर (ठूला अक्षर)को सट्टा उद्धरण चिह्न प्रयोग गर्छ ।

७. अरबीमा अन्य भाषामा नभएका व्यन्जन बर्ण छन् ।

केह गैरस्थानीय वक्ताको लागि अरबी शब्द उच्चारण गर्न गाह्रो हुन्छ । किनभने केही व्यन्जन वर्णहरु व्यापक स्तरमा बोलिने अन्य भाषाको भन्दा असाधारण छन् । उदाहरणको लागि ‘ح’ को उच्चारण अङ्ग्रेजीको ‘एच’ हुन्छ, र यो व्यन्जन अरबीमा मात्र पाइन्छ ।

८. अरबी शब्दहरु दायाँबाट बायाँतिर लेखिन्छ ।

धेरै अन्य व्यापक रूपमा प्रयोग गरिएका भाषाहरूको विपरीत, अरबी शब्दहरू लेख्दा दायाँबाट बायाँतिर लेखिन्छन् र अरबी संख्याहरू भने बाँयाबाट दायाँ लेखिन्छ ।

आजको दिन भनेको अरबी भाषाको समृद्धि र विश्वव्यापी महत्व मनाउने अवसर हो, जसले इतिहासभरि नै संस्कृति, विज्ञान र कलामा उत्प्रेरक भूमिका खेलेको छ । आजकल अरबी विश्वमा सबैभन्दा बढी बोलिने भाषामध्येको एक बनेको छ र यसले विविधताको वास्तविक खम्बाको प्रतिनिधित्व गर्छ । २५ भन्दा अधिक देशका ४०० मिलियन मानिसले यसका विभिन्न रुपहरु बोल्ने गर्छन् ।

संयुक्त राष्ट्रसंघको विश्व सञ्चार विभागले राष्ट्रसंघका ६ आधिकारिक भाषाहरु सबैको दिवस मनाउने निर्णय गरेको हो । सोही अनुसार १८ डिसेम्बरमा अरबी भाषा दिवस मनाउने निर्णइ भएको हो । राष्ट्रसंघको महासभाले अरबी भाषालाई आफ्नो आधिकारिक भाषको सूचीमा समेट्ने निर्णय गरेको दिनलाई अरबी भाषा दिवसको रुपमा मनाउन थालिएको हो । युनेस्कोले पहिलोपटक १८ डिसेम्बर २०१२ का दिन अन्तर्राष्ट्रिय अरबी भाषा दिवस मनाएको थियो । यो वार्षिक मितिलाई अरबी भाषाको विरासत र मानव सभ्यतामा यसको योगदानमाथि प्रकाश पार्ने तिथिका रुपमा समर्पण गरेको छ ।

यो दिवसको उद्देश्य विविध कार्यक्रमहरु आयोजना गरी अरबी भाषाको इतिहास, संस्कृति र विकासबारे जागरण बढाउनु हो । अन्तमा म अरबी भाषालाई माया गर्ने र अरबी भाषा सिक्न चाहने सबैलाई बधाई दिन चाहन्छु । सर्वशक्तिमान ईश्वरले सबैको कल्याण गरून् ।

प्रोफेसर मोहम्मद रमजान अलि मिया

एमए अरेबिक साहित्य  तथा इस्लामिक दर्शन अध्ययन।

जमिला उलूम । इस्लामिया कराची, पाकिस्तान