नियात्राकार सरिता अर्याल एक पत्रकार पनि हुनुहुन्छ । उहाँले ‘मेरो अपहरण’ नियात्रासङ्ग्रहबाट उत्तमशान्ति पुरस्कारबाट सम्मानित हुनुभएको थियाे ।

प्रस्तुत छ, उनै बहुप्रतिभाशाली सरिता अर्यालसँग साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक तथा अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले गरेको साहित्यिक संवादको सम्पादित अंश;

आजकल तपाईं व्यस्त हुनुहुन्छ । यस्तो घडीमा अध्ययन, लेखन र पुस्तक प्रकाशनलाई कसरी समय मिलाउनु भएको छ ? 

– व्यस्तता भएर हो कि बढी फुर्सत भएर हो अस्तव्यस्त पो भएको छु, अध्ययन लेखन र प्रकाशनमा समय मिलाउन सकेको छैन । दुइटा नियात्राको पाण्डुलिपि तयार छ प्रकाशकको खोजीमा छु । ती पाठकको हातमा पुगेपछि मात्र उपन्यास लेखेर सकिन्छ कि हेरूँ !

सरिता अर्याल

सरिता अर्याल

साहित्य, जीवन, दर्शन आत्मा र प्रकृतिलाई तपाईं कसरी हेर्नुभएको छ ? 

– जीवनको उत्पत्तिसँगै उल्लेखित सबैलाई सकारात्मक रूपले हेर्ने गर्छु , किनभने हाम्रो जीवनको सार नै जीवन, दर्शन, आत्मा, प्रकृति र साहित्य नै हो ।

तपाईंलाई जाँगरिलो लेखक भन्दा हुन्छ ? 

– म अलि अल्छी छु । मुड चलेको बेलामा मात्र लेख्ने भएकोले बरु मुडी भन्दा हुन्छ ।

साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नु हुन्छ ? 

– हो नि साहित्य लेखन र अध्ययनले चिन्तन मननको तहमा विकास हुन्छ त्यसले मानिसको व्यक्तित्व उठाउन सहयोग गर्दछ भन्ने मलाई लाग्दछ र म यो कुरामा विश्वास पनि गर्छु । दुई जना वरिष्ठ साहित्यकारहरूले गफ गरिरहेको सुन्नु भयो भने समय बितेको पत्तो नै हुँदैन, कत्ति गहन र ज्ञानवर्धक कुराहरू सुन्न पाइन्छ । उहाँहरूलाई त्यो उचाइमा पुर्याएको लेखन र अध्ययनले त हो ।

तपाईंका लेखहरू बेजोड छन्, आख्यान विधामा राम्रो कलम चलाउन के गर्नु पर्छ ? 

– आख्यान लेख्न दुख छैन जस्तो लाग्छ । कुनै पनि विषयमा गहिरिएर अन्तर हृदयबाट निस्तृत भाव निकाल्न सक्नु नै आख्यान हो । त्यस्तो भाव, सोच विशेष परिस्थिति र वातावरणमा मात्र उत्पन्न हुन्छ भन्ने पनि होइन । मन्दिरको छेउमा मागेर बसेका बुढाबुढी , मकै पोलेर बेच्ने महिला, सानातिना होटेलमा काम गर्ने बाल श्रमिकहरूसित एकछिन गफ गर्दा मार्मिक कथा उब्जिन सक्दछ । म पनि त्यसबाट अलग छैन ।

तपाईंले लेखन प्रेरणा को बाट पाउनु भयो ? 

– मैले पत्रकारिताबाट आफ्नो लेखन सुरु गरेकी हुँ । पत्रकारितामा मेरो कलम तिखार्ने काम किशोर नेपाल, गोविन्द लुईटेल, धर्मेन्द्र झा बाट भएको थियो भने साहित्यमा नियात्राको गुरु प्रतिक ठकाललाई मान्दछु । उहाँकै नियात्राका पुस्तकहरू पढेर मलाई पनि नियात्रा लेख्न मन लागेको थियो ।  कृष्ण धरावासीका पुस्तकहरूबाट बुझेँ । सरल भाषामा पनि साहित्य लेख्न सकिँदो रहेछ र कथा लेख्न सुरु गरेँ । प्रत्यक्ष रूपमा नभए पनि मैले उहाँहरूबाटै लेखनमा प्रेरणा पाएकी हुँ भन्दा हुन्छ ।

खाली समय कसरी बिताउनु हुन्छ ?

– किताब पढ्छु, लेख्छु । मलाई पुराना गीत असाध्यै मन पर्छ त्यसैले फुर्सदमा गीत सुन्छु । घरमा तोतेबोल्ने नातिनी छन् उनीसित खेल्छु । साथीहरूसँग भेटघाट गर्छु ।

तपाईंको नियात्राले त उत्तमशान्ति पुरस्कार पनि पाएको थियो नि, त्यसको अनुभव बताउनु न । 

– हजुर हो, पाठकको हातमा पुगिसकेपछि `मेरो अपहरण´नियात्रा मेरो मात्र नभएर हामी सबैको हो । कालिकोटमा माओवादीबाट अपहरणमा परेको कुरालाई प्रस्तुत गरेर नियात्रा लेखेको थिएँ तर त्यसले यति ठुलो पुरस्कार नै पाउला जस्तो त लागेको थिएन । पुरस्कार पाएपछि अझ लेख्ने हौसला जागेको छ ।

नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नु भएको छ ? 

– नेपालको साहित्यिक पत्रकारिता झाडीभित्र  बिरुवा जस्तै हो । जसलाई सेपले हुर्किन दिँदैन ।

कस्तो साहित्यिक पुस्तक पढ्न मन पराउनु हुन्छ ? साहित्यकारले लेखेर बाँच्न के गर्नु पर्छ ? 

– उपन्यास कथा र नियात्रा बढी मन पर्छ । साहित्यकारले लेखेरै बाँच्न सक्ने अवस्था अहिलेसम्म नेपालमा चाहिँ आइसकेको छ जस्तो लाग्दैन । तर आत्मसन्तुष्टि चाहिँ हुने  रहेछ ।

साहित्यको मापदण्ड के हो ? 

– पाठकहरूको बीचमा लोक प्रिय हुनु । अर्थात् पाठकको माया पाउनु ।

एउटा साहित्यकारको नाताले तपाईं नेपालको राजनीतिक जगतलाई कसरी नियालिरहनु भएको छ ? 

– राजनीतिमा चासो राख्दिन त्यसकारण टिप्पणी पनि नगरूँ भन्ने लाग्छ ।

अहिलेको साहित्यमा विचार, युग-चेतना, विश्व-परिवेश कसरी अभिव्यक्त भएको पाउनु हुन्छ ? 

– साहित्य भनेको युगबोध पनि हो । साहित्य पढेर हामीले त्यो युगको परिकल्पना गरेका हुन्छौँ ।

पुरस्कार सम्मान र समालोचनाको अवस्था कस्तो छ नेपालमा ? 

– यो प्रश्न मलाई सबभन्दा कठिन छ जस्तो लाग्छ ।

अहिलेसम्म तपाईंको प्रकाशित र अप्रकाशित पुस्तकका बारेमा बताउनु हुन्छ कि ? 

– यो कुरा मैले  के भनूँ, प्रकाशित पुस्तकका बारेमा पाठकहरूले पढेर दिएका प्रतिक्रियाहरू राम्रा छन् ।अप्रकाशितमा दुई नियात्रा छन् तीनका बारेमा पनि म बोल्नु भन्दा पाठक नै बोलुन् भन्ने मेरो चाहाना हो ।

डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ? 

– प्रवासमा रहेर पनि जन्मभूमिको स्मरणमा जो जसले कलम चलाइरहनुभएको छ उहाँहरू धन्य हुनुहुन्छ । नेपालमा बसेर दसवटा पुस्तक लेख्नु र प्रवासमा बसेर एउटा लेख्नु त्यै एउटा पुस्तकले जित्छ भन्ने मलाई लाग्दछ ।

भैरव अर्याल पछि नेपालको हास्यव्यङ्ग्य लेखनलाई कसरी हेर्नु भएको छ ? 

– हास्यव्यङ्ग्य विधा भैरव अर्याल पूर्व पनि थियो अहिले पनि छ । यो विधा मानव जीवनलाई उत्सवमय बनाउनको लागि रचना गरिँदै आएको छ ।

अन्तर्राष्ट्रिय साहित्य समाजलाई यहाँले कसरी हेर्नु भएको छ ? 

– संसारभरका नेपाली साहित्यकारहरूले नेपाली भाषा र संस्कृतीको उत्थान र जगेर्नाको लागि आआफ्नो ठाउँबाट जे जसरी काम गरिरहेका छन् । ती सबैलाई एउटै मालामा उन्ने काम अनेसासले गरिरहेको छ । विदेशमा पुगेका वा त्यही जन्मिएका दोस्रो पुस्तालाई नेपाली भाषा सिकाउने काम पनि अनेसासले गरिरहेको छ । सबैभन्दा ठूलो कुरा अनेसासले विश्वसामु नेपाली साहित्यलाई चिनाउँदै छ।

तपाईं कुन बेला कविता लेख्नुहुन्छ ? यसका लागि सिकारु कविलाई के भन्न चाहनु हुन्छ ? 

– म कविता असाध्यै कम लेख्छु तर यही समयमा लेख्छु पनि भन्न सक्दिन । जुन बेला मुड चल्छ त्यही बेला लेख्छु । कविता विधामा म नै सिकारु भएकोले मैले अरूलाई त के भन्ने र ?

अन्त्यमा पाठकलाई के भन्न चाहनु हुन्छ ? 

– साहित्य कर्ममा लाग्नु भएका सबै साहित्यकारहरूलाई माया र उत्प्रेरणाको खाँचो छ त्यसमा कमी हुन नदिनुहुन अनुरोध छ ।