नेपाली सङ्गीतका अमर गायक स्व. नारायण गोपाललाई नसुन्ने र मन नपराउने विरलै नेपाली होलान् । काठमाडौँको किलागल चोकमा उनको घर थियो । म पनि मेरो परिवारसहित उनको घरको अगाडिको घरमा बहालमा बसेका थियौं । स्कुले जीवनमा उनका बहिनीहरू गट्टा खेल्ने मेरा टोले साथीहरू हुने गर्थे । मलाई गुफा राखिँदा ती साथीहरू मसँग गट्टा खेल्न आउँथे ।

दशैँको नौरथा लागेपछि तिनै साथीहरूसँग म चोकको धारामा नुहाउन जाने, चोखो पानी ल्याउने अनि मन्दिर दर्शन गर्न जाने गरेको धमिलो सम्झना छ । भेडासिङ्ग, असनमा गएर ताजा तरकारी पनि किन्ने गर्थ्यो । घरमा फर्किएपछि यदाकदा चोकतिरबाट हार्मोनियम र तबला बजेको अनि गाएको आवाज सुनिन्थ्यो । त्यस बेला त्यो आवाज आउने घर नारायण गोपालको थियो भन्ने कुनै हेक्का थिएन ।

एउटा चाखलाग्दो कुरा- नारायण गोपालका पिता र मेरा पिताका नाम एउटै थिए: आशा गोपाल । बेलाबेलामा झुक्किएर यताका चिट्ठीपत्र उता र उताका यता हुने गर्थे भने भेटघाट गर्न आउनेहरूको पनि त्यस्तै अवस्था हुन्थ्यो । यताका उता पुग्थे उताका यता । यस्तो अवस्था सिर्जना हुँदा म नारायण गोपालका बहिनीहरूसँग खुबै रमाएर हाँस्ने गर्थे । त्यति बेला नारायण गोपालको गायिकी त्यति चम्किसकेको थिएन । गाना-बजाना, तालको आवाज आइरहन्थ्यो र म सुनिरहन्थेँ । स्कुले बेला भएकोले त्यति ध्यान पनि दिइएन । मेरा साथीको दाइ हो भन्ने मात्र हेक्का रहन पुग्यो ।

सिंहदरबारपछाडि रहेको एक हलमा भएको त्रिचन्द्र कलेजको सांस्कृतिक कार्यक्रमको एक प्रदर्शनमा नारायण गोपालले “आँखाको भाका आँखैले” भन्ने बोलको गीत गाएका थिए जुन अत्यन्तै हिट हुन पुग्यो । मलाई त्यसपछि पो थाहा भयो नारायण गोपाल त मेरै टोले छिमेकी रहेछन् । समय बित्दै गयो । नारायण गोपालको गीत रेडियोबाट गुन्जिन थाल्यो ।

त्यति बेलासम्म हामीले किलागलको डेरा छोडिसकेका थियौं । साथीहरू छुटे तर नारायण गोपालका गीतहरू सुन्ने लत छुटेको थिएन । एकदिन हामीले चिनेजानेकी एक दिदी जसलाई हामी “बेबी दिदी” भन्थ्यौं – अचानक खिचापोखरीतिर भेट भयो । त्यहाँ एउटा “कला कुञ्ज” नामको संस्था खोलेको रहेछ । “ए, नारायण गोपाललाई भेट्न जाने हो ? ल, मसँग हिँड,” भन्दै बेबी दिदीले हात समातेर मलाई तानिन् ।

म पनि उनको पछिपछि लागेर गएँ । भेट भयो । वास्तवमा बेबी दिदी हप्तैपिच्छे त्यहाँ जाने गर्थिन् नारायण गोपाललाई भेट्न । एक्लै भेट्न जान अप्ठेरो हुने भएकाले उनी अक्सर उनी मलाई लिएर जाने गर्थिन् । कला कुञ्ज पुग्दा नारायण गोपाल पनि बेबी दिदीलाई पर्खेर बसिरहेका हुन्थे । हामीलाई चिया, जुलेबी, बिस्कुट ख्वाउँथे । उनीहरू अप्रत्यक्ष रूपमा मायाका कुराहरू गर्थे सायद मेरो उपस्थितिले होला । त्यसैले म उठेर गई पर कुनामा पत्रिका पढ्दै बसिदिन्थेँ । कुनै बेला कला कुञ्ज जाँदा सुशीला कंसाकारलाई पनि भेटिन्थ्यो ।

धेरै पछि एकदिन ललितपुरको झम्सीखेलनिर एउटा भोजमा बेबी दिदीसँग जम्का भेट भयो । सडकमा रहेको मन्दिर दर्शन गर्न बाहिर उभिइरहेको बेला अचानक नारायण गोपाल त्यहाँ आइपुगे र बेबी दिदीतर्फ उन्मुख हुँदै भने, “ए बेबी, तिमी कता हरायौ ? किन नभेटेको ? दिनुको साटो बेबी दिदी त मेरो पछाडि लुक्न पुगिन् र फुस्फुसाउँदै मलाई भनिन्, “हेर, यहाँसम्म पछ्याएर आएछ मोरो !”

नारायण गोपाल एकछिन छक्क परे बेबीको त्यस व्यवहारबाट त्यसपछि केही नबोली लुरुलुरु शान्ता भवनतिर लागे । उनी अलिक पर पुगेपछि मैले बेबी दिदीलाई सोधें, “तपाईंहरूका बीच खटपट पर्यो कि क्या हो ? यहाँसम्म खोज्दै आइपुगे त ? कति राम्रो जोडी भनेको त के हो यस्तो ताल ?” उनले कुनै जवाफ दिइनन् ।

त्यसपछि मेरो उनीसँग फेरि भेट भएन । सायद उनीहरूको ब्रेकअप भयो होला भन्ने सोचेँ ।

समय बित्दै गयो । धेरै धेरै वर्षपछि संयोगले बेबी दिदीसँग मेरो न्यूयोर्कमा भेट भयो । अनेसासले एउटा कार्यक्रमको आयोजना गरेको थियो जसमा म र मेरा श्रीमान् पनि वासिङ्टन डिसी मेट्रो क्षेत्रबाट आमन्त्रित थियौं । आमन्त्रित अतिथिहरूको बसोबासको समायोजन गर्ने सिलसिलामा बेबी दिदीले हामीलाई आफ्नो घरमा लैजानु भयो ।

कुरैकुराको सिलसिलामा मैले मुस्काउँदै बेबी दिदीलाई भने, “दिदी, नारायण गोपाल त बितेर गए । कत्तिको सम्झना आउँछ ?”

मेरो प्रश्नले उनको अनुहार अलिक उदासजस्तो भयो र उनले भनिन्, “ किन नआउनु, तिमीलाई सबै थाहै छ नि ।”

केही दिन बितेपछि हामीले चाइनिज टुर बसबाट नायाग्रा फल्स हेर्न जाने कार्यक्रम बनायौँ । रातभरिको यात्रा भएकाले रोटी, तरकारी खाजा तयार पारेर हामी चार पाँचजना महिला नायाग्रा फल्सतिर लाग्यौँ । ‘लामो दुरीको रात्रिकालीन यात्राको दौरान अन्य सबै खालका गफ सकिएपछि कुरा नारायण गोपालसँग जोडिएको अतीततिर मोडियो ।

मैले भनें, “नारायण गोपालको पामेलासँग बिहे भयो । तपाईं छुट्नु भयो । उनी अझै अमर हुन्थे तपाईंको साथ पाएको भए । तपाईंलाई कति माया गर्थे मलाई थाहा छ। के भयो दिदी ?”

बेबी दिदी एकछिन मौन भइन् । सायद अतीतभित्र डुबुल्की लगाउँदै थिइन् । त्यसपछि बसको छततर्फ हेर्दै भन्न थालिन्, “उसले (नारायण गोपाल) ‘तिम्रो जस्तो मुटु मेरो पनि’ र तिमीलाई ‘म के भनुं’ गीत तयार भएपछि ‘यो गीत तिमीलाई सुनाउनु छ’ भन्दै फोनमा गाउँथ्यो ।

के गर्नु, घर नजिकै टिल्ल खाएर आउँथ्यो अनि सडकबाटै टोलै थर्काउने गरी मेरो नाम लिएर बोलाउँथ्यो । एकदमै रिसाहा, घमण्डी, कसैले भनेको नमान्ने । मेरा दाजुहरूले भाँजो हाले हाम्रो प्रेममा । माया अझै पनि लाग्छ के गर्नु ! अन्तिम समयमा बीर अस्पताल भर्ना भएको थाहा पाएर भेट्न पुगेँ । साह्रै खुशी भएको थियो । पामेलालाई नराम्रो लाग्ला भन्ने सोचेर पछि जाने आँटै आएन । त्यत्रो कलाकार, त्यसमाथि आफूलाई असाध्य मन पर्ने… बित्यो रे भन्ने सुन्दा नराम्रो लाग्यो । हाम्रो कहानी थाहै छ नि तिमीलाई ।”

“हो दिदी,” मैले भनें, “जात मिलेकै हो, टोल एउटै थियो । मैना-मैनीको जोडीजस्तो लाग्थ्यो मलाई त । सायद एउटा कलाकारको मन दुखेकोले होला उसले त्यस्ता दर्दनाक गीत गाएको । जब जब म ती गीत सुन्छु तब तब मलाई तपाईं दुवैका ती रमाइला भेटघाटको सम्झना आउँछ । दिदी, तपाईंलाई एउटा राम्रो कलाकारलाई गुमाउनु परेको पीडाबोध भएको रहेछ र त्यसैले तपाईं अझै पनि उनको सम्झना गरिरहनु हुन्छ । प्रेमध्वजको लेखमा पनि तपाईंको नाम ‘बेबी’को उल्लेख भएको पाएँ ।“

यसरी स्व. नारायण गोपालकी कुनै समयकी प्रेमिकालाई मैले कहिल्यै ननिदाउने सहर न्यूयोर्कमा भेट्न पुगेँ । कल्पना पनि गरेकी थिइनँ बेबी दिदीसँग भेटेर झन्नै झन्नै बिर्सिसकेको अतीतलाई फेरि सम्झिनु पर्ला भनेर ।

वि. सं. २०७९ सालमा साहित्यकार मधुवन पौडेल र म प्रसिद्ध गीतकार राजेन्द्र थापा बिरामी छन् भन्ने सुनेर उनलाई भेट्न स्थानीय लोकन्थलीस्थित उनको घरमै गयौं । राजेन्द्र थापालाई म धेरै पहिलेदेखि चिन्थें र उनलाई भाइ भन्थें । अचानक त्यहाँ नारायण गोपाल प्रतिष्ठानले प्रदान गरेको सम्मानपत्र राजेन्द्र थापालाई दिन राजेन्द्र श्रेष्ठ सर आइपुगे । नारायण गोपालसम्बन्धी म्युजियम महाराजगन्जमा छ भनेर थाहा त थियो तर त्यहाँ जाने अवसर प्राप्त भएको थिएन ।

मैले राजेन्द्र सरलाई आफ्नो इच्छा बताएँ र उनले ‘हुन्छ नि, आउनोस् न,’ भने । त्यसको केही दिनपछि म महाराजगन्जस्थित नारायण गोपाल म्युजियम हेर्न गएँ । एउटा घरको दोस्रो तल्लाको एउटा कोठामा नारायण गोपालको एउटा ठूलो श्वेतश्याम तस्बिर, विभिन्न भाव मुद्राका फ्रेमजडित फोटो, एक सेट हार्मोनियम – डूकी तबला र केही अभिनन्दन पत्र र तक्माहरू सजाएर राखिएका थिए । मलाई एकप्रति “बागीना” पत्रिकासङ्ग्रह प्रदान गरियो । भुइँमा कार्पेट ओछ्याइएको थियो भने आगन्तुकहरूका लागि बस्न सोफा तथा काँचका टेबल थिए ।

त्यस कोठाभित्र पस्ने बित्तिकै मन भारी भयो । यत्रो महान् कलाकारको स्मृतिकक्षमा आउने सौभाग्य प्राप्त भयो भन्ने लाग्यो । चक्रपथको नारायण गोपाल चोकमा अवस्थित नारायण गोपालको प्रतिमामा बर्सातको समय पानीले चुटिएको देखेर नारायण गोपालकी श्रीमती पामेलाले एउटा छाता ओढाइदिन अनुरोध गरेको हुनाले प्रतिमालाई छाता पनि ओढाइएको रहेछ । जहिले पनि त्यस प्रतिमामाथि आँखा पर्दा मैले चिनेजानेको, सुप्रसिद्ध रहेको र नेपाली सङ्गितप्रेमीमाझ अजर अमर बनेका नारायण गोपालको सम्झना आउने गर्छ ।

बेबीसँग मायाप्रीतिको डोरीमा बाँधिएर पनि असफल प्रेमीको रूपमा चर्चित बनेका नारायण गोपालको बाल्यपनको घर पनि देखें, उनको म्युजियम पनि हेर्ने सौभाग्य प्राप्त भयो र साथै उनको आत्मा मिलेको बेबी दिदीको मनको पीडा पनि बुझ्ने मौका जुर्यो ।

मेरो अभ्यन्तरदेखि निस्केको भावपूर्ण श्रद्धाञ्जली छ तिमीलाई, नारायण गोपाल !