‘सुनाकोठीको बाटो हुँदै धापाखेल छिचोल्न मलाई डेढ घण्टा लाग्यो । यस स्थानको आकर्षण भनेकै नागदह हो ।’
धापाखेलमा जन्मी हुर्केको र नागदहमा पौडिन सिकेको व्यक्ति भएर मात्र म ‘चोभार ब्लुज’को एउटा कथा भित्रको यो पङ्क्तिबाट प्रभावित भएको होइन । नागदहको सुन्दरता आफ्नै ठाउँमा छ । तर त्यो सेरोफेरोको यात्रामा यात्रु यानेकि लेखकले आफ्नो कल्पनालाई यस पुस्तकमा पस्केको व्यञ्जन र पस्कने शैलीले मलाई तानेको हो ।
मैले यस पुस्तकका लेखकलाई यो पुस्तकबारे सुन्नुभन्दा अघि चिनेको पनि थिइनँ । जब पहिलो पटक यो पुस्तकको बारेमा प्रकास सायमीको चर्चित कार्यक्रम ‘अजर अमर गीतहरू’ मा सुनेँ पुस्तकको नाम भन्दा पनि यसको विधाबाट म आकर्षित भएँ ।
‘निकथा’ भन्ने विधाको नाम पहिलो पटक सुने पनि नौलो चाहिँ लागेन । म आफू जब जब एउटा पुस्तकको कल्पना गर्थें तब दिमागमा एउटा कुरा खड्किन्थ्यो ।
‘कथामा निबन्ध मिसिएकोलाई के भन्ने होला ?’
मेरो जिज्ञासाको समाधान मिल्यो जब चोभार ब्लुज हातमा पर्यो ।
यसपालिको नेपाल भ्रमणपछि युएसए फर्कंदा केही पुस्तकहरू कोसेली लैजान्छु भन्ने सोचेको थिएँ तर सुटकेस प्याक गर्दा आधी सुटकेस पुस्तकहरूले नै भरिए । केही मायाको चिनो स्वरूप सर्जकहरूको हातबाट मिलेका त केही आफूले खोजेर किनेको । यसरी धुइँधुइँती खोजेर किनेको पुस्तकहरू मध्य एक हो ‘चोभार ब्लुज’ ।
अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज, नेपाल च्याप्टरले आयोजना गरेको भेटघाट कार्यक्रममा अप्रत्याशित रुपमा चोभार ब्लुजका सर्जक श्री बिक्रम भक्त जोशी ज्युसँग भेट भयो । म दङ्ग परेँ । मिठो कुराकानी भयो । ‘चारवटा पुस्तक पसल चाहर्दा नि तपाईँको पुस्तक भेटिनँ नि’ भनेँ ।
‘ए हो र ! त्यहाँ हुनु त पर्ने हो’ भन्दै अर्को दुईवटा पुस्तक पसलको नाम र ठेगाना दिनु भयो ।
प्यास त लागेकै थियो कुवा खोज्दै गएँ । पुस्तक फेला पर्यो । घर पुगेर त्यही रात पुस्तक पल्टाएँ । कुनै पनि पुस्तकको सुरुका पानाहरूमा समेटिएका बिचार, शुभकामना र समीक्षाहरूमा समय खेर नफालीकन सिधै पुस्तकको गुँदीतिर लाग्ने मेरो जवानी देखि लागेको बानी छ । फटाफट पहिलो कथा पढ्न थालेँ ।
राम्रो लाग्यो तर मन छोएन । दर्दभरि कहानी छ तर नौलो लागेन । पुस्तक बन्द गरेर सिरानी मुनि घुसार्नु अघि कथाको शीर्षकहरू हेर्न मन लाग्यो । शीर्षकसुची हेरेर अन्दाज लगाएँ यसभित्र कथा जस्तो लाग्ने निबन्ध, निबन्ध जस्तो लाग्ने कथा रहेछन् ।
एउटा शीर्षकमा गएर आँखा टक्क अड्कियो – “निलो कमिज, खैरो पाइन्ट” (पेज ४९)
कस्तो असाहित्यिक शीर्षक जस्तो लाग्यो होला है तपाईँहरुलाई ? तर मलाई शीर्षकले नै कौतुहलता जगायो । ओछ्यानमा सुत्न ढल्याइसकेको तकियालाई फेरि ठाडो पारे र अडेस लागेर पढ्न थालेँ ।
कथाको पृष्ठभूमि र पात्रहरू नै मन पर्यो । प्याँल गाउँको स्यालखोला । हर्के र दिलमायाको मायाप्रेम । नेपालका धेरै गाउँहरूलाई प्रतिनिधित्व गर्ने परिबेस अनि त्यहाँकै अधिकांश गाउँलेहरूले आधुनिक झारा टार्ने र योजनाबिनाको विकासले पारेको सकारात्मक र नकारात्मक प्रभावको हुबहु चित्रण ।
लोलाइसकेका आँखा र लोभिएको मनबिच जुहारी चल्यो । आखिर मनैले जित्यो । अर्को एउटा कथा पनि पढ्न थाले । अघि बढ्दै जाँदा आँखाले निदाउन बिर्सियो । तकियामा अडेस लागेको ढाडले दुखेको पत्तो पाएन । किताब पकडेको हात थाकेन । कथा पूरै पढिसकेँ ।
वास्तविकतामा आधारित काल्पनिक कथावस्तु । खुर्सानी र चिनी दुवैको मात्रा मिलाएर बनाएको पाउँ जस्तो । सरल भाषा तर गहकिलो संवादले मेरो पढ्ने बहावलाई निरन्तरता दिइरह्यो । कथा पढ्न त रसिलो थियो नै यसको असोचनीय र फरक खालको समापनले निकै मन छोयो ।
अब त सुत्नै पर्छ, भोली महानवमी बिहानै उठेर नुहाइ धुवाइ गरेर जमरा चढाउन जानु बज्रबारहीमा भन्ने आमाको हुकुम जो छ । २२ वर्षपछिको दशैँ नेपालमा मनाउन पाएको कम्ता खुसी थिइनँ । पुस्तक थन्काएर सुतेँ ।
दशैँको रमझम र भेटघाटले त्यसपछि पुस्तक पल्टाउने अवसर मिलेन । तर काठमाडौँदेखि मायमीसम्मको त्यो ३० घन्टे यात्रा मेरो लागि साह्रै उत्पादक भयो । पुस्तक पढ्ने भरपुर अवसर मिल्यो । कुनै कथाले निद्रा भगायो त कुनैले निद्रा लगायो ।
धेरै पुस्तकहरू पढेको छु । कथा, उपन्यास अनि निबन्धहरु । तर यो पुस्तक अरू भन्दा फरक पाएँ । साँच्चै भनेको । यस सङ्ग्रहभित्रका सम्पूर्ण त भन्दिन तर अधिकांश कथाहरूले काठमाडौँ उपत्यका भित्रका गाउँहरूको यात्रा गरायो, त्यहाँको इतिहास बतायो, वास्तविकता झल्कायो, व्यथा कोट्ट्यायो र आधुनिकतालाई नङ्ग्याउँदै मनोरञ्जन दिलायो । धेरै पटक भावविभोर पनि बनायो ।
‘निलो कमिज, खैरो पाइन्ट’ र ‘सुनको पोको’ले यति मन छोयो कि ती दुई कथाहरू मैले आफैले वाचन गरेर रेकर्ड पनि गरेँ । ती रेकर्डहरू अफिस जाँदा आउँदा गाडीमा धेरै पटक सुनेँ । अब चाहिँ अच्युत घिमिरेको आवाजमा सुन्ने मन छ ।
लेखकको आफ्नै आमाको कथाले मलाई दुखी बनायो भने बाली बैजनीले भावुक बनायो । जहाँ गयो त्यहीँ बनेको छ कथा । धेरै गएका होलान्, तर म गएको छैन इन्डोनेसियाको बाली । अरूबाट पनि सुनेको छ त्यो ठाउँको बयान तर यो पुस्तकको यो ‘बाली बैजनी’ कथा यसरी बगेको छ कि आफै पुगे जस्तो महसुस भयो । कथाको एउटा सामान्य टुरिस्ट गाइडको महानताको पहिचान र त्यसको प्रस्तुति गज्जबको लाग्यो ।
त्यही ठाउँ, त्यही परिबेस र त्यही घटना हो तर त्यहाँ के छ र के भैराखेको छ भन्ने कुरा त्यो देख्ने र देखेको कुरा बताउने व्यक्तिमा भर पर्छ । यो पनि एउटा कला नै हो । यो पुस्तकमा त्यो कला पोखिएको भेट्टाएँ मैले ।
पेज १९१ को ‘म मोरिक्वल’ कथा :
शीर्षक नौलो लाग्यो । दोश्रो पानामा कोरिएको कार्टुन चित्रले पो आकर्षण गर्यो । तर पढ्न सुरु गरिसकेपछि अल्छी लाग्न थाल्यो । म पाठक नै भए पनि आजकल लेख्न थालेको र एउटा पुस्तकको तयारी गर्दै गरेको हुनाले मनोरञ्जन नमिले नि लेखनको लागि केही त सिकिएला नि भनेर पढ्न रोकिन ।
तर कहाँ ! दोश्रो पानाबाट त स्वाद पो आउन थाल्यो । धेरै कथाका किताबहरूमा पाइने कथावस्तुहरू भन्दा फरक, धेरै फरक विषयमा लेखिएको कथाले त मलाई दुई दिनसम्म दिमाग घुमाइरह्यो । हरेक पटक नेपाल जाँदा घरछेउको नख्खु खोला छेउछाउ म पनि पुग्छु । त्यहाँ टहरामुनि र पोखरीहरूमा थुनिएका यी जनावरहरूको हबिगत र त्यहाँ फैलिएको दुर्गन्ध त मैले पनि देखेको र सुँघेको हुँ । तैपनि तिनीहरू भित्रै आफू पसेर त यसरी कहिले सोचेको थिइनँ । जुनसुकै उद्देश्यले भए पनि यो कथा पढ्न पाएकोमा धेरै खुसी भएँ ।
काँठ वरपर मर्निङ वाकमा वा एकदिनको टहलाइमा जाँदा उम्रेका यी कथाहरू स्वादिला लागे । स्थानीय हलुवाबेत, अम्बा जस्ता फलफूल टिपेर खाए जस्तै ।
‘बोसन हाइट’ जस्ता एक दुई कथाले चाहिँ मेरो मन त्यति जित्न सकेन । तर अरू पाठकलाई स्वाद लाग्न सक्ला ।
मलाई पुस्तक किनेरै पढ्न मन लाग्छ जसरी म टिकट काटेर सिनेमा हेर्न जान्छु । खै के मुड चलेर हो यसपालि लक्ष्मी प्रसाद देवकोटाको एउटा मोटो महाकाव्य पनि महँगो भाउ तिरेर लेराएको थिएँ । तर आकार र मूल्यमा धेरै सानो चोभार ब्लुजले सन्तुष्टि दियो । पैसा र समय दुवै असुल भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।