अमेरिकाको विश्वविद्यालयमा लामो समयसम्म प्राध्यापन गर्नु भएका मुक्तिप्रसाद उपाध्याय जनसमक्ष आफूलाई ‘ब्रह्मोल्लास’ भनेर परिचय गराउन चाहनु हुन्छ । उहाँ आफ्नो मूल विषय अर्थशास्त्रबाट साहित्यतिर आउनुभयो । यसको कारण हो, साहित्यद्वारा आफ्ना मनमा लागेका कुराहरू जन समक्ष अभिव्यक्त गर्नु । यो जीवन र जगत्लाई साहित्यबाट कसरी बुझ्न सकिन्छ, त्यो थाहा पाउनु हो ।

प्रस्तुत छ साहित्यपोस्टका लागि विश्वराज अधिकारीले ब्रहमोल्लासँग गरेको कुराकानी ।

अहिले के गर्दै हुनु हुन्छ ?

– अहिले अर्थशास्त्र अध्यापनबाट सेवानिवृत्ति लिएपछि अरू विषयका पुस्तकहरू पढ्ने, लेख्ने, मनन गर्नेतर्फ लागिरहेको छु ।

ब्रह्मोल्लास

ब्रह्मोल्लास

तपाईंजस्तो एक विद्वान् व्यक्ति, अर्थशास्त्रको अति जानकार नेपालमा नै बस्नुको सट्टा किन अमेरिका आउनु भयो ?

– अमेरिका आउनुअघि अर्थशास्त्रमा मास्टर्स डिग्री मात्र थियो । त्यतिले आफ्नो विषयमा उस्तो दखल नहुने र यो पेसामा धेरै राम्रो गर्न नसकिने हुँदा विद्यावारिधिको लागि अमेरिका आएको हुँ । राम्रो विश्वविद्यालयमा पढ्ने अवसर पाउँदा त्यो छोडिहाल्न मन लागेन यद्यपि नेपालमै बस्दा नराम्रो हुन्थ्यो भन्ने पनि होइन । मलाई धेरै खुशी छ, कतिपय मित्रहरू नेपाल बसेरै राम्रो क्यारियर बनाउन सफल भए ।

बहुसङ्ख्यक व्यक्तिहरूले आफ्ना शैक्षिक, सामाजिक उपलब्धिहरू आफ्नो नामसित जोडेर आफ्नो परिचय दिन्छन् । तर तपाईँले उल्टो आफ्नो उपलब्धि सहितको परिचय नदिएर केवल सामान्य परिचय दिनु भएको छ । अर्थात् आफ्नो परिचय प्राडा मुक्तिप्रसाद उपाध्याय भन्नुको सट्टा ब्रहम्मोलास भन्नु भएको छ । किन होला ?

– त्यो पनि आआफ्नो सोच हो । पढुन्जेल उच्च तालीम त पाइयो, तर आफ्नो विषयमा म धेरै जान्दछु भन्नुको म कुनै अर्थ देख्दिनँ । ज्ञानार्जन त जीवनभर चलिरहने प्रक्रिया हो । त्यसमाथि, अरू विषय जस्तै अर्थशास्त्रले पनि केही सामाजिक समस्यालाई समाधान गर्ने बाटो त बताउला, तर त्यो नै सर्वश्रेष्ठ बाटो हो भन्न मिल्दैन । खास गरी कठिन समस्याहरूका विभिन्न पक्ष हुन्छन् । अन्य पक्षलाई गौण बनाई केवल अर्थशास्त्रिक दृष्टिकोणबाट मात्र मिल्ने नीति बनाउँदा अपेक्षित परिणाम नआउने सम्भावना नै बढी रहन्छ । गएका २५ वर्षमा अर्थशास्त्रीहरूले कसरी आफ्नो क्षेत्रलाई बढी समावेशी बनाउन सके भनेर धेरैले गर्व गरेको पनि देखिन्छ, तर यो त छलफलको एउटा विषय हुने मात्र हो । कुनै एक क्षेत्रको सर्वोपरिता सिद्ध गर्न सकिने कुरा होइन यो । अब ब्रह्म्मोलासको नाम किन भन्दा आफ्नो अर्थशास्त्री रूपबाट भिन्न विषयतिर लाग्दा नाम पनि फरक राख्नु खासै अनुचित नहोला भनेर राखेको मात्र हो । नाम रहस्यात्मक बनाउन खोजिएको होइन ।

प्राडा मुक्तिप्रसाद उपाध्यायबाट ब्रह्मोल्लास हुन के कुराले प्रेरित गर्यो ?

– आफ्नो पेशाबाट रिटायर भएपछि मलाई अनेक विषयका पुस्तकहरू पढ्ने अवसर मिलेको छ । आफूलाई धेरै धार्मिक नभन्ठाने पनि आध्यात्मिक झुकाव चाहिँ पहिले देखि नै हो । त्यसैले साहित्यका अरू विधा सँगसँगै खास गरी वेदान्ती साहित्य पढ्दा र मनन गर्दा आनन्दको अनुभूति हुन्छ । त्यसमाथि अद्वैत वेदान्तले ब्रह्मको खोजीमा लाग्नु भनेको सन्देश मलाई धेरै प्रिय छ । शायद त्यसैले होला ब्रह्म्मोलास नाम राख्न मन लागेको ।

तिन दशक अमेरिकाको विश्व विद्यालयमा अर्थशास्त्र अध्यापन गरेर एवं अनेक अनुसन्धानहरूमा संलग्न भएर पनि किन साहित्य क्षेत्रमा लाग्न मन लाग्यो ?

– साहित्यमा रुचि त केटाकेटी देखि नै थियो । किशोरावस्थामा टोल्स्ट्वाय, दोस्तोयेव्स्की जस्ता उपन्यासकारका अङ्ग्रेजीमा अनुवाद गरिएका प्रसिद्ध कृतिहरू, समरसेट मम, जर्ज अर्वेल, हेनरी जेम्स लगायत कतिपय लेखकहरू, अनि हिन्दी र नेपाली साहित्य प्रशस्त पढिन्थ्यो । कलेज पुग्दा जनकपुरमा त्यति बेला आफ्नो व्यग्र इच्छा भएर पनि प्रोफेसरको कमीले गर्दा स्पेशल अङ्ग्रेजीको मेजर राख्न पाइएन । अङ्ग्रेजी-नेपालीमा कथा निबन्धका प्रतियोगितामा भने भाग लिइन्थ्यो । हर्मन हेस भन्थे, हामी सोच्दछौं समातिरहनु भनेको बलियो हुनु हो, तर कहिलेकाहीँ छोड्नुले मान्छेलाई बलियो बनाउँछ । त्यति परसम्म नजाऊँ किनभने अर्थशास्त्रको माया त सधैँ रहला । तर प्राध्यापक हुँदा त्यसप्रतिको जुन आशक्ति थियो त्यसलाई खुकुलो बनाउन साहित्यको पुरानो प्रेम अहिले बढी सहायक हुन आएको छ ।

अर्थशास्त्र जस्तो राम्रो आम्दानी हुने क्षेत्रमा नै निरन्तर रूपमा लाग्न छाडेर, राम्रो आम्दानीको औसर परित्याग गरेर किन अहिले सेवा-निवृत्त जीवन केवल साहित्य र स्वअध्ययनमा बिताइ रहनु भएको छ ?

– अर्थशास्त्रमा प्राध्यापन पेशातिर धेरै आम्दानी हुन्छ भन्नु सही होइन । प्राध्यापनका विभिन्न क्षेत्रमा तलबको दृष्टिले अर्थशास्त्र शायद बीचतिर पर्छ होला । यसबाट मध्यमवर्गीय जीवन धान्न पुग्छ पनि । हुन त यो पनि व्यक्तिगत सोचाइमा भर पर्ने कुरा हो । जे होस्, उमेर ढल्दै आएपछि आफ्नो निरन्तर पेशाबाहेक जीवनमा अरू पनि केही गर्ने हो र त्यसमा बढी नै समय लगाउने हो भने त्यो पेशा त छोड्नुपर्यो । जीवन सरल राख्ने हो भने रिटायर जीवनमा धेरै पैसा चाहिने पनि होइन । भएकै पैसा आफू बाँचुन्जेल न्यून आय वर्गको कल्याणका लागि सिद्ध्याएर जान पाए झन् कति राम्रो । विद्यार्जनका विभिन्न क्षेत्र र खास गरी साहित्यपट्टि मेरो दरिलो रुझान रहिआएकोले भएको समय साहित्य लगायत ती क्षेत्रमा लगाउने अवसर मिलेको छ । म खुशी नै छु ।

अमेरिकाबाट अर्थशास्त्रमा राम्रो शिक्षा (पिएचडी) पाएका अनेक नेपालीहरू नेपालको राजनीतिमा लागेर, ठूला ठूला पद (अर्थ मन्त्री, योजना आयोगको पदाधिकारी आदि) प्राप्त गर्न सफल भएका छन् । तपाईंलाई नेपालमा गएर कुनै ठूलो पदमा नियुक्त हुन वा राजनीति गर्न मन लागेको छैन ?

– प्रशासनिक काममा कहिल्यै रुचि भएन । अनि आफ्नो मानसिक बनोटले राजनीति गर्न पनि दिँदैन । त्यसमाथि राजनैतिक पार्टीका शिखर नेताहरू राष्ट्रको कल्याण भन्दा आफ्नो व्यक्तिगत स्वार्थमा, आफ्ना अनुयायीको  स्वार्थमा, र व्यक्ति  विशेषभन्दा अलिकति माथि उक्लिन सक्नेहरू आफ्नो पार्टीको स्वार्थमै सीमित रहे । नेपालको यो ठूलो दुर्भाग्य हो । देशको भलो चिताउने नेताले इमानदार, निष्ठावान् र योग्यता भएका व्यक्तिलाई काममा लगाउँछ र काम गर्ने छूट पनि दिन्छ । आफ्नो स्वार्थको लागि प्रयोग गर्दैन । नेपालमा यसको ठीक विपरीत हुने परम्परा समाप्त भएन । नेता आफू भने अप्रजातान्त्रिक ढङ्गले नै किन नहोस्, शक्ति वा सत्ता छोड्न चाहँदैन । यस्तो विषाक्त परिस्थिति इमानदार, निष्ठावान् र योग्यता भएका व्यक्तिका लागि ग्राह्य हुने कुरा पनि भएन । कि भने उनीहरूमा परिस्थिति परिवर्तन गर्न सक्ने आँट वा कम्तीमा सङ्कल्प राखेर काम गर्न सक्ने अठोट हुनुपर्यो ।

नेपाल एवं संसारकै सन्दर्भमा कुरा गर्दा, देशको विकास गर्न के कुनै ठूलो पदमा पुग्नु पर्छ ? एक सामान्य व्यक्ति भएर पनि, सामाजिक सेवामा संलग्न भएर पनि, के देशको आर्थिक विकास गर्न सकिँदैन ?

– देशभरिको आर्थिक विकास भन्नु त धेरै ठूलो कुरा भयो । कुनै पनि मान्छेले आफू र आफ्नो परिवारबाट अलिकति बाहिर गएर स्वार्थ नराखी काम गर्ने हो भने उसले समुदायको अवस्था केही मात्रामा भए पनि सुधार्न सक्छ । यही कुरा अलि ठूलो स्तरमा सोच्दा धेरैले त्यसरी आफ्नो नाम, यश र धनको प्राप्तितर्फ समय, साधन खर्च नगर्ने हो भने बृहत् सामाजिक परिवर्तन आउन पनि बेर लाग्दैन । ठूलो पदमा पुगेर, शक्तिमा बसेर नीति निर्माण र नीति कार्यान्वयन गर्न सक्ने हो भने त झन् चमत्कारै हुन्छ । तर हालको नेपालको परिस्थितिले त्यसो हुन दिँदैन । त्यसमाथि कतिजना पद र शक्तिको नजिक पुग्न सक्छन् ? सामाजिक सुधारबारे सोच्दा पद र शक्तिको पछाडि कसरी लाग्ने भन्ने विचार मलाई अविकसित मनको उपज वा अवाञ्छनीय खेलझैँ लाग्छ । धेरै काम गरेर देखाउँछु भन्ने मान्छे पद पाएपछि त्यो कसरी जोगाउने र धन कसरी बटुल्ने, त्यही चक्रमा घुम्याघुम्यै गर्ने उदाहरण नेपालमा अनगिन्ती भइसके । त्यसरी विकास गर्न सकिने कुरा नसोचौं ।

साहित्य र अर्थशास्त्रमा, कुनसँग हामीले बढी सरोकार राख्नु पर्छ होला ?

– खोइ, यो कि त्यो भन्ने त शून्य-योग (zero-sum) को सोचाइ भयो । यी दुवै विषयको महत्त्व आआफ्नो ठाउँमा छ । उन्नाइस शताब्दीको उत्तरार्धमा रुसको प्रति व्यक्ति आय धेरै भए एक हजार डलरको हाराहारीमा थियो होला । त्यति बेलाको गरीब रुसमा अर्थशास्त्र बाहेक अरू कुरा नगरिने भएको भए विश्व त गहन रुसी साहित्यबाट वञ्चित हुन्थ्यो होला । टोल्स्ट्वाय जस्ता महान् साहित्यकारलाई आर्थिक विकासको योजनाविद्को पदमा राख्नुभन्दा हास्यास्पद कुरा अरू के होला ? उनले राम्रो योजना बनाउँथे वा नराम्रो योजना बनाउँथे त्यो असान्दर्भिक छ । उनको समयको विशाल दुरुपयोग हुन्थ्यो । त्यसमा भने शङ्का छैन । सबैको आआफ्नो तुलनात्मक ताकत एउटै क्षेत्रमा हुँदैन ।  सबैले आफ्नो सिप र विशेषज्ञता अनुसार काम गरे भने मात्र सामाजिक कल्याण अधिकतम हुनसक्छ ।

तपाईँले पढ्नु भएका पुस्तकहरू मध्ये कुन पुस्तकले तपाईँको विचार निर्माण एवं चिन्तनमा ठूलो प्रभाव पार्यो ?

– जे एम केन्सको १९१९ मा प्रकाशित शान्तिका आर्थिक परिणाम (Economic Consequences of the Peace), र पेज, सीराइट र लकोम्बले लेखेको २०१८ को पुस्तक अरबपतिहरू र छल राजनीति (Billionaires and Stealth Politics) मलाई धेरै प्रिय छन् । साहित्य र खासगरी उपन्यासतर्फ हेर्दा दोस्तोएव्स्कीको अपराध र दण्ड (Crime and Punishment)  र अर्वेलको १९८४ निकै प्रभावशाली रहे ।

 नेपालमा, सामाजिक सेवामा पनि संलग्न हुनु भएको छ। नेपालमा कुन किसिमले र कसरी सामाजिक सेवा गर्दै हुनु हुन्छ ?

– ज्यादै न्यून साधन भएका बालबालिकालाई शिक्षा उपलब्ध गराउने काममा लागेको २० वर्षभन्दा बढी भयो । झण्डै २२ वर्षदेखि नेपालमा कार्यरत शिवमाया बाल शिक्षादान संस्था (SETCO) र त्यसको पुण्य कामलाई आर्थिक र वैचारिक ढङ्गले मदत गर्न अमेरिकामा १२ वर्षदेखि चलिरहेको ईएनसी, Educate the Needy Children (www.edunc.org), यी दुई संस्थाको मार्फत आफ्नो काम भइरहेको छ। गाउँमा, गरीब परिवारमा जन्मेका पिछडिएका वर्गका बच्चाहरूलाई एकदेखि बाह्र कक्षासम्म मासिक छात्रवृत्ति दिएर पढाइरहने क्रम सहर्ष एउटा चुनौतीको रूपमा लिन सकिएको छ । प्रत्येक बच्चाको लागि १२ वर्षे छात्रवृत्ति दिने यो अभियान सात आठ बच्चाबाट बढेर अहिले १२५ बालबालिकासम्म पुगेको छ । तर छात्रवृत्तिले मात्र कक्षास्तरको ज्ञान हासिल गराउन सक्दैन । हाम्रा बच्चाहरूमध्ये कम्तीमा २०% लाई परिवारभित्र आवश्यक मात्रामा खान पनि पुग्दैन । कोभिड-१९ लागेपछि धेरै खर्चिलो भए पनि हामीले अन्नदान कार्यक्रम सुरु गर्यौं । अहिले हाम्रा २० बच्चाका परिवारमा प्रत्येकलाई ३० के.जी. चामल सहित विभिन्न खाद्य सामग्री प्रत्येक महिना पुर्याइराखिएको छ ।

अर्कोतर्फ हेर्दा खान पुगिरहेका बालबालिकाहरूलाई पनि स्कुलको पढाइ यथेष्ट हुँदैन । उनीहरूका अभिभावकमा पढाइको औसत स्तर नगण्य झैं भएकाले केटाकेटीलाई पढाइमा घरबाट मदत मिल्दैन । त्यसैले विद्यालयबाहिर हाम्रो प्रशिक्षणको कार्यक्रम पनि चलिरहेको छ । ईएन्सीको सहयोग अनि आफ्नै साधनबाट सेटकोले गहन कोचिङको दुई हप्ते कार्यक्रम वर्षमा दुई तीन पटक चलाउँछ । ललितपुरको भट्टेडाँडास्थित सेटको प्रशिक्षण केन्द्रमा भर्खर सकिएको यसपल्टको कार्यक्रममा ४७ विद्यार्थीले भाग लिए । नेपाली, अङ्ग्रेजी र गणित प्रशिक्षणमै केन्द्रित यो आवासीय कार्यक्रम विद्यार्थीमा धेरै लोकप्रिय र सञ्चालकहरूका लागि निकै सफल रहेको छ । तर यसको वार्षिक खर्च छात्रवृत्तिभन्दा बढी पुग्न जान्छ। यस चुनौतीको सामना गर्न दात्रृवर्गसँग सहायताका लागि हाम्रो प्रयास निरन्तर चलिरहने नै छ।

यस अन्तर्वार्तामार्फत पनि म पाठक वर्गमा अपिल गर्न चाहन्छु, ईएनसीको काम www.edunc.org मा गई नजिकबाट हेरेर हाम्रो अभियानलाई सहयोग गर्न चाहनुहुन्छ भने जेल्, भेन्मो वा पेपालमार्फत वा चेक पठाएर पनि मदत गर्न सक्नुहुन्छ। विस्तृत जानकारीका लागि muktiu@gmail.com, वा educateneedy@gmail.com मा इमेल समेत गर्न सक्नुहुनेछ।

जीवनका आफ्ना गएका वर्षहरू र गर्नु भएका अनेक सङ्घर्षहरूको मूल्याङ्कन गर्दा आफूले गर्न खोजेका कार्यहरू गर्न पाउनु भए जस्तो लाग्छ ?

– आफूले गर्न खोजेको कतिपय कुरा गर्न सकेकोमा सन्तोष छ मलाई । गर्न नसकेको कुरामा जीवन यस्तै त हो भनेर, त्यसमा पाठ छ भने त्यो सिक्दै, त्यसलाई आत्मसात गर्दै अगाडि बढ्ने हो । त्यही प्रयासमा जीवन चल्दै छ।

सफलताको एक मापदण्डमा आफूलाई राखेर हेर्दा यो जीवनमा आफू कति सफल भएको देख्नु हुन्छ ?

– जीवन सफल भयो वा असफल भयो भनेर मलाई हेर्न आउँदैन । आफूले असल मनसायले, विनयशील भएर परिश्रम गर्दै जाने हो । अगाडि जे राम्रो हुन्छ त्यसमा धेरै खुशीले उफ्रिनु वा नराम्रो हुँदा उदासीमा घोप्टिएर बस्नु भनेको त समय खेर फाल्नु बाहेक के हो र ?  लक्ष्य प्राप्तिको चिन्ता गर्नुभन्दा मलाई त्यो मार्गमा हिँड्दा जस्तो परिस्थिति भए पनि समभाव राखेर हिंड्न सके पुग्छ जस्तो लाग्छ ।