२०२८ साल कात्तिक १९ गते हङकङको किङ्स पार्क अस्पतालमा जन्मिएका विमल गुरुङ १९ वर्षको उमेर मात्रै बाँचे  । तर त्यो उमेरभित्र उनले प्रशस्त पुस्तकको अध्ययन गरिसकेका थिए । त्यो छोटो उमेर मै उनले पत्रकारिता समेत गरे । प्रगतिवादी लेखन तथा जीवन र जगतबोधी काव्य चेतका साथ लेखन र पठनमा सक्रिय बिमल २०४८ साल वैशाख २४ गते काठमाडौँबाट धरान फर्किने क्रममा धादिङको जुकेपानीमा भएको बस दुर्घटनामा परे र उनको निधन भयो ।

उनको निधन पश्चात् धेरै पाण्डुलिपिका रूपमा रहेका उनका सिर्जनाहरूलाई सङ्कलन गरी प्रकाशित गरिएको छ । जसमा  ‘कवि विमल गुरुङका केही कविताहरू – २०४९, आत्मघोषणा (कवितासङ्ग्रह २०६५) र सहरको प्रगाढ मौनता (कवितासङ्ग्रहः २०८०) प्रकाशित छन्  । उनै गुरुङको स्मृतिमा भूतपूर्व ब्रिटिस लाहुरे बुबा पुर्णबहादुर गुरुङ, आमा सरस्वती गुरुङ र बहिनी  शान्ती गुरुङको सकल प्रयासमा धरान स्थित बुद्धचोकमा “बिमल गुरुङ स्मृति पुस्तकालय” स्थापना गरी सञ्चालन गरिएको छ ।

सो पुस्तकालयले बिमलको हरेक जन्मजयन्तीका दिन राष्ट्रिय कविता प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । साथै वर्षभरि प्रकाशित साहित्यिक कृतिहरू मध्ये निर्णायकहरूद्वारा  सर्वोत्कृष्ट साबित एक कृतिलाई “कवि बिमल गुरुङ कृति पुरस्कार” प्रदान गर्ने गरिन्छ । सोही निरन्तरता अनुसार यो वर्ष बिमलको ५२ औँ जन्मजयन्तीका अवसरमा उस्तै राष्ट्रिय कविता प्रतियोगिताको आयोजना गरिएको थियो ।

यो वर्षको सो प्रतियोगिताको क्रममा हरियो सुट कोट, टाई, सेतो सर्ट अनि बायाँ छातीभरि वीरताका तक्मा र शिरमा “गोरखा ह्याट” लगाएका एक जोर चिम्सा आँखा र थेप्चो नाकधारी  एक कवि मञ्चमा चढे । मञ्चको भित्तामा टाँगिएको ब्यानरमा लेखिएको छ, “कवि बिमल गुरुङको ५२ औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय कविता प्रतियोगिता – २०८० एवं कवि बिमल गुरुङ कृति पुरस्कार – २०७९ समर्पण समारोह”

ती कविले कविता वाचन गरे ;

 

शीर्षक : पहिला म मरूँ या मेरो देश ?

 

रातभरिका अनिद्रा आँखाहरू

निदाउने कोशिसमा बितेका अँध्याराहरू

कुकुरको भुकाई ताराहरूको जिस्काई,

नयाँ ठाउँ नौलो परिवेश अनि

चारैतिरको अन्यौलता  ।

 

कठ्याङ्ग्रिने चिसोसँगै 

मिरमिरेमा आउने एक झोक्का बतास,

आहा ! 

कत्ति मिठो कत्ति रसिलो

सातहजार एकसय बत्तिस मिटर अग्लो 

अपि हिमालको सुगन्ध

सेती र महाकालीको तरङ्ग 

घोडाघोडी, छतिवन र खप्तड तालको मधुर वासना  ।

 

तर यी सबदेखि टाढा

सबदेखि अलग 

आफ्नो राष्ट्रियता बन्धकी राखेर

सत्रहजार फिटको लिपुलेक पासमा

नियमित गस्ती गरिरहन्छु  ।

 

म मेरो देश, मेरो चन्द्रसूर्य 

मेरो लालीगुराँस अनि कोसी कर्णालीलाई

फिटिक्कै माया गर्न पाउँदिन

मलाई त पलपल सेकेन्ड सेकेन्डको लागि किनेर

कुङ्ग्रीबिङ्ग्राला, माङसाधुरा, नुवेधुरा, लुवेधुरा,

छ्यालेक र लिम्पियाधुरा जस्ता बिसौं हजार फिट 

अग्ला घाँटीहरूमा गस्ती घुमाई राखिएको हुन्छ  ।

 

मलाई थाहा छ

म आफू बाँच्न मेरो देश मार्नुपर्छ 

या मेरो देश बचाउन म आफै मर्नुपर्छ

फरक यत्ति हो 

पहिला म मरूँ या मेरो देश ?

 

म देखिरहेको छु

देवदारको एउटा हाँगामा

आधा सरो फाटिसकेको

चन्द्रसूर्य अङ्कित राष्ट्रिय झन्डा

झन्डाकै छेउछाउ बनिसक्नै नपाई

भत्किन थालेका बिओपी पोस्टहरू,

ती बिओपी पोस्टभित्रका

एसएलआर र इन्सास राइफलहरू

मेरो नेपाली नागरिकतालाई 

कालो पर्दाले छोपेर

मेरै छातीमा निशाना लिइरहेका छन्  ।

 

उता म गोर्खे

आफ्नै आमाको घाँटीमा 

खुकुरीको धार राखेर

आफ्नै आमाको छातीमा 

बन्दुकको नाल तेर्स्याएर बहादुरी देखाउँदै

आफ्नै जन्मभूमिमाथि धावा बोलिरहेको छु  ।

 

मलाई यो पनि थाहा छ

म मरे

मेरो अस्तित्व, मेरो पहिचान 

र मेरो केवल नाम मात्रै मर्नेछ 

तर मेरो देशै मरे

मेरो राष्ट्रवाद, मेरो राष्ट्रियता

अनि मेरो सिङ्गो अखण्डित इतिहास मर्नेछ

लौ भन

यो कालापानीको माटोमाथि

पहिला म मरूँ या मेरो देश ?

यी कवि थिए, भारतीय सेनामा लामो समय काम गरेपछि अवकाश प्राप्त समय व्यतीत गरिरहेका कवि भीम बिरही राई । यो कविता उनले अवकाश लिनुअघि बि. सं. २०७७ सालमा  लुवेधुरा घाँटीमा खटिएका बखत लेखेका थिए । जति बेला नेपालले लिम्पियाधुरा सहितको चुच्चे नक्सा संसदबाटै पास गरेर सार्वजनिक गरेको थियो । त्यतिबेला उनले आफ्नो र आफू जस्तै गोरखा सैनिकहरूको मनोभावलाई कवितामा पोखेका थिए । उनको जिम्मा भारतले अतिक्रमण गरेको कुङ्ग्रीबिङ्ग्राला, माङ्साधुरा, लुवेधुरा, नुवेधुरा, छ्यालेक र लिम्पियाधुरा जस्ता ठाउँहरू जो कालापानीभन्दा अझ अगाडी थिए तिनलाई भारतीय सेनाको तर्फबाट सुरक्षा दिनु थियो ।

संयोगवश लाहुरेपुत्रको स्मृतिमा स्थापित संस्थाले एउटा लाहुरेको भोगाई र मनस्थिति बोकेको यही कवितालाई प्रथम घोषणा गर्‍यो । घोषणा गर्ने निर्णायकहरू थिए धनकुटाका कवि मुकुन्द प्रयास, इलामकी कवि कविता राई “गाउँले” र धरान कै कान्तिपुरकर्मी तथा मुन्धुमी कवि प्रदिप मेन्याङ्बो । निर्णायकको सो टोलीले रसुवाकी कवि एलिशा एकलासको कवितालाई दोस्रो तथा सिक्किमकी कवि सन्ध्या सिङ्जाङ्गो सुब्बाको कवितालाई तेस्रो घोषणा गर्‍यो ।

भीम बिरही, भोजपुर जिल्लाको तत्कालीन होम्ताङ् गा. वि. स. मा बि. सं. २०३१ सालमा जन्मिएका थिए । होम्ताङ यस्तो ठाउँ हो जहाँ अझै पनि हरेक घरमा कम्तीमा एक जना पुरुष लाहुरे भएको भेटिन्छ । त्यही माटोमा लाहुरे बुबाको पदचाप पच्छ्याउँदै उनी पनि लाहुरे बनेका थिए । उनी भन्छन्, ” रुचि त कला, सङ्गीत र साहित्यमा थियो । तर बाध्यताले लाहुरे बन्नुपर्‍यो ।” धरानमा ६ महिनासम्म सङ्गीतको “कोर्स” गरे पनि त्यसलाई निरन्तरता दिन पाएनन् । साहित्य र सङ्गीतको रसमा भिज्न त्यो समयको रेडियो नेपालले ठूलो गुण लगाएको सम्झन्छन् भीम, “त्यति बेला मसँग एउटा रेडियो हमेसा साथ मै रहन्थ्यो । हरेक बुधवार राती १०:३० बजे गीतिकथा प्रसारण हुन्थ्यो । मैले पठाएको गीति कथा २०४८ साल भदौ महिनाको एउटा बुधवार प्रसारण भयो । यसबाट पनि साहित्यप्रतिको लगाव र रुचि अझ बढ्यो ।”

दुखको कुरा भारतीय सेनामा साहित्यकर्म वर्जित छ । ब्रिटिस वा नेपाली सेनामा कार्यरत फौजीहरूलाई यस्तो सृजनात्मक काममा कुनै बाधा नभए पनि भारतीय सेनामा भएको यो निषेधयतालाई आफूहरूले लुकिछिपी अगाडि बढाएको कुरा सुनाउँछन् भीम, “पल्टने जीवनमा विशेष भारतीय सेनामा साहित्यिक गतिविधि गर्न, पुस्तक प्रकाशन गर्न अझै पनि बन्देज छ । म लगायत मेरो साथीहरू सुरेन्द्र लिम्बू परदेशी, बुद्धि तेम्बे माइला, बिनोद लुङ्खिम राई लगायत साथीहरू लगभग लुकिछिपी नै यस काममा लागिरहेका छौँ  । लामो समयदेखि लुकिछिपी नै हामीले ‘परदेसी बिम्बहरू’ नामक साहित्यिक म्यागेजिन प्रकाशन गरिरहेका छौँ ।”

कवि बिरहीलाई बि. सं. २०५९ सालमा आफ्नो पहिलो उपन्यास “बिदेशी सिपाही” प्रकाशन भएपछि पल्टनको उपल्लो तहसम्म खबर पुगेर अब उप्रान्त साहित्यिक गतिविधिमा संलग्न नहुन अन्तिम चेतावनी दिइए पनि आफू साहित्य कर्मबाट टाढिन नसकेको सुनाउँछन् । बन्दुकको नालले सिर्जनाको मुटु छेँड्न कहाँ सक्छ र ! उनी धरान केन्द्रित साहित्य कर्ममा लाग्ने सर्जकहरूप्रति कृतज्ञ छन्, “मलाई व्यक्तिगत रूपले परदेशबाट घरदेश फर्किएको बेला प्रा. डा. टंकप्रसाद न्यौपाने सर, राजकुमार कार्की दाइ, राजेश विद्रोही,  सुदीप पाख्रीन, देवान किराती, हेमन यात्री, जनकऋषी राई, भीम राई ज्वाला जस्ता ऊर्जावान् सर्जकहरूको साथ सहयोग सङ्गत र मार्गदर्शनले नै जाँगर पलाएको हो ।”

एउटा फौजी बन्नु र सोही मान्छे कवि बन्नु, हेर्नेहरूका लागि दुई विपरीत ध्रुव जस्ता देखिन्छन् । फौजी जिन्दगीमा आदेश शिरोपर गर्ने अनि अत्यन्तै चुस्त अनुशासन र नियमको घेराभित्र रहनुपर्ने तर त्यसका विपरीत एउटा कवि बन्नु भनेको मनलाई अनन्त कल्पनाको उडानमा निस्फिक्री छोडिदिनु हो र त्यो उडानबाट देखिने दृष्यपान गर्दै त्यसको आनन्दमा डुब्नु हो ।

यद्यपि यो कुरामा कवि भीम बिरहिको फरक तर्क छ, “फौजी कडा मिजास र कवि नरम मिजासको हुन्छ भन्ने तर्क केही हदसम्म सही हो । सैनिकको तालीम कठोर हुन्छ अनुशासन कडा हुन्छ उसलाई कहीँ पनि दृढताका साथ लाग्ने अनि सेवा नै धर्म हो भन्ने सिकाइएको हुन्छ तर पनि ऊ आफ्नो घरपरिवार, समाज, गाउँटोल, साथीभाइ नलनाता आफन्त सबैदेखि टाढिएर एक प्रकारले ठुलो समुहभित्र एक्लो महसुस गरिरहेको हुन्छ । त्यस कारण पनि ऊ मनमा केही न केही हरेक समय सोचिरहन्छ, कल्पिरहन्छ । ऊसँग पनि उस्तै खाले मन छ नि । त्यसकारण फौजीको ड्युटीमा जुन नियममा बाँधिएर काम गर्छ, त्यो ड्युटी सकिएपछिको समयमा त्यो फौजीको मनमा आउने उद्वेगलाई त कसैले रोक्न सक्दैन । त्यही समय ऊ एउटा कठोर अनुशासनभित्रको फौजीबाट कोमल हृदय भएको कविमा परिणत हुन्छ सायद ।”

अर्को देशका लागि “लाहुरे” बन्नु कतिलाई रहर होला कतिको बाध्यता बन्न सक्छ । तर एउटा फौजमा सामेल भएपछि त्यसको अनुशासन र नियमभित्र बाँधिनु एउटा फौजीको कर्तव्य हो । राजनैतिक रूपले सचेत एउटा नागरिक अर्को देशका लागि ज्यानको बाजि थापेर लड्नुपर्दा उसको मनमा कस्तो हुरी चल्दो होला ? २०४६ सालको जनआन्दोलनका बखत आन्दोलनकारी भए बापत प्रहरी हिरासतमा पुगेका, २०४९ सालको पहिलो स्थानीय निर्वाचनमा सर्वसहमत जनप्रतिनिधिका रूपमा काम गरेका भीम बिरहीले अन्ततः भारतका लागि अनेकौँ युद्धहरू लड्नुपर्‍यो । यतिसम्म कि इतिहासले नेपाली भूमि भनेर चिनाएको बस्तीहरूमा भारतीय कम्ब्याट र बन्दुक भिरेर भारतीयकै खातिर खटिनुपर्‍यो ।

अर्को देशको बफादारी निभाउँदै आफ्नो देशसँग कुनै सम्बन्ध नराख्ने विषय, क्षेत्र र सैनिकहरूसँग मुकाबिला गर्नुपर्‍यो । उनले लडेको सबैभन्दा ठूलो लडाइँ सन् १९९९ मा भएको पारत-पाक युद्ध थियो, जसलाई इतिहासले “कारगिल युद्ध”का नामले चिन्दछ । साढे दुई महिना भन्दा लामो समय चलेको सो युद्धमा भीम गोली लागेर घाइते भए । केही समयको अस्पताल बसाइँपछि फेरि युद्ध मैदानमा खटिए र अन्तिमसम्मै लडे । चीनसँगको विभिन्न “कन्फ्लिक्ट”हरूमध्ये अरुणाञ्चलमा भएको मुठ्भेट, लद्दाखमा भएको गोलाबारी आदि भीमले सामना गर्नुपरेको लडाईहरु हुन् । नेपालीहरूले अर्को देशका लागि यी लडाई केवल आफ्नो पेट पाल्ने रोजगारीका लागि गर्नु परिरहेको छ, यो विषयले भने भीमलाई सधैँ नमज्जा लागिरहन्छ ।

दारुण युद्ध लड्नु एउटा कुरा, तर त्यो युद्धभन्दा कैयौँ गुणा गह्रुङ्गो बन्ने रहेछ जब जसका लागि ज्यान दिएर लडिएको छ उसैले आफ्नो देशलाई कुल्चिएको दृश्य हेर्नू । भीम बिरहिका लागि २०७२ सालमा भारतले नेपाललाई लगाएको नाकाबन्दी त्यस्तै साबित भयो । उनी भन्छन्, “त्यो समय एकदमै संवेदनशील अवस्था थियो । किनभने जति पनि नेपालीहरू भारतीय सेनाको अधिकृत ओहदामा थिए उनीहरू पनि भारत सरकारकै इसारामा काम गर्नुपर्ने हुन्छ । उनीहरूमाथि पनि दर्जनौं सिनियरहर बसेका हुन्छन् । विरोध गर्न सक्ने अवस्था थिएन । विरोध नगर्दा आफ्नो देश आफ्नो घरपरिवार सङ्कटमा छ  । त्यस कारण यसको मौन विरोध स्वरूप भित्रभित्रै एक प्रकारको सञ्जाल बन्दै थियो । गोर्खा ब्रिगेड बिचमा छलफलहरू चल्दै थिए । सबैमा एक प्रकारको क्रोध बढिरहेको थियो ।”

करिब तीन दशकको सैन्य जीवनबाट अवकाश लिएपछि पूर्णतः सामाजिक तथा साहित्यिक कर्ममै व्यस्त कवि भीम बिरही यतिखेर आफ्ना विगतका अनुभूति र अनुभवहरूलाई आफ्नो आगतका लागि सम्हालिराख्न चाहन्छन् । आफ्ना आफन्त, इष्टमित्र, साथीभाइ सबैका लागि  सामाजिक, सृजनात्मक क्रियाकलापहरूको माध्यमबाट योगदान दिन चाहन्छन् । उनको तर्क छ, “साहित्य सृजना भनेको कुनै विज्ञापन हैन । कुनै देखावटी स्टन्टवाजी वा प्रचारको लागि  पनि हैन । साहित्य सम्मान पुरस्कार र कसैको स्याबासीको लागि नभएर समाज र देशको लागि मार्गदर्शक बन्न सक्नुपर्छ ।”

२०७८ साल कार्तिक महिनामा भारतीय सेनाको क्याप्टेन दर्जाबाट सेवा निवृत्त बिरहिको कृतिका रूपमा  “विदेशी सिपाही” (उपन्यास – २०५९), “दबिएका आवाजहरू” (कवितासङ्ग्रह – २०६४) प्रकाशित छन् भने वि. सं. २०६४ सालदेखि हालसम्म निरन्तर “परदेशी विम्बहरू … ” नामक साहित्यिक वार्षिक म्यागेजिनको प्रधान सम्पादकका रूपमा कार्यरत छन् ।

कवि भीम बिरहिलाई साहित्यिक निरन्तरताका लागि हार्दिक शुभकामना ।