स्थानः अस्पतालभित्र
समयः विहानको दस

(एक जना महिलालाई बोकेर बलेको प्रवेश)

बलेः (काउनटरको झ्याल अगाडि पैसा गन्दै ) सर नमस्कार ! म बले, रानीलाई लिएर आको । महिना पुग्यो तर नानी पैदा भएन । अनि यहाँ आएका कति लाग्छ जन्मा खर्च हजुर ?

धनेः (यसो बलेलाई पिलिक्कै हेर्दै ) तँ रानीको लोग्ने हो ?

बलेः होइन हजुर ! मेरी दिदी हो । भेना त अमेरिकामा हुनुहुन्छ अरे ! दिदीले भन्नुभएको ।

धनेः बीस हजार लाग्छ ।

बलेः (छक्क पर्दै) बीस हजार त छैन हजुर ! उन्नाइस हजार नौ सय पचास मात्र छन् । हुन्छ हजुर ?

धनेः हुँदैन, बीस हजार मैले घटाएर भनेको हो । तीन पावा मासु जोखेर चार पावाको पैसा लिए जस्तो लाग्यो ? अस्पतालमा त्यस्तो चल्दैन ।

बलेः अहिले यतिचाहिँ समाइराख्नु न ! पचास रूपैयाँ केहीछिन पछि म मिलाइदिन्छु । हुन्न र ? दिदीलाई निकै साह्रो पारिसकेको छ । तीन दिन भो बिमारले समाएको, पाँच जना ढाकरे दाइहरूलाई एक माउ गाई दिइकन सहयोग मागेर आका हजुर !

धनेः हुँदैन । चुनावमा पाटी-पाटी लरे जस्तो होइन । मेरो खुसीले हुँदैन । के मेरो खल्तीबाट पचासचाहिँ थपिदिनु भनेको हो तैँले ? भोटमा पो जति खर्च गर्न सक्यो उति आफूलाई फाइदा मिल्छ । तर यो त त्यस्तो होइन त …….

बलेः त्यसो भन्न खोजेको होइन हजुर ! छ भने लगाइदिनुहोस् । मपछि तिर्नेछु । मेरी दिदीको ज्यान पचास रूपेँको मात्र हो त हजुर ?

धनेः हुँदैन भनेपछि हुँदैन । आजभोलि ज्यानभन्दा पनि पैसा ठूलो भएको छ । मान्छे मार्दा आठ हजार, भाले मार्दा दस हजार, बुझिस ! ( धने झ्याल थुनेर निस्कन्छ )

बलेः (आँखाभरि आँसु पर्दै, दिदीलाई छाम्दै ) दिदी ! दिदी ! ! रानी दिदी !!!

रानीः ( झसङ्गै भएर व्यूँझदै ) के अब भित्र जानु भाइ ? सबै मिलाई सक्यो काउन्टरमा ?

बलेः के भित्र जानु भन्नु हुन्छ दिदी ! पचास रूपैयाFमा कुरा नमिल्दा झ्यालै थुनेर जानुभयो मालिक । भेनालाई फोन गर्नुहोस् दिदी ! कतै उठाई पो हाल्नुहुन्छ कि !”

रानीः (रुदै) भाइ ! मैले कति लगाएँ कल, उठाउनु भएन । सात महिनासम्म त बेलाबेला गफ हुँदैथ्यो, त्यसपछि त ……छैन । चार हजार सकेँ फोन गर्दा कार्ड किनेर । त्यो पनि बाँकी गरेर । भेनाको भाइको नम्बरचाहिँ छ मसँग, त्यसमा चाहिँ फोन गरेकी छैन । जाने बेलामा मलाई दिनुभएको थियो, मेरोमा लागेन भने यसमा गर्नु है भनेर । भेनाकोमा त नलगा भाइ ! खर्च मात्रै हुन्छ होला । यो नम्बर चाहिँ मेरो भाइको हो भन्नुभएको थियो, यसमा चाहिँ लगा त कतै भगवान् मिली पो हाल्छ कि !

बलेः खै दिनु त !

रानीः ई ला त !

बलेः (नम्बर डायल गर्दै ) ल म कोसिस गर्छु । जाँदैछ कल दिदी ।

रानीः ( हर्षित हुँदै ) हो र…….. !

बलेः हल्लो ! यो मेचिगन अमेरिका हो ?

क्याभीनः (आँखा मिच्दै) यो एरिजोना अमेरिका हो । कस्लाई खोज्नुभएको ?

बलेः भेनालाई खोजेका हजुर !

क्याभीनः कुन भेना ? फेरि मलाई त्यति राम्रो नेपाली बोल्न पनि आउँदैन ।

बलेः मेरी दिदी रानी लाने भेना हजुर !

क्याभीनः मलाई थाहा भएन । भोलि मेरो काम पनि छ, त्यसैले म छिटो सुत्नुपर्छ ।

बलेः किन नेपाली बोल्न आउँदैन हजुर ?

मेरी दिदी अस्पतालको पेटीमा छटपट्टिरहनुभएको छ । नानी जन्मिनु नसकेर यहाँ ल्याएका छौँ । भेना सम्पर्कविहीनमा हुनुहुन्छ ।

क्याभीनः बाआमाले नेपाली नबोल, नेपालीको मार्केट छैन भन्नुभयो । अनि बानी लाग्यो अंग्रेजीतिर । मेरो नाम राकेश हो तर यताको नागरिकतामा परिवर्तन गराएर क्याभीन राखिदिएँ । घरमा बोल्दा पनि अंग्रेजी, काममा बोल्दा पनि अंग्रेजी, आजभोलि त नेपाली विरानो लाग्न थाल्यो ।

बलेः भाषा भनेका ठूला साना हुँदैनन् हजुर ! बाआमा जस्तै बराबर हुन्छन्, कमिलोदेखि हात्तीसम्मका । त्यसैले त्यो कुरा गर्नु ठूलो भूल हो । ए, अँ, भेनाले नेपालबाट अमेरिका आउँदा यो तपाईँको नम्बर दिदीलाई दिनुभएको रहेछ हजुर ! अनि कल गरेको नि ! आज मेरी दिदी अस्पतालको पेटीमा छटपट्टिरहनुभएको छ । नानी जन्मिनु नसकेर यहाँ ल्याएका छौँ । भेना सम्पर्कविहीनमा हुनुहुन्छ । कसरी हुन्छ सहयोग गरिदिनुहोस् हजुर !

क्याभीनः म यहाँको भेना चिन्दिनँ । फेरि यहाँ आएपछि नाम पनि परिवर्तन, थर पनि परिवर्तन, ठाउँ पनि परिवर्तन गरेका छन् सबैले । बाँसघारीमा ढुङ्गा हान्दा बाँसलाई लागे जस्तै मेरो नम्बर तपाईँको भेनालाई परेको हो । मेरो सुत्ने समय पनि भयो, केही छन् कि भन्नु सोध्नुपर्ने कुराहरू ?

बलेः अनि हजुर ! मेचीगन चाहिँ कता पर्छ नि ?

क्याभीनः निकै टाढो पर्छ । अनि भेनाको नाम चाहिँ के हो ?

बलेः एकछिन है म दिदीलाई सोध्नुपर्यो । दिदी ! भेनाको नाम के हो ?
रानीः खै ! खालि जिस्किनुहुन्थ्यो । कहिले रामे, कहिले कामे, कहिले दामे, कहिले हर्के, कहिले फर्के, कहिले सर्के भन्नुहुन्थ्यो । म अमेरिका पुगेपछि साँचिक्कै मेरो आइडी कार्ड पठाउँछु भन्नुभएको थियो ।

बलेः हेल्लो हजुर !

क्याभीनः अँ, मैले सबै सुने दिदीका कुराहरू । त्यसरी सत्र वटा नाममा अब कुन सठीक भन्ने ? अनि फोन नम्बर छैन अरे भेनाका ?

रानीः छ नि हजुर भाइ ! म हजुरको नम्बरमा ट्याक्स गरिदिन्छु नि ल अहिले नै ।

क्याभीनः छिटो ल दिदी ! समयले नेटो काटिसक्यो ।

रानीः बले, यो नम्बर पठाई दे दे ।

बलेः हुन्छ । एकछिन है हजुर ! हेल्लो ….. आयो हजुर !

क्याभीनः आयो हजुर ! ए…..यो नम्बर त कुनै पनि मोबाइलको होइनन् त ! यो त बाटोमा राखेका फोनबाट गरेका रहेछन् । म पनि यसमा त सहयोग गर्न सक्दिनँ । बाटोमा अभर पर्दा फोन नहुनेले केही पैसा छिराएर वा कार्ड नम्बर लगाएर गर्ने गर्छन्, त्यहीँबाट पो गरेका रहेछन् । अब यो नम्बरबाट कसै गरी पनि भेनालाई भेटाउँन सकिदैन है हजुर ! फेरि नाम पनि के हो के हो, फोन राख्नुहोला, म पनि सुत्छु अब ।

बलेः ए……ए… एकछिन हजुर ! हेल्लो…..हेल्लो ….फोन राख्नुभएछ । अब कसो गरौँ दिदी ? रात पर्न लाग्यो । बास कता हो ? अस्पतालमा भर्ना लिएन । हजुरको अवस्था यस्तो छ । नौ तलामाथि कृत्रिम एपल फलाएकै काम गर्नुभएछ तपाईँले । ए, एकैछिन है दिदी, बुहारीले कल गरे जस्तो छ । हल्लो….हल्लो……

कुमारीः (झोकिँदै) यता मर्छस कि त्यहीँ गाड्न आऊँ तँलाई ! सुत्नेबेलामा आँखा देखेन तेरो दिदीले अहिले सिनो भएर गाउँमा हिड्ने ? कि तेरो हो त्यो पापी सुत्लो ? हो भने फर्किनुपर्दैन । होइन भने आज बेलुकासम्ममा आइपुग्नुपर्छ नि ! बुझिस् ? मर्न पछाका चिहाने गधा !

बलेः हल्लो….हल् ..लो…….. कस्ता कस्ता हुन्छन् नि ! दसा लागेपछि फूलले पनि झुक्याउँछन् भन्थे, हो रहेछ।

रानीः के भन्न खोज्नुभएको रहेछ बुहारीले भाइ ?

बलेः ( रातो मुहार पार्दै ) अँ, खासै केही होइन रहेछ दिदी ! अनि दिदी यो घटना कसरी घट्यो ? भन्नुहोस् त मलाई नडराइकन, नलुकाइकन ।

नानी पेटमा आएको खबर सुनाएँ, ‘राम्रो हो, नफाल्नु है, पाप लाग्छ’ भन्नुभयो ।

रानीः (पेट मसार्दै, ऐय्या…ऐय्या भन्दै) गोठालो जाँदाआउँदा फेसबुक हेर्दै हिँडेँ, केही दिनपछि एक जनासँग जो आज तेरो भेना, उहाँलाई जोडे फेसबुकमा । त्यसपछि कुरा चल्दै गयो । महिनौँ बितेपछि संखुवासभातिर पनि डुल्ने, यता पनि आउने कुरा गर्नुभयो । नभन्दै आउनुभयो । दुई चार महिना बस्नुभयो । तँ कतारमा थिइस् त्यतिखेर । तैँले कराउँछस् भनेर बुबाआमाले फोन गर्न दिनुभएन । विवाह गर्नु छिटै आउँछु अमेरिकामा मेलोमेसो मिलाएर भनेर हिँडेका तेरो भेना पुनः फर्केर आउनुभएन । नानी पेटमा आएको खबर सुनाएँ, ‘राम्रो हो, नफाल्नु है, पाप लाग्छ’ भन्नुभयो । छ, सात महिनासम्म त यस्तै खाले फोनहरू आइरहे, गफ गर्दै गयौँ तर मैले लगाउँदा चाहिँ पटक्कै नलाग्ले त्यतिखेर पनि, के जान्नु र फोनका विधिविधानहरू पनि । बिजी होला भनिठान्थेँ, कामको बेला होला भन्थेँ । फोन गर्दा उठाउनुहुन्न त भन्दा कामले भन्नुहुन्थ्यो ।

अरे,भाइ ! भाइ ! छैन त, अघि यहीँ थिइस् त । म त सुनिरहेकै होला भनेर आँखा चिम्लेर बोलिरहेँ । हे भगवान ! कसैले रातो सट, सेतो प्यान्ट लगाएको पुरूष देख्नुभएन हजुर ? ए हजुर ! हजुर !

मनुमायाः (सफा गर्ने महिला, रिसाउँदै ) ए…..बौलाही आइमाई ! जा, किन कराइरहेकी ? रात पर्यो । यहाँ राति बस्न मिल्दैन । उठ, म यहाँ सफा गर्ने ।

रानीः ए बहिनी ! तिमीले एक जना सेतो प्यान्ट, रातो सट लगाएका पुरूष देख्नुभएन ?

मनुमायाः छैन, हेर्न राखेकी थिइस् ? उठ्, जा यहाँ नबस । (घिसार्दै कार पार्किङमा निकाली दिन्छन् )

पर्दा खस्छ ।

न्यूयोर्क, अमेरिका