नेपाल प्रज्ञा प्रतिष्ठानमा धेरै पहिले कार्यरत कवि हेमन्त श्रेष्ठ र वसन्त श्रेष्ठ दाजुभाइ हुन् भन्ने मेरो भ्रम लामो समयसम्म टिकेन । मेरो मनको, सम्झनाको र खोजीको वसन्त श्रेष्ठ कहाँ होलान् भन्ने प्रश्नले दशकौँसम्म हृदयमा खुट्टा उचालिरह्यो ।
बाह्र वर्ष पहिले जब म अमेरिका आएँ तब यहाँ पनि मैले साहित्यिक धाराको पानी खान छाडिन । साहित्यिक गतिविधिमा सरिक हुने क्रममा अमेरिकाको भर्जिनिया बस्ने कवि बसन्त श्रेष्ठसँग पनि जुम लगायतका माध्यमहरूबाट भेटघाट र अन्तर्क्रिया हुँदै आए । हाम्रा प्रकाशित आपसका रचनाहरूको रसास्वादन गरी पनि आयौँ । मलाई लाग्थ्यो- यी बसन्त, बसन्तहरूका भिडमध्येका कुनै एक बसन्त होलान् ।
म बसेको सहरको नेपालीहरूको साझा संस्था ‘नाफा’ले वार्षिक आयोजना गर्ने बृहत् साहित्यिक कार्यक्रम सन् २०२२ का लागि यी बसन्त श्रेष्ठलाई प्रमुख अतिथि बनाउने क्रममा मेरो पनि व्यक्तिगत सम्पर्क र थप भलाकुसारी हुन पुग्यो । पटकपटक कुराकानी भयो । अन्तिम पटकको फोनमा अवगत भयो कि मेरो मनभित्र सुषुप्त रूपमा लुकेर बसेका बसन्त त यी नै पो रहेछन् । २०३३/२०३५ मा अध्ययन गर्दाका जो मेरा सहपाठी थिए- हेमन्तका दाजु- बसन्त ।
मेरो सर्वाधिक खोजीको बसन्तसँग अचम्मको यो परिपन्चभित्र ४५ वर्षपछि समयले सम्पर्क र संवाद गरायो । हाम्रो खुसी चुलियो । आनन्दको सिकार गर्यौँ । प्रसन्नताको झरीले निथ्रुक्कै भिजायो । निभ्न लागेको हाम्रो सम्बन्धरूपी अगेनामा सुकेका पातपतिङ्गर हालेर आगो दन्कायौँ हामीले । ती दिनहरूको सम्झनाको तसलामा हामी भकभकी उम्लियौँ । कुराको कुलो प्राय: अतीततर्फ सोझ्यायौँ । यसरी हामी पुनः आफ्नो यथार्थ साइनोमा फर्किएको दुई दिनपछि बसन्त श्रीमतीसहित हामी बसेको सहर म्याडिसन आउने भए । मेरी श्रीमती, केही साथीहरू र म स्वागतार्थ विमानस्थल गएर प्रतीक्षामा रह्यौँ ।
प्रतीक्षाको यो घडीमा कलेज जीवनमा बारम्बार अनुवाद हुन पुग्छ मेरो मन । बसन्तसँग बिताएको समय आँखाभरि गुजुल्टिएर आयो । सिसाकलमको धमिलो धर्साजस्तै हुन पुगेको हाम्रा सम्झनालाई रिचार्ज गर्दै यथोचित आकृतिमा ल्याउने कोशिस गरेँ । सम्झनाका पोकोपुन्तुरो खुल्दै गए । उनका अध्ययन, साहित्यिक कृति र क्रियाकलापको उचाइ कहाँ पुग्यो होला ? पारिवारिक अवस्था लगायत बग्रेल्ती जिज्ञासाहरूले मलाई अङ्कमाल गरिरहे ।अनगिन्ती उत्सुकताहरूले मलाई खर्लप्पै निलिरह्यो ।
प्रतीक्षाको समय त्यति लामो भएन । श्रीमती सहित बाहिर निस्किए । साथीहरूले खादासहितको पुष्पगुच्छाबाट स्वागत गरे । हाम्रा आँखा चार भए । जुधे । एकछिन आमनेसामने भै स्वतःस्फूर्त टक्क रोकियौँ । आँखाको भाषामा समग्र अतीत निमेषभरमै उग्रायौँ । स्वचालित मेसिनझैँ हाम्रा चारै बाहुहरू हावामा फैलिँदै आपसमा अगाडी बढे । गहिरो अङ्कमालमा बाँधियौँ हामी । हराएको बालक भेटिएकी आमाजस्तै हर्षको महासागरमा पौडिन पुग्यौँ । हाम्रो खुसी मनको रङ्गमञ्चमा छमछमी नाच्न थाल्यो ।
स्नेहपूर्वक मेरो वाक्य फुट्यो- ‘बसन्त ! तिमीसँग मेरो हृदयको साइनो छ ।’
उनले बोले- ‘मैले पनि हृदयको सात पत्रभित्र तिमीलाई सजाइराखेको छु ।’
साथीहरूले फोटाहरू खिचे ।
बसन्तलाई मैले राम्रो देखेँ । भरसलाग्दो व्यक्तित्व । अग्लो काय ।सुदर्शन अनुहार । यो उमेरमा आइपुग्दा समेत बुढ्यौलीका सिर्कनाहरूले कोतरेका दागहरू अनुहारमा थिएनन् । उनको समग्र शारीरिक व्यक्तित्वलाई समयले त्यति धेरै लुटपाट मच्चाउन पाएनछ ।
बसन्त मेरा साथी त हुन् नै । गधा पच्चिसेको मेरो वसन्त ६७ मा आइपुग्दा अध्ययन, अनुभव र जीवन भोगाइबाट धेरै नै निखारिएछन् । एकैछिनको भेटघाटमा नै थप प्रभावित हुन पुगेँ म । लाग्यो- पुरानो साथीसँग गफ गरिरहेको मात्र छैन सभ्य र सुसंस्कृत सम्पदाको पुस्तक पढिरहेको छु । तीन दिन बसे उनी म्याडिसन् । सबैसँग माया साटासाट गरे । भव्यतापूर्वक साहित्यिक कार्यक्रम समाप्त गरी भर्जिनिया फर्किए ।
यसरी लामो अन्तरालपछि भेट भएका आत्मीय साथी बसन्तको बारेमा पढेका, सुनेका र भोगेका घटनाहरूलाई मस्तिष्कको ठेकीमा मथेर अक्षरहरूको सहायताले भावनामा रङ भर्दै निम्न परिकारमा यो आलेख पस्कन गै रहेको छु ।
बसन्तले जीवनमा आँखा खोलेको पहिलो भूमि पूर्वी नेपालको तेह्रथुम जिल्ला । बि.सं. २०१२ सालको बसन्त पञ्चमीमा आमा स्व. शुभद्रादेबी र बाबु स्व. नारायणमान श्रेष्ठले संसार देखाए । धर्ती टेकाए । उनको पहिलो रोदनपूर्ण आवाज गुन्जिएको माटो म्याङ्लुङ बजार । त्यसैले त होला उनले म्याङ्लुङलाई ताज बनाई शिरमा सजाएका छन् । मनभित्रको मनमा राखेर हिफाजत गरेका छन् । हृदयमा टाँसेर माया पोखेका छन् ।
आमाबाबुका दश सन्तानहरूमध्ये दोस्रा र चार भाइहरूको जेठो छोरा हुन् उनी । पहाडी परिवेशमा धेरै सन्तान, ठुलो परिवार भन्ने बित्तिकै दुख, अभाव र गरिबी बिछोड नहुने दुष्ट साथीको रूपमा साथै थियो होला भनी अनुमान गरेँ मैले । मेरो अनुमान वास्तविकतासँग साइनो नपरेको कुरा जब स्वयं बसन्तबाट अवगत भयो तब म खुसीको भेलमा समाहित भएँ । किशोरावस्थामा घाँस दाउरा गर्नु , गोठाला जानु र कुटोकोदालोको सामान्य अनुभव गर्दै पढाइलाई निरन्तरता दिनु पहाडी जनजीवनको रितजस्तै थियो तापनि यी कर्महरूसँग साक्षात्कार हुन नपरी बसन्त हुर्किएछन् ।
उनका हजुरबा नै सम्पन्न र चेतनशील हुनाले बाबु नारायणमानले म्याट्रिकदेखि नै भारतमा गै अध्ययन गर्ने अवसर पाएछन् । बि. सं. २०११ सालमा नै इलाहाबादबाट स्नातक गरेका नारायणमानले म्याङ्लुङमा सिंहवाहिनी मिडिल स्कुलको संस्थापन संयोजक र संस्थापक प्रधानाध्यापक भए । यो पैतृक परिवेशमा हुर्किएका वसन्तको पढाई नराम्रो हुने कुरै भएन । सोही सिंहवाहिनी हाई स्कुलबाट २०२६ सालमा १४ वर्षकै उमेरमा उनले उच्च अङ्क सहितको दोस्रो श्रेणीमा एसएलसी गरे ।
इन्जिनियर बनाउने सपना पालेर बाबुले बसन्तलाई काठमाडौँमा विज्ञान पढाए । छात्र सङ्गठनमा अत्यधिक क्रियाशील हुनाले अध्ययन र राजनीतिलाई मिलाएर लान सकेनछन् । विज्ञानजस्तो गहन विषयलाई समय पुगेन । फलस्वरूप पढाई सन्तोषजनक भएन । बडो मुस्किलले उनी हुनु पर्ने भन्दा एक वर्षपछि मात्र आइएस्सी पास भए ।
राजनीतिमा समानताको बिकुल फुक्थे बसन्त । पञ्चायती निरंकुशताको जरा उखेल्न चाहन्थे । जोसिलो उमेर । त्यसैले त सलाईको जल्दोबल्दो विद्रोही काँटी बनेर हिँडे । तन्नेरी अवस्था- हुरीमा दियो बलेको र नदीका दुई किनार मिलनको सपना देख्थे ।यी सबै बेलिबिस्तार बसन्तले ‘अँगालोभरिको अनुभूति’ नामक आफ्नै पुस्तकमा उल्लेख गरेका छन् ।
इन्जिनियर बनाउने बाबुको सपनामा तुषारापात हुन गयो । अन्ततोगत्वा बि. सं. २०३३ सालमा प्रशासक बन्ने सपना पालेर जनप्रशासन क्याम्पसमा स्नातक तहमा भर्ना भए । भरखरै खुलेको विषय र थोरै सङ्ख्याको सिट हुनाले यसमा पनि भर्ना पाउन अन्यमा भन्दा कठिन नै थियो । प्रतिस्पर्धीहरू ज्यादा हुन्थे । हो, यही क्याम्पसमा सहपाठीको रूपमा हाम्रो पहिलो भेट भएको थियो । हामी दुवै क्षेत्रपाटीतिर नै बस्थ्यौँ । हाम्रा हितैषी सहपाठीहरूमा ज्योति अधिकारी, आङ्ग्रिता शेर्पा, जो एसएलसी बोर्ड फस्टलाई पनि सम्झिरहेको छु अहिले म ।
कवि बसन्त श्रेष्ठले आफ्नो बाबुको बारेमा “नारायणमान श्रेष्ठ इतिवृत्त” नामक पुस्तक बि. सं. २०७९ सालमा प्रकाशित गरेका छन् । पुरानो खुईलेको मूर्तिजस्तो रूप-रङ्ग हुँदा पनि बुबाले नर्कटजस्तै नुगेर पारिवारिक र सामाजिक जिम्मेदारीको रथ सफलतापूर्वक तानेको सम्झना पोखेका छन् त्यसमा । समाजलाई उठाउन आगोमा खली खेलेका घटनाहरू उल्लेख गरेका मात्र छैनन् शैक्षिक, सामाजिक सङ्घ र संस्थाहरू स्थापना अनि सञ्चालन गर्दाको दुखसुखका हिसाबकिताब पेस गरेका देखिन्छन् । त्यति मात्र हैन सारा छात्रछात्राहरूका सपना साकार पार्न बुबाले आफ्नो सपना तुहाएका कुराहरू उल्लेख गरेका छन् ।
विकास प्रेमी बाबुले चेतना र परिवर्तनका खुसीहरू म्याङ्लुङ बजारभरि उमारेका घटनाहरू छन् । बाँझो पल्टाइरहेको हल गोरुले निर्दयी हलीको चुटाइ खाएजस्तै आफ्नो परिवर्तनकर्मी बाबुले पनि समाजका खलनायकहरूबाट चुटाइ खान परेको तीतो यथार्थसहितको व्यथा सो पुस्तकमा पोखेका छन् । पुस्तक पढ्दै जाँदा बुझ्न सकिन्छ- बसन्तको दिलमा बाबुआमा हरदम मुस्कुराइरहेका छन् । पितापूर्खाप्रति बसन्तको बडो सम्मान र आदर देखिन्छ । आस्था र मर्यादा छ । पितृ भनेकै आफ्नै नशामा बगेको भावना हो, रगत हो भन्ने मान्यता छ उनको । मुटुको धड्कन बनाई छातीभित्र पुर्खालाई बसन्तले सजाएका छन् भन्न सकिन्छ । ।
यो पृथ्वीमा सबैभन्दा लामो आयु इतिहासको हुन्छ । त्यो पुस्तकको माध्यमबाट इतिहासमा आफ्नो बाबुको नाम दर्जा गराए । कालान्तरसम्म बाबुलाई जीवितै राखे । अन्यथा एक दुई पुस्ताले उनको बाबुको सुकर्मको गीत गाउँथे होलान् । त्यसपछि चुरोटको पातलो धुवाँ फास्सफुस्स्स भएर बिलाएझैँ हराएर जान्थे होला घटनाहरू ।
जब मानिसमा इच्छा, त्याग र समर्पण हुन्छ तब उपाय निस्कन्छ र नतिजा हात पर्छ । बसन्तमा भएको त्याग र समर्पणको प्रतिफल नै “नारायणमान श्रेष्ठ इतिवृत्त” भन्ने पुस्तक हो । जसलाई पुराना ऐतिहासिक सामाग्री र दस्ताबेजहरूको भण्डार पनि भन्न सकिन्छ । अमेरिकामा बसेर तेह्रथुमको ऐतिहासिक प्रकृतिका सामाग्री जम्मा पार्नु अनि विज्ञहरूसँग बारम्बार सम्पर्कमा रहनु र व्यस्तताको बाबजुद लेखेर प्रकाशित गर्न सक्नुलाई असाधारण काम मान्नु पर्छ । बसन्त ! नाप्नै नसकिने पितृभक्तिको तिम्रो उचाइलाई साधुवाद अनि तिम्रो अठोट र समर्पणप्रति मेरो सलाम छ । यसरी बसन्तले एकातिर आफ्नो बाबुलाई अमर बनाए अर्कोतर्फ एउटा सुयोग्य, कर्मठ र पितृभक्त सन्तानको रूपमा इतिहासमा आफ्नो नाम लेखाए ।
बसन्तलाई विद्यालय जीवनदेखि नै साहित्यको प्रभावकारी जीवाणुले सङ्क्रमित तुल्याउन थालिसकेको रहेछ । उनले आफ्नो गाउँमा वि. सं. २०२६ सालमा नै ‘तीनजुरे’ नामक साहित्यिक पत्रिकाको सम्पादन गरेको रेकर्ड देखिन्छ भने काठमाडौँमा अध्ययनरत हुँदा २०२९ सालमा ‘पूर्वेली धुन’ को । पछि ‘अन्तर्दृष्टि’ लगायत केही थप पत्रपत्रिकाहरूको पनि सम्पादन गरेका देखिन्छन् । हालसम्म आइपुग्दा बसन्तका चार कविता सङ्ग्रहहरू, ‘नारायणमान श्रेष्ठ इतिवृत्त’ र ‘अँगालोभरिको अनुभूति’ संस्मरण गरी जम्मा छ पुस्तकहरू प्रकाशित भएका देखिन्छन् । उनका सबै पुस्तकहरू त मैले अध्ययन गर्ने अवसर पाएको छैन अपितु केही कविताहरू र पछिल्ला दुई पुस्तकहरू आद्योपान्त पढेको छु ।
बसन्तका यी साहित्यिक सिर्जनाहरूको परख र मूल्याङ्कन गर्ने साहस र क्षमता ममा छैन । उनको ज्ञानको गहिराई खोतल्न म असमर्थ छु । त्यसो गर्नु मेरोभन्दा पनि विज्ञहरूको काम हो । यतिसम्म निर्धक्क भन्न सक्छु म- उनका सिर्जनाहरू मलाई पढिरहूँ जस्तो लाग्छ । सायद अरूलाई पनि यस्तै लाग्ने छ ।
मुगलानमा बसन्त श्रेष्ठ विशेषतः नेपाली कविताका ग्बाला बनेर बसेका छन् जसले कवितारूपी दुधालु गाईहरू हुर्काएका मात्र छैनन्, नेपाली भाषा, साहित्य, संस्कृतिको संरक्षण, संवर्धन र प्रचारप्रसारमा निरन्तर लागिरहेका छन्, दत्तचित्त भैरहेका छन् । घडीको काँटा समान हरदम र हरबखत अग्रसर र क्रियाशील भएको इतिहास पाउँछु म । अमेरिकामा रहेका नेपाली साहित्यिक र सामाजिक संघ संस्थाहरूमा उनको सहकार्य र सहयोग उच्च देखिन्छ । सन् १९६७ मा अमेरिकामा खुलेको पहिलो नेपाली संस्था ‘ अमेरिका नेपाल सोसाइटी’ मा पनि उनी धेरै पहिले संलग्न भएको देखिन्छ । त्यस्तै सन् १९९१ मा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय महासचिव र १९९८ देखि दुई कार्यकाल केन्द्रीय अध्यक्ष भएर संस्थालाई अगाडी बढाए । वर्तमान परिवेशमा यो संस्था जसरी व्यापक रूपमा फैलिन सफल भएको छ त्यसको पछाडि बसन्तहरू जस्ता अग्रणी नेतृत्वकर्ताहरूको महत्त्वपूर्ण भूमिका छ । यी संस्थाहरूका जगको मजबुत ढुङ्गा हुन् उनीहरू । यिनका दुख, मेहनत र पसिनाले संस्था सिञ्चित छ भन्ने ठानेको छु मैले । यसरी नै अन्य साहित्यिक सभा, सम्मेलन र गोष्ठीहरूमा पनि वसन्तको निरन्तरको सक्रियता देखिन्छ ।
बसन्त मनभरि सिर्जनाको भोक बोकेर हिँडेका सर्जक हुन् । जीवनलाई सदा उत्साहको राजमार्गमा हिँडाउँछन् र सधैँ सफलता हात पार्छन् । उनको शान्त साहित्यिक छवि उनका सिर्जनाहरू र अन्तर्वार्ताहरूमा मुखरित भएको पाउँछु म । हरेक समस्याहरूमा अवसर देख्ने अथक परिश्रमी र लगनशील साहित्यकार हुन् बसन्त ।
५५ वर्षका सक्रिय बाबुको असामयिक निधनले लथालिङ्ग घर व्यवहार मिलाउन बसन्त सम्पन्न हुन लागेको स्नातकोत्तरको पढाइलाई बाध्यतावश छाडेर काठमाडौँबाट जन्मस्थल फर्किए । घरको जेठो छोरा । बाबुपछिको जिम्मेवार व्यक्ति हुँदाहुँदै पनि मौकाले प्राप्त भएको भिजिट भिसाको अवसर छोप्न असरल्ल व्यवहार छाडेर देश फर्कने गरी सन् १९९४ मा अमेरिका आएका हुन् बसन्त ।
बस्दै जाँदा यहाँका नेपालीहरूसँग सरसङ्गत भयो । देखे र अनुभव गरे- अमेरिकाले उच्च शिक्षा मात्र नदिई योग्यता अनुसारको काम दिएको । सोझो तलब मात्रले पनि मनग्य खाईलाई, औषधोपचार गरी बचतबाट घर, घडेरी जोड्न सक्ने क्षमता भएको । त्यति मात्र हैन भोली नेपाल फर्केर गए पनि पेन्सन स्वरूप जीवन धान्न मनग्य पुग्ने डलर झोलीभरि हालिदिने नियम बुझे । यसैले सायद उनका खुसीहरू अमेरिकातिर नै बास बस्न लस्सिए । जीवनरूपी गाडी कुदाउन यतै सजिलो देखे । जीवन सिलाउने सियोमा धागो छिराउन नेपालमा गाह्रो अनुभव गरे । अमेरिकामा जीवनको उचित मूल्य पाइने मात्र नभै जीवन बुझ्न, चिन्न र खोज्न सजिलो ठाने ।जीवन जिउनुको मजा यतै देखे ।
एकातिर बसन्तले हाम्रो लोकोक्ति सम्झे होलान्- “घर वरिपरि मात्र रमाउने छोरा र बाहिरबाहिर मात्र डुल्न चाहने छोरीको उन्नति साँघुरो हुन पुग्छ ।” अर्कोतिर परिस्थितिको बोध र साथीभाइको सल्लाह मनन गरे । आफ्नो भविष्यको रचयिता आफै हो भन्ने पनि ठाने । अन्तिममा उनी पल्टिए, बदलिए । बरु आफ्नो अनुपस्थितिमा नेपालमा हुन सक्ने घाटा बेहोर्न तयार भए तर फर्कन उपयुक्त देखेनन् । जन्मभूमि र परिवारको माया हुँदाहुँदै पनि देशको अव्यवस्था, अराजकताले मन लखेट्यो । अन्ततोगत्वा आम नेपाली तन्नेरीहरूलाई जस्तै उनलाई पनि जन्मभूमिको माटोले चाहँदा चाहँदै पनि समाउन सकेन । यसरी उनी परदेशी भएको पनि तीस वर्ष पूरा भैसकेछ ।
हलक्क बढेको स्वादिलो उमेरमा दौँतरीहरूसँग रमाउँदै बैँसको गीत गाएर गाउँबेसी गर्ने बेलामा बिरानो बस्ती रोजे । परदेशको सुरुआती दिनहरूको अभाव, दुख र सङ्घर्षका समयमा अत्यधिक परिश्रम बगाए । सुन्दर भविष्य निर्माण गर्न उच्च अध्ययनको निम्ति अमेरिकी कलेजहरूमा धाए । स्नातकोत्तर गरे । उनलाई ज्ञान थियो- “मिहेनत त्यो चाबी हो जसले बन्द भविष्यको ढोका खोलिदिनेछ ।” यो क्रममा कतिपय रातहरू खाई नखाई काँडै काँडाको बिच्छ्याउनामा पनि बिताए । भविष्य खोज्न झिसमिसेमा नै निस्किए । हाल उनी दुई छोराहरू र श्रीमतीको साथमा बडो आनन्द र रमाइलोसँग सेवा निवृत्त जीवन बिताई रहेका छन् । यो परदेश नै किन नहोस् उनी भिजेको कागजजस्तो लत्रक्कै गलेर कहिल्यै बस्दैनन् । सदा ताजा, सक्रिय र क्रियाशील छन् ।
बसन्तका सिर्जनाहरू पढ्दै र व्यवहारहरू बुझ्दै जाँदा लाग्छ- उनले नेपालको माया छाया बनाई दिलमा राखेका छन् । उनका शरीरका प्रत्येक अङ्गप्रत्यङ्गहरूमा जन्मभूमि सलबलाउँछ । छातीमा देशकै नक्सा बोकेर हिँडेका छन् । मलाई यकिन छ- उनी सगरमाथको उचाइ अझै थप्न चाहन्छन्, मैदान बनेको हेर्न सक्दैनन् । देश दुखेको बेला विदेशमा सहयोगी हातहरू एकत्रितको तारतम्यमा लाग्छन् । अर्कोतिर नेपाली भाषा, साहित्य, संस्कार र संस्कृतिको अनुयायी मात्र हैनन् यसको श्रीवृद्धिमा समर्पित योद्धा हुन् बसन्त ।
बसन्तले आफ्नो ‘ अँगालोभरिको अनुभूति’ नामक पुस्तकमा लेखेका छन्- “ पच्चीस वर्षपछि नेपाल पुग्दा त्रिभुवन विमानस्थलको भुइँको माटो हातमा लिएर भावुक बन्दै शिरमा लाएँ ।… मलाई महसुस भयो, धर्तीको स्वर्ग भन्नु नै स्वदेश पो रहेछ ।” परदेशी मनहरूलाई यसै त माटो, देश, जन्मभूमि, बन्धुबान्धव भन्ने शब्दहरूले कोमल, भावुक बनाउँछ । त्यसमाथि बसन्त त झन् कवि, साहित्यकार । आफू भावुक त हुन्छन् नै अरूलाई पनि कोमलता र भावुकताको झरीले रुझाउने रचना सिर्जना गर्छन् ।
यसै प्रसङ्गमा गोलोमा कमिला सलबलाएझैँ मेरो दिमागमा एउटा जिज्ञासा सलबलाई रहेछ । जन्मभूमि प्रेमी, कवि हृदयका बसन्तलाई पच्चीस वर्षसम्म स्वदेश फिर्न केले तगारो हाल्यो होला ? हातमा पेपर भएका बसन्तले साढे दुई दशकभित्रको कुनै चाड पर्व, विवाह, उत्सव र मर्नु, भाग्नुजस्ता दुख सुखका अवस्थाहरूमा पनि देश फर्कन नमिल्नुको रहस्य के थियो होला ? काँढा बनी बाटो कसले छेक्यो होला ?
यो जिज्ञासालाई मनको कसौँडीमा लामो अवधिसम्म उम्लिन र छड्किन दिइन मैले । स्वयं बसन्तसामु प्रश्नको गुन्द्री ओच्छ्याएँ । मूल कुरो बहिनी विवाह गरी धेरै पहिले सर्वप्रथम अमेरिका आएकी । आफ्नी ममतामयी आमा लगायतका परिवार १९९८ देखि नै अमेरिका ओहोरदोहोर गरेका । आमाको देहावसान यतै भएको । ठुलो परिवारका प्राय: सबैको लागि नेपाल-अमेरिका पानी पँधेरो भएको । हुन पनि एउटा सानो म्याङ्लुङ बजार अमेरिकामा नै बनाएका रहेछन् बसन्तले । अर्कोतिर माओवादी द्वन्द्वमा देश फसेको आदि कारण सविस्तार वर्णन गरे ।
अपितु, जुनसुकै कारण किन नहोस् , जन्मभूमि जाउआउको क्रम लामो समय अनुकूल नभएको आफ्नो बाध्यताकारी विगत सम्झेर दुखी भए । माया, चाहना र समर्पण हुँदाहुँदै पनि समयले साथ दिँदो रहेनछ । समयको खटनमा हिँड्नु पर्ने बाध्यताको अर्को उदाहरण सुनाए । मागी विवाह गरेर तेह्रथुम आएकी उनकी ममतामयी आमा पहिलो पटक आफ्नो प्यारो माइती क्षेत्रपाटी काठमाडौँ फर्कन बाह्र वर्ष कुर्न परेको तीतो यथार्थ बताए । समय र परिस्थितिको दास हुनुको विकल्प नभएको दुखेसो पोखे ।
बसन्तसँगको मेरो सम्बन्ध सहपठनले सिर्जना गरेको मित्रता, आत्मीयता र ममताको सम्बन्ध हो । करकाप र रहरको सम्बन्ध हैन । यो स्वादिलो सम्बन्धमा अर्को पोसिलो सम्बन्ध थपिएको छ- ‘अक्षरको सम्बन्ध’ र त थप मजबुत भएको छ । हाम्रो मित्रताको बखान समाजले चिरकालसम्म गर्न सकोस् । यही कामना ।
म्याडिसन, अमेरिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।