व्यक्तिमा आ-आफ्नै किसिमको गुण वा व्यक्तित्व हुन्छ र त्यही गुण वा व्यक्तित्व नै व्यक्तिको परिचय हो । व्यक्तित्व एक स्थिर अवस्था नभएर यो अस्थिर एवम् गतिशील हुन्छ । जसमा परिवेशको प्रत्यक्ष प्रभाव पर्दछ । यसैकारणले समय समयमा मानिसमा परिवर्तन आउँछ ।
मानिसको व्यक्तित्व निर्माणको पहिलो आधार हो उसको प्रतिभा वा गुण । कुनै पनि व्यक्तिको प्रतिभा एउटा मात्र हुँदैन । एक व्यक्तिभित्र थुप्रै गुण वा प्रतिभाहरू लुकेको हुन सक्छ । आफूमा भएको प्रतिभा वा गुणलाई परिष्कृत गर्न अभ्यासरत रहने क्रममा व्यक्तिको क्षमतामा उल्लेखनीय योगदान देखा पर्दछ ।
सन् १९६०-को दशकदेखि अनवरत साहित्य साधनामा लागिपर्नु हुने भारतको उत्तरपूर्वाञ्चल क्षेत्रका साहित्यकार हुन् के. बी. नेपाली उर्फ खड्ग बहादुर छेत्री । कविराज र चन्द्रमा छेत्रीका सन्तानको रूपमा मुलियाबारी, डिगबोई, असममा सन् १९३९ सालको १६ नोभेम्बरमा जन्मेका के. बी. नेपाली सानै उमेरदेखि पढ्नमा तेज हुनुका साथै साहित्यप्रति पनि अति नै रुचि रहेको थाहा लाग्छ । उनका पिता कविराज भारतीय तेल कम्पनीमा जागिरे हुनुकासाथै गौशालाका मालिक पनि थिए । तरैपनि के बी नेपालीज्यूको किशोरावस्था अभावमा बितेको बताइन्छ ।
सन् १९५६-५७ सालतिर आफू १७-१८ वर्षको उमेर हुँदा साहित्य लेखन सुरु गरेपनि सन् १९६० सालमा ‘प्रश्नवाचक कविता’ लिएर साहित्य क्षेत्रमा प्रवेश गरेका हुन् । उनको प्रथम कविता ‘नेपालीका प्राण भानु’ बनारसबाट काशी बहादुर श्रेष्ठको सम्पादनमा निस्कने ‘उदय’ पत्रिकामा सन् १९६१ -मा प्रकाशित भएको हो । आफ्ना गुरु जसु सुब्बाबाट प्रभावित भएर सन् १९६० सालमै ‘बिन्दु प्रकाशन’ स्थापना गरी सोही वर्ष आफ्नो प्रथम कृति खण्डकाव्य “नव अश्रु” प्रकाशित गरेका हुन् ।
साहित्य क्षेत्रमा पाइला टेकेपछि उनले सुरु सुरुमा आफ्नो नामको पछि ‘अभागा’ लेख्न सुरु गरेपनि समयान्तरमा उहाँ के. बी. नेपाली नामले सुपरिचित बन्न पुगे ।
सन् १९६१ सालमा उनले नेपाली साहित्यिक त्रैमासिक पत्रिका बिन्दुलाई प्रकाशनमा ल्याए । यो ६२ वर्षको लामो अवधिमा कति आँधी-हुरी आए होलान्, कति विघ्न–वाधा उत्पन्न भए होलान्, निजी जिन्दगीमा कति सङ्घर्ष गर्नु पर्यो होला, तर आफ्नो कर्ममा विश्वास राख्ने नेपालीले भाषा-साहित्यका साँचो पुजारीको रूपमा पत्रिकाको प्रकाशन गरिरहे ।
हालसम्म प्रकाशित उहाँका कृतिहरू यसप्रकार छन् :-
१) नव अश्रु (खण्डकाव्य) सन् १९६०
२) विरही (कवितासङ्ग्रह) सन् १९६४
३) मेरो घर मेरो संसार (उपन्यास) सन् १९६५
४) समर्पण (उपन्यास) सन् १९६५
५) कल्पना (कथासङ्ग्रह) सन् १९७०
६) तस्वीर एक रातको (उपन्यास) सन् १९७३
७) अनुराग (गीतसङ्ग्रह) सन् १९८३
८) प्लेटफर्म (ऐतिहासिक काव्य) सन् १९८४
९) भोक – मृत्यु – सङ्घर्ष (कथा सङ्ग्रह) सन् १९९१
१०) हत्याकारी (असमिया लघु उपन्यास) सन् १९९२
११) सती गोमा (धार्मिक नाटक) सन् १९९४
१२) भत्केको घर (कवितासङ्ग्रह) सन् १९९५
१३) अनियन्त्रित मन (कवितासङ्ग्रह) सन् २००१
१४) कालिदास कृत मेघदूत (अनुवाद) सन् २००४
१५) केही कवि साहित्यकारहरू र विविध लेख (निबन्ध) सन् २०१०
१६) मानवताको शब्दकोश (कविता सङ्ग्रह) सन् २०१४
१७) समर्पण (राष्ट्रिय हिन्दी उपन्यास) सन् २०१४
१८) साइनो (एक एकाङ्की तीन नाटक) सन् २०१८
१९) म खुनी हुँ (उपन्यास)
यसबाहेक उनका गीत, गजल, कथा, कविता, निबन्ध, नाटक आदि हिन्दी लगायत भारतका विभिन्न भाषाहरूमा पनि प्रकाशित भएको पाइन्छ । उनी सफल सम्पादक हुनुका साथै योग्य अनुवादक पनि हुनुहुन्छ । सन् २००४ सालमा कालीदास कृत ‘मेघदूत’को नेपाली भाषामा अनुवाद गरेबापत भारतका सर्वोच्च साहित्य निकाय ‘साहित्य अकादेमी’ -ले सन् २००७ सालमा उनलाई ‘अनुवाद साहित्य पुरस्कार’ले पुरस्कृत गरिसकेको छ ।
स्रष्टा के बी नेपाली सहृदयी, मिलनसार, मृष्ठभाषी साथै बहु प्रतिभाशाली व्यक्तित्वका धनी हुन् ।आफ्नो भाषा- साहित्यको उत्थानमा लागिपर्नु हुने अथक, लगनशील व्यक्ति नेपालीको योगदान अतुलनीय छ । यही योगदानको कदर गरेर स्थानीय लगायत भारतका विभिन्न प्रान्तबाट राष्ट्रिय साथै अन्तर्राष्ट्रिय पुरस्कारले विभूषित भइसकेका छन् । उनी उत्तरपूर्वाञ्चल क्षेत्रका मात्र नभई समग्र भारतीय नेपाली भाषी तथा अन्य भाषीहरूको निम्ति आदरणीय व्यक्तित्व मानिन्छन् ।
उहाँको सुस्वास्थ्य एवम् दीर्घायुको कामनासहित उहाँकै एक टुक्रा गीति रचना यहाँ राख्दै यो छोटो लेख यहीँ अन्त गर्दछु ।
“म मान्छे जिउँदै मरेको
आशा निराशाको भुँवरमा
अल्झी बल्झी रहेको ।
उडाइलाने चैते बतासको
म खाक श्मशानको
मेरो के आशा – भरोशा
म खाक श्मशानको ।”
सोनादा, दार्जीलिङ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।