कतिपय मान्छेहरू सोच्छन्- प्रविधिको विकासले पुस्तकप्रमीहरूको सङ्ख्या घटेको छ । अर्थात्, उनीहरूको विवेचना के हो भने प्रविधिले साहित्यलाई किचेको छ ।
हो, अहिलेको जमानामा विषयान्तर हुने अनेक कुराहरू छन् । प्रविधिको विकासले मान्छेका सोखहरू वैरिएर सूचि लामो बनेको छ । तर यसको मतलब यो होइन की नयाँ भनिने साेखमा आकर्षण हुँदा पुराना भनिने रुचिहरूमा विकर्षण हुन्छ ।
वास्तवमा हो के भने, लेख्ने, पढिने र ग्रहण गर्ने शैली फेरिएको छ । परिष्कृत भएको छ । परम्परागत रूपमा पढिने कागजी किताब, पत्रिका र जर्नलको ठाउँमा साहित्यप्रेमीहरू (विशेषतः युवावर्ग) स्मार्ट फोन, ट्याब्लेट र ल्यापटपमा जोडिन रुचाउँछन्, हिजोआज । प्रविधिको विकासले टेलिभिजन वा इन्टरनेट आधारित कार्यक्रमहरू, जस्तै नेट्फ्लिक्स, यु-ट्युबलगायतका सोसल मिडिया र अनेक ‘एप’हरूमा आशक्ति बढेको छ । पछिल्ला केही वर्षहरूमा भर्चुअल भिडियो गेमहरूको लोकप्रियता बढेको छ । जसले गर्दा युवाहरू अन्यत्रै लोभिएका छन् । तैपनि साहित्यका पाठकहरू बढिरहेकै छन्, पहिलेभन्दा अहिले ।
झ्वाट्ट सुन्दा यो कुरामा विरोधाभास जस्तो लाग्न सक्छ । तर सत्य के हो भने, सीमित टाठाबाठा र पुरुषहरूले पढ्ने साहित्य प्रविधिको विकासले सर्वव्यापक भएको छ । आम पहुँचमा व्यापकता र साहित्यिक शैलीमा रूपान्तरण भएको छ । जसले गर्दा तमाम प्रविधिको विकास र नयाँ खालका स्वाद एवं लालसाका बाबजुद साहित्यिक रूख झाँगिएकै छ । साहित्य लिखितम् मात्र हो भन्ने रहेन, यो बकितम् पनि हो । साहित्यिक क्षेत्रमा फस्टाइरहेको यो रुझान लेखकहरूका निम्ति उत्साहप्रद नै मान्नुपर्छ ।
हामी सन् २०२३ को उत्तरार्धमा आइपुगेका छौं, र यो वर्ष पश्चिमी साहित्यमा झन् नयाँ प्रवृत्तिहरू देखिएका छन् । यी नयाँ प्रवृत्तिहरूबारे यहाँ छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।
प्रथमतः पुस्तक प्रकाशनमा ई-बुकहरूको लोकप्रियता ह्वात्तै बढेको छ । ट्याब्लेट/आइ-प्याड वा ल्यापटपभित्रै अटाउने बुकहरूका कारण घरमा भौतिक पुस्तकालय बनाउनु परेन, तर पढ्ने बेलामा पुस्तक हाजिर हुन्छ । त्यसै गरी अडियो-बुक सुन्नेहरू पनि बढिरहेका छन् । एक तथ्याङ्कअनुसार १० देखि १५ प्रतिशत अमेरिकीहरू अडियो-बुक सुन्छन् ।
त्यसकारण अब पुस्तक प्रकाशन गर्दा फराकिलो पाठकहरूसम्म पुग्न परम्परागत ढाँचाको कागजी-बुक मात्र होइन, ई-बुक र अडियो-बुक प्रकाशनबारे पनि योजना बनाउनु पर्ने भएको छ ।
त्यसै गरी युरोप र अमेरिकी देशहरूमा पडकास्टले प्राथमिकता पाउँदै गएको छ । पश्चिम युरोप र उत्तर अमेरिकी देशहरूमा एक चौथाइ मान्छेहरू पुस्तकको ठाउँमा पडकास्ट सुन्न मन पराउँछन् हिजोआज । यु-ट्युबलगायतका अन्य साइटहरूमा पडकास्टले स्थान पाउँदै गएका छन् । त्यसै गरी पुस्तक प्रचारको एक प्रमुख साधन बनेको छ- टिकटक ।
अर्को एक तथ्याङ्कअनुसार कोरोना सङ्कटपछि कूल बिक्रीमा ६५ प्रतिशत हिस्सा प्रिन्ट बुकहरूको, २५ प्रतिशत हिस्सा ई-बुकहरूको र १० प्रतिशत हिस्सा पडकास्ट/ अडियो-बुकको रहेको छ । अडियो-बुकको तुलनामा ई-बुकको बिक्रीको रफ्तार तेज रहेको बताइएको छ । अमेरिकामा अनलाइन सपिङ हब अमाजोनमा मात्र ई-बुकको बिक्री बिलियन डलर नाघेको छ । सन् २०२२ मा युरोपियन युनियनमा मात्र ८ बिलियन डलरको ई-बुकको कारोबार भएको ई.यु.को तथ्याङ्क छ । एकातर्फ इन्टरनेटको व्यापकता, अर्कोतर्फ स्मार्टफोन र ल्यापटपको लोकप्रियताले ई-बुकको बिक्री बढेको मानिन्छ । त्यसमाथि पुस्तक संरक्षणको झन्झट नहुने र कागजी बुकभन्दा ई-बुक सस्तो पनि हुने हुँदा यो ट्रेन्ड अझै बढिरहने आकलन गरिन्छ ।
अर्को प्रवृत्ति, आख्यानको वर्चस्व कम हुँदै गएको छ । र, यसको ठाउँमा संस्मरण, कुकिङ, व्यक्तिगत विकासका सहयोगी बुकहरू, कला तथा विज्ञानसम्बन्धी पुस्तकहरूको बिक्री बढ्दै गएको छ । तथापि यसको मतलब यो होइन की आख्यानको सङ्ख्यात्मक बिक्री घटेको छ । परम्परागत आख्यानहरूसँगै साइन्स फिक्सनको बिक्री पनि बढेकै छ । तर नन-फिक्सनको लोकप्रियता झन् बढी हुँदैछ ।
पुस्तकको कभर निर्माणमा पनि सूचना-प्रविधिको विकासले नयाँ आयाम थपेको छ । खासगरी थ्री-डी र अर्टिफिसियल इन्टेरिजेन्सको सहयोगमा पुस्तकका कभर बनाउने कामले व्यापकता पाएको छ ।
सूचना-प्रविधिको विकास र इन्टरनेटको व्यापकताले अनलाइन साहित्य फस्टाइरहेको हो । फाइभ-जीले इन्टरनेटको स्पिड बढाउँदै जाँदा ई-बुकको लोकप्रियता झन् बढ्ने आकलन गरिन्छ । तर अर्कोतर्फ, साना पुस्तक पसलेहरूको व्यवसाय भने धरापमा पर्दै गएको बताइन्छ । खासगरी कोरोना सङ्कटपछिका सालहरूमा वर्षेनी पुस्तक पसलहरू बन्द हुने क्रम चलिरहेको छ । तर, जुन पुस्तक पसलहरूले अनलाइन व्यापारलाई पनि सम्मिश्रण गर्न सकेका छन्, उनीहरूले भने नाफा कमाइरहेका नै छन् । बजारमा उसकै पकड छ जसले नूतन र पुरातन सबै उपाय अपनाएका छन् ।
साहित्यिक इलममा पनि यस्तै हो । समकालीन साहित्यमा अनलाइन साहित्यको प्रयोग र अफलाइन गतिविधिहरूको आयोजनाले नै लेखकहरूलाई सफलतातर्फ लैजाने हो । धेरै पाठकसम्म पुर्याउने हो ।
चाखलाग्दो रूपमा नयाँ प्रवृत्ति के पनि देखिएको छ भने सेल्फ-पब्लिसिङ लेखकहरूको सङ्ख्याले आकाश छोएको छ । ई-बुक/पडकास्ट प्रकाशन गर्ने र सोसल मिडियाबाट विज्ञापन गर्ने जस्ता काम लेखक कै क्षमताभित्र पर्ने र ठुला प्रकाशन गृहहरूको पछि दगुर्न नपर्ने भएकोले यो ट्रेन्डले अझ व्यापकता पाउने विश्लेषण विज्ञहरूले गरेका छन् ।
२०२३ मा आइपुग्दा पश्चिमी देशहरूमा देखिएको यही प्रवृत्तिका केही लक्षण नेपालमा समेत धेरथोर देखिँदै छ । पश्चिमी साहित्य बजारमा देखिएका यी प्रवृत्तिहरूको मिहिन अवलोकन यस कारणले पनि महत्त्वपूर्ण छ की नेपाली साहित्यिक क्षेत्रले पनि ढिलोचाँडो यी नै प्रवृत्तिहरू अपनाउने प्रबल सम्भावना हुन्छ ।
ब्रसेल्स (बेल्जियम)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।