रिमरिम गर्दै पूर्वी भाग उज्यालियो । सँगै काठमाडौँको सौन्दर्य आँखाभरि उदायो ।
मन परेको ठाउँमा उभिएर हेर्दा हरेक कुरा मन पर्दै जाँदा रहेछन् । म एकाविहानै शुुभ्र काठमाडौँ नियाल्दै थिएँ, हिन्दू विद्यापिठको माथिल्लो तल्लाबाट । मैले देखेँ, क्षितिज कालोबाट पहेंलो हुँदै केही समयमै सेतो हुनेक्रममा थियो । एकपछि अर्को गर्दै रङ बदल्न व्यस्त ऊ, यसो भनौं, आफ्नो रूपलाई सिङ्गार्नमा मग्न, म पनि बेफुर्सद भएर हेरिरहेकी थिएंँ ।
मान्डलेको बेसरी गर्मी खाएको शरीर भएर होला मलाई खुब चिसो लागेको थियो मिरमिरे काठमाडौँको त्यो विहानमा । लुगलुुग काम्दै भए पनि यो सुन्दर दृश्य छोडेर जाने मन भएन । खुला छतमा म एक्लै थिएँ सायद । राति राम्रै निद्रा परे पनि अँध्यारोमै खुले आँखा, यसो घडी हेरेँ पाँच बजेछ । सुतिरहन मन लागेन । साथीहरू ढुक्कसँग निदाइरहनुभएको थियो, जगाउन पनि मन लागेन । उहाँहरूलाई पनि आफूलाई झैँ आनन्द भएको होला जस्तो लाग्यो, नहोस् पनि कसरी ? तैपनि उहाँहरूलाई एक्लै छाडेर काठमाडौँको खाल्डो एक एक नियाल्दैछु ।
घाम लागेपछि नजिकैको हिमाल पहेँलो भएको स्पष्ट देखियो । त्यो हिमाल हो भन्ने कुरा घाम नलागुन्जेलसम्म थाहा थिएन । अचानक चिच्याउन मन लाग्यो । हिमाल–हिमाल । तर मेरो कुरा सुनिदिन कोही उठेको थिएन । नेपालमा हिमाल छ भन्ने कुरा यो बेलासम्म बिर्सेको रहेछु । मधुरो भए पनि काठमाडौँबाट हिमाल देखिन्छ भन्ने कुरा याद नै नभएको । खुसीले एकाविहानै बुुरुक्क उफ्रिएँ ।
हिजो राति परिवारका सबैसँग आफू सुुरक्षितरूपमा नेपाल पुुगेको कुरा परिवारलाई बताएको थिएँ । खासमा बर्माबाट भारतको सिमानामा पुगेपछि मैले नेपाल पुग्नेबित्तिकै कुुरा गर्छु भनेको थिएँ तर प्राविधिक कारण, व्यस्तता र नेटवर्कका कारणले आइपुुगेको कुरा खबर गर्न पाएको थिइनँ । चार दिन भइसकेछ, कुरा नभएको । यसले उहाँहरूको चिन्ता बढाएको रहेछ । आफूू भनेँ नेपाल पुगिसकेपछि सबै कुरा बिर्सिएर मग्न पो भइरहेको रहेछु ।
‘स्वार्थी भइछौ छोरी, हामीलाई कति चिन्ता लाग्यो ।’ आमाले यसो भन्दा बल्ल आफूले समयमै खबर नगरेकोमा पश्चताप लाग्यो ।
मैले हाँसेर भने, ‘सिम थिएन अामा । फेरि फोन गर्दा नयाँ केही सुनाऊँ भनेर नि, आमा !’
‘के के देखिस् त ?’
मैले बेलिबिस्तार लगाएँ । पाटन दरबार, काठमाडौँ सहर र न्युरोड बजार । खासमा मैले आमाका लागि केही ढाकाको चोलो र धागोको पसल देखेको थिएँ । मेरी आमालाई तिलहरी लगाएर संगीनी नाचेको असाध्यै सुहाएको मैले देखेकी थिएँ । अरूबेला बर्मेली पहिरनमै देखिने मेरी अामालाइ नेपालबाट लैजान सक्ने त्यही सामग्री हो । यी समाग्री किन्न लाग्दा ज्ञान सरले फर्कदा किन्न सुझाव दिनुभएको थियो । तर मैले ती सामग्री किनिसकेको भनेर उहाँलाई खुसी बनाउन भनेँ । नभन्दै उहाँ निकै खुसी हुनुुभयो ।
कहिलेकाहीँ आफन्तलाई खुसी बनाउन झुुटो बोल्नुपर्छ । आखिर यो झुुटो पनि त होइन नि ! फर्कने बेलामा त किनिहाल्छु भन्ने लाग्यो ।
‘पशुपतिनाथ पुगिस् ?’ आमाले सोध्नुभएको थियो ।
‘भोलि जाने योजना छ ।’ मैले साँचो कुरा बताइदिएँ ।
तर भन्न बिर्सिएको कुरा चाहीँ काठमाडौँको चिसो र अहिले देखिएको हिमाल थियो । आज पशुपतिनाथ पुुगेर फर्केपछि आमाले सुनाउने कुरामा यी कुरा पनि थपिनेछन् ।
नाकले मगमग चियाको बासना थाहा पायो । नजिकै भान्सा छ भन्ने कुरा हिजो थाहा पाएकी थिएँ । भान्सामा विष्णु डाँगी सरको मिसेजले भान्साकी दिदीलाई सघाउँदै हुनुहुँदो रहेछ । हिजो मात्रै मेमसँग परिचय भएको थियो । मेरो भाषा–साहित्यका गुरु ज्ञान सर बर्माबाट नेपाल आउँदा साथ दिने व्यक्ति कोही हुनुहुन्थ्यो भने विष्णु सर नै हुनुहुन्छ भन्ने कुरा पनि थाहा पाएको थिएँ । यही कारण मेमसँग मेरो विशेष अनुराग हुनु स्वभाविक नै हो ।
हामीले पढेका, सुनेका सबै ऐतिहासिक कुराहरू भत्केर नजाऊन्, बर्माका नेपालीहरू जहिले नेपाल आए पनि यी कुरा देख्न पाउन भन्ने मेरो चाहाना छ ।
तर म उहाँलाई बोलाउन भान्सामा छिरिनँ । तर उहाँले म छतमा बसेर काठमाडौँलाई नियाली रहेको थाहा पाइसक्नुभएको रहेछ । म भान्साबाहिरै अलमल गरिरहेको बेला उहाँले गिलासमा चिया बोकेर आउँदाआउँदै भन्नुुभयो, ‘यति जाडोमा अघिदेखि बसिरहनुभएको छ, जाडो भएको छैन ?’
‘काठमाडौँको जाडोभन्दा यसको सौन्दर्य मनप¥यो ।’ मैले हाँस्दै भने, ‘अब त बानी भइसक्यो ।’
‘लौ चिया लिनुुस्, जाडो भाग्छ ।’ उहाँले चियाको कप अघि बढाउँदै भन्नुुभयो ।
‘आज पशुपति जाने भन्नुभएको छ, ज्ञान सरले । खान मिल्दैन ।’
‘अहो, कति धार्मीक !’
‘तीन पुस्तापछि बल्ल नेपाल टेकेकी छु । विश्वप्रसिद्ध मन्दिर जाँदा कसरी केही खानु ?’
मेरो हाउभाउबाट चिया नखाने कुरा बुुझेपछि मलाई धेरै कर पनि गर्नुभएन । सायद पशुपतिप्रतिको हाम्रो आस्था उहाँले महसुस गर्नुभयो होला ।
‘कस्तो रह्यो हिजोको यात्रा ? खुुब रमाइलो गर्नुभएछ, ज्ञान सरले मलाइ भन्दै हुनुहुन्थ्यो ।’ उहाँ मसँग कुुरा गर्न उत्सुक देखिनुभयो ।
मधुरो घाम लाग्न थालेको थियो । त्यही घाम ताप्दै मैले भनेँ, ‘हजुुर मेम, लुघुकथाको मञ्चबाट छुटेपछि हिँडेरै न्युरोटतिर लाग्यौँ । सिहंदरबारको बाटो कति ठूलो है ?’
“अरू के के हेर्नुभयो ?” उहाँ मेरो कुरामा अझै उत्सुक देखिनुभयो ।
‘बाटोमा दरबार हाइस्कुल देख्यौँ । लक्ष्मीप्रसाद देवकोटा पढेको त्रिचन्द्र कलेज पनि देख्यौँ । दरबार हाइस्कुल भुकम्पले भत्काएको देख्दा नराम्रो लाग्यो । त्यो ऐतिहासिक स्कुल बन्छ कि बन्दैन मेम ?’
‘खै, बनाउनु पर्ने हो ।’
उहाँले आश्वासन दिनुभयो । हामीले पढेका, सुनेका सबै ऐतिहासिक कुराहरू भत्केर नजाऊन्, बर्माका नेपालीहरू जहिले नेपाल आए पनि यी कुरा देख्न पाउन भन्ने मेरो चाहाना छ । सायद हरकोही यस्तै सोच्छन् होला ।
हाम्रो मनको कुरा नेपालको सरकारले कसरी बुुझोस् ?
‘अरू के के हेर्नुभयो ?’ उहाँ अझै उत्कुुक देखिनुभयो ।
‘टुँडिखेल हेर्याैँ । त्यसपछि न्युरोड बजार, सके जति सबै घुम्यौँ । रात नपरेको भए अझै घुम्ने थियौँ । अझै धीत मरेको छैन ।’ मैले हाँस्दै भनेँ ।
उहाँ पनि हाँस्नुुभयो । उहाँको बोली, हाँसो, व्यवहार अहिले पनि आँखामा टाँसिरहेको छ ।
केही क्षणमै केही तातेको घामको कारणले हुनसक्छ, सीमादी र मधुदीहरू आउनुभयो । र हामी दुुईलाई देखेर छक्क पर्नुुभयो ।
‘लौ तिमी यता पो ?’
उहाँहरू छेउमा आइपुुग्दा नपुुग्दै मेमले कुर्सीहरू ल्याइदिनु भयो । भान्साबाट उहाँहरूका चिया आयो । तर उहाँहरू पनि पशुुपतिनाथको दर्शन गर्न जाने भन्दै त्यसलाई अस्वीकार गर्नुभयो ।
‘रातिको खाना अझै बाँकी छ कि के हो ?’ चिया अस्वीकृत भएपछि मेमले हामीलाई जिस्क्याउनु भयो ।
खासमा हिजो न्युरोडको सपिङपछि लाजिम्पाटको एउटा संस्कृतिक रेस्टुराँमा गएका थियौँ । आफ्नो निम्तोमा खाना खुवाउने जोड यादव गाैतम सरले गर्नुभएको थियो । उहाँले त्यहाँका अनेक परिकारहरू चखाउनु भयो । त्यसमा पनि सांस्कृतिक विशेष थियो ।
यिनै पहाडमध्ये एक पहाडबाट कसैले मेरो हजुरबालाई १३ वर्षको हुँदा बर्मामा लगेर पढाउँछु भनेर लिएर गएका थिए रे !
कुरै कुरामा कसैले म¥याङ्दी आलु सम्झनु भयो । बर्मामा इन्सेँइ अालुकाे स्व्ाद यस्तै हुन्छ । मलाइ त्यसकाे सम्झना भयाे । कसैले क्वाटींको झोल सम्झनु भयो । खासमा नेपाली खाना त हामीले खाएकै हौँ तर रेस्टुराँमा त्यसरी नेपाली खाना खान पाइन्छ भन्ने हामीलाई थाहा थिएन । परिकार पस्कने शैली, थालहरू र नृत्य ठ्याक्कै कुनै चाडपर्वमा भेला भएका मानिसलाई गरिने सत्कार जस्तै थियो । यसरी संस्कृतिलाई पनि व्यवसाय गर्न सकिने रहेछ भनेर मलाई रमाइलोे लागेको थियो । हामीले घाम ताप्दै केहीक्षण यिनै कुरा ग¥यौँ ।
एकछिनअघि देखिएको हिमाल अहिले हराएछ । हिमाल भएपतिर हेर्दा नीला पहाडहरू देखिए ।ती पहाडहरू हेर्दै सीमादीले अाफ्नाे हजुरबुबाकाे कथा सुनाउनु भयाे ।
‘यिनै पहाडमध्ये एक पहाडबाट कसैले मेरो हजुरबालाई १३ वर्षको हुँदा बर्मामा लगेर पढाउँछु भनेर लिएर गएका थिए रे ! ती मान्छेले बर्मामा पुर्याएर अलपत्र छाडिदिनु भएछ । धेरै दुःख पाएपछि कसैले हुलाकमा काम लगाइदिए छन् । सानो उमेरमा उहाँ गोर्खाली सेनाको चिठ्ठी ओसारपसार गर्ने काममा लाग्नुु भएछ । त्यसपछि उतै बिहेबारी भएछ । मेरी आमा जन्मनु भएछ । आमाको पनि उतै विहे भएपछि म जन्मिएँ ।’
हामी सबै छक्क परेर सीमादीका कथा सुन्न थाल्याैँ ।
‘उता मेरा घरको हजुरबुुवा पनि त्यसैगरी केही कारणले उता जानुुभयो । उतै विवाह गर्नुभयो र बाबा जन्मनु भयो । यसरी उतै म पनि जन्मिएँ । यी नीलो पहाड अहिले हेर्दा लाग्यो, मेरा हजुरबुवाहरू उता नलाग्नु भएको भए म पनि यतै जन्मन्थेँ हुुँली । बसाइँसराइ कस्तो अचम्मलाग्दो कुरा रहेछ ।’
कथा सीमादीका थियाे तर ती कतै न कतै हाम्रा पनि थिए । उहाँले हाम्राे कुरा गरिरहँदा म भने अामा र हजुरबुबाले भनेका त्यस्तै खालका घरेलु कथा सम्झिरहेकी थिएँ । सायद, सरगम र मधुदीका कथा पनि यी भन्दा फरक थिएनन् ।
‘लौ पशुपति जानका लागि तयार हौँ । ड्राइभर आउन लागे रे !’ हाम्रा लागि हिन्दू विद्यापिठले सिंगै गाडी दिएर आजको दिन काठमाडौँ घुमाउने तयारी गर्दै रहेछ । आज उता धनगढीको साहित्यिक महोत्सवलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कुरा थियो । मलाई नजिकबाट नेपालकी राष्ट्रपति हेर्ने रहर थियो । तर धेरै यात्रु काठमाडौँबाट जाने भएका कारण टिकट नमिलेको कुुरा थाहा भयो । यही कारण यो एकदिनको समयलाई काठमाडौँ घुम्ने अवसरमा परिणत गरिएको रहेछ । उताबाट फर्कदा ढिलो हुने भएकाले पनि आजै काठमाडौँ घुमिसक्नु बाध्यता थियो । आखिर १५ दिनको मात्र भिसा पाएका कारण पनि हामीले सबै महत्वपूर्ण कुरा हेरिसक्नु पर्ने बाध्यता थियो ।
हामी गाडी चढ्दा बल्ल घाम केही तातिए । फागुनको महिनामा तातो घाम पाउन काठमाडौँमा मुुस्किल पर्छ भन्ने मलाई कल्पना थिएन । योबेला आमाहरू पसिना चुहाउँदै पसलमा खटिरहनुभएको होला । आखिर काम गर्ने बानी भएकालाई पसिना बगेको थाहा हुन्न ।
‘उ त्यही हो पशुुपतिनाथ ।’ ज्ञान सरले रोडबाटै पशुपति नाथको गजुुर देखाउनु भयो ।
पाटनको बालकुमारीबाट २० मिनेट पनि नबित्दै पशुपतिनाथ फेला पर्नुहुुन्छ भन्ने मैले कल्पना गरेको रहेनछु । मैले त पशुपतिनाथ टाढा बस्नुहुुन्छ होला भन्ने ठानेको थिएँ, नजिकै हुनुहुँदो रहेछ ।
मैले आँखा तन्काउँदै पशुपतिको गजुर, वरपरका जंगलको दृश्य र नजिकैको बागमति नदी हेरेँ । एकैछिनमा गाडी एउटा खाली ठाउँमा रोकियो । त्यहाँबाट मार्बलको बाटो हुँदै पशुपतिनाथ मन्दिर पुग्यौँ । खासै भीड थिएन । पशुपतिनाथ पनि भीड नभएको देख्दा मलाई अचम्म लाग्यो ।
‘भर्खरै शिवरात्री गएकाले मानिस कम आउँछन् ।’ ज्ञान सरले भन्नुुभयो, ‘नत्र यहाँ खुुट्टा राख्ने ठाउँ हुन्न ।’
बाबाकै पूजाको फल हो कि आज म दर्शन गर्न पाएंँ भनी सबैभन्दा पहिले मैले बाबालाई सम्झिएँ ।
पशुपतिनाथ मन्दिर अघिल्तिर पुुगेपछि म भावुक भएँ । यो त्यही मन्दिर हो जुन मेरो घरमा बाबाले पूजाघरकै छेउमा फोटो फ्रेम गराएर राख्नुभएको छ । हर साँझविहान प्रथना सकेपछि नतमस्तक फोटोमा पनि गर्नु हुन्छ । बाबाकै पूजाको फल हो कि आज म दर्शन गर्न पाएंँ भनी सबैभन्दा पहिले मैले बाबालाई सम्झिएँ ।
‘चार धाम जान नसके पनि पशुपति धाम जाने मेरो ठूलो इच्छा छ,’ बाबाले भनिरहने बात हो यो । आफ्नो जीवनको ६५ वर्ष घर–परिवार र छोरीहरूमा समर्पण गर्नुभएको बुबाको यो सपना मैले जसरी भए पनि पूरा गर्छु । यही कुरा बारबार मनमा आइरहन्थ्यो । जुन अहिले पूरा भइरहेको थियो ।
म पशुपति परिसर पुुगेपछि पुनः बच्चा जस्तै भएँ । मेरो मन पशुपति परिसर, बागमति नदी, आर्यघाट हुुँदै त्यहाँका गाई, बांदरहरूसमेतमा सहजै रमाइलो मानिरहेको थियो । मैले त्यहाँका रहेक दृश्यलाई बढीभन्दा बढी कैद गरेँ । भित्र जाँदा मोबाइल लैजान नपाउने नियम थाहा पाएपछि मोबाइल बुुझाउनुुअघि त्यहाँका दृश्य भागिजान्छन् जस्तै गरेर म बढीभन्दा बढी फोटो खिचिरहेकी थिएँ । मलाई कुन दृश्य कसलाई बढी मन पर्छ भन्ने कल्पना आइरहेको थियो । आमा, बाबा र बैनीलाई मन पर्ने दृश्यहरू खोजी गरिरहँदा अरू साथीहरू भने मलाई कराउँदै पशुुपतिनाथतिर लाग्नुभयो ।
म पनि हतारिएर मोबाइललाई नदेख्नेगरी लुकाएर अघि बढेँ । शिवरात्रीको सजावटले प्रवेशद्वार र मूलद्वारसहित अझै केही ठाउँ रंगीचङ्गी नै थिए । सबै मित्रहरूले लाइन लागेर पूजा गर्नु भयो । मैले पनि पहिले आमाको नाममा, त्यसपछि बाबाको नाममा, त्यसपछि बैनीको नाममा र त्यसपछि सम्झे जति सबैको नाममा पशुपतिको परिक्रमा गरेँ ।
ज्ञान सर बाहिर हामीलाई कुरेर बस्नुभएको थियो । हामीलाई पशुपतिनाथको दर्शन गर्ने समय केवल आधा घन्टा मात्र दिनुभएको थियो । त्यसैले हाम्रो यो झटपटे घुमाइ थियो । सुरूमा त आधा घन्टाको समय धेरै लागेको थियो तर पशुपति परिसरका हरेक कुरा पूरातात्विक महत्वले भरपूर रहेछन् । “यूनेस्कोले विश्व सम्पदामा सूचिकृत गरेको छ यो मन्दिर ।“ सरले मन्दिरबारे अघि नै बताउनुभएको थियो । बल्ल यसलाई किन यूनेस्कोले सुचिकृत ग¥यो भन्ने कुरा मन्दिर परिषरका कुराहरू हेर्दा थाहा पाएँ । आधा घन्टा त एकैछिनमा बितिगयो ।
हामी गाह्राे मान्दै पशुपतिनाथ बाहिर निस्कियौँ । बाहिरतिर बागमति नदी बगिरहनु भएको थियो । मैले कल्पना गरेभन्दा यो निकै सानो नदी रहेछ । त्यो पनि केही फोहोर । मलाई ननिको लाग्यो । नेपालका अरू नदी कलकल गरेर सङ्लो बग्छन्, यो नदी मात्रै किन यति सानो र फोहोर भएको होला, मलाई अचम्म लाग्यो । यति धेरै महत्व बोकेको मन्दिर र नदीलाई त कृत्रिम पानी ल्याएर भए पनि सङ्लो बनाउनु पर्ने हो । आखिर नेपालमा पानीको कमी कहाँ छ र ? मनमा यस्तो कुरा आए ।
बागमति नदीपछि मेरो आँखा आर्यघाटमा गयो । बर्मामा धेरै जसो मृतकलाई माटोमा गाड्ने चलन छ । हामी गोर्खालीहरूलाई मात्र मृत्युपछि जलाउने गरिन्छ । यही कारण मलाई त्यहाँको मृत्यु संस्कारले तान्यो । नजिकै दुुई तीन लासहरू जलिरहेका थिए । नेपाल र बर्मामा शव जलाउने विधिविधान भए पनि बर्मामा कति धनी मान्छे म¥यो भनेर मलामी हेरिन्छ ।
सरगमलाई पनि मेरोजस्तै भावना आइरहेको रहेछ । सरगमले भनिन्, “बरू बर्मेली तरिका ठिकै, दाउरा किन्न नसकेर चिन्ता पनि भएन । धनाढ्य हूँ भनी भएभरका फूल सजाएर फूलैको महल बनाएर पनि भएन । सबै मृतकलाई विधिअनुसार माटामा गाड्छन् । हामी नेपाली मात्रै धनी र गरिब ठ्याक्कै छुुट्टिन्छ । परम्पराबाटै यही तरिकाले चलिआएको यो स्थितिलाई हामीले आफूआफैँमा बहस गरिरहँदा पनि केही हुनेवाला थिएन । खिन्न मन लिएर उकालो सिँडीतिर उक्ल्यौँ ।
ज्ञान सर भन्दै जानुहुुन्थ्यो, ‘यो श्लेषमान्तक वन हो । यहाँ शिवपार्वती घुुम्न आउनुहुुन्थ्यो ।’
ज्ञान सरले प्लास्टिकमा हालेका पोकाहरू बाहिर नदेखाउनु भन्नु भाको थियो । यो कुरा हामीले बिर्सिएका रहेछौँ । अचानक एउटा बाँदरले आक्रमण गरेर हाम्रो प्लास्टिक खोस्यो । झन्नै खाने चीज नहुनाले फिर्ता गरिदियो । बाँदरको यो चाल देखेर हामी मज्जाले हाँस्यौँ ।
नदी पार गरेपछि हामी उकालो लाग्यौँ । ज्ञान सरले स्वस्थानी व्रतकथामा उल्लेख भएको सतिदेवीको अङ्पतन भएको गुुहेश्वरी मन्दिर लैजाँदै हुनुुहुन्थ्यो । हर बर्मेली नेपालीलाई स्वस्थानीको कथा कण्ठ छ । हरेकको घरमा स्वास्थानीको किताब हुनु अनिवार्य छ । यस्तो अवस्थामा गुहेश्वरी पनि पशुुपतिनाथ जस्तै हेर्ने पर्ने ठाउँ थियो । हामी स्वाँ स्वाँ गर्दै उकालो लाग्दै गयौँ । बाटोमा ज्ञान सर भन्दै जानुहुुन्थ्यो, ‘यो श्लेषमान्तक वन हो । यहाँ शिवपार्वती घुुम्न आउनुहुुन्थ्यो ।’
कुरा सुन्दा पनि स्वर्गमा पुुगेको अनुुवभ भइरहेको थियो हामीलाई । माथि चढेपछि हामीले बागमति नदी र त्यसको पर बौद्धनाथ मन्दिर देख्यौँ । बर्मामा हिन्दू मन्दिर कमै छन् । जति छन्, गोर्खालीहरूले बनाएका छन् । केही हिन्दुस्तानीहरूले पनि बनाएका होलान् तर धेरै त गोर्खालीहरूकै छन् । तर गुम्बा जताततै छन् । नेपालमा भने बल्ल एउटा राम्रो गुम्बा देखियो । पशुपतिनाथबाट टाढै भए पनि त्यो गुुम्बालाई नमस्कार गरेर हामी तल गुहेश्वरीतिर लाग्यौँ ।
घर गएर भन्नुु छ, सतीदेवीको अङ्ग पतन भएको ठाउँमा पुुगेर आएको भनेर । यो खबर कुन बेला बर्मा पुुगेर सुनाऊँ जस्तो हुन थालिसक्यो मेरो मन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।