राहुल भाइ र मेरो सम्बन्ध सुत्र हुन् लगनशील साहित्यकार सुकराज दियाली । राहुल भाइको अघिल्लो कृति ‘कालो अक्षर’को विमोचनमा मुख्य अतिथि बनेर पुगेथेँ सुदूर मणिपुर । ‘कालो अक्षर’माथि लेखेँ, बोलेँ अनि हिमालय दर्पणमा छापियो पनि । साहित्यिक साइनो अझ दरिलो बन्यो । राहुल भाइको ममाथिको विश्वासले यो कृतिको भूमिका लेखनसँगै अरू दायित्व पनि लिएर पाठकहरू समक्ष छु ।
कथाहरूको सफ्टकपी मेरो हातसम्म आइपुग्यो । विस्तारै काम शुरु भयो । एकदमै विस्तारै । “हतार नगर्नू भाइ, हतारले काम बिग्रन्छ” भन्दै उनको ताकेता टार्दै गएँ । मलाई थाह छ, उनको धैर्य अब टुट्नै लागेको छ । मानसिक अत्याचारै पो गरेँ कि भन्ने पनि लागिरहेछ ।
तर काम सकियो ।
कृतिको नाम के राख्ने भन्ने सल्लाह हुँदै थियो । मैले कथा–सङ्ग्रहबाटै एक कथाको शीर्षकलाई चुनेँ ।
उनले एकदिन “सर, कृतिको नाम ‘मितोप’ राख्नुप¥यो” भनेर फोन गरे । नाम मीठो लाग्यो । मितोपको अर्थ सोधेँ । “मणिपुरी भाषामा मितोप भनेको विदेशी वा मणिपुरभन्दा बाहिरको मान्छे भन्ने हो सर” राहुलले अर्थ खुलाए, “हामीलाई धेरैजसोले यसै भनेर हेला गर्छन् यहाँ ।”
मैले कथा ‘लाञ्छना’लाई सम्झेँ । कथाको पृष्ठभूमि, भाव र तीव्र संवेदना छाम्न पुगेँ । मणिपुरमा मात्र होइन कि भारतका हरेक साना–ठूला सहर, गाउँ–बस्ती र नागरीय जीवन धान्ने भारतीय गोर्खाहरूका साझा पीडाबोधको विषयमा छ कथा लाञ्छना । यता दार्जिलिङमा हामी जमीनसितै भारतमा आएको तथ्यहरू पेश नगर्दा हजारौँ हाम्रा सन्तानहरू मेचीपारि पु¥याइए । आज आसाममा लागू भइरहेको एन.आर.सी.का कारण हजारौँ हाम्रा भूमिपुत्र आफन्तहरूले कतिपय तथ्य र मानक जोहो गर्न नसक्दा ‘मितोप’को लाञ्छना झेल्नु परिरहेको सत्य आँखासामुन्ने छ । त्यही प्रक्रिया अरू राज्यमा पनि लागू हुँदा हामी राजनैतिक शिकार बनी फेरि घरको न घाटको बन्ने अवस्था आउने निश्चित छ । मलाई लाग्यो, राहुलको यस सङ्ग्रहका कथाहरू पूर्वोत्तर भारतको मात्र नभएर समग्र भारतीय गोर्खाको साझा कथा हो ।
हामी भारतमा छौँ । हामी भारतीय हुनुमा गर्वबोध गर्छाैँ । हामीमा राष्ट्रबोधको चेतना पनि छ । तर, हामी नै राष्ट्रिय मूलधाराबाट सधैँ किनाराकृत छौँ । हामी भारतभित्रै पनि उत्तर औपनिवेशिक चिन्तनाको साङ्गलोभित्र छौँ । हाम्रो राष्ट्रियता मात्र होइन कि शैक्षिक, आर्थिक तथा सांस्कृतिक सम्पदासमेत जनबाहुलता र राजनैतिक बहुसङ्ख्यकहरूको थिचोमिचोमा परेको इतिहास कसैबाट लुकेको छैन । हाम्रो शताब्दीय सपना बेलाबेला तुहुने गरेकोले, हाम्रो आफ्नै अस्थिर मानसिकताले हामी आत्मपराजित भएर बाँचिरहेका छौँ । यदि यस्तै स्थिति निरन्तर बनिरहे वर्तमानमा कतिपय अफ्रिकन आदिम जनजातिहरू विलुप्त बनेजस्तै हामी पनि भारतको मानचित्रबाट विलुप्त हुने स्थितिमा छौँ । यस्तै अनेकन प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छन् यसै कृतिका कथाहरू ‘याद’, ‘लक्ष्य’ र ‘थिए’ले ।
यी कथाहरूमा मणिपुरको माटोको मगमग वासना आउँछ । उनको कल्पना वायुपंखी घोडाजस्तै जताततै विचरण गर्नेखालको छैन । अलिकति कल्पना र अलिकति यथार्थको यौगिक रसायनले कथाको समिरकरण पूरा गरिएको छ । हरेक कथाले मणिपुरको विगत र वर्तमान उधिन्ने प्रयत्न गरेका छन् । राजनैतिक चलखेलइतर जाति र गोष्ठी माझको द्वन्द्व, युद्ध, आतङ्क आदिले आधा–मासु बनेको पूर्वोत्तर राज्यहरूमध्येको एक पीडित राज्य मणिपुरको यथार्थ दर्साउन कथाहरू सक्षम छन् । हाम्रा गोर्खा समाजले झेल्नुपर्ने मात्र नभएर त्यहाँको भूगोल, इतिहास र हावापनीसँग मिल्नुपर्ने, सम्झौता गर्नुपर्ने र आफ्नो अस्तित्व बनाइराख्न गर्नुपर्ने सङ्घर्षका यथार्थ झिल्काहरू पनि कथामा टिपिएका छन् । यसैले राहुलका कथाहरूलाई मात्र कथा भन्न मिल्दैन । यसमा केही जातीय इतिहासका, संस्कार–संस्कृतिका, भाषा–साहित्यका अर्थात संक्षेपमा भन्दा स्वःपहिचानका हरेक बिन्दुलाई कथाका अवयवमा घोलिएका छन् ।
हल्काफुल्का विषयजस्तो लागे पनि पुनर्पठन र पुनर्चिन्तनमा यी कथाहरूले धेरै गम्भीर कुराहरूलाई सङ्केत गरेको पाउँछौँ ।
नोवल पुरस्कार विजेता, अस्तित्ववादी तथा विसङ्गतिवादी चिन्तक अल्वेयर कामुले आफ्नो पुस्तक ‘मिथ अफ सिसिपस’मा भनेका छन्, “हामी इष्र्या, स्वार्थ, घृणा, महङ्खवकाङ्क्षा आदिको ब्रह्माण्डमा छौँ । अर्को शब्दमा भन्ने हो भने आध्यात्म वा मानसिक अवस्थाको ब्रह्माण्ड हो त्यो ।” यस्तोमा कथाकार राहुल उनको युवा उमेरमा देखेका र भोगेका केही संवेदन र संवेगलाई पनि आफ्ना पात्रमार्फत् साझा गर्छन् । जीवनमा निकै उतारचढाव भोगेका कथाकारको प्रच्छाया दोहोरिएर आउँछ कथामा । कथाकै स्वरूपमा । विसङ्गति र समाजको मनोविज्ञान बुझेका कथाकार पाठकलाई ती नकारात्मकता र निरासाका गह्रौँ भारी बोकाउन चाहँदैनन् । अलिकति हलुका हाँस्य, केही व्यङ्ग्य र आइरनी आख्यानांशसित पाठकलाई कथाको केन्द्रतिर हुल्छन् । प्रेमका कुरामा होस् या मित्रता र मानवताका सार्विक विषयमा, उनले कथामा सङ्गति–विसङ्गति, मिलन–विछोड, हर्ष–पीडा, शत्रु–मित्र, यी सबै जीवनगत अनुभूति र अनुभवलाई आफ्नै उमेर, भूगोल, इतिहास, वर्तमान सापेक्षित चिन्तन र ज्ञानको परिसीमाभित्र पर्गेल्ने कार्य गरेका छन् । त्यसैले हल्काफुल्का विषयजस्तो लागे पनि पुनर्पठन र पुनर्चिन्तनमा यी कथाहरूले धेरै गम्भीर कुराहरूलाई सङ्केत गरेको पाउँछौँ ।
कथा बनोट र परिवेश निर्माण स्थायी र एकैनासे छैनन् । कतै वर्णानात्मक त कतै इतिवृत्तात्मक, कतै संवादात्मक त कतै नाटकीय, कतै संस्मरणात्मक त कतै निबन्धात्मक । प्रथम पुरुषवाची कथा–वाचनको आधिक्यले कथाको विश्वसनीयतामा र लेखक–पाठकको मैत्रीचेतनालाई सहज सम्प्रेषणीयता मिलेको छ । कति कथामा प्रयुक्त संवाद शैलीगत प्रस्तुतिकरण नै कथाकारको शक्ति हो कि झैँ पनि लाग्छ । उनले स्थानिय भाषा, लवज र जनबोली कतिपय ठाउँमा जस्ताको तस्तै टिपे पनि कथाको व्याकरणीय स्तर र भाषाको मानकमा सम्पादकको कैँची परेको तथ्य पनि यहाँ खुलाउँछु । तर आवश्यकता अनुसार छाडिएका यस्ता जनबोली र सामयिक पदहरूका चयन हेर्दा मात्रै पनि कथाकारको कथा सिर्जनको सचेततालाई मान्नैपर्ने हुन्छ । समयलाई कथामा हुल्न विद्युतीय तथा सञ्चार उपकरण र परिभाषिक पदावलीको प्रयोग निक्कै सोचेर गरेका छन् । कथामा समयान्तर दर्साउन पनि यसलाई एक माध्यमको रूपमा प्रयोग भएको मान्न सकिन्छ । यसबाट कथाकार राहुलका पूर्व कृतिहरूका कथा निर्माण र सिर्जनामा निक्कै ठूलो पार्थक्य र उध्र्वगतिरूपको परिपक्वता र परिमार्जन देख्न सकिन्छ ।
कथाकार राहुलबारे
श्रीमान् जङ्गबहादुर राई र स्व. सोमलक्ष्मी राईको कोखबाट सन् १९८४ मा मणिपुरको इराङमा जन्मिएका हुन् राहुल राई । ‘काला अक्षरहरू’सित स्वःप्रयास र स्वःअध्ययनको सङ्घर्षमा विजयी बनेका राहुल राई ‘बोगिको’को भाषा–साहित्यप्रतिको जुन स्नेह, लगाव, झुकाव र समर्पण छ, त्यसको मात्रै कदर गर्दा पनि उनका सिर्जनाहरूप्रति पाठकको आकर्षण बढेर आउँछ ।
सिक्नुपर्ने कुरामा उनी सधैँ विनम्रता जनाउँछन् र नजानेको कुरा सहजताका साथ स्वीकार गर्दै सिक्ने उपक्रममा लाग्छन् ।
उनी पढेरभन्दा पनि परेर साहित्यको जोखिमपूर्ण यात्रा तय गरिरहेका छन् । उनलाई यति थाह छ, साहित्य सिर्जनको यो यात्रामा निष्ठापूर्वक लेखिरहनुपर्छ, सक्दो पढिरहनुपर्छ र सकेसम्म सिकिरहनुपर्छ । सिक्नुपर्ने कुरामा उनी सधैँ विनम्रता जनाउँछन् र नजानेको कुरा सहजताका साथ स्वीकार गर्दै सिक्ने उपक्रममा लाग्छन् । यसो गर्दागर्दै आज उनी धेरै थोक सिकाउने र सिक्न चाहनेहरूलाई बाटो देखाउन समर्थ बनेका छन् ।
साहित्य सिर्जनको रूपमा उनी कविता र कथा सराबरी लेख्छन् । उनका पूर्व कृतिहरू यसप्रकार छन्ः
१. एक जोडी परेवा (कथा सङ्ग्रह– २०११)
२. एक मुठी कविताहरू (कविता सङ्ग्रह– २०१३)
३. मेरा अनुभूतिहरू (कथा सङ्ग्रह– २०१४)
४. कालो अक्षर (कविताहरूका सङ्ग्रह)
पाचौँ कृतिको रूपमा ‘मितोप’ (९ वटा कथाहरूको सङ्ग्रह– २०१९)
अरूका जस्तै उनका पनि हरेक सिर्जना मास्टरपिस नहोलान्, तर केही राम्रा कविता र कथा उनले लेखिसकेका छन् । उनी पुरस्कृत र सम्मानित पनि भइसकेका छन् । आशा छ, उनको यो ‘मितोप’ कथा सङ्ग्रहले उनलाई फरक पहिचान दिलाउनेछ । यो पनि विश्वास छ, उनले अझै योभन्दा उत्कृष्ट रचनाहरू सिर्जना गर्न निरन्तर प्रयत्न गरिरहनेछन् ।
जीवन धान्न अरूका घरमा गोठालो बसेको तीतो अनुभव बोकेका राहुल गाडी चलाउन सिकेर चालकदेखि आफँै गाडी मालिकसम्म बनेका हुन् । गाडी हाँक्नुदेखि गाडीको प्राविधिक ज्ञानसम्म राख्ने यी सर्जक व्यापारी पनि हुन् । समयको माग–पूर्ति र आयस्रोत निर्माणको निम्ति आफ्नै ‘कम्प्यूटर प्रशिक्षण केन्द्र’ खोलेर अरूलाई समेत आयस्रोतको बाटो खुलाइदिएका छन् । आफ्नै आधुनिक छापाखाना अर्थात् सर्वसुलभ प्रेस खोलेर सेवा दिँदै आय–आर्जन गर्छन् । मणिपुरको गोर्खाली समाजको एक उद्यमी युवाबाट हुने हरेक कार्य गर्न उनी अघि सर्छन् । त्यहाँको साहित्यिक, सामाजिक, सांस्कृतिक, धार्मिकलगायतका क्षेत्रमा उनको सहभागिता राम्रो रहेको देखिन्छ ।
मणिपुरको प्रत्येक घरले उनलाई चिन्छ, किनकि आफू मात्र चिनिने काम गर्दैनन् उनी ।
काम गर्नकै निम्ति उनी आफ्नै सम्पादनमा ‘सिरोई सिर्जना’ पत्रिका नियमित प्रकाशन गर्छन् । मणिपुरको स्तरीय तथा उल्लेखनीय साहित्यिक पत्रिका ‘गोर्खा ज्योति’को सह–सम्पादकको भार थेग्न पनि भ्याउँछन् । वरिष्ठ साहित्यकार र सम्पादक डा. सीताराम अधिकारीसित काँधमा काँध मिलाएर साहित्य कर्ममा निरन्तर योगदानरत छन् । साहित्यिक गोष्ठी र सांस्कृतिक कार्यक्रमहरू आफैँ आयोजन गर्छन् । नभए अरूले आयोजन गरेका यस्ता कार्यक्रममा तन, मन र धनले काँध दिन अघि सर्छन् । यस्ता कार्यक्रममा मणिपुर बाहिरबाट आएका मात्र होइन, आफैँ निम्त्याएर हरेक साना–ठूला अतिथि साहित्यकारहरूलाई खुला हृदयले सत्कार र सम्मान गर्छन् । नेपाली साहित्य परिषद् मणिपुर, भारतीय गोर्खा परिसङ्घको मणिपुर शाखा जस्ता ठूला सङ्घ–संस्थामा आबद्ध उनले जातिहितका काम गरेको देख्दा हामी अवाक् बन्छौँ । मणिपुरको प्रत्येक घरले उनलाई चिन्छ, किनकि आफू मात्र चिनिने काम गर्दैनन् उनी । उता म्यान्मारदेखि यता मणिपुरका अधिकजसो सिर्जनशील अग्रज, अनुज र समकालीन सबैलाई चिनाउने उपक्रममा पनि उनी निःस्वार्थ लागि पर्दछन् ।
राहुल गीत पनि लेख्छन् । गीतका शब्दलाई सङ्गीतको माध्यमले जीवन्त बनाउने प्रयास गर्छन् । गायन पनि उनको रुची भित्र पर्छ । यति मात्र नभएर उनले आफ्नै खर्चमा गीतका म्युजिक भिडियो पनि निकाल्छन् । अभिनय उनको अर्को प्यासन हो । स–साना भिडियो, फिल्म बनाउने र अभिनय गर्ने मात्र होइन, नेपालका चर्चित चलचित्रकर्मीहरूसँगको सहकार्यमा ठूलै लगानी गरी ‘सायाबुङ’ जस्तो ठूलो पर्दाका चलचित्र निर्माण र अभिनयमा समेत आफूलाई प्रस्तुत गरिसकेका छन् । राष्ट्रियस्तरको पहिलो भारतीय नेपाली सेटलाइट टेलिभिजन ‘एबीएन’को संवाददाता बनी धेरै समाचार र सन्देशमूलक डकुमेन्ट्री पनि राहुलले बनाएका छन् । उनी आफू कडा मिहेनत गर्छन्, कमाउँछन् र यस्तै कार्यहरूमा फेरि लगानी गर्छन् । डुब्छन् केही, अनि तैरिँदै फेरि उक्सिने अर्को मेलो समाउछन् । उनको गतिशील जीवन हेर्दा उनी परिस्थितिलाई जस्तै समयलाई पनि हाँक दिन जन्मिएका हुन् कि झैँ लाग्छ ।
यी सबै कर्म, व्यवहार र सिर्जनाले उनलाई ‘व्यक्ति एक व्यक्तित्व अनेक’ भएका मणिपुरे सर्जक बनाएको छ । यस्ता व्यक्तिको कृतित्वको कीर्ति समयले चिन्ने छ र पुज्ने छ । यो निश्चितताबारे म ढुक्क छु ।
‘मितोप’को सफलताको कामनासहित ।
रोङ्गो, भारत
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।