ज्ञानेन्द्र खतिवडा भन्नासाथ दिमागमा ‘खस्नै लागेको उज्यालो’को मधुरो कभरसँगै ‘शब्दसमय’ आइपुग्छ । ज्ञानेन्द्र ऐना अघिल्तिर उभिएर (जून, सन् २०२३) जीवनलाई कवितामा हेर्न चाहन्छन् । कविताका बारेमा बहस गरिरहने, उनी कविताका पुरानै साधक हुन् । उनको अलगै र रहरलाग्दो लबज छ । त्यसैले पनि कवि आफैँ भारतीय नेपाली साहित्यमा बिम्ब भएका छन् ।

ज्ञानेन्द्रलाई त्यही तीन दशक पुरानो सङ्ग्रहमा मात्र चिन्नु एउटा कविको अवमूल्यन गर्नु हो । मलाई त्यस्तै लाग्यो, जब उनका यस सङ्ग्रहका कविता पढेँ ।

एउटा रोचक कुरा भनिहाल्छु । उनको ‘खस्नै लागेको उज्यालो’ कवितासङ्ग्रह सन् १९९५ मै आएको थियो । त्यसको अहिलेसम्म कुनै संस्मरण आएको छैन । अर्थात्, अघिल्लो शताब्दीको अन्तिम दशकको मध्यतिर निकालेको पुस्तकले नै भनिरहेको थियो- ‘तँ निरोगी कवि बन्न सक्दैनस् ।’

हाम्रो जस्तो देशमा कवितासङ्ग्रहकाे कुनै संस्मरण नआउनु अनौठो मान्नु पर्दैन । तर, यति लामो समयपछि अर्को सङ्ग्रह आउनु चाहिँ ठुलो उपलब्धि मान्नुपर्छ । कविताको दयनीय अवस्थाप्रति विख्यात कवि अक्टोभियो पाजले केही वर्षअघि आफू बाँचेको समयसँग एक मार्मिक प्रश्न गरेका थिए- ‘कविता कसले पढ्छ ?’ यस्तै अनुभव बिसौँ शताब्दीको तेस्रो दशकतिर ‘विभ्रम र यथार्थ’ लेख्दै गर्दा प्रसिद्ध बेलायती चिन्तक क्रिस्टोफर कड्बेललाई पनि भएको थियो । उनले आफ्नो पुस्तकमा धेरै मानिसले कविता नै पढ्दैनन्, पढ्ने इच्छा नै देखाउँदैनन् र आवश्यकता नै महसुस गर्दैनन् भन्ने तिखो टिप्पणी गरेका छन् ।

त्यसैले ज्ञानेन्द्र सचेत छन् र भन्छन्- ‘रोगी कविताले मलाई पनि रोगी नै बनाउँछ कि…! डर लाग्छ । सङ्क्रमणीय अवस्थामा पुग्छु कि…! भयातुर बन्छु । तर, फेरि असफलता र रोगी कविताहरू नै बोकेर दोस्रो सङ्ग्रहका रूपमा मान्द्रोमा बिस्कुन बनाएर चहकिलो घाममा फिँजाउन पुग्दै छु ।’

कविता पढ्नु सामान्य होला, तर बुझ्नु चाहिँ कठिन काम हो । त्यसै पनि अन्तरिक्षबाट पृथ्वी हेरेजस्तो हुन्छ कविता ! जब पृथ्वी घुम्ने र कविताको गाँठाहरू फुस्काउने प्रत्यान्त गरिन्छ, कहिल्यै सकिँदैन ।

नेपाली कवितामा क्लिष्टता एउटा पीडा भएर रहेको छ । तर सबै कविता क्लिष्ट हुँदैनन् । नबुझिनुको समस्याले पाठक ग्रस्त छन् । सबै कविता नबुझिने पनि हुँदैनन् । थोरै शब्दहरूले धेरै कुरा बोल्नु पर्ने भएको कारणले अलिक सन्दर्भ बुझ्न कठिन त होला  । त्यसो त यो पनि भनिन्छ- ‘जसरी पाठकको स्तर हुन्छ त्यसरी नै कविताको पनि स्तर हुन्छ ।’ कविले कविताको बारेमा प्रकाश पारिरहनु पर्दैन ती आफैँमा मर्मशील हुन्छन् । कवितामा ठुलो शक्ति हुन्छ जसमा एउटा गहन विचार, अन्तर्निहित भावना र गतिलो सन्देश दिने शक्ति राख्दछ । कविता बुझ्न समयचेत र सान्दर्भिकतालाई मनन त गर्नै पर्ने हुन्छ ।

एकपटक कविता पढ्नु भनेको कविता बुझ्छु भन्ने अभिमानबाट बाहिर निस्कनु पनि हो । त्यसमाथि कवितामा प्रयोग हुने बिम्ब र संरचनाले खास अर्थ बोकेको हुन्छ । जब पटकपटक पढ्न थालिन्छ, त्यसको गहिराइ कति हो थाहै हुँदैन ।

त्यसैले ज्ञानेन्द्रको स्वीकारोक्ति छ- ‘कविता विचार हो । कविता शिल्प हो । कविता विचारलाई माझ्ने सबैभन्दा ठुलो औजार हो । सोचाइको तहबाट कविताको झल्को आउनुपर्छ । आउँदा कला र शिल्पभित्र सौन्दर्यको पौल बोकेर निरोगी भएर आओस् कविता, मलाई यस्तै लाग्छ । समाजलाई चाहिने थोक हो कविता । मानिसलाई परिष्कार बनाउने क्षमता राख्छ कविता । तर, कविताका नाममा कवि दरिन, थपडीको ध्वनि सुन्ने लोभ र हत्केलाको थप्पड पो बन्छ कि भनेर म सधैँ सचेत बन्न पुग्छु ।

तर, क्षमताले पुग्दैन ।

र, हार खान्छु ।

प्रतिभाले पुग्दैन । र, चुपचाप बस्छु ।

अनि मन मारेर बस्दा आइपुग्छन् कवि भविहरू ।’

उनको स्वीकारोक्तिले कम घोत्लिएँ । बढी अनुभूति गरेँ । र, पढ्न सजिलो बनाइदियो ।

कसैको कविता पढ्नुअघि कविले आफ्नो कवितामाथि गरेको टिप्पणी पढ्न जरुरी पनि छ । कविताको भ्रूण कस्तो थियो ? कसरी जन्मियो ? कसरी हुर्कियो ? यसले विशेष अर्थ राख्छ ।

स्पष्टभन्दा कवितामा कविले देखाएको एउटा पाटाे थाहा हुन्छ । हुन त कुनै कवितामाथि कविले देखाएको अर्थ नै सत्य हुन्छ भन्ने होइन । तर, कविता कविसँग असम्पृक्त हुन्छ । ऊसँग कविताको गर्भ हुन्छ । त्यसकारण कविको दृष्टिकोण बुझ्न जरुरी छ ।

ज्ञानेन्द्रको पनि भावना छ- ‘विचार होस् । विचार मात्र चाहिँ नहोस् । विचार मात्र त दार्शनिककै जिम्मा लगाइदियौँ न कविहरूले । दार्शनिकहरू पनि आफ्ना विचारमा परिष्कृत खोज्दै कवितामा आइपुग्छन् । विज्ञानीहरू पनि कवितामा आइपुग्छन् । नारामा भन्दा ज्यादा तुक्का र अनुप्रास मिलेको अरू कहीँ हुँदैन । अझ बङ्गाली नेताले लगाएको नारामा एउटा मिठो रिदम पनि मिसिएर आउँदा सुनौँ सुनौँ लाग्छ । तर, त्यो नाराले कविता बन्ने क्षमता राख्दैन ।’

ज्ञानेन्द्र सस्तो भावनाबाट टाढा छन् । उनलाई देशले निर्धारण गरेका राष्ट्रियताका मानक चित्त बुझेको छैन । देशले बुझ्ने गरेको देशप्रति विद्रोह छ । त्यहीँ भएर सजिलो भाषामा विद्रोह गर्दछन्-

समय

बन्द छ

मात्र एउटा कोठामा

आँखाहरू सयौँ वर्षअघि

बन्द भएको घडीका काँटाहरू

पर्खिएर बसेका छन्-

क्यापिटलको निधारमा

समय चल्छ कि !

समय एउटा कोठामा

अचेत लडिरहेछ

मलाई पनि अँगालेर

अहिलेसम्म नै लडिरहेछ । 

(दार्जिलिङ, पृ. २८)

यसरी ज्ञानेन्द्रका प्रत्येक कविता स्वयम्मा भावचित्र हुन् । भावकले आफ्नो अनुभूतिसँग मिसाएर विभिन्न अर्थ वा भावमा तिनको विश्लेषण गर्न सक्छन् । कविताको एउटै सोझो  अर्थ हुँदैन । लक्षणा वा व्यञ्जनाबिना उत्कृष्ट कविता बन्न पनि सक्दैन ।

तेञ्जिङ

सगरमाथाको देशले

भर्खरै, हो भर्खरै

भोका-नाङ्गा र कमजोर ठानिएकाहरूको

एक एक पाइला जोगाड गरेर

अर्को एउटा सगरमाथा टेक्यो

देश डल्लै तेञ्जिङ भइदियो । 

(फेरि अर्को एउटा सगरमाथा र तेञ्जिङ, पृ. ८१)

यसरी कविले सगरमाथालाई प्रतीकका रूपमा प्रस्तुत गरेर जीवनको गीत गाएका छन् । बिम्ब र प्रतीकहरूका माध्यमबाट जीवनका विविध पक्षको चित्रण गरिएको छ । अर्थगत वैचित्र्य र भावगत गहिराइ ज्ञानेन्द्रका कविताका विशेषता हुन् ।

यो कवितासङ्ग्रह बारे भन्नुपर्ने कुराहरू धेरै छन् । कविताको बहावमा बग्दै जाँदा धेरै पात्र र चरित्रहरू बोल्छन् । कहिले कवि विद्रोही बन्छन् । यथास्थितिलाई आलोचना पनि गर्छन् तर एकान्तले भिजाइरहेका बेला औधी प्रेममा डुबेका चाहिँ हुँदैनन् ।

प्रतिबिम्बमा ऐना अघिल्तिर एकान्त टेक्दै कविताका हरफभरि पुतली सम्झिन्छन् । कमजोरीका पहाड बोकेर आमा हुन् कि किसान वा घाम सम्झिन्छन् । अनि सम्झिन्छन् नीडो र आमाको छोरो । र, कल्पिन्छन् प्रशान्त र प्रशान्तहरू । पहिचानका लागि शेष भूमिबाट बिहानीपखै भाले बासेको सम्झिन्छन् । पाठकसँग भेटाउँछन् फेरि अर्को एउटा सगरमाथा र तेञ्जिङ । सुनाउँछन् उनको युगको प्रत्येक साँझ मासिँदै गएको अनुहार टाउकाको कथा । हो, त्यहीँबाट फर्काउँछन् उनीहरूलाई जो कहिल्यै थिएनन् नदी, घाइते अक्षर र रेखाहरू ।

कविको रहस्यवाद दार्शनिकको जस्तो अन्त्य फेला पार्ने खालको पनि छैन र योगीको जस्तो आफू मात्र स्वानन्दमा समाधीमग्न हुने खालको पनि छैन । कविको रहस्य त अनुभूतिगम्य हुन्छ र त्यो अनुभूति गराउन सक्छ कवि । परमतत्त्व मात्र रहस्यमय हुन्न, सामान्य फूल पनि परमतत्त्वजस्तै रहस्यमय हुन्छ, त्यसैले ज्ञानेन्द्र भन्छन्-

त्यति तलबाट

घृणा, तिरस्कार र बिगबिगीको झुस

ढाडभरि बोकेर

त्यतिमाथि उठ्न सक्ने/उड्न सक्ने

झुसिल्किरो

यदि मान्छेले

त्यति तलबाट

उठ्न पर्ने हुन्थ्यो भने-

वाह ! पुतली 

(वाह ! पुतली, पृ. ३३) 

विगत वसन्तको फूल वर्तमान वसन्तमा पनि किन त्यतिकै सुन्दर लाग्छ ? यसको उत्तर दार्शनिक वा वैज्ञानिकसँग छैन र मनोवैज्ञानिकसँग पनि छैन । यसको उत्तर त हामी कविसँग पाउँछौँ र हामी ऊसँग कविता माग्छौँ । गुड कति मिठो हुन्छ, त्यो लाटाले पनि बुझ्छ, तर ऊसँग भाषा छैन । हामी कविसँग त्यसको भाषा माग्छौँ । प्रेमको अनुभूति गीतैगीतमा गाएर पनि गाइसकिन्न र हामी त्यसलाई मुरलीमा अलाप्छौँ । साहित्य, सङ्गीत र कलाले हृदयका रहस्यकै उद्घाटन गर्छन् ।

एक सूर्यास्तलाई चित्रकार भ्यानगोगको आँखाले जसरी हेर्छ, त्यो हेराई नै चित्र हो । त्यसै कान्तिमा सूर्यास्त चुर्लुम्म हुन्छ । विषय त कविताको निम्ति निमित्त मात्र हो चाहे त्यो विषय यथार्थ हाेस् चाहे त्यो विषय काल्पनिक नै किन नहोस् ।

कविहरू आफ्नै आँखामा सौन्दर्य लिएर हेर्छन् । हृदयको रस लिएर हेर्छन् । जसरी कविता शब्दावली नै हो तापनि शब्दावलीलाई पनि पार गरेर लेखिन्छ, त्यसरी नै कविता व्यक्तिको सिर्जना हो । तर व्यक्तित्वलाई पार गरेर लेखिन्छ । आङमा द्यौता चढेपछि द्यौता नै बोल्छ, मानिस बोल्दैन । कवि ज्ञानेन्द्रका कविता समुद्रको छाल उर्लिएर घरी घरी तर्साइरहँदा पनि किनाराका ताड र नरिवलका रुखहरू निर्भय उभिरहन्छन् । सुनामी नै आए पनि डटेर सामना गर्दै हुन्छन् ।

ज्ञानेन्द्रका कविता पढ्दा पाठकलाई साँच्चै लाग्छ- ‘कविता फगत कल्पना मात्र होइन । यथार्थ पनि पोखिन्छन् कवितामा ।’ तर यो यथार्थबाट चिप्लिएर कवि कतैकतै अलिक भावुकतातिर गएका हुन् कि भन्ने पनि हुन्छ । बुक- एन्ट सालबारीको प्रकाशन रहेको ऐना अघिल्तिरका ४१ वटा कविताले खतिवडाको काव्यशिल्पीको परिचय दिएका छन् । आयामिक दृष्टिले प्रायः मझौला खालका कविताहरू कवि ज्ञानेन्द्रका जीवनजगत्का अनुभवजन्य अभिव्यक्ति पनि हुन् । कविताहरूले कविको जीवनका उकाली ओरालीलाई पनि सहज र संवेदनशील किसिमले प्रकट गरेका छन् ।

प्रसिद्ध अङ्ग्रेजी स्वच्छन्दतावादी कवि जोन किट्स भन्छन्- ‘यदि कविता एउटा रुखमा पलाउने पातहरूजस्तै स्वतःस्फूर्त र सहजै प्राकृतिक रूपमै प्रस्फुटन हुँदैन भने त्यस्तो कविताको जन्म नभएकै राम्रो ।’

कवि ज्ञानेन्द्र खतिवडाले पनि बुझेका छन् र अबका कविहरूले पनि बुझ्नु पर्छ । समयको साक्षी बन्दै ऐना अघिल्तिर उभिएका कवि ज्ञानेन्द्र खतिवडाको आगामी लेखनमा पनि उसैउसै गर्वानुभूतिले उचालिइरहुन्, शुभकामना ।