
पहिलो पटक बेलायतको लण्डन र एक्सेटर भ्रमणको क्रममा बसभित्र चर्चित कविहरूका कविताका टुक्राहरू लेखिएको पाएँ । क्यानडा आएपछि यहाँ पनि त्यस्तै बसहरूमा कविताका टुक्राहरू लेखिएको पाएँ । विभिन्न पर्यटकीय स्थलको भ्रमण गर्दा त्यहाँ विभिन्न स्थानमा विश्वविख्यात विद्वानहरूको उद्गारहरू लेखेर राखेको देखेँ । अनि यस पटक क्यारेभियन सागरको जलयात्रा (क्रुज) को क्रममा पानी जहाजभित्र रहेका शौचालयहरूमा विभिन्न विद्वान/कवि/साहित्यकारहरूका उद्गारहरू लेखिएको पाएँ । यस्ता उद्गारहरू पढ्नेले पढ्छन् भने नपढ्नेले पनि त्यहाँ उभिउञ्जेल पढ्न करै लाग्दो रहेछ ।
यस्ता उद्गारहरूलाई उपदेशका रूपमा पनि लिने गरिन्छ । विद्यालयमा शिक्षकले विश्वविख्यात विद्वानहरूको उद्गार सुनाएर विद्यार्थीलाई प्रेरणा दिने काम गर्ने गर्छन् । यस्ता उद्गारहरू हाम्रो जीवनको मार्गदर्शक हुने गर्दछ । आज यस्तै उद्गारहरूको सङ्ग्रह प्रकाशित गरेर विश्वव्यापी रूपमा चर्चामा आएको पुस्तकका बारेमा चर्चा गर्दै छु ।
पूर्वाञ्चल भारतको नेपाली साहित्यको चर्चा गर्दा साहित्यकार कृष्णप्रसाल ज्ञवालीको प्रसङ्गबिना अधुरो नै रहने गर्छ । शिलाङ्गको बडाबजारमा एउटा पुस्तक पसल थियो ‘ज्ञवाली पुस्तक भण्डार’ ।
पचासको दशकमा नेपाली पुस्तक पाउने यो मात्र एउटा पसल थियो । यही पसलबाट नेपाली नयाँ वर्षको पात्रो किन्नका लागि गाउँगाउँबाट अझ गुवाहाटीबाट पनि नेपालीहरू आउने गर्थे भन्ने सुनेको थिएँ । यो पसल सञ्चालन गर्ने व्यक्ति थिए कृष्णप्रसाद ज्ञवाली । पूर्वाञ्चल भारतमा नेपाली साहित्यलाई गोडमेल गरी शब्दको खेती गराएर उहाँको साहित्यलाई उब्जाऊँ बनाउने व्यक्तिका रूपमा परिचित कृष्णप्रसाद ज्ञवाली एक परिपक्व साहित्यकार मात्र नभएर साहित्यिक पत्रकारसँगै शिक्षाविद् पनि थिए ।
उहाँले मेघालयका नेपालीहरूलाई नेपाली पुस्तक उपलब्ध गराएर उनीहरूका सन्तानलाई नेपाली पढाउन प्रेरित र प्रोत्साहन गर्नु हुन्थ्यो । शिक्षाको उज्यालो घरघरमा पुर्याउने ज्ञवालीले तत्कालीन आसाम र वर्तमान मेघालयमा साहित्यिक वातावरण सिर्जना गर्नमा उहाँको भूमिका महत्त्वपूर्ण रहेको थियो । त्यसबेलाका साहित्यिक कार्यक्रम ज्ञवाली बिना अपुरो नै रहने गर्थ्यो ।
कविता विधामा निरन्तर कलम चलाउने ज्ञवाली प्रथम आप्रवासी नेपाली हुन जसले नेपाल प्रज्ञा प्रतिष्ठानले २०२२ साल (सन् १९६५) देखि सुरु गरेको राष्ट्रिय कविता महोत्सवमा २०२४ साल (सन् १९६७) मा प्रथम स्थान पाएर एउटा रेकर्ड नै बनाएका थिए ।
उनको सम्पादनमा ‘सुमन’ साहित्यिक पत्रिकाको प्रकाशन पनि हुने गर्थ्यो । उनको एक मात्र पुस्तक ‘पीपलको छहरी’ (२०३२ साल) निबन्धसङ्ग्रह प्रकाशित भएको पाइन्छ । उनका बारेमा कतै त्यति अध्ययन भएको देखिँदैन भने उनका पुस्तकहरूले पनि प्रकाशनको उज्यालो देख्न पाएको छैन । एउटै कृतिले काव्यात्मक निबन्ध लेखकमा रूपमा परिचय पाएका कृष्णप्रसाद ज्ञवालीका ज्येष्ठ छोरो हो सलिल ज्ञवाली ।
सन् १९८० देखि लेखन सुरु गरेका सलिलका अनुसन्धान र अन्वेषणसँगै युवा जनचेतनाका लागि लागु औषधीका विरुद्ध लेखहरू विभिन्न पत्रपत्रिकाहरूमा नियमित प्रकाशित हुँदै आएका छन् । सानैदेखि विद्वानहरूको भनाइलाई टिपेर राख्ने बानी थियो सलिलकाे। आफूले पढेको पुस्तकमा कुनै विद्वानको उपदेयीता सन्देश पाएपछि त्यसलाई टिपोट गर्ने बानी देखेर बुवा कृष्णप्रसादले त्यसलाई सङ्कलन गर्दै जानु भनेपछि उनले सन् १९९८ मा आफ्नो पहिलो प्रयासलाई लेखनमा ल्याएका थिए ।
पुस्तकको पहिलो स्वरूपलाई जेरोक्सको ढाँचामा “ग्रेट माइण्ड अफ इण्डिया” प्रकाशित गरेपछि उनले सन् २००९ मा छापामा प्रकाशित गराएर मेघालयका गभर्नरबाट औपचारिक रूपमा विमोचन गराएर आफ्नो खोजलाई मूर्त रूप दिएका थिए । सन् २०१३ मा पेङ्गुइन प्रकाशनबाट प्रकाशित भएपछि सलिलको पुस्तकले व्यापकता पाउँदै जान थाल्यो ।
पृथ्वीको अस्तित्व करोडौँ वर्षदेखि रहेको तथ्य हाम्रा ऋषि मुनीहरूले लेखी छोडेर गएका वेद र पुराणको अध्ययनबाट थाहा पाउन सकिन्छ । रामायण र महाभारतमा वर्णित प्रसङ्गहरूबाट पनि हामी पूर्वीय सभ्यताको सम्पन्नताका बारेमा थाहा पाउन सक्छौँ । रावणको पुष्प विमान, सुनको लङ्का, धृतराष्ट्रलाई सञ्जयले महाभारत युद्धको प्रत्यक्ष प्रसारण गरेर देखाउनु जस्ता धेरै प्रसङ्गले त्यसबेलाको सभ्यताका बारेमा अनुमान लगाउन सकिन्छ । । त्यस बेलाका मानिसहरू धेरै अग्लो, मोटो र बलियो हुने गरेको अनुमान डायनोसरको आकारबाट थाहा पाउन सकिन्छ ।
हामीले पूर्वीय दर्शनको दार्शनिक र वैज्ञानिक पक्षलाई पन्छ्याएर यसलाई धर्मको रूपमा हेर्दै र मान्दै गयौं । हाम्रा गुरुहरूले पनि यही शिक्षा दिए । धार्मिक ग्रन्थ वेद पुराणलाई ब्राह्मणहरूको मात्र पेवा बनायौं र ब्राह्मणकै वरिपरि दौडिरह्यौं । हामीलाई हाम्रा उग्र हिन्दुवादी शासकहरूले पूर्वीय दर्शनलाई धर्मसँग मिसाएर पाप र पुण्यको अङ्कगणितमा अल्झाइरहे । त्यसबेलाको भारतवर्ष भनेको भारत मात्र नभएर हिमाली देश नेपाल, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान तथा भियतनाम, कम्बोडिया, अफगानिस्तान लगायतको भूमिलाई मानिन्थ्यो । यसलाई आर्यावर्त पनि भनिन्थ्यो । त्यहीँ आर्यावर्तबाट जन्मिएको हो पूर्वीय दर्शन । त्यसैले यो सबैको धरोहर हो ।
भारतको भूभाग ठूलो भएकोले धेरै दार्शनिकहरू भारतमा जन्मेका होलान् तर हिमाली शृङ्खलाले भरिएको नेपाललाई पनि धर्मभूमिका रूपमा मानिँदै आएका छन् । मञ्जुश्रीले चोबारमा तरवारले ढुङ्गा काटेर उपत्यकाको पानी निकालेर बस्ती बसालेको कथामा पनि तार्किकता खोज्न सकिन्छ । कोशी नदीको पूर्वी किनारमा बसी ध्यान गरेका याज्ञवल्क्य, साङ्ख्य दर्शनका प्रणेता कपिलवस्तुमा ध्यान गरेका महर्षि कपिलमुनी, जनकपुरमा रहेका चार्वाक दार्शनिकहरू, राजर्षि जनकका समकक्षी अष्टावक्र, याज्ञवल्क्यका सहसंगी गार्गी, गौतम बुद्ध, अद्वेत वेदान्ती दार्शनिक अनुपरम, गोरखनाथ, मच्छिन्द्रनाथ, योगी नरहरि नाथ, जोसमनी परम्परा, सन्त शशिधर स्वामी, शक्ति वल्लभ अर्याल, योगी अम्वरगीर, ज्ञान दिलदास, फाल्गुणनन्द, आदि अग्रजहरूले दर्शनको क्षेत्रमा योगदान दिएका छन् ।
अङ्ग्रेजी भाषामा पहिलो प्रकाशन पाएको “ग्रेट माइण्ड अफ इण्डिया” को प्रकाशनपछि यस पुस्तकले उजागर पारिदिएको पूर्वीय सभ्यताको विविधता बारे थाहा पाउन यसलाई भारतको संविधानद्वारा मान्यताप्राप्त प्राय सबै भाषाहरू हिन्दी, तमिल, तेलगु, गुजराती, मराठी कन्नड ,बङ्गाली, मलयालम, संस्कृत, असमीया, उर्दू ,मणिपुरका अतिरिक्त सात समुद्रपारि अरबी र जर्मन गरी पन्ध्र भाषामा प्रकाशित भएको छ । अझ विभिन्न राज्यका विद्यालयहरूले पाठ्यक्रममा राखेर पुस्तकको गरिमा अझ बढाइदिएको छ । गत वैशाख २०८० मा सिक्किमको ‘नेपाली साहित्य परिषद्’ ले जीवनहरी शर्माको काव्यात्मक प्रस्तुतिमा यो पुस्तक प्रकाशन गरेको समाचार छापिएको थियो । अझ २०१८ मा ‘ग्रेट माइन्ड्स अफ इन्डिया’ पुस्तकलाई डकुमेन्ट्री पनि बनाइएको छ ।
प्रवासका एउटा नेपाली सर्जकले नेपालबाहिरका पाठकलाई मन्त्र मुग्ध बनाएको कृतिलाई नेपाली पाठक समक्ष पुर्याउन सन् २०१३ मा नेपाली र अङ्ग्रेजी भाषा साहित्यका विद्वान डा. गोविन्दराज भट्टराईले “पूर्वीय सभ्यता : विश्वविख्यात विद्वानहरूका दृष्टिमा” शीर्षकमा नेपालीमा अनुवाद गरेर प्रकाशनमा ल्याएपछि प्रकाशनको नौ वर्षमा नै यसको दोस्रो संस्करण (२०२२) प्रकाशित भएको छ ।
डा. भट्टराईले अङ्ग्रेजी भाषामा लेखिएको उपयोगी सङ्कलन पुस्तक नेपाली भाषामा अनुवाद गरेर नेपाली पाठकहरूका लागि महत्पूर्ण कार्य गरेका छन् ।
त्यसमा पूर्वीय तथा पाश्चात्य साहित्यका ज्ञाता प्रा. घनश्याम कँडेलको ओजपूर्ण भूमिकाले पाठकलाई पूर्वीय सभ्यताका बारेमा धेरै जानकारी मिलेको छ । धैर्यतापूर्ण मिहिनेत र लगनशीलताका साथ आफ्नो अध्ययन र अनुसन्धानबाट तयार पारिएको यस सङ्ग्रहमा १३८ जना पूर्व र पश्चिमका विश्वप्रसिद्ध चिन्तक, विचारक, दार्शनिक, वैज्ञानिक, राजनीतिज्ञ, साहित्यकार र कलाप्रेमी विदुषीहरूले हाम्रा पूर्वजका यश कीर्ति र कर्मका सम्बन्धमा, विभिन्न समयमा उल्लेख गरेका अभिव्यक्तिहरूलाई सङ्कलित गरिएको छ । हाम्रो प्राचीन सभ्यताको धर्म , दर्शन, भाषा गणित, ज्योतिष विज्ञान आदिमा पूर्वीय सभ्यता पश्चिमेलीभन्दा पनि अघिदेखि विकसित र समृद्ध थियो । जसले सम्पूर्ण विश्वलाई नै प्रभावित पारेको थियो ।
हाम्रा ऋषिमुनीहरूले दिएको ज्ञान गरिमाका कुराहरू, हाम्रो वेद, गीता, उपनिषद्, पुराण, रामायण, महाभारतमा लेखिएका कुराहरू सबैमा दर्शन लुकेको हुन्छ । त्यसलाई हामीले धर्ममा रूपान्तरण गरेर बुझ्यौं तर पश्चिमेली विद्वानहरूले त्यसमा ज्ञान र विज्ञान देखे । हामीले आध्यात्मिक, संस्कृति र साहित्य देख्यौं भने पश्चिमेलीहरूले त्यसमा दर्शन खगोलशास्त्र, ज्योतिषशास्त्र, व्याकरणशास्त्र, गणितीय पद्धति देखे ।
एकपटक पढेपछि दोहोराएर पढ्न मन लाग्ने पूर्वीय ऋषिमुनीहरूको अध्ययन र तपस्याबाट आजको विज्ञानलाई बुझ्न सजिलो बनाइदिएकोमा पाश्चात्य विद्वानहरूले अभिव्यक्त गरेर मननयोग्य विचारहरू नै यस पुस्तकको गरिमा बनेको छ उदाहरण तलका केही उद्गारबाट प्रस्ट हुन्छ :
आर्यावर्त एउटा स्वप्नभूमि हो । यसले सधैँ मानिसको स्वप्नसुख अर्थात् परमानन्दभन्दा परको सपना देख्यो, त्यो नै मानवको अन्तिम लक्ष्य हो – जर्मन दार्शनिक फ्रेड्रिक हिगेल ।
यो विश्वमा संस्कृत भाषाको जस्तो नियमनिष्ठता र दार्शनिक सुस्पष्टताल् युक्त कुनै अन्य भाषा छैन – पर्मनदार्शनिक फ्रेडिक भोन स्लेगल ।
समस्त विश्वमा उपनिषद् बराबरको कल्याणकारी अनि यति उत्थापक कुनै अध्ययन वा ज्ञान कहीँ कतै छैन – जर्मन दार्शनिक आर्थर सोपेन्हावर ।
वैत्रानिक मस्तिष्कको आविष्कार जेसुकै होस्, तर उपनिषद्ले प्रतिपादन गरेको अनन्त सत्यमाथि कसैले विवाद गर्न सक्दैन – जर्मन विद्वान पौल डुसन ।
वेदान्त मानव मस्तिष्कले परिकल्पना गरेको सर्वाधिक प्रभावशाली तत्त्वमिमांसा हो – बेलायती दार्शनिक अल्फ्रेड नर्थ ह्वाइटहेड ।
जसलाई हामी हिन्दू धर्म भन्दछौं, यो वास्तवमा अनन्त धर्म हो किनकि यसले अरू सारा धर्मलाई स्वागत गर्दछ – भारतीय दार्शनिक श्री अरविन्दो ।
‘हामी पूर्वीय सभ्यताप्रति चिर ऋणी छौं किनकि उनीहरूले हामीलाई गणित सिकाए, त्यसको अभावमा कुनै पनि सार्थक प्रकृतिको वैज्ञानिक आविष्कार गर्न सकिने थिएन’ -अल्बर्ट आइन्स्टाइन ।
हामीले सानैदेखि हनुमान चालिसा पढ्दै र सुन्दै आएका छौं । त्यसमा हनुमानको शक्तिको बयान गरिएको छ । एउटा श्लोकमा हनुमानले मीठो फल भन्ठानेर सूर्यलाई निलेको प्रसङ्ग पनि आउँछ ।
जुग सहस्र जोजन पर भानु
लील्यो ताहि मधुर फल जानु
यस पङ्क्तिमा आएका शब्दहरूलाई नियालेर हेर्दा, जुग शब्दले एक युग अर्थात् ४,३२०,००० वर्ष भन्ने बुझिन्छ । अर्थात् १२०० दिव्य वर्ष । त्यस्तै एक सहस्रले १,००० वर्ष बुझाउँछ भने एक जोजन (योजन) ले ८ माइल बुझाउँछ । एक माइल मा १.६ किलोमिटर हुन्छ । अब यसलाई यसैका आधारमा गणना गर्यौं भने = १२०० गुणन १००० गुणन ८ गर्दा ९६०००० माइल हुन आउँछ । नासाले पृथ्वीबाट सूर्यको दुरी पत्ता लगाएअनुसार ९३,०००,००० माइल देखिन्छ । नासाको गठन हुन धेरै वर्षअघि लेखिएको हनुमान चालिसाको श्लोकले सूर्यको दुरीलाई लगभग देखाएकोबाट पनि रामायण लेख्ने वाल्मीकिको विलक्षण प्रतिभाका बारेमा अनुमान लगाउन सकिन्छ ।
त्यस्तै हामीले परापूर्वकालदेखि नै नवग्रहको पूजा गर्दै आएका छौं । रामायण र महाभारतमा पनि नवग्रहको प्रसङ्ग आएको छ । यही नवग्रहका बारेमा नासाले धेरैपछि टेलिस्कोपको आविष्कार गरेर हाम्रो ब्रह्माण्डको सौर्य प्रणाली (सोलर सिस्टम) का बारेमा नवग्रह रहेको देखाएको छ । ब्रह्माण्डमा सबैभन्दा तेज गति प्रकाशको हुने गर्छ ।
प्रकाशको गतिका बारेमा पहिलो पटक डेनमार्गका अन्तरिक्ष यात्री ओले रोमनले सन् १६७६ मा पत्ता लगाएको भनिन्छ । तर धर्म ग्रन्थहरूका आधारमा हेर्दा करोडौँ वर्षअघि नै ऋषिहरूले प्रकाशको गतिको गणना गरेको बारे ऋग्वेदको चौथो भागको पचासौँ अध्यायमा लेखिएको थियो । त्यस्तै आर्यभट्टले शून्यको आविष्कार गरेपछि मात्र सङ्ख्याले अस्तित्व पाएको थियो । रावणको दसवटा टाउको हुनु, कौरवको सय पुत्र हुनु सङ्ख्यात्मक गणना त्यस बेलादेखि नै रहेको थाहा पाइन्छ ।
पूर्वीय सभ्यताको रहस्य भनौँ वा त्यस बेलाका ऋषिमुनिहरूको ज्ञान जसलाई आजको विज्ञानले थाहा पाउन थालेको छ । भारतको गुजरात राज्यमा रहेको सोमनाथ मन्दिरको निर्माण कुन शताब्दीमा भएको भन्ने बारे यकिन गर्न सकिँदैन । तर त्यहीँ मन्दिरको प्राङ्गणमा रहेको ‘बाण स्तम्भ’लाई विद्वानहरू दिशादर्शक स्तम्भ मान्ने गरेका छन् । यस स्तम्भमा एउटा वाण (तिर) बनाइएको छ । यो वाणको मुख समुद्रतिर पारिएको छ र स्तम्भमा “आसमुद्रांत दक्षिण ध्रुव, पर्यत अबाधित ज्योर्तिमार्ग” भनी लेखिएको छ । अर्थात् समुद्रको यस बिन्दुबाट सोझो रेखा दक्षिण ध्रुवसम्म बिना अवरोध तान्न सकिन्छ भनी लेखिएको छ । यसबाट सेटलाईट, ड्रोन वा विमानको आविष्कार हुनुभन्दा लाखौं वर्षअघि ऋषिमुनिहरूले कसरी पत्ता लगाए भन्ने रहस्य नै बनेको छ ।
सानैदेखि हामीले हिन्दु सभ्यताका बारेमा देवी-देवताको चमत्कारका कथा सुन्दै आएको छौं । तर यस विषयमा बुझ्ने प्रयास हामीले कहिल्यै गरेनौं । भारतको तामिलनाडु राज्य दुई हजार वर्षअघि बनाइएको ‘पञ्चवर्ण स्वामी’ मन्दिरमा कुदिएका विभिन्न कलात्मक मूर्तिहरूमा एकजना मानिसले साइकल चढेको ढुङ्गामा कुदिएको मूर्ति देखेर जर्मनले दुई सय वर्षअघि आविष्कार गरेको साइकलभन्दा पनि अघिदेखि हाम्रा पुर्खाहरूले साइकल चलाउने गरेको अनुमान गर्न सकिन्छ । यस्तै रहस्यहरूले भरिएको हाम्रो पूर्वीय सभ्यतालाई पाश्चात्य विद्वानहरूले अभिव्यक्त गरेका विचारहरूको प्रस्तुति हो “पूर्वीय सभ्यताः विश्वविख्यात विद्वानहरूको दृष्टिमा” ।
यसमा उनले विश्वका महान् विद्वानहरूको सन्देशलाई प्राचीन ज्ञानराशीका रूपमा जनमानसमा पुर्याउने परोपकारी कार्य गरेका छन् । पूर्वीय सभ्यताको ज्ञान र बुद्धिका आधारमा विज्ञानले नयाँ बाटो पहिल्याउन सकेको कुरालाई नकार्न सकिँदैन । यस्तै ऋषि मुनि आदि धेरै महान् विद्वानहरूको अनगिन्ती उद्धरणहरू र टिप्पणीहरूले पाठकलाई प्रत्येक पटक नयाँ प्रेरणा दिने गर्दछ ।
यो पुस्तक पूर्वीय सांस्कृतिक सम्पदा र प्राचीन ज्ञानमा विश्व प्रसिद्ध व्यक्तित्वहरूको विचार र उद्धरणहरूको सङ्ग्रह हो । पश्चिमेलीहरुले यसैको अध्ययनबाट ब्रह्माण्डमा रहेको रहस्य र सौन्दर्य पक्षलाई बुझ्न सफल भए भने हामी चाहिँ त्यसलाई धर्मको नाममा आरोपित गरेर पाप पुण्यको अङ्कगणितमा अल्झिरह्यौं । हाम्रो परम्परागत संस्कृतिले मान्दै आएको वार्षिक श्राद्धलाई नियालेर हेर्यौं भने पनि सोह्र श्राद्धका दिन हाम्रा पुर्खाहरूलाई एक-एक गरेर तर्पण दिने परम्पराबाट हामी हाम्रो आमा र बुवा दुवैका पुर्खाहरूको नाम विस्तारले लिने गर्छौं । अर्थात् सन्तान दर सन्तानलाई हाम्रा पुर्खाको नाम थाहा पाइरहने चलन हामीमा रहेको छ ।
यस्तै पूर्वीय परम्परा र सभ्यताका बारेमा तीन मिनटको भाषण दिएर स्वामी विवेकानन्दले अमेरिकाभरि चर्चा र प्रशंसा पाएका थिए । त्यसैले आफ्नो परम्परा र सभ्यतालाई सधैँ बचाइराख्नु हाम्रो दायित्व हैन र ?
यस्तै हाम्रो प्राचीन सभ्यताको विशेषताका बारेमा विद्वानहरूका विचारहरूले समेटिएको सलिल ज्ञवालीको “पूर्वीय सभ्यता : विश्वविख्यात विद्वानहरूका दृष्टिमा” पुस्तक पठनीय मात्र नभएर सङ्ग्रहनीय पनि बनेको छ ।
क्यानडा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
