हाल न्युर्योक अमेरिकामा रहँदै आउनुभएकाे कवि जानुका वस्ती ढकाल एक सशक्त महिला कवि हुनुहुन्छ । नेपाली भाषा साहित्यमा निरन्तर जुटिरहनु हुन्छ । ‘झरीकाे किरण’ कवितासङ्ग्रह उहाँकाे पहिलाे कविताकृति हाे ।

प्रस्तुत छ,  सरल  र शालीन नारी श्रष्टा  जानुका वस्ती ढकालसँग भाषा, साहित्य र समसामयिक अन्य विषयहरूमा केन्द्रित रही साहित्यपोस्टका लागि साहित्यकार एवं अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंश:

 

व्यस्त जीवनबाट तपाईंले  अध्ययन,लेखन र पुस्तक प्रकाशनलाई कसरी समय मिलाइरहनु भएको छ ?

साहित्य रसमा मन डुबिसकेपछि कहिलेकाहीँ फुरेको बेला लेखिहाल्नुपर्छ  र जाँगर चलेको बेला पढिहाल्नुपर्छ भन्ने लाग्छ तापनि समय निकाल्न  धेरै  कठिन छ । कहिलेकाहीँ त लाग्छ कापी कलममा मात्र मस्त बनूँ  तर के गर्नु  मनकै लड्डु  भइरहेछ । लेख्छु भनेको कुराहरू  केही बिलाइसके मस्तिष्कमा । कहिलेकाहीँ भने स्थान लिइरहेकै हुन्छ त्यसैलाई न्यून समय पाएको बेला पनि  केही न केही लेख्न चाहिँ मन लागिरहन्छ ।

जानुका वस्ती ढकाल

जानुका वस्ती ढकाल

साहित्य, जीवन, दर्शन, आत्मा र प्रकृतिलाई तपाईं कसरी हेर्नुभएको छ ?

साहित्य बिनाको जीवन अधूरो र अपूरो हुन्छ जस्तो लाग्छ । जब जीवनले सार्थकता पाउँछ त्यहाँ दर्शनले आपसेआप ठाउँ लिँदै जान्छ । त्यसैलाई सूक्ष्म रूपले बुझ्दै जाँदा आत्मानुभूति हुन्छ र प्रकृतिले परिवर्तनको बाटो अवश्य खोज्छ  ।

यी सबैकुरा एक-अर्कासँग जोडिएका छन् । सभ्य र कुशल मानिसको जीवन साहित्य र दर्शनले ले नै निर्देशित गरेको हुन्छ । जीवनले साहित्य लेखाउँछ साहित्यले दर्शनको बाटोमा डोर्याउँछ ।

तपाईंलाई सक्रिय लेखक भन्दा हुन्छ ?

सक्रिय त होइन तर लेख्न रुचाउँछु, कतै केही देख्यो र कतै मनले केही छोयो भने हत्तपत्त लेख्ने गर्छु कहिलेकाहीँ लेख्न समय र साधन मिलेन भने पनि  घर आउने बित्तिकै टिपोट चाहिँ गर्ने गर्छु  ।

संस्कृत साहित्य र नेपाली साहित्यबिच के-कस्तो फरक पाउनुहुन्छ ? 

म ब्राह्मण कुलमा जन्मे हुर्के पनि संस्कृतमा धेरै ज्ञान लिने अवसर त्यति मिलेन , हाम्रो पालामा निम्न माध्यमिक तहसम्म मात्र संस्कृतको पढाइ हुन्थ्यो । संस्कृतबाट नै भानुभक्तको रामायण अनुवाद भएको हो । यसैले भन्न सकिन्छ संस्कृत पनि नेपाली साहित्यसँग जोडिएको छ  । जे जति संस्कृतबाट आएका श्लोकहरू छन् ती अति सम्झन लायकका छन् । धार्मिक ग्रन्थहरूमा लेखिएका संस्कृत श्लोकहरू पढ्दा होस् या सुन्दा पनि आनन्द लाग्छ ।

अहिले त विदेशमा पनि संस्कृत भाषा निकै महत्त्व दिएर पढाइ भइरहेको छ । विश्व विद्यालय नै खुलेको छ भन्ने सुन्दै आएका छौं । संस्कृत भाषा पुरानो भएकोले मेरो अनुमानमा  संस्कृत साहित्यले नेपाली साहित्य भित्र्याएको हुनुपर्छ तर संस्कृत बुझ्नेहरूको सङ्ख्या कम भएर होला अहिले नेपाली साहित्य नै फराकिलो भएको महसुस भएको छ यसले धेरै विधाहरू समेटेको लाग्छ ।

साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नु हुन्छ ? 

एकदम विश्वास गर्छु । बिना अध्ययन साहित्य हुँदैन, साहित्य बिना चिन्तन र मनन गर्न सकिँदैन । चिन्तन नै भएन भने साहित्य लेख्न पनि सकिँदैन । यसकारण मानव जीवनमा यी तीनैवटा कुराहरू त्रिकोणात्मक बनेर आएको छ जस्तो लाग्छ ।

तपाईं कथा, कविता र नियात्रा कुन विधामा बढी कलम चलाउनु हुन्छ ? 

साहित्यको पहिलो विधा कविता भएकोले म कविता लेख्न रुचाउँछु । तर कविताका पाठक केही कम हुँदै आएका हुन् की जस्तो पनि लाग्छ । कथा र नियात्रा पुस्तक लेखेको छैन तर फुटकर चाहिँ केही लेखियो । बामे सर्न खोज्दै गरेको मान्छेले सिक्दै जाँदा  पछि के कस्तो लेख्न सकिन्छ या सकिँदैन थाहा छैन । तर पाठकलाई मन पर्ने कुरा पस्किन सक्न पाए हुन्थ्यो भन्ने सोच चाहिँ सबै लेखकलाई हुन्छ होला नै । यो समयले बताउने कुरा हो त्यो पनि ।

तपाईंले लेखन प्रेरणा को बाट पाउनु भयो ?

स्कुल समयदेखि नै लेखि रहन्थे, गुरुहरूले लेख्न प्रोत्साहन गरिरहनुहुन्थ्यो । उहाँहरूको प्रोत्साहन साथसाथै मेरा दाइ, दिदी र बहिनीको प्रेरणाबाट किताब प्रकाशन गर्न   सकेको हो भन्न मन लाग्छ ।

खाली समय कसरी बिताउनु हुन्छ ?

कर्मभूमिमा खाली समय भन्ने नै नहुने रहेछ  । परिवार ठुलो भएकोले खाली समयमा सबै जनासँग भेटघाट  गर्ने , प्रविधिसँगै रमाउने युग पनि छ । कहिलेकाहीँ त्यसमा पनि भुल्छु कामको थकान र तनाव मेटाउने भनेको घर र परिवार नै हुन् । एक्लै भएको बेला साहित्यिक लेखन, पठन र त्यस्तै खालका कार्यक्रमहरू सुनिरहन मन पर्छ  समय त यत्तिकै बित्छ ।

तपाईंलाई गीत, कविता, कथा, नियात्रा र उपन्यास कुन मन पर्छ ? यो राम्रो लेख्न के गर्नु पर्छ ? किन ?

सुन्न मन पर्ने गीत हो तर लेखेकी छैन, नियात्रा पढ्दा त्यही पुगे जस्तो लाग्छ असाध्यै मन पर्छ । कहिलेकाहीँ घरको काम गर्दा पुस्तक पढ्ने समय नमिल्दा रेकर्डेड उपन्यासहरू सुन्छु । अनि त्यतै हराउँछु । कुनै कुनै उपन्यास त तीन चोटिसम्म सुनेकी छु । कविता सजिलो हो तर पाठक कम भएर नै आफ्नो सन्तुष्टिको लागि लेखिने हो कि जस्तो लाग्छ । कथा लेख्न सुरु गरेकी छु तर कहिले पूरा हुन्छ त्यो पनि थाहा छैन ।

मेरो विचारमा  राम्रो लेख्न समयको साथमा अध्ययन, चिन्तन-मनन, विश्लेषण, अनुशासन र मेहनत सबै चाहिन्छ ।अध्ययन नगरे नयाँ कुरा थाहा हुँदैन । चिन्तन मननले सही बेसही कुरा ठम्याउन सक्छ, विश्लेषण नगरे मियो बिनाको दाइँ हाले जस्तो हुन्छ ,अनुशासन भएन भने त्यसले उल्टो हानी पुर्याउँछ । यी सबै कुरालाई राम्रो गर्न समय र मेहनत चाहिन्छ ।

नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नु भएको छ ?

जुनसुकै क्षेत्रमा पनि राम्रा र नराम्रा त भइहाल्छन् । सबै एउटै सोचाइ भएका पनि हुँदैनन् । राम्रालाई राम्रै नजरले हेर्नुपर्छ विरोध मात्र पनि गर्नु हुँदैन ।

साहित्यिक पत्रकारिता मात्र नभई  समस्त पत्रकारितालाई नै भन्न मन लाग्छ तपाईंहरूको कलममा शक्ति छ त्यो शक्ति सत्यमा मात्र प्रदर्शन गर्नुहोस् । रङ परिवर्तन नगरी दिए हुन्थ्यो, स्वच्छ विचारका साथ छापिदिए हुन्थ्यो, हजुर हजुरमा नबिके हुन्थ्यो, बोल्नेको पीठो मात्र बिक्री नभएर नबोल्नेको चामल पनि बिक्री भइदिए हुन्थ्यो ।