प्रवेश :
माटो जहिले पनि पैताला मुनि हुन्छ । कुनै पनि पैतालाको आधार माटो नै हुन्छ । मानिस माटोबाट बनाइएको हो अनि ऊ एकदिन माटो मै बिलेर जानेछ भन्ने धार्मिक विश्वास अनि कथन छ । ल्याटिन शब्द humus बाट अर्थ विस्तार हुँदै अङ्ग्रेजीमा earth अनि यसको पर्याय हुँदै soil अर्थात् नेपालीमा ‘माटो’ परम्परागत वैज्ञानिक परिभाषा अनि अर्थहरूमा ‘पृथ्वीको माथिल्लो परत वा स्तर जहाँ रुखपात, वनस्पति उम्रने गर्छन्’ भनेर बताइएको छ ।
ल्याटिन मूलको humus शब्दसँग human शब्द पनि मिलेर आएको हुनाले माटो अनि मानवको सम्बन्ध परापूर्वकालदेखि सँगै रहेको देख्न सकिन्छ । मानिसको सांस्कृतिक अनि सामाजिक परिप्रेक्ष्यभित्र कला अनि साहित्यमा माटोको विशेष स्थान हुन्छ । कला अनि साहित्यमा माटो समाजको प्रतिच्छाया भएर रहेको हुन्छ ।
यसै सन्दर्भमा सन् १९५८ मा एकजना अमेरिकी गायक सङ्गीतकार Johnny Cash ले विश्व प्रसिद्ध गीत Songs of our soil रेकर्ड गरेका थिए । यो एल्बम विश्व प्रसिद्ध भयो । यस एल्बमभित्र रहेका गीतहरूले माटो अनि संस्कृतिको सम्बन्धलाई एउटा व्यापक अनि विविध दृष्टिकोण प्रदान गऱ्यो । अन्तर्राष्ट्रिय परिदृश्यमा धेरै महान् गीतकारहरूले यसरी नै सङ्गीत विधाबाट माटोलाई सिर्जनात्मक अनि अदेखी दृष्टिकोणबाट हेर्न थाले । मानिसको जीवन चक्रबाट माटोलाई केवल उब्जनी गरिने एउटा माध्यम मात्र नठानेर माटोलाई मानवीय दृष्टिकोणबाट पनि हेरिँदै यसभित्र पनि पीडा, बलिदान अनि कसैलाई मुक्ति दिन सक्ने एउटा माध्यमका रूपमा पनि देखाउन थालियो ।
सिर्जनात्मक दृष्टिकोणको एउटा पक्षले माटोलाई असहाय सिर्जना, सहनशील अनि भावनात्मक वस्तुका रूपमा पनि मान्न थालियो । फलस्वरूप माटो हामी मानिसका पैतालामुनि रहेर पनि अपरिहार्य आधार नै भइरह्यो । धेरै पुराना संस्कृतिहरूका चर्चातिर माटोको ख्याल अनि देखरेख कसरी गरिनु पर्दछ भन्ने मौखिक रूपमा कथ्य अनि ससाना कथा-कुथुङ्ग्री आदिका माध्यमबाट एउटा युगदेखि अर्को पुस्तासम्म यसको ज्ञान सारिन्थ्यो । यसमा गीतले ठुलो भूमिका खेलेको हुन्थ्यो ।
भारतीय नेपाली भाषी समुदायका निम्ति माटो दर्शन बोकेका एकजना मशालका रूपमा कवि अगमसिंह गिरीलाई पाउन सकिन्छ । उनले गोर्खाली हृदय अनि भावनासँग माटोको सम्बन्ध आफ्ना अभिव्यक्तिहरूमा बारम्बार समावेश गरेका पाइन्छन् । ती अभिव्यक्तिका आधारमा यस लेखभित्र गिरीको माटो दर्शनबारे जान्ने प्रयास गरिन्छ ।
माटो दर्शन अनि अगमसिंह गिरी :
आर्थिक दृष्टिकोणअन्तर्गत माटोलाई हामी जमिन अनि भौतिक उन्नतिका दृष्टिकोणअन्तर्गत सम्पत्ति भन्ने गर्दछौँ । पुरातन युग हुँदै परम्परावादी समाज अनि आजको आधुनिक युगसम्म पनि माटोप्रतिको नयाँ नयाँ दृष्टिकोण दिनहुँ आविष्कार भइरहेका पाइन्छन् । माटोले संस्कृतिलाई परिभाषित गर्छ ।
इतिहासमा माटोले मानव समाजलाई बलियो रूपमा परिभाषित गरेको पाइन्छ । माटोको उर्वरताले हाम्रो अर्थव्यवस्थालाई परिभाषित गर्दछ अनि यसको रङ्गले हाम्रो कलालाई परिभाषित गर्दछ । संस्कृतिको काम वास्तवमा माटो स्याहार्नु अनि त्यसमा अन्न उमार्नु, फलाउनु बुझिन्थ्यो अनि आज संस्कृति माटोसँग पृथक् राखेर हेर्न नसकिने विषय बन्न पुग्यो । समय बित्दै गयो, मानिसका विचार अनि सोच पनि बृहत् बनिँदै गए ।
फलतः माटो र संस्कृतिको सम्बन्धले देखाएको अवधारणा गम्भीर हुँदै गयो । यस अवधारणाभित्र भौतिक, बौद्धिक, आध्यात्मिक जस्ता पक्षहरू पनि प्रवेश हुँदै गए । आज संस्कृति भन्नाले खानपान, वेशभूषा, रहनसहन मात्र नभएर प्रविधि, प्राज्ञिक, कला, नैतिकता, धर्म, राजनीति लगायत जीवन चक्रलाई सुदृढ बनाउने उपकरणहरू समेत समेटिएको एउटा अध्ययन बुझिन्छ । मानव समाजसँग माटोको सम्बन्ध अनि यसको दर्शन यिनै सन्दर्भहरू भित्रै भेटिन्छ ।
गिरी जयन्ती झन्डै सय वर्ष पुग्न आँटेको छ । प्रत्येक २६ दिसम्बरका दिन हामीले कवि गिरीलाई सम्झिरहेका हुन्छौँ । भारतीय नेपाली भाषिक गोर्खा समुदायका निम्ति अगमसिंह गिरी एउटा सम्मिलन बिन्दु (rallying point) भएर आजसम्म बाँचिरहेका छन् । आजसम्म देखिएको हाम्रो राजनैतिक वास्तविकतालाई पृष्ठभूमिमा राख्दै कवि गिरीको नाममा भेला हुनु साँच्चै समयले निर्माण गरेको एउटा परिघटना हो । यस्तो जमघट आफैमा अर्थपूर्ण हुन्छ ।
मानव सभ्यतामा बास सँग-सँगै गाँसका लागि निर्विकल्प आधारका रूपमा माटो संरक्षण र स्वास्थ्य स्थिति अत्यन्त आवश्यक छ । हामीलाई माटो भौतिक वा भावनात्मक रूपले धेरै आत्मीय लाग्छ । भौगोलिक क्षेत्रअनुसार माटोका भिन्न-भिन्न मौलिक एकाइ हुन्छन् । प्रकृतिमा एक इन्च माटो बनिनु झन्डै चार सय वर्ष लाग्छ भन्ने अनुसन्धानकर्ताहरूको भनाइ छ । आज आधुनिक चिकित्सा विज्ञानअन्तर्गत माटोबाट हुने उपचार सर्वप्रथम ग्रिस देशबाट प्रारम्भ भएको मान्यता छ ।
माटोबाट हुने चिकित्सा युरोप हुँदै पूर्वीय दर्शनको आयुर्वेदमा प्रयोग हुन थालेको जानकारी पनि पाइन्छ । माटोको प्रयोग अनि प्राकृतिक उपचार विधि यसरी मानव समाजसँग प्रचलनमा आउँदै गरेको आज देख्न सकिन्छ । माटोको भौतिक उपयोगिताबारे चर्चा असीमित छ । माटोसँगको हाम्रो आत्मीयता पनि असीमित छ । भाषा, संस्कृति अनि चिनारीको प्रसङ्गमा हामीभित्रको व्यग्रता जहिले पनि एउटा अभिव्यक्ति भएर साहित्य प्रस्फुरित भइरहेको हुन्छ ।
आजसम्मका विविध अध्ययन अनि वैचारिक अभिव्यक्तिभन्दा अर्को छुट्टै दृष्टिकोणअन्तर्गत हामी कवि गिरीलाई हाम्रो समाजसँग जोडेर हेरौँ । हाम्रो समाजभित्र रहेको माटो दर्शनको कुरालाई स्पर्श गर्दै गिरीबारे विषय उत्खनन गरौँ । वास्तवमा हाम्रो समाज यिनै कुराहरूले भरिएका छन् । कवि गिरीले लेखेका साहित्यका ठेलीका ठेली पुस्तकहरूमा हामीले सबैभन्दा धेरै आविष्कार गर्न पर्ने, अनि सक्ने तर गर्न नसकेका कुरा नै उनको माटो दर्शन हो ।
धेरैले गिरीको दु:खवाद सायद परकीयताको भाव र बिरानोपनको भावका कारण भएका हुन् भन्ने अनुमान गरेका छन् । कसैले गिरीका दुःखवाद वास्तवमा गिरीका मनमा भएका राष्ट्रवाद अनि नेपालसँग राजनैतिक सिमानाले ल्याएको पीडा हुनसक्छ भन्ने पनि चर्चा गरेका छन् । सामाजिक, आर्थिक, राजनैतिक जस्ता समस्याहरूसँगै नेपाली भाषी समुदायले भोग्नु परेको गरिबी अनि बाध्यतालाई पनि उल्लेख गर्दै औपनिवेशिक कालमा गोर्खा जातिले पाएको ‘वीर गोर्खा’ को कोलोनिअल ट्यागलाई पनि धेरैले लोक मङ्गल र सामाजिक विषयवस्तुका कविता लेख्ने कविहरूका रूपमा मानिलिएका कुरा गरेका देख्न सक्छौँ ।
गिरीभित्र पनि यस्ता विभिन्न धारा विभिन्न कालमा समाविष्ट भएको कुरा अवश्य छ यद्यपि आजको हाम्रो समाजमा व्याप्त भारतीय गोर्खाहरूका दलगत मौनता र आत्म केन्द्रित प्रवृत्तिले भरिएको राजनीति, वास्तवमा हामीमाझ परेको एउटा अविश्वासको आपसी खाडल हुन् । व्यवस्थाप्रतिको स्थानिक-सामयिक बोध भएका अफ्रिकेली कविताहरू जस्तै गिरीका कविताभित्र पनि एउटा स्वर रहेको पाइन्छ । जो व्यवस्थादेखि नितान्त पीडित छ ।
गिरीका कविताका भावभूमि पार्श्वमा राखेर भारतीय राजनीतिको लामो इतिहासभित्र नेपाल राष्ट्रबाट राजनैतिक सिमाना नाघेर आएको भारतेली नेपाली भाषी गोर्खाहरूका राष्ट्रवाद अनि ऐतिहासिक राजनैतिक विकासको लामो वर्णन पाउन सकिन्छ । गिरीका मूल्याङ्कन जसरी हुँदै आए तापनि अझसम्म गिरी पूर्ण आविस्कृत भइसकेका छैनन् । राजनैतिक दृष्टि, विशिष्ट आलोचना दृष्टि, कवि व्यक्तित्व, सामाजिक भूमिका आदिलाई आधार बनाउँदै स्वातन्त्र्योत्तर कालका वर्तमानसम्म नै गिरीलाई पाइने तथ्य भारतीय नेपाली भाषिक समुदायभित्र गिरीको लोकप्रियता नै उनको माटो दर्शन हो ।
दार्जिलिङका चियाबारी अनि यहाँका रैथानेहरूका समस्याबारे कविले तत्कालीन समयमा उपनिवेशकहरूले बारम्बार जैविक विविधता अनि सामाजिक संरचनालाई नष्ट गर्ने काम गरिरहेको प्रसङ्ग राख्दै यस्ता घटनाका विरोधमा लेखेका कुरा उदाहरणसँगै एउटा कवितांश यसरी राख्न सकिन्छ ।
जस्तै-
हजार हाम्रा छात्त्तीहरूमा
सङ्गिन आज रोपिन देऊ,
पोल्टामा युग सत्य लुकाई
माटोले तर छोपी नदेऊ,
बिर्सन दिन्नौँ सन्ततिलाई
निर्मम गोलीको प्रहार यहाँ,
तिम्रो-मेरो प्राण लुछेर
खोसिन्छ कहाँ अधिकार यहाँ ! (चियाबारीका शहिदहरू)
गोर्खा जातिले लडेको युद्धलाई परिभाषित गर्दा गिरीकै शब्दमा-‘दासत्वपूर्ण युद्ध, सङ्कल्पशून्य युद्ध, उद्देश्यहीन युद्ध’ लाई पुन: दोहोऱ्याउँदा उनका साहित्यिक कार्यमा आँसु, वेदना, पिडा आदि पाइए तापनि सबैभन्दा धेरै पाइएको तत्त्व नै माटो दर्शन हो । भारतीय सन्दर्भमा माटो-दर्शन कति मूल्यवान् छ ? भारतीय सन्दर्भमा यसको अर्थ अनि अवश्यकता कसरी बुझ्नुपर्ने ? स्वातन्त्र्योत्तर कालमा गिरीले गरेका माटोको चिन्ता आजसम्म पनि सान्दर्भिक अनि ज्वलन्त छ । यस्तै सन्दर्भसँग मिल्न सक्ने एकजना नाइजेरियन् कवि गाब्रिएल ओकाराले आफ्ना कवितामा यस्तो लेखेका पाइन्छ ।
Once upon a Time, son!
They used to laugh with hearts
And laugh with their eyes;
But now they only laugh with their teeth,
While their ice-block-cold eyes
Search behind my shadow !
गाब्रिएल ओकाराका उक्त कवितामा अफ्रिकन मूलवासीभित्रका समाजमा पाश्चात्य जीवनशैलीले ल्याएको सांस्कृतिक विचलन, युवा अनि प्रौढ अवस्थाका सम्झना, निष्पाप संस्मरण इत्यादिलाई समेटेको देख्न सकिन्छ । उनको कविता सङ्ग्रह The Fisherman’s Invocation (सन् १९७८) भित्र यो कविता सङ्ग्रहित पाइन्छ ।
झन्डै यस्तै समयमा हाम्रो समाजले कवि गिरीलाई पाएका हौँ । कवि गिरीले स्वातन्त्र्योत्तर भारतमा हाम्रो समाज अनि माटोलाई एकैसाथ राखेर बोलेका छन् । हाम्रो समाजसँग माटोको सम्बन्धलाई उनका कविताले बारम्बार दोहोऱ्याएको छ । चियाबारीमा बगेको हाम्रो पसिना अनि रगतको कुरा साथै बाँसघारी-देउरालीमा रहेका हाम्रा पिता-पुर्खाका चिहान आदिलाई कवि गिरीले माटो दर्शनका कुरा बनाएका छन् । यसका प्रसङ्ग यस्तो भेटिन्छ-
माटोको माया बिर्सेर यहाँ बाँचेर के पो सार,
पहाडकी रानी दार्जिलिङलाई माया छ बारम्बार ।
…
माटोको यो ममता ब्युँझी गर्न नपाओस् उपहास यहाँ
रक्त-रक्तले पहाड रङ्गियोस् लेखिन देऊ इतिहास नयाँ । (चियाबारीका शहिदहरू)
यस्तै अर्को एउटा सन्दर्भमा सन् १८५४ मा अमेरिकी मूलवासी (रेड इण्डियन) र वासिङ्टन क्षेत्रका गभर्नरसँग सन्धि वार्ताका क्रममा सुनाइएको Chief Seattle को सशक्त सम्भाषणको एउटा टुक्रा यहाँ प्रस्तुत गरिन्छ । जस्तै-
‘Yonder sky that has wept tears of compassion upon my people for centuries untold, and which to us appears changeless and eternal, may change. Today is fair; tomorrow it may be overcast with clouds. We would have everything to lose and nothing to gain. Revenge by young men is considered gain, even at the cost of their own lives, but old men who stay at home in times of war, and mothers who have sons to lose knows better.’
यो सम्भाषणलाई अमेरिकी मूलवासी (रेड इण्डियन)-द्वारा दिइएको सबैभन्दा सशक्त अनि व्यापक उद्धृत कथनका रूपमा पाउन सकिन्छ । यसभित्र मानिस अनि पृथ्वीबिचको सम्बन्धबारे बताइएको भए तापनि रेड इण्डियनका आफ्नो माटोमाथि भइरहेको अतिक्रमण अनि उनीहरूको विवशतालाई यसमा उद्धृत गरिएको छ । उपर्युक्त सम्भाषणमा अमेरिकी मूलवासीहरूका माटो दर्शन स्पष्ट देख्न सकिन्छ । कवि गिरीको सम्बोधन उपर्युक्त सम्बोधनका अघि हाम्रो माटो अनि चिनारीका सन्दर्भमा यस्ता भेटिन्छन्- जस्तै
तिम्रा माटोको आकाङ्क्षा बोलेको युद्ध
तिम्रै धरतीको प्रत्याशा ब्युँझेको युद्ध
तिम्रै रगतको बलिदान मागिरहेको युद्ध
तिम्रै गौरवको तिम्रै स्वाधीन युद्ध ..। (युद्ध र योद्धा)
…
‘इतिहासका मृतप्राय:
गौरव लिएर अनि भन्न सक्छौ कसरी?
बलभद्र र अमरसिंहका सन्तान आफूलाई
स्वतन्त्र देशको, स्वतन्त्र छोरो आफूलाई!’
हामी भारतीय नेपाली समुदायको सामूहिक समाजको धरातल नै माटो दर्शनमा आधारित छ । जन्मिँदा, हुर्किंदा खेल्ने माटो, आफ्नो रगत र पसिना सिँचेको माटो अनि आफू मरेर जाँदा चाहिने बिदाइको माटो । माटो भावनात्मक हुन्छ । यसभित्र पीडा, बलिदान अनि सचेतना हुन्छ । यो सत्य कुरा हो । कवि गिरीले माटोलाई गरेका मायाको एउटा हृदय स्पर्शी भाव यसरी पोखिएको पाइन्छ । जस्तै-
मैले यो पहाडी माटोमा
थुप्रै थुप्रै माया छरेको छु
शैशवदेखि यौवन सम्मका
धेरै-धेरै स्नेहहरू रोपेको छु
यहाँदेखि परतिर बाँचुन्जेलसम्मका
सबै मोहहरू, आत्मीय जति
मेरा यिनै भीर-पखेरा
देउराली-लेकाली डाँडालाई सुम्पिराख्ने छु
साटोमा म अरू माग्दिन केही । (पहाडलाई मेरो माया)
निष्कर्ष :
कवि गिरीले आफ्ना जीवनका नैराश्य, वेदना, पीडा, आँसु इत्यादि लेखे तापनि उनका कृतिहरू युद्ध र योद्धा (सन् १९७०) अनि जलेको प्रतिविम्ब: रोएको प्रतिध्वनि (सन् १९७८) ले माटो दर्शनको पक्षलाई प्रस्फुरित पारेका छन् । माटोको प्राकृतिक उपयोगिता अनि यसको भावनात्मक आत्मीयतासँगै प्रकृतिमा एक इन्च माटो बनिनु झन्डै चार सय वर्ष लाग्छ भन्ने वर्तमान वैज्ञानिक मान्यताअघि कवि गिरी त्यही एक इन्च माटो भएर हाम्रो समाजमा बाँच्ने छन् जहाँ हाम्रो चिनारीको सङ्घर्ष चार सय वर्ष किन नहोस् उनले देखाएका माटो दर्शन युगौँसम्म हाम्रो समाजमा रहिरहने छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।