नयाँ वर्षको शुभकामना
गोविन्द गिरीलाई मात्र होइन
गोविन्द प्रधानलाई पनि हो
ल्होसारको शुभकामना
नेत्र घिसिङलाई मात्र होइन
लेखनाथ भण्डारीलाई पनि हो
अनि
यो न्हू दँया भिन्तुना
राम मालाकारलाई मात्र होइन
डी.बी. तामाङलाई पनि हो ।
– वसन्त श्रेष्ठ, न्यू दँया भिन्तुना
संयुक्त राज्य अमेरिकाको ग्रेटर वासिङ्टन महानगर क्षेत्रमा वसन्त श्रेष्ठ पूर्णकालीन साहित्यकारका रूपमा परिचित छन् । सन् २००४ को शरद ऋतुमा यो पङ्क्तिकारले अमेरिकी भूमिमा टेकेको भोलिपल्ट नै वसन्त श्रेष्ठसँग भेट भएको हो ।
स्थानीय नेपाली समुदायको बसोबास रहेको भर्जिनियाको आर्लिङ्टन “छिमेकी गाउँ” का अगुवा श्रेष्ठसँग त्यही दिन यस क्षेत्रका नेपालीहरूको एक सार्वजनिक कार्यक्रममा सहभागी हुने अवसर पनि जुरेको थियो । यस क्षेत्रका नेपाली समुदायका अधिकांश सार्वजनिक साहित्यिक वा सांस्कृतिक कार्यक्रमहरूमा वसन्त श्रेष्ठ सहभागी नभएको कमै पाइन्छ । व्यक्तिगत मित्रता, पारिवारिक निकटता र साहित्यिक गतिविधिहरू यो पङ्क्तिकार र वसन्त श्रेष्ठबीचको सम्बन्धका आयामहरू हुन् ।
सन् १९९४ मा अमेरिका प्रवेश गरेका वसन्त क्लोराडो, न्यूयोर्क, बोष्टन हुँदै सन् २००० देखि ग्रेटर वासिङ्टन क्षेत्र (भर्जिनिया)मा बसोबास गर्दै आएका छन् । अमेरिकाको राजधानी नै सही यो क्षेत्र वसोवास र गतिविधिले नेपालीहरूको पनि राजधानी मानिने नै भयो । यसो त न्यूयोर्क, टेक्सास र क्यालिफोर्निया पनि नेपाली समुदायको बसोबासका मुख्य केन्द्र हुन् ।
वसन्त अमेरिकी नेपाली जीवनका यी अढाई–तीन दशकमा अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) को अध्यक्षलगायत एक वा एकभन्दा बढी नेपाली समुदायका सामाजिक (साहित्यिक र सांस्कृतिक) संस्थाको नेतृत्वमा नभएको पनि कमै समय होला । कविको पहिचान बनाएका वसन्त संस्मरण र जीवनीपरक निबन्ध (व्यक्तित्व परिचय) लेखनका साथै कविता वाचन कलामा पनि विशेष प्रभाव छोड्न सफल छन् । यस क्षेत्रमा हुने त्यस्ता धेरै कार्यक्रमका आयोजक,सक्रिय सहभागी,वक्ता वा अतिथि आदिमध्ये वसन्तको भागमा कुनै एक नपरेको पनि कमै हुन्छ ।
यस क्षेत्रमा बढ्दै गएकाे नेपालीहरूको जनसङ्ख्यासँगै सामाजिक कार्यक्रमहरूको सङ्ख्या बढेको त छ तर सहभागिता (एउटै कार्यक्रममा) भने घट्न पनि थालेको छ । सन् २०१२–१५ सम्म यहाँ भानुजयन्ती, देवकोटा जयन्ती, दशैँ–तिहार र वनभोज कार्यक्रमहरूको आकर्षण र सहभागिता साँच्चिकै आकर्षक हुन्थ्यो ।
त्यस्ता कार्यक्रम कम हुन्थे तर सहभागी धेरै । नेपालीहरूको जनसङ्ख्या बढ्नुका साथै समाजको बिस्तार एकीकृत नभएर चारैतिर छरिन थालेपछि आजभोलि यस्ता कार्यक्रम धेरै र एउटै कार्यक्रममा भने सहभागी थोरै हुन थालेको छ ।
केही वर्षयता स्थानीय स्तरमा आयोजना हुने ‘तीज पर्व’ अलिक आकर्षक वा सहभागिता बढी देखिए तापनि व्यवस्थापन पक्ष भने केही कमजोर हुने भएकाले यस्ता कार्यक्रमहरूमा सहभागिता ‘भिड’को रेकर्ड राख्नका लागि भन्दा पनि स्थानीय स्तरमा व्यवस्थापनले धान्न सक्ने, पूर्ण मनोरञ्जनात्मक, सांस्कृतिक महत्वको सन्देश दिन सक्ने र सहभागी क्षमताको सीमाभित्र बसेर गर्नु राम्रो हुने धारणाहरू पनि सार्वजनिक हुन थालेका छन् । कवि श्रेष्ठको कृतित्व र व्यक्तित्वको चर्चाका लागि उठान गरिएका यी पङ्क्ति विषयान्तर हुन खोज्नु पनि उनकै बहुआयामिक व्यक्तित्वले यस समुदायमा पारेको प्रभावको अर्को उदाहरण हो ।
माथि सुरुमा उल्लेख कविताका पङ्क्ति वसन्त श्रेष्ठको सन् २००८ मा प्रकाशित ‘वसन्त श्रेष्ठका कविता’ सङ्ग्रहमा परेको ‘न्यू दँया भिन्तुना’को एक अंश हो । गोविन्द गिरी सम्पादक र श्रीमती विधालक्ष्मी श्रेष्ठ प्रकाशक रहेको यस कवितासङ्ग्रहमा २० वटा मध्यम आकार (लामा पनि होइन, छोटा पनि होइन)का कविताहरू छन् । एकै बसाइमा पढिसकिने यस सङ्ग्रहका कविताहरूमा देश–परदेशका बीचको कवि भावनाले मानवीयता र उज्ज्वल भविष्यको कामना गर्दछन् ।
तत्कालीन समयको मातृभूमिको आन्तरिक द्वन्द्वको कारण समाजमा बढ्दो हिंसा, अशान्तिलाई अन्त्य गर्नका लागि नेपाली नेपाली बीचको सांस्कृतिक एकता र मित्रतालाई कवि श्रेष्ठले प्राथमिकताकासाथ प्रकट गरेका छन् ।
बहुजातीय र बहुसांस्कृतिक हाम्रो समाजको मित्रता र एकताको आधार पनि बहुजातीय अस्तित्व,भाषाको अपनत्व र सांस्कृतिक सहिष्णुता नै हो भन्ने कवि भावना हो ।
असल पाठकको खोजी आजका लेखकहरूको समस्या हो । अझ स्पष्ट गरेर भन्दा आजका सबै प्रकारका सिर्जनाकर्मीहरू (लेखक, कलाकार, सङ्गीतकर्मी आदि) कै साझा समस्या हो – आलोचनात्मक समीक्षा । हामी आलोचना र प्रश्न गर्न पनि डराउँछौ । किनकि आलोचना र प्रश्नलाई विरोधका रूपमा बुझ्न थालिएको छ । आलोचना र प्रश्न गर्नका लागि विषयगत ज्ञान र रुचि पनि हुनुपर्छ भने मेहनत पनि गर्न पर्ने हुन्छ । कसैले मेहनत गरेर,दुःख गरेर गरेको प्रश्न सर्जकहरूलाई मन नपर्न सक्छ किनकि आँखा चिम्लेर राम्रो छ भनेर प्रशंसा गर्नेहरूको भिडमा रमाएको सर्जक पनि प्रश्न र आलोचनालाई विरोध भनेर बुझ्न थालिसकेको हुनसक्छ ।
यसबाहेक पनि किन आलोचनात्मक समीक्षाको समस्या अर्थात् खाँचो हुन थालेको हो त ? यो प्रश्नका पछाडि अन्य धेरै सामाजिक जीवन र तिनसँग जोडिएका सम्बन्धहरूको विश्लेषण र अध्ययन गर्नुपर्ने हुन्छ । हिजो यस्तो अलिक कम हुन्थ्यो वा हुन्न थियो भन्ने कुराका बारेमा चर्चा गर्नु पहिले आज किन यस्तो हुन्छ भनेर चर्चा गर्नु सान्दर्भिक हुनसक्छ । हिजो सबै राम्रो र आज सबै नराम्रो भनेर गरिने तुलनाले मानिसलाई भविष्यप्रति कम आशावादी र ज्यादा निराश पनि बनाउन सक्छ, होसियार हुनुपर्छ यहाँ ।
सबै सिर्जनाकर्मीहरूको प्रयत्न सकेको जानेको अधिकतम राम्रो नै गरौँ भन्ने हुन्छ । सकेको जानेको र बुझेको भन्दा राम्रो गर्ने सम्भावना कसैमा पनि हुन्न । तर एक व्यक्तिले वा एउटा समूहले जति जानेको बुझेको र जति गरेको छ त्यो पूर्ण वा पर्याप्त नहुन सक्छ । त्यसले आम सिर्जनाका उपभोक्ता (दर्शक, स्राेता, पाठक आदि) को अपेक्षा पूरा नगर्न सक्छ । नयाँ कुरा सिक्दै र प्रयोग गर्दै जानका लागि पनि यथास्थितिभन्दा फरक ज्ञान, सीप र प्रयोग एक अर्काबाट पनि सिक्दै र प्रयोग पनि गर्दै जानु पर्दछ । तर विज्ञान प्रविधिले साँगुरिँदै गएको ‘ग्लोवल भिलेज’मा व्यक्तिका ज्ञान, रुचि र समयको व्यवस्थापन कठिन हुँदै गएको छ । आपसी छलफल र समीक्षाको कुरा त परै रह्यो लेखक सर्जक स्वयम् आफ्नो सिर्जना दोहोर्याएर नहेरी सामाजिक सञ्जाल वा अनलाइनहरूमा सार्वजनिक गर्न हतारिएको हुन्छ ।
मानिसमा अध्ययन र अवसरका स्रोतहरू जति फराकिलो हुँदै गएको छ, तिनको ग्रहण र सम्प्रेषण भने साँगुरिँदै गएको जस्तो महसुस हुन थालेको छ । सिर्जनाकर्मीहरू हतारमा छन् । तिनका उपभोक्ताहरू अझै हतारमा, समीक्षक र आलोचक त त्यत्तिकै हतार वा व्यस्त हुने नै भए । त्यसैले सिर्जनाकर्मीहरू जहाँ जुन बेला जे प्राप्त हुन्छ, त्यही बेला सार्वजनिक गरिदिन्छन् । पाठक, दर्शक वा स्राेताहरू पनि त्यतिखेर नै लाइक, कमेन्ट, शेयर गरेर प्रशंसाको फूलबुट्टा भरिदिन चाहन्छन् । यो पङ्क्तिकारको ठहर छ– वसन्तहरू जस्ता आजका सिर्जना कर्मीलाई असल पाठकहरूको खबरदारीको अभाव नै छ । उनीहरूलाई आलोचना गर्न र प्रश्नको कठघरामा उभ्याउन सक्ने पाठकको खाँचो छ ।
यो सन्दर्भ वा यो चर्चा कवि वसन्त श्रेष्ठको १५ वर्ष पहिले प्रकाशित कविता कृति ‘वसन्त श्रेष्ठका कविता’ को हो । यो कृति कवि श्रेष्ठले सन् २००८ मा यो पङ्क्तिकारलाई सप्रेम उपहारका रूपमा हस्ताक्षरसहित उपलब्ध गराएका थिए । तर यतिका वर्षसम्म पनि यो कविता सङ्ग्रहको अध्ययन हुन सकेको थिएन याे पङ्क्तिकारबाट ।
लेखक वा कविहरूलाई सबभन्दा पहिले सम्पादक र प्रकाशकहरूले प्रश्न र आलोचनाको कसीमा जाँच्न सक्नुपर्छ । त्यसपछि पाठक तथा समीक्षकहरूले पाइनमा राखेर कसी नलगाएसम्म तिनका सिर्जनाको गुणयताको मूल्याङ्कन गर्न गाह्रो हुन्छ । लेखक कविहरूबाट अभिव्यक्ति भावना र अनुभूतिहरू पनि हाम्रै सामाजिक परिवेश र व्यक्तिगत जीवनका उतार–चढावहरू नै त हुन् । तिनमा पनि त अधिकांश मानिसहरूमा हुने उत्तेजना, आवेग, आक्रोश र रिस हुनसक्छ । उनीहरूबाट पनि अप्रिय सन्देश सम्प्रेषण हुन पनि सक्छन् । तर सम्बन्धित सिर्जनाकर्मी र त्यसका समग्र उपभोक्ताको सहकार्यबाट तिनमा सुधार हुने र गुणयतामा वृद्धि हुने विश्वास गर्न सकिन्छ ।
कविता-काव्यमा कतिपय सन्दर्भमा कविले कुनै पनि सन्देशको कुनै पनि शब्दको प्रयोजनको उद्देश्य र अर्थको स्पष्टीकरण दिने अवसर पनि त कम पाउन सक्छन् । कविता काव्यको तुलनामा स्पष्टीकरणको मौका अलिक बढ्ता अन्य विधाका सिर्जनाकर्मीलाई हुनसक्छ । तसर्थ कवितामा अभिव्यक्त अनुभूति शब्द विस्तारमा भन्दा विम्ब, प्रतीक र सङ्केतहरूमा भन्नुपर्ने हुन्छ । वसन्त श्रेष्ठको कविताको सन्दर्भमा चर्चा गर्दा यस्तै एउटा शब्दको उदाहरण ‘परदेशमा दशैँ’मा दिन सकिन्छ । कवितामा कवि दशैँको समयमा मातृभूमिको उत्साह र परदेशको दशैँको निराशाका बीच तुलना गर्छन् ।
००००
वसन्त श्रेष्ठका कविता सङ्ग्रहमा परेको ‘परदेशमा दशैँ’ शीर्षकको कविता यस्तो छ –
देशभर
भय, त्रास र सन्त्रासको बीचमा
दशैँ जमजमाइरहेकै होला
साथीहरू बियर र ताससँगै
चङ्गा पनि उडाइरहेकै होलान्
बच्चाहरू नयाँ कपडा, सेलरोटी र पिङमा
रमाइरहेकै होलान्
बगैँचाभरि सयपत्री र लालुपाते
ढकमक्क फुलेकै होलान्
दिदी-बहिनीहरू भाइपूजाको प्रतीक्षामा
औँला भाँच्दै होलान्
देउसीहरू देउसीको तयारीमा
मादल ठोक्दै होलान्
अनि हामी परदेशमा
ती दिनको
ती ठाउँको अनि
ती गाउँको यादमा
गहभरि सम्झनाको
आँसु टलपलाउँदै
आफन्तका हँसाइहरूलाई
अनि आफ्ना परिवारका अनुहारहरूलाई
यतै कतै
यतै वरिपरि
छिमेकी गाउँकै
आँगन वरिपरि
कसै-कसैमा
साँच्चै देखेको
व्यर्थै कल्पना गर्दै
यसरी नै प्रत्येक वर्ष
यस्तै
दशैँ मनाइरहेछौँ ।
दशैँ नेपाली समाजको युगौँ पुरानो सनातन संस्कृति हो । यो संस्कृति भूगोलसँग मात्र सम्बन्धित छैन, यो नेपाली समाज र नेपाली जीवनसँग पनि सम्बन्धित छ । यसको महत्त्व कुनै समय सीमा र व्यक्तिगत वा अन्य कुनै परिस्थितिका कारण कम बेसी हुन्छ वा थियो भनेर तुलना गर्न सकिन्न । व्यक्तिगत जीवनको अपेक्षा,अवस्था र आवश्यकतामा तल माथि हुनसक्छ तर दशैँ नेपाली समाजमा देश वा परदेश सबैतिर सधै उतिकै नवीन उत्साह, जाँगर र खुसी लिएर जमजमाएर आउने पर्व हो । यो सधैँ यसरी नै आउँछ र त्यसरी नै सन्देश दिएर जान्छ । यस कविताको पहिलो ३ लाइन हेरौँ–
‘देशभर
भय, त्रास र सन्त्रासका बीचमा
दशैँ जमजमाइरहेकै होला …’
पाठकहरूलाई लाग्न सक्छ, ‘भय, त्रास र सन्त्रासका बीचमा’ कसरी दशैँ जमजमाएर आउँछ ? माथि पनि उल्लेख छ – दशैँ देश र परदेश सबैतिर उतिकै नयाँ उत्साह, उमङ्ग र खुसी नै लिएर जमजमाइरहने पर्व हो । व्यक्तिगत सन्दर्भमा कतिपय घटना दुर्घटना वा समय सन्दर्भले त्यसलाई प्रभावित गर्न सक्छ तर समग्रमा दशैँ जगमगाएर वा जमजमाएर नै आउँछ । मातृभूमिको सम्झना र मोहमा दशैँको बिम्ब र कविको भावनालाई प्रतिकुल परिस्थितिले पनि रोक्न सक्दैन ।
अनुमान गर्न सकिन्छ, कविता लेखन र प्रकाशनको समयमा नेपाली समाज राजनीतिक द्वन्द्व र हिंसाको चपेटामा थियो । तर दशैँले त्यो सबै बिर्साइदिन्छ र रमाइलो अनुभूति सञ्चार गर्छ कवि हृदयमा । तर यसै कवितामा कुनै स्पष्टीकरण दिन नसकिने वा औचित्य नभएको एउटा शब्द छ, त्यो हो ‘व्यर्थै’ । कविताको अन्तिमबाट ४ लाइन माथिको ‘व्यर्थै’ शब्दको सान्दर्भिकता यस कविताको सन्देश र उद्देश्य वा अनुभूति प्रसङ्गसँग आवश्यक थिएन । ‘भय, त्रास र सन्त्रासका बीचमा’ पनि जमजमाएर आउने त्यही दशैँमा घर परिवार वा आफन्तजनको सम्झना र कल्पना पनि त व्यर्थ हुन सक्दैन वा हुन नपर्ने होइन र ? हेरौँ कविता कसरी टुङ्गिएको छ –
अनि आफ्ना परिवारका अनुहारहरूलाई
यतै कतै
यतै वरिपरि
छिमेकी गाउँकै
आँगनविरपरि
कसै-कसैमा
साँच्चै देखेको
व्यर्थै कल्पना गर्दै
यसरी नै प्रत्येक वर्ष
यस्तै
दशैँ मनाइरहेछौं ।
कविले आफ्नो अनुभूति र सन्देश सम्प्रेषणका लागि प्रयोग गरिएको विम्ब र सन्देशमा सङ्गति मिल्नु आवश्यक हुन्छ । व्यर्थै, यो शब्दको प्रयोगले यस कवितामा दशैँ जुन विम्ब र जुन सन्देशका लागि प्रस्तुत गरिएको छ, त्यो सङ्गतिपूर्ण अर्थात् सङ्गतिसङ्गत देखिएन । यस कवितामा व्यर्थै नभएको भए फरक पर्ने थिएन मात्र होइन अझै सम्प्रेषणीय,मित्रवत् र स्वदेश तथा परदेशका सबै स्व-जनहरूप्रति पनि सम्मानपूर्ण सम्झना हुने थियो ।
डेढ दशकको यस समयावधिमा कवि श्रेष्ठका ४ वटा कविता सङ्ग्रहका अतिरिक्त जीवनी र संस्मरणसमेत आधा दर्जन कृति प्रकाशित भइसकेका छन् । सम्पादन र फुटकर रचना प्रकाशनको शृङ्खलाको गणना छुट्टै गर्नुपर्छ ।
पाठकीय राय वा प्रश्नहरूले कवि लेखकहरूको गुणयतालाई नै कसी लगाएर त्यसलाई उजिल्याउन नै सहयोग गर्ने हो । पाठकीय राय र आलोचनात्मक प्रश्नहरू प्राप्त गर्न नसक्दा लेखहरूबाट त्यस्ता कमी कमजोरीहरू सोहोरिरहेका पनि हुन सक्छन् । यो लेखक र पाठक दुवैका लागि घाटाको विषय हो । त्यस्ता कमजोरीहरू पाठकहरूका लागि स्वादु मिष्टान्न भोजनको गाँसमा दाँतमा ढुङ्गा लाग्नु जस्तै अप्रिय हो ।
लेखकका लागि पनि आफूले अतिथिका लागि तयार गरेर पस्केको स्वादु व्यञ्जनमा ढुङ्गा लाग्नु रमाइलो लाग्ने कुरै भएन ! लेखक–पाठक दुवैका लागि हानी हुने यस दुर्घटनाबाट बच्न दुवै पक्षको समन्वय र सहकार्य समयमै हुन आवश्यक छ । पाठकहरूले प्रश्न र आलोचना गरौँ र लेखक कवि वा सर्जकहरूले सुनौँ र सुधारौँ ।
नीतिहरूमा भनिएको छ– सामुन्नेको प्रशंसा र पछाडिको निन्दा राम्रो हुन्न । प्रशंसा गर्नेले पछाडि र निन्दा गर्नेले अगाडि गरेको राम्रो ।
अन्त्यमा यो पनि-
जसले गर्छ सामुन्ने प्रशंसा विष सम्झनू
जसले गर्छ सामुन्ने निन्दा अमृत झैँ लिनू ।
वसन्त दाइ, लेखिरहनु पर्छ है ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।